March 9, 2010

Mankato Level Examination


केही समय पहिले अमेरिकाको म्यान्केटो स्थित Minnesota State University, Mankato मा नेपाली प्रोग्राम हेर्न जाने मौका मिलेको थियो। प्राय नेपाली प्रोग्राममा जांदा कुनै रमाइलो कुरा भिडियोमा कैद गरेर पाठक समक्ष बाढ्ने प्रयास गर्दछु। कार्यक्रम तालीकामा दोहोरी गित पनि थियो। यही रमाइलो प्रस्तुतीलाइ कैद गर्न समय कुरेर बसें। दोहोरी गित कैद त गरें तर दोहोरी गितको प्रस्तुती सार्है कमसल भएकोले तपाइको समय बर्बाद गर्न उचित ठानिन। दोहोरीमा महिला समुहले भने पुरुषहरुको तुलनामा राम्रो नै गरेका थिए है। हुन त उक्त कार्यक्रममा अन्य राम्रा प्रस्तुती नभएका भने होइनन। उदाहरणको रुपमा यांहा प्रस्तुत मण्डलालाई नै हरौं। तर त्रुटीपूर्ण र फितलो प्रस्तुतीले सबै रमाइला कुरा खल्लो बनाइदियो। यसो र उसो भनेर MSUका बिध्धार्थीको मनोबल गिराउन भने मेरो उदेष्य होइन,अर्को साल राम्रो प्रस्तुती गर्नुहोला,तपाईहरुको बखान गरेर पक्कै दौंतरीमा केही कोर्ने छु।

अहिलेलाइ भने उक्त प्रोग्रममा सोधिएका प्रश्न र कार्यक्रम तालिकामा लेखिएका सामाग्री तपाइहरु समक्ष राख्दैछु। तपाइले उक्त कार्यक्रममा भनिएका उत्तरसंग उत्तर मिलाए तपाइ पनि Minnesota State University, Mankatoबाट दिक्षान्त हुनुहुनेछ।

नेपाललाइ कुन कुन देशका सिमानाले छोएका छन?

नेपालको राष्ट्रिय रंग के हो?

नेपाली राष्ट्रिय झण्डामा कतिबटा त्रिभुज छन?

काठमाण्डौ हिउं पर्ने स्थान हो कि होइन?


March 8, 2010

बिहाबारी ४० वर्षपारि

लगनगाँठो कसूँला र ढुक्कले गृहस्थी जीवनमा बसूँला भन्ने विचारमा हुनुहुन्छ भने बेलैमा होसियार ! लगनपछिको पोते जसरी काम लाग्दैन, लगनअघिको फाइँफुइँ हतारो पनि बेकार हो । लगनगाँठो कस्नै छ भने ढुक्क हुनुस्, उमेरको ४० औँ फन्कोलाई छुनुस् । भोगेर पचाइसकेकाहरू बिहे गर्नुअघिको जोस बिहे गरिसकेपछिको होसमा पुगेर खर्ल्यामखुलुम् ढल्ने भएकाले चरैवेती चरैवेती अर्थात् बिस्तारै हिँड भन्छन् । तर उमेरको जोसमा केको बिस्तारै हिँड्ने कुराले टेरपुच्छर लाउला ? बिहेको लड्डु खाएर पनि पछुताउने नखाएर पनि पछुताउने खालको छ भने खाएरै पछुताऊँ भन्ने लागेर बुर्कुशी मारिहाल्न मन हुँदो हो धेरैलाई ।

तर पख्नुस् न, मन लाग्दैमा यहाँ के हुन्छ र ? पश्चिमका जर्ज बुस ठूलाबालाई इन्धन-सम्पदाले भरिपूर्ण र छिरिक्क तागत देखाउने देशहरूलाई आफ्नै मुठीमा किचिमिची पार्न मन लागेको थियो, उनी सफल भए ? उता जङ्गलको राज्यमा हङ्गामा मच्चाउने 'टाइगर'जस्तै डुक्रिएर आफ्नो जातीय हक खोज्न सिकारमा उत्रिने तमिल टाइगरका भिल्लुपिलाइ प्रभाकरण तमिल राज्यमा मस्तले राज गर्न चाहन्थे, उनी सफल भए ? त्यसैले मन हुँदैमा बिहे हुँदैन, बिहे हुने बेला हुन्जेल उमेर रहँदैन । जे जस्तो भए पनि नहुनु मामाभन्दा कानो मामा सही भने झैँ बिहे नै नहुनुभन्दा अधबैँसे उमेरमै भए पनि बैँसको रौनक बटुल्नु वेश हो ।

बिहेको कुरा गर्दा विवशताको कुरालाई छुटाउन मिल्दैन । विवशतालाई बिहेबारी र घरपरिवारको साक्खै दाजु भने हुन्छ । जुनसुकै कुरा विवशताको सामु पर्दा आदरभाव, डरले गर्दा लुचुक्क हुन्छन् । युवायुवतीलाई रहरलाग्दो कुतकुतीले पिरोल्ने बिहेको चक्कर ४० वर्षो अर्धबुढ्यौलीमा ठक्कर खानपुग्नुमा यही विवशताको हात बढी छ । अनेकौँ  घिसापटानमा बाँधिएको-तानिएको अबका मान्छेले भरिभराउँदो उमेरमै बिहे गर्नु सपनामा पनि नचिताए हुने स्थिति छ ।

मेसिनरी जिन्दगीमा दशतिरको तानातानीले बिहेको कुरा त परै जाओस्, आफू जिएको कुरा नै सम्झिन मुश्किल हुन्छ । मकै-भटमास मात्र पाइने देशमा गिजा मात्र खसरखसर रगड्ने थोते बूढाबूढी भर्खर बसाइ सरेर पुगे जस्तो 'न त गरिखानु ल त मरिजानु'को हत्तेमा जिन्दगी रुमलिन्छ । त्यस्तो च्यापाच्यापमा बिहे त कुन चरीको नाम ?

