October 15, 2009

गजल

आखिर त्यही भयो पित्तलमा सुन दल्नु भो
टलक थियो थेन जलपको भरमा छल्नु भो

उज्यालो छर्न नि पिधँमा पुगी सक्यो तेल
धिपधिप गरेर फेरि किन आँफै बल्नु भो

हुकुमको एक्का हपिए चल्ने आँट कसको
खेलाडी मसुर हजुर कत्रो चाल चल्नु भो

बर्तमान थर्कमान हुन्छ जो सित भने
पत्ताउ कसरी,हल्लै रछ हजुर गल्नु भो

रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न हो
छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो

जय लक्ष्मी !!!

laxmi-ganesh तिहार अर्थात दिपावली, जुन उज्यालोको पर्व हो, भाईचाराको पर्व हो र मुख्‍य रुपमा माता लक्ष्मीको आराधना गरीने पावन पर्व हो ।

त्यसो त शास्त्रमा माता लक्ष्मीको पूजनको विधि विधान धेरै प्रकारको र जटिल समेत छ । समयले भ्याउँदा शास्त्र वर्णीत तरीका अपनाउँदा राम्रो भए पनि नभ्याउँदाको समयमा सामान्य तरीकाले भए पनि माता लक्ष्मीको पूजन गर्नु श्रेयस्कर हुन्छ ।

आउनुस आज विग्रेको देश, बदनाम नेता वा तातो बहसमा नलागेर माताको आराधना गर्न लागौं ।

माथी बताईएजस्तै यस पोष्टमा म माताको सामान्य पूजन विधि दिँदैछु ।

माताको पूजाको लागि सकेसम्म स्नान गरेर र चोखो वश्त्र लगाएर आसनमा बस्नु पर्छ । शास्त्रमा पूजा आसनको विशेष महत्व छ र सकेसम्म कुशासनमा बस्नु राम्रो मानिन्छ, सो को अभावमा कार्य सिद्धि गर्नको लागि आ-आफ्नो राशि अनुशार निम्न आशनमा बस्नु पर्छ :

राशि

आसन

राशि

आसन

मेष

रातो उनको आसन

तुला

सेतो र चम्कीलो रंगको आसन

बृष

सेतो र चम्कीलो रंगको आसन

वृश्चिक

फिक्का रातो रंगको आसन

मिथुन

हरीयो रंगको आशन

धनु

सुन्तला रंगको आसन

कर्कट

सेतो उनको आसन

मकर

आकाशी रंगको आसन

सिंह

फिक्का गुलाबी रंको आसन

कुम्भ

आश्याम ( cyan color)

कन्या

फिक्का हरीयो रंगको आसन

मीन

पहेंलो रंगको आसन

आसन ग्रहण गरेपछि साधारण पूजन संगै यो महालक्ष्मी अष्टकम्‌ पाठ गर्नु श्रेयस्कर मानिन्छ :

 

नमस्तेऽस्तु महामाये श्री पीठे सुर पूजिते ।diwalilightsnew-11-03-2005
शंख चक्र गदा हस्ते महालक्ष्मी नमोऽस्तुते ।। १।।

नमस्तेतु गरुदारुढे कोलासुर भयंकरी ।
सर्वपापं हरे देवी महालक्ष्मी नमोऽस्तुते ।।२।।

महादेव्यै च बिद्महे बिष्णु पत्नी च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ।

सर्वज्ञे सर्व वरदे सर्व दुष्ट भयंकरी !
सर्वदु:ख हरे देवी महालक्ष्मी नमोऽस्तुते ।।३।।

सिद्धि-बुद्धि प्रदे देवी भुक्ति मुक्ति प्रदायनी । 
मंत्र मुर्ते सदा देवी महालक्ष्मी नमोऽस्तुते ।।४।।

महादेव्यै च बिद्महे बिष्णु पत्नी च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ।

diwali greetings आद्यन्तरहिते देवी आद्य शक्ति महेश्वरी ।
योगजे योग सम्भुते महालक्ष्मी नमोऽस्तुते ।।५।।

स्थूल सुक्ष्म: महारौद्रे महाशक्ति महोदरे ।
महापाप हरे देवी महालक्ष्मी नमोऽस्तुते ।।६।।

महादेव्यै च बिद्महे बिष्णु पत्नी च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ।

पद्मासन स्थिते देवी परब्रह्म स्वरूपिणी ।
परमेशी जगन्मात:महालक्ष्मी नमोऽस्तुते ।।७।।

श्वेताम्बर धरे देवी नानालन्कार भुषिते ।
जगत स्थिते जगन्मात:महालक्ष्मी नमोस्तुते ।।८।।

महादेव्यै च बिद्महे बिष्णु पत्नी च धिमही तन्नो लक्ष्मी प्रचोदयात् ।

आज खोज्दै जाँदा यो श्लोकको भिडियो युट्युबमा पनि भेटेकोले सबैको सुबिधाको लागी यो युट्युबको भिडियो पनि यहाँ राख्दैछु । पूजनको अनुकूलता नहुनले यहाँबाटै भएपनि भर्च्युयल पूजा गर्नु होला । (यो भिडियोमा भएको बैदिक मन्त्रोचारण एकदमै सम्मोहीत गर्ने र भावपूर्ण छ –पक्कै हे्र्नुहोला)

पूजा पश्चात: विधिपूर्वक "ॐ ह्रीं श्रीं क्लीं महालक्ष्मी महालक्ष्मी येहि येहि सौभाग्यम् देहि मे स्वाहा:" मन्त्रले १०८ हवन पनि गर्नु उत्तम हुन्छ ।

दौँतरी साथीहरु, प्रबुद्ध पाठकवर्ग र संसारभर छरिएर रहेका नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !!!



October 14, 2009

अभिलाषामा


- आयुष चौधरी सम्मोहन
- रझेना ५ बाँके
- हाल रेडियो जन आवाज एफ। एम। ९७।३ नेपालगाज बाँके

सेताम्य हिँउ बोकेका पहाडहरु
देख्ने अभिलाषमा
रमाईरहेका मेरा सपनाहरु
रातको अन्त्यसँगै
बिलाएकाछन् उज्यालोहरुमा
तर म किंचित पनि डगमगाएको छैन
सपना देख्नकालागी हुन्छन्
उज्यालो सपना तोड्नकालागी हुन्छन्
सपना चिस्सिएर चरचरती फुटेपिन
फेरी रातको प्रतिक्षामा
जोडिने अभिलाषामा
थालेकोछु लामो अथक यात्रा हिमयुगतिरको ।
यात्रा लामो छ कठिन पिन
पर्न सक्छन् मुसलधारे वर्षा अबरोध बिना
चिरा फाट्न सक्छन् बाटाहरुमा
बिस्फोट हुन सक्छन् ज्वालामुखी लाभाहरुमा
चिन्न नसकी आफ्नै अस्मिता
बेराउन सक्छन् बेडी र जन्जिर शरिरमा
आँशु भेलको यो सामुन्द्रीक यात्रा
तर पनि म तय गर्दैछु
ति सेताम्य हिँउ बोकेका पहाडहरु देख्ने अभिलाषामा ॥


October 13, 2009

सत्यतामा हांसो


कुरो बनाएर कलाकारले हसाएको त प्राय देखी रहेका छौं। हामी पनि यदा कदा यसरी नै एक आपसमा हास्ने गर्छौं। तर कहिले कांही सांचो कुराले पनि हसाउंछ। अमेरीकामा सेरा पेलिन उपराष्ट्रपतीको चुनाबका लागी लढ्दा उनैले भनेका भाषणका अंश टिभीका कार्यक्रममा भनेर हसाइने गरिन्थ्यो।

केही पहिले तत्कालीन परराष्ट्र मन्त्री सुजाता कोइरालाको भारत भ्रमण नजानको कारण दर्शाइएको अन्तरबार्ता हेरेर हांसेको थिएं। अन्तरबार्तामा "कांहा त्यसो हुनु नी उसो पो हो" भन्दै केटाकेटी फकाउने पाराले कुरा गरिएको थियो। भारत भ्रमण बेला ज्वरोले बोल्नै नसेकेकी सुजाताको उक्त अन्तरबार्ता यांहा पढ्न सक्नुहुनेछ। भारत भ्रमणको लागी साडी वाडी किने पनि बिरामी भएका कारण जान नसकेकी सुजाता कोइराला हिजैबाट गणतन्त्र नेपालकी उप-प्रधान मन्त्री भएकी छन। कांग्रेसका लागी उनको योगदान त तिनै कांग्रेसजनले जानुन तर दौंतरी पाठकका लागी भने नागरिक पत्रिकाबाट लिइएको कार्टुन प्रस्तूत गरेको छु। यसमा केही थप्नु परे तल थप्दै जानुहोला।

October 12, 2009

गैर-आवासीय नेपालीहरुको चौथौ एन.आर.एन को विश्व सम्मेलन

अनुप गुरुङ्ग

विश्वमा छरीएर बसेको सम्पूर्ण गैर-आवासीय नेपालीहरुको संगठन एन आर एनको चौथो विश्व सम्मेलन काठमाडौमा असोज २७ गतेदेखि औपचारिक रुपमा हुन गईरहेको छ । सो सम्मेलनको उदघाटन राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ । सम्मेलनको मिति नजिकिदै जादाँ काठमाडौमा विश्वमा छरिएर रहेका रहेका नेपालीहरु यस सम्मेलनमा भाग लिन आउने संख्या पनि बढदै गइरहेको छ । यस सम्मेलनमा करिव ७०० जनाको उपस्थित हुने आयोजक कमिटीले बताएका छन् ।

निर्वाचन उम्मेवारका रुपमा संस्था खोले देखिनै सक्रिय रुपमा रहदै आएका राम प्रताप थापा देबमान हिराचन र भीम उदास छन् । सर्बसम्मत नेतृत्व चयनको लागि एन.आर.एनका पदाधिकारी बिच छलफल भइरहेको छ र केही संचार माध्यमका अनुसार जर्मनीका रामप्रताप थापा सर्बसम्मत भएका छन् । यसै गरी ११ बजे पत्रकार सम्मेलन गरी अध्यक्ष पदका उम्मेवार देबमान हिराचनका अनुसार सर्बसम्मति भएको भन्ने कुरा झुठो भएको बताएका छन् । अनलाइनखवरलाई प्रतिकृया दिदै हिराचनले भने - त्यो समाचार गलत छ अहिले सम्म कुनै सहमति भएको छैन भनेका छन् र उनी चुनाव लड्नेमा निश्चित छन् । यस्ते गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका प्रवक्ता जुगल भुर्तेलले भने सर्वसम्मतिमा नै नेतृत्वको चयन गरीने वताएका छनु । तीनै जना उम्मेवारद्वारा नेपाल बाहिर रहेका नेपलीहरुले दोहोरो नागरिकताको आवाज उठाएका छन् र त्यसो भयो भने नेपालमा बसेका नेपालीहरुले यदी कुनै देशको लागि आवासीय भिषा पाएमा पनि हाल भईरहेको घरजग्गा सस्तोमा बेचेर जान नपर्ने र बर्ष बर्षमा छुट्टी आउने र आफनो देशमा र केही उत्पादनमुलक काममा लगानी गर्ने अबसर मिल्दछ । उनीहरुले एउटा नयाँ कोष खोली त्यसमा करिव १०० मिलियन डलर उठाउने र त्यो पैसा नेपालमा विभिन्न विकासको काममा लगानी गर्ने जनाएका छन् । सवैबाट अलि अलि पैसा उठाएर त्यो १०० मिलियन डलर उठाउने योजना बनाएका छन् । त्यो उठेको रकमले नेपालको बिभिन्न प्रोजेक्टमा लगानी गर्ने बताएका छन् ।

