सुरेन्द्र लिम्बू परदेशी
विजयको पिरामिडमाथि
मृत्युसँग सँधै पराजयको इतिहास छ
उरुगका सम्राट गिलगमेशले हारे
अल्बर्ट कामुको सीसिफसले हारे
म जीवन मृत्युको दुर्बोध्य शृङ्खलामा छु
त्यसैले त मेरा थकित अनुभूतिहरू
तिम्रै यादको भित्तामा अडेसिएर
सुस्ताइरहेछन् एक चिम्टी आनन्द ।
मृत्युका गम्भीर विषयहरूमा
भोगाइलाई जीवनको पाठशाला बनाएर
म आफैँलाई पढ्ने प्रयत्नमा छु
आफ्ना अमूर्त आभासहरू हृदयान्तरण गरेर
तिम्रो उर्वर मानसपटललाई परागसेचन गर्न
म संवेदनाको यौवन उत्खननमा छु
प्रश्नजस्तै जटिल भएर बाङ्गिएका रहस्यहरू
पूर्ण विह्रामले ठोकेर सोझ्याउन भनि
म विशृङ्खल बक्ररेखामा हिँडिरहेको छु ।


