March 2, 2010
पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पत्र (राजधानी दैनिक, माध ०७, २०६६ मा प्रकाशित )
मलाई थाहा छ तपाईंका दिनहरु बढो व्यस्ततामा बितिरहेका छन्। कहिले पार्टीको आन्तरिक प्रशिक्षण, कहिले पत्रकार सम्मेलन, स्पस्टिकरण, कहिले विदेश बस्ने कार्यकर्ताहरुको प्रशिक्षण,कहिले यता कहिले उता अनगिन्ति कार्यक्रमहरु, देश दौडाहा सायद स्वअध्ययनको लागि त समय सुन्य नै होला। यहाँलाई यो पत्र प्रत्यक्ष पढ्ने समय होला भनेर त मैले सोचेकै छैन तर पनि शुभेच्क्षुक तथा सल्लाहकार मार्फत यहाँ सम्म पुगेपनि मेरो वर्तमान इच्छा पुरा हुने थियो। लेख्न त मलाई ठेली नै लेखेर दिने इच्छा छ तर समयलाई बिचार गरेर केहि खास कुरामात्रै लेख्दै छु।
केहि तालिमको कारणले छिमेकी मुलुक भारतमा जाने काम परेकोले यहाँको पार्टीले आयोजना गरेको पौष ५, ६ र ७ को बन्दको प्रत्यक्ष अनुभव त हुन पाएन तर पौष ७ मा बानेश्वरमा दिनु भएको भाषण चाँही तात्तातै सुन्न पाएँ। तँपाईंको भाषण सुन्न म प्राय अफिसमा व्यस्त हुँदापनि समय निकाल्ने गर्छु। भारतमा हुँदा पनि त्यस्तै गरें। सुन्दै गएँ रमाईलो लाग्दै गयो, दर्शकदिर्धाबाट पनि वा वा र स्याबासी त वर्षीरहेकै थियो। बोल्दै जाने क्रममा खुले आम तपाईंले हेर्दा सुन्दा भारत विरोधी जस्तो तर प्रत्यक्ष रुपमा भारतले नेपाल प्रति झन ठाडो हस्तक्षेप गर्न सक्ने वातावरण बनाईदिनु भएको छ। तपाईंले हाम्रो मालिक दिल्ली हो भन्दा, अब हाम्रो प्रत्यक्ष वार्ता भारतसँग हुन्छ भन्दा पहिलो पटक नेपाली हुनुको गर्व हराए जस्तो लाग्यो। सायद मलाई जस्तै धेरै देशभक्त नेपालीहरुलाई पनि लाग्यो होला। हुन त तपाईंले भनेको कुरामा सत्यता छ तर एउटा जिम्मेवार नेताले त्यसरी सार्वजनिक रुपमा बोल्दा दीर्धकालिन हिसाबमा भारतले अब हस्तक्षेप गर्न कुनै भित्री मार्ग अपनाउनु पर्ने छैन। अत्यन्तै निजी कुरामा ऊ अब ठाडै हस्तक्षेप गर्न सफल हुने छ। ऊ अब आफुलाई स्पष्ट बैधानिक मालिक ठान्ने छ। सायद दिल्ली कुनै जिम्मवार नेपाली राष्टिय नेताले खुलारुपमा यो अभिव्यक्ति बोलेको सुन्ने दिन पर्खिरहेको थियो जुन तपाईंले पुरा गरिदिनुभएको छ। तपाईंले सोच्नुभएको होला जापान विरुद्धको लडाईंमा खास राष्ट्रवादी आफुभएको प्रमाणित गरि माओले आफ्नो शक्ति व्यापक विस्तार गर्न सफल भए जस्तै आफुपनि विदेशीहरुको दोहोलो काडेर नेपाली जनताको व्यापक समर्थन बटुल्छु भनेर तर परिस्थिती फरक छ।
हो, माओवादी पार्टी हाल नेपालको सबैभन्दा ठुलो पार्टी हो तर तपाईंको पार्टीलाई ठुलो जनताले त्यसै बनाएका होईनन्। कांग्रेस, एमाले तथा अन्य पार्टीहरुमा व्याप्त विकृती सर्वहाराको निम्ति आन्दोलन गर्ने तपाईंको पार्टीमा नहोला तथा तपाईंहरुलाई मुलधारको राजनितिमा समेट्न पाए दिर्धकालिन शान्तिको सुरुवात होला भनेर नेपाली जनता लागेका हुन्। तपाईंहरुको राजनितिक दर्शन राम्रो नराम्रो भनेर विश्लेषण गर्नसक्ने नेपाली जनता अल्पसंख्यक नै छन् त्यसैले तपाईंको पार्टी राम्रो र गौरवशाली भन्दापनि अरुमा छाएको विकृतीको फाइदा तपाईंहरुलाई भएको हो। अझैंपनि तपाईंको कार्यकर्ताहरुको रटान र जडसुत्रवादीताले गर्दा फरक र विश्लेषणात्मक बिचार राख्नेको टाउको फोडिने अवस्था छ।
राजनितिक फाइदाको लागी तपाईंहरुको सस्तो र उत्तेजनात्मक अभिव्यक्तिले अनेक जातजातीहरु बिचको सदभावलाई झन वैमनस्यतामा परिणत गर्दैछ। स्वाधिन देश भित्र पराधिनता महसुस गर्ने समुह तपाईंहरुकै कारणले बढदैछ। हुन त तपाईंहरु आफुलाई सबभन्दा राष्ट्रवादी भन्नुहुन्छ तर तपाईं तथा तपाईंको कार्यकर्ताहरुको सार्वजनिक अभिव्यक्ति सुन्दा सुरुवात ‘हाम्रो गौरवशाली पार्टी’ भन्नेबाट सुरु हुन्छ।
प्रसङ्ग अलि तपाईंमा नै केन्द्रित गरौं। पहिलो पल्ट वालुवाटारमा सार्वजनिक हुँदा तपाईंलाई हेर्न सारा नेपाली जनता लालायित थिए। यत्रो जनयुद्धलाई नेतृत्व दिने व्यक्ति अब सार्वजनिक जीवनमा आएपछि देशमा कायापलट हुन्छ भन्ने आशा सबैमा थियो। पुरै वेईमानीले ढाकेको राजनितिक वृत्तमा तपाईं जस्तो योद्धा आएपछि एउटा राजनितिक संस्कार संस्थागत होला भन्ने ठुलो अभिलाशा थियो । यस्तै आशामा नेपाली जनताले तपाईंको नेतृत्वलाई विश्वाश गरि माओवादी पार्टीलाई सबभन्दा ठुलो बनाए, तपाईं प्रधानमन्त्री हुनुभयो लगभग नौ महिना सरकार चलाउनु भयो तर ढाकछोप जसरी भएपनि तपाईंको सरकारको आधारभुत संस्कारमा परिवर्तन भएन। सरकारमा रहुन्जेल तपाईंभन्दा पनि बरु बाबुराम जी बढि चर्चामा रहनुभयो, अर्थमन्त्रीको राम्रो भुमिका निभाउनु भयो। आफ्नै सरकारको एउटा सेनापति त्यो पनि डेड दुई महिनामा स्वत समयावधि सकिनेवालालाई व्यबस्थापन गर्न नसक्नु तपाईंको कमजोरी नै हो ।
रङ् फेरिईरहने तपाईंका अभिव्यक्तिहरु हाल आएर तपाईं प्रतिको विश्वाशमा तगारो बन्न थालेका छन्। तपाईं कहिले गान्धी बन्छु भन्नुहुन्छ, कहिले त्यसैलाई बेवास्ता गर्दै पार्टी र सरकारमा आफ्नै नेतृत्वको विकल्प देख्न चाहनुहुन्न। हुँदा हुँदा आफ्नै समकक्षीलाई स्वकल्पित आरोप लगाई चरित्र हत्या गर्न पछि पर्नु हुन्न। आफूलाई निर्विकल्प नेतृत्वको ठाँउमा राख्न तपाईं सफल त हुनुभएकै हो, यसमा तपाईंको व्यक्तिगत खुबीको खुलेरै प्रसंशा गर्नुपर्छ। भर्खरै पनि सरकारको नेतृत्व आफैंले गर्ने कुरा पार्टीबाट पास गराईसक्नु भएको छ। तपाईंले बोलेको र बोलीलाई नाधेको त मैले बिसौं पटक अनुभव गरिसकें। माओवादी पार्टी तपाईंको व्यक्तिगत हो भने त मैले भन्नु केहि छैन नत्र आफ्नो समकक्षीको नेतृत्वमा विश्वाश गर्न नसक्नु तपाईंको ठुलो कमजोरी हो । के कहिल्यै तपाईंले आफुलाई पार्टीमा नेतृत्वविहिन या भनौं अध्यक्ष विहिन भुमिकामा हेर्ने आँट गर्नुभएको छ ? के कहिल्यै तपाईं आँफु पार्टीको केबल सल्लाहकारमा बसि अरु समकक्षीहरु नेतृत्वमा रहेको देख्ने आँट गर्नु भएको छ? आजै देखी तपाईं हरेक ठाऊँमा आफ्नो निर्विकल्प भुमिका खोज्नुहुन्छ भने तपाईंको पार्टी काँचको टुक्रा रहेछ भन्ने बुझ्नुपर्छ जुन तपाईंले नेतृत्व गर्न नसक्दा सयौं टुक्रा हुनेछ।
एउटा स्वतन्त्र धरातलमा उभिएर तपाईंको पार्टीले अंगालेको बाटोमा समाहित हुने या नहुने भनि बिचार गर्दा तपाईंको ‘कन्फ्युज्ड पर्सनालिटी’ ले जहिले पनि दोधारमा पार्छ। तपाईं आफुलाई यथार्थ लोकतन्त्रवादी भन्नुहुन्छ आफ्नै फोटो पार्टीको केन्द्रिय देखि हरेक कार्यालयमा झुन्याउनु हुन्छ, अब त हुँदा हुँदा पत्रकार सम्मेलनमा बस्तापनि पछाडी आफ्नै फोटो फ्रेममा सजाउन थाल्नु भयो। मैले बुझेअनुसार त मान्छे मरे पछी उसको योगदानको उच्च कदर गर्दै त्यसो गर्नु पर्ने हो। विदेशतिर पनि युग परिवर्तन गर्ने धेरै नेताहरु देखियो, पढियो तर यस्तो बिचित्र त कतै थाहा पाइएन। यसको मतलब तपाईंमा आन्तरिक रुपले व्यक्तिवादिताको प्रबलता छ भन्ने स्पष्ट हुन्छ। हुन त यो ठुलो कुरा नहोला तर नेतृत्वको हरेक शैली जनताले नियालीरहेका हुन्छन् विचार गर्नुहोला।
परिस्थति अनुसार मान्छेहरुको दिमाग भुट्न त तपाईं अत्यन्त चतुर मान्छे। केहि दिन अगाडी खन्ना गार्मेन्टमा समकक्षीलाई आरोप लगाउँदा बदनाम हुने डरले त्यो बाट बच्न भर्खरै तपाईंकै भातृसंगठन नेवा राज्य समितिले आयोजना गरेको कार्यक्रममा आफुमाथीको सुरक्षाको खतराको सवाल उठाउनु भयो। सुरक्षाको खतरा त तपाईंलाई मात्रै होइन संसारभरि नै नेतृत्वमा बस्ने सबैलाई हुन्छ तर तपाईंले कसरी प्रसंग बदल्न खोज्दै हुनुहुन्छ त्यो रोमान्चकारी छ । तपाईंको अभिव्यक्ति अनुसार पनि त राजा पृथ्वीनारायण शाह, राजा विरेन्द्र नेपालीहरुले मन मष्तिष्कमा सजाउनुपर्ने व्यक्तित्व रहेछन् नि तर तपाईंका कार्यकर्ताहरुले सिंहदरवार अगाडी पृथ्वी शालिकको हात भाँच्दा तपाईं कहाँ निदाउनु भएको थियो? त्यसैगरि तपाईंकै कार्यकर्ताहरुले पोखरामा पृथ्वी तथा विरेन्द्र शालिक भत्काउँदा कुन गुप्तवासमा तपाईं बस्नु भएको थियो? किन सार्वजनिक अपिल निकाल्न सक्नुभएन ? तपाईंले राष्ट्रिय सभागृहमा देशभक्त भनेका कुन व्यक्तित्वलाई तपाईंका कार्यकर्ताहरुले सार्वजनिक सम्मान गरेका छन्?
प्रचण्ड जी, सास रहुन्जेल आस पलाउँछ भनेजस्तै फेरिपनि तपाईंप्रति केहि न केहि आस त सबैको छ। राष्ट्रिय राजनितिमा अलि चल्दापुर्जा त तपाईं नै हुनुहुन्छ, आफ्नो पार्टीको त तपाईं निर्विकल्प नेता तपाईंको बोली व्यबहार केहि न केहि ‘मेसेज’ दिने पक्कै हुनुपर्छ। पार्टीको तल्लो निकाय देखि फेरि एकपल्ट तपाईंले फरक विचारलाई सम्मान गर्न ‘स्कुलिङ’ गर्नुपर्ने आवश्यकता छ। कार्यकर्तालाई सिकाउनु होला कि माओवादी नामले मात्र सच्चा कम्युनिष्ट भईदैन अन्य पार्टीमा लागेका मान्छेहरु व्यक्त नगरेपनि व्यवहारत सच्चा कम्युनिष्ट हुनसक्छन् सम्मान गर्नुपर्छ। भन्नुहोला कि कार्ल माक्सले कम्युनिज्ममा पुग्ने प्रमुख बाटो वर्ग संगर्षलाई भन्नुभएको थियो तर अहिलेको विज्ञान तथा सुचना प्रविधीको व्यापक विस्तारले अँझै छिटो सम्भवत वर्ग संगर्ष बिना नै कम्युनिज्ममा पुग्ने वातावरण सिर्जना हुँदैछ। अँझै थप्नुहोला कि अब वर्गविहिन तर विविधतामा आधारित समाज एकदलिय सर्वहारावर्गको अधिनायकत्वबाट भन्दा बहुदलिय लोकतान्त्रिक व्यवस्थाबाट छिटो हुने छ।
लेख्दा लेख्दै लामो हुन थाल्यो, दिमागमा अनगिन्ति कुराहरु खेलिरहेका छन्, पत्रिकाले छाप्ने नछाप्ने पनि पक्का छैन । पत्रमा जति गाली गरेजस्तो लागेपनि तपाईंको एउटा शुभेच्छुकले लेखेको सम्झनु होला। हामीलाई हाम्रो नेता भनेर गर्व गर्न मिल्ने व्यक्ति चाहिएको छ। समय मिलेमा र केहि त लेख्नै पर्ने लागेमा फेरि लेख्ने वाचा गर्दै विदा हुन्छु। धन्यवाद।
तपाईंको शुभेच्छुक
दिनेश चन्द्र पन्थी
भलायखर्क-१, लम्जुङ
dineshpanthy@gmail.com
March 1, 2010
के हाम्रा नेताहरु लंगौटी नै हुन त ?
Politicians are like diapers. They both need changing regularly and for the same reason. ~Author Unknown
“राजनेताहरु डायपर (लगौंटी) जस्तै हुन । समान कारणको लागि यि दुबैलाई समय समयमा फेरीरहनु पर्दछ” - अज्ञात
केही समय अघिसम्म माथीको उद्दरण पढ्दा म केवल हाँस्ने मात्रै गर्थें। तर जब जब आफ्नै देशका नेताहरुको हालीमुली र रजाईमा देशको हालत झन झन खस्किदैं जान थाल्यो, तब मलाई यो उद्दरण मजाक हैन हाम्रै नियतिको तितो यथार्थ जस्तो लाग्न थालेको छ।
हामी नेपालीहरु कति अभागी छौं भन्ने बुझ्न अरु केही गर्नु पर्दैन, नयाँ बन्न लागेको संविधानको बारेमा सोधे मात्रै पुग्छ । ९० दिनभन्दा कम समयमा सयभन्दा बढी बुँदामा छलफल गरेर नयाँ संविधान जारी गर्नुपर्ने समय आउँदा, प्राय: ‘जिम्मेबार’ हरेक दलका निर्लज्ज नेताहरु जेठ १४ गते नयाँ संविधान जारी हुन सक्दैन भन्ने वक्तयबाजी गर्न थालेका छन ।
समयमै संविधान बन्न नसक्दाको अबस्थामा के हुन्छ त ? । प्रक्रियागत वा कानूनी हिसाबमा यसका विकल्प जटिल वा पूर्वनिर्धारण गर्न नसकिने भएपनि केही सम्भाव्य पाटाहरु यस्ता हुनेछन :
१) हालको संविधान सभाको आयु लम्याउने: हुन त नेपाली जनताले यो संविधान सभालाई तिनै सभामा रहेका लाउके र टाउकेका लेखा जोखाका आधारमा चाहिनेजत्ती समयका लागि भनेर नै चयन गरेका हुन, तर भन्नलाई जेसुकै भने पनि यिनै लघुबुद्दी भएका नेताहरुकै कारण संविधान समयमा बन्न नसक्ने करिब करिब प्रष्टै भैसकेको छ । अब कानूनी हिसाबमा मिल्ने नमिल्ने जेसुकै भएपनि व्यवहारीक हिसाबमा भने यही सभालाई नै निरन्तरता दिन समयाबधि थप गर्ने विकल्पलाई १ नम्बरको विकल्पको रुपमा अघि सारीनेकुराको भने अहिले नै ठोकुवा गर्दा पनि फरक पर्दैन ।
२) नयाँ जनमत लिन आम चुनाव गर्ने: नीतिगत र कानूनी प्रक्रियाको कुरा गर्ने हो भने नेपाली जनताले हालका कुर्सीआसीन भातमारा सभासद र नेताहरु (यो शब्द धेरै ब्लगरसाथीहरुले प्रयुक्त गर्नु भएको र जे कामको लागि छानिएका हुन सोही काम पुरा गर्न नसकेपछि उपयुक्त पनि भएकोले यहाँ प्रयोग गर्दैछु) लाई केवल दुईबर्षको लागि छानेका हुन। दुइ बर्ष पुरा भएपछि नेपाली जनताको म्याण्डेटको अबधि पनि सक्कीनेछ र उपर्युक्त अबधिका लागि पठाईएका भातमाराहरुले अरु भात मारेर कुर्सीमा बस्नु कुनै पनि हालतमा सही हुँदैन । यसका लागि जनताले योग्य व्यक्ती चुन्ने अर्को मौका पाउनु पर्छ ।
एकातर्फ बिगतका दुई बर्षको अबधिमा हाम्रा नेताहरुको असली अनुहार जनताले झनै नजिकबाट चिन्ने अबसर पाए भने अर्कोतर्फ यस अबधिमा क्षेत्रीय र विश्व राजनितीमा पनि निकै परिवर्तन आएका छन । यस परिप्रेक्षमा साँच्चै जनताकै राज भएको आभास दिने हो भने नेपाली जनताले आफ्ना प्रतिनिधि पून चुन्ने मौका पाउनै पर्छ ।
३) हतार हतार घाँडो पन्छाउने: एकथरी पर्यव्यक्षकहरु अन्तिम अबस्थामा आएर नेताहरुले झारा टार्ने खालको नयाँ संविधान बनाउनेमा चिन्तीत छन र यसको सम्भाबनलाई नकार्न पनि सकिन्न ।
२ बर्षसम्म जनताले संविधान बनाउन दिएको म्याण्डेटको चरम दूरुपयोग गरी सत्ताको लडाई र विभिन्न उचित-अनूचित मागहरुका साथ संसद वहिष्कार गरी बसेका भातमाराहरुले निश्चित समयाबधि सकीदैं जाँदा विभिन्न दवाबका कारण झाराटार्ने संविधान जारी गर्न सक्ने स्थिति खतरनाक भएपनि एकदमै सम्भाव्य पनि छ । जति जति संविधान जारी गर्ने मिति नजिकीदैँ छ, त्यति त्यति नै यसप्रतिको शंका र सम्भावना बजारमा प्रवल छ ।
अन्तरीम संविधान नै पटक पटक संसोधन गरीने देशमा यस्तै हतारमा संविधान बनेमा त्यसको दूरगामी असर के कस्तो भयाबह हुन्छ सजिलै कल्पना गर्न सकिन्छ ।
यहाँ कुनै एक दलप्रति वायस नभै वा कुनै एउटा गुटप्रति पूर्वाग्रह नराखी कुरा गर्ने हो भने २ बर्षको आफ्नै समयसिमामा संविधान बनाउन नसक्ने सबैदल यसप्रति जिम्मेबार छन र यो समयाबधिले सबै दल र नेताहरु राष्ट्रिय चिन्तन भन्दा सत्ताको स्वादमै रमाएको टडकारै पुष्टी गरेको छ ।
यहाँनेर मलाई माथिको उद्दरणको एकदमै सम्झना हुन्छ । डायपर वा नेपाली भाषामा भन्नु पर्दा लंगौटी एक पटक भिजेपछि पून प्रयोग गर्न मिल्दैन, वा त्यसलाई फेर्नु नै बुद्दीमानी हुन आउँछ ।
हुनत केही समय अझै बाँकी छ र माथी दिईएका केही विकल्प बाहेक अन्य विकल्पहरु पनि आउन सक्नेछन । परम आशावादी नेपाली जनताले अझै आशावादी हुन छाडेका छैनन र हामी पनि आशा गरौं निश्चित समयमा नै नेपालको संविधान जारी हुनेछ । तर यदि जारी हुन सकेन भने यसका विकल्पहरु पक्कै खोजिनेछन र यसको विकल्प खोज्नै पर्ने स्थितिमा नयाँ चुनाव गर्नु नै उचित हुनेछ ।
म आशा गर्छु समय छँदै हाम्रा जिम्मा पाएका जनप्रतिनिधिहरुले नयाँ सम्बिधान जारी गर्नेछन र हामीले हाम्रा नेताहरुलाई माथीको उद्दरणसंग दाँज्नु पर्दैन । हैन भने भिजेको लंगौटी जत्ति सक्यो त्यत्ती छिटो फेर्नुमा नै नेपाल र नेपाली जनताको हित हुने कुरा भन्नु पर्दा संकोच लिनु पर्ने देख्दिन म । भिजेको लंगौटी जत्ती बेर शरिरमा रहन्छ त्यत्तीनै त्यो शरिरको लागि हानिकारक हुन्छ। म चाहन्छु हाम्रा नेताहरुले समय छँदै आफू लंगौटी नभएको प्रमाणीत गरेर माथिको उद्दरणलाई गलत सिद्द गरिदिउन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 29, 2009
नागरिक सर्वोच्चताले जन्माएको खेलाडी
लेखक:- विजयकुमार श्रेष्ठ
नेपाललाई सतिले सरापेको देश भनेर पाका नेपालीको मुखबाट सुन्न पाएका थियौ कुनै बेला त्यस्तो शब्दको पछि लाग्ने हो भनेर नकरात्मक कुरो गर्यो भनेर कुनै बेला गालि गर्नसम्म पछि परेका थिएनौ। कहिले मल्लहरुको पालो,कहिले पाण्डेहरुको पालो, कहिले निरङकुशताको त कहिले शाहहरुको पालो । यस्ता पालै पालोको शासन र शासकहरुको थिचो मिचोले गर्दा नेपालीहरुमा विकान्शोमुश भएर प्रफुल्ल रुपमा आफुमा भएको कला कौसलताको प्रदशन गर्न सकेका थिएनन् । सारा थिचोमिचोको बाबजुत असहिय भएर परिवर्तनको नारालाई बुलन्द पारेर हाते मालो गरेर शासकिए शासनबाट मुक्ति पाउनको लागि देशमा ठुलो क्रान्तिको सुरुवात भयो । सारा नेपालीमा सामन्ति शासनको आगो भित्र भित्रै दन्कि रहेको थियो र छिटै नै देशमा परिवर्तनको प्रत्याभुती नपाली जनताले पाउन सफल भए ।
सत्ता प्राप्तिको सफलतासँगै नेताहरुले पार्टिको विजारोपण गराउन थाले । ठुला दलको नामले चिनीन गयो नेपाली कांग्रेस र दोस्रो ठुलो दलको नामले चिनीन गयो नेपाल कम्युनिष्ट पार्टि माले । रात रहयो औराख पलायो भन्ने उखानलाई सावित गर्दै को भन्दा को कमको होडवाजि हुन थाल्यो र देशमा एकले अर्कालाई विभिन्न लान्छना लगाउदै आफनो शक्ति प्रदर्शन गरि आफनो आफनो पहुंचमा पार्टि खोल्ने फुटाउने कामको सृजना हुन गयो । हरेक पार्टिमा बैचारिक मतभेतको रोगले जरा गाड्न थाल्यो । आफनो घरमा धमिरा
लगाउन कम्मर कसेर अघि बढे । सिङ्गो एउटा कम्युनिष्ट पार्टि फुटेर सयौ चिरामा विभाजन भयो । हरेक पार्टिमा भिन्दा भिन्दै धारको गुटवन्दिको राणनिती हुन गयो । हिजो एक जोर चप्पल किनेर लगाउन नसक्ने नेता भनाउदाहरु राता रात अरवौ पति भएर सिंह गर्जे जसरि गजिर्न थाले । भोकाएर बसेको बाघ जसरि जस्ले सके उसैले आफनो थैलो भर्ने तिर लाग्यो । परिवर्तनको केहि महिना पछाडि नै व्याक्तिबाद लादेर नेताहरुको परिवर्तन आकसिदो तरिकाले हुन थाल्यो । बहुदलिय प्रजातन्त्रको रसस्वादन नेताहरुले मज्जाले लिए । केहि वर्षपश्चात बहुदलिय प्रजातन्त्र पनि नेपाली जनतालाई बोकालाई कुभिण्डो भने जस्तै हुन गयो । नाम मात्रको सत्ता परिवर्तन भयो । शासन र शासकमा परिवर्तन भने भएन । देशमा झन बिकराल परिस्थितीको जरा गाड्न थाल्यो । अन्याय र अत्याचारले सिमा नाग्न थाल्यो ।
जनतालाई फेरि पनि अर्को आन्दोलनको शुरुवातको जरुरी पर्नगयो । बहुदलवादिमा जनताको शासन हुन सकेन । लोकलाई असहिय भयो र लोकतन्त्रको प्राप्तिको लागी नारा घन्किन थाल्यो । नेपाल कम्युनिष्ट पार्टि माओवादि न्यायको खोजीमा जंगल पसे । जनताको नोकर भएको भनेर न्याय निसावको कसि बोकि जंगलबाट आफना बाहुल्यता देखाउन तिर लागे जता ततै र्सवहाराको नारा घन्काउन थाले । संघर्षको सिमा रहेन । कठोर भन्दा कठोर आन्दोलनको शुरुवात गरे । असोचनिय भयानक संघर्ष लडदै लड्दै परिवर्तनको खाका बोकेर हिड्न थाले । र्सवहारा वर्गको शासन हुनु पर्छ भनेर साम दाम दण्डभेद लगाएर आफनो क्रान्ति जारि राखे । दश वर्षो लामो कष्ट पछि माओवादि जनता सामु प्रत्यक्ष प्रस्तुत भए । केहि हदसम्म दिन दुखिहरुको सहारा भएर अघि बढे । संसद भवन भनेको बुर्जुवाहरुको ठगि खाने अखडा हो भनेर चर्का नारा लगाउने र्सवहाराका नेताहरु आफनो त्याग र बलिदानलाई चटक्क भुलेर बुर्जुवाहरुको खालमा हातेमालो गर्न सहमति भए । जनताको लागी चर्का नारा बोकेर हिडेका माओवादि बुर्जुवाहरुको खालमा पसेर सारा कुरालाई अहेस आराममा विलीन गराउन पछि परेन । सभा सम्मेलनमा आफनो बोलीको लगाम खुकुलो पार्ने र जब सभाबाट बाहिरिन्छ सहमतिको नारा लिएर एक अर्कामा तारे होटलको स्वाद चाख्नलाई चुस्त बनेर हिड्ने गर्न थाले ।
सारा नेपाली जनताको सहभागितामा नौलो क्रान्तिको आगो दन्किन थाल्यो र केहि दिनको सर्घषले देशमा लोकतन्त्रको बहाली हुन गयो । नयाँ नेपालको सुरुवात गर्ने तिर सबैदलहरु अगाडि बढे । नयाँ नेपाल बनाउनको लागी नयाँ सविधानको आवश्यकता पर्ने भएकोले सविधान सभाको घोषण गरेर सभासदको निर्वाचन गराउने प्रकृया अगाडि सारियो । देशमा भएका सबै दलले आफनो आफनो हिसावले चुनावि मैदानमा आफना र्समथकलाई खडा गराए । सारा नेपालीको एउटै कौतुहल थियो नयाँ पार्टि नयाँ व्याक्तिलाई चुनेर देश र जनताको भविष्य उज्वल हुन्छकि भन्ने अभिलाषाले गर्दा नेपाल कप्युनिष्ट पार्टि माओवादिलाई जनताले भारि मतले सविधानसभाको निर्वाचनमा विजय हासिल गराएर देशमा सबै भन्दा ठुलो दलको दर्जा भिराउन सफल भए । हामी त चुनावी खेल खेल्ने पार्टि होईन भनेर जनतालाई घुरक्याउने पार्टिले चुनावमा भाग लिएर आफनो बर्चस्सो जमाउन सफल भए । नेपाली जनताले अब त आन्नदको सास फेर्न पाउने भए भनेर आफनो कुटो कोदालो आन्नदसँग चलाउन थाले । चुनाव सकियो सरकारको गठन भयो । राष्ट्रपति नेपाली काग्रेसले पाउन सफल भयो,उपराष्ट्रपति मदेशि जनधिकार फोरमले चयन गर्न पायो । प्रधानमन्त्रि नेपाल कम्युनिष्ट पार्टि माओवादिले पायो । सरकार चलाउने जिम्मा सोहि पार्टिका अध्यक्ष पुष्प कमल दहालको कादमा पर्न गयो । देशमा नौलो विहानीको शासन सुरु भयो भनेर जनता रमाउन थाले । सुरुका दिनमा जनतालाई दिएको वाचा बन्धन देखाउन लागेका थिए । तर के गर्नु त्यो ठाउँ भनेको कस्तो हो कस्तो कुर्सीमा बसेर कुर्सी तताउन नपाउदै भोग विलासको भुतले गाज्न थाल्यो । नाताबाद र क्रिपावादको चर्को विरोध गर्नेले पहिलो प्राथमिकता त्यसैलाई दिन थाले र अहेस आरामी जिवनमा परिर्वतन हुन थाले । मिलीजुली सरकारमा आफनो मात्र निसाना वाजि लगाउन पछि परेन । हरेक कुरामा आफनो पार्टिको निर्णर्यलाई मान्यता दिन तिर लागे नयाँ नेपालका प्रथम प्रधानमन्त्रि । आफनो बोलीमा आङकुसे लगाउन सक्नु भएन ।
हिजो जनतालाई दिलाएको विश्वास माटोमा विलीन बनाउन सफल हुनु भयो । हरेक क्षेत्रमा परिवर्तनको नारा अगाडि सार्नु भयो । तर कुरा एकातिर काम अर्को तिर हुदै गयो । कहिले अनुभव नभएको भनेर झुक्ने गर्नु भयो कहिले परिक्षणकालमा कमि कम्जोरि त भै हाल्छ भनेर आफु पानि माथिको ओभानो हुनलाई चुक्नु भएन । शासकिय स्वारुप बदल्ने भनेर गएको व्याक्ति हिजोका दिनलाई चटक्क भुलेर नेपालमा कसैले नलिएको विलासितामा रमाउन सफल हुनु भयो । योग्यता विहिन व्याक्तिलाई पद बहालिमा प्रमुख कदम चाल्न सुरु गर्नु भयो । अव जनताले शान्तिको सास फेर्न पाउने छ भनेर नारा धन्काउन पनि पछि पर्नु भएन । सहकार्य सहमतिको विन्दुलाई लत्याएर एक तर्फि शासन गर्न थाल्नु भयो । हिजो जनता सामु गरेका वाचाहरु भुल्न पछि पर्नु भएन । जस्तै सिमा बिबाद,सन्धि हस्ताक्षेर जस्ता ठुला ठुला नारा लिएर गएका व्याक्तिले देशको प्रमुख भएर बस्दा ति कुरा उठाउनमा कम्जोरि हुनु भयो । कहिले के वोल्ने कहिले के बोल्ने गरेर आफनो शासन कालको आयु छोटयाउनु भयो । सरकारको १ वर्ष जती पुर्याउन नपाउदै रुख ढले जसरि हुरि वतासको चपेटमा परेर पछारिनु भयो । आफनो पदबाट राजिनामा दिएर पानि माथिको ओभानो हुन माहिर हुनु भयो क्रान्तिकारि नेता । सरकार ढलेको केहि दिन पश्चात फेरि अरु दल मिलेर नेपाली जनताले नपत्याएका व्याक्तिहरुलाई देशको ढुकुटीको चावि सुम्पिन वाध्य भयो । नेपाली जनताले नपत्याएर के भयो र देश चलाउने जिम्मेवारि पाउन सफल भयो रिमोटिए शासकहरुको साथ पाएर नेपाल कम्युनिष्ट पार्टि एमालेका नेता पुर्व महा सचिव माधवकुमार नेपाल । सतीले सरापेको देशमा के के हुन थाल्यो के के हुन थाल्यो । देशको ढुकुटी रित्याएर चुनाव गराउनुको उपलब्धी हास्सास्पद हुन गयो । माधवकुमार नेपालको सरकारमा सबै जसो मन्त्रिहरु जनताबाट पराजित भएका व्याक्तिहरुको बाहुल्यतामा जम्वो मन्त्रि मण्डल गठन हुन गयो । त्यसैले नेपाली उखान यो लोकतन्त्रमा सबका सब लागु भएर छाडेको छ । भाग्यमा भए डाकोमा दुध दोहे पनि बाहिर जादैन भन्ने उखानले माधवकुमार नेपाललाई साथ दियो । अनि त सुरु भयो रिमोटिए शासन सत्ता सन्चालन । शान्ति सम्झौताको चर्का नारा दिनेहरु एक अर्कामा दोष लगाएर शासन सत्ताको जुहारि खेल्न सुरु गरे । त भन्दा म के कम भन्ने बैमनस्यतालाई सिरोधार्य बनाएर देश सन्चालनमा बाधा व्याबधानहरु खडा गर्न तिर लागे । जब नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादि सत्ताबाट बाहिए अनि समाप्त भयो सहमतिको नारा । त्यस पछि सुरु गर्नु भयो नागरिक सर्वोच्चताको गतिलो नारा बोकेर रक्तपातको आन्दोलन चर्काउन शुरु गर्न तिर लाग्नु भयो । हामीलाई त जनताले चुनेर पठाएको पार्टि हो भनेर धमण्ड एकिकृत माओवादि भित्र भित्रै औडा र डाहाले छटपटाउन थाले । उता सत्ता त्याग्नु परेको रन्कोमा जंगली स्वाभावहरु दोहोर्याउन सुरु गरे । फेरि पनि जनतालाई शान्तिले बस्न नदिने परिस्थिती सृजना गर्न तिर लागे । कसैले उसको बारेमा बोलेमा लेखेमा त्यो व्यक्ती असुरक्षित हुन गयो भनेर जाने हुन्छ भन्ने सोच्नु पर्ने दिन फेरि आयो ।
नेपाली जनताले सविधान निर्माण गर्न भनेर पठाएका सभासदहरु आफना आफना भोग विलासितामा कम्मर कसेर लाग्न सुरु गरे । गरिव जनताको पसिनालाई माटोमा मिलाउन तिर लागे । आफुले पाउने अहेस आरामको पछाडि ढौडन थाले । आफनो परिवारमा मसलन्द खर्च देखि सारा कुराको भर्पाई मन्त्रालयमा प्रस्तुत गराउन पछि परेन । सहमति र सहकार्यमा अल्भिएको कुर्सी मोहको खेल नेपालमा आगो दन्के सरि बल्न थाल्यो । देश र जनताको सेवक हु भन्ने राष्ट्रवादिहरुको फुटवल सुरु भई नै रह्यो । तमासे र लहै लहैमा पछि लागेर हिड्ने बेरोजगारि नेपालीहरुलाई तमासे र दर्शकको पक्तिमा राखेर कुर्सी मोहको जालमा गोल गर्न भनि कम्मर कसेर लागेका छन् । जनतालाई भकुण्डो बनाएर सबै पार्टिले गोल गर्न तिर लागे । सडकमा रत्याउली खेल्न सुरु गरे । लुटपाट हिङसाको फोहरि खेल खेल्न थाले । एक अर्कालाई लडाएर नेता भनाउदाहरु तारे होटलको रस्वादनमा मोज लिन थाले । सरकार चलाउनेहरु सकेसम्म आफना आफना व्याक्तिलाई विश्वमा नै नभएको मन्त्रिमण्डल सृजना गराएर देशको ढुकुटीमा रमाउन व्यास्त भए । प्रतिपक्षले देशमा जनता भनेको त नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादिलाई र्समर्थक गर्नेहरु मात्र हुन् भन्ने एक लौटि मनसाय लिएर सडकमा हार गुहार गर्न तिर लागे । जातिको नाममा देशलाई टुक्रयाउने तिर लाग्न थाले । हिजो अरुलाई बिदेशिको नोकर भनेर भन्ने पार्टिले आज खुले आम देशमा भएको समस्या एक आपसमा छलफल गरेर साम्य पार्नु त कता हो कता सिधै निर्धक्कसँग हामी त बिदेशिसँग मात्र वार्ता गर्र्छौ भनेर फुक्न थाले । अनि के हो त यो हिजो अरु पार्टिका नेताहरु भारत गयो भनेर दलाल भन्नेले आज आफुले मालिक भनेर सम्बोधन गर्न कहाँबाट आट आएको अनि यो कुरालाई कुन बाद भनेर सम्मान गर्नु उपयुक्त होला त - सरकारमा बस्नेले मलाई त बिदेशिको सहयोग मिलेको छ भनेर फुक्ने आफनो सरकारको मन्त्रिले मनपरि गरि हिड्दा कुर्सिको खुट्टा लुलो हुन्छ भनेर दण्डहिनतालाई अङगाली जे मन लाग्यो त्यही फुक्दै हिड्ने अनि प्रतिपक्षमा बस्नेले आफनो जन्म भुमीलाई नोकरको दर्जामा परिभाषित गर्दै हिड्ने । के नेपाली जनताले बहादुरी देखाएर देशको नाम विश्वमा उच्च बनाएको यो नोकर हुनको लागी हो । कस्ले दियो एकिकृत माओबादिको नेतालाई देश र नेपाली जनतालाई नोकरको दर्जा दिनलाई अधिकार । त्यसैले पुखौलीले जस्तो सिकायो पछिका पुर्खाले त्यस्तै सिक्ने छ त्यो जति सुकै उच्च ओहदामा पुगे पनि भन्ने नेपाली उखान सावित हुन गएको छ । अब कस्लाई र कुन पार्टिलाई सच्चा पार्टि हो भनेर जनताले विश्वास लिने त - नयाँ नेपालमा लोकतान्त्रिक नेतालाई नागरिक सर्वोच्चताको खेलाडी बनाई दिएको छ । आफनो मनमा जे उब्ज्यो तेहि बोल्दै हिड्ने रण मैदान भएको छ ।
यो विचित्रको सन्जालबाट नेपाली जनताले कहिले मुक्ति पाउने छ । म फलानो पार्टिको त फलानो पार्टिको भनेर एक आपसमा लड्ने अनि आफनो बलि आफै चडाउने चलनले नेपाली जनतलाई कहिले सम्म सतिको सराप लाग्ने हो । देश सन्चालन जिम्मा लिएका पार्टिका नेताहरु एक आपसमा सहमतिको नारा लिएर देशलाई बर्बाद पार्न तिर लागेका छन् । कोहि क्रान्ति गरेर थाकेको छैन भन्ने त कोहि काग कराउदे गर्छ पिना सुक्दै गर्छ भने कानमा तेल हालेर बस्ने त कोहि रिमोट लिएर आफनो निसाना बाजि मार्न तिर लागेका छन् । त्यसैले हामी निमुखा जनताले एक छाक खान पाएर बन्द हड्ताल र जुलुसमा सामेल भएर पार्टिको झण्डा बोकेर हिड्नु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह भई सक्यो । त्यसैले र्सवप्रथम अब बन्ने सविधानमा पहिला कानुन भनेको नेता भनाउदाहरुलाई लाग्ने कसि बनाउन तिर लागेमा नेपालीले नेपाल हाम्रो हो भनेर आङ फुकाएर हिड्न पाउने छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 8, 2009
यो देख्नु वा सुन्नु परेको भए कार्ल मार्क्स रूँदा हुन कि !
International Management Consultancy firm Hay Group ले हालै गरेको एउटा आर्थिक सर्वेक्षणले मेरो ध्यान अचम्मै रूपमा खिच्यो । यसको कारण थियो यो सर्वेक्षणले देखाएको बिभिन्न मुलुकमा तल्लो तहको अफिस काम (clerical) गर्ने र उच्च पदका व्यवस्थापकीय ( managerial or executive) तहका जागिरेहरूका बीचमा उनीहरूले हासिल गर्ने तलब सुविधाको भिन्नताको अनुपात ।
हे ग्रुपको यो सर्वेक्षणले मध्य पूर्वका तेल उत्पादक धनी राष्ट्रहरूका- कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन र साउदी अरेबिया - व्यवस्थापकीय ओहदामा काम गर्ने व्यक्तिहरू आँफ्नो कमाइको भरमा सबैभन्दा बढी पैसा खर्च गरेर जिन्दगी व्यतित गर्ने हैसियत राख्छन् भन्ने कुरा पत्ता लगाएको छ । यसको मुख्य कारण , ती देशहरूमा कार्यरत उच्च ओहदावाला व्यवस्थापक वा म्यानेजरहरूले प्राप्त गर्ने उच्च तलब सुविधा र ती मुलुकमा सरकारलाई फिर्ता बुझाउनु पर्ने न्यून करको व्यवस्था नै हो ।
प्रस्तुत सर्वेक्षणको रमाईलो पक्ष भने यस्तो रहेको छ । यहाँ एशियाका केही चुनिन्दा मुलुकहरूमा हालका वर्षहरूमा अफिस वा फर्महरूमा काम गर्ने तल्लो र माथिल्लो तहका जागिरेहरू बीचमा कायम रहेको तलब सुविधाको अन्तरको अनुपात देखाइएको छ ।
जागिरेहरूको आयको ( कमाइको ) अन्तर दर गुणा ( अनुपात) थोरैदेखि धेरै क्रममा :
| देश | २००६ | २००७ | २००९ |
| जापान | ३.३ | ३.२ | ३.४ |
| दक्षिण कोरिया | ३.१ | ३.७ | ४.१ |
| सिंगापुर | ४.९ | ४.७ | ५ |
| मलेशिया | ६ | ६ | ६.२ |
| हङ्कङ् | ५.५ | ५.८ | ६.३ |
| भारत | ७.४ | ७.७ | ९.१ |
| भियतनाम | ११.७ | ११.८ | ९.८ |
| थाइल्याण्ड | १०.६ | १०.७ | ११.४ |
| इण्डोनिशिया | ८.७ | ९.१ | ११.८ |
| चीन | १०.५ | ११.८ | १२.६ |
प्रस्तुत सर्वेक्षणले पत्ता लगाएको आयको अन्तर अनुपात एशियाका पूँजीवादी मुलुकहरू मध्येका जापान र दक्षिण कोरियामा सबैभन्दा कम र कम्युनिष्ट मुलुकहरू भियतनाम र चीनमा ( टेबलमा रातो अक्षरमा ) सबैभन्दा बढी रहेको छ भन्ने प्रष्ट देखियो । हामीले अक्सर सुन्ने गरेको तथा कम्युनिष्ट नेताहरूले अक्सर हामीलाई सुनाउने गरेको कम्युनिष्ट मुलुकमा गरीब –धनी बराबर वा समान हुन्छन् र ती देशमा जनताको बीचमा आर्थिक विषमता भन्ने कुरा हुँदैन भन्ने कुराको बिरुद्ध माथिको तथ्यांकमा आधारित तथ्यले मजाक गरेको हो कि जस्तो देखिन्छ ।
पूँजीवादी भनिएका मुलुकहरूमा बरू , ट्रेड युनियन र श्रमिक वेलफेयर ( कल्याणकारी) कानूनहरूको उचित व्यवस्था हुनाले त्यहाँका नागरिक वा कामदारहरूको हितमा पारदर्शी ढंगले नियम र व्यवहारको कार्यावन्यन र व्यवस्थापन हुने गर्छ , तर कम्युनिष्ट अधिनायकवादको चरित्र भित्र , पारदर्शिता भन्दा नारा र दावालाई चर्को प्रपोगाण्डाका विधिबाट जनतामा छरेर वास्तविकतालाई पर्दा लगाउने कोशिश गरिएको हुन्छ भन्ने सत्य यो कुराले जगजाहेर गरेको छ । अत: आर्थिक समानता र विषमता अन्त्यको खोक्रो दावामा , कम्युनिष्टहरू अरू बढी र सबैभन्दा चर्का पूँजिवादी हुँदै गरेको सत्य तथ्य मात्र यहाँ प्रकट भएको मान्नु पर्छ । नेपालका कम्युनिष्टहरू बलजफ्ति चन्दा, धान लुट्नेदेखि र महायज्ञबाट धन जम्मा गर्ने समजावादी कर्ममा लिप्त भएको देख्नु परेको भए अनि कम्युनिज्म भित्र समानताको यस खाले धज्जी उडाइको बिडम्नापूर्ण हूर्मत देख्नु वा सुन्नु परेको भए , कार्ल मार्क्स बाजे धुरूधुरू रून्थे होला !
स्रोत: http://www.haygroup.com/ww/press/index.aspx
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 5, 2009
कैलाली काण्ड - छाडा देशको घिनलाग्दो राजनिती
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
November 5, 2009
कामरेड !, के विदेशीकै ‘सहयोग’मा विदेशी हस्तक्षेप रोक्ने हो ?
त्यसो त देशमा अहिले अनेक आन्दोलन जारी छन । कहाँ, कस्ले, किन र कुन दिन, कसरी आन्दोलन गर्दैछन भन्ने वारेमा यकिन जानकारी त सायदै कसैसंग होला । विगतका दिनमा गाडिको ठक्करका विरुद्ध क्षतिपूर्ती पाउन आन्दोलन, ठक्कर हानेपछी क्षतिपूर्ती दिन नसक्नेको आन्दोलन र सधैकको यस्तै आन्दोलनबाट आजित भएकाहरुले आन्दोलन बन्द हुनपर्छ भनेर समेत आन्दोलन गरे ।
तर यो पोष्टमा चर्चा गरीन लागेको आन्दोलन भने कालो-झण्डा-तोडफोड हुँदैं अहिले चलेको नाचगान र ‘कब्जा’ आन्दोलनको हो ।
छोटो रुपमा केही समय अघिको नेपालको उतार चढाव हेर्ने हो भने, माओवादिको सरकार थियो, र देशका “खुख्खार” मानीएका नेता भएका दलहरु प्रतिपक्षमा । त्यसैबीच माओबादीको चरम महत्वाकांक्षा, अन्य दलको प्रतिपक्षमा बसेपछि सत्ताधारीको विरोध नै गर्नु पर्छ र सत्ताधारीलाई कुर्सिबाट खसाल्नु नै प्रतिपक्षको परम धर्म हो भन्ने पुरानो नीतिका कारण, अनि केही माओबादीका आफ्नै गल्ती, आफ्नो बारेमा रहेको ओभर ईष्टमेट र केही पर्दा पछाडिका अनेक तिकडमबाजी पछि माओबादी सरकारबाट निस्क्यो । पृष्ठभूमीमा जे जस्तो कुरा भए पनि र अगाडिका सोच जेसुकै रहेपनि आफ्नो स्थिती कमजोर देखिएपछि भएको माओबादीको बहिर्गमन भने पक्कै पनि नेपालको सन्दर्भमा एउटा राम्रै सुरुवात थियो ( नत्र अविश्वासको प्रस्ताब वा सांसद किनबेच नभै यस्ता परिवर्तन नेपालमा दुर्लभै थिए!)
