November 17, 2025

राजनीतिक प्रभुत्वदेखि मृत्युदण्डसम्म

 बंगलादेशकी शेख हासिना, गत वर्ष विद्यार्थी आन्दोलनकारीमाथि घातक दमन गरेको अभियोगमा सोमबार अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएकी छिन्। दक्षिण एसियाली राष्ट्र बंगलादेशमा आधा शताब्दीसम्म प्रभुत्व जमाएकी हासिना रक्तपातमै आधारित राजनीतिक करियरकी धनी छिन्।

स्वतन्त्रता नेता तथा आफ्ना पिता शेख मुजिबुर रहमान र परिवारका अधिकांश सदस्यको सैनिक ‘कू’ मा हत्या भएपछि उनी अचानक चर्चामा आइन्। सुरुमा प्रजातन्त्रका लागि लडेकी हासिना लामो समय प्रधानमन्त्री रहँदा भने विपक्षी नेतालाई पक्राउ गर्ने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने र असहमति दबाउने काममा संलग्न भइन्। विद्यार्थी नेतृत्वको विद्रोहका क्रममा सयौंको ज्यान गएपछि राजीनामा दिएर भारत भागेकी हासिना १५ महिनापछि राजधानी ढाकाको अदालतद्वारा घातक बल प्रयोगको आदेश दिएको ठहर गरिएकी छिन्।

७८ वर्षीया हासिनामाथि सत्ताको दुरुपयोग गरेको व्यापक आलोचना भए पनि मुस्लिम बहुल १७ करोड जनसंख्या भएको देशको अर्थतन्त्र उकास्ने श्रेय उनलाई दिइन्छ। छिमेकी म्यानमारबाट प्रताडित भएर भागेका रोहिङ्ग्या मुस्लिमलाई शरण दिएकोमा उनले अन्तर्राष्ट्रिय प्रशंसा पनि पाएकी थिइन्।

तर पाँचौँ कार्यकाल जितेको सात महिनाभन्दा कम समयमै उनको पतन भयो। सुरुमा रोजगारी कोटाका विषयमा शुरू भएको आन्दोलन उनको बहिर्गमनको मागसहित ठूलो आन्दोलनमा परिणत भयो।

भारतमा निर्वासित हासिनाले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी छिन् र फैसला “पक्षपाती र राजनीतिक प्रेरित” भएको बताएकी छिन्।



NEPAL NEWS TODAY :: नेपालको समाचार आज


  • Dautari Khabarhub Current News - आजको समाचार