पढाइ पूरा गर, अझै माथिको इज्जतदार डिग्री र पुच्छर हासिल गर, जागिरको लागि आवेदन देऊ, केही हुन्छ कि भनी पर्ख, यता खुसामद गर उता रिझाऊ, गाउँको खेत बेचेर सहरमा एक टुक्रो घडेरी किन, त्यो सस्तोमा किनेको टुक्रोको दाम बढेपछि त्यो बेचेर अर्को जगेडा घडेरीमा पैसा फालिराख्ने जुक्ति गर । एवम् रीत चल्दै गर्छ । व्यापार-व्यवसाय गरिरहेको हो भने अर्कोको व्यवसायमा केही समय बिताऊ, केही समय त 'अनुभव' हासिल गर्नमै लागिहाल्छ, अरु थप योग्यता हासिल गर्न थप समय लगाऊ, त्यो सिकेको कुराले आफ्नो छुट्टै व्यवसाय चलाउन सक्छु भनेपछि त्यहाँबाट टाप कस । टाप कसेर आफ्नो उद्यम सुरू गरेर मात्र भएन, पहिले आफू अरूकोमा काम गरे जस्तै आफ्नोमा अरू कर्मचारी र कामदार राखेपछि रेखदेख गर, हिसाबकिताब मिलाऊ । आदि क्रमले बुढ्यौलीको घनघोर बहार आउन कुन आइतबारको कुरो भयो र ?