भारतमा सन् १९८० को दशकमा विश्वको विभिन्न ठाउँमा छरिएर रहेको भारतीयहरुलाई आफनो देशमा लगानीको गर्न चालेको कदमले अहिले भारत धेरै माथी पुगिसक्यो । हाम्रो नेपाल सरकारले पनि गैर-आवासीय नेपालीहरुको लगानी नेपालमा भित्राउनको लागि वातावरण उपयुक्त वातावरण बनाउनु पर्दछ । नेपाल जलश्रोत्रको धनी देश अनि हाम्रो जलश्रोत्रवाट करिव ८३००० मेगावाट विधुत उत्पादन गर्ने क्षमता छ । त्यसैमा लगानीको वातावरण बनाइदिए नेपालमा लोड सेडिङ्गको समस्या समाधान हुने थियो यसका साथै नेपालको नेपालको अर्थतन्त्र बलियो हुने थियो र यसमा गैरआवासीय नेपालीहरुले सहयोग गर्ने बताएका छन् । नेपाल सरकारले उपयुक्त वातावरण बनाइदिए नेपालमा लगानी गर्ने उनीहरुले वताएका छन् । हालसालै नेपाल सरकारद्धारा गैर आवासीय नेपालीको लागि १० बर्षे मल्टिपल भिसा तथा घर जग्गा किन्न पाउने ऐन बनाइएको छ ।


October 10, 2009

चन्द्रमामा विस्फोट र ओबामालाई नोबेल !

चन्द्रमामा विष्फोट-- खोज कि हमला?

Nasa Photo शुक्रवारको दिन (थाहा छैन त्यतिबेला चन्द्रमामा दिन थियो कि रात) नासले चन्द्रमामा पानीको खोजको लागी भिषण विस्फोट गरायो । करिव २ टन वजन भएको रकेट ९,००० किमि प्रतिघण्टाको गतिमा चन्द्रमाको दक्षिणी ध्रुवमा ठोक्काईयो । भिषण विस्फोटका कारण चन्द्र धरातलका ३५० टन टुक्राहरु करिब १० किलोमिटर माथिसम्म उछीट्टीएको समाचारसंगै यस मिसनका नासाका प्रशासक Doug Cooke ले यसलाई “विज्ञान र अन्वेषणको लागी महान दिन” भएको घोषणा गर्दा म भने १० कक्षामा पढेको विजय मल्लको “अन्तिम भोज” सम्झदैँ थिएँ ।

विज्ञान, अन्वेषण र नयाँ नयाँ खोजका साथ नासाले हाम्रो संसारलाई धेरै कुरा दिएको छ यसलाई न्यून मुल्यांकन गर्नु हुँदैन । तर के यसो भन्दैमा खोजी वा प्रयोगका कुनै सिमा नै हुँदैनन् त ? । चन्द्रमामा पानीको खोज, करिब चालीस बर्ष देखी नै चली रहेको छ । तर खोजको यो भन्दा निर्मम तरिका कहिल्यै अपनाईएको थिएन । अहिले यो बिषयका समर्थन र विरोध दुबै देखिएका छन । समर्थनमा यस खोजले अन्य अन्तरिक्ष अन्वेषणमा मद्दत पुग्ने बताईए पनि चन्द्रमामा यसरी नियोजीत हमला गर्ने अधिकार नासालाई कस्ले दियो भन्ने कुरा मुख्य   रुपमा उठेको छ । 

