December 25, 2008

गलगाँडतन्त्र आएछ

शेखर ढुंगेल

गणतन्त्र आएपछि गणहरु गणपति हुनेछन् भन्ने जुन भावना जनतामा उर्लिएको थियो माओवादीको असफलता र अन्य राजनीतिक दलहरुको सत्तालिप्सा देखेर गणरुपी जनतामा नैरास्यता छाएको छ । गणपति त गण होइन नेता पो बनेका छन् । यो कस्तो गणतन्त्र हो जसको मालिक नेता बनेका छन् र जनता फेरि दासभन्दा खराब जीवनयापन गर्न बाध्य बनिरहेका छन् । यो त गणतन्त्र होइन गलगाँड पो हुनथाल्यो । जस्ले जे जस्तो तर्क दिए पनि तीतो सत्य के हो भने बोकाले दाईं गरेर हुन्न भन्ने बुढापाकाको कथन नेपालमा सावित भएको छ । ०४६ सालमा पनि महेन्द्रको सालिकअगाडि एमाले कांग्रेस माओवादीभन्दा उग्र भएका थिए । तत्पश्चात भयो के त भने कांग्रेस र एमालको अधिनायकवाद चल्यो । गिरिजा त्यसबेला जंगेजस्तै बनेका थिए । राष्ट्र र जनतालाई ढाँटेर महाकाली सन्धिमात्र गरेनन् चित्त नबुझेका छत्तीसेलाई सत्ताच्युत गर्न जनताको सदन भंग गरिदिए ।

संसदीय ब्यवस्था र प्रजातन्त्रको धज्जी उडाउनेमा माओवादीभन्दा कांग्रेस र एमाले नै अगाडि छन् । समय फेरियो माओवादीको रणनीति सफल भयो । संसदीय प्रजातान्त्रिक पक्षधर अर्थात २०४७ को संविधानले स्थापना गरेको संरचनाको पत्तन भयो । त्यससँगसँगै पुराना सयौं परंपरागत संरचनाहरु कतै जोसमा कतै सडकको दवावमा कतै सत्ताको लालचमा भत्काईंदै गए । यहाँसम्म कि शून्य राजनैतिक संरचनाको अवस्थामा झर् यो । माओवादीको सत्ता आयो शासन आयो नयाँ नेपालको कुरो आएको छ तर प्रस्थान र गन्तब्यको विन्दूको चुरोसम्म पहिल्याउन सत्तासिन र विपक्षी दलहरु असफल भएका छन् ।

संविधानसभाको माध्यमबाट जनताको प्रतिनिधिमार्फत संविधान बनाई नयाँ नेपालको निर्माण गर्ने भन्ने माओवादीको माग र अन्य दलको अभिष्ठ स्वयं उसकै लागि घाँडो किन भयो बुझ्न कठिन हुँदैछ । अनुमान केसम्म गर्न थालिएको छ भने कि त माओवादीलाई ब्यालेट मार्फत सत्तामा पुगिएको नसा उत्रिएको छैन कि त लोकतन्त्रप्रति विश्वास नै छैन । या कहिले काहीं नेता डा. बाबुराम भट्टराईले भन्नुभएकै विहारी शैलीको लोकतन्त्रु नै हो त ।

माओवादीको सत्ता चलेको पनि ४ महिना भइसक्यो । केही उज्यालो सत्ता हात पारेको माओवादीले अन्धकार बनाईदिएको छ । यो अन्धकारशैली नयाँ नेपाल निर्माण गर्ने कुन मोडल हो जनताले बुझ्न सकेका छैनन् । मस्र्याङ्दी उद्घाटन गरेकै भोलीपल्टदेखि ६ घण्टाबाट १० घण्टा पुगेको लोडसेडिङ् अव १८ घण्टा हुन्छ भनेर विद्युत प्राधिकरणकै कर्मचारीहरु भन्न थालेको छन् । यस्ता कालो अँध्यारोमो विद्यार्थीले कसरी पढ्ने उद्योगधन्दा कसरी चलाउने नयाँ नेपाल कसरी बनाउने स्थिति भयावह बन्दै गएको छ ।

हिजो डा.बाबुराम भट्टराईको लेखअनुसार निलम्बित राजालाई सम्झौताको नाममा पुनस्थापना पनि गर्न सकिन्छ भन्ने थियो । त्यो पार्टीका नेता तथा प्रधानमन्त्री प्रचण्ड राष्ट्रवादी र गणतन्त्रवादीको दह्रो मोर्चा बनाउने कुरा गर्न थाल्नु भएको छ । कतै राजालाई पनि त्यही मोर्चामा आउन दरखास्त हालिएको त होइन यता गिरिजाप्रसाद कोइरालाले पूर्वपाचहरुको तीनवटै पार्टी र अन्य प्रजातन्त्रवादीलाई मिलाएर अधिनायकवादलाई परास्त गर्न बृहद प्रजातान्त्रिक मोर्चा गठन गर्ने सुरसार कस्नासाथ प्रचण्डको मोर्चाको कुरा उठ्नुले राजनीतिक क्षेत्रमा तापक्रम एक्कासी बढ्दै गएको छ । दलीय राजनीति तातेको छ ।

यही बेलामा भारतीय राजदूत राकेश सुदले राजालाई सोल्टी होटलको गोप्य कोठामा गोप्य भेटघाट गरेको समाचारले राजनीतिमा ज्वारभाटा ल्याइदिएको छ । किन भेटे सुदले के भने सुदले राजाको प्रतिकृया के थियो अन्दाजका अनेक रिङ्गटालाग्दा कथाको पटाक्षेप हुनेक्रम जारी छ । त्यो पनि एकसेएक लोकतान्त्रिक दलका मुखपत्रहरुबाट । कसै कसैले त यतिसम्म लेखे कि राजाले भारत भ्रमणको व्यवस्था मिलाइदिन आग्रह गरेरे । कसैले सग्लो देश हेरेर मर्ने इच्छा व्यक्त गरेको विषयलाई बढी महत्व दिएर प्रकाशित गरिरहेका छन् ।

आखिर पूर्वराजा पनि यही देशका नागरिक हुन् । हिजो पनि उनले देशको माया गरे आज पनि देशको माया गरिरहेका छन् । यो देश छोडेर कतै जान्न भन्ने पूर्वराजाको अभिव्यक्तिले र यही देशमा चुपचाप बसेका राजाको व्यवहारले पूर्वराजाको लोकपि्रयता र जनताको सहानुभूतिलाई ह्वात्तै बढाइदिएको छ ।

खासगरी प्रचण्ड सरकारको असक्षमता र नालायकीपनका कारणले पूर्वराजातिर फर्केर हेर्न जनता बाध्य भएका छन् । जतिपनि कूसंस्कार र कूलक्ष्यणहरु देखिएका छन् ती सबै राजतन्त्र हटाउनाले हो भन्ने छाप जनताको मनमा परिसकेको छ । हो राजतन्त्रबाट अनेक गल्तीहरु भएका होलान् तिनलाई सच्याएर अखण्ड नेपालको जगेर्ना गर्न सकिन्थ्यो । राजतन्त्र फाल्नेले आफु पनि सच्चिन सकेनन् पवित्र भएनन् राजतन्त्र पनि फालेर देशलाई बर्बादीको भूमरीमा होमिदिएका छन् । यसैका कारणले विदेशीको खेल मैदान बनिसकेको छ नेपाल । राजतन्त्र फालेपछि चमत्कार गर्छु भन्ने प्रचण्डले देशलाई अँध्यारो युगमा धकेलिदिए । यही हो चमत्कार जनता आहत भइरहेका छन् जनताले राहत पाइरहेका छैनन् यही हो चमत्कार असमानता र बिखण्डनका आवाजहरु उठिरहेका छन् यही हो चमत्कार ज्वाला सिंहले टोपी जलाउन थाले मधेसबाट पहाडीया नभागे भौतिक कारवाही गर्ने हुकुम जारी गरिसक्यो अव नेपालको झण्डा जलाउने कार्यक्रम पनि ल्याइसक्यो । हुँदा हुँदा तमलोपाले एक मधेस एक प्रदेश हुँदैन भने एक नेपाल पनि रहँदैन भनिसके । यही हो चमत्कार यदि यस्तै अराजकतालाई चमत्कार भन्ने हो भने नेपालीका लागि प्रचण्ड चमत्कार दुर्भाग्य बाहेक केही हुने लक्ष्यण देखिदैन ।

पूर्वी र पश्चिमी पहाड र तराईतिर अनेक जातजातिहरु स्वशासनका माग गरेर सेना संगठित गर्न थालेका छन् । खासगरी पूर्वी पहाडको लिम्बु र पश्चिम तराईको थरुहठ सेना डरलाग्दो सशस्त्र समूहका रुपमा अगाडि आएको छ । यिनलाई व्यवस्थापन गर्नु चानचुने चुनौति हुनसक्दैन । चुनौति अनेक छन् दलहरुमा मतभेद चुलिदो छ । गणतन्त्र गलगाँड भयो देश र जनताका लागि ।



2 Comments:

Dilip Acharya said...

बढो नापतौल सहितको तर यथोचित शब्द प्रयोग गर्नु भएछ।
साँच्चै गलगाँड तन्त्रै भा'छ।

काटेर फ्याँक्न पनि नमिल्ने, देखाउन पनि अशोभनिय !!!

Luna said...

' पिलो ' र ' गलगाड '
--------------
निरकुश तन्त्र 'पिलो'
गणतन्त्र 'गलगाड '
जनतालाई सास्ती
नेताजी लाई मस्ती --
~~~~
घट्दै छ आश
बढ्दै छ निराश
मुलुकको बिनाश
हाम्राइ नाश --
~~~~
छ नेपाल छ नेपाली
छैन नेपाल छैन नेपाली
सास रहे आश
नहोस् बिनाश --
~~~~~

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !