March 30, 2010

एक मान्छेको खोजीमा

कहिले मन्दिरको ढोकाबाट हेर्छु
कहिले टुँडालबाट नियाल्छु
कहिले निष्पट्ट अँध्यारोमा भौंतारिन्छु
कहिले जुनेली रातमा टहलिन्छु
कहिले फाँटफाँटै दौडिन्छु
कहिले अनकन्टार जंगलको बिचमा कुरिरहन्छु
कहिले ढोका ढक्ढक्याउँदै हिंडछु
कहिले अखवारका पाना सर्सर्ती पल्टाउँछु
कहिले भीडमा एकटंकार हेर्छु
कहिले दोबाटोमा पागलसरि एक्लै भुत्भुताई रहन्छु
केबल
एक मान्छेको खोजीमा ।

-दिनेश चन्द्र पन्थी “दीप”

March 29, 2010

धूर्तको विनय, गोहीको आँशु र लासमाथीको राजनीति

“अति विनयम् धूर्त लक्षणम्”- संस्कृतको यो भनाई यसो त मैले सधैं नै एकदम सत्य पाएको छु । तर यस पटक भने यो चार शब्दले चार दिनमा  मेरो देशका नेताहरुको चरित्र पुरै दर्शायो ।

प्रंसग गिरिजा कोईरलाको निधन र त्यसपछि विकसीत घटनाक्रमको हो । अघिल्लो हप्ता गिरिजाप्रसाद कोइरालाको राजनैतिक यात्रा र दीर्घ जीवनको पट्टाक्षेप पछि नेपालको राजनितीमा एकचोटी गज्जबको सहिष्णुता, सम-आदर र पर-सम्मानको नाटक देखियो।

उनका आफ्ना दल वा गुटका त कुरै छौडौं, विगतमा उनका कट्टर विरोधी रहेका समेत उनका दूरदर्शी निती, उनको कार्यकुशलता र उनका सोचको प्रशंसा र स्तुतीगानमा व्यस्त रहे । कुरोको चुरोसम्मै सिधै पुग्ने हो भने “नयाँ जोगीका खस्रा छाला” भनेजस्तै गरी उनका नितीसंग सधैं पैठोजोरी गर्दै आफ्नै दबदबा कायम गर्न अग्रसर हुनेहरु नै सबैभन्दा ‘दु:खी’ देखीए ।

उनको सोच र मार्गचित्र अनुसार चलेर देशमा अमन चैन कायम गर्ने र शान्तिस्थापनाको कार्यलाई यथार्थतामा बदल्ने भनेर हरेकले मसाने वैरागका साथ अभिव्यक्ति दिए । मानौं अब सबैजनाको आखाँ खुलेको छ र अब सबै दल र गुटका नेताहरु एक भएर देशको लागि अघि बढनेछन् ।

तर त्यो मसाने वैराग्य र गोहीका आँशु ३ दिन पनि टिक्न सकेनन् । अनि सुरु भयो शक्तिको लागि आ-आफ्नो हकदाबी गर्ने र हैकम देखाउने खेल । उनको अवसानमा जसरी दल र दल बाहिरका सबैले औपचारिकता प्रदर्शन गरेका थीए, त्यसरी नै उनको निधन भएको ७ दिन पनि नपुग्दै आठ थरिका दाबी र हकका हैकमहरु पार्टी भित्र र बाहिरबाट पनि निक्लन थाले ।

दलमा उनको मृत्युको तेस्रो दिनदेखि नै “अब को?” वा “मै हुँ अब” भन्ने शीतयुध्द चर्कीन थाल्यो भने दल बाहिर पनि एकातर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रको नेतृत्व आफैंले गर्न पाउनु पर्ने मागका साथ प्रचण्ड देखा परे भने अर्कोतर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रले सरकार ढाल्ने तयारी भैरहेको थीयो भन्ने ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गर्दै बाबुराम भट्टराई निस्केका छन । फेरि प्रधानमन्त्री रहेका माधव कुमार नेपाले पनि यहि बेलामा ‘गिरिजा कोईरालासंग ३ हजार मात्रै सैनिक समायोजन’ गर्ने सल्लाह भएको उजागर गरेका छन ।