सत्तामा छँदा जे जस्तो कुरा गरे पनि बाहिरिएपछि भने माओबादीले तीनका कुर्सी टुट्नुमा प्रतक्ष रुपमा विदेशी हात रहेको कुराको प्रचार प्रसार गरे ।
माओवादीको ‘सघर्षकाल’मा ( यसलाई उनीहरु जनयुद्धकाल भन्न रुचाउँछन—तर जताको मान्छे मरे पनि निमुखा नेपाली नै मरेका र त्यतिबेला र त्यो भन्दा धेरै देखी रजाँई गर्दै आएकासंग उनिहरुको आन्तरीक साँटगाँठ र लेनदेनका कारण कुनै पनि देश बेच्नेहरुलाई यो युद्धले केही असर नगरेकोले म यसलाई संघर्षकाल मात्रै भन्दै छु) उनीहरुको धेरै कुरासंग चित्त नबुझेपनि एउटा बिषयमा भने मलाई सधै माओवदीतर्फ आकर्षण रहेको थियो । उनीहरुका बोली, नारा र हौवा सुन्दा यस्तो लाग्थ्यो माओबादी भित्र एउटा ‘कट्टर राष्ट्रवाद’ छ ।
विस्तारै शान्ति सम्झ्यौताका नाममा सिट, अधिकार र शक्तिको बाँडफाड हुँदै गएपछि सो बिषयमा पनि उदांग हुँदै गयो । कामरेड प्रचण्डले पहिला ‘क्रमभंग’ गरेर चिनको भ्रमण गरेर तुरुन्तै फेरि सो भ्रमणलाई ‘खेलकुद भ्रमण’को संज्ञा दिने बित्तीक्कै धेरै कुरा खुलेका हुन ।
फेरि हालकै प्रसंगमा फर्कदाँ, माओवादिको सत्ता बहिर्गमनलाई सधैं विदेशिको दवाव र चलखेलको परिणाम बताईयो । अब, आफू पूर्ण शक्तिमा हुँदा र सत्तामा हुँदा नै यस्ता चलखेलको सामना गर्न नसकेर सत्ता बाहिरीनु पर्ने अबस्था थियो भने सत्ता बाहिर आएर कसरी सो चलखेल रोक्ने हो बुझी नसक्नुको थियो । जे होस माथी भने जस्तै सभासद किनबेच नगरी उनीहरु निक्ले जुन सकारात्मक भने थियो ।
त्यसपछि भयो दबाब, खिचातानी र आन्दोलनको सुरुवात ।
अब मुख्य बिषयमा प्रवेश गर्दा, माओबादीले देशमा चलीरहेको विदेशी चलखेललाई रोक्नु पर्ने मुद्दालाई मूल रुपमा उठाई रहेका थिए। हो, देशमा विदेशिको चलखेल रोक्ने कुरामा भने हामीले कुनै दल, व्यक्ति वा समुहको नामै नेहेरीकनै समर्थन गर्नुपर्छ जस्तो लाग्छ मलाई । निकै तयारी र तामझामका साथ आन्दोलनका खाका प्रकाशीत गरिए । हेलिकप्टर र प्लेन समेत चल्न नदिने गरी देश ठप्प पार्ने घोषणा भयो । त्यसबीचमा सरकार र जनताका तर्फबाट समेत आन्दोलन हैन वार्ताबाट समस्या सुल्झाउन आग्रह भएको धेरै खबरहरु आए । तर माओबादीले कतै कसैलाई टेर-पुच्छर लगाएनन ।
अचानक सुनियो, अघिल्लो हप्ता केही विदेशी महामहिमहरुसंग उनीहरुका कुरा भएछन । अनि खबर आयो “माओबादीले हवाई नाकाबन्दी फिर्ता लिए” । भाषामा विदेशीको आग्रह, आज्ञा वा आश्वासन जेसुकै भनिए पनि यो नाकाबन्दी रोकिनुमा खुल्ला रुपमा विदेशी शक्तिको हात रहेको कुरा प्रष्टै भयो ।
हुन त यो नाकाबन्दी फिर्ता हुनु नेपाली जनताको हिसाबले एकदमै स्वागतयोग्य कुरा हो । तर सत्तामा हुँदा विदेशीकै चलखेलबाट बाहिरिने र विपक्षमा हुँदा पनि उनकै ईशारमा नाच्ने प्रबृती बाँकी रहेसम्म केका आधारमा जनताले उनलाई सहयोग गर्ने हो ? । दक्षिणकाले हल्लाए हस्तक्षेप र उत्तर र पश्चिमकाले चलाए समझदारी वा सहयोगको नाम दिने हो भने भिन्दै कुरा हो। हैन भने कामरेड !, के विदेशीकै ‘सहयोग’मा विदेशी हस्तक्षेप रोक्ने हो त ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 9, 2009
के माओवादीहरू साँचै नागरिक सर्वोच्चताका पक्षधर हुन ?
नेपालको राजनीति चर्को बोलेर अरूलाई आरोप लगाउँदै आँफूले त्यही काम गर्ने रोगबाट आक्रान्त छ । माओवादीहरू ‘नागरिक सर्वोच्चता’ को कोकोहोलो हाल्छन् तर यिनीहरूको राजनीतिमा ‘नागरिक’ का लागि कुनै ‘स्पेस’ छैन । बन्दूक र हिंसाका बलमा राजनीतिलाई आँफूले चाहेको दिशामा बलात् मोड्न चाहने माओवादीहरूले नै साँचो अर्थमा ‘नागरिक सर्वोच्चता’ र स्वतन्त्रताको खिल्ली उडाएका छन् । आफ्नो पार्टीको निजी सेना ब्यारेकमा पालेर अर्को त्यस्तै अर्धमिलिसिया वाइसिएल नामको जमातलाई मुलुकभरि गैरसरकारी पुलिसको काम थमाएर, भिजिलान्तेवादको अभ्यास गरिरहेका माओवादीहरूलाई अरूबाट सहजै लाग्ने आरोप हुनुपर्थ्यो ‘नागरिक सर्वोच्चता’ बिरोधी । तर अपशोस , राष्ट्रपतिले सेना प्रमुख हटाउने माओवादी प्रयासमा गरेको अवरोधलाई जरिया बनाउँदै माओवादी काला झन्डा र ढुङ्गामुढा बोकेर नागरिक सर्वोच्चता खोज्न सदन अवरोध गर्दै सडकमा छाएको छ । आँफूले सरकारी धनमा पार्टीको सेना पालेर तिनैको बलमा बहुमत कमाएको जान्ने माओवादीले, पहिला आँफूले आफ्ना हतियार, छापामार, मिलिसिया र हिंसालाई नत्यागुञ्जेल, नेपाली राजनैतिक शक्तिहरूका बीचमा ऊ मात्र नागरिक सर्वोच्चता बिरूद्धको सबैभन्दा ठूलो षडयन्त्रकारी हो भन्नुमा कुनै अत्युक्ति छैन । आफ्नो पार्टी र उसले अंगालेको समग्र राजनैतिक विचार र अभ्यासको बुनियाद हिंसा र युद्धोन्मादमा संग्रहित गरेर , नागरिक सर्वोच्चता केवल आफ्ना जिरहहरूमा मात्र खोज्नुले माओवादीको नियत के हो भन्ने कुरामा अरू राजनैतिक शक्तिहरूलाई शंकालु बनाउँछ ।
यो सत्य हो कि नेपाली सेनाले गर्न सक्ने सम्भावित ‘कू’ वा सैनिक सर्वोच्चता लाद्ने उसको प्रयासले लोकतान्त्रिक गणतन्त्रको कलिलो बिरूवा निमोठिन सक्छ । नागरिक सर्वोच्चता लोकतन्त्रको आधार भएको हुनाले यसको परिपक्व व्यवस्था जरूरी छ । ई सही र सत्य कुरामा विवाद जरूरी नै छैन । यसो हुँदाहुँदै बुझ्नु पर्ने कुरा के हो भने जसरी मुलुकको सेनाका बारेमा अविश्वास गरेर सम्भावित ‘कू’ को आरोप लगाउन सकिन्छ , त्यसै गरी अन्य राजनैतिक शक्ति वा दलहरूले माओवादीलाई त्यही आरोप लगाउन सक्छन् । माओवादी पनि आफ्नो निजी सेना बोकेको दल भएको हुनाले उनीहरूले राष्ट्रिय सेनालाई आफ्नो अधीनस्थ पार्न सके भने र परिस्थतिलाई आफ्नो अनुकूलतामा मोड्न सके भने , माओवादीको सर्वोच्चतालाई नै नागरिक सर्वोच्चताको खोल ओढाएर एकदलीयता लाद्ने छन्
माओवादीका घोषित गरिएका सार्वजनिक दस्तावेज र नीतिहरूले समेत यो कुरा चिच्याएरै बताइरहेका छन् कि , यदि उनीहरूले भने बमोजिम राजनीति अगाडि बढाउन सकियो भने आफ्नै पार्टीको मातहतमा चल्ने ‘जनवादी गणतन्त्र’ को सर्कसरुपी पद्दतिलाई ‘नागरिक सर्वोच्चताको जामा पहिराउनेछन् । यस्तो पद्दति जसले कम्युनिष्ट पार्टीको मातहतमा काम गर्ने समूहलाई राजनैतिक दलको नाम पहराएर बहुदलियताको प्रतिनिधित्व गराउने ठेकेदारी गर्नेछ , जसले न्यायलयको स्वतन्त्रता र कानूनी शासनको अभ्यासलाई पार्टीको पोलिट ब्यूरो कार्यालयको एउटा कोठामा सिमित गरिदिनेछ , जसले देशको राष्ट्रीय सेनाको वफादारीलाई पार्टीको मातहतमा व्यवस्थित पार्नेछ । यी व्यवस्थाहरू नबुझेर लगाइएका आरोप हैनन् बरू माओवादीले जारी गरेको घोषणापत्र र त्यस पछि पनि जारी गरिएका दस्तावेज भित्र प्रष्टसंग लेखिएका शव्द र हरफहरूको सारांश हो ।
अत: मेरो विनम्र सुझाव माओवादी नेतृत्वलाई यो छ कि उनीहरूले आँफू साँचो अर्थमा मन, वचन र कर्ममा नागरिक सर्वोच्चता पक्षधर हुन भन्ने प्रष्ट्याउन चाहन्छन् भने त्यो कुराको आधार शर्त पुरा गरून् । जस्तो निर्वाचन भएको भए पनि , अहिलेको संविधान सभामा उनीहरू सबैभन्दा ठूलो दल हुन र सरकारको नेतृत्व गर्ने नैतिक अधिकार पनि उनीहरू संग छ तर यसको अर्थ यो पनि हो कि आँफू एक्लैको बहुमत सिद्द नभएको स्थितिमा , बहुमत जुटाएर सिद्ध गर्नु पर्ने काम पनि उसैको हो । उसले कालो झण्डा र ढुङ्गामुढा गरेर अरूले उसका लागि बहुमत जुटाइदेलान सपना देख्नु हुँदैन । यसका लागि सही पहल आँफैले गर्नु पर्छ । अनि सकिन्छ भने नागरिक सर्वोच्चताको व्यवहारिक प्रामाणिकता सिद्ध गर्न कथित जनसेना नामको ‘माओवादी छापामार’ संगको आफ्नो सम्बन्धलाई तोडेर अहिलेसम्मको हिंसात्मक कर्तूत र क्रियकलापको पश्चाताप र आत्मआलोचचना गर्दै जनताको र केवल जनताको मतमा मात्र विश्वास गर्ने पार्टी भएको घोषणा गर्दै अगाडि आउन पर्यो । यसो भएमा , माओवादी प्रतिवद्दता र नियतलाई विश्वास गर्दै पनि मेरो मत माओवादी दललाई अवश्य हाल्ने छु र हरूलाई पनि यसो गर्न भन्नेछु । कारण अरू अकर्मण्य दलहरूको कामकारवाहीबाट म पनि निराश भएको छु र , लोकतन्त्रवादी बनेको माओवादीका लागि उसका काम र विचारका आधारमा म मतदान गर्न चाहन्छु ।
किनभने मलाई वैयक्तिक स्वतन्त्रता, बहुदलियता, नागरिक र कानूनको सर्वोच्चता, मानव अधिकार र जनजीविकाको सुनिश्चितता सहितको लोकतन्त्रमा अगाध विश्वास छ । तर यो शव्दाडम्बरले भरिएको कुटिल चालहरूको पासोतन्त्र हुनुहुन्न बरू विचार र व्यवहारमा देखिएको हुनुपर्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 1, 2009
दुनियाँ हल्लाउन खोज्दा
साहस छ भने तिमी यो दुनियाँ हल्लाएर हेर ,
हैन भने एक बोतल रित्याएर, दुनीयाँ हल्लीएको हेर ।
बोतलहरु सकिए तर मेरो दुनिया हल्लाउने र हल्लिएको हेर्ने प्रयास यसरी सकियो :
न त दुनियाँ हल्लाउन सके,
न त दुनियाँ हल्लिएको नै देखें,
दुई तीन बोतल सिध्याएपछि अरुलाई हल्लाउने त कुरै छाडौं,
फगत आंफै हल्लिन थालें ।
संभवत नेपाली या भारतियहरुले जस्तै चाइनिजहरुले कम्पलेन (वा शिकायत) गर्ने गर्दैनन र पृष्ठभुमीका धेरै कुराहरु बाहिर आउने गर्दैनन । त्यसैले किन र कसरी डा. काइ मिङले आफ्नो कामबाट हात धुनु पर्यो भन्ने कुराहरु धेरैलाई थाहा हुन सक्दैन ।
संगै काम गर्ने २-३ जना चिनिया मित्रहरुसंग बोतल शुरु भए पछि यस विषयमा कुरा भयो । उनिहरुलाई यसबारेमा धेरै थाहा रहेछ , किनकि उनको विषयमा चिनिया ब्लग र समाचारहरुमा समेत प्रशस्त चर्चा रहेछ ।
सिंगापुरको मोलेकुलर बायोलोजी सम्वन्धी संस्थाहरुमा केहि वर्षदेखि पश्चिमा (अंग्रेजी मातृभाषा भएकाहरु) लाई धमाधम जागिर दिइएको रहेछ । अंग्रेजी मातृभाषा भएकाहरुको लेख र प्रकाशनको रेकर्ड अरुको भन्दा कैयौं गुणा बढि छ यो धेरैले मानि आएको र जग जाहेर कुरो हो । किनकि तपाईको लेखन शैली भड्काउ अर्थात “ग्ल्यामरस” छैन भने अचेल साइन्टिफिक जर्नलहरुले समेत तपाइका लेखहरु पहिलो पटकमै रिजेक्ट गरिदिन्छन । मेरो आफ्नै फिल्डमा पनि देखेको कुरा हो नेचर र साइन्सहरु समेत “इम्प्याक्ट राख्ने लेखको” बहानामा भारतीय न्युज च्यानल "आजतक" र "एनडिटीभी"को स्तरमा ओर्लन्छन भने “अनुसन्धान” भन्ने विषय पनि “ग्ल्यामर” को दुनियासंग दाज्न मिल्ने भइसकेको छ । हैन भने नेचर र साइन्सका प्रकाशनहरुमा किन अमेरिकि र बेलायतिहरुको वर्चस्व हुन्छ ?
साइन्स र नेचरले छापेका प्रोपागाण्डा आर्टिकलहरुको थुप्रो मैले पनि उदाहरणको रुपमा देखाउन सक्छु ।
हो चिनिया मित्रले प्रा. डा. काइ मिङको विषयमा त्यहि भने । उनी एउटा सफल वैज्ञानिक रहेछन र उनको सिंगापुरको हिसाबले वार्षिक औसत रुपमा वैज्ञानिक अनुसन्धानका लेखहरु प्रकाशित हुंदारहेछन । तर पश्चिमी “बोस”हरुको प्रवेश पछि पहिले देखि काम गर्दै आएकाहरुको जागिर खोसिने क्रम शुरु भएछ । त्यसै क्रममा प्रा. डा. काइभन्दा अगाडि पनि धेरै जनाको जागिर खोसिइसकेको रहेछ त्यसैले उनिहरु चिन वा अन्य देशतर्फ लागेका रहेछन । तर डा. काइका बच्चाहरु सिंगापुरको स्कुलमै पढ्ने भएका कारण उनी सिंगापुर छोड्न नसक्ने वाध्यात्मक परिस्थितिमा रहेछन । त्यसैले अन्तिम बिकल्पका रुपमा ट्याक्सी चलाउन लागेका रहेछन ।
अहिले सिंगापुरका अन्य रिसर्च संस्थाहरुमा पनि त्यहि हाल देख्न सकिन्छ । यसलाई “कन्सपिरेसी थ्योरीका” रुपमा लिनुस वा “प्रतिस्पर्धा”मा फेल भएको हिसाबले लिनुस वा सिंगापुर सरकारको “फितलो भिजन”का रुपमा लिनुस तर विज्ञान यहां असफल भएको छ । दर्जनौं अनुसन्धानका लेखहरुले अरुलाई बाटो देखाउने वैज्ञानिक आज आंफै बाटो बिराएर बांच्ने बाटो खोज्दैछ , के यो बिडम्वना हैन ?
बेलायतमा कुनैबेला एनएचएसका मेनेजर भएर बसेका एक जना नेपाली भलाद्मी दाइ हुनुहुन्छ, उहांले ५५ वर्षको उमेरमा अथाह बायो डाटा र एप्पलिकेसन फाल्दै “निर्वाणा”को जीवन बिताइरहेको पनि नजीकबाट देखेको छु । मैले देखेको र बुझेको कुरा धेरै देशका आप्रवासीहरुको लागि पश्चिमा देशहरुमा उनिहरुको छालाको रंग र मातृभाषाको एक्सेन्टले एउटा हैन धेरै पुस्तासम्म पक्कै पनि पीडा दिइरहनेछ ।
एकजना विद्वानको भनाइ थियो :
"In a lot of the research institutes now, performance is assessed a huge part by how much intellectual property churned out, as well as how much industry dollars brought in." यो भनाइलाई वैज्ञानिक साम्राज्यबादको रुपमा लिनुस या व्यापार तर नियत छर्लङ छ ।
सिंगापुर मात्रै हैन मलेशियादेखि मध्य एशियाका स्कुल युनिभर्सिटिहरु पनि अंग्रेजी भाषाका आयातित “गुरु”हरुका लागि सुम्पिएका छन । हुन त नेपाली पनि विर्सेर पुरानै युगतिर फर्किन थालेको नेपाली समाजमा यस्ता कुराले अर्थ नराख्लान तर दुनियाँको अगाडि आफ्नो पनि अस्तित्व छ भनेर केहि गर्न खोज्ने नेपाल या चिन या अन्य एशिया देखि अफ्रिकासम्मका मान्छेहरुका लागि अंग्रेजी भाषाको दासत्व आफ्नै भूमीमा समेत लोप्पा ख्वाउन पछि पर्दैन भन्ने कुरा हेर्न डा. काईकै उदाहरण काफी छ । नेपालीहरु नाक, रौं र आंफैले नजान्ने “मातृभाषा”को विवादमा रुमल्लिएको बेला "मेरो सहानुभुति र प्रोफेशनल भातृत्व" नेपाल भन्दा धेरै टाढासम्म फैलिएर डा. काइ मिङसंगै रहनेछ ।
यो विषयमा धेरै कुरा लेख्न मन थियो तर कति शब्द वा भावहरु अपाच्य हुन सक्लान भनेर आफ्नो कलमलाई थांती राख्नमै उचित ठाने र दुनिया हल्लिएको हेर्ने चक्करमा आंफै हल्लिन थाले । बांकी हल्लिन छाडे पछि भोलि तपाइहरुसंगको भेटमा !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
August 14, 2009
नेपाल: जातियता ,संघियता र यसको यथार्थ
हाल प्राप्त तथ्याङ्कअनुसार नेपालका ७५ मध्ये २१ जिल्ला र करिब चार हजार गाविसमध्ये नौ सय २८ मा क्षेत्रीको बाहुल्य छ। त्यसपछि दस जिल्ला र चार सय ९२ गाविसमा ब्राह्मणहरूको बाहुल्य देखिन्छ। सात जिल्ला र तीन सय ६२ गाविसमा मगर, चार जिल्ला र तीन सय १० गाविसमा थारू, सात जिल्ला र तीन सय एक गाविसमा तामाङ, तीन जिल्ला र ८४ गाविसमा नेवार, पाँच जिल्ला र दुई सय ७५ गाविसमा मुसलमान, पाँच जिल्ला र तीन सय आठ गाविसमा यादव, ६ जिल्ला र एक सय ८० गाविसमा राई तथा चार जिल्ला र एक सय ३० गाविसमा गुरुङहरूको बाहुल्य देखिन्छ। भाषाको आधारमा हेर्ने हो भने ४९ जिल्लामा ५० प्रतिशतभन्दा बढी नेपाली मातृभाषीहरू छन् भने पाँच जिल्लामा मैथिली र तीन जिल्लामा भोजपुरीभाषीहरूको बाहुल्य छ।
मधेशका केही उच्च जातिको नेतृत्वमा खुलेका दलहरूले प्रस्ताव गरेको स्वायत्त एक मधेश प्रदेशविरुद्ध त्यहाँका आदिवासी थारू खुलेर लागेका छन्। तराईको कुल जनसङ्ख्याको ११ प्रतिशत र मधेशी जनसङ्ख्याको २० प्रतिशत ओगट्ने थारूको असन्तुष्टिले सानो अर्थ राख्दैन। त्यसैगरी तराईका मेचे, कोचे आदिवासी पनि कोच स्वायत्त प्रदेश माग गरेर आन्दोलन गरिरहेका छन्। तराईमा नेपालको जनसङ्ख्याको ४.३ प्रतिशत ओगट्ने मुस्लिम छन्। पहाडका विभिन्न जिल्लामा समेत बसोबास गर्ने यो समुदाय स्वायत्त मधेशभन्दा पनि समानुपातिक प्रतिनिधित्वको लागि आन्दोलन गर्दै आइरहेको छ। मधेशमा बस्दै आएका पहाडेको ठूलो जनसङ्ख्यालाई पनि मधेशी आन्दोलनकारीले अझै सम्म विश्वासमा लिनसकेका छैनन्। बरु उल्टै मधेश आन्दोलनकारीले देखाएको असहिष्णु व्यवहारका कारण पहाडेहरू विस्थापित बनिरहेका छन् जसले मधेशी र पहाडे बीचको सहिष्णुतालाई झन बढी खलल पुर्याएको छ।
पछिल्लो जनगणना अनुसार तराईमा हिन्दू धार्मिक समूहभित्र पनि ११ दलित समूहसहित ४३ वटा फरक-फरक जात छन्। यी समूहहरू मैथली, भोजपुरी, अवधी र बाजिका गरी चार अलग-अलग समूहमा बाँडिएका छन्। यस्तो मिश्रित संस्कृतिलाई कसरी समेट्ने भन्ने कुनै पूर्व तयारी बिना स्वायत्त मधेशको अवधारणा आएको देखिन्छ। मधेश प्रदेशअन्तर्गत प्रस्ताव गरिएको झापा ,सुनसरी र मोरङ जिल्लालाई लिम्बू आन्दोलनकारीहरूले लिम्बुवान प्रदेशभित्र समेटेका छन्। त्यसैगरी माओवादी कै कोच राज्य अन्तर्गत पनि यी जिल्ला पारिएका छन भने एक मधेश प्रदेशमा त यी हुने नै भए । लिम्बुवान राज्यका लागि लडिरहेको संघीय लिम्बुवान राज्यपरिषद्का अध्यक्ष सन्जुहाङ पालुङवा लिम्बुवानलाई मधेश भनिएकोमा आपत्ति जनाउँदै भन्छन्, “हाम्रो पुर्खाले आर्जेको भूमि हामी मरिगए छाड्दैनौँ।”
जातीय स्वायत्त प्रदेशका लागि उपयुक्त र लिम्बुको सघन बसोबास भनिएको प्रस्तावित लिम्बुवान प्रदेशको सीमाङ्कन पनि भद्रगोल छ। लिम्बुवान भनिएको संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाममा उनीहरू भन्दा अन्य समुदायको जनसङ्ख्या बढी छ। उनीहरूले अहिलेसम्मका शासक भन्दै आएको बाहुन क्षेत्री सबैभन्दा बढी (२६.७ प्रतिशत) देखिन्छन्। त्यसपछि लिम्बु (२३.५ प्रतिशत) र राई (१६.३ प्रतिशत) छन्। लिम्बुवानमा बस्ने ४५.२ प्रतिशतको मातृभाषाको रूपमा नेपाली बोल्छन् भने २२.५ प्रतिशतले मात्र लिम्बु भाषा बोल्छन्। राई भाषा बोल्ने जनसङ्ख्या १५.८ प्रतिशत छ। राष्ट्र पुनर्निर्माणः सामाजिक-सांस्कृतिक परिदृश्य भित्रको यो यथार्थतामा अन्य जातिसमूहको उत्तिकै वा भन्दा बढी महत्वपूर्ण उपस्थिति रहेको परम्परागत लिम्बुवान क्षेत्रलाई स्वायत्त क्षेत्रका रूपमा कसरी रेखाङ्कन गर्ने?
माओवादीले तमुवान भनेर मानेको गण्डकी प्रदेशको कुरा पनि यस्तै उदेक लाग्दो छ । गण्डकी अञ्चलको विभिन्न समुदायको तथ्यांक हेर्दा मनाङ बाहेक गुरूङहरूको मात्र बहुमत भएको जिल्ला नै भेटिन्न । लमजुङ कूल जनसंख्याको ३७ प्रतिशत गुरूङहरूको बसोवास रहेको जिल्ला भए पनि त्यहाँ त्यति नै प्रतिशत ( ३७%) बाहुन- क्षत्रीको बसोवास रहेको छ । गोरखामा १७% गुरूङ छन् भने त्यो भन्दा दुगूना बाहुन क्षत्री छन् । कास्कीमा १०% गुरूङ छन्न भने ४५% भन्दा बढी बाहुन-क्षत्री रहेका छन् । तनहूँ लगभग ४७% मगर बहुल जिल्ला हो भने श्याङ्जामा बाहुन-क्षत्री मिलाउँदा लगभग ४८% पुग्छ भने गुरूङ् ७% र मगरको २७%संख्या रहेको छ । जनसंख्याका हिसाबले सबैभन्दा साना दुई जिल्ला मनाङ र मुस्ताङमा मात्र गुरूङ बहुमत रहेको यो भेगको यो जनसांख्यिक तस्वीर भित्र कसरी तमूवान राज्य खोजिने हो आँफैमा बुझिनसक्नु पहेली बनेको छ ।
माओवादीले गरेका स्वायत्त प्रदेशको सीमाङ्कन राज्य पुनर्संरचना आयोगको अध्ययनको आधार हुने भएकाले त्यसलाई लिएर संविधानसभामा हानथापको स्थिति सृजना हुनसक्छ। एकातर्फ पहिचान (जाति, भाषा, धर्म र संस्कृति)को आधारमा संघीय ईकाई बनाउनुपर्ने चुनौती छ भने अर्कातर्फ यसोगर्दा अर्को जातिको आत्मसम्मानमा ठेस नपुगोस् भनेर हेर्नुपर्ने पनि जरुरी छ।
जातीय आधारमा तीनवटा राज्य बनाएर सङ्घीय शासन आरम्भ गरिएको नाइजेरिया अहिले ३६ टुक्रामा विभाजित भएर अनवरत हिंसा र द्वन्दको दलदलमा फँसेको छ । नेपालमा अहिले जतिवटा सङ्घ बनाए पनि सङ्घीय राज्यहरू यिनले निर्धारण गरिदिएको सङ्ख्यामा सीमित भएर भोलिसम्म रहनेमा विश्वास गर्न सकिने स्थिति हुन सक्दैन। क्रमशः हरेक जातले आफ्नै राज्य बनाउँदै जाँदा हाल एक लाख सतचालिस हजार वर्गकिलोमिटरको देश नेपाल कम्तीमा पचास टुक्रामा विभाजित हुनसक्ने सम्भावना छ। सिद्धान्त, विचार, दर्शन र देशका कुरा छोडेर पार्टी नै गठन गरे पनि मलेसियामा झैं जातीय पार्टी मात्र चल्ने स्थिति बन्यो भने नेपालका एक सय एक जातिले आ–आफ्ना पार्टी र सङ्घ स्थापना गर्न खोज्नु अस्वाभाविक हुँदैन।
माओवादीले प्रस्ताव गरेको स्वायत्त प्रदेश कम्युनिष्ट सिद्धान्तबाट निर्देशित भएको हुनाले तिनमा केन्द्रीयता हावी हुने निश्चित पनि छ। तर यही बाटोबाट हुर्किएको जातियतावदी समूहहरूको जातिय संघियताको योजना भने आ-आफ्ना जातिय अग्राधिकारलाई कायम गरी आत्मनिर्णयको अधिकार सहितका राज्यहरू पाउनु पर्छ भन्ने बुझाइको छ । अति केन्द्रीयताले गर्दा परम्परागत कम्युनिष्ट शासन भएको मुलुकका संघीय व्यवस्था टिकेका छैनन्। पूर्व सोभियत संघ, चेकोस्लोभाकिया, युगोस्लाभिया त्यसका दृष्टान्त हुन्। लोकतन्त्र नभएका अति केन्द्रीकृत र सैनिक शासन भएका देशमा पनि संघीय व्यवस्थाले राम्ररी काम गर्दैन। ब्राजिल, मेक्सिको, नाइजेरिया, पाकिस्तान, अर्जेन्टिना त्यसका उदाहरण हुन्। त्यसैगरी कतिपय समुदायले उठाएका अग्राधिकारका कुरा पनि लोकतान्त्रिक पद्धति विपरीत छन्। पीताम्बर शर्मा भन्छन्, “बाहुन क्षेत्रीको उत्पीडनबाट मुक्त भएर कुनै अमूक जातिको तानाशाहीभित्र बस्नुपर्छ भन्नु सामन्ती सोच हो। त्यसले फेरि घुमाइफिराइ सामन्तवादकै पक्षपोषण गर्छ।”
( तथ्यांक केतवि, नेपाल , तथा आलेख, संकलन तथा टिपोट समकालीन नेपाली पत्रपत्रिकाहरू बाट )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 30, 2009
क्रान्तिमय संघीय नेपालमा भाषाको बहस:
पहिलेको नेपाल र अहिलेको नेपालको भिन्नता नबुझी परमानन्दका कुरा गर्नु नाजायज हुन्छ। म मैले यहाँ परमार्थ , परमेश्वर र परमानन्दका कुरा गरिरहेको छैन । म त परमानन्द झा नामका नेपाली भाषा नजान्ने नेपाली उपराष्ट्रपतिको कुरा गर्दैछु । नेपाली राष्ट्रवादका बुझकीहरू सर्वोच्चको फैसलालाई क्याबात् भन्दै परमानन्दले नेपालीमा शपथ लिइदिऊन् भन्ने कामना गरिरहेछन् मानौँ यसो गर्दा , नेपालको खण्डित राष्ट्रवादमा कायापलट नै हुने हो कि झैँ ।
भर्खरै , उपराष्ट्रपति परमानन्द झाले लिएको हिन्दी भाषाको शपथमाथि सर्वोच्च अदालतले एउटा फैसला दियो । शपथ नेपाली भाषामा लिनुपर्छ र नलिएको भए पुन: लिनू भन्ने अदालतको निर्णयमा , अदालतको फैसला कुनै हालतमा मान्दिन भनेर परमान्नद झाले पत्रकार सम्मेलन मार्फत आफ्नो जवाफ फर्मान गरे । नेपाली राष्ट्रवादी सोचले जति नै यो फैसलाको वाहवाही गरेपनि, मननीय कुरा के हो भने हिन्दी भाषा बिरूद्ध नेपाली भाषाको पक्षमा अदालतले दिएको यो निर्णयले नेपाली राजनीतिमा हालैका दिनसम्म शिथिल बनेका केही मुद्दाहरूलाई केवल सक्रिय पार्ने मात्र काम गरेको छ ।
वास्तवमा भन्ने हो भने शपथ ग्रहणको १ वर्षपछि आएर दिइएको बेसमयको यो अदालती फैसलाले तराईया हिन्दीवादी पार्टीहरूलाई एउटा नया मुद्दा हात लगाइदिएको छ । नेपाली वा हिन्दी वा विकल्पमा अरू के के भाषा हुन सक्छन् भन्ने भाषिक मुद्दा अहिलेको नेपालमा साह्रै विवादास्पद बनाइसकिइको छ । भाषा , क्षेत्र र जातिवादका भावनात्मक मुद्दाहरू अब अदालती फैसला कै भरमा जीत र हार ठानेर तिनको औचित्यता साबित गर्न सकिने स्थितिमा छैनन् । यदि हुँदा हुन त मुलुकका उपराष्ट्रपतिले , सर्वोच्च अदालतको फैसलालाई हँसिमजाकको रूपमा लिने थिएनन् । परमानन्द झा , मधिशे फोरमका उम्मेदवारका रूपमा उप राष्ट्रपति पदमा विजयी बनेका हुन र लगभग सबै मधिशे भनिएका दलहरूको मुख्य मुद्दाहरू मध्ये एक मधेश एक प्रदेश र हिन्दीलाई समानान्तर राष्ट्रभाषाका रूपमा कायम गर्ने माग रहिआएको छ । यस्तोमा अहिलेको निर्णय, मधिशे दलहरूलाई मधिशे आन्दोलन अगाडि बढाउने वा चर्काउने एउटा नया इन्धन बन्ने निश्चित छ । उनीहरूले भन्ने छन् “यो अदालती फैसला पुरानो पहाडिया खस-बाहुन राष्ट्रवादका पक्षपोषकहरूद्वारा हामी माथि गरिएको षडयन्त्र हो”। यही प्रलापमा एउटा नया क्रान्ति जन्माउन पनि सकिनेछ ।
हिजो माओवादी हिंसात्मक युद्ध चर्काउन माओवादीले उरालेका जाति, भाषा र क्षेत्रगत स्वायत्तताका संवेदनशिल नाराहरू आज मुलुकभरि बम बनेर पड्किँदैछन् वा पड्किन खोज्दैछन् । कुनै कुराको गृहकार्य बिना , मुलुकलाई संघियतामा लैजाने कुरा सबै मुख्यदलहरूले ( राजमो बाहेक) स्वीकार गरिसकेका छन् र यो संघियताको आव्हानकर्ता मानिएको माओवादी भने अझै जातिय र भाषिक संघियताको पक्षपातीको रूपमा देखिएको छ । यदि जाति, भाषा र क्षेत्रवाद मा आधारित र यस्तै खालको संघियतामा मुलुक रूपान्तरण गर्न लागिएको हो भने , परमानन्द झाको हिन्दी शपथका बिरुद्द र अदालतको फैसलाका पक्षमा नेपाली राष्ट्रवादी कोकोहोलो मच्चाउन पर्ने कुनै जरूरत छैन । सबै जात भाषा र क्षेत्रका मान्छेलाई उनीहरूले चाहने जातीय, र भाषिक प्रकृतिको मुलुक पस्कन खोजेको नया नेपाली क्रान्तिकारिताको माला जप्ने हामीले ज-जसले जे जे बोल्न चाह्यो वा जहाँ मन लाग्यो त्यहीँ ढुङ्गा गाडेर साँध बाँध्ने र यहाँदेखि यता मेरो राज्यको सीमाना हो भन्ने प्रवृत्ति देखायो भने पनि संघियताका नाममा यसको बिरोधबाट पछि हट्नै पर्ने वाध्यता सबै नेपालको हुनेछ । अन्यथा यो राज्य बिरुद्धको अपराध पो हुनेछ ! केही समय अघि माओवादी मन्त्री गोपाल किराँतीले जातिय संघियताको बिरोध गर्ने चित्र बहादुर केसीलाई जेल हाल्नु पर्छ र राष्ट्रिय जनमोर्चालाई प्रतिवन्ध लगाउनुपर्छ भन्ने प्रस्ताव नै मन्तरीमण्डलमा पुर्यालएका थिए । यस्तोमा, उपराष्ट्रपतिको हिन्दी भाषापर्तिको मोह , जातिय संघियताको बिरोधमा देखापर्न सक्छ ।
यहाँ त परमानन्दले हिन्दी आफ्नो मातृभाषा भएको र नेपाली आँफूले बुझ्दै नबुझ्ने जिकिर गरेका छन् । हुनसक्छ , कुनै समयमा आँफै सर्वोच्च अदालतको न्याधीश भएर नेपाली भाषामा नै ठेलिका ठेली निर्णय लेख्ने परमानन्द झा फोरममा लागेपछि , उनको नेपाली भाषाको ज्ञान सम्पूर्ण हराएर हिन्दीकरण हुँदै उनी नेपाली नजान्ने बनेका पनि हुन सक्छन नि ! नेपाली भाषा नजान्ने भन्ने उनको दावा जति हास्यास्पद छ त्यति नै एउटा राजनैतिक मुद्दाको प्रतिनिधित्व गर्दै उपराष्ट्रपति बनेका परमानन्द , नया नेपालका एउटा जायज क्रान्तिकारी हुन भन्ने कुरा मन्नै पर्छ । किनभने यस्तै त छ हाम्रो क्रान्तिकारिता ! अदालत, प्रशासन, स्थापित पद्धति, सदैव भैरहने वा गरिरहने कुरा मानेर पनि कोही क्रान्तिकारी भएको उदाहरण छ र ?
हिन्दी भाषालाई तराईको राष्ट्रभाषाको रूपमा मान्यता दिनुपर्छ भनेर आन्दोलन र संघर्षमा लागेका फोरम, तमलोपा र अरू पनि दलको नेता भएका छन् परमानन्द , हामीले व्यक्ति परमानन्दको आलोचना गर्नुको पनि कुनै तुक छैन किनभने , यो सन्दर्भ वृहद राजनीति भित्रको सानो अंश हो , कण हो । देशको राजनीतिले नै यही कुरा सिकाएको छ । माओवादीले क्रान्ति गरे कथित बुर्जुवा सामन्ती प्रणाली बिरूद्ध र छियाछिया पारे सामाजिक सद्भावको हाम्रो समाजको अन्तरंगलाई, अब मधेशवादीले क्रान्ति गर्दैछन् कथित नेपाली भाषा र पहाडिया राष्ट्रवाद बिरूद्ध । नया नेपालमा जुनसुकै मुद्धा लिएर क्रान्ति र बिद्रोह गर्ने अधिकार त छ नि नागरिकलाई । यस्तोमा कसैलाई तेरो भाषा नबोल भन्न मिल्छ ? कुनै मानेमा मिल्दैन । यही सिकाएका पनि छन् क्रान्तिका ठेकेदारहरूले । यसैले यो मामिलामा जति बोल्न खोज्यो त्यति अर्थहीन बहसमा फँसेको प्रतित हुन्छ ।
अबको नया नेपालमा जात, भाषा , क्षेत्र का कुरामा बहस गरेर यो कुरा गर्न पाउन्नस् भन्नु प्रतिगमन ठहर्छ । थाहा छ, हिन्दी नेपालमा कसैको मातृभाषा हैन तर सम्पूर्ण तराईका पार्टीहरू त हाम्रो भाषा यही हो र यही चाहिन्छ भन्दैछन् । जब मधेशवादी आन्दोलनको सुरक्षाकवच लगाएर हिन्दी भाषा नेपाली भाषा र कथित पहाडी राष्ट्रवादसंग लडाउन सिंगार पटार सहित खडा गरिँदैछ भने , परमानन्द झाको बिरोध र उनले लिने नेपाली भषाको शपथले मात्र यो मुद्दा माथिको बहसलाई निरूपण गर्ला र ? के भन्छन् जातिय र भाषिक संघियताका ठेक्कापट्टा गर्ने राजनैतिक दलालहरू ? के छ राजनितिको सट्टा बजारमा यो मुद्दाको उतारचढाव र भविष्य ? सोध्ने हो भने सोध्नुस् जातीय र भाषिक संघियताका व्याख्याता भाष्यकारहरूलाई , परमानन्दलाई हैन । किनभने ऊ त एउटा गोटी हो । गोटीले आफ्नो नियति बोल्दैन, बोल्ने आवाज नै हुँदैन, ऊसंग ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 27, 2009
राष्ट्र भक्ती बिहिन नेता हाम्रो दुर्भाग्य
०७-२७-२००९
कुनै बेला " दुई ढुङ्गा बीच को तरुल " को जस्तो सम्बेदनशील अवस्था मा रहेको नेपाल लाई हाल ' दुई ढुङ्गा बीच को डाइनामाइट "मा परिवर्तन भएको भन्ने नेता हरु ले यो देश को राष्ट्रियता , स्वाभिमान , राष्ट्रभक्ती लाई बिस्फोटन पछी को अस्तित्वहिन डाइनामाइट जस्तै बनाउने खतरानाक सम्भाबना हाम्रो सामु देखा पर्दैछ ।
तराइ लाई मधेष नामाकरण गरी सो बिषय मा नेपाल लाई श्री लन्का को नियती भोग्नु पर्ला भनी धम्काउने मधेश बादी राजनैतिक् दल का नेता हरु र उनिहरु कै समर्थन मा उप राष्ट्रपती बनेका परमनन्द झा ले हिन्दी भाषा मा शपथ लिएको बिबाद , सर्बोच्च अदालत को फैसला , र उप् राष्ट्रपती झा को प्रतिकृया ले सम्पूर्ण नेपाली को भावना र कानुनी राज को सिदान्त माथि मर्माहत प्रहार गरेको छ । देश को पूर्व बरिस्ठ कानुन बिद समेत रहेका झा को यो " हठिपन " ले झुठ को सहारा लिएको स्पस्ट त छदै छ त्यसमा पनि अझै बिबाद थप्न र देश लाई द्वन्द मा धकेल्न प्रोत्साहंन पुग्ने गरी मधेष बादी दल हरु सित सुझाब माग्ने नाटक गर्नु उन्को " अल्पबुद्धी " मात्र हो वा नेपाल को स्वतन्त्र अस्तित्व माथि को गम्भिर षड्यन्त्र को सुरुवात ? के कतै साच्चिकै मधेश लाई नेपाल को नक्सा बाट अलग पार्ने "ग्राइन्ड डीजाइन "त भै राखेको छैन ?
देश को दोस्रो बरिस्ठ ब्यक्तित्व ले जनता ले दिएको सम्मानित पदिय गरिमा समेत लाई लत्याइ देश को कानुन र जनता को भावना सित खेल्बाड गर्ने , जनता मा बिभाजन ल्याउने काम गर्दछन भने त्यो खेदपूर्ण त छदैछ बिडम्बनायुक्त यस्तो गैर्ह जिम्मेवारीपन अनी निरन्कुस सैली ले नव जात गणतन्त्रात्मक् प्रजातन्त्र को र देश कै भबिस्य मा खतरा निम्ताएको छ ।
हुन त उप् राष्ट्रपती झा देखिएका एक मोहरा मात्र हुन । देश को स्वाभिमान लाई तिलान्जली दिएर " सत्ता लाई केन्द्र बिन्दु मानि "बिदेशी को ईशारा मा राजनीति गर्ने नेता हरु को भिड कम छैन नेपाल मा । दिउसो मन्च मा चर्को राष्ट्र बाद को कुरा गर्ने र साझ बिदेशी को ह्विस्की को चुस्की मा रमाउने आफु लाई अंबली राष्ट्रबादी भन्न रुचाउने छद्म भेषी हरु को दोहोरो भूमिका झनै खतरनाक छ । जाती अनी को भाषिक अधिकार को नाम मा देश लाई बिभक्त पार्ने भारतीय " साउथ ब्लक "को सम्रक्षण र सहयोग मा जन युद्ध लडेका , उसकै सहयोग र निर्देशन मा दिल्ली मै "सत्ता केन्द्रित कथित शान्ती सम्झौता "मार्फत दोहोरो भूमिका खेली राखेको एउटा समुह को नेत्रित्व " दिन मा सुरुङे युद्ध गर्ने "" बिदेशी प्रभु " भनी धरे हात लगए जस्तो गर्छ र अध्यारो पर्ने बित्तिकै चोर बाटो बाट उस्कै कोठा मा पुगी आदेश , निर्देशन र सल्लाह लिन्छन ।
राणा शासन को अन्त पछी आधुनिक नेपाल को ईतिहास मा कोइ मानुन की नमानुन राजा महेन्द्र र बिरेन्द्र बाहेक यो नेपाल को स्वाभिमान को लागि चिन्तित कोइ राज नेता देखिएनन । प्रजातन्त्र को नाम मा देश को स्वाभिमान बन्धक राख्नु हुन्न भन्दै ०३६ साल को जनमत सङ्र्ह को झिनो मतान्तर को परिणाम् लाई स्विकार गरी " राष्ट्रिय एकता लाई बलियो बनाउने बि पि कोइराला लाई पनि भुल्न सकिन्न । उन्को अबशान र बहुदलिय ब्यबस्था को पुनर्स्थापना पस्चात प्रत्यक राजनैतिक दल ले "आफ्नो शक्ती केन्द्र को बिन्दु भारतीय साउथ ब्लक "लाई मान्ने , उस्लाई बढावा र प्रोत्साहित गरी राखेका छन । प्रत्यक सत्ता परिवर्तन र राजनैतिक घटना मा प्रत्यक्ष छिमेकी को संलग्नता रहेको छ । देश को आन्तरिक समस्या लाई आपसी सहमति र सल्लाह मा सुल्झाउनु को साटो छिमेकी लगायत अन्य बिदेशी नियोग हरुको मुख ताक्ने , आशिर्बाद थाप्ने होडबाजी ले नेपाल को स्वाभिमान र राष्ट्रबाद लाई धमिलो मात्रै पारेको छैन नेपाल को आन्तरिक निती नेपाली को नियन्त्रण बाहिर पुगिसेको होकी भन्ने अवस्था छ । नेपाल को अखन्डता र नेपाली भाषा अनी राष्ट्रिय एकता को बिरुद्ध को सन्जाल बिदेश मा पनि सक्रिय भै राखेका छन ।
कुनै पनि राष्ट्रबादी नेता ले जनता लडाउदैन , जनता को भावना सित खेलबाड गर्दैन , राष्ट्रिय स्वाभिमान मा आच आउने काम गर्दैन , बिदेशी सित कुनै शर्त मा झुक्दैन , नेपाली को भावना मा चोट पुर्याइ बिदेशी लाई खुशी पार्दैन । तर मधेश आन्दोलन , उप् राष्ट्रपती झा प्रबिर्ती , राष्ट्र बादी भावना सुन्य राजनैतिक नेता हरुले नेपाल को स्वतन्त्रता , एकता , राष्ट्रियता सार्बभौमसत्ता मा जुना गर्ब थियो त्यस माथि कुठारा घात गरी राखेका छन । यस्तो प्रबिर्ती ले निम्ताउन सक्ने बिषम परिस्थिती को बेलैमा उपचार् गर्न नसक्ने र नेता हरु न सच्चिने हो भने नेपाल र नेपाली को लागि दुर्भाग्य साबित हुनेछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 16, 2009
संविधान, भींमसेनपूजा, माओवादी र महायज्ञ
यो महायज्ञको अर्को अनौठो विशेषता के रहेछ भने कुनै बेला माओवादीद्वारा नै मारिएका भनिएका पण्डित नारायण प्रसाद पोखरेलका सहोदर छोरा दिनबन्धु पोखरेल नै यहाँ मूल पण्डित भएर मण्डपासीन भएका रहेछन् र एउटै यज्ञमा ५०औँ करोड रकम र जायजेथा उनले उठाइदिएका रहेछन् । एउटा यज्ञमा ५० औँ करोड उठ्नुको महानतालाई हेर्ने भने नेपाल जस्तो दानी दाताको बाहुल्यता भएको मुलुक संसारमा कमै होलान जस्तो लाग्छ । बालाजूमा टाट पल्टिन लागेको कुनै प्राइभेट अस्पताल चार्टर्ड एकाउण्टेण्ट नारायण बजाजबाट माओवादीले ३३ करोडमा किनेको थियो र पछि यसको नाम जनमैत्री अस्पताल राखिएको थियो । यही अस्पतालका लागि यो यज्ञ गरिएको रहेछ । यहाँ स्मरणीय के छ भने , ७,८ महिना अघि माओवादी सरकारका पालामा यो अस्पताललाई आर्थिक लगानी गर्न हुने विश्वस्त आधार नदेखेर बैँकहरू तयार नहुँदा, माओवादी सरकारले राष्ट्र बैँक मार्फत दवाब दिँदै नेपाली बैँकहरूको एउटा कन्सोर्टियम खडा गरी ३५ करोड रुपैयाँको बलजफ्ति ऋण प्रवाह स्वीकृति गराएर अस्पताल किनिएको थियो ।
आजको कान्तिपुरमा प्रकाशित अर्को समाचार छ “ संविधान निर्माणका लागि भिमसेन पूजा” (हेर्नूस:
मैले दुई घटनाका आधारमा एउट ब्रम्हज्ञान पाएको छु । नया नेपालमा क्रान्तिकारीहरूको सोच र व्यवहारमा हुने असंगति, बिसंगति र विडम्बनाका बारेमा नराम्रो भन्न नपाइने हुँदा यसको सकारात्मक पक्ष खोज्नु जरूरी छ । यसो त नेपाली कम्युनिष्टहरूको धार्मिक रूझानका बारेमा भारतीय विद्वान कुलदिप नायरले पनि धेरै लामा लेख लेखिसकेका छन् । नेपालमा जति नै ठूलो कम्युनिष्ट क्रान्तिको कुरा गरिए पनि, हाम्रो रगत र चरित्रमा कम्युनिष्टहरूको त्यो धर्म बिरोधी राजनीतिक सोच भने घुसेको छैन कि जस्तो छ । यो कुरा स्वदेशी र बिदेशीले बेलाबखत चर्चा गर्ने गरेका छन् । यत्रो रक्तरंजित क्रान्ति पछिको यो बिन्दुमा आइपुगेर, जनगणतन्त्र स्थापना गर्नै लागेको यो मौकामा , माओवादीले ‘श्रीमद्भागवत महायज्ञ’ लगाएको छ । यो पुण्यको महारथ कति होला भोलि फल लागेपछि देख्न पाइएला । कतै हाम्रो यो महान क्रान्तिकारी पार्टीले विविध राजनैतिक प्रयोगहरूको अनन्त श्रृंखलाका क्रममा , धनी, बुर्जूवा र सामन्तीहरूलाई बढी भएको सम्पत्ति ‘स्वेच्छिक दान’ गर्न लगाएर समाजमा रहेको असमानता र गरीब धनी बीचको असन्तुलनलाई धार्मिक ढंगले समाधान दिन खोजिरहेको त छैन ? कामरेड प्रचण्डले बारम्बार भन्ने गर्नु भएको चमत्कारको राजनीति { धर्म, अर्थ (काम र मोक्ष बाहेक) र राजनीतिको फ्यूजन} यस्तै खालको त हैन ? जहाँ श्रीमद्भागवतले समाजवाद र भीमसेन पूजाले संविधान स्थापनार्थ भगवद् सामर्थ्य हासिल गर्छ ! भगवान भरोसा चलेको मुलुकका लागि यो भन्दा ठूला क्रान्तिकारी विम्वहरू के नै होलान र ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest



