संबिधानबिज्ञहरु, देश बिदेशका अनुभव भएका ब्यक्तिहरु संबिधान सभामा हुन पर्नेमा तिनै जोशी, खड्का, वली, नेपालहरु छन। यो सरकार बनाउने चुनाव नभएकोले सबै लोकतान्त्रीक दलहरु मिलेर जान पर्नेमा यिनीहरु आपसी भिडन्त गर्दै छन र गैरलोकतान्त्रीक ब्यक्तिहरु निर्वाचित हुने अवस्था निर्माण गर्दैछन।
यो संबिधान सभाको चुनाव हुने अवस्था आउँदा सम्म देशले धेरै गुमाइसकेको छ। यो संबिधान सभाको चुनावको लागि हजारौ जनताको ज्यान गुमेको छ तर माओबादी लगायतका पार्टीहरुको तरिका हेर्दा यती ठुलो उपलब्धी हात्ती आयो हत्ती आयो फुस्सा हुने अवस्थामा पुगेको छ।
सकेसम्म सबै लोकतन्त्रीक पार्टीहरु, नभए घोषणापत्र मिल्ने सम्म का पार्टीहरु चुनावमा एक भएर जान पर्नेमा त्यसो भएन। हुन त त्यस्तो बिधी फरक घोषणापत्र भएको जस्तो पनि देखिएन। जब समान घोषणापत्रहरु छन भने छुट्टाछुट्टै चुनाव लड्नुको के अर्थ हो?
१२ बर्षासम्म संबिधानसभाको रट लगाएर आएको माओबादी संबिधान सभाको चुनाव हुँदा किनरा लाग्ने स्थिती छ। उत्ताउलो भएर कहिले एमाले भन्दा बुर्जुवा प्रजातन्त्रबादी (अर्थात कांग्रेससंग) एकता हुन्छ भन्यो। कहिले राजाबादीहरु भित्रका राष्ट्रबादीसंग मिल्ने भन्यो। फेरी चुनाव हुनु कता हो कता, प्रचन्डलाई भावी राष्ट्रपती घोषणा गर्यो। अन्य पार्टीले प्रचन्डलाई राष्ट्रपती बनाउन माओबादीसंग तालमेल किन गर्थे र?
माओबादी चुनावमा बढारिने निस्चित छ तर यो कुनै खुशीको कुरो हुने छैन। जसलाई राजनीतिको मुलधारमा समाहित गर्न यती ठुलो महाभारत रचियो, उनै यो महाभारतमा समाप्त होला जस्तो छ। अर्थात जसको बिहे उनै जन्ती जान नपाउने स्थिती। माओबादी पराजीत हुने चुनावअको कुनै अर्थ छैन। तिनिहरुले फेरी भद्रगोल मच्चाउने छन जसको उदघोष बाबुराम प्रचन्डले गरिसकेका छन।