यही रीतमा जाने हो भने नेपालको राजनीतिमा आउँदा दिनमा यस्ता धेरै ‘सल्लाह’ र ‘निर्णय’ हरुका ठेली नै लाग्नेमा कुनै शंका नलिए हुन्छ ।

उदेक लाग्ने कुरा त के भने, यो सबै ‘गोप्यता’ र ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गरिरहँदा न त कुनै नेतालाई  धक वा लज्जाको महशुस भएको छ न त कसैलाई जनताका पिठ्युँ पछाडि बसेर यस्ता नानाथरी गोप्य सम्झ्यौता र समझदारी गरेको भन्दै हिँडदा एकजना दिवंगत आत्माको सम्मानको ख्याल नै आएको छ ।

कोईराला अब हाम्रो सामुमा छैनन् र अबका दिनमा कुनैपनि अलीखित मुद्दा वा विषयका वारेमा उनका धारणा वा सोच के कस्ता थिए भन्ने वारेमा जसले जे सुकै भनेपनि उनी त्यसको समर्थन वा प्रतिवाद गर्न हाम्रो सामुन्ने आउने छैनन् । यस्तो अबस्थामा, यसलाई मौकाको रुपमा लिँदै आफूलाई जहाँ जे कुरामा फाईदा हुन्छ त्यहाँ ‘कोइरालाले यस्तो भनेका थिए’ वा ‘उनीसंग यस्तो तय भएको थियो’ भन्दै हिँडनु कतिसम्म तर्कसंगत र मानवताका कुरा हुन ।

हुन त लासमाथी राजनिती गर्ने वा लासमाथी चढेर सत्तामा जाने मार्ग नेपाली राजनितीमा कुनै नौलो कुरा भने होईन, तर एकजना राजनितीज्ञ, जसले आफ्नो पुरै जीवन प्रजातन्त्रको लढाईमा खर्चे (उनका कमी –कमजोरीको कुरा यसपाला नगरौं) उनको मृत्युलाई समेत मौका बनाउन खोज्नु भने पक्कै पनि एकदमै अशोभनीय र घृणीत कार्य हो ।

हुनसक्छ, कतिपय राष्ट्रिय समस्या वा आगामी रणनितीका वारेमा उनीसंग अन्य दल वा आफ्नै दलका अन्य सदस्यहरुसंग केही बिचार विमर्श वा सर-सल्लाह भएका होलान । तर लीखित दस्तावेज नरहेका हदसम्ममा अब उनको नाम उचालेर आफ्नो स्वार्थ सिद्द गर्न खोज्नु कसैलाई पनि शोभा दिने कुरा हैनन् ।

म चाहन्छु, उनको निधनको लगत्तै दिएका वक्तव्य र समवेदनाका शब्दहरु हाम्रा सबै कमजोर स्मरणशक्ति भएका नेताहरुले एक पटक आफैं पढेर हेरुन अनि दिवंगत आत्माको बदनाम गर्न हैन, सम्मान पूर्वक राष्ट्रीय समस्या र मुद्दामा सहमतिको मिलन बिन्दुमा पुगुन । राजनीति फोहरी खेल नै होला तर यसलाई यत्ती फोहर पनि नबनाउँ कि यसले शारिरिक दायरा नाघरे कसैको आत्मालाई पनि विकृत बनाओस ।



यस्तो लाग्छ किन!?



सारंगीको धुन भै बजिरहने यो मन भित्र

मिर्मिरेको चिर्बिर झै झन्कार दिने तनभित्र

गुन्जी रहने आवाज मिठो पहरामै हरायो कि!

झ्याउकिरीको स्वर पनि चोरु चोरु लाग्छ किन?


पर्खाइ यो निमेषको पुरै युग बनाउ कि त

दोबाटोमा लुकेर आँखा भरी बिछ्याउ कि त

मनभित्रका खुलदुली पोको पारी पछ्यौरीमा

छटपटीका मीठापल रोजु रोजु लाग्छ किन?


तरंगमा झुम्दै बसे झनै झुमिरहु लाग्ने

भावनाको रंग कस्तो अझै रंगु जस्तो लाग्ने

रहर साँच्ने अधर, तृषित् ति नयन भित्र

रमाउदै जुनीभरी लुकु लुकु लाग्छ किन ?


March 28, 2010

गिरिजाबाबु

गिरिजाबाबु !!!

गिरिजा बाबुले सांसारिक देह त्याग गरेको एक हफ्ता भयो। अझै पनि गिरिजा बाबु लाई गाली गर्नेहरुको स्वर सुकेको छैन, अझ गाली दिनेहरुलाई ताली बजाउनेहरुको घुइंचो माइसंसार देखी साझा डट कम सम्म यथेष्टै भेटिन्छन्। मृत्‍यु भन्दा धेरै अगाडि मृत्‍युको कामना गर्नेहरु पनि त्यतिकै भेटिए। शत्रु मर्दा पनि मलामी जाने हाम्रो संस्कारलाई रिमिक्स गरेर गिरिजा मर्दा पार्टी गर्ने नयाँ नेपालका नयाँ सन्ततिहरु पनि देखिए।

निश्चय नै गिरिजा बाबु प्रसंशाका पात्र मात्र थिएन। अनेक गल्ती र कमजोरिहरु उहाँमा थिए र गरे पनि । तर देश र प्रजातन्त्र प्रतीको अडान र लगावमा शंका धेरै थोरैले गरे । देशको संक्रमण काल मा १०८ तिर फर्केका नेताहरुलाई एक ठाउमा ल्याउन सक्ने अदभूत गुण उहाँमा थियो र उहाँको आबश्यकता सबैले महशूश गर्दै छन अहिले। सबै भन्दा बढी मृत्‍युको कामना गर्ने जंगलिहरुलाई अहिले सबै भन्दा बढी याद आएको छ। बाबुराम भट्टराई को शब्द सापटी लिने हो भने उहाँले पनि अभिबावक गुमाउनु भयो ।

जिन्दगी मा एक पल्ट गिरिजा बाबु लाई भेट्ने मौका मिलेको थियो । २००१ तिरको कुरा हो । केही इन्जिनियर साथीहरु संग गिरिजा बाबु कहाँ डेलिगेशन गएका थियौं , महाराजगंज स्थित डा शशांक कोइरालाको घर मा। गिरिजा बाबुले दिएको समयमा घरमा हुनुथेन, हामी बाहिर चक्रपथको चिया पसलमा चिया खाँदै उहाँ आउने प्रतिक्षा गरी रहेका थियौं। एक से एक नेता भनौदा इन्जिनियर साहेबहरुले म गिरिजा लाई यो भन्छु, उ भन्छु । यस्तो गर्नु हुँदैन , यहाँ यस्तो अन्याय भएको छ आदी इत्यादी फलाक्दै थिए। कारीब आधा घण्टा पछी गिरिजा बाबु को गाडी आएको देखे पछी सबै गिरिजा बाबु को निवास तिर लाग्यौं ।

केही समय पछी नै गिरिजा बाबु बैठक कोठा आउनु भयो र उहाँ बस्ने निर्धारित कुर्सीमा बस्दै पहिला ढिला भएको मा क्षमा माग्नु भयो र भन्नु भयो " भाईहरु को गुनासो भनाइ के के छ, एक एक गर्दै भन्नु होला "। यती के भन्नु भाथ्यो, सब को बोली बन्द। कसैको मुखबाट एक शब्द निस्केन । अघी मै हुँं भन्ने नेता महोदयको त झन अनुहार हेर्न लायक को थियो । साच्चै उहाँको मुहार मा गज्जबको कान्ती थियो। एउटा यस्तो ब्यक्तितित्व थियो, मै हुं भन्नेको पनि बोली अड्किन्थ्यो।

"केही छैन भने किन आउनु भएको तपाईंहरु ? म हिंडे । चिया खाएर जानु होला।" भन्दै गिरिजा बाबु कुर्सिबाट् उठ्नु भयो र यत्तिकैमा एकजना मित्र जो गिरिजा बाबुको मा आउने जाने गर्थ्यो ,ले बडा हिम्मतका साथ हाम्रो गुनासो एक सास भनी हाले।

गिरिजा बाबु ले यहाँ यो कुरा, म आजै फोन गरेर भन्दिन्छु, समाधान हुन्छ, ढुक्क भएर जानुस् भन्दै संगै उभिएका सहयोगी शायद गोकर्ण पौडेल हुनुहुन्थ्यो होला, लाई भरे मलाई सम्झाउनु भन्दै माथि कोठा तिर लाग्नु भयो ।

आज आएर मेरो मानसपलट मा गिरिजाको अगाडि प्रचन्ड पनि लुत्रुक्क भन्ने समाचार तैरिएको छ। अजब को ब्यक्तित्व नै सबै जना झुक्नु को कारण जस्तो लाग्छ। पार्टिको आनतरिक बादबिबाद पनि गिरिजाबाबु को अनुपास्थितिमा उहाँ माथि खनिनेहरु उहाँको अगाडि भिजेको मुसो बनेको धेरैले पढेको देखेको समाचार् हो ।

देशले एक योग्दा गुमाएको छ। उहाँ प्रती हार्दिक श्रद्धान्जली ।

March 27, 2010

कति पो याद गरिबसिन्छ र ?

evenlope-blank-address

साहित्य रचना गर्दा आफ्नै अचम्मको आनीबानीदेखि जिल्ल परिन्छ कहिले त !  

परीक्षाकै मस्त धपेडीका बीचमा पनि जगमगाउँदा लाइनहरू आएर बिथोलिएको छु म पटक-पटक । तैपनि आफूप्रति कुनै गुनासो लाग्दैन । रमाइरहेकै हुन्छ मन परीक्षामा तयारी नपुग्दा पनि । हैरान मुटुको धड्कन मानौँ तिनै भर्खरै कोरलिएका लाइनहरूमा थामिएर बसेको हुन्छ । ;)

(यस्तो भोगाइ हामीमध्ये कतिपयको साझा हुँदो हो ।)

  यसपालि पनि त्यस्तै भयो । बिरामी परेँ । मुख नमीठो । मन भने उडेर कहाँ पुग्ने ! केही कुराको सकसक । शरीरले साथ नदिएको यस्तै बेलामा दही, अमिलो-पिरोको सम्झना आउने । आफ्नो सक्रियता कतै लिसोजालमा छटपटाएको पन्छी जस्तै अल्झिरहे जस्तो बेचैनी । ठीक मात्र भए त के-के मात्र गरिसक्थेँ अहिलेसम्म भन्ने जोस मनमा ठिङ्गिने । यता शरीरको ताल हेर्दा अनि त त्यो जोसको धरहरा गर्ल्यामगुर्लुम ढल्ने !

र पनि यसपालि बिरामी भइरहँदा अपूरो एउटा गजललाई पार लगाएँ । ताजा रूपमा यही ‘बिरामी-सौगात’ दौँतरीमा बाँडिहाल्न हतार लाग्यो ।

---------------------------------------------------------------

कुरा पुराना कति पो याद गरिबसिन्छ र
मेट्ने ठेगाना कति पो याद गरिबसिन्छ र ?

दिनेले महान् इतिहासको संज्ञा दिए पनि,
गुप्‍त खजाना कति पो याद गरिबसिन्छ र ?

उस्ताउस्तै मुखुण्डो लिएर आउने र जाने,
क्या-क्या जमाना कति पो याद गरिबसिन्छ र ?

उमेरमा त के-के गरियो कतिलाई रिझाउन,
नाना बहाना कति पो याद गरिबसिन्छ र ?

मुस्कानको पनि मिति पुग्दोरैछ, बग्दोरैछ,
ती मोतीदाना कति पो याद गरिबसिन्छ र ?



March 26, 2010

माईसंसारकी सुमिना बुझाइ ठाउंमा ल्याउने हो की?

सर्बप्रथम त कुकुरले आची खानु भन्दा पहिले डिस्को गएर समाचारमा छाएको मा बधाइ। सानै उमेरमा सेलीब्रिटी भएछौं,पत्रपत्रीकमा फोटो छापियो,११,१२ गन्दै गरे,अहिलेलाइ पत्रिकाकै थोपडामै गर्ब गरे। सरकाले अनुमती दिएको डिस्कोमा सबेरै पूगेकोमा स्विकार गर्यो। आखिर मान्छे नै उपस्थित भएपछी स्कुले ड्रेसको के कुरा भो र? बंक पार्टीमा
भेला भएकोमा गर्भ या हिनताबोध लिनु महत्ब होइन,खाने बेलामा हग्ने हग्ने बेलामा खाने त्यसमै कुरो टुंगियो,सायद त्यसैले लाज लाग्यो होला।

म त भन्छु एक दुइ जना बंक गरेर कुनै झुण्डमा नझ्याम्मिय कमसल नागरिक कसरी जन्मिन्छ। सबै असल नागरिक भए त जेलका कर्मचारीको भोली नै जागिर चट। यो हिनमय नौटंकी बर्तमान समयको नया आयाम हो भनेर सोच्नु बेकार हो। पौराणीक कालमा पनि दैत्य भएको कस्लाइ थाहा छैन? तिम्रा जेल नेलका टाइटुइ माइसंसारमा देखेको थिए। संसारै सांगुरो भएको अबस्थामा हलिउड स्टाइलका कथा दिनानु दिन पत्रपत्रिकमा आइरहन्छन। अमेरिकमा ११ बर्षको बच्चाले रक्सी पियो, नेपालमा ११ कक्षामा पढ्नेले बोतल समाते,यसमा संसारले नौलो मान्दैन। तिम्रो आपत्ती जनक अबस्थाको माने नबुझेकोमा ११-१० मा पुग्नु पर्ने भो। मान्छेको उमेर फरक हुन्छ त्यसै अनुसार उसको दिमागको बिकास हुन्छ। ११-१०मा पढ्नेले कती पय बयस्कका कुरा बुझाइको दायरा भन्दा पर हुन्छन। बिकसित देशमा ११-१०का लागी ब्यसकका संसारबाट कानुनले नै नजिक आउन अनुमती दिंदैन। तर १०+१मा पूगेकाले आफूले बयस्क ठान्दा ठान्दै बुझाइ बयस्कमा नआउनुमा मलाइ छक्क परू परू लाग्यो।

प्रहरी नायब उपरीक्षक राधिका खड्का को हुन परिचय चाहिएन,सरकारी बर्दीमा उनी आउछिन त उनको बोलीनै कानुन हो। कानुनको खिलाफमा जानु म उचित ठान्दीन। उनी कसरी जन्मिन?उनका बुवाले हलो जोतेर पक्कै उनलाइ भेटाएका होइनन,नत न‍-सुमिनालाइ? सुमिना तिम्रो बुझाइ सोझाउन माथीका पाठ उपपाठ बाचन गरेको होइन। तर सार्बजनिक अबस्थामा योनजन्य क्रियक्रलापमा प्रहरीले हात किन लगायो भनेर प्रश्न सोध्यौ। यसमै हांसो उठ्यो। हास्न पनि ठिक होइन कि, म पाइला पछाडी हटाउंदै छु। प्रहरीले बटौलीको डांका समात्ने मात्र होइन समाजमा असान्धर्भिक हर कुरा प्रहरीको चासोको बिषय हुन्छ। आफ्नो अधिकारमा जे गर्न पनि सकिन्छ तर समाजमा कानुन छ,त्यसको हेक्का प्रशासनले गर्छ। बाटोमा नांगै हिन्नु आफ्नो अधिकार होला तर त्यसमा अरुलाइ असर पर्छ कि पर्दैन त्यो प्रहरीले बिचार गर्छ,अरुलाइ असर पारे पुलिस हत्कडी लिएर जाइ लागे कामी गाली नबर्साउनु,बरु आफ्नो बुझाइ ठाउंमा ल्याउनु।

(यो ब्लग सुमिनाको ब्लगमा आधारित)