हो, माथी भनेजस्तै नासाको धेरै देनहरु होलान तर जे जस्तोसुकै भएपनि यो एउटा नितान्त अमेरिकी संस्था हो र चन्द्रमामा यस किसीमको विस्फोट गराउने उसको आधिकारिकता माथी प्रश्न उठनु मलाई पनि सान्दर्भिक लाग्छ ।

ओबामालाई नोबेल पुरस्कार ! Obama

चन्द्रमामा पानीको खोजको नाममा भएको भयंकर विष्फोटको समाचारसंगै यो हप्ता अर्को पनि एउटा चर्चाको समाचार आयो । अमेरिकी राष्ट्रपतिलाई नोबले पुरस्कार दिने । उसै पनि राजनीति र त्यसमाथी पनि अमेरिकी राजनीतिमा खासै चासो नरहेपनि ओबामाले आफ्नो कार्यभार सम्हालेको १ बर्ष पनि पुगेको छैन । यो बीचमा उनको सादापन, सिदा बिचार र अमेरिका र विश्व अर्थतन्त्रको सुधारमा उनको सोच र लगनका उनी लोकप्रिय छदैँछन र उनका केही भावि कार्यनीति पनि लागु हुँदै होलान, तर यस बिचमा उनलाई शान्तिको लागी नोबेल पुरस्कार दिईनु पनि अबिबादित रहन सकेन ।

स्वंय अमेरिकामै पनि Cicago Tribune ले गरेको एउटा अनलाईन सर्वेक्षणमा ७१.३% मतदाताले उनलाई पुरस्कार दिनु नपर्ने कुरा व्यक्त गरे।

ओबामा एकजना असल व्यक्ती भएकोमा कसैको दुई मत नहोला, तर अहिले नै विश्व शान्तिकोलागि नोबेल पुरस्कार पाउनु पर्ने उनको योगदान के रह्यो? , यो कुरा चाही अलि हजम भएन !

अन्तमा बुस प्रशासनका बेलामा संयुक्त राष्ट्रसंघका दूत रहेका John Bolton को एउटा भनाई जस्ताको त्यस्तै यहाँ राख्दै छु :

"I think the Nobel Committee couldn't vote in our election in 2008, so they decided to vote this year,"



October 9, 2009

के माओवादीहरू साँचै नागरिक सर्वोच्चताका पक्षधर हुन ?

संविधानसभाको कार्यकाल सकिन अब केही महिना बाँकि छन् । तर , सभाको उद्देस्य सरकार बनाउने , बिघटन गर्ने र अर्को बनाउने दाउपेचमा अल्झिएको छ र सबैका प्रयासहरू संविधानको दस्तावेजतर्फ नलागेर राजनीतिको सनातनी खिचातानीको दलदलमा नराम्ररी जाकिएको छ । एकले अर्कालाई लगाउने आरोप र संविधान बनाउन चासो नदेखाएको फित्तुर अरूको टाउकोमा पन्छाएर आँफू मात्र पानी माथिको ओभानो बन्ने प्रयासमा , दलका नेताहरू आआफ्ना कार्यकर्ता बीच कुर्लने प्रवृत्तिको अन्त्य देखिएको छैन । राजनीति जोड घटाऊ वा संख्या जुटाऊको परिधिसम्म रहँदा त बहुमत र अल्पमतको लोकतान्त्रिक विशेषताको मर्यादा भित्र नै छन् भनेर भन्ने सकिने स्थति थियो , तर अब त संख्या जुटाउन नसके पनि कालो झण्डा र ढुङ्गामुढा जुटाएर प्रहार गर्दै ‘हाम्लाई सरकारको नेतृत्व दे !’ भन्ने बिजोगमा राजनीति फँसेको छ ।

नेपालको राजनीति चर्को बोलेर अरूलाई आरोप लगाउँदै आँफूले त्यही काम गर्ने रोगबाट आक्रान्त छ । माओवादीहरू ‘नागरिक सर्वोच्चता’ को कोकोहोलो हाल्छन् तर यिनीहरूको राजनीतिमा ‘नागरिक’ का लागि कुनै ‘स्पेस’ छैन । बन्दूक र हिंसाका बलमा राजनीतिलाई आँफूले चाहेको दिशामा बलात् मोड्न चाहने माओवादीहरूले नै साँचो अर्थमा ‘नागरिक सर्वोच्चता’ र स्वतन्त्रताको खिल्ली उडाएका छन् । आफ्नो पार्टीको निजी सेना ब्यारेकमा पालेर अर्को त्यस्तै अर्धमिलिसिया वाइसिएल नामको जमातलाई मुलुकभरि गैरसरकारी पुलिसको काम थमाएर, भिजिलान्तेवादको अभ्यास गरिरहेका माओवादीहरूलाई अरूबाट सहजै लाग्ने आरोप हुनुपर्थ्यो ‘नागरिक सर्वोच्चता’ बिरोधी । तर अपशोस , राष्ट्रपतिले सेना प्रमुख हटाउने माओवादी प्रयासमा गरेको अवरोधलाई जरिया बनाउँदै माओवादी काला झन्डा र ढुङ्गामुढा बोकेर नागरिक सर्वोच्चता खोज्न सदन अवरोध गर्दै सडकमा छाएको छ । आँफूले सरकारी धनमा पार्टीको सेना पालेर तिनैको बलमा बहुमत कमाएको जान्ने माओवादीले, पहिला आँफूले आफ्ना हतियार, छापामार, मिलिसिया र हिंसालाई नत्यागुञ्जेल, नेपाली राजनैतिक शक्तिहरूका बीचमा ऊ मात्र नागरिक सर्वोच्चता बिरूद्धको सबैभन्दा ठूलो षडयन्त्रकारी हो भन्नुमा कुनै अत्युक्ति छैन । आफ्नो पार्टी र उसले अंगालेको समग्र राजनैतिक विचार र अभ्यासको बुनियाद हिंसा र युद्धोन्मादमा संग्रहित गरेर , नागरिक सर्वोच्चता केवल आफ्ना जिरहहरूमा मात्र खोज्नुले माओवादीको नियत के हो भन्ने कुरामा अरू राजनैतिक शक्तिहरूलाई शंकालु बनाउँछ ।

यो सत्य हो कि नेपाली सेनाले गर्न सक्ने सम्भावित ‘कू’ वा सैनिक सर्वोच्चता लाद्ने उसको प्रयासले लोकतान्त्रिक गणतन्त्रको कलिलो बिरूवा निमोठिन सक्छ । नागरिक सर्वोच्चता लोकतन्त्रको आधार भएको हुनाले यसको परिपक्व व्यवस्था जरूरी छ । ई सही र सत्य कुरामा विवाद जरूरी नै छैन । यसो हुँदाहुँदै बुझ्नु पर्ने कुरा के हो भने जसरी मुलुकको सेनाका बारेमा अविश्वास गरेर सम्भावित ‘कू’ को आरोप लगाउन सकिन्छ , त्यसै गरी अन्य राजनैतिक शक्ति वा दलहरूले माओवादीलाई त्यही आरोप लगाउन सक्छन् । माओवादी पनि आफ्नो निजी सेना बोकेको दल भएको हुनाले उनीहरूले राष्ट्रिय सेनालाई आफ्नो अधीनस्थ पार्न सके भने र परिस्थतिलाई आफ्नो अनुकूलतामा मोड्न सके भने , माओवादीको सर्वोच्चतालाई नै नागरिक सर्वोच्चताको खोल ओढाएर एकदलीयता लाद्ने छन्

माओवादीका घोषित गरिएका सार्वजनिक दस्तावेज र नीतिहरूले समेत यो कुरा चिच्याएरै बताइरहेका छन् कि , यदि उनीहरूले भने बमोजिम राजनीति अगाडि बढाउन सकियो भने आफ्नै पार्टीको मातहतमा चल्ने ‘जनवादी गणतन्त्र’ को सर्कसरुपी पद्दतिलाई ‘नागरिक सर्वोच्चताको जामा पहिराउनेछन् । यस्तो पद्दति जसले कम्युनिष्ट पार्टीको मातहतमा काम गर्ने समूहलाई राजनैतिक दलको नाम पहराएर बहुदलियताको प्रतिनिधित्व गराउने ठेकेदारी गर्नेछ , जसले न्यायलयको स्वतन्त्रता र कानूनी शासनको अभ्यासलाई पार्टीको पोलिट ब्यूरो कार्यालयको एउटा कोठामा सिमित गरिदिनेछ , जसले देशको राष्ट्रीय सेनाको वफादारीलाई पार्टीको मातहतमा व्यवस्थित पार्नेछ । यी व्यवस्थाहरू नबुझेर लगाइएका आरोप हैनन् बरू माओवादीले जारी गरेको घोषणापत्र र त्यस पछि पनि जारी गरिएका दस्तावेज भित्र प्रष्टसंग लेखिएका शव्द र हरफहरूको सारांश हो ।

अत: मेरो विनम्र सुझाव माओवादी नेतृत्वलाई यो छ कि उनीहरूले आँफू साँचो अर्थमा मन, वचन र कर्ममा नागरिक सर्वोच्चता पक्षधर हुन भन्ने प्रष्ट्याउन चाहन्छन् भने त्यो कुराको आधार शर्त पुरा गरून् । जस्तो निर्वाचन भएको भए पनि , अहिलेको संविधान सभामा उनीहरू सबैभन्दा ठूलो दल हुन र सरकारको नेतृत्व गर्ने नैतिक अधिकार पनि उनीहरू संग छ तर यसको अर्थ यो पनि हो कि आँफू एक्लैको बहुमत सिद्द नभएको स्थितिमा , बहुमत जुटाएर सिद्ध गर्नु पर्ने काम पनि उसैको हो । उसले कालो झण्डा र ढुङ्गामुढा गरेर अरूले उसका लागि बहुमत जुटाइदेलान सपना देख्नु हुँदैन । यसका लागि सही पहल आँफैले गर्नु पर्छ । अनि सकिन्छ भने नागरिक सर्वोच्चताको व्यवहारिक प्रामाणिकता सिद्ध गर्न कथित जनसेना नामको ‘माओवादी छापामार’ संगको आफ्नो सम्बन्धलाई तोडेर अहिलेसम्मको हिंसात्मक कर्तूत र क्रियकलापको पश्चाताप र आत्मआलोचचना गर्दै जनताको र केवल जनताको मतमा मात्र विश्वास गर्ने पार्टी भएको घोषणा गर्दै अगाडि आउन पर्‍यो । यसो भएमा , माओवादी प्रतिवद्दता र नियतलाई विश्वास गर्दै पनि मेरो मत माओवादी दललाई अवश्य हाल्ने छु र हरूलाई पनि यसो गर्न भन्नेछु । कारण अरू अकर्मण्य दलहरूको कामकारवाहीबाट म पनि निराश भएको छु र , लोकतन्त्रवादी बनेको माओवादीका लागि उसका काम र विचारका आधारमा म मतदान गर्न चाहन्छु ।

किनभने मलाई वैयक्तिक स्वतन्त्रता, बहुदलियता, नागरिक र कानूनको सर्वोच्चता, मानव अधिकार र जनजीविकाको सुनिश्चितता सहितको लोकतन्त्रमा अगाध विश्वास छ । तर यो शव्दाडम्बरले भरिएको कुटिल चालहरूको पासोतन्त्र हुनुहुन्न बरू विचार र व्यवहारमा देखिएको हुनुपर्छ ।