March 6, 2010

सार्बजनिक पार्कहरुको अभावमा काठमाण्डौंको दुरावस्था


काठमाण्डौको अव्यबस्थित सडकहरु, सडकको आसपासमा खोलिएका जथाभाबी खुद्रा पसलहरु, उकुसमुकुस पार्ने धुलो धुँवा, सवारीसाधनबाट निस्कने आवाज, अव्यबस्थित ढलनिकाश, जथाभाबी रहेका फोहोरका थुप्रोहरु, सडकको वरिपरी राखिएका निर्माण सामग्रीहरु, मनलाग्दी तवरले पार्किङ गरिएका सवारीसाधनहरु आदि कुराहरुले यो शहरलाई राजधानी शहरको सामान्य मापदण्ड भन्दा निकै पछाडी पारेको छ । तिब्र शहरिकरण सँगै खुला ठाउँहरु तथा सार्वजनिक पार्कहरुको बिस्तार तथा व्यबस्थापनमा सम्बन्धित निकायहरु उदासिन छन्। खुला हरियाली ठाऊँहरु तथा सार्बजनिक पार्कहरु शहरी जिवनका “लाईफ ब्लड” हुन्। यस्ता ठाउँहरुको विस्तार तथा व्यवस्थापन शहरी क्षेत्रमा मानव जिवनको प्रत्यक्ष सुरक्षा र व्यवस्थापन हो।
वाताबरणिय हिसाबले कचौरा आकारको काठमाण्डौ उपत्यका आफैमा त्यति उत्तम मान्न सकिन्न त्यसमा पनि फोहोर र अव्यबस्थित शहरीकरणले आक्रान्त पारेको यहाँ स्वच्छ तथा खुला वातावरण कल्पना बाहिरको कुरा भएको छ । काठमाण्डौ स्थित विभिन्न हस्पिटलहरुमा बुझ्दा वायु प्रदुषणको कारणले दिनानुदिन दम रोगीहरुको संख्या बढिरहेको छ । यसैगरी आँखाको समस्या, सुगर, वाथ तथा विभिन्न स्केलका मानसिक रोगीहरु बढ्ने क्रम तिब्र छ।
लगभग २००० बर्ष पुरानो काठमाण्डौ सभ्यता खुला ठाउँ तथा सार्वजनिक पार्हरुको संरक्षण, विस्तार तथा मनोरञ्जनात्मक हिसाबले पार्कहरुको विकाश गर्नेकुरामा सबैभन्दा कान्छो देखिएको छ। सार्वजनिक पार्कहरुको संरक्षण र विस्तार सम्बन्धी इतिहास हेर्दा युरोपमा १६ औं शताब्दीको पुनर्जागरण युगसगैं आवश्यकता महसुस भएको पाइन्छ। लगभग १८ औं शताब्दीको मध्ये तिरबाट मनोरञ्जनात्मक हिसाबमा सार्वजनिक पार्कहरुको विकाश भएको थुप्रै उदाहरणहरु छन् तर यस क्रमलाई तिव्रता दोश्रो विश्वयुद्धको समाप्ती पछि सरकारी तवर बाटै भएको पाईन्छ। हाल आएर विभिन्न शहरहरुमा खुला ठाउँहरु घटने क्रम रहेपनि सरकारी सतर्कता कायमै रहेको छ। वासिङटन डि.सी. मा मात्रै लगभग ३५ प्रतिशत ठाउँ खुला तथा सार्वजनिक पार्कहरुको लागि तथा संसारका थुप्रै प्रमुख शहरहरुमा लगभग १० देखी १५ प्रतिशत क्षेत्रफल यस्ता ठाउँलाई छुट्याईएको पाइन्छ। डब्लु. एच. ओ. को मापदण्ड अनुसार शहरी इलाकामा घटीमा ११ वर्ग मिटर खुला हरियाली क्षेत्रफल १ जनाको लागि चाहिन्छ, यस हिसाबले पनि ४० लाख जनसंख्या भएको काठमाण्डौ उपत्यकाको लागि शहरमा लगभग ४४ वर्ग किलोमिटर अर्थात जम्मा ६६५ वर्ग किलोमिटर क्षेत्रफल भएको उपत्यकाको ७ प्रतिशत भुभाग खुला तथा सार्वजनिक पार्कहरुको लागी छुट्याउनु पर्दछ। तर उपत्यका स्थित ५ नगरपालिकाहरुको तथ्याङ्क हेर्दा पोखरी, नदिनाला,खेलकुद मैदान र पार्कहरुको संयुक्त क्षेत्रफल लगभग ३ प्रतिशत मात्रै छ त्यसमा पनि सार्वजनिक पार्कहरुको क्षेत्रफल त सुन्य दशमलव ५ प्रतिशत भन्दा कम छ। मनोरञ्जनात्मक हिसाबले बनाईएको पार्क त काठमाण्डौमा सुन्य नै छ।
सरकारी निति हेर्दा छैटौं पञ्चबर्षिय योजना (सन १९८०-१९८५) देखि पछिका हरेक योजनाहरुमा वाताबरण संरक्षण सम्बन्धी कुराहरु उठिरहेका छन्। संयुक्त राष्ट्र संघ को सन १९९२ को वाताबरण तथा विकाश सम्बन्धी रियो सम्मेलनमा नेपालको तर्फबाट औपचारिक हस्ताक्षर भई त्यसै सालमा वाताबरण सुरक्षा परिषदको स्थापना गरिएको थियो। सन १९९७ मा वाताबरण संरक्षण सम्बन्धी ऐन तथा नियमहरु बनाउनुको साथै सन २००२ मा नै उपत्यकाको दिर्घकालिन विकाश योजना अन्तर्गत सार्वजनिक पार्क तथा जलाधार क्षेत्र संरक्षण सम्बन्धी विषय पास गरिसकेको छ। हाल ३ बर्षे अन्तरिम योजनामा वातावरण संरक्षण तथा व्यबस्थापन अन्तर्गत अनुमानित रु. १३० मिलियन रकम मध्ये रु. ३० मिलियन रकम युयन पार्क निर्माणमा तथा ४ दशमलव ५ प्रतिशत रकम सामाजिक जागरणमा छुट्याईएको छ। यसका साथै शहरी विकाश योजना अन्तर्गत पनि खुला तथा सार्वजनिक पार्क सम्बन्धी शिर्षकमा रकम छुट्टिएको पाईन्छ। निति निर्माणमा त्यति कमजोर नदेखिए पनि कार्यान्वयनमा सरकार तथा महानगरपालिका मौन नै छ। नयाँ निर्माण गर्नु त कहाँ हो कहाँ भएका पार्कहरु पनि फोहोर र अब्यवस्थित छन्।
शहरी जीवनमा सार्वजनिक पार्कहरुले व्यक्तिको शारिरिक तथा मानसिक अवस्थालाई सन्तुलन राख्‍न ठुलो भुमिका खेल्दछ। स्वभाविक रुपले यस्ता पार्कहरु हुँदा दैनिक शारिरिक कसरत गर्ने, साथीभाईहरु सँग घुलमिल हुने, व्यापार व्यवसायमा तनाव हुँदा खुला ठाउँहरुको आनन्द लिने प्रवृतिको विकाश भई विभिन्न रोगहरु जस्तै डिप्रेशन, उच्च रक्तचाप, मुटुरोग, सुगर, दम ईत्यादि स्वत रुपमा कम हुँदै जान्छ। यस्ता ठाउँहरुको नियमित प्रयोगले मानिसहरुको मानसिक अवस्थामा प्रवलता आई दैनिक काम गर्ने जोस जाँगरमा व्यापक विस्तार हुन्छ। अमेरिकी डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सेन्टरको रिपोर्ट अनुसार सार्वजनिक पार्कहरुको आवतजावतमा सहज बनाएपछि साबिकको भन्दा २५ प्रतिशत बढी मानिसहरु हप्‍तामा ३ दिन भन्दा बढी शारिरिक अभ्यास गर्ने भएका छन् त्यसैगरि उनिहरुमध्ये धेरैमा ४८.४ प्रतिशत बढि शारिरिक अभ्यास गर्ने आदत भएको छ साथै सार्वजनिक पार्कहरुमा आवतजावत बढ्दा युवाहरुको आपराघिक मनोवृतिमा धेरै नै कमि आएको छ। सन् १९९६ को अमेरिकाको सर्जन जनरलको विस्तृत विवरण अनुसार नियमित अभ्यास गर्ने मानिसहरु अकाल मृत्यु, मुटुरोग, उच्च रक्तचाप, कोलोन क्यान्सर तथा डायबिटिजका समस्याहरुबाट बच्न सक्छन् तथा उनिहरुको स्वास प्रस्वास र पाचन प्रणालीमा व्यापक सुधार हुन्छ।
वातावरणिय हिसाबले हेर्दा २४ घण्टासम्म १० कोठालाई चाहिने बराबर को कुलिङ इफेक्ट एउटा ठुलो रुखबाट त्यति नै समयसम्म हुने वाष्पिकरणले प्रदान गर्न सक्दछ। यु.यस. फरेस्ट सर्भिसका अनुसार ५० बर्षको अवधीमा एउटा रुखले ३१,२५० डलर बराबरको अक्सिजन उत्पादन, ६२,००० डलर बराबरको वायु प्रदुषणमा रोकथाम, ३७,२५० डलर बराबरको पानी प्रशोधन तथा ३१,२५० डलर बराबरको भुक्षय रोकथाम गर्दछ । त्यसैगरी शतप्रतिशत रुखहरुले ढाकेको ठाउँमा रुखहरुले १४ प्रतिशत सल्फर डाईअक्साइड, १५ प्रतिशत ओजोन, १३ प्रतिशत धुलोको शुक्ष्म कणहरु, ८ प्रतिशत नाइट्रोजन डाईअक्साइड तथा ०.०५ प्रतिशत कार्बन मोनोअक्साइड घटाऊँदछ। सार्वजनिक पार्कहरु सम्बन्धी सरोकार राख्‍ने अमेरिकी संस्था ‘द ट्रष्ट फर पब्लिक ल्याण्ड’ को अनुसार पार्कहरु तथा प्रशस्त हरियाली भएको ठाउँहरुमा मानिसहरुको चहलपहल बढनाले पर्यटकिय बिजिनेस तथा अन्य ब्यापार बिजिनेसमा अत्यधिक बृद्धि हुनुका साथै यस्ता ठाउँहरुमा घर जग्गाको मुल्य अन्य ठाउँहरुको तुलनामा धेरै हुनेगरेको छ।
सन २००१ मा नेदरल्याण्डमा गरिएको हरियाली र स्वास्थ्य सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा दुईटा प्रमुख कुरा सार्वजनिक गरियो। पहिलो: हरियाली भएको ठाउँमा स्वास्थ्य सम्बन्धी सिकायत कम देखियो, दोश्रो : सबैखाले प्राकृतिक हरियाली जस्तै शहरी खुला तथा सार्वजनिक पार्कको हरियाली; कृषि तथा खेतिपातीको हरियाली र बन जंगलको हरियाली स्वास्थ्यको लागी उत्तिकै प्रभावकारी देखियो।
यी तथ्यहरुलाई मध्यनजर राख्दा काठमाण्डौमा सार्वजनिक पार्कहरुको प्राथमिकताका साथ विस्तार तथा व्यबस्थापन गर्नुपर्ने देखिन्छ साथै देश भरि नै शहरीकरण हुदैं गरेका ठाउँहरुमा सार्वजनिक पार्कहरु निर्माणको लागि प्रयाप्त ठाउँ र रकम छुट्याउनु पर्ने जरुरी छ। हेर्दा मनोरञ्जनको लागी मात्र जस्तो लागेपनि यी कुराहरु मानिसको प्रत्यक्ष शारिरिक, मानसिक तथा सामाजिक अवस्थामा सरोकार राख्‍ने कुराहरु हुन्।
- ई. दिनेश चन्द्र पन्थी
[email protected]

March 5, 2010

गाउँखाने कथा - ३६ (Nepali Gau Khane Katha)

अपडेट: गाउंखाने उत्तर मिलाउने, मिलाउन प्रयास गर्ने सबै दौंतरीहरुलाई धेरै धेरै धन्यबाद।

गाउं खाने कथा ३६ को सही उत्तर हो नाम। गाउंखाने कथाको उत्तर मिलाउने कमलादी,बिबेक र मनजी ले गाउं पाउनु भयो। पहिलो उत्तर मिलाउने कमालदी जीले (प्रजवल॒) मन पर्ने गाउं माग्नुहोला।
----------------------------------------------------------------------
सधैं जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर हुने केही समय सम्म हराउन पूगें। पून गाउं खाने कथा ल्याएको छु, रमाइलो गर्नुहोला।

त्यो कुरा आफ्नै हो,तर आफुले भन्दा अरुले धेरै चल्ती गर्छन, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


March 4, 2010

मेरी प्यारी वाग्मती



अहो ! आज एकाबिहानै
तिम्रो अट्टहास देख्दा,
तिम्रो अस्वभाविक उन्मुक्तता देख्दा,
फोहोर र दुर्गन्धित नै भएपनि तिम्रो पुष्ट वदन देख्दा,
पारि क्षितिजको रक्ताम्मे लालिकिरण सँगै
सकिनसकि तिमी नवयौवना हुन खोजेको देख्दा
तिमी प्रतिको मेरो पुरानो सम्बन्ध
कता कता आज टुसाउन लागेको भान भईरहेछ



तिम्रो मेरो सम्बन्ध टुटाउन
ति भुस्याहाहरुले के मात्रै गरेनन्
तिम्रो अधरमा गन्हाउने थुप्राहरु राखे,
तिम्रो वदनमा अनेक प्रेमलिलाहरु रचि उफ्रिए,
तिम्रो भावभङ्गीलाई रोक्न अनेक संगीनहरु उठाए,
तिमीलाई बलात्कार गरि समाजमा तिम्रो छवि
फोहोरी,
छाडा,
गन्हाउने,
ब्यभिचारिणी
आदि इत्यादि उपमा सहितको बनाए
तिमीलाई तिम्रो मुहार देखाउन लाजमर्दो बनाए



तर
विशाल हृदयकी तिमी
समाजबाट विक्षिप्त हुन खोज्दा पनि सकेकी छैनौ
अनेक नराम्रा उपमाहरु लिएर पनि
सुध्रने चाहनामा छौ
सायद,
तिमीलाई तिम्रो त्यो पुरानो यौवनको याद आए जस्तो छ



आखिर,
म पनि त त्येसैमा लठ्ठिएको थिएँ
तिम्रो मन्द मुस्कान,
तिम्रो शान्त स्वभाव,
तिम्रो चौडा वक्षस्थल,
तिम्रो विशाल उदारता,
तिम्रो मनोहर आकृति,
तिमी वरिपरि झुल्ने
पुष्पवाटिकाहरु,
वासन्ती बगैचाहरु
तिमीसँगै लहडिने मौसमी लताहरु,
तिमीलाई साथ दिने गुलावी असारे फुलहरु,
तिम्रो छातिमा सुगन्ध भर्ने श्वेत कमलहरु
मेरो लागी पनि त औधि आकर्षणका विषयहरु नै थिए



यो मेरो पर्खाई
आज तिम्रो वर्षे अट्टहास सँगै
आनन्दित भईरहेको छ
आखिर
यो दुनियाँको लागी तिमी
ढलमति,
मलमति,
भलमति,
रोगमति,
भोगमति,
शोकमति,
हिनमति,
घिनमति
जे भएपनि
मेरो लागी
तिमी
मेरी प्यारी वाग्मती ।।
-दिनेश चन्द्र पन्थी “दीप”

March 2, 2010

पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पत्र (राजधानी दैनिक, माध ०७, २०६६ मा प्रकाशित )

आदरणिय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यु,
मलाई थाहा छ तपाईंका दिनहरु बढो व्यस्ततामा बितिरहेका छन्। कहिले पार्टीको आन्तरिक प्रशिक्षण, कहिले पत्रकार सम्मेलन, स्पस्टिकरण, कहिले विदेश बस्ने कार्यकर्ताहरुको प्रशिक्षण,कहिले यता कहिले उता अनगिन्ति कार्यक्रमहरु, देश दौडाहा सायद स्वअध्ययनको लागि त समय सुन्य नै होला। यहाँलाई यो पत्र प्रत्यक्ष पढ्ने समय होला भनेर त मैले सोचेकै छैन तर पनि शुभेच्क्षुक तथा सल्लाहकार मार्फत यहाँ सम्म पुगेपनि मेरो वर्तमान इच्छा पुरा हुने थियो। लेख्न त मलाई ठेली नै लेखेर दिने इच्छा छ तर समयलाई बिचार गरेर केहि खास कुरामात्रै लेख्दै छु।
केहि तालिमको कारणले छिमेकी मुलुक भारतमा जाने काम परेकोले यहाँको पार्टीले आयोजना गरेको पौष ५, ६ र ७ को बन्दको प्रत्यक्ष अनुभव त हुन पाएन तर पौष ७ मा बानेश्वरमा दिनु भएको भाषण चाँही तात्तातै सुन्न पाएँ। तँपाईंको भाषण सुन्न म प्राय अफिसमा व्यस्त हुँदापनि समय निकाल्ने गर्छु। भारतमा हुँदा पनि त्यस्तै गरें। सुन्दै गएँ रमाईलो लाग्दै गयो, दर्शकदिर्धाबाट पनि वा वा र स्याबासी त वर्षीरहेकै थियो। बोल्दै जाने क्रममा खुले आम तपाईंले हेर्दा सुन्दा भारत विरोधी जस्तो तर प्रत्यक्ष रुपमा भारतले नेपाल प्रति झन ठाडो हस्तक्षेप गर्न सक्ने वातावरण बनाईदिनु भएको छ। तपाईंले हाम्रो मालिक दिल्ली हो भन्दा, अब हाम्रो प्रत्यक्ष वार्ता भारतसँग हुन्छ भन्दा पहिलो पटक नेपाली हुनुको गर्व हराए जस्तो लाग्यो। सायद मलाई जस्तै धेरै देशभक्त नेपालीहरुलाई पनि लाग्यो होला। हुन त तपाईंले भनेको कुरामा सत्यता छ तर एउटा जिम्मेवार नेताले त्यसरी सार्वजनिक रुपमा बोल्दा दीर्धकालिन हिसाबमा भारतले अब हस्तक्षेप गर्न कुनै भित्री मार्ग अपनाउनु पर्ने छैन। अत्यन्तै निजी कुरामा ऊ अब ठाडै हस्तक्षेप गर्न सफल हुने छ। ऊ अब आफुलाई स्पष्ट बैधानिक मालिक ठान्ने छ। सायद दिल्ली कुनै जिम्मवार नेपाली राष्टिय नेताले खुलारुपमा यो अभिव्यक्ति बोलेको सुन्ने दिन पर्खिरहेको थियो जुन तपाईंले पुरा गरिदिनुभएको छ। तपाईंले सोच्नुभएको होला जापान विरुद्धको लडाईंमा खास राष्ट्रवादी आफुभएको प्रमाणित गरि माओले आफ्नो शक्ति व्यापक विस्तार गर्न सफल भए जस्तै आफुपनि विदेशीहरुको दोहोलो काडेर नेपाली जनताको व्यापक समर्थन बटुल्छु भनेर तर परिस्थिती फरक छ।
हो, माओवादी पार्टी हाल नेपालको सबैभन्दा ठुलो पार्टी हो तर तपाईंको पार्टीलाई ठुलो जनताले त्यसै बनाएका होईनन्। कांग्रेस, एमाले तथा अन्य पार्टीहरुमा व्याप्त विकृती सर्वहाराको निम्ति आन्दोलन गर्ने तपाईंको पार्टीमा नहोला तथा तपाईंहरुलाई मुलधारको राजनितिमा समेट्न पाए दिर्धकालिन शान्तिको सुरुवात होला भनेर नेपाली जनता लागेका हुन्। तपाईंहरुको राजनितिक दर्शन राम्रो नराम्रो भनेर विश्लेषण गर्नसक्ने नेपाली जनता अल्पसंख्यक नै छन् त्यसैले तपाईंको पार्टी राम्रो र गौरवशाली भन्दापनि अरुमा छाएको विकृतीको फाइदा तपाईंहरुलाई भएको हो। अझैंपनि तपाईंको कार्यकर्ताहरुको रटान र जडसुत्रवादीताले गर्दा फरक र विश्लेषणात्मक बिचार राख्नेको टाउको फोडिने अवस्था छ।
राजनितिक फाइदाको लागी तपाईंहरुको सस्तो र उत्तेजनात्मक अभिव्यक्तिले अनेक जातजातीहरु बिचको सदभावलाई झन वैमनस्यतामा परिणत गर्दैछ। स्वाधिन देश भित्र पराधिनता महसुस गर्ने समुह तपाईंहरुकै कारणले बढदैछ। हुन त तपाईंहरु आफुलाई सबभन्दा राष्ट्रवादी भन्नुहुन्छ तर तपाईं तथा तपाईंको कार्यकर्ताहरुको सार्वजनिक अभिव्यक्ति सुन्दा सुरुवात ‘हाम्रो गौरवशाली पार्टी’ भन्नेबाट सुरु हुन्छ।
प्रसङ्ग अलि तपाईंमा नै केन्द्रित गरौं। पहिलो पल्ट वालुवाटारमा सार्वजनिक हुँदा तपाईंलाई हेर्न सारा नेपाली जनता लालायित थिए। यत्रो जनयुद्धलाई नेतृत्व दिने व्यक्ति अब सार्वजनिक जीवनमा आएपछि देशमा कायापलट हुन्छ भन्ने आशा सबैमा थियो। पुरै वेईमानीले ढाकेको राजनितिक वृत्तमा तपाईं जस्तो योद्धा आएपछि एउटा राजनितिक संस्कार संस्थागत होला भन्ने ठुलो अभिलाशा थियो । यस्तै आशामा नेपाली जनताले तपाईंको नेतृत्वलाई विश्वाश गरि माओवादी पार्टीलाई सबभन्दा ठुलो बनाए, तपाईं प्रधानमन्त्री हुनुभयो लगभग नौ महिना सरकार चलाउनु भयो तर ढाकछोप जसरी भएपनि तपाईंको सरकारको आधारभुत संस्कारमा परिवर्तन भएन। सरकारमा रहुन्जेल तपाईंभन्दा पनि बरु बाबुराम जी बढि चर्चामा रहनुभयो, अर्थमन्त्रीको राम्रो भुमिका निभाउनु भयो। आफ्नै सरकारको एउटा सेनापति त्यो पनि डेड दुई महिनामा स्वत समयावधि सकिनेवालालाई व्यबस्थापन गर्न नसक्नु तपाईंको कमजोरी नै हो ।
रङ् फेरिईरहने तपाईंका अभिव्यक्तिहरु हाल आएर तपाईं प्रतिको विश्वाशमा तगारो बन्न थालेका छन्। तपाईं कहिले गान्धी बन्छु भन्नुहुन्छ, कहिले त्यसैलाई बेवास्ता गर्दै पार्टी र सरकारमा आफ्नै नेतृत्वको विकल्प देख्न चाहनुहुन्न। हुँदा हुँदा आफ्नै समकक्षीलाई स्वकल्पित आरोप लगाई चरित्र हत्या गर्न पछि पर्नु हुन्न। आफूलाई निर्विकल्प नेतृत्वको ठाँउमा राख्न तपाईं सफल त हुनुभएकै हो, यसमा तपाईंको व्यक्तिगत खुबीको खुलेरै प्रसंशा गर्नुपर्छ। भर्खरै पनि सरकारको नेतृत्व आफैंले गर्ने कुरा पार्टीबाट पास गराईसक्नु भएको छ। तपाईंले बोलेको र बोलीलाई नाधेको त मैले बिसौं पटक अनुभव गरिसकें। माओवादी पार्टी तपाईंको व्यक्तिगत हो भने त मैले भन्नु केहि छैन नत्र आफ्नो समकक्षीको नेतृत्वमा विश्वाश गर्न नसक्नु तपाईंको ठुलो कमजोरी हो । के कहिल्यै तपाईंले आफुलाई पार्टीमा नेतृत्वविहिन या भनौं अध्यक्ष विहिन भुमिकामा हेर्ने आँट गर्नुभएको छ ? के कहिल्यै तपाईं आँफु पार्टीको केबल सल्लाहकारमा बसि अरु समकक्षीहरु नेतृत्वमा रहेको देख्ने आँट गर्नु भएको छ? आजै देखी तपाईं हरेक ठाऊँमा आफ्नो निर्विकल्प भुमिका खोज्नुहुन्छ भने तपाईंको पार्टी काँचको टुक्रा रहेछ भन्ने बुझ्नुपर्छ जुन तपाईंले नेतृत्व गर्न नसक्दा सयौं टुक्रा हुनेछ।
एउटा स्वतन्त्र धरातलमा उभिएर तपाईंको पार्टीले अंगालेको बाटोमा समाहित हुने या नहुने भनि बिचार गर्दा तपाईंको ‘कन्फ्युज्ड पर्सनालिटी’ ले जहिले पनि दोधारमा पार्छ। तपाईं आफुलाई यथार्थ लोकतन्त्रवादी भन्नुहुन्छ आफ्नै फोटो पार्टीको केन्द्रिय देखि हरेक कार्यालयमा झुन्याउनु हुन्छ, अब त हुँदा हुँदा पत्रकार सम्मेलनमा बस्तापनि पछाडी आफ्नै फोटो फ्रेममा सजाउन थाल्नु भयो। मैले बुझेअनुसार त मान्छे मरे पछी उसको योगदानको उच्च कदर गर्दै त्यसो गर्नु पर्ने हो। विदेशतिर पनि युग परिवर्तन गर्ने धेरै नेताहरु देखियो, पढियो तर यस्तो बिचित्र त कतै थाहा पाइएन। यसको मतलब तपाईंमा आन्तरिक रुपले व्यक्तिवादिताको प्रबलता छ भन्ने स्पष्ट हुन्छ। हुन त यो ठुलो कुरा नहोला तर नेतृत्वको हरेक शैली जनताले नियालीरहेका हुन्छन् विचार गर्नुहोला।
परिस्थति अनुसार मान्छेहरुको दिमाग भुट्न त तपाईं अत्यन्त चतुर मान्छे। केहि दिन अगाडी खन्ना गार्मेन्टमा समकक्षीलाई आरोप लगाउँदा बदनाम हुने डरले त्यो बाट बच्न भर्खरै तपाईंकै भातृसंगठन नेवा राज्य समितिले आयोजना गरेको कार्यक्रममा आफुमाथीको सुरक्षाको खतराको सवाल उठाउनु भयो। सुरक्षाको खतरा त तपाईंलाई मात्रै होइन संसारभरि नै नेतृत्वमा बस्ने सबैलाई हुन्छ तर तपाईंले कसरी प्रसंग बदल्न खोज्दै हुनुहुन्छ त्यो रोमान्चकारी छ । तपाईंको अभिव्यक्ति अनुसार पनि त राजा पृथ्वीनारायण शाह, राजा विरेन्द्र नेपालीहरुले मन मष्तिष्कमा सजाउनुपर्ने व्यक्तित्व रहेछन् नि तर तपाईंका कार्यकर्ताहरुले सिंहदरवार अगाडी पृथ्वी शालिकको हात भाँच्दा तपाईं कहाँ निदाउनु भएको थियो? त्यसैगरि तपाईंकै कार्यकर्ताहरुले पोखरामा पृथ्वी तथा विरेन्द्र शालिक भत्काउँदा कुन गुप्तवासमा तपाईं बस्नु भएको थियो? किन सार्वजनिक अपिल निकाल्न सक्नुभएन ? तपाईंले राष्ट्रिय सभागृहमा देशभक्त भनेका कुन व्यक्तित्वलाई तपाईंका कार्यकर्ताहरुले सार्वजनिक सम्मान गरेका छन्?
प्रचण्ड जी, सास रहुन्जेल आस पलाउँछ भनेजस्तै फेरिपनि तपाईंप्रति केहि न केहि आस त सबैको छ। राष्ट्रिय राजनितिमा अलि चल्दापुर्जा त तपाईं नै हुनुहुन्छ, आफ्नो पार्टीको त तपाईं निर्विकल्प नेता तपाईंको बोली व्यबहार केहि न केहि ‘मेसेज’ दिने पक्कै हुनुपर्छ। पार्टीको तल्लो निकाय देखि फेरि एकपल्ट तपाईंले फरक विचारलाई सम्मान गर्न ‘स्कुलिङ’ गर्नुपर्ने आवश्यकता छ। कार्यकर्तालाई सिकाउनु होला कि माओवादी नामले मात्र सच्चा कम्युनिष्ट भईदैन अन्य पार्टीमा लागेका मान्छेहरु व्यक्त नगरेपनि व्यवहारत सच्चा कम्युनिष्ट हुनसक्छन् सम्मान गर्नुपर्छ। भन्नुहोला कि कार्ल माक्सले कम्युनिज्ममा पुग्ने प्रमुख बाटो वर्ग संगर्षलाई भन्नुभएको थियो तर अहिलेको विज्ञान तथा सुचना प्रविधीको व्यापक विस्तारले अँझै छिटो सम्भवत वर्ग संगर्ष बिना नै कम्युनिज्ममा पुग्ने वातावरण सिर्जना हुँदैछ। अँझै थप्नुहोला कि अब वर्गविहिन तर विविधतामा आधारित समाज एकदलिय सर्वहारावर्गको अधिनायकत्वबाट भन्दा बहुदलिय लोकतान्त्रिक व्यवस्थाबाट छिटो हुने छ।
लेख्दा लेख्दै लामो हुन थाल्यो, दिमागमा अनगिन्ति कुराहरु खेलिरहेका छन्, पत्रिकाले छाप्ने नछाप्ने पनि पक्का छैन । पत्रमा जति गाली गरेजस्तो लागेपनि तपाईंको एउटा शुभेच्छुकले लेखेको सम्झनु होला। हामीलाई हाम्रो नेता भनेर गर्व गर्न मिल्ने व्यक्ति चाहिएको छ। समय मिलेमा र केहि त लेख्नै पर्ने लागेमा फेरि लेख्ने वाचा गर्दै विदा हुन्छु। धन्यवाद।

तपाईंको शुभेच्छुक
दिनेश चन्द्र पन्थी
भलायखर्क-१, लम्जुङ
[email protected]

March 1, 2010

के हाम्रा नेताहरु लंगौटी नै हुन त ?

Politicians are like diapers.  They both need changing regularly and for the same reason.  ~Author Unknown

“राजनेताहरु डायपर (लगौंटी) जस्तै हुन । समान कारणको लागि यि दुबैलाई समय समयमा फेरीरहनु पर्दछ” - अज्ञात

केही समय अघिसम्म माथीको उद्दरण पढ्दा म केवल हाँस्ने मात्रै गर्थें। तर जब जब आफ्नै देशका नेताहरुको हालीमुली र रजाईमा देशको हालत झन झन खस्किदैं जान थाल्यो, तब मलाई यो उद्दरण मजाक हैन हाम्रै नियतिको तितो यथार्थ जस्तो लाग्न थालेको छ।

हामी नेपालीहरु कति अभागी छौं भन्ने बुझ्न अरु केही गर्नु पर्दैन, नयाँ बन्न लागेको संविधानको बारेमा सोधे मात्रै पुग्छ । ९० दिनभन्दा कम समयमा सयभन्दा बढी बुँदामा छलफल गरेर नयाँ संविधान जारी गर्नुपर्ने समय आउँदा, प्राय: ‘जिम्मेबार’ हरेक दलका निर्लज्ज नेताहरु जेठ १४ गते नयाँ संविधान जारी हुन सक्दैन भन्ने वक्तयबाजी गर्न थालेका छन ।

समयमै संविधान बन्न नसक्दाको अबस्थामा के हुन्छ त ? । प्रक्रियागत वा कानूनी हिसाबमा यसका विकल्प जटिल वा पूर्वनिर्धारण गर्न नसकिने भएपनि केही सम्भाव्य पाटाहरु यस्ता हुनेछन :

१) हालको संविधान सभाको आयु लम्याउने: हुन त नेपाली जनताले यो संविधान सभालाई तिनै सभामा रहेका लाउके र टाउकेका लेखा जोखाका आधारमा चाहिनेजत्ती समयका लागि भनेर नै चयन गरेका हुन, तर भन्नलाई जेसुकै भने पनि यिनै लघुबुद्दी भएका नेताहरुकै कारण संविधान समयमा बन्न नसक्ने करिब करिब प्रष्टै भैसकेको छ । अब कानूनी हिसाबमा मिल्ने नमिल्ने जेसुकै भएपनि व्यवहारीक हिसाबमा भने यही सभालाई नै निरन्तरता दिन समयाबधि थप गर्ने विकल्पलाई १ नम्बरको विकल्पको रुपमा अघि सारीनेकुराको भने अहिले नै ठोकुवा गर्दा पनि फरक पर्दैन ।

२) नयाँ जनमत लिन आम चुनाव गर्ने: नीतिगत र कानूनी प्रक्रियाको कुरा गर्ने हो भने नेपाली जनताले हालका कुर्सीआसीन भातमारा सभासद र नेताहरु (यो शब्द धेरै ब्लगरसाथीहरुले प्रयुक्त गर्नु भएको र जे कामको लागि छानिएका हुन सोही काम पुरा गर्न नसकेपछि उपयुक्त पनि भएकोले यहाँ प्रयोग गर्दैछु) लाई केवल दुईबर्षको लागि छानेका हुन। दुइ बर्ष पुरा भएपछि नेपाली जनताको म्याण्डेटको अबधि पनि सक्कीनेछ र उपर्युक्त अबधिका लागि पठाईएका भातमाराहरुले अरु भात मारेर कुर्सीमा बस्नु कुनै पनि हालतमा सही हुँदैन । यसका लागि जनताले योग्य व्यक्ती चुन्ने अर्को मौका पाउनु पर्छ ।

एकातर्फ बिगतका दुई बर्षको अबधिमा हाम्रा नेताहरुको असली अनुहार जनताले झनै नजिकबाट चिन्ने अबसर पाए भने अर्कोतर्फ यस अबधिमा क्षेत्रीय र विश्व राजनितीमा पनि निकै परिवर्तन आएका छन । यस परिप्रेक्षमा साँच्चै जनताकै राज भएको आभास दिने हो भने नेपाली जनताले आफ्ना प्रतिनिधि पून चुन्ने मौका पाउनै पर्छ ।

३) हतार हतार घाँडो पन्छाउने: एकथरी पर्यव्यक्षकहरु अन्तिम अबस्थामा आएर नेताहरुले झारा टार्ने खालको नयाँ संविधान बनाउनेमा चिन्तीत छन र यसको सम्भाबनलाई नकार्न पनि सकिन्न ।

२ बर्षसम्म जनताले संविधान बनाउन दिएको म्याण्डेटको चरम दूरुपयोग गरी सत्ताको लडाई र विभिन्न उचित-अनूचित मागहरुका साथ संसद वहिष्कार गरी बसेका भातमाराहरुले निश्चित समयाबधि सकीदैं जाँदा विभिन्न दवाबका कारण झाराटार्ने संविधान जारी गर्न सक्ने स्थिति खतरनाक भएपनि एकदमै सम्भाव्य पनि छ । जति जति संविधान जारी गर्ने मिति नजिकीदैँ छ, त्यति त्यति नै यसप्रतिको शंका र सम्भावना बजारमा प्रवल छ ।

अन्तरीम संविधान नै पटक पटक संसोधन गरीने देशमा यस्तै हतारमा संविधान बनेमा त्यसको दूरगामी असर के कस्तो भयाबह हुन्छ सजिलै कल्पना गर्न सकिन्छ ।

यहाँ कुनै एक दलप्रति वायस नभै वा कुनै एउटा गुटप्रति पूर्वाग्रह नराखी कुरा गर्ने हो भने २ बर्षको आफ्नै समयसिमामा संविधान बनाउन नसक्ने सबैदल यसप्रति जिम्मेबार छन र यो समयाबधिले सबै दल र नेताहरु राष्ट्रिय चिन्तन भन्दा सत्ताको स्वादमै रमाएको टडकारै पुष्टी गरेको छ ।

यहाँनेर मलाई माथिको उद्दरणको एकदमै सम्झना हुन्छ । डायपर वा नेपाली भाषामा भन्नु पर्दा लंगौटी एक पटक भिजेपछि पून प्रयोग गर्न मिल्दैन, वा त्यसलाई फेर्नु नै बुद्दीमानी हुन आउँछ ।

हुनत केही समय अझै बाँकी छ र माथी दिईएका केही विकल्प बाहेक अन्य विकल्पहरु पनि आउन सक्नेछन । परम आशावादी नेपाली जनताले अझै आशावादी हुन छाडेका छैनन र हामी पनि आशा गरौं निश्चित समयमा नै नेपालको संविधान जारी हुनेछ । तर यदि जारी हुन सकेन भने यसका विकल्पहरु पक्कै खोजिनेछन र यसको विकल्प खोज्नै पर्ने स्थितिमा नयाँ चुनाव गर्नु नै उचित हुनेछ ।

म आशा गर्छु समय छँदै हाम्रा जिम्मा पाएका जनप्रतिनिधिहरुले नयाँ सम्बिधान जारी गर्नेछन र हामीले हाम्रा नेताहरुलाई माथीको उद्दरणसंग दाँज्नु पर्दैन । हैन भने भिजेको लंगौटी जत्ति सक्यो त्यत्ती छिटो फेर्नुमा नै नेपाल र नेपाली जनताको हित हुने कुरा भन्नु पर्दा संकोच लिनु पर्ने देख्दिन म । भिजेको लंगौटी जत्ती बेर शरिरमा रहन्छ त्यत्तीनै त्यो शरिरको लागि हानिकारक हुन्छ। म चाहन्छु हाम्रा नेताहरुले समय छँदै आफू लंगौटी नभएको प्रमाणीत गरेर माथिको उद्दरणलाई गलत सिद्द गरिदिउन ।