April 26, 2008

गिरिजाज्यू अव स्वर्गलोकमा नै गएर प्रम हुने कि?

संबिधान सभाको चुनाव सकियो। स्वनामधारी ठूला दलहरु कांग्रेस र एमाले नराम्रो संग पछारिए र माओबादीले अनेपेक्षीत सफलता हात पर्‍यो। आफ्नो हारसंगै एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिए र अब बन्ने सरकारमा सहभागी नहुने घोषणासमेत गर्न भ्याए तर आफूलाई प्रजातंत्रको मसिहा ठान्ने नेपाली कांग्रेसका नेताहरु भन्ने अचम्मको कुरा गर्दैछन। माओबादीले दुई तिहाई बहुमत नल्याएकोले अब बन्ने सरकार पनि उनीहरुकै नेत्रित्वमा बन्नु पर्छ रे। आफू लडेर तल परे पनि खुटा चांही माथि नै?
वाह, धन्य कांग्रेस। बिभिन्न बहानामा कांग्रेस सत्ता छोड्न चाहदैन।
माओबादी र एमालेले "समानुपातीक निवाचन" को माग छोडिदिएर कांग्रेसको "प्रत्यक्ष निर्वाचन प्रणाली" मा गएको भए झन् कुन हविगत हुन्थ्यो, त्यो सामुन्ने छ।माओबादीले दुइ तिहाई सीट जित्न नसकेकोले अव बन्ने सरकार पनि कांग्रेसकै नेत्रित्वमा हुने भन्ने यो कस्तो तर्क हो? कांग्रेसमा लाज शर्म भनेको दुई पैसाको पनि छैन जस्तो छ।यति शर्मानाक हार पछि पनि अझ सरकारको नेत्रित्व गर्छु भनेर कसरी लाज पचाएर भन्न सकेका हुन्?
समानुपातिक को परिणामले माओबादीलाई बहुमत त दिएन, तर बिशाल अन्तरकासाथ सबै भन्दा ठूलो पार्टी तुल्याएको छ र यस हिसाबले सरकारको नेत्रित्व गर्ने अधिकार माओबादीको हुन्छ। अन्य दलहरु माओबादी नेत्रित्वको सरकारमा जानु-नजानु स्वेच्छाको कुरा हो तर सबै भन्दा ठूलो बन्न पुगेको पार्टीलाई सरकारको नेत्रित्व गर्न नदिनु भनेको उनीहरुलाई फेरि शान्ती प्रक्रियाबाट पलाएन गराउनु हो। कि भने नेपाली कांग्रेसले हामी नै दुइ तिहाइ बहुमत सिद्ध गरेर सरकार बनाउछौ भन्न सक्न पर्यो।आम जनताले माओबादी नेत्रित्वको सरकार हेर्न चाहेका छन् र देशमा केहि परिवर्तन् हुन्छ कि भनेर आशा गरेका छन्।
अन्य दलहरुले माओबादीहरुलाई यो मौका दिनु पर्छ र केहि समय चुप लागेर बस्नु पर्छ। माओबादीले सकेनन्, देश फेरि अस्तब्यस्त हुन थाल्यो भने आफू अघि सर्नु बेग्लै कुरा हो, तर अहिले नै माओबादीको बाटो रोक्न खोज्नु ठूलो भूल हो।

गिरिजालाई राष्ट्रप्रति बनाउन त माओबादीले खोजेकै हुन क्यार? हिम्मत छ गिरिजासंग राष्ट्र्पति हुने? हिम्मत छ गणतंत्र घोषणा गर्ने? गिरिजालाई प्रम दिएर मात्र पुग्दैन, प्रम पछिको दोस्रो बरिष्ठ मन्त्री पनि उनकै पार्टीलाइ चाहिन्छ। प्रम कांग्रेसको भएको ले प्रम संग नजिकमा बसेर काम गर्न पर्ने लंगडो तर्क राखेर अन्य महत्वपुर्ण मन्त्रालयहरु ग्रिह, रक्षा र अर्थ पनि उनकै पार्टीलाई चाहिन्छ। ताज्जुब छैन त यो कुरा? अख्तियारले डामेर छाडेका वाग्ले, जोशी, खड्काहरुलाइ नै फेरि मन्त्री बनाउने होला। धन्य कांग्रेस। यो देशले कहिले सम्म नेपाली कांग्रेसलाई ब्यहोर्न पर्ने हो? गिरिजाज्यू अव स्वर्गलोकमा नै गएर प्रम हुने कि?



5 Comments:

ठरकी दादा said...

भन्छन नी कुनै कुनै 'प्राणी' को हाड गले पनि मासु गल्दैन रे । हाम्रा गिरिजा बाजे र उनका धुपौरेहरु यस्तै प्राणि हुन ।

लाज नलागेपछि जे गरे पनि हुन्छ .... अब के भन्ने, बरु एमालेले आफ्नो पराजय स्विकारेर राजिनामा दिएको एकदमै सहि हो ।

हालको कांग्रेसी कुरा "....लाई भन्दा देख्नेलाई लाज" भने जस्तो भै सक्यो,। पर्दा पछाडिका वा हारका कारण जे सुकै भए पनि अहिलेको कटु यथार्थ के हो भने काग्रेसको लज्जाजनक पराजय भएको छ ....अब अझै पनि प्रधान मन्त्री हुन चाहनु चाहि सत्तालिप्साको चरम उत्कर्ष र पराजयले ल्याएको दिमागि असन्तुलनको बौखलाहट मात्रै हो ।
यौटा नितान्त 'अन्तराष्ट्रीय मजाक'

एकलव्यको डायरी ( Eklavya's diary) said...

कांग्रेसी भाट नठान्नु होला र मेरो कुरालाई अन्यथा नलिनू होला ।

तर कांग्रेसी वृत्त भित्र पनि कांग्रेसले नै सत्ता नेतृत्व गर्नु पर्छ भन्ने विचार छैन जस्तो मैले बुझेको छु । अनि कांग्रेसले चाहँदैमा सत्तामा रहिरहन सक्छ जस्तो पनि लाग्दैन अहिलको बद्लिएको शक्ति समीकरणमा । तर माओवादीलाई युरोपेली युनियन र विशेषत: अमेरिकाले पटक्कै सत्ता नेतृत्व सुम्पिहाल्नु हुन्न भनेको भने सत्य हो । त्यो भन्दा पहिला माओवादी राजनैतिक नेतृत्वलाई निश्चित कुराहरूमा प्रतिवद्द पार्नुपर्छ भन्ने ठूलो प्रेसर भने देखिन्छ ।

के माओवादी सत्तापक्ष र प्रतिपक्ष, बिद्रोही र सरकार अनि नया र पुरानो सरकार एकैचोटि हुन मिल्छ र ? के कांग्रेसीहरू आफ्नै नियन्त्रणमा रहेको गृहप्रशासन र सेना र राष्ट्रिय ढिकुटीको अनुचित प्रयोग गरेर चुनाब जित्ने कोशिस गर्दैनथे होला र अहिलको जस्तो हारेर पनि सत्तामा टाँसिनु भन्दा ? शान्ति प्रकृया र माओवादीको सत्तामाथि चढाव अब निश्चित मुकाममा पुगेको छ तर माओवादीले उत्ताउलिएर सरकार बनाइहाले झेँ गर्नु भन्दा पहिला आँफैले समेत बनाएको संविधानको अक्षरहरू पढून भन्ने सम्मको कामना अहिलेको कांग्रेसी मागको सार हो जस्तो लाग्छ ।

Panda said...

गिरीजाबाबु आफ्नो जिन्दगीमा नै पहिलो पटक यति लचक भए होलान जति उनि जन आन्दोलन-२ पछाडी भए । कम्युनिष्टको „क“ नरुचाउने गिरीजाबाबु लगभग माओबादीको एजेण्डा बोकेर हिंडे । तर आफ्नो „महा शकुनी चाल“ चाहि छोडेका छैनन् , हुन त राजनीतिमा यो जायज होला । चुनावको सम्पुर्ण बिवरण नआउदै माओबादीहरु अगाडी आउन थाले पछी कौतुहल लागेको थियो अबको सरकार कसरि बन्छ, या बन्छ कि बन्दैन ।

यो कुरो त चलाख र आफुलाई असुरक्षित मानेका दिग्गज हरुले पहिले नै छिनोफानो गरेका रैछन ! यो सरकारले सम्विधान सभाको चुनाव गराउने मात्र नभएर आउने केहि वर्ष देशै चलाउने नियतले स्पष्ट तोकिएको रहेछ „सरकार हटाउन दूई तिहाई बहुमत आवश्यक पर्नेछ“ । कसैको पनि पूर्ण बहुमत नआउने आकलन गरेका दिग्गज हरुले दीर्घकालीन „अजर-अमर“ सरकारको नेत्रित्व गिरिजाबाबुलाई सुम्पिसकेकाले „संविधानत“ दूई तिहाई बहुमतले नहटाउदासम्म गिरीजाबाबुले सरकार छोड्न आवश्यक होला र ?

अब हैन नैतिकताले भन्यो भने पनि नैतिकता भन्ने कुरो हाम्रो देशमा त्यो पनि राजनीतिमा देख्न पाइएला र !

तसर्थ अन्तरिम संविधानत: यो सरकारको चुनावी परिणाम संग कुनै लेनादेना छैन ! खेल शुरु हुनै छ हेर्दै जाऔं ।

चना said...

हुन त काँग्रेसले सत्ता छोड्न नचाहेको संकेत सुन्ने वित्तिकै मलाइ पनि त्यस्तै लागेको थियो । उता नेपालमा त झन, यत्रो चुनाउ जितेर पनि माओबादीलाइ सरकार बनाउन नदिने भयो भनेर सर्वसाधारण समेत चिन्तीत हुन थाल्या रहेछन । सर्वसाधारण भन्नाले एकपटक माओबादीलाइ हेरौ भन्ने आकांक्षा बोकेका देखिन, काँग्रेस एमालेका भोटर समेत पर्छन, जो माओबादीले २४० मध्ये १२० सीट जित्नु नै ठूलो जीत हो भन्ने ठान्छन ।

तर हालको अन्तरीम संविधानमा प्रधानमन्त्रीलाइ हटाउन समेत २ तिहाइ बहुमत चाहिने पो रहेछ । त्यसको मतलब, माओबादीलाइ अहिले सत्ता छोड्नु भनेको आर्को ३० बर्षको लागि काँग्रेस सत्ताबाट बाहिरिनु सरह हुनेछ भन्ने डर रहेछ । किन कि अहिले सत्तामा बसेर एकपल्ट जसले आधिकारीकता पायो, नयाँ संविधान बनेर चुनाव नहुनञ्जेल उसलाइ सरकारबाट हटाउन इन्द्रेको बाऊ चन्द्रेले पनि सक्तैन । चुनाव हुने बेलासम्ममा जुन पार्टी सरकारमा हुन्छ, उसले संविधान बनाएको जस लिदै देश चलाउन ताजा जनमत लिन खोजेको दावि मज्जाले गर्न पाउँछ । त्यसैले संविधान बनाउने पार्टीले चुनाव हार्ने संभावना कम छ ।

त्यसमाथि काँग्रेसको गृह, रक्षा, प्रधान, अर्थ मन्त्री हुँदा हुँदै लडेको चुनावमै नराम्रो हार खाएका काँग्रेसले भोली माओबादी सरकारमा बसेर गर्ने चुनावमा कसरी आफ्नो भविष्य देख्न सक्ला ? ऊबेलाँ बामदेबले गराएको स्थानीय चुनावले नै अझै काँग्रेसी बृत्तमा सात्तो जाँदो रहेछ । सरकार बाहिर बसेर चुनाव लड्नु त गाह्रो पो हुन्छ ।

तेहि भएर, ३० बर्ष सत्ताबाट बाहिरिने जोखिम मोल्नु भन्दा अहिले केहि समयको लागि नकच्चरो बन्नु काँग्रेसको लागि उत्तम छ । यो नकच्चरोपना राजनीतिमा आदर्शको अपेक्षा राख्ने जमातलाइ अहिले अपच लागे पनि अलि दिन पछि, यस्तै किचकिच गर्न जान्नु र जिऊ पछारीए पनि खुट्टो माथि पार्नु नै राजनीति हो भन्ने नजीर बसिहाल्छ । सरकार बनाउन माओबादीसित पूर्ण बहुमत नहुञ्जेल काँग्रेसलाइ आफ्नो राजनीतिक कला देखाउने मैदान प्रशस्त छँदैछ ।

अनि यो किचकिचको अर्को फाइदा भनेको प्रत्यक्ष निर्वाचनमा १२० सीट जित्दैमा माओबादीले मात्र सरकार बनाउने जनअनुमोदन पाएको भन्ने भ्रम धेरैमा रहेको छ, त्यो चिरीन्छ र, माओबादीको विजयोन्मादमा अलिकति भएपनि ब्रेक लाग्छ । माओबादीका ठूला मानिने नेताले पनि हामी भन्दा चारगुणा कम सीट जित्नेले हामीसित निहुँ खोज्ने ? भनेर गिल्ला गर्न पछि हट्दैनन भने उनीहरुले जवाफमा जावो ३०% भोट ल्याएर संसार जितेको ध्वाँस दिने ? भनेर जवाफ दिने त भै हाल्यो ।

फेरी प्रचण्डले ऊबेला मनमोहन अधिकारीले जस्तो अल्पमतको सरकार चलाउने हिम्मत देखाएको पनि छैन, प्रचण्डले सहमतिको सरकार चलाउने योजना बनाएपछि सहमतिका अन्य हिस्सेदारहरुको बार्गेन पावर बढ्ने नै भयो । चुनावमा जित्ने वित्तिकै गिरीजालाइ सेरेमोनियल राष्ट्रपति बन्न अनुरोध गर्न जाने, अनि अहिले गिरीजाको मान्छेले हामी त्यतिकै छोड्दैनम भन्दा मूड अफ किन बन्ने ? सहमति गर्ने कला देखाउने बेलै यहि हो ।

- चना

एकलव्यको डायरी ( Eklavya's diary) said...

हो वास्तवमा चनाजीको समीक्षा बडो प्रष्ट र वास्तविक छ । राजनीतिमा पर्फेक्सनिज्म काम लाग्दैन जस्तो लाग्छ । अरूले के भन्लान् , अथवा यो त राम्रो मानिन्न कि भन्ने जस्ता शंकाले चल्दैन पनि यो । तर हेर्दै जाऔँ हुने कुरा भएरै छाड्ला नि । अवाक परेर हेर्ने बाहेक अरू गर्न सकिने पनि केही हैन क्यारे !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !