April 21, 2016

Green Card (पर्मानेन्ट रेजिडेन्स)

Santosh Chimeriya
फर्कदा 'लुक्स' तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरिवार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनोदशा दोस्रो विश्वयुद्धपछि जर्मन फौजको सिपाही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न' फर्कदै थिएँ। जुनसुकै युद्धमा होस् जीवन हार्नेहरुले सम्मानित स्थान पाउँछन् तर जीवनमा हार्नेहरुलाई सहिदको सम्मान प्राप्त गर्ने सौभाग्य  हुँदैन। मैले त्यसदिन आफूलाई जर्मन सिपाही जस्तै अभागी अनुभव गरेँ।
हामी दुई दाजुभाइ थियौ। तर, दाइलाई मैले आउँदै छु भनेर खबर गरेको थिइनँ।।हाम्रो कुराकानी नभएको वर्षौं भइसकेको थियो। दाइको घरको मूलगेटको घण्टी बजाउनु केहीबेर अघिसम्म पनि हाम्रो अंशबण्डा नभएको तर्क अथवा इगोबाहेक उसलाई भेट्ने भावनात्मक उत्सुकता र प्रेम थिएन।
१८ वर्षको वनबासपछि पनि हाम्रो पुनर्मिलन राम र भरतको जस्तो नहुने निश्चित नै थियो। संवेदना र भावनालाई जोगाउन नसकेकोमा आफै देखेर आफै अचम्भित भएँ।
घण्टी बजाएको एकछिनमा ढोका खोल्न एउटी महिला आइन्। ढोका आधा खोलेर चियाइन्।  दाइकी श्रीमती होलिन्– भाउजू!
उनीहरुप्रति मनमा सम्मान बाँकि थिएन। त्यसैले शिष्टाचारको औपचारिकता पूरा नगरी सोधें–राम छ?
‘तपाईं को?' उनले पनि ठाडै सोधिन्।
‘भाइ', मैले आवश्यकता भन्दा एक शब्द पनि बढी बोलिनँ।
‘को भाइ?’, उनले फेरि सोधिन्।