January 24, 2011

किताब - लघुकथा




त्यो किताब लेख्न सजिलो थिएन ।

किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने नया गोरेटोको खाका कोर्नु पर्थ्यो
अनि समतामुलक न्यायप्रणालीको हँसिलो अनुहार प्रतिबिम्बित गर्नुपर्थ्यो किताबले ।

त्यसैले किताब लेखिने उर्दी जारी भयो । सैयौंको संख्यामा देशभरिका बडे बडे लेखकहरु भर्ना भए । उनीहरुको मुख्य काम त्यो महत्वपुर्ण किताब लेख्नु थियो ।

सर्वविदितै कुरा हो, शान्त वातावरणविना, हल्ली खल्ली र भाडभैलोको अवस्थामा लेखनकार्य सम्भव हुदैन। दिन, महिना र बर्ष बित्दै गयो किताब लेखिएन । कुर्दा कुर्दा पाठकहरु निराश भए ।

एकदिन मैले यसो चियाएर हेरें, उनीहरु कापी कलम बोकेर घरबाट त निस्कदा रहेछन तर दिनभर चौरमा पारिलो घाम तापेर मस्त निदाउदा रहेछन, अनि कसरी लेखिन्थ्यो त त्यो किताब ?

बुझ्दै जादा थाहा पाएँ, त्यो किताबको नाम "संविधान" रहेछ ।



कृष्णपक्ष,इजरायल

January 23, 2011

म नेपालमा भएको भए ?(Nepal- The Country of Load Shedding)

विदाको मेसो पारेर भएभरका नेपाली ब्लग चाहर्दै थिएं। कुनै बेला कपि पेष्ट र चोरिएका सामग्री बारे गरिएको
गनथनको याद आयो। अन्जली तिमल्सिनाका चोरिएका सामग्री त के भयो कु्नी तर दिलीप आचार्यले भने चोरिएका सामग्रीको क्रेडिट लिइछाड्नू भयो। ३ बर्ष अघि दौंतरीले बनाएको स्वस्थानी फाइल धमाधम Rangeen Chara,X-Nepali, आदी जस्ता साइटले कपि गर्दै राखेका रहेछन्। यसो सोचें हामीले पनि सबैले सुनुन नै भनेर राखेका हौँ, उनिहरुले पनि बांढे स्वस्थानी माताले सबैको कल्याण गरुन।

हिजो आज नेपालमा फोन गर्यो प्राय फोन उठ्दैन। कि त मोबाइलमा चार्ज हुँदैन कि त मान्छे सुतिसकेका हुन्छन। बत्ती छैन ,मोबाइल कसरी चार्ज गर्ने? सबैका मोबाइल पिपलका पातले चार्ज हुदैन क्यार। जाडोको समय,दिन छोटा,लाइन नभए पछि रेडियो,टीभी सबै चट,अनि त सिरकको सहारा, ओक्षान जिन्दाबाद। साँच्चै नेपालमा अहिले मान्छे मात्र होइन टीभी,मोबाइल,राइस कुकर आदिको जिबन पनि कष्टकर छ। बिजुली भए ति सामानको भाग बढ्थ्यो। अब त मान्छेलाई टीभी देख्दा पनि रिस उठ्दो हो। त्यो सिसाको भाँडो के काम?


January 17, 2011

नग्न सत्य !

शिव प्रकाश 
लुगाले छोपेको छ 
तर अनुहारले देखाइरहेछ 
के अनुहारमा तिमीले लुगा लाउन बिर्सियौ ?
नबोले नि त्यो मुख 
बोलिरहेछन् ती आँखा 
के आँखामा तिमीले पट्टी लाउन बिर्सियौ ? 
नभए नि तिम्रा सामू 
भित्ता थिए ओरिपरी 
के ती भित्ताका तिमीले कान थुन्न बिर्सियौ ?
नदेखे नि मैले केही 
हेरिरहेथ्यो अँध्यारोले


January 15, 2011

जिउँदो मान्छे र हराएको मन

- मधु माधुर्य, मस्को
जनवरी-२, २०१०


कुनै बेला -
हावाको झोक्कासंग बहकिएर जहाँ गए पनि
आफूलाई यतै छोडी हिँडे जस्तो लाग्थ्यो
एक गुच्छा फूलमा अड्केको आस्था
वा प्रेमिल क्षितिज भन्दा फराकिलो
मेरो अस्तित्व
सुकिसकेको गुँद सरि
यतै टाँसिए जस्तो लाग्थ्यो !


आज -


January 13, 2011

उचालेका कुकुरले मृग मार्दैनन् ।

यतिका महिना बल्छि थापेर पनि आफ्नो ढडियामा माछा नपर्ने निश्चित भए पछि रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिए । यसो गर्न , उनको ढडियामा माछा भर्न सकिन्छ भनेर खोला किनारमा बसेर उनलाई साथ दिने माधव नेपाल र केपी ओली नामका दुई माझीले हार खाएर लत्तो छोडेपछि मात्र सम्भव भएको हो । सुर्‍याउनेहरूले गति छाडेर एक्लै छाडी गए पछि, आफ्नै हूतिले माछा पक्रिने सामर्थ्य नभएकाले रामचन्द्रलाई नदी किनारमा बाँकि जीवन बिताउन सम्भव थिएन ।
आफ्नै पार्टीका वैकल्पिक नेता डाक्टर बाबुरामलाई प्रधानमन्त्रीमा मौका दिनु भन्दा एमाले नामको चमेरे पार्टीका अर्का लुब्ध कामरेड झलनाथलाई कामरेड प्रचण्डले उचालेका हुनाले, रामचन्द्रको उमेदवारी फीर्तिलाई उनले आफ्नो विजय ठानेको कुरा आजको कान्तिपुरमा पढ्न पाइयो । यो देखेर हाँसो मात्र उठेन ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्ने उखान सप्रसंग याद आयो । हाम्रा उखानहरू बेजोड् छन् ।

रामचन्द्र प्रधानमन्त्री बन्ने कुरा जतिको अरुको निगाहमा भर पर्थ्यो , निवर्तमान प्रम माधव नेपालको नियति पनि त्यही थियो । माओवादीले सत्ता छोड्नु पर्ने परिस्थति आएपछि , कुटिल नेता गिरिजाले कम्युनिष्ट नामका दुईटा अवसरवादी पार्टीलाई लडाउने मौका स्वरूप माधव नेपाललाई प्रम हुन दिने प्रस्ताव अघि सारे । यो प्रचण्डको अवसरवादीता र उपयोगवादी व्यवहार माथिको प्रहार थियो भने , आफ्ना समकालीन राजनीतिका फट्के सांक्षी र मतियार माकुनेप्रति गरिदिएको ससानो उपकार पनि थियो । तर माधव कामरेडको सत्तारोहण र सत्ता बसाइको काकतालीले , एमाले नामको दहीच्यूरे पार्टीभित्र भने यदुवंशी गृहयुद्ध मच्चाएर छोड्यो । झलनाथ-वामदेव खेमाको वर्तमान संस्थापन पक्ष र माधव नेपाल-ओली खेमाको पूर्व संस्थापन समानान्तर शक्तिशाली पक्ष अहिले परस्पर बिरोधी शक्तिको शत्रूता बोकेर एकार्कालाई पल्टाउन उद्यत देखिएका छन् । यिनको मति र गति देख्दा , यिनले गरी खालान् वा गरी खान देलान् भनेर पत्याउन सकिने संकेत सुदूर क्षितिजसम्म देखा परेको छैन ।


January 8, 2011

‘कू’ को कुहल्ला र घाटे वैद्यहरू :


अनमिन प्रमुख करिन ल्यान्ग्रेनले आफ्नो जागिर अफ्रिकाको बुरूण्डी सरूवा हुने तय भए पछि , संयुक्त राष्ट्र संघमा आफ्नो प्रगति हैन दुर्गति विवरणको पेश गर्दै भनिन् – हामीले छाडेपछि कि माओवादी बिद्रोह हुन्छ कि राष्ट्रपति शासन वा सेनाको कु हुन्छ । हाँसो लाग्दो कुरो के हो भने यी भविष्यवाणी गर्न कुनै विशेषज्ञताको जरूरी नै पर्दैन । प्रतेक दिन प्रकाशित हुने नेपाली अखवारका पाना र माओवादी पार्टिका दावाहरू पढ्यो भने घर बसी बसी यी समाचारहरू हात लाग्छन् । यस्तो रहस्य को अन्वेषण गरी यु एन को सभामा सुनाउन अरबौँ रुपैयाँको लगानीमा नेपालमा अनमिन बसेको हो भने , यस्तो पत्रू संस्था नबसेकै राम्रो हो । तर पनि , यसको बिगत २-३ वर्षे उपादेयता केलाउने हो भने , केही नेपलीले यसमा डलरे जागिर पाएका थिए , अब त्यो नहुने भयो ठानेर केही नेपालीका पक्षमा दु:ख मनाउ गर्न सकिन्छ , नत्र यो अनमिन नामको काउछोले गरेको काम केही छैन त्यसैले यो जाओस् कि बसोस् यसले केही माने राख्दैन सर्वसाधारण नेपालीको जीवनमा ।

जहाँसम्म ‘कु’ को कुरा छ यो माओवादी कोणबाट फ्याँकिएको प्रायोजित हल्ला हो । कम्युनिष्टहरू, विशेषत कट्टरपन्थी माओवादी जस्ता, अरू दल वा समूहलाई अनेक विकृति र कुकर्मको आरोप लगाउन खप्पीस हुन्छन् । अरूलाई भ्रष्ट, प्रतिगामी र अधिनयाकवादीसम्मको आरोप लगाउने निर्लज्जता देखाउन सक्ने कम्युनिष्टहरू स्वयंमा निर्दलियता र अधिनायकवादका पर्यायवाची हुन आधुनिक संसारमा भन्दा फरक पर्दैन । आँफूसंग असहमत हुने विचारको नामोनिशान मेटाउन चाहने अधीनायकवादी सोचका कम्युनिष्टहरू संसारभर आफ्नो पार्टीको अधिनायकतावादमा मुलक र राज्यको संरचना राख्न चाहने आदिम सोचमा हिँडिरहेका हुन्छन् र पनि अरू विचार बोकेका दल, समूह वा व्यक्तिलाई प्रतिगामीको बिल्ला भिराउन लागि परेका हुन्छन् । अधिनायकवाद भित्र मौलाएको भ्रष्टाचार र निरंकूश अतिवाद मुनि प्रश्रय पाएको विकृतिले सन् ९० को दशकमा संसारभरबाट कम्युनिष्ट शासनव्यवस्था भएका मुलुकहरूको लज्जास्पद अवसान देखेर पनि , गरीब मुलुकका नागरिकहरूका अभाव जनित आकांक्षाहरूको मनोवैज्ञानिक शोषण गरी कम्युनिष्ट समानताको नक्कली सपनाको हरियो घाँस देखाएर , नेपालीहरूलाई बलिको बधशालातिर डोर्‍याएर आफ्नो अभीष्ट सिद्ध गर्ने उद्धेस्यमा नेपालका माओवादी लागिरहेका छन् । भ्रष्टाचार, भौतिक लाभ र सुख सयलका विषयहरू र लूटलाई संस्थागत गर्ने काममा छोटो समयमा नै माओवादीले अरू दललाई पछाडि पारेको देखिएकै छ र अब उसले गर्ने कुनै कामबाट नेपालको जनजीवनमा कुनै गुणात्मक सुधार होला भनेर सायदै कसैले आशा राखेका होलान् । किनभने अरूलाई विकृत्तिको आरोप चर्को रूपमा लगाउँदै, आँफै त्यही कुकर्म चार गूणा गर्नु अतिवादीहरूको विश्वव्यापी चरित्र हो ।

नेपालको सन्दर्भमा माओवादीहरूको अव्यवहारिक र सर्वसत्तावादी सैनिक चरित्रका कारण, देश भित्र र बाहिरबाट उनीहरूले कसैको विश्वास जित्न सकिरहेका छैनन् । विशेष गरी आफ्ना छापामारहरूको ब्यारेकीय संरचनालाई भंग नगरी राखि राख्ने वा सेनामा डल्लै मिलान गर्ने र अरू विचारका राजनैतिक शक्तिहरूलाई बाहुबली दादागिरीबाट मात्र नेस्तनाबूद गरी सत्ता कब्जा गर्न सकिन्छ भन्ने नीति लिएर , सहमतिको राजनीतिमा आउन नखोजिरहेको माओवादीलाई केवल उपद्रो गर्ने निहूँ चाहिएको छ । निर्वाचित संसदमा सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि उसले आफ्नो दम्भका कारण सत्ता छोड्नु परेको जगजाहेर छ किनभने उसलाई उसैका सत्ता सहचारी दलहरूले साथ नदिँदा ऊ सरकारबाट हट्नु परेको थियो । अनेकौँ प्रपञ्च सहित लाग्दा र मित्रराष्ट्र चीनको ५० करोड उपहार सौजन्यमा पनि फेरि माओवादी सर्वोच्चताको सरकार बन्न नसक्दा , माओवादी पार्टी नेतृत्व भाउन्निएर बर्बराएको छ भन्ने कुरा बुझ्न गाह्रो छैन। उता माकुनेको सरकार राजीनामा स्वीकृत भएको महिनौँ पछि सत्तामा निर्लज्ज ढलिमली गरिरहेको छ , यता सुनौलो पलङमा सुतेर आफ्नी युवराज्ञी सिताजी र युवराज प्रकाश सहित बालुवाटारमा रमाउने प्रचण्डको सपना कुनै गीतको ‘उडायो सपना सबै हूरीले’ झैँ छरपष्ट बनेको छ । यस्तोमा माओवादीलाई अरूले यस्तो गर्न खोजेका छन् भन्ने आरोप चर्को रूपमा उचाल्दै , आँफूले उपद्रो गर्ने निहूँ चाहिएको कुरा प्रष्ट बनिसकेको छ । अझ भन्ने हो भने माओवादी पार्टीका एक मात्र बौद्दिक मुखौडा बनेका बाबुराम भट्टराईलाई भारतीय वा संशोधनवादी गोटी ठहर्‌याइसकिएको पालुङटार पर्व पछिको राजनीतिक सन्दर्भमा माओवादीलाई बाह्य र आन्तरिक राजनीतिको अप्ठ्यारो सामना गर्न एउटा तमाशा मञ्चनको खाँचो छ – त्यो खाँचो पेरिशडाँडाको खेस्रा दस्तावेज हुँदै करिन ल्यानग्रेनले वाशिङ्टन पुर्‌याएकी छन् । यसको मजबून हो – राष्ट्रपति रामवरणले सेनाको आडमा कू गर्न लागे भन्दै , कथित जनबिद्रोहको मोहन वैद्य धूनी बाल्नु । कुनै बेला संस्कृत छात्रावासको फ्रि खान्कीमा आफ्नो असहिष्णु कट्टरता तिखार्दै काठमाण्डुको सडकमा फ्री मा पाइने रसियन प्रायोजनका कम्युनिष्ट पोथा पोस्तक पढेर कम्युनिष्ट बनेका यी गैर नेवारी घाटे वैद्य, भने २ लाखको भीड जम्मा पारेर सिंहदरबार कब्जा गर्ने जडीबुटी जम्मा गर्न आफ्नो रुखो अनुहारलाई उजिल्याउँदै छन् । हुनत देशलाई ब्रम्हानालमा सुताएर , अक्षता टकटकाउने घाटे वैद्यहरू के पो जानून आफ्नो पेशाको लिखे बोसो टिप्नु बाहेक !

तर, ढुक्क भए हुन्छ , कुनै कू ले नेपाललाई २ महिना लतार्न सक्ने छैन । यसले गर्ने भनेको देशलाई अरू दलदलमा धकेल्ने मात्र हो । देश बनाउने हो र यसको भविष्यप्रति चिन्तित हुने हो भने सबै मिलेर संविधान बनाएर सबैलाई स्थान दिने राज्यव्यवस्था सहितको जनकल्याणकारी पद्दति बसाल्ने कोशिस गरे हुन्छ । हामीले आशासम्म गर्ने हो तर खल पात्रबाट प्रवृत्तिमा सुधारको आशा गर्नु पो कसरी ?

-एकलव्य


January 3, 2011

कोलोराडोमा यस बर्षको ल्होछार सुसम्पन्न


जहाँ पुग्छन नेपाली मनहरु ,झल्काउछन नेपाल र नेपाली पन
भिन्न भाषा ,भेष ,भुषा गुथेर माला,बढाउछन गौरब झन झन

तमु धि समाज कोलोराडोको आयोजनामा सन २०११ जनवरी ०२ का दिन यस बर्षको ल्होछार" हाम्रो संस्कार ,हाम्रो परम्परा "को
नारा सहित भब्य रुपमा मनाउन सफल भएको छ । अनेकतामा एकताको प्रतिकको रुपमा उदाउदै आएको ल्होछार पर्ब नेपालीहरुको
संस्कृतिलाई जोगाउने ,आपसी सदभाब अभिब्रिदी गराउने तथा शुभ कामना आदान प्रदान गर्ने पर्बको रुपमा बिकशित हुँदै 
गैरहेको छ ।


कोलोराडोका नेपालीहरु तथा बिदेशी पहुनाहरु समेतको बाक्लो उपस्थितिमा गत बर्ष झै यसपाली पनि बोल्डरको unity of boulder चर्चमा बिभिन्न सांस्कृतिककार्यक्रमका साथ मनाइएको थियो ।परम्परागत गुरुङ समुदायको भेष भुषामा सजिएका तमु तथा गैर तमुहरुको स्वागत पश्चात उदघोषक सुरेश गुरुङले कार्यक्रम अघि बढेको जानकारी दिनु भएको थियो । बिकास गुरुङ, सुसान थापा ,बिन्दु गुरुङ र सालीना रानाको 'माया पिरती 'बोलको गुरुङनाचबाट ताली र वाहावाही बटुले पछि साना नानीहरु महिमा गुरुङ र श्रेया थापाको मितिनि ज्यु भन्ने बोलको नाचले अझ रोचकता थपेको थियो ।