June 6, 2009

विदेशी हस्तक्षेप, हाम्रो बिरोध र घर भित्रका मतियारहरु ।

देशको कुनै पनि निकाय वा समग्रमा देशमाथी कुनै विदेशी हस्तक्षेप हुँदा हामीहरु सबै,सधैं विदेशीलाई धारे हात लगाउँछौं र निन्दा पुराणमा व्यस्त रहन्छौं र आफनो कर्तव्य जिम्मेबारी पूर्वक निर्वाह गरेको ठान्छौं। तर गहिरिएर हेर्ने हो भने ईतिहास साक्षी छ, देश ठुलो-सानो, धनि-गरिव जस्तो सुकै होस, कुनै पनि विदेशी शक्तीले आर्को राष्ट्रमा हस्तक्षेप गर्दा त्यहि देश भित्रका कुनै व्यक्ति, संस्था, दल वा समुहको सहयोग लिएर मात्रै गर्छ ।

सीक्कीमको भारत विलय देखी लिएर सद्दाम हुसेनको गिरफ्तारीसम्म सबैमा विदेशी शक्ती सफल हुनुमा देश भित्रै रहेका र विदेशीको ईशारामा चल्ने वा सिधै भन्दा ‘ईमान बेच्ने’ हुनु नितान्त जरुरी थियो/हुन्छ ।

केहि दिन देखी छापामा आएका सीमा अतिक्रमणको समाचारसंगै हामी पनि भारत बिरोधी नारा, भाषण र निन्दा गोष्ठीमा व्यस्त छौं । हो, विदेशीको कुनै पनि हस्तक्षेप हामीले सहनु हुँदैन, तर के यहि एक दुई पर्चाबाजी र बिरोध पत्र थमाएर हाम्रो कर्तव्य पुरा हुन्छ त?

बेला बेलामा नेपालको नाडी छाम्दै, जिस्क्याउँदै र ‘ए ! झुक्कीएछ’ भन्दै फर्कने विदेशि तत्वको शाहस त्यत्तीकै बढेको छैन। तीनलाई खुल्लै रुपमा सहयोग र समर्थन गर्ने धेरै हस्तीहरु हाम्रो देशमा निर्धक्क आफ्नो कीर्तनगानमा व्यस्त छन।

भर्खरै दाङमा अतिक्रमण भयो, एउटा सार्बभौम देशमाथीको यो बल प्रयोग गलत मात्रै थिएन, विश्वकै सबैभन्दा ठुलो लोकतन्त्रको पगरी भिरेको देशको लागि लज्जाको विषय पनि हुनु पर्थ्यो । तर यस्तो निर्लज्ज बल मिचाईलाइ हाम्रै देशकी नेतृ र मन्त्री समेतले घुमाउरो पाराले समर्थन गरीन “हैन भारतले सिमा मिचेकै छैन (नेपालीहरु त्यत्तीकै बहुलाएका छन, बदमाशहरु !)

नेपाली मितीमा तथ्य राख्दा, दैनिकीको जेष्ट २३ को खबर अनुसार संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिले सीमा अतिक्रमण गरिएको दाङको सीमा क्षेत्रमा स्थलगत अवलोकनका लागि सबै दलका सभासदहरुको टोली बनाएर त्यसतर्फ पठाउने निर्णय गरेको खबर छापीएको छ । तर सो भन्दा एक दिन अगाडि नै (अवलोकनपूर्व नै) , अर्थात जेष्ट २२ गते नै हाम्रो परराष्ट्र मन्त्रीले भारतीय पक्षले नेपाली सीमा मिचेको नपाइएको बताईसकेकी थीईन । धन्न छ टिकेको छ हाम्रो देशको अस्तित्व !!, यस्ता यस्ता हस्तीहरुको छत्रछायाँमा ।

कुरोको चुरो तर्फ जाँदा, धारे हात विदेशीतर्फ फर्काउनु भन्दा पूर्व खुला रुपमा देश बेच्न तम्सनेहरुलाई तह लगाउनु नितान्त जरुरी देख्छु म ।

जसरी शरीर विरामी हुँदा अन्य बाहिरी जीवाणुबाट बच्नु भन्दा, पहिलै काया प्रवेश गरी सकेका किटाणुलाई निर्मूल गर्नु जरुरी हुन्छ, त्यसै गरी आफ्नै घरको मानो खाएर विदेशीको सेवा गर्ने लाई ठिक ठाउँमा नल्याएसम्म यो बिरोध सार्थक हुनै सक्दैन । अनी हाम्रो देशमै यस्ता धमिराहरु रहेसम्म हाम्रो बिरोध र आक्रोशले विदेशी सुध्रीएला भनेर आश गर्नु पनि बेकार ठहर्ने छ।

संसारको प्राकृतिक नियम छ, गलत कार्य गर्ने जतीसुकै बलवान भएपनि एकजना गान्धी जस्तो हाड छालाको ढाँचासंग पराजीत हुन्छ । वलिष्ठ बाहुबल भएको चोर पनि दूर्वल मानिसको घरमा छिर्न डराउँछ । तर सर्त एउटै रहन्छ घर भित्र चोरका मतियार हुनु हुँदैन ।

हाम्रो मुलुक निर्वल होला, तैपनि कुनै सबल देशले हामीलाई तबसम्म दागा धर्न सक्दैन जबसम्म हाम्रै देश भित्र उसका मतियारहरु हुदैंनन् । घर जोगाउने काम पहिला घरभित्रै बाट शुरु गर्नु पर्छ र घरभित्र बसेर छिमेकीको सेवा गर्नेलाई पहिला तह लगाउनु पर्छ। आफ्नो मतियार नभएको घरमा जस्तो सुकै छुल्याहा छिमेकीले पनि आखाँ उठाउन पनि सक्दैन



4 Comments:

नेपालियन said...

नेपाली कांग्रेस प्रा ली कि किनिष्ठ साहूनी को कुरा के गर्नु। कांग्रेस साहु गिरीजा जस्तै फ्याट्ट बोल्दा आफु पनि साहु नै ठहरीने सुजाताको दिमागमा बसेको छ। तर उनका टपर टुइया कुरा न त हांसो लाग्ने नै हुन्छन न त कुरा गर्न लायक नै हुन्छन।

कुरा सही हो, हामी एक हुने र हाम्रो बोली एक हुने हो भने त्यो भन्दा ठुलो शक्ती अरुकेही हुन सक्दैन। अझ राष्ट्रको सबालमा त कत्ती पनि सम्झौता गर्नुहुन्न।

संस्सदको समितीले के भन्ने हो त्यो हेर्न बांकी छ।

प्रबिण थापा said...

हो ठकरी जि जाबसम्मा नेपाली जनता र राष्ट्र प्रती उत्तरदायि राजनिति सस्कारको बिकास हुँदैन तबसम्म हाम्रो जस्तो भौगोलिक बिषमताको मुलुकाले यस्तै दुर्भाग्य भोगिरहनु पर्छ । अब नेपालि जनताको शब्दमा सिमित राष्ट्रबाद् व्यबहारिक रुपमा अगाडि आउनु पर्छ, हामि एकजुट हुनुपर्छ र देशमा बितन्डा मच्चाउने यि राज्यका मतियारहरुलाइ बेलैमा ठेगान लगाउनु पर्छ। लेख राम्रो छ।

Prajwol said...

विदेशीको विरोध गर्न स्वदेशी रेलिङहरु भांच्ने युवा जनसक्ती देखी लिएर कहिले दुतावासले हड्डी फ्यंक्ला र खाउंला भनेर च्यांखे थाप्ने नेताहरु ले राष्ट्रियता भनेको कहिले नबुझ्ने भए । देश यसो बहिर बाट हेर्दा नेत्रित्व बिहिन झैं छ, अडिग र प्रभावशाली भनेको केवल एक नेपालको गृह मन्त्री राकेश सुद मात्र छन भन्ने भान हुन्छ, तर अफसोच तिनी नेपाली परेनन :(

Luna said...

न ङ काटे मासु दुख्छ -----
आज देश सबैलाई दुखेको देख्दा आँखामा आशु भरिएको छ । यो आशु आशाको आशु हो ---
आर्टिकल ले हिर्दय छोयो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !