नवराज न्यौपाने ‘मौन’
१
बाँधेर प्रेम–डोरी माया अनन्त हुन्छ
संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ
सम्बन्ध राख्न जाने टुट्दैन आज वाचा
सौंन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ
आशा जगाई नौलो पोखेर प्रेमधारा
संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ
जो बोल्छ शत्रुताले साँची अहम् मनैमा
बोकी इमान हिँड्दा उल्टै भिडन्त हुन्छ
ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजारौँ
हाँसेर ज्यून जाने चोला जीवन्त हुन्छ
(बहर : मुजारे मुसम्मन अखरब)