Showing posts with label समसामयिक विश्लेषण. Show all posts
Showing posts with label समसामयिक विश्लेषण. Show all posts

April 25, 2009

'कू' को कुप्रचार र माओवादी एजेण्डा

हुन त जब कुनै राजनैतिक विषयमा टिप्पणी गरिन्छ, त्यसमा पक्ष विपक्षका तर्क देखिनु स्वाभाविक हो । तर पनि यो भन्दा पूर्वको मेरो अग्रलेख र त्यस पछिका मित्रहरूका तर्क पढेपछि , आफ्नो लेखमा पूरै विस्तारमा जान नभ्याइएका विषय र मित्रहरूका प्रश्नहरू बारेमा मात्र केही प्रति-विचार राखेको छु ।

(१) रुक्मांगत कटुवालले स्पष्टीकरण दिन पर्छ: मेरो विचारमा प्रचण्ड, बादल र कटुवाल तीन जनाले जनताका नाममा स्पष्टीकरण दिनुपर्छ र पर्यो भने आफ्नो स्थान छोड्नु पर्छ ।

नेपाली सेना र उसका प्रमुख रुक्मागत कटुवाल अनि माओवादीको कटुतालाई केलाउने हो भने हिजोका परस्पर युद्दरत यी दुई समूह नेपाली सेना र माओवादी छापामार एवं नेताहरूले एकापसको सम्बन्धलाई हिजोको युद्दको नजरियाबाट हेरिरहेको प्रष्ट छ । माओवादी त सत्तामा पनि आयो र उसको प्राइभेट छापामारको अभिभावक बनेर उसले आफ्नो सामरिक र राजनैतिक आधारशिलाप्रति वफादार भएको पनि देखायो, तर बदलिँदो परिवेशमा आँफू सरकार भैसके पछि सेनालाई विश्वासमा लिने पहल उसले किन गर्न चाहेन अचम्म छैन ? सरकार मातहतमा रहने सेनालाई सरकारले आदेश दिने अधिकार छ र परेको बेला उसले सेना प्रमुखसंग स्पष्टीकरण माग्न सक्छ, तर निकट अतीतको युद्दजनित तिक्तताको अनुभवले एकापसमा विश्वास गर्न नै नसक्ने अवस्थामा रहेका दुईटा आम्ने साम्नेका शक्तिलाई भिडाएर, हामीले सेनालाई मात्र दोष दिनु नितान्त पूर्वाग्रह ठहर्छ । यसको कारण के हो भने सेना र सरकारको कुरा हुँदा सरकार अभिभावक हो र उसको हात र निगाहले सरकार मातहतका सम्पूर्ण मेकानिज्महरू चलेका हुन्छन् जस मध्ये सेना पनि एक हुनसक्छ। यस्तोमा हिजोको राजनैतिक आग्रहको साँघूरो घेराबाट माथि उठेर माओवादी नेतृत्वको सरकारले नेपाली सेनालाई व्यवहार गर्न नखोज्नु तर बारम्बार आफ्ना छापामारहरू सेनामा मिसाउने कुरा र तिनलाई भत्ता, रसद पानी आदि उप्लव्ध गराउने कुरालाई मात्र प्राथामिकतामा राखेर व्यवहार गर्दा, सेनामा तिक्तता सिर्जना हुन सक्ने स्थितिको कारक अरू कोही नभएर स्वयं सरकार हैन र ?

सुनिन्छ, अहिले नेपाली सेनाको लजिस्टिक्स र सम्भार अड्डा र गारद सबैको स्थिति नाजूक र गएगुज्रेको अवस्थामा छ । सेनाका हेलिकप्टर र जहाज मध्ये एकाध मात्र काम गर्ने अवस्थाम छन् र आपतकालीन उद्दार कार्यका लागि पनि अब ऊसंग साधन र स्रोतको अभाव छ । आज जबकि राज्यकोषबाट २० औँ अरबको सम्पत्ति आफ्ना पार्टी कार्यकर्तालाई लुटाउन प्रधानमन्त्रीको निगरानीमा खर्च गराउन समिति र आयोग खडा गरी सयौँ पार्टी कार्यकर्तालाई मन्त्री स्तरीय सुविधाका जागिरहरू दिएर लाखौँ कार्यकर्तालाई कुणे न कुनै लाभ दिने उद्देश्यका कार्यक्रम ल्याइएका छन् तर राज्ययन्त्र भित्रका अंगअबयबहरू भने माओवादी युद्दकालीन नजरियाको कोपभाजन बनिरहेका छन् । के यो जायज हुनसक्ने कुरा हो ? यदि हो भने , यो स्पष्टीकरण देशको सरकारको नेतृत्व गरेर केवल माओवादी दम्भका भरमा सरकार हाँक्ने र हैकम लाद्ने प्रचण्ड र बादलले पहिला अनि पछि कटुवाल तीनै जनाले दिन पर्ने हो कि नेपाली जनताका नाममा ?
- हिजो कांग्रेसी शासन कालमा उनीहरुले नै सरकारका हरेक पक्षमा कांग्रेसीकरण गरे, नातावाद र कृपावाद कायम गरे भनेर नथाक्ने क्रान्तिकारीहरू त्यही कुराको निराकरण गर्न सत्तामा पुगे पछि नेपाली राजनीतिको यो कन्तविजोग किन गराएको ?

(२) सरकारले भनेको सेनाले मान्नु पर्छ : हो, तर पहिला सरकार ‘सरकार’ हुन सक्नु पर्छ:

मित्रहरू संग मेरो निष्पक्ष प्रश्न छ के अहिलेको माओवादी नेतृत्वको सरकार स्वयंमा सरकार हुने प्रयत्न गरिरहेको छ ?, सरकारमा उसका प्रधानमन्त्री र मन्त्रीहरू छन्, तर उसका भ्रातृ संगठनहरू उद्योग, कलकारखाना, क्यासिनो, मालअड्डा, सरकारी कार्यालयदेखि विश्वविद्यालय र क्यासिनो सम्म शंकर भगवानका ६४ योगिनी पिशाच झैँ छाएका छैनन् ? । देशको गृहमन्त्री रहेका सहयात्री दलका नेताले क्यासिनोमा नेपाली प्रवेश गर्न नपाउने कानून उद्घोष गर्छन् तर माओवादी मजदुर नेता शालिकराम जमरकट्टेल र उनका लाडाकूहरू क्यासिनोमा कार्वाही गरे ‘बामेको खैरियत नराख्ने’ एलान जारी गर्छन् । हिजो मात्र , माओवादी विद्यार्थी भनाउँदो एउटा झुण्ड मुलुकको एउटा गरिमा बोकेको विश्वविद्यालयमा प्रवेश गरेर ४० औँ प्रहरीको बीचबाट त्यहाँका उपकुलपति र शिक्षाध्यक्षलाई कालोमोसो दलेर बाहुबल समेत प्रयोग गरी बेइजज्जत गरेको देखियो । के सरकारमा नेतृत्व गरेको पार्टीका भ्रातृसंगठनहरूको यस्तो काम कार्वाही सभ्य संसारको कुनै कुनामा कल्पना गर्न सकिन्छ ? आज मुलुकको कुन क्षेत्र छ जुन माओवादीको यो बाहुबली हिंसाबाट आक्रानत छैन ? देखाउन सक्नुहुन्छ ?

अत: कटुवाल वा सेनाले माओवादी सरकारको निर्देशन मानेन भन्ने कुरा भन्दा पनि, माओवादी सरकार सरकार बन्न सकेन, सरकारमा बसेर पनि ऊ अति गैरजिम्मेवार अराजक दस्ताहरूको संरक्षक बनिरह्यो, सरकार बन्ने ह्याउ जुटाउन सकेन भन्ने कुरा मुख्य चिन्ताको कुरा हो । अहिले सरकारमा टेक्दा त उसको गैरजिम्मेवारपना र अराजकताको यो किसिमले संरक्षक बनिरेहको छ भने भोलि सेना र अदालत जस्ता मुलुकका आधारस्तम्भमा समेत उसले एकल कब्जा जमाउने स्थति रह्यो भने, मुलुमा उसले डाँकातन्त्र र अतिवाद लाद्ने निश्चित छ भन्ने कुरा उसका कार्य र व्यवहारले देखिइरह्यो भन्ने चिन्ता अन्य स्वतन्त्र विचार र राजनैतिक सोच राख्नेहरूले लिएको मात्र हो । माओवादीले सत्ता सञ्चालन गरोस् , तर उसको सत्ता वा सरकारले , कुनै पनि सभ्य सत्ता र सरकारले गर्ने काम , आनी- बानी र व्यवहारहरू पहिला अपनाउन सिकोस् वा सकोस् भन्ने अपेक्षा अरूहरूको हो ।

अहिलेको संक्रमणको माहौलमा माओवादीले वातावरण सहज बनाउन पहल गरेर मात्र काम गर्न सिक्नु पर्दैन र ?, के अहिलेको परिस्थिति हिजोको दलगत समीकरणले गर्ने सत्ता परिवर्तनको अभ्यासमा केही फरक छैन ? हामी नया युगको निर्माण, समावेशी राजनीति र हिजोका खराबीलाई हटाएर नया नेपालको निर्माणमा अघि बढेका हौँ भने माओवादी नेतृत्वको सरकारले गरिरहेका निर्णयहरू, देखाइरहेका व्यवहारहरू, उसले दावा गरेका वाचाहरू, उसका मातहतका संघ संगठनहरूको कार्यव्यवहारहरूले माओवादी नीतिमा सबैलाई आश्वस्त पार्ने खालका छन् ? के अहिलेको तरल माहौललाई माओवादीले आफ्नो राजनैतिक बाटोका लागि एकलौटी प्रयोग गर्न खोज्यो भनेर अरूले खबरदारी गरिरहँदा , माओवादीले अरूलाई आफ्ना काम र व्यवहार मार्फत आश्वस्त पार्नु पर्ने दरकार रहन्न ?

मेरो विचारमा नेपाली अहिलेको नेपालमा कुनै पनि गैरमाओवादी चिन्तन बोकेको मान्छेको बुझाइमा सेनाको सैनिक ‘कू’ को खतरा भन्दा, माओवादी एकाधिकारवादी उद्देश्यबाट डराउनु पर्ने स्थिति बढी टड्कारो छ । किनभने उनीहरूले नै भनिरहेका छन् , ‘हाम्रो उद्देश्य हाम्रो एकाधिकारको राजनैतिक व्यवस्था हो’ । अब । हामी कसैले उनीहरूले अधिनायकवाद लाद्न सक्दैनन् भनेर मात्र के फरक पर्छ र ? राजतन्त्र बिनाको अहिलेको नेपालमा सेनाले कसका लागि किन सत्ता टेकओबर गरिदिनु पर्ने छ ? उसले केवल चाहेको हुनसक्छ, सेनाको शुद्दता र गैरराजनैतिक चरित्रमाथि धावा बोलेर कसैको पक्षमा नेपाली सेनाको हाइज्याक नगरियोस् ।

यो लेख शुरू गरेपछि, कान्तिपुरमा प्रकाशित सुधिर सर्माको आर्मी ‘कू’ को हल्ला पनि माओवादीको प्रायोजनमा चलाइएको कुरा माओवादी दावाबाट प्रष्टिइसकेको छ । सरकार सञ्चालन गर्दै भएर पनि सरकार मातहतको सेनालाई निरन्तर बिच्काएर, त्यो धमिलो पानीमा माछा मार्न खोज्ने अनि अमूर्त ‘जनताको’ दुहाइ दिएर केवल आफ्नो एकल एजेण्डालाई देशको बनाउन खोज्ने चालबाजीले मुलुक बन्छ भन्ने दिवास्वप्नबाट मुक्त भएर, मुलुकमा सर्वपक्षीय सहमतिको बाटो खोजिएन भने , देश अरूको क्रिडाभूमि बन्ने निश्चित छ ।


हिजो टुँडिखेलबाट कुर्लेर “को हो त्यो कटुवाल” भनेर कराउने प्रचण्डले आँफू देशको प्रधानमन्त्री बनिसकेपछि माओवादी छापामारको नेता मात्र नभएर, सबै देशवासीको अभिभावक बन्न प्रयत्न गरेर, रक्षा र संरक्षण दिन सक्ने सामर्थ्य बनाउन सक्नु पर्छ । अरूलाई गाली गर्दा “ यो देश तिनीहरूका बाउको विर्ता हो?” भनेर अश्लील ढंगले गला फोरेर चिच्च्याउने प्रचण्डले यो पनि बुझ्न जरूरी छ कि यो भनाइ उनी स्वयंका लागि पनि उत्तिकै १००% लागू हुन्छ । किनभने यो मुलुक अरू कसैका बाउको विर्ता हैन भने प्रचण्डका बाउको विर्ता पनि हुन सक्दैन नि ! हैन र ?


अन्त्यमा, त्रिभूवन विश्वविध्यालयका उपकूलपति र शिक्षाध्यक्षमाथि गरिएको माओवादी दुष्कार्यको निन्दा गर्दछु ।



February 27, 2009

समान शिक्षा, अर्थमन्त्रीको सोच र ‘विष्फोट’ ।

नेपाललाई १० बर्षमा १० हजार किलोवाट बिजुली निकालेर उज्यालो र समृद्ध देश बानाउने नाराका साथ अगी बढेका माओबादी सरकारका एकजना प्रभावशाली नेता र हालका अर्थमन्त्रीले हिजो ‘अबका दिनमा सरकारी तलब खानेका छोराछोरीले “बोर्डिङ स्कुल”मा पढन नपाउने’ भन्ने यौटा गज्जबको नीति निर्माण हुन लागेको जानाकारी गराउनु भएको छ ।

कुरोको चुरो शुरु गर्नु अगाडि पहिला त मलाई यो नेपालको परिप्रेक्षमा यो “बोर्डिङ स्कुल” भन्ने शब्दको अर्थ नै अहिले सम्म प्रष्ट छैन

शब्दकोषहरु पल्टाएर हेर्दा boarding school भन्नाले “A private school where students are lodged and fed as well as taught” भन्ने बुझिन्छ। विकिपेडियामा हेर्ने हो भने त अझ “...the word 'boarding' in this sense means providing food and lodging.” भनेर बोर्डिङ स्कुल भन्नाले ‘आवासीय स्कुल’ वा अझ प्रष्ट गर्दा ‘पढने-बस्ने-खाने’ स्कुल भन्ने बुझिन्छ। तर हाम्रो नेपालमा भने २-३ वटा अंग्रेजीका किताब पढाउने निजि बिद्यालय सबैलाई (आबासीय सुबिधा भए वा नभए पनि) ‘होलसेल’ मै “बोर्डीङ स्कुल” भनिन्छ ।

बोर्डीङ स्कुलको अबधारणालाई हेर्ने हो भने हामीकहाँ रहेका कतिपय “बोर्डीङ स्कुल” बास्तबमा बोर्डीङ स्कुल नै होईनन्। त्यसैले हाम्रा अर्थमन्त्रीले कस्ता खाले स्कुलमा सरकारी तलब खानेले छोराछोरी पढाउन नपाउने गर्न लाग्नु भएको हो बुझ्नै पनि गाह्रो छ । तर कुरा जे भए पनि अब ‘सरकारी तलब खानेका छोराछोरीले सरकारी स्कुलमै पढनु पर्ने भो’ भन्दा चाहि मन्त्रीज्युको भाव बुझ्न सकिन्छ ।

अब लागौं यस्तो व्यबस्था गर्नु पर्ने कारणतर्फ, मन्त्रीजूको विचारमा सार्वजनिक पद धारण गरेका व्यक्तिले निजी शिक्षण संस्था खोल्ने र तिनमा आफ्ना छोराछोरी पढाउने गरेको र त्यसले गर्दा सरकारी शिक्षण संस्थाको शैक्षकस्तर खस्कने गरेको छ’ रे! । गज्जबको सोच छ !! अनी गज्जबको छ आँकडा पनि!!, देसमा कतिजना त्यस्ता व्यक्ति होलान जो आफ्ना बच्चाबच्चीकोलागि आफैं स्कुल खोल्न सक्षम होलान । फेरी कसैले निजी स्कुल खोल्दैमा कसरी सरकारी स्कुलको स्तर कसरी खस्कन्छ ?, सोचिनसक्नु छ ।

शिक्षामा एकरुपता ल्याउने माओबादिका गफहरु १० बर्ष अगाडि देखि नै सुनिदैं आएको हो र अझै पनि ´फेरि पनि गरीब र धनीले पढ्ने शिक्षा फरक रह्यो भने यहाँ ज्वालामुखी विष्फोट हुन्छ´ भन्ने अभीव्यक्ति दिन मन्त्रीज्यू पछाडी पर्नु भएको छैन । अब के त ? यो ‘विष्फोट’ बाट जोगाउन सबै निजी स्कुल बन्द गर्ने त?, कि निजि स्कुलाई पनि स्तरीय शिक्षा दिन बन्द गर्न आदेश दिने?। उहाँकै बिचार अनुसार सबैलाई एकै किसिमका शिक्षा दिने हो भने यो दुई बाहेक अर्को तेस्रो विकल्प छँदा पनि छैन ।

सरकारी स्कुलको स्तर खस्कनुमा निजीस्कुलको कुनै हात छैन, यसकालागी हालसम्मका हाम्रा शिक्षा नीति नै जिम्मेबार छन । कुनै यौटा निकायमा समस्या देखा परेपछि, समस्या निराकारण गर्ने कि त्यो समस्याले अछुतो रहेको निकायहरुलाई बन्द गर्ने ?।, यो कुनै पनि विचारवान व्यक्तिलाई सोध्नु पर्ने प्रश्‍न पक्कै होईन होला। त्यसैले सरकारले सरकारी स्कुलको गुणस्तर सुधार्नेतर्फ ध्यान दिनु जरुरी छ, जसको लागि:

शिक्षकरुलाई तालिम आदिको व्यबस्था गर्ने

पाठ्यक्रममा क्रमिक सुधार गर्दै लाने

सरकारी स्कुललाई सकेसम्म सुबिधासम्पन्न बनाउने

सरकारी स्कुलका शिक्षक र कर्मचारीलाई सकेसम्म बढि सुबिधा उपलब्ध गराएर योग्य व्यक्तिहरुलाई सो सेवामा आकर्षित गर्ने आदी धेरै कार्य गर्न सकिन्छ ।

सरकारी कर्मचारी वा सरकारी लाभको पद धारण गरेकालाई आफ्ना बालबच्चा सरकारी स्कुलमै पढाउनु पर्ने हावादारी नीयम बनाएर न त सरकारी स्कुलको स्तर उठछ, न त हाम्रो देसमा यो नीयमको कार्यान्वयन नै प्रभावकारी हुन सक्छ ।

सरकारी र निजी स्कुलमा गुणस्तरीय भिन्नता छन, तर यस अबस्थामा सरकारी स्कुलको स्तर उठाएर तिनलाई निजि बिद्यालयसंग प्रतिस्पर्धा गर्न लाएक बनाउने कि, निजि बिद्यालयलाई पनि सरकारी स्तरमा झार्ने ? यो प्रश्‍न पनि विवेकशील व्यक्तिलाई सोध्नै नहुने प्रश्‍न हो । खाली ‘केहि गर्दैछौं’ भन्ने देखाउनलाई मात्रै वा समानता को ढ्याङ्रो ठोक्नलाई यो नीति ल्याउन लागिएको हो त्यो त मन्त्रीज्यू र यसका नीति निर्मातालाई मात्रै थाहा होला तर सोचको क्षणीक ‘उठान’ को प्रभावमा आएर गर्न लागीएको यो निर्णयले सहमति भन्दा बिबाद र सुधार भन्दा बिगार नै बढि गर्नेमा भने कुनै सन्देह छैन ।

अन्तमा सरकारी स्कुल र निजि स्कुलमा स्तरीय भिन्नता छँदा ‘विष्फोट’ हुने देशमा भोलीको दिनमा सरकारी अस्पताल र निजी चीकित्सालयको सेवा र गुणस्तरको भिन्नताले पनि ‘विष्फोट’ होलान । सरकारी बैंक र निजि बैंकको सेवा र सुबिधामा फरक आँउदा पनि ‘विष्फोट’ होलान । सरकारी उद्योग र निजि उद्योगको आर्थीक असमानताले पनि ‘विष्फोट’ होलान। अनी त्यस्तो बेलामा के गर्ने?, सरकारी कर्मचारीले कमाएको पैसा सरकारी बैंकमा मात्रै राख्‍न पाउने , बिरामी भएमा सरकारी अस्पतालमा मात्रै उपचार गर्न पाउने, कुनै पनि सामान वा सेवा चाहिएमा पनि सरकारी उत्पादन वा सेवामुखी निकायमा मात्रै भर पर्नु पर्ने?। साझाकै बस बाहेक अरुमा सबारी गर्न नपाउने, नेपाल एयरलाईन्स बाहेकका अरु बिमानमा चढन नपाउने ?।

मन्त्रीज्यू निजी संरचनालाई हल्लाउने हैन, सरकारी निकायलाई मजबुत गर्ने तर्फ लाग्नुहोस, बोर्डिङ स्कुलको स्तरमा अंकुश लगाउने हैन सरकारी स्कुलको गुणस्तर सुधार्न लाग्नुहोस। जनताले पक्कै साथ दिनेछन । समानता र स्वतन्त्रता संगै जान मुश्किल हुन्छ । त्यसैले समानताको नाममा आफनो योग्यता र आर्थिक क्षमताले भ्याउने स्कुल छान्ने स्वतन्त्रतामा ठाडो अंकुश नलागाउनुहोस । हैन महंगा निजि बिद्यालय ( ओहो ! ‘बोर्डिङ स्कुल’ भन्नु पर्छ क्यार ! ) मा आफ्ना छोराछोरीलाई पढाउन सरकारी कर्मचारीले भ्रष्टाचार वा आर्थिक हिनामिना गर्छन र यसरी उनिहरुलाई सरकारी स्कुलमै पढन बाध्य गरेपछी भ्रष्टाचार रोकिन्छ भन्ने विचार हो भने यो मैले आजसम्ममै सुनेको सबैभन्दा हाँस उठने ठट्टा हो ।



February 15, 2009

हेर्नूस् त मुलुकमा अपराधीकरणको सरकारीकरण हुँदै कानूनको धज्जी उडेको

WITHDRAWAL OF 349 CRIMINAL CASES

Among the beneficiaries: 131 murderers, 4 rapists

Panchthar—8 Morang—2
Dhankuta—7 Sankhuwasabha—2
Siraha—1 Rautahat—4 (rape)
Gorkha—60 Rolpa—5
Banke—1 Dailekh—7
Surkhet—6 Humla—11
Kailali—2 Kanchanpur—3


यसो त मुलुकबाट हरबखत प्रेषित भैरहेन नकारात्मक समाचारहरू पढ्न र सुन्न नपरोस् भनेर भगवानसंग कामना नगरेको पनि हैन । तर, एउटा नेपाली भएर यस्तो कल्पना गर्नु दिवास्वप्न देख्नु सरह हो भन्ने जान्दा जान्दै पनि , मनले असल कामना राख्न र सोच्न छाड्दो रहेनछ । मुलुकभित्र बडेबडे परिवर्तन हुँदै गर्दा नराम्रा कुरा , व्यवहार र कामहरूको क्रमश: अस्त हुँदै जाला भन्ने सोचिएको थियो । कथित क्रान्तिकारीहरूको सत्तारोहण भएपछि त नेपाली राज्यसत्ता र मेशिनरी भित्र रहेका फोहर र रोगहरूको निदान होला भन्ने कुरा अरूले जस्तै मैले पनि सोचेको थिएँ तर दिन बित्ने क्रमसंगै नेपालको भाग्य खराब, खराबतर र खराबतम बन्ने दिशा उन्मूख भएको लाग्दैछ । लाग्छ, प्रचण्डलाई कानूनको शासन भन्ने शव्दप्रति सख्त घृणा छ । त्यसैले उनी चाहन्छन् सबै अपराधी, हत्यारा र बलत्कारीहरूलाई अभयदान दिनुपर्छ र तिनीहरूको एकल संरक्षक माओवादी पार्टी बन्नु पर्छ । व्यवहारमा यसो गर्ने दल र सरकारले कसरी देशमा सुरक्षा, शान्ति र निर्भयताको वातावरण कायम होवस् भन्ने चाहला र ?

आजको माइरिपब्लिका डट कमको वेब संस्करण पढ्दा शिर्षकमा माथिको कुरा फेला पर्‍यो । यो पहिलो गासको झिंगा जस्तै मेरो आजको दिनको लागि । समाचाररले भन्छ , माओवादी नेतृत्वको गणतान्त्रीक सरकारले देशभरिका जेलमा रहेका , सजाय भोग्दै कैदी जीवन बिताएका सम्पूर्ण अपराधी र बलत्कारीको मसिहा बन्ने इच्छा राखेछ र तिनीहरूलाई रिहा गर्ने अति ठूलो गणतान्त्रिक काम पो गरेको रहेछ बिगत केही महिनाका अवधिमा ।

केही समय अघि रेडियो र टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दा कामरेड प्रचण्डले वहाँको स्वाभाविक भावुक रुञ्चे शैलिमा भनेका थिए - हामीले केही गर्नै सकेका छैनौँ । आँफु प्रधानमन्त्री बनिसकेपछि आफ्नो पहिलो क्याबिनेट बैठकमा देश भरिका जेलहरू खालि गर्ने प्रस्ताव लैजाने प्रचण्डले केही समयपछि, जेलमा सडेका अपराधी, हत्यारा वा बलत्कारीको मुक्तिका लागि अवश्य केही गर्लान होला भन्ने कुराको लख काट्नेहरूको शंका आखिरमा सही साबित गरिदिएका छन् ।

यस्तो लाग्छ माओवादी दल र उसको सरकारलाई फेरि अर्को चुनाब दुई तिहाइ मतका साथ जित्नका लागि धेरै मान्छेको खाँचो छ । उसलाई यो पनि थाहा छ कि सभ्य र सामन्य नागरिकले दिने भनेको एक मत हो र तिनिहरू डरको वातावरण भएमा निर्वाचन केन्द्रसम्म जाने साहस पनि राख्दैनन् । अपराधी र हत्याराहरूले डर र त्रासको वातावरण सिर्जना गरेर सारा गाउँभरिको मतलाई एकातर्फ सोहोर्न मद्दत पुर्‍याउन सक्ने भएकाले , यिनको मन जित्न र यिनलाई आफ्नो बनाउन यिनको कल्याणमा माओवादीले अहिलेको शक्ति लगानी गरेको हुनसक्छ । हैनभने के सबै जेलभरिका दूर्नाम अपराधीहरू माओवादीका आफ्ना कार्यकर्ता नै थिए र उसले यिनको रिहाइका लागि यत्रो कथित जनयुद्दको बल लगानी गर्नु परिरहेको छ ?

जे होस् यो र यस्तै उदाहरणहरू देख्दा , नया नेपालको रूपरेखा कता डोरिँदैछ भन्ने कुराको आँकलन गर्न कसैलाई गाह्रो पर्ने भने देखिन्न ।



February 11, 2009

धमला, प्रेसमाथि हमला र अपराध संरक्षण

Quote नेपाल यस्तो देश हो जहाँ कुनै अभियुक्तको अभीयोग प्रमाणित हुनु अघि र अदालतले आफ्नो राय दिनु अगाडी नै अभीयुक्तलाई निर्दोष साबित गर्नेहरुको लाईन लाग्ने गर्छ ।

गज्जब छ हाम्रो देश !, बस लुटने डाँका, सुन भीत्र्याउने तस्कर वा रंगेहात समातीएको आतंककारीनै किन नहोस, यदि उलसे कुनै दलको झोला, झण्डा वा डण्डा समातेको छ भने त्यो दलका ठूला भन्दा ठूला दिग्गज र बरिष्ट नेता पनि तिनका बचाउकोलागी यसरी लागि पर्छ मानौं त्यहि एकजना अभियुक्तमा देशको अस्मिता टिकेको छ ।

यसो त अदालतमा विचाराधिन भएको कुनै पनि मुद्दाका बारेमा राजनैतिक बृत्तबाट टिका टिप्पणी हुनु आफैमा गलत कुरा हो, त्यसमाथी पनि घामभन्दा प्रष्ट प्रमाणलाई पाखा लगाएर त्यसको विल्कुल बिपरीत अभियुक्तका सम्बन्धमा हुनसक्ने आदेशलाई समेत प्रभाव पार्न सक्ने वा दबाब दिने खालका वक्तव्यबाजी गरेर हाम्रा नेताहरु कहिल्यै थाक्दैनन।

यत्ती भुमिका पढ्दा सायद कुरा प्रष्ट भैसकेको हुनुपर्छ, यस पटक कुरा ऋषि धमला नामधारी र पत्रकारीताको आडमा आतंकमा संलग्न व्यक्तिको वारेमा हो । म उनलाई ‘आतंककारी’ नै भन्छु, कारण जसरी अपराध पनि त्यसको प्रकृति अनुसार फरक फरक हुन्छ त्यसैगरी आतंक पनि थरी थरीका हुन्छन। उनी माथी हतियार र विष्फोटको अभियोग सिद्द हुन्छ हुदैंन त्यसमा नेपाल पुलीसको सोच, समझ रणनीति र अदालतको निस्पक्षता आदी कारणले भुमिका खेल्लान, तर यदी उनी चंदा आतंक र सोसंग सम्बन्धित ठगी र असुलीको ईल्जामबाट पनि मुक्त भए भने चाहि त्यो न्याय पालीकाको मात्रै हैन सम्पूर्ण न्याय प्रेमी जनताको हार हुनेछ ।

गएको हप्ता धमला समातीए, समातिनु पर्ने थियो समातीए। तर त्यसको लगत्तै आफूलाई देशको सर्बशक्तिमान सम्झने कोईराला परिवारको एकजना नेताको देनकोलागी आजिवन व्याज खाएर बसेका नेताले वक्तव्य दिए ‘यो प्रेसमाथिको आक्रमण हो ! ’ ।

नेपाल प्रहरीले हालसम्म सार्बजनीक गरेका सबै प्रमाणहरु हेर्दा र सुन्दा यस अपराधमा यि धमला मुछीएका होईनन, प्रमुख भुमीका निर्बाह गर्थे भन्नेमा कसैलाई शंका बाँकि रहदैन। तर यहि ईश्युलाई ठुलो बनाएर ‘जाते-जाते’ एक पटक फेरी ‘राज’ गर्ने मनाशयले हो वा लहरो तान्दा परो गर्जने डरले हो गिरिजाले त्यतिले मात्रै नपुगेर प्रेसलाई सो मुद्दा नियोजित भएको समेत भन्न बाँकी राखेनन् । देशलाई कानुनी राज र सुशासनमा डोहर्‍याउने जिम्मा लिएर बसेका नेताका यो कुरा सुनेर जनताले पुर्पुरोमा हात राख्‍ने बाहेक अरु गर्न सक्ने केहि थिएन ।

धमिराले खाएको बुद्धि र कुर्सीप्रतिको अत्यधिक हवसका कारण गिरिजाले सो विचार व्यक्त गरेको ठहर गरे सबैकुरा देखेका र सुनेका सबैले ।

त्यहि बिचमा केहि धुपौरे र केही आसेपासेले सायद उनकै ईशारमा यि आतंकिलाई निर्दोष साबित गर्ने जेहाद पनि छेडे नेपालमा । हुन त यो बिचमा तिनलाई अपराधि प्रमाणीत गर्ने अन्य प्रमाण र उनलाई अन्य मुद्दामा ‘पोल्ने’ को पनि कमि नरहेको समाचारले देखाउँदै छ ।

गिरिजाको अभिव्यक्ति पुरानो हुन नपाउँदै ´उनीमाथि लागेको अभियोग प्रमाणित नहोस् भन्ने मेरो चाहना हो।´ भन्दै आज फेरी अर्को बक्तव्य आएको छ हाम्रा बहालवाला गृहमन्त्रीको । गज्जबको तर बुझीनसक्नुको चाहना छ हाम्रा गृह मन्त्रीको । शान्ति शुरक्षाको बागडोर सम्हालेर देशमा अमन चैन दिने ठेक्का लिएर बसेको यौटा मन्त्री कुनै संकोच र शरम बिना सिधै यौटा अपराधिलाई बाईज्जत वरी गर्न आतुर छन । बामेले के कस्तो अबस्थामा यो अन्तर्मनको आंकाक्षा जनासमु ल्याए त्यो त थाहा छैन तर जे जस्तो परिस्थितिमा बोलेको भएपनि देशको गृहमन्त्रीको हैसियतले बोल्नै नहुने कुरा थियो यो ।

यस्ता बक्तव्यले पक्कै पनि धमला र धमलाजस्तै देशको अस्मिता र जनताको सम्पतीमा हमला गर्नेहरुलाई ठुलो प्रोत्साहनको मिलेको हुनुपर्छ । उनको यो महावाक्य सुनेर देशभरका अपराधिहरुमा शक्ति संचार मात्रै भएन होला, सबै चोर–डाँका, फटाहा र अपराधिहरुका छाती आफूमाथि पनि कसैको संरक्षणको हात छ भनेर गर्वले चौंडा भए होलान र ३-४ दिन पछाडीको ‘भ्यालेन्टाईन्स डे’ अग्रिम रुपमै मनाउन व्यस्त भए होलान तिनिहरु ।

सत्तापक्ष र प्रतिपक्ष दुबैनै यसरी एकजना बदनाम आतंकीलाई साधु साबित गरी जोगाउन लागेपछि यिनिमाथि लागाईएका मुद्दामा कति प्रभाव पर्छ र यो मुद्दा कसरी अगाडी बढ्छ सहज अनुमान लगाउन सकिन्छ । तर कुनै जमानामा भौतिक कारबाहिको नाममा ठाउँ-कुठाउँ र जसलाई पनि गोली हान्दै हिडंने माओबादीलाई समेत उल्टै गोली हान्ने अर्को समुह जन्मि सकेको बेलामा यस्ता अपराधिलाई बचाउने कार्यले अन्तत्वगत्वा ति बचाउनेलाई पनि प्रतिकूल असर मात्रै गर्नेछ भन्ने चाहि यिनका कुहिएका दिमागमा कहिले घुस्ने होलान?।



February 9, 2009

प्रम प्रचण्डलाइ नया गाडी चाहीएकै हो त?

आज सांझ नेपालको खबर जानुँ भनेर नेपाली पत्र पत्रिका भित्र छिरेको, प्रमलाइ नया गाडी किनिएको खबरले समाचार तातेको रहेछ। माओबादीको संस्कार देखेर तिन छक पर्ने मलाइ यो गाडी प्रकरणले चार छक चाहीं पारेन। जुन कुरा पनि रबर झै मर्‍याक मुरुक पारेर जोडदारका साथ सहि रुपमा देखाउने कमरेडहरुको शैली सधै उही हुने गर्छ। त्यसैले एक करोडको गाडी किन किने होला भनेर सोच्न तिर लागिन। घडी र पलगंको कहानी झै गरेर १-२ महिना पछि भाषणमा प्रचण्डले नै कमिडी गर्दै खुलाउने छन नया गाडीको कथा। त्यसैले प्रचण्डको नया गाडीलाइ अरुकै आखाले हेर्दैछु।

यो खबर अरुले नै पत्ता लगाएर हो या के हो, कान्तीपुर र हिमाल खबर यो खबरबाट बेखबर रहेछन। नेपाल समाचार पत्रले पनि चासो देखाएनछ यो खबरमा। सायद सन्ध्याकालीनले स्कुप मारी सक्योहोला। नेपाली भाषाको पहिलो वेव पत्रिकाले स्वकीय सचीबको गोली काण्ड लेखे पनि गाडीको खबरलाइ वास्ता गरेनछ। तर नेपाली भाषाको पहिलो ब्लग माइसंसारले भने मर्सिडिज सहित ३ वटा गाडी हुंदा हुंदै चौथो गाडी ल्याएर देशमा चमत्कार गर्न नसके पनि आफ्नो जिवनमा चमत्कार गर्ने प्रयास गरेको भनेको छ। अनावश्यक खर्च गरे कारबाही गर्ने भनेर गरेको निर्णय अब प्रमलाइ नै लागु हुन्छ त माइसंसारले प्रश्न गरेको छ। हाम्रो ब्लगले भने काम नगरी मामको टुंगो नहुने सर्वहारा वर्गका नेताको सौख पचास हजारको घडी,२ लाखको खाटहूदै करोडको गाडीमा सोझिएको छ। गाडी किनेको कुरालाइ हाम्रो ब्लगले पेच हान्दै भनेका छ "सायद कतै कुनै छाप्रोमा सर्वहाराहरु दगंदास मुडमा टिप्पणि गरिरहेका हुनसक्छन-यि नोकरशाही विदेशीका दलाल, विस्तारवादीका एजेन्ट पुजीपतिवर्गहरु हाम्रा नेताले एउटा फुच्चे गाडि चढ्न लागेको पनि सहन सकेनन"।

नया पत्रिकाले भनेको छ कल्कत्तामा आइसकेको खरानी रंगको टोयटा लेन्डक्रुजर फाल्गुन १२ सम्ममा प्रचण्डले चढ्नेछन। यो गाडीको फीचरमा बाटो देखिने क्यमेरा,रिमोट बटन भएको ढोका आदी भनेर लेखिएको छ। हुन त यस्तो फीचर बिदेशमा साधरण गाडीमा भए पनि दुइवटा मर्सिडिज, नया टोयटा गाडीहुंदा हुंदै यो नया गाडी अती अनावश्यक भनेर नया पत्रिकाले लेखेको छ। यो गाडीको बारेमा जानकारी यो लिंकमा हेर्न सक्नुहुनेछ। यसमा यस्को दाम ६५ हजार अमेरीकी डलर भनिएको छ।

मैले त अरुकै आंखाबाट हेरे प्रचण्डको नया गाडी, पाठकहरु तपाइ आफ्नै आंखाबाट हेर्नहोस कस्तो लाग्यो त प्रचण्डको नया गाडी? उनलाइ यो गाडी चाहीएकै हो त?



December 13, 2008

कामरेडको बन्दुके कंम्पन !

पहिला बिध्वंसकारी हुदैं आतंककारी सम्मको बिल्ला पाएका, अनि पछि भने क्रान्तिकारीको धार समाएर गणतन्त्रकारी हुँदै सरकारी भएका हाम्रा प्रधानमन्त्री ज्यूलाई आजकल चिन्ता छ रे ।

क्रान्तिकारी सोचको प्रभावकारी परिचालन गरेर नेपाललाई चमत्कारी बिकास गर्छु भन्दै हिडंने मान्छे आजकल नेपालको राजनेताहरुले सधैं बोल्दै आएका र आफ्नो नालायकीपन लुकाउन सबैले प्रयोग गर्ने पुरानो वाक्यांस प्रयोग गर्देछन " … के गर्ने ? काम गर्न त खोजेको हो नि! विदेशी षडयन्त्रकारीले गर्नै दिंदैनन। "

कुनैबेला 'अब हामि आयौं, दश बर्षमा नेपालले युगान्तकारी लक्ष हासिल गर्छ' भन्दै हिंडने मान्छेको यो लाचारी र र बिलम्बकारी बचन सुनेर जनता पनि अकमक्क परेका छन।

त्यसो त, बेला-कुबेला बर्बराउने र कहिले आफ्नै त कहिले अमेरीकी कुटनीतीज्ञको हत्याको योजना बनेको जस्ता हल्ला फैलाएर एकचोटी त 'त्रिशुल बाबा-२' को उपनाम समेत पाएका हुन उनले। अनी उनका केहि धूँवादार वक्तव्यलाई ठट्टा सम्झेर हाँस्ने बानि पनि परिसकेको छ नेपाली जनताहरुलाई । तर हालै केहि समय यता भने केहि दिनको अन्तरालमै फरक फरक वक्तव्य दिएर उनी जनता हँसाउने हैन तर्साउने काममा लागेका छन।

उनको वक्तव्य सुनेर हाल देशमा दुईथरी सनसनी फैलिएको छ । एकथरी मानिसहरु उनको यो वक्तव्यलाई पुरानै ठट्टाका नया 'कडी' सम्झेर बस्दैछन भने केहि भने हतप्रद: भएका छन। कारण, उनको नया वक्तव्य पहिलेको भन्दा पनि अझै भारि-भरकम छ। अझ सिधै भन्ने हो भने उनको यसपालाको वक्तव्य, वक्तव्य कम, धम्की बढि छ। त्यो पनि हतियार उठाउने धम्की

सरकारमा आफैं छन र फेरि आफैं हतियार उठाउने धम्की पनि दिदैंछन हाम्रा जननेता, गज्जव छ! यो हतियार कस्को बिरोधमा उठाउन लागेको हो सामान्य सोचको मान्छेले बुझ्न कठिन छ ।

केहि महिनाको सरकारी कुर्सीको आरोहण पछि नै कामरेडहरुको चमत्कारी गफका घैंटो फुटि सकेको प्रष्ट भएको छ र उनका हालैका दिग्भ्रमित वक्तव्यहरु केलाएर हेरेमा गनतन्त्रका पूजारीहरु गणतन्त्र हाँक्न नसक्ने प्रष्ट भैसकेको छ ।

अबका दिनमा पनि ‘विदेशीले काम गर्न दिएनन’, ‘सहयात्रीले सहयोग गरेनन्’ भन्ने सढे-गलेका बासी वक्तव्य दिएर आफनो नालायकिपन छुपाउने प्रयास नगर्दानै कामरडहरुको हित हुने देखीन्छ । त्यस्तै कुरालाई छुट दिने हो भने ज्ञानेन्द्रले पनि एकताका "विदेशी पैसाको बाढी" आएको कुरा बताएका थिए र उनलाईनै बाढि पैह्रो रोकीएपछि फेरी देश चलाउन दिए वा ‘बाँध’ बाँधेर काम चलाउन दिएको भए नि हुन्थ्यो नि! , अझ अगाडी जाने हो भने पन्चेहरुले पनि मुखले त देश बनाउँछौं भनेकै थिए क्यार ! उनिहरुले पनि विभीन्न कारणबस बनाउन पाएनन् होला। उनिहरुलाई नै निरन्तरता दिएको भए पनि हुन्थ्यो नी।

समष्टिमा जनतालाई अब 'परिणाम' चाहिएको छ, कसैको गन्थन वा हुत्तिहारापन लुकाउने शब्दजालको वक्तव्य हैन। हजारौं जिवनको वलिदान र बर्षौं को प्रतिक्षा पछि देशमा गणतन्त्र आएको छ । अब फेरि पनि कसैले जनतालाई शब्दजालले भुलाउँला, आफ्नो अकर्मण्यतालाई विभिन्न आन्तरीक वा वाह्य समस्याको पुरानो पर्दा लटकाएर लुकाउँला भनेर नसोच्दैमा राम्रो होला ।

सत्तामा बस्ने रहर मात्रै छ तर देश चलाउने हुत्ती छैन भने योग्यलाई सत्ता छाड्न प्रजातन्त्रमा कहिल्यै छेकवार छैन । हैन, फेरी पनि छोरी कुटेर बुहारी तर्साउने युक्तिको लागी कामरेडद्वारा यो हतियार उठाउने धम्की दिएको हो भने यसले उनिहरुको खोक्रो आदर्श, कार्यकुशलता, क्षमता र योग्यतालाई झनै नङ्याउने निश्चित छ ।



November 24, 2008

माओवादी उपयोगिताबाद र कांग्रेसको दौडाह

शेखर ढुङ्गेल

उपयोगिता अनि भड्काउ रणनीति अपनाई आफु इतर उभिएका सम्पूर्ण राजनैतिक धारलाई फकाउँदै, उचाल्दै र पछार्दै सत्ता प्राप्त गर्न सफल भएको माओवादीलाई थाहा छ सरकार चलाउनु र आफ्नो बर्चस्व कायम राख्नु फलामको चिउरा चपाउनु भन्दा गाह्रो छ । त्यसो भनेर माओवादी नेतृत्व अव आफ्नो जनयुध्दताकाका प्रतिबध्दता जनसेना एबं कार्यकर्तालाई छोडेर एमालेको बाटोमा अवतरण गर्ने घातक काम गर्न पनि सक्दैन । त्यसैले सत्ताको नेतृत्व गरेको माओवादीले फुटाउ र राज गरु भन्ने पुरानै सिध्दान्तको उपयोगबाट अगाडि बढ्ने संकेत गर्दैछ ।

माओवादीले एमालेबाट आफु पक्षीय इतरलाई अनि हिजोसम्म कट्टर दुश्मन मानेको राजावादी पक्षधर हस्तीहरुलाई हरियो घाँस देखाउँदैछ । माओवादीले यसो गर्नुको पछाडि उनीहरुको अनुभव उपयोग गर्ने भन्दा पनि कांग्रेस-एमाले वा कांग्रेस र अन्य संसदवादी दलहरुलाई सामिप्य हुन नदिनु हो । माओवादीभित्र अविश्वास भ्रम अनि विवादको अझै डर भनेको कतै कांग्रेस-तीनैथरि राजाबादी दलहरु र स-साना दललाई एकत्रित गरी शक्तिशाली नबनोस् । त्यसो भएमा माओवादीले आजसम्म प्रयोग गरेको रणनीति असफल बन्नेछ । अन्तर्राष्ट्रिय जगतले समेत प्रजातान्त्रिक मोर्चाको साथ दिनेछ ।

माओवादीले सरकारको नेतृत्व सम्हालेपछि बिभिन्न गोप्य एवं सार्वजनिक कृयाकलापले भारत र अमेरिका झस्किसकेका छन् । माओवादीले दर्जनौं शान्ति सम्झौतामा गरेका प्रतिबध्दता पुरा गरेको छैन । माओवादीले जबर्जस्ती कब्जा गरेका सम्पत्तिको बदला सरकारले क्षतिपूर्ति दिने भनेर उल्टो देश लुट्ने उद्घोष गर्दैछ । चीनसित माओवादीको बढ्दो सामिप्य, पासाङ्लाई प्रधानसेनापति बनाउने र चीनमा उसलाई बिशेष तालिमको चर्चा, मन्त्रीहरुको गोप्य चीन भ्रमण र भेटघाटले भारत अमेरिका झस्केका हुन्- कतै चीनले बर्मालाई बाजले छोपेझैं छोपेर अमेरिका र भारतको छायाँसमेत पर्न नदिए झैं नेपाललाई चीनले त्यस्तै बनाउने त होइन भन्ने चिन्ता अमेरिकालाई बढेको देखिन्छ ।

यस्तो अवस्थामा माओवादीको लागि कांग्रेस इतरका स-साना दललगायत पूर्व दरबारिया र शैनिक अनि कर्मचारीको सहयोग प्राप्त गर्नु आवश्यक छ । जोसित कांग्रेसले ऐतिहासिक भूल गरी दुश्मनी बढाएको छ । पूर्व राजावादीहरु राजसंस्था खत्तम हुनुमा माओवादीभन्दा पूर्व प्रधानमन्त्री कोइराला नै बढी दोषी देख्दछन् । बयोबृध्द नेता कोइरालाले राष्ट्रपति बन्ने लालचमा अन्तमा पूर्व राजा ज्ञानेन्द्रलाई धोका दिएको भन्ने एबं विश्वास गर्नेको संख्या ठूलै छ । अर्का बृध्द नेता श्रीभद्र शर्मा भन्नुहुन्छः प्रजातन्त्र र राष्ट्रियताका लागि वीपीले राजासित सम्झौता गर्नु उचित देख्दथे भने गिरिजाले माओवादीसित सम्बन्ध बढाएको परिणाम देखिएको छ ।

त्यसै माओवादीले १० वर्षे ४० वर्षे योजना अघि सारेका छैनन् । त्यसभित्र ठूलै ग्य्राण्ड डिजाइनको अनुमान गरिएको छ । माओवादीले परम्परागत संसदवादी व्यवस्था वा माओको कम्युनिष्ट व्यवस्था दुबै असान्दर्भिक बताउनुको बीचको व्यवस्था कतै बर्माको स्वरुप त होइन जेहोस् माओवादी तत्कालै र सजिलै अव सत्ताबाट अवतरण गर्नेवाला छैन । चीनमार्फत अमेरिका र भारतको विरुध्द ढालको तर्जुमा गरिसकेको हो भने अधिनायकवादी शासनको गन्ध आएको मान्नुपर्छ । बचन प्रतिबध्दता दिने तर कार्यान्वयन नगर्ने माओवादी रणनीतिको अगाडि रुकावट बन्न कोही सकेका छैनन् । माओवादी आफु सृदृढ हुन अन्य दलका सदस्यलाई फकाउने अभ्यास गर्दैछ । कारवाहीको त्रासदीबाट बच्न राजावादी पूर्व प्रशासक माओवादीप्रति नजिक हुन लालायित देखिन्छन् । ‘मरता क्या नही करता’ भन्ने हिन्दी कथनजस्तै एकातिर उनीहरु माओवादीप्रति आकर्षित हुनु अर्कोतिर कांग्रेस वा अन्य दलसित राजावादी पूर्व प्रशासकहरु नजिक नहोउन् र आफ्नो हात बलियो पार्ने माओवादीको उपयोगिताबाद नीति स्पष्ट देखिन्छ ।

बदलिएको परिस्थितिमा नेपालको एकमात्र पुरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेस भने अस्तित्व बचाई राख्ने जोखिमपूर्ण पीडा बोकेर छटपटाइरहेको छ । यो दल असफल हुनुमा नेतृत्वको तानाशाही प्रवृत्ति नै एकमात्र कारण देखिन्छ । तानाशाही नेतृत्वकै कारण पुरानो कर्मठ त्यागी विव्दान कैयौं नेता-कार्यकर्ता पाखा लगाइए स्वयं पाखा लागे वा निस्कृय भएर बसेका छन् । कोही फुटेर कोही छुट्टिएर गए पनि यो ऐतिहासिक दललाई फरक नपर्ने भनी अति अहम्कारी बक्तव्य समेत नेतृत्व बर्गबाट आयो । कत्ति फरक पर्‍यो  कि परेन त संविधानसभा निर्वाचनको परिणामले देखाइदियो । तमलोपा फोरममा गएका कांग्रेस सदस्य र तिनको संख्या जोड्दा कांग्रेस आज पनि अग्रपंक्तिमा छ । ती नेता कार्यकर्तालाई समेट्नुको साटो घचेट्ने अदूरदर्शी कांग्रेस नेतृत्वको कारण यो दलको यस्तो दर्दशा भएको छ । स्वदेशमा मात्र नभै विदेशमा पनि कांग्रेस समर्थकहरु शर्मनाक बिबादमा अल्झिएर एकले अर्कालाई नङ्ग्याउँदैछन् । केन्द्र मूकदर्शक बनी तमासा हेरिराखेको छ । या त एकत्रित गर्न सक्नुपर्छ या बिघटन गरी अर्को समिति बनाउनु पर्छ त्यो गर्न कांग्रेसको नेतृत्व पक्ष असफल देखिन्छ ।

अरु त अरु संविधानअनुसार संसदीय दलको नेता आजसम्म चयन गर्न सकेको छैन । बिना औपचारिक प्रकृया र निर्णय नै गिरिजाबाबु स्वयं संसदीय दलको नेता मै हुँ भन्दैछन् । कार्यकर्ताको लागि यो जस्तो लज्जास्पद तानाशाही प्रवृत्ति के होला यस्तो अहम् र तानाशाही कांग्रेसको नेतृत्वले देशको लागि आवश्यक प्रजातान्त्रिक मोर्चा बनाउने पहल एवं नेतृत्व गर्ने मनोबल कसरी प्राप्त गर्नसक्छ कसरी विश्वासमा लिन सक्छ आफु इतरका राजनैतिक दलहरुको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले माओवादीसित बाह्र बुँदे सम्झँैता हुनुभन्दा अगाडिदेखिनै प्रजातान्त्रिक मोर्चाको आवश्यकता बताउँदै आएका थिए । तर कांग्रेसको अहमताले कार्यान्वयन हुन पाएन र आज देश बामपन्थीकरणको घेरामा फस्नपुग्यो ।

गिरिजाबाबुलाई प्रजातन्त्र मासिन लागेकोमा चिन्ता त छ कसरी जोगाउने जवाफ वहाँसित छैन । वहाँकै हातबाट कांग्रेसको नेतृत्वमा बनाइएको संविधानको अवशान भयो । कांग्रेससितै सम्झौता गर्दै प्रजातान्त्रिक पध्दति अगाडि बढाउन सहयोग गरेको राजसंस्थालाई बिस्थापित गराउनु भयो । परम्परागत रुपमा कांग्रेसको ढाल बनी सहयोग गरेका शक्तिहरुलाई लत्याउनु भयो । अझै पनि कांग्रेसको नेतृत्वमा चेत खुलेको छ भने प्रजातान्त्रिक संविधान बनाउन एक सशक्त शक्ति निर्माण गर्नुपर्छ र माओवादी इतरका सम्पूर्णशक्तिलाई एकत्रित गरी अगाडी बढ्नुको बिकल्प छैन । नेतृत्व जोसुकैको होस् सबै संसदवादी दल एवं शक्ति एक भई यो संवेदनशील अवस्थामा देशलाई पार लगाउने व्दन्व्द र त्रासमुक्त देश र समाज निर्माण गर्नु आवश्यक छ । सत्ताबिमुख हुनुपर्दाको तीतो फ्याँक्नमात्र क्रान्ति होइन क्रान्तिको उद्देश्य लक्ष्य र गन्तव्य समेतको स्पष्ट सिमाङ्कन पनि जनतामा राख्नुपर्छ । माओवादीलाई सत्ताबाट झार्नमात्र क्रान्ति गर्ने हो भने त्यो स्वयम् कांग्रेस र देशको लागि झनै प्रत्युत्पादक बन्नेछ ।.



October 29, 2008

नया नेपाल: जता बामदेव, उतै स्वाहा:

माओवादी छापामारहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न भनी धेरै माथापच्ची गरेपछि हिजो मात्र क्याबिनेटले एउटा विशेष समिति बनायो । तर , यसको गठनले समायोजनलाई समाधान तिर लाने कुरा भन्दा , कसरी माओवादीको अनुकूलताका लागि समिति बनाउने भन्ने कुरालाई बढी महत्व दिएको देखिन्छ । यसका कारणहरू निम्न छन्:

(१) कांग्रेस, एमालेको झलनाथ-बामदेव बाहेकको हिजो सम्मको संस्थापन पक्ष र अधिकांश अन्य दलहरूको मत थियो , समायोजन समितिको नेतृत्व माओवादीलाई दिइनु हुन्न । तर माओवादीले यो कुरालई माने झेँ गरी अरूलाई थाङ्नामा सुताउने चलाखी देखायो । माओवादीले नेतृत्व एमालेलाई दिए झैँ गरी , एमालेबाट सरकारका गृहमन्त्री रहेका बामदेवलाई यसको संयोजक तोकेर आफ्नै पक्षमा भरोसा लाग्दा खेलाडीको चयन गरेको छ । यसो गर्दा माओवादी नेतृत्वले एमालेका झलनाथ र बामदेव सम्मलाई विश्वासमा लिएको देखिन्छ भने यो कुराको बारेमा अन्यहरू नदारद नै रेहको पाइन्छ । यो कुराको छनक एमाले नेता के पी ओलीले आँफ्नो पार्टीलाई विशेष समिति मान्य नभएको बताएर सार्वजनिक पनि गरिसकेका छन् । वास्तवमा बामदेव गौतम स्वयं अत्यन्त ढुलमुले र अवसरवादी खालका छन् ।

कुनै समय संसदवादीहरूलाई बोकाको टाउको राखेर कुकुरको मासु बेच्नेहरू भन्ने बामदेव संसदवादी र सामन्तवादीहरूलाई एउटै खाल्डोमा पुर्नु पर्ने क्रान्तिकारी कुरा गर्थे भने अर्को पटक माओवादीलाई निमिट्यान्न पार्न सेनालई पूर्ण अधिकार दिँदै आतंककारी बिरोधी कडा कानूनको अपरिहार्यता देख्थे । आक्रोस र झोँक चलेका बेला पार्टी नै फुटालेर हिँड्ने नेता बामदेवले जब एमाले फुटालेर माले बनाए अनि केही समय पछि फेरि एमालेमा फर्के त्यतिबेला सम्म अधिकांस उनका अनुयायी माओवादीमा बिलीन भैसकेका थिए । जब, संविधानसभाको चुनावको चर्चा उत्कर्षमा थियो , बामदेवको माओवादीमा प्रवेश हुने हल्ला पनि उच्च थियो । तर उनी माओवादीमा पसेनन् बरू माओवादीकी एउटी सामान्य महिला प्रतिस्पर्धीसंग नराम्रो रूपमा पराजित हुन पुगे । तर यो पराजयले उनलाई त्यो कुरा दियो , जुन उनले जितेका भए पनि प्राप्त गर्न सक्दैनथे । उनी मन्त्रीमण्डलमा प्रधानमन्त्री पछिका दोस्रो नेता बन्न पुगे । उनी कति प्रभावशाली छन् भने स्वयं माओवादी नेता प्रम प्रचण्ड समेत मुलुकका विषयमा बाबुराममा भन्दा बामदेवमा भर पर्ने गरेका छन् रे ! अघिल्लो अंकको नेपाल साप्ताहिकले लेखेको छ प्रचण्डका भित्रियाको रूपमा बामदेवले नै मुलुक चलाउने काम गरिरहेका छन् भन्ने कुरा लेखिदिएको छ । यता बामदेव भने , एमालेमा आफ्नो स्थिति कमजोड रहेको बुझेका कारण पनि तलबितल परेमा माओवादीमा जम्प लगाउन तम्तयार नै छन् , यस्तोमा सेना समायोजनको नेतृत्व गरेर प्रचण्डलाई गुन लगाउन सकेमा बामदेवको स्थिति माओवादीमा पनि दह्रो हुनेछ भन्ने कुरामा द्विविधा पनि रहेन ।

(२) गठित विशेष समितिमा माओवादीका दुईजना मन्त्री हुनेछन् अनि स्वभाव, व्यवहार र सदासयताले माओवादीको पक्षमा देखिने गरेका बामदेव यसको संयोजक छन् । बाँकि २ वटा कोटा क्रमश: फोरम र कांग्रेसका लागि छुट्याइएको छ । अब यस्तो समितिमा बहुमत वा सर्वसम्मत कुन खालको निर्णयले काम गर्ने होला प्रष्ट भैसकेको छैन । यदी सर्वसम्मतिको खोजी हुने हो भने त, ढिलो भए पनि निचोड केही अर्थमा राम्रो हुन सक्ला यदि त्यसो भएन र बहुमतीय शैलिमा अघि बढ्यो भने त , जता बामदेव उतै स्वाहा: हुने परिबन्द पक्का छ । जसले जे भनोस् , यही समिति कायम रहने हो भने सेना समायोजनको कुंजी बामदेवको हातमा परेको भने साँचो हो ।

(३) अब बाँकि हेर्न लायक कुरा एउटै छ , यति बिघ्न प्रभावशाली बन्न पुग्नु भएका बामदेव गौतमले कस्तो जिम्मेवारी निभाउनु होला ! माओवादी नेतृत्वको सरकार गठन भएपछि , केवल बामदेव चर्चामा हुनुहुन्छ । किनभने वहाँले नाङ्गा नाच देखाउने नाइटबारहरूलाई कोदाली प्रहार गर्दिनुभो अनि फुटपाथे पसलवालाहरूलाई पनि सामन्तवादीले झैँ उठिवास गराइदिनुभो । बामदेवमा साक्षात कामदेवमा जस्तो आभा छ र वहाँले तिर छोड्दा हिजो पनि मान्छे हायल कायल भएकै हुन् । हिजो सरकार गिराउने प्रपञ्च गर्नेहरूलाई सुरा सुन्दरीमा मोहनी लगाउने कुरादेखि बैंककको यौन पर्यटनको स्वाद चखाउने सयर गराउँदै वशिभुत पार्ने खेलो होस् वा स्थानीय निर्वाचनमा सारा बिरोधीको पत्तासाफ गर्ने स्ट्राटेजी अवलम्बनमा होस् बामदेव अब्बल हुनूहुन्छ । वहाँको नाम प्रकाश टिवडेवाल र प्रतितपत्र घोटालाका कर्ताधर्तासंग मिल्न पुग्छ भने भ्रष्टाचारी नम्बर एकको खिताबमा पनि दर्ज हुन पुग्छ ( प्रदिप नेपालजीले टुँडिखेलमा सार्वजनिक गर्नभएको सूचिबाट साभार )। वहाँको नाम राजाको प्रियपात्र बनेको कुरादेखि माओवादीको भित्रीया बनेकोसम्म कुरामा जोडिएर उच्चरित हुन आइपुग्छ । वहाँ अकर्मण्य सरकारका एक मात्र कर्मशिल उप प्रधानमन्त्री त हुँदै हो , अब वहाँ सेना समायोजन विशेष समितिको संयोजक बनेर माओवादी छापामार र माओवादीको खाँतिरदारी गर्ने बामपन्थीदेव बन्नु हुने हो कि , यो कुरामा सन्तुलनको भूमिका निभाएर समायोजनको पेचिलो विषयलाई निष्कर्षमा लैजाने नेपालदेव बन्नु हुने हो हेरौँ । हेरौँ, दुईटा लाडाकु माओवादी मन्त्रीहरू र दुईटा गैरमाओवादी सदस्यको बीचमा बामदेवको भूमिका कसरी जम्ने हो । जे होस् अहिलेलाई जता जता बामदेव उतै उतै स्वाहा: हुने छाँट भने पक्कै देखियो ।



September 27, 2008

निरिह संविधानसभा , नेताजीको सपरिवार विदेश शयर : न्यू नेपालको विचित्र मोडेल (एक परिहास)

     संविधानसभाको निर्वाचन भएको पुगनपुग ६ महिना हुन थाल्यो । २ वर्षे पधावधि रहेको सभाको मुख्य काम हो नया संविधानको लेखन, अनुमोदन र जारी भएको घोषणा गर्नु । तर नेपालको हालत देखेर यस्तो लाग्दैछ कि , संविधान लेखनको कार्य कतै प्राथामिकतामा नै छैन । ६०१ जनाको सभा गठन गर्दिएर अलिकति बेरोजगार पार्टीका हुल्लडहरूलाई जागिरको जोहो मिलाइएको छ । ती पार्टीको श्‍वरमा समर्थन जनाउन जम्मा पारिएका लठैत हुल्लडहरूलाई तलब र भत्ताको टौवा ठड्याइदिएर त्यहीँ चर्न अह्राइएको छ र ती त्यहीँ भुल्दैछन् । मन्त्री बनेका सुपर लठैतहरू भने आजकल , नया नेपालको राजनैतिक मोडेल खोज्न- भेट्टाउन जहान परिवार सहित सरकारी कोषको ब्रम्हालुट गर्दै विदेश शयरमा मस्त छन् । अनौठो छ, जनताको युद्द लडेका जनताका पार्टीमा सरकारी भ्रमणदलमा मिसिन जनता नै छैनन् , केवल छोराछोरी, पति-पत्नि र नातागोता मात्र छन् । अहिले जुन द्रूत एवं भीमकाय गतिमा माओवादी नेतृत्वको मन्त्री मण्डलका मन्त्रीहरू विदेश यात्रामा निस्केका छन् , त्यो देख्दा यस्तो लाग्छ मानौँ उनीहरू नया नेपालको विचित्र राजनैतिक मोडेल भित्र्याउन व्यग्र र आतुर छन् । हेर्नुस न नेताजीहरू भ्रमण गर्दै गरेका मुलुकहरू कस्ता कस्ता फर्मूला बोकेका छन् :

माओवादी पार्टी सुप्रिमो र मुलुकका प्रधानमन्त्री दुवै बनेका पुष्पकमल उर्फ प्रचण्ड साम्राज्यवादी अमेरिकाको भ्रमणमा छन् । उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागिता देखाउने तथा अमेरिकी राष्ट्रपति बुशले दिने सामूहिक जलपानमा भाग लिने काम गर्ने छन् भन्ने विश्वास थियो। यो उनले गरिसके , तर नेपालमा रहेका माओवादी समर्थित मिडियाले भने यो सामूहिक जलपानको समारोहमा राष्ट्रपति बुशसंग मुखामुख भएको एउटा सामान्य सन्दर्भलाई माओवादीको अमेरिकमाथि भएको कुटनैतिक विजयको घटनाको रूपमा बहुप्रचारित पार्ने कोशिस गरे । यस्तै केही अमेरिकामा रहेका माओवादी समर्थक विद्यार्थी एवं अवसरकै मेसो खोजी रहने व्यवसायी र दूतावासका कर्मचारी अनि सानो गोराहरूको समूहलाई भेटेर प्रचण्डले गफगाफ गर्न पाएको साधारण घटनालाई उसका समर्थक चाटुकारहरूले प्रचण्डलाई अमेरिकामा भयंकर स्वागत गरिएको रूपमा प्रचार गर्ने कोशिस गरे । तर पनि वास्तविकता के हो भने, संयुक्त राष्ट्रसंघको यो कुम्भ मेलामा जात्रा भर्न जाने विदेशी नेताहरूको न्यूयोर्क र अमेरिकामा यतिबेला लथालिङ्ग उपस्थिति हुन्छ । राष्ट्रपति बुशसंग मुखामुख गर्न पाएको सन्दर्भलाई लिएर यति बिघ्न उत्तेजित बन्नु पर्ने कुनै कारण देखिन्न । तर पनि, भयंकर अमानुष र अमानवीय हिंस्रक शैलिको त्रासदि मच्चाएर संसारमै अछूत सरह तिरस्कार गरिएको समूहलाई भने यस्तो सामान्य भेट सन्दर्भ पनि पारसमणिले छोएर सुन बनाउने वा पवित्र पार्ने चमत्कारको लाग्न पनि सक्छ। यो छलाङ नै होला !

जनताको गणतन्त्रमा आफ्नी पत्निका साथमा छोरालाई स्वकीय सचिव बनाउँदै सरकारी खर्चमा कम्युनिष्टहरूले जन्मेका दिनदेखि नै साम्राज्यवादी भनेर गाली गर्न मन पराउने अमेरिका शयरमा निस्केका प्रधानमन्त्रीको यो भ्रमण उनले नै भन्ने गरेको आगामी नेपालमा लागू गर्ने भनिएको अनौठो मोडेलको तन्त्रको फर्मूला लिनका लागि पनि हुनसक्छ । प्रचण्डले भन्ने गरेको पूँजिवादी आर्थक चमत्कारको यो मोडेलवाला राजनैतिक परिपार्टीको अलिकति फर्मूला पूँजिवादी अमेरिकाबाट ल्याउने कुराका लागि उनी वहाँ पुगेको आशंका गर्ने हो भने , उनकै पार्टीका अन्य नेताहरूका बाँकि भ्रमणहरूको पनि चर्चा गर्नै पर्ने हुन्छ ।

सुनिएको छ , अर्का माओवादी मन्त्री रामबहादुर थापा आफ्ना छोरालाई सरकारी कोटाको सुरक्षा सल्लाहकार बनाएर चीनको रेडआर्मीले खेल्ने परेड हेर्न चीन पुगेका छन् । उनले रेड आर्मीको परेड हेरेर आएपछि माओवादी लडाकाहरूलाई कसरी नेपालको सरकारी सेनामा मिसाएर समग्र देशलाई माओवादी पार्टीकरण गर्ने भन्ने टेक्नोलिजीलाई मजाले प्रयोग गर्नेछन् । माओवादी नामले लडिएको यो युद्दलाई भर्खरै काठमाण्डौली जनताको निधी जात्राहरूको बजेट काटेर साँस्कृतिक क्रान्तिको पूर्व-पीठिकाका रूपमा प्रयोग गर्न थालिएको सन्दर्भमा , माओको देशबाट आयात गरिने नया मोडेलको राजनैतिक परिपार्टीको तन्त्रको प्रयोगका लागि , सँधै सेना र लडाईँको महत्वलाई मात्र बुझ्न चाहने माओवादी लडाका कमाण्डर एवं अहिलेका सरकारी रक्षामन्त्रीले आफ्ना सूत्रहरू र पाटपूर्जा लिन त्यहाँ गएका होलान् भन्ने बुझ्न गाह्रो छैन ।

माओवादी शान्ति-प्रकृयामा गएपछि सदावहार रहेका अर्का मन्त्री कृष्णबहादुर महरा पनि माओवादी मोडेलको आदर्श मानिने मुलक उत्तर कोरिया शयरमा आफ्ना सुपुत्र सहित निस्केका रहेछन् । आफ्ना पुत्रले बिदेश घुम्न पाउनु पर्ने जिरह गर्न थालेपछि यी कामरेडले पनि सरकारी कोटाको शाखा-अधिकृत बनाएर आफ्ना पुत्रलाई जनवादी शैलिले भ्रमणदलमा घुसाएका रहेछन् । उत्तर कोरिया भ्रमणबाट मन्त्री महराले ‘जनताको जनवाद र जुछ्छे विचारधारा’ को आदर्श फर्मूला ल्याएर नेपालमा प्रयोग गर्न चाहन्छन् भन्ने कुरा विश्वास गर्न सकिन्छ ।

उता अर्का माओवादि मन्त्री गोपला खुम्बु सपत्नि सरकारी भ्रमणमा ससुराली भेट्न हङ्कङ गएको कुरा पढ्न पाइयो भने सरकारमा रहेका माओवादी इतरका तीनवटा मन्त्री पनि मुलुक बाहिर नै छन् रे !

यता माओवादी पार्टीको प्रतिवद्दता पत्रमा रहेको १० वर्षमा १० हजार मेगावाट बिजूली निकाल्ने योजना कार्यान्वयन सजिलै गर्न सकिन्छ भन्ने उद्घोषका साथ , ठूलो भारतीय दलबल र त्यहाँका उर्जा मन्त्री जयराम रमेशको नेतृत्वमा काठमाण्डूमा ‘पावर समिट’ सम्पन्न गरियो , त्यही समिटको बाँकि रहेको कामकुरो पूरा गर्न अर्को सम्मेलनमा हिजैदेखि भारतको वराणसीमा हुँदैछ र त्यहाँ पनि माओवादी कानून मन्त्री देव गुरुङ पुगेका छन् । जति बेला चाहे पनि जान सकिने भएर होला त्यहाँ कामरेड गुरूङले आफ्ना जहान केटाकेटी लाने चहाना राखे राखेनन् त्यति चर्चा भएको छैन । तर पनि, माओवादीले भनेको चमत्कारी विकास र अभुतपूर्व मात्रामा निकालिने बिजुलीको यो ठूलो परिकल्पनामा भारतीयहरूको यति अन्तरंग चासो देख्दा भने, माओवादी प्रतिवद्दतापत्रको निर्माण पनि उतैका मित्रशक्तिले गर्दिएका रैछ्न् कि भन्ने कुरा सोच्नै पर्ने हुन्छ ।

घटानाक्रमलाई नजिकबाट नियाल्दा अनि संविधानसभा नामको जम्बो जुलुसका खातेपिते-रमिते सदस्यहरूको नकाम देख्दा अनि सरकारी नेताहरूको भ्रमण र सुख शयल देखेपछि भने आजकल यस्तो पनि लाग्न थालेको छ कि हामीले खोजेको संविधान पनि प्रोफेसर एस डी मुनी, प्रकाश कारत, इन्दर गुजराल, डिपि त्रिपाठी आदि महान राजनीतिज्ञ र राजनेताहरूको सल्लाहमा विज्ञहरू मिलेर जवाहारलाल नेहरू विश्वविद्यालयको विशाल पुस्तकालय भित्रै पो लेखिँदैछ कि ! हाम्रो चमत्कारी विकास र संविधान लिएर मित्र मुलुकका मित्रहरू नै हाम्रो कायापलटका लागि लागेपछि हाम्रा मन्त्रीहरूले के काम गर्ने त विदेश शयरको आनन्द नलूटेर ? यत्रा वर्ष जनतालागि जनतालाई नै डसेर जंगलमा बसियो, अब पनि विश्व भ्रणकको मंगल-आनन्द नलिने ?


September 25, 2008

कतै यो साँस्कृतिक क्रान्तिको अभ्यास त होइन

शेखर ढुङ्गेल
हाम्रा विद्वान् अर्थमन्त्रीको एउटा मुख्र्याइँले सनातनदेखिको नियमित परम्परागत धार्मिक आस्थाको पर्ब मनाउने नेपालीहरुको संवेदनशीलतामाथि आक्रमण भएको छ । सडकमा जनता ओर्लिएका छन् र यत्रतत्र धुवाँ उढेको छ । विदेशी दवाव एवं आयातीत मानसिकताका नेताहरुबाट नागरिकका सामाजिक र परम्परागत चाडपर्ब र संस्कृतिजस्तो संवेदनशीलता एकपछि अर्को गर्दै ध्वस्त पारीँदै छन् ।

विद्वान् अर्थमन्त्रीको फजुल खर्च वलिदिनु अनुचित भन्ने तर्क हो भने १५ हजारलाई फजुल देखि परम्परागत चाडपर्ब मेलाबन्द गर्न खोज्नेले नक्कली सहायक बनाई आफ्नै छोरालाई अमेरिका लगी लाखौं खर्चगर्दा त्यो फजुल देख्नुपर्ने होइन?, कुन नैतिक धरातलमा बसी १५ हजारलाई फजुल मान्ने बाबुरामजीले प्रकाश दाहाललाई रोक्नु भएको भए जनताले स्याबासी दिन्थे कि ?।

यस्तै हो भने माओवादीले पशुपति र स्वयम्भूलाई पनि फलामे बारले घेराबन्द गर्न बेर छैन । किनकि बुद्धको सान्दर्भिकता समाप्त भैसकेको भनी उद्घोष गर्ने माओवादी नेता भट्टराई जो आज अर्थमन्त्री बनेका छन् कतै नयाँ नेपालको लेबल लगाएर नेपालमा पनि अफगानिस्तानमा तालिवानले बुद्धमूर्ति फोरेझैं नव सम्राट माओवादीले मन्दिरका मूर्ति झिकेर फ्याक्ने वा फोर्ने त होइनन्? न रहे बाँस न बजे बाँसुरी ?

यहाँ कुरा उठेको छ बलिप्रथा बन्द गर्न फजुल खर्च नदिने भन्ने- कथित कि्रस्चियन र जनावरको अधिकार संरक्षणको नाममा हिन्दूधर्मविरोधी एनजिओहरुको लहै-लहैमा लाग्नु अर्थमन्त्रीको अल्पबुद्धि हो । मेरो तर्क के छ भने- हो कसैले आफ्नो सफलताको लागि जनावरको वलि दिनु अविश्वसनीय हुन सक्दछ । त्यो व्यक्ति विशेषको कुरा हो । जब जनाबरको हत्याकै कुरा गर्ने हो भने नेपालका मठ मन्दिर चाडपर्बमा घर-घरमा वलिको नाममा धार्मिक रंग दिनु मारिने जनावरको संख्याभन्दा सैयौं हजार गुना बढी जनावरको हत्या कि्रस्चियन राष्ट्रहरुमा हुन्छ । यहाँका कतिपय फर्महरुमा बिजुलीको झड्का दिई गाई गोरु खसी बोका र भेडा मारिन्छन् । आफ्नो धार्मिक परम्परा कायम राख्दै मासु खाने इच्छा पूरा गर्न चाडपर्ब पर्खनुपर्ने वाध्यतामा रहेका ९० प्रतिशत गरिब जनताको चाहनालाई जनावरको अधिकारको दुहाई दिई विरोध गर्नुको कुनै तुक छैन । इशाईहरु पनि बाइबलको दोस्रो टेष्टमोनी ननिक्लिदासम्म जनाबर मात्रै होइन मानिसकै बलि दिन्थे । पछि सुधार्दै लगेका हुन् र आज पनि विभिन्न बहानामा अर्कोको देशमा हस्तक्षेप गरी लाखौं जनताको बलि दिइरहेका छन्-इराक अफगानिस्तान आजका ताजा नरवलिका उदाहरण हुन् । रह्यो चाडपर्बको कुरो हाम्रो देशमा मात्र नभै जापान थाइल्याण्ड भारतलगायतले आफ्नो परम्परागत संस्कृति मेलालाई स्वदेशमा मात्र नभै विदेशमा समेत जीवन्त राख्ने गरेका छन् । यस्ता पर्ब मेला चाड पूर्वेली सभ्यताका द्योतक हुन् जुन हाम्रोजस्तो देशको सामाजिक आस्था नै हुन् जो गर्ब गर्न लायक छन्- हाम्रा चाडपर्ब सामाजिक परम्परा देखेर पस्चिमेली जनतासमेत लालायित भएका छन् । छर-छिमेकी इष्टमित्रहरुबीच सौहार्दता सामीप्य एवं सहाभागिता जनाउने यस्ता विशिष्ठ प्रकारका चाड मेलाको संरक्षण गर्नुको साटो नरबलिबाटै सत्ता ग्रहण गर्न सफल भएको माओवादीको नीति ुविनासकाले विपरित बुद्धि हो ।

वामपन्थीले देबता मान्दैनन् भन्ने मान्यतालाई माओवादी प्रमाणित गर्न खोज्दैछ । मेचीदेखि महाकालीसम्म तत्कालीन राजा एवं रजौटाले स्थापना गरेका अनेकौं नाच चाड मेला जात्रा आदि धार्मिक एवं सामाजिक सौहार्दताका कारण अमूल्य रीतिरिबाज हुन् जस्को संरक्षण जरुरी छ । आफ्नो देशको विशिष्ठ मौलिक संस्कृतिको संरक्षण गर्दै देश विकास गर्नु बुद्धिमानी हुन्छ न कि विस्थापन । अर्थमन्त्री बाबुरामजीलाई राष्ट्रले अपनाउनु पर्ने मितव्ययिताका क्षेत्र फजुल खर्चका रौं-रौं बुँदा-बुँदा सम्झाउनु पर्लाजस्तो लाग्दैन । विभिन्न समुदायमा स्थापित विविध चाडपर्ब साँस्कृतिक परम्परालाई प्रोत्साहित एवं जीवन्त राख्ने जनताको संवेदनशीलतासित गाँसिएको र राष्ट्रकै मौलिक बिशिष्ठ परिचयमध्येको साँस्कृतिक निरन्तरतामा बाधा विवाद ल्याउने सामाजिक सद्भाव खलबल्याउने काम सरकार स्वयं गर्दछ भने त्यो अपरिपक्वताले उसलाई नकारात्मक प्रभाब पार्नेमा शंका छैन ।

यस्तै धार्मिक प्रचलन र साँस्कृतिक परम्परा संरक्षण गर्न भनी त्यागी समाजसेवी तत्कालीन राजा रजौटाहरुले गुठी स्थापना गरी त्यसकै आयस्रोतमार्फत खर्च व्यहोर्ने चलन चलाएका थिए । जनता सित त्यस्ता गुठी संस्थासित राजस्व संकलन गर्ने तर खर्च गर्नुपर्दा फजुल देख्ने माओवादी अर्थमन्त्रीको बुद्धिप्रति दयामात्र गर्न सकिन्छ माफ गर्न सकिन्न ।

देशको बदिलंदो परिस्थिति र विवादास्पद लाग्ने यस्ता विषयमा नेता पत्रकार बुद्धिजीवी बर्गले एकदम गम्भीर भएर सोच्ने र निर्णय गर्नुपर्ने कुरा के भने देशलाई धर्मनिरपेक्ष घोषणा गरेपछि कुनै पनि धर्म विशेषको चाडपर्वलाई राज्यले खर्च गर्नु न्याय एवं तर्कसंगत नदेखिन सक्दछ । सबै धर्मालम्वीले त्यस्तै समान माग राख्न सक्तछन् । तर हामीका भएका हजारौं प्रकारका गुठी संस्था र तिनका सम्पत्ति राज्यले साचालन गरिराखेको अवस्था एकातिर छ र राज्यले ती परम्पराको निर्वाह गर्नु अनिवार्य छ । सरकार यो विवादबाट उम्किने हो भने जुन-जुन संस्था गुठी जेजस्तो पर्ब साँस्कृतिक कार्यक्रम नाच मेला चाडको गठन भएका छन् ती सबै स्थानीय वा सम्बन्धित निकायको जिम्मा दिनु पर्दछ । त्यति नै संवेदनशील कुरो के पनि हो भने देशका प्रत्येक धर्म सम्प्रदाय एवं जातिको परिचयात्मक परम्परागत धार्मिक सामाजिक साँस्कृतिक रीति-रिवाज पर्व मेला जात्रा चाडहरुको सम्बद्र्धन एवं संरक्षण अनिवार्य छ । स्थानीय स्तरमा सम्बन्धित जनतालाई संगठित एवं प्रोत्साहित गरी उनीहरुकै समितिले रीतिअनुसारको पर्व मेला जात्रा चलाउने छन् । जापान भारत थाइलैण्डमा पनि स्थानीय जनताको सहभगितामा बनेका समितिमार्फत प्रसिद्ध धार्मिक तीर्थस्थल मेला जात्रा बैज्ञानिक परदर्शी एवं व्यवस्थित तरिकाले साचालन भैराखेका छन् । हाम्रो भाषा भेष धार्मिक चाड साँस्कृतिक मेला पर्व प्राण र परिचय हो । त्यही नै नेपाल राष्ट्रको विशिष्ठ मौलिक सामाजिक परम्परा हो । यसको विशिष्ठतामा आघात पार्ने काम कुनै पनि बहानामा कसैले गर्दछ भने त्यो नेपालीका लागि सह्य हुनेछैन ।



September 5, 2008

कामरेड प्रचण्डको बिबिसी अन्तर्वार्ता : यसको निहितार्थ

जनताको रगतले भिजेका आफ्ना हातहरू ओभानो पनि बन्न पाएका थिएनन् , माओवादीहरू सत्तासीन बन्ने परिस्थिति जुट्यो । फलत कामरेड पुष्पकमल दाहाल उर्फ कामरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्न पुग्नुभयो । वहाँले यो अकस्मात प्राप्त बोझ उठाउनु पर्दा स्वाभाविक असहजपन महशूस गरेको हुनुपर्छ , त्यसैले शपथ ग्रहण गर्दाका दिनमा पत्रकारहरूको जिज्ञासामा भन्नु भएको थियो ' म अति एक्साइटेड भएको छु, र मसंग अहिले बोल्ने शव्द पनि छैनन्' । तर पदारोहणको २ हप्ता बितिसक्दा, कामरेड दाहालको 'एक्साइटमेण्ट' सब्साइड भइसकेको भान भएको छ । यो किनभने , गएको हप्ता प्रधानमन्त्री दाहालले बिबिसी नेपाली सेवाका रविन्द्र मिश्रलाई एउटा लामो अन्तर्वार्ता दिनुभयो । यसो त अन्तर्वार्तामा कामरेड दाहालको भावुक व्यक्तित्वको धरातलमा बनेको जिम्मेवारीपन झल्किन्थ्यो भने , वहाँको 'एक्साइटमेण्ट' मा ' क्यारिड अवे' हुने कम्यनिष्ट धङधङी बोकेको उद्देश्य पनि छताछुल्ल बन्यो यो वार्ता मार्फत ।


कामरेड दाहाल-भट्टराईको माओवादी पार्टी भित्रको प्रभावसाली सिण्डिकेटले पछिल्ला दिनहरूमा रट लगाउने गरेको चामत्कारिक आर्थिक विकासको नेपाली-मोडेलको पुनर्खुलासा कामरेड दाहालले आफ्नो लफ्पाजि भरिएको वार्ताका दौरान पनि दोहोर्‌याउनु भयो । तर सदैव जस्तो, यो चामत्कारिक विकास रूपी कल्पनाको घैँटो फुटाल्ने आख्यान बाहेक यस्तो विकासको प्रामाणिक आधार, यसका लागि लगानीकर्ताहरूको खोजी, वातावरणको निर्माणदेखि अरू आवश्यक पर्ने यावत जरूरतहरूको तथ्य र आँकडागत उदाहरण पनि कतै दिन किचकिच गर्नु भएन । यस्तो लाग्छ, माओवादी मोडेलको यो भ्यागुतो जस्तो उफ्रने विकास , नेपालमा एकाएक माओवादी नेताहरुको मुखराविन्दबाट प्रकट हुने बित्तिकै छलाङ मार्दै अवतरण हुन पुग्ने हो । यो विकासे नेपालको कथा बिगत केही महिनादेखि नेपालमा सुनिँदै आएपनि, माओवादीका कुनै पनि नेताले , यो कसरी कारगर हुन पुग्ने हो भन्ने कुरामा माथापच्ची गर्न आवश्यक नै ठानेका छैनन् , कामरेड दाहालको पछिल्लो बिबिसी अन्तर्लापले पनि यसको निरन्तरता बाहेक नया कुरा केही दिएन । विकास र माओवादीले भन्ने गरेको 'चमत्कार' का लागि सोच र भावुकताको भन्दा ,व्यवहारिक योजना र प्रतिवद्दता अनि तिनको क्रियान्वयनको खावचो टड्कारो रहनेछ । हिजो द्वन्दका दिनहरूमा, नेपालमा खोलिएका बहुराष्ट्रिय र विदेशी कम्पनिहरूको अस्तित्व समाप्त पार्न अनि बनेका पूर्वाधारहरूको विध्वंश गर्न खर्चेको माओवादी ऊर्जा र माओवादीले अङ्गिकार गरेको राजनैतिक सिद्दान्तले बोकेको निजि पूँजी र पूँजीको परिचालन , बजारमुखी उदरवादी अर्थनीति बिरोधी एजेण्डा नै यो चमत्त्कारिक विकासको मार्गमा नम्बर १ अवरोधक हो ।

कामरेड प्रचण्डको यो अन्तर्वार्तामा देखिएको अर्को बिसंगत पक्ष भनेको उनको राजनैतिक मुद्दा सम्बन्धी स्वीकारोक्ति हो । विश्वमान्य उदारवादी लोकतन्त्रका पक्षमा खुलेर वितृष्णा जाहेर गर्न नसके पनि आफ्नो पार्टीको आशक्ति र अनुरक्ति एकाधिकारवादी कम्युनिष्ट शासन पद्दति नै हो भन्ने कुरा उनले प्रष्ट बताएका छन् , यो वार्तामा । तर वर्तमान लोकतान्त्रिक संसारको भाका र लयलाई समातेर उनीह बिगतमा आफ्नो पार्टी र अरू कम्युनिष्टहरूले भन्ने गरेको हिंसात्मक रूपले सत्ता कब्जा गर्ने कुरालाई नपक्रेर , लोकतान्त्रिक पद्दतिबाट कम्युनिष्ट राज्य व्यवस्थाको स्थापनातर्फ अघि बढ्ने चलाख तर्क प्रस्तुत गर्छन । यसका लागि उनको जिरह छ आगामी चुनाबमा उनको पार्टीले दुई तिहाइ मत ल्याउने छ र अन्त्यमा उनको लक्ष्य ९०% जनमत हासिल गर्ने हुनेछ । यसरी जनमत प्राप्त भएपछि जनवादी गणतन्त्र स्वत: अनुमोदित हुनेछ भन्ने प्रम दाहालको तर्क छ । सर्सर्ति हे्र्दा यो कुरामा बिमति राख्न पर्ने कुरा देखिन्न । ९०% बन्दा बढी जनताले चाहे भने त मुलुकमा जे कुरा लागू गर्दा पनि लोकतान्त्रिक पद्द्ति सम्मत भएको मान्न सकिन्छ । तर , के आधुनिक विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकहरूमा दलगत प्रतिस्पर्धाको वातावरणमा एउटा दलले ९०% जनमत ल्याउन सम्भव छ ? के कतै यो भएको छ ? संसारका समुन्नत देशहरू र आदर्श लोकतान्त्रिक मानिएका मुलुकमा पनि यति विघ्न जनमत कुनै एउटा दल विशेष वा उसका नीति नियमका पक्षमा एकोहोरिएको छ भन्ने उदाहरण पाइँदैन । यस्तो विघ्न मत कसैले ल्याएको थियो भने केवल फलिपिन्सका पुर्व तानाशाह मार्कोस, बांग्लादेसका तानाशाह हुसेन एर्शाद र रोमानियाका निकोलाइ चाउचेस्कूले मात्र ल्याउन सकेको उदाहरण आधुनिक विश्वमा हामीले देखेका हौँ । सेना , मिलिसिया र बलको भरमा ९९% सम्म जन- मत हासिल गर्ने यी तानाशाहहरूको नियति तिनको त्यो अगाध जनअनुमोदनको भरमा पनि टिकेन , हामीले देखेका हौँ । यस्तो जनमत हासिल केवल देखावटी नौटमकी निर्वाचनहरूमा समा, दाम, दण्ड, भेदहरूको समष्टि शक्ति प्रयोग गरी प्राप्त भएको मात्र देखिन्छ । तर आधुनिक लोकतन्त्रहरूमा बहुमतले शासन दिने र अल्पमतको पनि समावेशी सशक्तिकरणमा विश्वास गरिने हुनाले साथै आवधिक जननिर्वाचनको माध्यमबाट मुलुकको शासन प्रशासन सञ्चालन गरिने हुनाले अनावश्यक प्रचण्ड बहुमतको दरकार नै त्यहाँ ठानिन्न । फेरि जनताको विचार पनि समय समयमा अनि नेता तथा दलहरूको कार्यव्यवहार अनुसार परिवर्तनीय हुने भएकाले एक पटक बहुमत प्राप्त हँदैमा सँधैका लागि अकाट्य हुनेछ भन्नु पनि मुर्खता हो ।

यदि कामरेड प्रचण्डको भनाइ र निहितार्थ बुझ्ने हो भने , अहिले हासिल राज्यको शासन र प्रशासनको भरपुर उपयोग गर्दै माओवादी दलको नियन्त्रणमा रहेको जनवादी गणतन्त्रतर्फ नेपाललाई बलात् लैजाने कुरामा वहाँको पार्टी र नेताहरूमा बिमति छैन, यो छ भने केवल हाम्रो बुझाइमा ।


August 21, 2008

नयाँ नेपालमा प्रतिवादी र न्यायाधीश एउटै व्यक्ति

-शेखर ढुङ्गेल
२१ औं शताब्दीको प्रारम्भमा उदाएको नयाँ नेपालमा बिचित्रको राजनीतिक अभ्यास प्रारम्भ भएको छ । पवित्र र अपवित्र गठबन्धनको परिभाषा गर्न जनतालाई खबर गरेर २०५२ सालमा संसद भनेको खसीको टाउको देखाई कुकुरको मासु बेच्ने थलो भन्दै तत्कालीन संविधानको संरचनालगायत ४२ सूत्रीय मागसहित जङ्गल पसी जनयुद्धमा होमिएको नेकपा माओवादी १३ बर्षपछि आफ्नो रणनीतिलाई शिखरमा पुर् याई सत्ताको बागडोर संहाल्न पुगेको छ ।


वामपन्थी सर्वसत्तावादविरोधी सम्पूर्ण स्वदेशी विदेशी शक्ति नेपालमा असफल भएको छ । पाँचबर्ष अगाडिसम्म वहुदलीय व्यवस्थ्था र संवैधानिक राजतन्त्र नेपालको दुई राजनीतिक स्तम्भ भन्ने भारत र अमेरिका असफल भएका छन् ।


प्रचण्डको सत्तारोहणसँगै दुई गम्भीर विषयमा विसङ्गति देखिएको छ । एक तत्कालीन जनयुद्धकारी माओवादी पक्ष र सरकारबीच भएका दिल्ली लगायतका सम्पूर्ण सम्झौता स्वतः खारेजीमा पर्नु पर् यो या तत्कालीन दुई पक्ष आज एउटै धारमा आइपुगेको ले त्यसको कार्यान्वयन पक्षको स्वरुप दुई तत्कालीन विद्रोही पक्ष पीएलए को जनसेना समायोजनको विषय तत्कालीन विद्रोही आज सरकारको नेतृत्वमा पुगेको छ अर्थात् प्रतिवादी नै न्यायाधीश बन्न पुगेपछि न्याय सम्पादन कस्तो होला संसारमै नभएको बिचित्र प्रचण्डकै शब्दमा नेपालमा देखिएको छ ती विषय वस्तुको टुङ्गो नलगाई वा नभै माओवादीले सत्ता प्राप्त गर्नु आफैंमा बिडम्बना भएको छ । ऊ सरकारमा पुग्ने अवस्थाभन्दा अगाडि नै भएका सम्झौताहरुको छिनो फानो गराइ सक्नु पर्ने पूर्व सरकारको जिम्मेवारी थियो । त्यो भएन जुन अपरिपक्वता एवं हतारका निर्णयहरु थिए । जन अनुमोदनबाट सत्तामा पुगे पनि वास्तविक अवस्था बिद्रोहीले राज्य सत्ता कब्जा गरेको जस्तो अवस्था छ । सेना एवं सुरक्षा निकायमा विचलन आउन नदिन एउटा निश्चित मापदण्ड र प्रतिबद्धता सार्वजनिक गराउन सक्नु पर्दथ्यो त्यो भएन । कांग्रेसको सङ्केत त्यही थियो होला तर स्पष्ट सित जनतामा कुरा राख्ने काम उसले गरेन उलटो हलो अड्काउने जस्तो अपजस बोकेर प्रतिपक्षमा पुग्यो ।


अन्तरिम संविधानले सेनाका परमाधिपति राष्ट्रपतिलाई मानेता पनि सेना सम्बन्धी सम्पूर्ण अधिकार कार्यकारिणी अधिकार प्राप्त प्रधानमन्त्री वा उनले तोकेको रक्षा मन्त्रीमा रहनेछ र सेना रक्षा वा प्रधानमन्त्री प्रतिउत्तरदायी हुनेछ । परिवर्तित सन्दर्भमा माओवादीको पुरानो मानसिकतामा वदलाब आएन भने सरकार र सेनाबीच टक्कर पर्ने देखिन्छ । यस्तो बिचित्र र खतरनाक अवस्थ्थाको सृजना भएको छ । दुई सेनाका एकै कमाण्डर विद्रोही सेना प्रमुख र सरकारी सेना प्रमुख एउटै व्यक्ति कही कतै नभएको व्यवस्था र अवस्था देशले भोग्दै छ । यो विवादको भुँमरीमा राष्ट्रिय सेनामा विचलन लेराउने काम माओवादीको नेतृत्वको सरकारले गर् यो र मधेशी लिम्वुवान थारुहट खुम्वुवानको विद्रोहको कारण देश गृहयुद्धमा फस्यो भने पुष्पकमल दाहालले अर्को लोण्डुप दोर्जे बनी नयाँ इतिहास कोर्ने छन् ।


माओवादीले रोपेको जातीयता संघीयता एवं स्वायत्तताको विष बृक्षले उसलाई नै खानेछ । यो सरकार नयाँ संविधान घोषणा गर्दासम्मको अन्तरिम हुँदा हुँदै पनि दीर्घ कालिन प्रभाव पार्ने निर्णय गर्नु आफैंमा बहुलठ्ठी पन हुन्छ । संविधानसभा निर्वाचन अगाडि र पछाडि पनि माओवादीले नयाँ नेपालको नाममा दीर्घ कालिन अनि महत्वाकाँक्षी योजना प्रस्तुत गर्दै आएको छ जबकि वास्तविक योजनाकार नयाँ संविधान घोषणा पश्चात्को निर्वाचित सरकार मात्रै हुनेछ ।
यो संवेदनशील घडीमा माओवादीले पूर्वाग्रह छाडी देश र देशवासीको लागि सर्वसम्मत संविधान बनाउने र शान्ति सुरक्षा सहज बनाउन मात्र ध्यान दिनु पर्दछ र सम्पूर्ण विसङ्गतिको अत गर्नु आफू मार्गदर्शक बनी नयाँ नेपालको सपनालाई सकारात्मक मोडमा पुर् याउन नसके यो देशको अभिशाप सावित हुनेछ ।


विजयको उन्मादलाई नियन्त्रित गरी जनताको तत्कालको समस्या समाधान के हो पहिल्याउन मात्र सक्यो भने ठूलो काम हुनेछ । प्रतिपक्षमा पुर् याइएको कांग्रेसले राखेको सात मागमा माओवादी सकारात्मक एवं प्रतिबद्ध हुनुपर्दछ । आफै बोक्सी आफैं झाँक्री को अवस्थामा पुगेको माओवादीको अध्यक्ष पुष्पकमल दाहाल आफैं प्रतिपक्ष आफैं न्यायाधीश बनेका छन् । विचित्र यो नेपाली राजनीतिमा पुष्पकमल दाहालको सरकारले

क। विस्थापितलाई घर फर्कन दिन्छ दिंदैन ?
ख। ठेक्का पट्टा चन्दा आतङ्क रोक्छ रोक्दैन ?
ग। नियुक्ति सरुवा बढुवामा राजनीतिक प्रभाव वा पूर्वाग्रह राख्छ राख्दैन ?
घ। युद्ध पीडित प्रति कस्तो नीति राख्दछ तिनीहरुका घाउमा मलम लगाउँछ कि लगाउँदैन ?
ङ। भ्रष्ट एवं माफिया प्रति उसको व्यवहार कस्तो रहन्छ ?
च। सेना एवं अन्य सुरक्षा निकाय प्रति उसको कस्तो नीति र व्यवहार हुन्छ ?
छ। वाइसीएल अर्ध सैनिक जत्थालाई नियन्त्रण गर्न सक्तछ सक्तैन ?
ज। सरकारी सेना आतङ्कको सिमा कहाँ फर् याउँछ ?
झ। व्यक्ति एवं प्रकाशन स्वतन्त्रता प्रति उसको नीति एवं व्यवहार कस्तो रहन्छ ?

उल्लिखित बुँदाहरु प्रतिको नीति एवं व्यवहारमा माओवादी सरकारको आयु निर्धारित हुन्छ । युद्धकालीन मानसिकता नै सरकारी व्यवहारमा लागू गर् यो भने अब माओवादी अन्तर्राष्ट्रिय अदालतमा उभिन पुग्नेछ । अझ सेनासितको टक्करमा फस्यो भने १ सय दिन पनि भन्न पाउने छैन ।



August 15, 2008

पवित्र गठबन्धन र माओवादी 'नया सत्ता' को आयू

कम्युनिष्टहरू धर्म मान्दैनन् र भौतिकवादी हुन्छन भन्ने कुरा राजनीतिको कखग जान्ने मान्छेलाई पनि थाहा भएकै कुरा हो । धर्म मान्नेहरूका लागि भने 'पवित्र' वा 'अपवित्र' ( sacred, holy or unholy ,sacrilige) भन्ने जस्ता कुराहरूको महत्व हुन्छ । तर। केही कुराहरू 'अपवित्र' भैहाल्यो भने पवित्र बनाउन पण्डित वा धर्मगुरूले पवित्र जल अभिषेक गर्न सक्छन् । नेपाली गाउँघरमा अशुद्दलाई शुद्द पारेर काम चलाउने बनाउन सुन पानी छर्केर पवित्र पार्ने पनि चलन छ । तर राजनीतिमा भने कुनै ग्रन्थ छैन जसले कुन कुरा पवित्र वा अपवित्र हो खुट्याउन सकोस् । केही हप्ता अघि कांग्रेस, एमाले र फोरम मिलेर राष्ट्रपतिपदको निर्वाचनमा माओवादीलाई लोप्पा ख्वाएका थिए र यो तीन दलीय मेलमिलापलाई माओवादीले 'अपवित्र' गठबन्धनको संज्ञा दिएर सरकारको नेतृत्व गर्ने नैतिकता आँफूसंग नरहेको स्वीकारोक्ति प्रकट गरेको थियो । राष्ट्रपति पदमा हारेको आवेशमा जे कुरा भनेको भए पनि त्यसपछिका दिनहरूमा भने माओवादीले सरकार गठनको आफ्नो अभिलाषलाई कहिलै लुकाएन । तैपनि नया बन्ने सरकारमा कांग्रेसको सहभागितालाई सकेसम्म पञ्छाएर बाँकि रहेका एमाले र फोरमको मोर्चा आफ्नो नेतृत्वमा बनाएर यो समीकरणलाई 'पवित्र' पार्ने कोशिशमा भने लागि रह्यो । यसरी पाक्दै गरेको खिचडीमा 'पवित्र'ताको 'घ्यू' थपेर स्वादिष्ट पार्ने काम भने हिजो प्रचण्ड प्रधानमन्त्री बनेपछि सम्पन्न भयो । कामरेड प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री निर्वाचित भएको घटना संगै, आधुनिक नेपालका राजनैतिक घटनाक्रमहरूले एउटा वृत्त पूरा गरेका छन् । डेढ दशक लामो हिंसात्मक संघर्ष वा बिद्रोहलाई परिचालन गरी परिवर्तनका नाराहरूका आधारमा राजनीतिमा फर्केको क्रान्तिकारी शक्तिलाई सत्ता राजनीतिको जिम्मेवारी सुम्पेर, मौका पाउँदा उसले के गर्दो रहेछ त भनेर हेर्ने अभिलाषा माओवादीका समर्थक र बिरोधी दुवैलाई रहेको थियो , तर पनि अबको राजनीतिलाई माओवादीले कत्तिको जिम्मेवारीपूर्ण तरिकाले सञ्चालन गर्नेछ भन्ने कुराहरूले नै यो सरकारको आयू तय गर्नेछ । माओवादीले सत्ता आरोहणको यो मौकालाई आफ्ना पार्टीगत राजनैतिक अभिष्ट र एजेण्डा पूरा गर्ने उद्देश्यले प्रयोग गर्न खोजेका खण्डमा माओवादी नेत्रत्वको यो सरकारले १०० दिन पुरा गर्न पनि नसक्ने अनि विकल्पमा अर्को नया समीकरण निर्माण भई सत्ता परिवर्तनका अस्थिर अध्यायहरू पुन: खोलिन सक्छन् । यो दूर्भाग्यपूर्ण नहोला भन्न सकिन्न ।

संविधानसभाको निर्वाचन सम्पन्न भएको ४ महिना पछिमात्र नया सरकार जन्मिन सक्नुमा कांग्रेस माओवादी वीचको खिचातनी ने जिम्मेवार भएको कुरमा बिमति हुन सक्दैन । यसो हुनुमा कसैले कांग्रेस र विशेषत: गिरिजा कोईरालाको सत्ता लिप्सालाई दोष दिएको देखिए पनि , यो मुख्य रुपमा माओवादीको छापामार चिन्तन, वाइसिएल व्यवहार र सैन्य दम्भमा आउन नसकेको परिवर्तनका कारण पनि थियो । सरकारको एउटा घटक दलका रूपमा माओवादी र विशेषत: उसका विविध नामधारी जनवर्गीय संगठनहरूको हरेक जोरजुलुमपूर्ण व्यवहार सहेपनि अरू दलहरूले उसले गर्ने भनिएको सत्ता नेतृत्वसंगै कथित जनयुद्दकालीन व्यवहारमा सुधारको अपेक्षा राख्नु अस्वाभाविक थिएन । त्यसो हुँदा हुँदै पनि माओवादीलाई ऊ संविदानसभामाको सबैभन्दा ठूलो दल हुँदा हुँदै फेरि पनि, सत्ता भन्दा बाहिर राखेर गैर-माओवादी समीकरण बनाउन यदाकदा प्रकट हुने कांग्रेसी चाहना अहिले सम्म उसकै नेतृत्वमा अघि बढिरहेको समग्र शान्ति प्रकृयाका लागि प्रत्युत्पादक हुन सक्थ्यो । यस्तो घडीमा , माओवादी नेतृत्वलाई सत्तामा पुर्‌याएर एमाले र फोरमले जिम्मेवारपूर्ण काम गरेका छन् भने आफ्ना असहमति साथ प्रतिपक्षमा बस्दै संविधान बनाउने जिम्मेवारी पूरा गर्न सक्यो भने कांग्रेसले पनि ठिकै गरेको छ । तर पनि , अबको यो नया परिस्थितिमा नेपाली सेनाको अराजनीतिक चरित्र भित्र माओवादीले कुन किसिमको धावा बोल्न खोज्नेछ भन्ने कुराले यो सरकारको आयू निर्दिष्ट गर्नेछ भन्ने कुरामा द्विविधा नरहँदा हुन्छ ।
माओवादीले नेपाली सेनामा आफ्ना छापामारहरूलाई समूहगत प्रवेश गराउने आफ्नो नितिलाई कार्यान्वयन गराउने अड्डि लियो भने अनि अरूपनि राजनैतिक एवं दलगत एजेण्डा सहित आफ्नो हात बलियो पार्ने योजना अनुरूप काम गर्न चाह्यो भने , यही कारणले यो नया समिकरण धरापमा पर्ने कुरा ठोकुवा गर्न सकिन्छ ।

तर पनि नय बनेको 'पवित्र' गठबन्धनले ' अरूलाई देख्यौँ पटकपटक, हामीलाई हेर्नुस् एकपटक' भन्ने माओवादी उद्घोषलाई साकार पारेको छ । यो घडी , एकतन्त्रात्मक कम्युनिष्ट राज्य निर्माणका लागि कोषे ढुङ्गा नभएर बहुलवादी समतामूलक समाज व्यवस्था निर्माणका लागि भैदियो भने कसैले चिन्ता लिनु पर्ने हुने छैन , हैन र माओवादीको युद्दकालीन हत्या हिंसा र असहिष्णुपूर्ण व्यवहारको सरकारीकरण गर्नलाई यो 'पवित्र'ताको लाहाछाप लाग्यो भने हामि अभागी नेपालीले सन् १९१७ को रसिया वा आजको उत्तर कोरियाको आधारशिला मुलुकका लागि राखेका हुनेछौँ । आशा छ २१ औँ शताव्दिको उत्तर-आधुनिक संसारमा , मानवताले फेरि पिंजडाको सुगा बन्नु पर्ने छैन ।

-एकलव्य



August 6, 2008

वाईसीएल विघटन गर्न प्रचण्डको निर्देशन

काठमाडौं । निर्धारित मितिभित्र माओवादीले सहमति कायम गरी राष्ट्रिय सरकार गठन गर्न नसकेपछि राष्ट्रपति डा। रामवरण यादवले नयाँ सरकार गठन गर्नका निम्ति माओवादीलाई थप तीन दिन म्याद दिएका छन् ।राष्ट्रपति डा। यादवले सात दिनभित्र राष्ट्रिय सहमति कायम गरी नयाँ सरकारको गठन गर्न दिएको म्यादभित्र माओवादीले सहमति कायम गर्न नसकेपछि चार ठूला दलको सहयोगमा थप तीन दिन सहमति खोज्ने मौका दिन आग्रह गरेपछि राष्ट्रपतिले माओवादीलाई दिएका हुन् ।अन्तिम दिन मंगलबार अबेरसम्म चार ठूला दलबीच भएको छलफलले मूर्त रुप लिन नसकेपछि राष्ट्रपति समक्ष तीन दिन समय माग्ने सहमति भएअनुरुप साँझ राष्ट्रपतिलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड शितल निवास गएका थिए । हिजोको छलफलमा एमालेलगायतका दलहरुले प्याकेजमा नै सहमति खोज्नुपर्ने भन्दै सम्मानजनक सहभागिताको प्रस्ताव राखेको बुझिएको छ ।एमालेको हिजै बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री माओवादीले लिने भएपछि मन्त्रालय अन्य दललाई रोजाएर दिनुपर्छ । अरु दलले रोजेको मन्त्रालयमा माओवादीले आँखा लगाउन नहुने उल्लेख गर्दै यदि माओवादीले प्रधानमन्त्री छोडेमा मन्त्रालय रोजेर लिनुपर्ने निर्णय गरेको छ । यद्यपि मन्त्रालयसम्बन्धी निर्णय चारदलीय कार्यदलको बैठक आज बिहानैदेखि बसेको छ । प्रतिनिधि सहभागी रहेको कार्यदलले गर्ने छ ।जसरी पनि सरकारमा जानुपर्छ भन्ने मान्यता राखेको नेकपा माओवादीले सरकारमा जानका निम्ति राष्ट्रिय सहमति जुटाउन १५ दिनभित्र वाईसीएलको अर्ध सैनिक संरचना भंग गर्ने कब्जा गरिएका सम्पत्तिलगायत विगतमा भएका सहमति कार्यान्वयन गर्न सहमत भई वाईसीएलको अर्धसैनिक संरचना भंग गर्नलगायत विगतका सहमति कार्यान्वयन गर्न पार्टी पंक्तिलाई प्रचण्डले निर्देशन दिएका छन् ।यसैबीच माओवादी सभासद् एवं नेताहरुले वाईसीएल भंग नहुने दाबी गरेका छन् । वाईसीएल र जनसेना भंग होइन उनीहरुले विद्रोह गर्ने चेतावनी दिएका छन् ।


March 13, 2008

ब्रतबन्धको रत्यौली

नपढने बिद्यार्थीलाई जसरी परिक्षा नजिक आउँदा डर लाग्छ जनताको विश्‍वास नभएका दललाई पनि चुनाव नजिक आउँदा त्यस्तै भयले गाल्छ ।

प्रसंग नेपालमा हुन लागेको संबिधान सभाको चुनाव र माओबादी दलकै हो, हिजोको हिमाल खबर.कम मा "प्रचण्डको चेतावनि" शिर्षक दिएर यौटा समाचार छापिएको छ । कुरो घुमाएपनि, सिधा भने पनि समाचारको सारले के देखाँउछ भने कामरेडहरुलाई नजिकिदै गएको चुनाबले सातो लिएको छ। त्यसैले अझ पनि कुनै न कुनै बहानामा चुनाव सार्ने भरमग्दुर प्रयासमा छ माओबादि ।

जन-युद्ध, जन-मुक्ति वा मुखको बोलिमा जेसुकै भनिए पनि माओबादिको अहिले सम्मको कार्य केबल, जन-हत्या, जन-शोषण र जन-दबाबमै बढि देखिएको छ । अर्को रमाईलो कुरा चाँहि प्रचण्ड र बाबुरामले गिरिजा कोईरालासंग भेट्दा "शहीद तथा बेपत्ता परिवारलाई राहत दिनुपर्ने" माग पनि राखेछन्। आफुले कब्जामा लिएका जनताका घर-बारी र सम्पति अझै फिर्ता नगरेका गुटलाई यसरी 'सहिद' र 'बेपत्ता परिवारलाई राहत दिनुपर्ने' माग राख्दा सुन्नेहरुलाई निक्कै लज्जा महशुस भएको हुनुपर्छ ।

जे होस, जे जस्तो माग वा अटको थापेर भए पनि माओबादी नपढ्ने बिद्यार्थीले परिक्षा सार्न जे जति जुक्ति लगाउँछन त्यत्तीनै तिडकम लगाएर चुनाव पछाडी सार्ने निहुमा पुगेको बिस्तारै भान हुन थालेको छ।

बोली र 'गँजडी गफ' मा ८०% नेपाल हाम्रो कब्जामा छ भने पनि साँच्चै चुनाव आउँदा ८% भोट पाउन पनि गार्‍हो हुन्छ, यो कुरो हालैको तराई आन्दोलन पछि पनि कामरेडहरुलाई प्रष्ट भएको हुनु पर्छ । जनता कतिबेला, कसरि र केबाट आन्दोलित र परिचालित हुन्छन भन्ने कुरो हाम्रो जस्तो शिक्षामा पछाडि रहेको देशमा सजिलै भन्न सकिने कुरो होईन । त्यसैले आफुहरुले बिगतमा गरेका कूकर्म सम्झेर भोट पाउने आशा गुमाउदै जादाँ कामरेडहरुले गर्न सक्ने अन्तिम काम भनेको कुनै न कुनै बहानामा चुनाव भाँडनु नै हो ।

फेरि सुनिन्छ आजकल काठमाणडौका भित्ताहरु प्रचण्डलाई राष्ट्रपति बनाउने नाराले भरिएका छन, अब यो केबल संबिधान सभाको मात्रै चुनावहो र यसले प्रधान मन्त्री वा राष्ट्रपति छान्ने होईन भन्ने बारेमा राष्ट्रपतिका दाबेदारलाई समेत थाहा नभएको हो की, नत्र कहिले संबिधान सभाको चुनाव गर्ने कहिले नया संबिधान लेखिने अनि फेरि कहिले हो त्यो नयाँ संबिधान अनुशार राष्ट्रपतिय चुनाव हुने???।

अहिले केवल संबिधान सभाको चुनाव मात्रै हुन दिनुहोस, त्यसपछि जनताको मन जित्ने केहि गरेर देखाउनु, अनि बिस्तारै राष्ट्रपतिय चुनाव भएछ भने उठेर जित्नु होला तर यसरी ब्रतबन्धमा रत्तेली खेल्दैमा कहाँ बेहुली पाईन्छ हो?।

जसरी ब्रतबन्ध गरिसकेपछि मात्रै बिहे गरिन्छ त्यसरी नै नया संबिधान बनेपछि मात्रै राष्ट्रपतिको चुनाव हुन्छ, त्यसैले हतार नगर्नोस‍ । नपढने बिद्यार्थी परिक्षा देखेर तर्से जस्तो गरेर केहि हुन्न राष्ट्रपति बन्ने त्यस्तो रहर छ भने कमसेकम संबिधान सभाको चुनाव त हुन दिनुहोस् ।

जसरी ब्रतबन्धको बेलामा रत्यौली खेले पनि, कसार खाए पनि, जग्गे नै गाढे पनि त्यो भिन्दै संस्कार हो र ब्रतबन्धमा दुलहि पाईदैन, त्यसरि नै अहिले चुनावै भए पनि, भोटै हाले पनि यो केवल संबिधान सभाको चुनाव मात्र हो यसले राष्ट्रपति पक्कै छान्दैन आत्तिएर हुदैन कामरेड धैर्य गर्नुस ।



January 14, 2008

गृहमन्त्रीको राक्षस हँसाई र भोटाहिटिको बम

हामीहरु प्राय: सबैले रामायण, महाभारत वा त्यस्तै अरु कुनै धार्मिक चलचित्र वा धारावाहिक पक्कै पनि हेरेका छौं ।

यस्ता चलचित्र वा धारावाहिकमा कथावस्तु भिन्न भिन्न भए पनि यौटा कुरा चाँहि समान हुन्छन् । देवता र दानव विच लडाई चल्छ अनी आफ्नो यौटा तीर निशानामा लाग्ने बित्तीकै दानवहरु अट्टाहास गर्न थाल्छन ––हा हा हा हा हा हा हा-- मानौ त्यो यौटा हतियारको सहि नीशाना नै युद्दको विजय हो ।

आज काठमाण्डौमा भएको बम बिष्फोट र हिजोको गृहमन्त्रीको वकतव्य मलाई त्यहि यथार्थ नबुझी गरिएको अट्टाहास जस्तै लाग्दै छ ।

बिषयको गाम्भिर्यलाई नबुझी वा बुझ पचाएर हावादारी गफ गर्न हाम्रा नेताहरु त्यसै पनि अग्रपंक्तिमा आउँछन।यसै क्रममा हाम्रा गृहमन्त्रीले पनि १-२ दिन काठमाण्डौमा केहि घटना नघटेकोले अब 'राम रज्य' शुरु हुन लागेको उदघोष गरिहाल्नु भयो ।

त्यहि लालबुझक्कड र हावादारी वक्तव्यको लगत्तै रत्‍नपार्कमा आज भएको बम बिष्फोटले हामीलाई फेरी एक चोटी सोच्न बाध्य बनाएको छ, के हाम्रा नेताहरुको चेतनाको स्तर पौराणिक कालका दानवको भन्दा फरक छैन ?

हाल पुरै देशको हालत एकदमै ठिक छैन, हत्या, आतंक र बिष्फोट भनेको "दाल-भात" जस्तै छ र देशको कुनै न कुनै कुनामा हरेक दिन जसो १-२ अप्रीय घटनाहरु घटि रहेका छन । यो यथार्थ बारे बिदेशमा बस्ने नेपालीहरुलाई समेत पनि कुनै भ्रम छैन भने हाम्रा गृहमन्त्री भने हिजो सम्म "सुरक्षा स्थिति दिनप्रतिदिन सुधार हुदैछ" भनेर अर्न्तवार्ता दिदै हुनुहुन्थ्यो ।

वहाको अर्न्तवार्ता यहाँ छ र आज काठमाण्डौमा बम पडकेको बारेको समाचार यहाँ छ।

नेपालको हालको स्थिति एकदमै तरल छ र यसलाई सबैले बुझ्ने भाषामा भन्दा "कुन बेला के हुन्छ भन्न नसकिने" अबस्थामा छ । यस्को जानकारी देशकै सुरक्षाका जिम्मा लिएर बसेका गृहमन्त्रीलाई पक्कै हुनुपर्ने हो ।

यस्तो अबस्थामा वहा के हिसाबले सुरक्षा स्थिति दिनप्रतिदिन सुधार भईरहेको हावा भरको कुरा गर्नु हुन्छ ।

देशमा कुन बेला के हुन्छ भनेर जान्ने त कोहि पनि हुन सक्दैन तर हालको परिस्थितिमा यस्तो वक्तव्य दिनु चाहिँ अमेरिकाले ईराक आक्रमण गर्दा सद्दाम हुसैन र उनका सुरक्षा प्रमुखले "हामी अमेरिकालाई जित्दै छौं" भनेर राक्षस हासो गरे जस्तो मात्रै हुनेछ ।

आशा गरौं आगामी दिनमा हाम्रा मन्त्रीहरु सोच बिचार गरेर मात्रै बोल्नेछन ।

अन्तमा आज भएको आक्रमणको घोर बिरोध गरौं साथै हाम्रा नेताहरुलाई बोल्नु अगाडि बिचार गर्नु पर्छ भन्ने बुद्धी पनि परमात्माले प्रदान गरुन ।



January 9, 2008

गिरिजाको गिर्नु भएको अर्को कथा

तपाईले गिरीजा बाबूको आत्मब्रितान्त पक्कै पनि पढीरहनु भएको छ होला। कति गर्बका साथ उहां आफ्नो गैरकानूनी अतितको बर्णन् गरिरहनु भएको छ। यो कुनै जेल तोडेको कथा होइन। यो कुनै भिडन्तको बिबरण होइन। खान नपाएर रिक्सा चलाउन परेको, मजदूरी गर्न परेको कथा पनि होइन।यो कथा त जाली नोट छापेको कथा हो। कमिशन को लागि तस्करको सुन् भरिया बनेको कथा हो। हुंदा हुंदा उहाँ युरेनियम इज्राएल तस्करी गर्ने कार्यमा पनि संलग्न हुन खोज्नु भएछ। धन्न, बीपीले उंहालाई रोक्नु हुंदो रहेछ। "र" को मिलेमतोमा त्यत्रो बिमान अपहरणको योजना बन्दा समेत बीपीलाई सुंइको हुंदो रहेनछ।
क्रान्तीको लागि निस्चित रुपमा अर्थको जरुरत् पर्छ नै। तर यहि हो त क्रान्तीको लागि अर्थ संकलन् गर्ने तरिका? फेरि त्यस्ता तस्करहरु संग कसरी संगत भएको हो? सुनेको थिएं, ढुन्डीराज शास्त्रीको काम नै बनारसबाट जाली शैक्षिक प्रमाणपत्र ल्याउने र बेच्ने थियो। पछि उनी नै शिक्षा मन्त्री पनि बने क्यारे। प्रजातान्त्रीक् आन्दोलनको जग यस्तै अपराधले बनेको हुन्छ?
गिरिजा बाबूको त्यस्तो उपद्रोले गर्दा नै बीपीले दिक्क भएर भन्नु भएको होला-यो हवल्दार हो भनेर।
यो दूर्भाग्य हो की देश् अहिले देश तिनै हवलदारको कमान्डमा चलेको छ।
युरेनियम् जस्तो सम्बेदनशील पद्धार्थ, बीपीको संबन्ध दूरुप्रयोग् गरेर इज्राएल पठाउन खोज्ने आंट गर्ने कहांसम्मका उधुम मान्छे रहेछन् त यिनी। यस्ता ब्यक्तिले राज गरेको देशमा कसरी भ्रष्टाचार कम् हुन्छ? कसरी तस्करी रोकिन्छ? उल्टो खुम् बहादुर जस्ता ब्यक्ति दाङको बिश्व बिध्यालय शभामा बिशिस्ट ब्यक्तिको रुपमा नियुक्त भएका छन्।
"र" को सहयोगमा नेपालको बिमान अपहरण गरेको कुरा बताएर यिनले यो कुरा खुलस्त पारेका छन कि "र" का सबै भन्दा ठूला नोकर यिनै हुन। यस्ता बाट नेपाली राष्ट्रियता कसरी जोगिन्छ? भारतीय पक्षबाट संधै नेपाली भूभाग अतिक्रमण हुंदा, नेपाली जनता धपिंदा यिनलाई कुनै पिडा हुंदैन। पिडा कसरी होस्-"र" ले बिमान अपहरण गर्न सघाएर यिनलाई जो अपार गुण लगाएको छ। सायद त्यो बिमान अपहरण पछि यिनलाई कहिले पनि तेस्रो दर्जाको डिब्बामा कहिले यात्रा गर्न परेन।
कोइराला परिवारको अहिलेको श्रीसम्पत्ती सायद त्यही बिमान अपहरणको आम्दानीको फल त होइन? नेपाली कांग्रेसको इमान्दार कार्यकर्ताले त्यसको हिसाब किताब माग्नु भएको छ?
गिरीजाको आत्म ब्रितान्त पढन नेपाल साप्ताहीक हेर्नु होला।



January 8, 2008

रक्तचन्दनको रातो दाम

पैसामा महादेबको तिनै नेत्र, यो त हामीले दिन दिनै भन्ने उखानै हो। त्यो बेला महादेबमात्रै बाठा थिए कि क्या हो, तिनकै मात्र धन देख्दा नेत्र उघ्रिदो रहेछ। लोकतन्त्रमा त सबै बाठै बाठा, धन देख्दा सबैका नेत्र खुल्छन। यसरी नै आखा खोलेछन सबैले, तिंकरबाट रक्तचन्दन तिब्बत पुर्याउदा। बिंडीमा त आखा खोल्ने भारतीय प्रहरी, यस्तो महंगो काठमा किन आखा बन्द गर्थे?यस्तै भयो पुस २४ गते। भारतको रक्तचन्दन नेपाल हुदै तिब्बत पुराइयो। रूख हुर्काउने भारत, खपत गर्ने चिन, हामीलाइ के को खसखस! तर नेपालमा रक्तचन्दनको ओसार पसार गैरकानूनी भएकोले यस्तो गैरकानूनी कार्यमा सुरक्षा निकाय नै मुछिएको चर्चामा आउनु कतै अब अदालतमा तराजु लिएर बसेको मुर्तीको आखाको पट्टी खोल्नु पर्ने त दिन त आएन?
तल छ कान्तीपुरमा प्रकाशित समाचार-
संरक्षणमा तिंकर हु“दै तिब्बत
विक्रम गिरी
दार्चुला, पुस २४ - भारतबाट ल्याइएको रक्तचन्दन तिंकर नाका हु“दै तिब्बत पुर्‍याउन प्रहरी, प्रशासन, वन कर्मचारी र माओवादी संलग्न रहेको स्रोतले बताएको छ । रक्तचन्दन बोक्न गएका भरियाका अनुसार प्रतिकिलो २ सय ज्यालामा करिब डेढ सय गाउ“लेलाई बोकाएर सुनसेरामा जम्मा पारिएको रक्तचन्दन तिंकर ढुवानी गरिएको हो ।
छाङरु मार्ग हु“दै रक्तचन्दन तिंकर पुर्‍याउन दर्ुइ साता लागेको बताउ“दै भरियाले भने, 'बाटोमा प्रहरी,
वनका कर्मचारी तथा वाईसीएलले केरकार नै गरेनन् ।' ताक्लाकोट पुर्‍याउन डेढ सयभन्दा बढी घोडा खच्चरसमेत प्रयोग गरिएको उनले जानकारी दिए ।
प्रशाशन, प्रहरी, वन र माओवादीले रकम लिएपछि सजिलै रक्तचन्दन तिब्बतको ताक्लाकोट पुर्‍याइएको स्रोतले बतायो । तस्करीमा काठमाडौंका कुमार श्रेष्ठ, सदरमुकाम खलंगाका केही व्यापारी तथा भारतीय व्यापारीे संलग्न रहेको बताइएको छ । गत कात्तिक १५ गते भारतबाट वर्तीघाटसम्म ट्रकमा ल्याइएको रक्तचन्दन तुइनबाट महाकाली नदी तारी सुनसेरा पुर्‍याइएको थियो । सीमामा भारतीय सुरक्षा बल -एसएसबी) तैनाथ भए पनि रकम असुली अवरोध नगरेको स्रोतले बतायो ।
सुनसेरामा प्रहरी चौकी इन्चार्ज अर्सइ दानसिंह भाटले रोक्ने प्रयास गरेका थिए तर तस्करले डीएसपीसित कुरा मिलिसकेको भन्दै भाटलाई अवरोध नगर्न दबाब दिएको स्रोतले बतायो ।
सुनसेरामा वनको रेन्जपोस्टसमेत छ । तस्करी भइरहेका बेला चार वनरक्षक त्यहा“ थिए । रक्षकले तस्करीबारे वनअधिकृतलाई जानकारी गराए पनि अवरोध नगर्न अधिकृतले निर्देशन दिएका थिए । स्रोतका अनुसार तिंकरसम्मको ढुवानी जिम्मा वाईसीएलले लिएको थियो । तर माओवादीले आफ्नो संलग्नता नरहेको बताएको छ । 'संलग्न रहेको पाए कारबाही गछौर्ं,' जिल्ला समिति सदस्य जमनसिंह धामीले भने । सुनसेराबाट छाङ्रु हु“दै तिंकर पुग्न चार दिन लाग्छ । छाङरुमा पनि त्यो बेला ३४ जना सुरक्षाकर्मी र वनको रेन्जर पोस्ट थियो ।
भरियाका अनुसार रक्तचन्दन २ सय ६५ 'गेल' थियो । एक गेलमा करिब ४० देखि ५० किलो भएको भरियाले बताए ।
रक्तचन्दन तस्करीको नया“ मार्गबारे स्थानीय प्रशासनलाई जानकारी भए पनि कारबाहीका लागि सक्रियता देखाइएन ।
प्रशासनले सुरक्षाकर्मी, वन, जिविस, वन उपभोक्ता महासंघका कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिलाई अनुगमनका लागि खटाएको सहायक प्रजिअ तुल्सीराम पौडेलले बताए ।


January 6, 2008

Who is Martyr? --the killer or the 'Killed one'--

While simply surfing the net, I found a news published in today's "The Hindu', an English daily widely circulated in entire India.

I am posting the news as it is, though the short news can also be grabbed in their own official webpage here.

Indira Gandhi killers labelled martyrs

Amritsar: In a controversial action, the Akal Takht on Sunday declared the assassins of the former Prime Minister, Indira Gandhi, as martyrs of the community.

At a special religious function, organised here, Satwant Singh and Kehar Singh were hailed for targeting Indira Gandhi for “sending the Indian Army to the Golden Temple for Operation Blue Star in 1984.” The Takht is headed by Jathedar Gyani Joginder Singh Vedanti.

Satwant and Kehar have been hanged to death.

In my personal opinion, 'the killer' 'itself' can never be a martyr. I'm afraid as this news will be spread in Nepal the killer of Krishna Mohan Shrestha may also be given the glory and the great "Madi Bus blasters" will also be awarded.

Well let's see together the impact and after effect of this, and get ready to regard killers and assassinators of our local leaders and several civilians as the martyrs of our country too.



December 10, 2007

सक्यो भने भारतले मलाई हटाउँछ


यो समाचार अलि पुरानो भैसक्यो, अनि अत्यन्त संवेदनशील हुदां हुदैं पनि केही कारणले ओझेलमा पर्‍यो ।


प्रसंग हाम्रा देशका राष्ट्र प्रमुख समेत रहेका प्रधानमन्त्रीको यौटा वक्तव्यको हो । त्यसो त हाम्रा नेताहरुको वक्तव्य र भाषणको जिम्मा उनिहरु स्वयंले पनि कहिल्यै लिदैनन् र आज बोलेको कुराको भोलिपल्ट ठाडो खण्डन वा बिरोध गर्न कहिल्यै पछि पर्दैनन् ।


हाम्रा नैतीकताहिन नेताकोलागी यो कुनै नौलो कुरा हुदैंन, अझ हामिकहाँ त बोली सकेको कुरा फिर्ता लिने सुबिधा पनि उपलब्ध छ, त्यसैले न त नेताहरु सोच बिचार गरी बोल्छन न त जनताहरुनै त्यसलाई मनन गरेर सुन्छन् ।


तर केहि समय अघी प्रधानमन्त्रीबाट अभिव्यक्त केहि वाक्याशहरुले भने कुनै पनि स्वतन्त्र नेपालीको स्वाभिमानमा पक्कै धक्का लाग्छ ।


जनआस्था मा प्रकाशीत उक्त समाचार अनलाईनमा हेर्न यहाँ किल्क गर्नुहोस ।


समष्टिमा खबर यस्तो छ :



बालुवाटारमा आफ्ना निजी सचिवहरु, डाक्टरहरु र अरु पारिवारिक सदस्यहरुसमेत रहेको जमघटमा कोइरालाले भारतले आफूलाई विश्वास गर्न छाडी एमाले महासचिव माधवकुमार नेपाललाई विश्वास गर्न थालेको बताउनुभएछ ।


साथै उहाले अझ प्रष्ट पार्दै “मलाई अब भारतले उसले भनेको नमान्ने लिष्टमा राखिसक्यो” अनि अन्तमा “सक्यो भने भारतले मलाई हटाउँछ” समेत भन्नुभएछ


यसो त नेपालको राजनीतिमा भारतको प्रतक्ष हस्तक्षप र दबदबा रहेको कुरा कसेमा छिपेको छैन र यसै ब्लगमा समेत यो ब्लगरले यसबारेमा यौटा सानो ब्लग लेखीसकेको छ ।


सायद प्रधानमन्त्रीले आफूलाई एकदम हक्की वा खुला छु भन्ने देखाउन सो कुरा बताउनु भयो होला तर यो बक्तव्यले हाम्रा प्रधानमन्त्री खुला हैन हालसम्म भारतकै ईशारामा नाचीरहेको प्रष्ट पारेको छ।


कुरा एकदमै सरल छ उहाँकै शब्दमा भन्ने हो भने पनि : “मलाई अब भारतले उसले भनेको नमान्ने लिष्टमा राखिसक्यो”, मतलब यसभन्दा अघी सम्म वहाँ पनि “भारतले भनेको मान्ने हरुको लिष्टमा हुनुहुन्थ्यो” ।


यौटा स्वतन्त्र देशका प्रधानमन्त्री अर्को यौटा “धम्मरधुस” देशले भनेको मान्ने लिष्टमा हुनुले के देखाउँछ त ? । भन्नै लाज लाग्ने र सोच्दै ग्लानि हुने । देशको प्रधानमन्त्रीको त यो हविगत छ भने हामीले कसरी आफूलाई स्वतन्त्र राष्ट्रको सार्बभौमसम्पन्न नागरीक भन्ने ।


“सक्यो भने भारतले मलाई हटाउँछ” भन्ने अन्तिम वाक्य पढदा कुनै पनि स्वाभिमानी नेपालीको शिर निहुरिएको हुनुपर्छ ।


वालीग मताधिकारको आधारमा देशको नेता र राष्ट्र प्रमुख समेत चुन्न पाउने नेपालीको जनताको सार्बभौमीक अधिकारको ठाडो खील्ली उडाउने यो वाक्यले हाम्रो नागरीक अधीकार के छ हैन हाम्रो अस्तित्वनै के छ भन्ने प्रश्न चिन्ह खडा गरेको छ ।


नेपालको प्रधानमन्त्री भारतले हटाउने वा थमाउने गर्छ भने हामि को त? प्रधानमन्त्री स्वयं कठपुतली भए जनता झन के त?


सक्यो भने भारतले मलाई हटाउँछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ती पक्कै पनि त्यसै आएको छैन, पक्कै पनि यस भन्दा पहिले त्यस्तो खेल धेरै चोटि भैसकेको होला र हाम्रा प्रधानमन्त्री पनि कैयौ पटक त्यसमा खेलाडिको रुपमा सामेल भैसक्नु भएको होला। भनिन्छ नि सर्पले मात्रै सर्पका खुट्टा देख्छन, यो खेलमा धेरे पारगंत भएकाले मात्रै प्रधानमन्त्रीले त्यस्तो सम्भाब्य “भविश्यवाणी” गर्नु भएको होला ।


जे होस सम्पूर्ण नेपालीले थाहा पाएर पनि थाहा नपाएझै गरि बसेको यौटा कटू यथार्थको प्रधानमन्त्री स्वयंले पुष्टी गरीदिनु भएको छ । यसकालागी वहालाई “धन्यवाद्” दिनै पर्छ । अबका दिनमा कसैले हाम्रो सरकार भारतले बनाउँछ र बिघटन गर्छ भन्नेमा कुनै भ्रम नपाले हुन्छ ।


अन्तमा प्रधानमन्त्रीलाई यौटा आग्रह पनि । उमेरको उत्तरार्धमा पुगी यो अबस्थामा आउँदा तपाई के कति कारणले “भारतले भनेको नमान्ने लिष्टमा” पर्नु भयो त्यो त मलाई थाहा छैन तर तपाई आफ्नो स्वार्थको त्याग गरेर साँच्चै र सधैकालागी “भारतले भनेको नमान्ने लिष्टमा ” बस्न सक्नु भयो भने जिवनको उत्तरार्धमा यो पक्कै पनि यौटा सम्मानजनक र आदर योग्य काम हुनेछ ।