October 1, 2009

जरुर म पागल भएँ

हस्त गौतम मृदुल

जरुर म पागल भएँ मेरी मायालुकै मायामा
म ती स्मृतिलाइ समाउन खोज्छु उन्कै छायामा

होस मै छु म हरेक शब्दमा उनैलाइ नै देख्दछु
मन परीदृश्यहरुमा भेटी उनैका गित लेख्दछु
फुलको बास्नाको स्वाद लिन्छु गहिराइमा डुब्छु
मृत्युलाइ पनि छलेर म उन्कै परेलीमा नै लुक्छु
जरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा


स्वर्ग कही कतै छैन नी चोखो माया नै हो स्वर्ग
जाहाँ जस्ले आत्माहरु रुवाउछन बरु त्यही हो नर्ग
म बोल्दछु सपनामा अनी चाँदनी त्यो हर रातमा
उनी आत्मा हुन मेरी म मरे पनि हुन्छिन साथमा
जरुर म पागल भएँ………………………
म जीवनको अबशेष खोज्दछु उन्कै छायामा


September 27, 2009

विजया दशमी ( दशैँको) शुभकामना !

मेरो आफ्नै घरमा आज ( २८ सेप्टेम्बर) खिचेको

टीका लगाउनका लागि शुभसाइत:यस वर्ष विजयादशमीको उपलक्ष्यमा टीका लगाउने सबैभन्दा राम्रो साइत असोज १२ गते (सेप्टम्बर २८) विजयादशमीका दिन बिहान ९ : ३५ बजे देवी बिसर्जन र बिहान १० : ५५ बजे टीका लगाउनका लागि शुभसाइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
*****************************************************************************
मातृशक्ति दुर्गाभवानीको पूजागरी समस्त आसुरी वा दानवी शक्तिको पराजय र दैवी शक्तिको अविर्भाव चाहने हामी नेपाली संस्कृतिका अनुरागीहरूका लागि विजया दशमी वा दशैँले अति ठूलो महत्व राख्छ । समस्त नेपाल , दार्जिलिङ, सिक्किम, आसाम, देहरादून, वर्मा र संसारभर छरिएर रहेका आप्रवासी नेपालीहरूको सांस्कृतिक एवं धार्मिक ऐक्यवद्दताको पर्व दशैँले हामीलाई एउटा मालामा उनेको छ । संसारभर छरिएर पनि आफ्नै मातृभूमि र पैतृक थलोको सदैव उन्नति र प्रगति चाहने मनहरूको पवित्र कामनाले नेपालभूमिको अस्मिता इतिहासको सूवर्ण पानाहरूमा सुरक्षित हुनसकेको हो । जुनसुकै धर्म, संस्कृति र परिचय अवलम्बन गरेर स्थानियतामा समाहित भएपनि 'यो मन त नेपाली हो' भन्ने सन्धानले बाँधिएका हामीहरू नेपाली मात्रको महान चाड विजया दशमी वा दशैँको शुभकामना मार्फत एकाकार होऔँ । शुभ दशैँ !
शुभ विजया दशमी २०६६ विक्रम सम्वत् !





September 24, 2009

शुभकामना

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भो खुशी निभेको आउ उषा लाली पोती

पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती

सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्छ कहाँ आर्काको छातामा ओती

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती

September 23, 2009

बस स्टप-

एउटा पुरानै कथा वार्तालाप शैलीको!
बस स्टप-
" हाssssई! खै त यार, बस त आएन त?"
" मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै.."
" आज नि मु- हाकिम झोक्किने भो यार मेरो त, तीन दिन भै सक्यो सधैँ ढिलो!"
" हाहाहाहाहा! साँच्चि यार तेरो हाकिमको थुतुनो सम्झ्यो कि मलाई त कोक्याएर हाँसो उठ्छ! हाहाहाहाहाहा!"
" हाहाहाहाहहा..के गर्नु यार जस्तो भएनि त्यसैको अन्डरमा बस्न परिरा छ!"
" बुढि चाहिँ पा'को हो बजियाले! तर त्यसकि बुढिको माया लागेर आउँछ, च्व... च्व.. च्व..कसरी रात काट्दी हो बिचरी?"
" जसरि काटे नि काटोस... एत्रा पिर हाम्लाई..कसैलाई आँखा नदेख्ने छँडुल्लीहरु, पैसो देखेसि उमेर सुमेर केहि नचाहिने!, हामि जस्ता ठिटा मर्या थ्यौँ र त्यस्तो फुटबल जस्तो बुढो संग जानु पर्ने यिनिहरुलाई?"
" पैसो कमा न मु- त्यस्ता तरुनि त रोजि रोजि"
" त्यो सन्तोषेले त्यसलाई आमा भन्छ कि के भन्छ होला?"
" यत्रो नि भन्दैन आमा तेल्ले, एक त सौतेनी आमा, अर्को त्यो भन्दा २ बर्ष मात्र जेठी"
“ तर त्यसले त सन्तोषेलाई छोरा जस्तै माया गर्छे रे भनेर भन्दै थ्यो हाकिम अस्ति कुन दिन हो पन्ते खरदार संग!”
“ गरिहाल्छे नि माया त हाकिमलाई भन्दा नि धेरै, अचेल त क्याम्पस नि जाँदैन रे सन्तोशे, दिनभरि घर बस्छ रे आमा संग…खितितितिति”
“ हाहाहाहहाहाहा”
“हाहाहाहहाहाहाह खितितितिति”
“ चुप लाग् मुला हाकिमले सुन्यो भने जागिर चेट हुन्छ”
“ के डराको? तेरो हाकिमले याँ त्रिपुरेश्वरको बस स्टपमा गर्या कुरा सुन्ला नि अब”
“ ओइ!!! उता हेर् त!”
“कता्”
“उता पसल बाहिर के!”
“ ओहो! एक्लै जस्ति छे”
“ हो हो एक्लै छे”
“ मेरो त मुखमा पानी आयो हाहाहाहहाहा, आजकल जे पनि बिकासे हुन्छ खितितितिति”
“ हाहाहाहहाहा चुप् लाग मु- , तँ त्यो बाहेक के देख्थिस् र”
“ बस नै कुरिरा जस्तो छ”
“यत्तिको पाए त बिहे गर्थेँ यार!”
“ “
“ “
“ ओइ! के एकोहोरो घुरिरा् तेल्लाई?”
“ म संग आँखा जुधा जस्तो लाग्यो, सोझि जस्ति छे यार”
“ बाहिरबाट सबै सोझि देखिन्छन्”
“ ऊ, देखिस्? फेरि हेर्या थि मलाई!”
“ ल ल मोज गर्, गफ् दिन जा न हिम्मत छ भने!”
“ ओइ! …ओइ!.. त्यो चुरोट भित्र राख् त मुला, झन सोझि जस्ति छे भन्दै छु यहि बेलाँ चुरोट झिक्छ!”
“ मुला अघि तान्न मन लाग्यो भन्या हैन?, अहिले हिरो बन्न चुरोट राख् भन्छ”
“ फस्ट इम्प्रेसन राम्रो राख्नु पर्छ रे के”
“ तँ इम्प्रेसन राम्रो बनाउँदै गर् आफू त तानिन्छ मजाले बस नआउन्जेल!”
“ “
“ “
“ल ल बस आयो! त्यो संगै उक्लनु पर्छ हिहिहि”
“ओहो बल्ल आयो बस! ल ल संगै टाँसिएर बस्लास्!
“बस नि कोचाकोच रेछ”
“ “
“ “
“ छिटो हिँड् आज त हदै ढिलो भैसक्यो”
“ पख न मुला, त्यो चढेकै छैन”
“ खोइ त त्यो त चढिन त!”
“ बस भिड भएर होला!”
“छिटो! छिटो! छाड्दे मुला केटि सेटि हिँड्, बस चलाउन लाग्यो!”
“ ह्याsss! यसै ढिलो उसै ढिलो, अर्कोमा जाउँला त्यो संग”
“बहुलाइस् कि के हो?”
“ बस् न यार, लाइफमा कुनै केटिले नि यस्तरी हेर्या थेन यार मलाई, पर्खि न अर्कोमा जाउँला”
“ यसमा त अब जान खोजे नि पछि पछि दौडे मात्रै हो, ऊ टेकु पुग्न लागि सक्यो बस त”
“ हिहिहिहि”
“ के हो लभ नै पर्यो कि के हो?”
“ हामितिर हेर्दै थि अघि, हाम्लाई नि भिडभाड मन पर्दैन भन्ने राम्रो इम्प्रेसन पर्यो तेल्लाई!”
“ अर्को बस चाहिँ के खालि आउला र खै?”

“ ओई! अगि भर्खर फुक्या हैनस एउटा चुरोट? फेरि किन निकाल्या?”
“ एक त बस चढ्न दिँदैन अर्को मैले चुरोट खाँदा नि उस्को इज्जत जाला जस्तो गर्छ मु-“
“हिहिहिहि”
“ओई! हेर् त, त्यो बाइक तेरो मैया निरै रोकियो!, केटि नि बबाल मस्किरा छे त, क्या हो?”
“ ह्या मुला, चिन्या मान्छे होला नि त्यो बाइकवाला”
“हेल्मेट खोल्यो बाइकवालाले! केटो त ह्यान्सी रेछ नि!”
“ दाई, भाई कोहि हो कि?”
“ के को दाई भाई नि, ऊ हेर् त पछाडि बसि टाँसिएर”
“ “
“के भयो??? हेर् तेरि मैया पछाडि बसि ढेपिएर, त्यसको ब्वाइफ्रेन्ड जस्तो छ!
“हँ? हम्मम्”
“ खितितितिति! तेरि सोझि मैया त गई ब्वाइफ्रेन्ड संग टाँसिएर….हाहाहहाहाहाहा……मुला बेकारमा बस छुटाइदिएर!”
“ चुरोट झिक् झिक्!”
“खितितितितति हाहाहाहाहहा अब चुरोट चाहियो यल्लाई हाहाहाहा”
“चुरोट झिक् न मु- अनि म ट्याक्सि खोज्छु,….. मैले थाहा पाइसकेँ आज ढिलो भयो भने जागिर चेट!”
“हाहाहाहाहा”
“ -- जस्तो दिन्दगी साला! त्यो सन्तोशेको लाईफ देखेर इर्ष्या लाग्छ”
“ ट्याक्सीsss”
“ट्याक्सीsss”


September 19, 2009

रमाईलो दशैं खुशी कि पिडा?

आयो दशै ढोल बजाइ गयो दशैं रिण बोकाइ। आउन पनि दशैं ढोल नै बजाएर आउंछ। जब दशै नजिकन्छ ठुला साना,धनी गरिब सबैको अनुहारमा एक प्रकारको चमक आउंछ। आखिर बर्षभरी गरेको दू:ख सबै बिर्सेर रमाउने बेला पनि त यही हो। आफन्त हुन या झगडिया मित्रबर्ग, सबै दशैंको शुभकामनामा बाधिन्छन।

जब बिस्तारै चिसो बढ्छ,धानका बालाहरु पहेंला हुन्छन र एक किसिमको बतासले गाला चुम्छ,बाताबरण मात्रै हैन मन पनि दशैंमय बन्दछ। अनि पिंगमा हुइकिने,आफन्तसंग भेटीने, नया कपडा पहिरिने,मिठो मसिनो खाने आदी कल्पनाले यो मन त्यसै चंगा भइसकेको हुन्छ। एक जना मात्र हो र सबै जना नै खुसी,एक ठाउं मात्र हो र जताततै रमाईलो, कस्ले बनायो होला यस्तो गज्जबको चाड? दशैंको कल्पना गर्दा यो तन त्यसै उफ्रिन्छ अब मनको त कुरै नगरौं। मन त कांहा हो कांहा, समालेर सकिसाध्य छैन।

कसैलाइ खुसीको बम्पर उपाहार पर्छ भने यही दशैमा नै पर्छ। तोते बोली देखी अहिले सम्मको सबै खुसी एकै पटक ल्याउंछ दशैंले। बर्षै पिच्छे आउने दशैंले अहिलेको मात्र होइन पोहोर परार सालको पनि खुसी समेटेर ल्याउंछ। यस्तो खुशीमा बर्षै भरीको सबै दु:ख भुल्न पाउंदा त्यो भन्दा बम्पर उपाहार के पर्नुपर्यो?

घरमै बसेकालाइ घर सिंगार पटारको चटारो,घर भन्दा अली पर बसेकालाइ कुम्लो काम्लो पोको पारेर बस,प्लेनको टिकट समातेर स-परिबार घर फर्किन र आफन्तजन भेट्ने रन्को, यो नापेर नापी साध्य छैन। दशै आउन एक महिना अघी देखी फेशबुक टिका र जमराले छाएको थियो। कतीले त फोटोमै घर जाने प्लेन र खसी बोका उपाहार दिएका थिए। केटा केटी देखी बुढा पाका,घर पसल देखी इन्टेरनट सबै दशैंमय भएका छन।

यसरी बाताबरण उल्लासमय भएको बेलामा बिभिन्न कारणबस शहरकै कोठामा अल्झिएका या अरबको तातो मरुभूमीमा दशैंको न्यानोपन लिन बाध्य मन भने पक्कै बोझिलो भएका होलान। जापान,बेलायत,अष्ट्रेलिया,अमेरिका आदीका नेपाली मनहरु दशैंको आशिर्बाद फोनबाट थाप्दा पक्कै पनि आंखा रसाउने होलान। दू:ख त देशमा मात्र होइन बिदेशमा पनि त्यती नै छ। बर्षै भरिको दू:ख स्वदेशकाले दशैंमा बिर्सदां बिदेशीनेको दू:ख दशैंमा झन बल्झिएर आउंछ। दशैं जस्तो चाडमा बिदेशमा लाटेकोसेरो जस्तै धुमधुम्ती बस्दा आंफू बरिपरिका झिलीमिली बत्ती पनि जुनकिरी जस्तै धमिला लाग्दछन, बिदेशको चमक धमक त बेकारको रबाफ रैछ भनेर बल्ल चेत खुल्दछ।

बाताबरण जस्तै होस,समय दशैंको हो। हामी जे जस्तो अबस्थामा हौंउ,यो महान चहाड धुमधामले मनाउन पर्दछ। सके आफन्त नसके नेपाली दाजुभाइ दिदीबहिनी मिलेर भए पनि बर्षभरीको दू:ख भूलेर यसपालीको दशैं सदाजसो रमाइलो गरी मनाउनुहोला। बिजया दशमी २०६६ को संपूर्ण दौंतरी मित्रबर्गहरुलाइ मंगलमय शुभकामना। स्वदेश,बिदेशमा बस्ने सबै दौंतरी मित्रबर्गहरुले दशैंको शूभकामना यही पोस्टमा साटासाट गर्नुहोला।


September 17, 2009

देशको नाम पनि फेर्ने कि ?

सारमा कुनै कुरामा सकारात्मक परिवर्तन आउन नसके पनि नया नेपालमा नारा, कुरा र तमाशा खेती मौलाएको छ । धेरै पात्र , वस्तु ,घटना र घटकका परिचयहरूले धमाधम परिचयको काँचुली छाडेर नयामा रूपान्तरण हुन तँछाड मछाड गरिरहेका छन् भलै यो परिवर्तनको उद्देश्य हात लाग्यो शून्य नै किन नहोस् । अहिले सम्म नेपाल नामबाट चिनिने हाम्रो मुलुकलाई अब जात जातका गरा र चिरामा भाग लगाउने अनि जातीय नामको न्वारान पहिराउने अभ्यासका क्रममा , आँफूलाई आमूल परिवर्तनको एकल प्राधिकार प्राप्त अभिकर्ता ठान्ने एउटा मुख्य राजनैतिक पार्टीले अद्यावधि कायम रहेको नेपालको राष्ट्रीय झण्डा परिवर्तन गर्नु पर्ने प्रस्ताव जारी गरेको रहेछ । यसका पक्ष विपक्षमा सर्वसाधारणदेखि विज्ञहरू सम्मका रायहरू अब आउने नै छन् आफ्ना आफ्ना पार्टी वफादारिताका पेटाराहरू बोकेर , तर मेरो विचारमा राष्ट्रिय झण्डा मात्र किन मुलुकको नाम , राष्ट्र भाषा र अन्य कुरा पनि फेर्नु पर्ने जिरिह र जिकिरहरू लिएर अगाडि बढ्नु पर्ने उचित मौका यही हो । कसैलाई मन भए ढिलो नगरी अगाडि निस्कँदा मुराद पूरा हुने मौका आएकाले , मौकामा चौका हानी नौका तर्न नचुक्नू होला !

झण्डा परिवर्तनका सुझावकर्ताहरू को आरोप छ हाल विद्यमान नेपालको झण्डा हिन्दू राजतन्त्रको हिमायती छ र परिवर्तित नेपालको जातीय संघीयतालाई प्रतिनिधित्व गर्न जति पनि जातहरू छन् तिनका नामका एकएकवटा तारा राखेर नया झण्डा बनाउनुपर्छ । हुनसक्छ , यो पार्टीले प्रस्ताव गरेको झण्डा झण्डै चीनिया मोडेलको तारावाला हुनेछ, रातो पृष्ठभूमिमा । यो कुराको लख काट्न सकिन्छ किनभने यो राजनैतिक दलले राखेका अधीकांश परिवर्तित नेपालका लागि लागू हुने शब्दावलीहरू उतैबाट सापटी लिएका देखिन्छन् जस्तो कि माओवाद, पिएलए, जनप्रतिनिधिसभा , अध्यक्षमण्डलीय प्रणाली, व्यवस्थापिका नियन्त्रित न्यायलय आदि । हरेक कुराको अनुकरण उतैको हुने भएपछि , झण्डामा तारा हुनुपर्ने यो लगावलाई बुझ्दा केही ताराहरूको संख्या थपेर चीनिया झण्डालाई नै आत्मसात गर्ने सुझाव पो हो कि जस्तो देखिन्छ ।

झण्डाले हिन्दू धर्म र राजतन्त्रको गन्ध बोकेको हो र फेर्न पर्ने हो भने नेपाली भाषाको बचाउ गर्न सकिने कुरा पनि भएन । नेपाली भाषा यसै पनि खस र बाहुनहरूको मातृभाषा भनिने गरेको छ र यसको माऊ भाषा हिन्दूहरूले देवभाषा भन्ने संस्कृत भएको हुनाले नेपालीमा ८०% शव्दहरू संस्कृतबाट नै छन् भन्ने मानिएको छ । यसैपनि जनजाती र तराईयाहरूको नेपाली भाषालाई नेपाल नामको मुलुकले दिएको विशेष स्थान र राष्ट्रभाषाको स्थानप्रति पर्याप्त गुनासो छ ।नया नेपालले सबैलाई न्याय गर्नु पर्ने भएकाले , नेपाली भाषालाई पनि राष्ट्रभाषाको ठाउँबाट हटाएर ' हिन्दी' वा अंग्रेजीलाई 'न्यूट्रल अम्पायर'को दर्जामा स्थापित गराउन पनि धेरैलाई म लागेको हुन सक्छ । नेपाली राष्ट्रभाषा नमानेर हिन्दीलाई च्याप्ने र उपराषट्रपतिले नेपालीमा शपथ खानै हुन्न भन्ने जनजाती महासंघको अडानले यो कुरा देखाएको पनि हो । अत: ओरालो लागेको मृगलाई लखेट्नुपर्छ वा फलाम तातेका बेलामा यसलाई पिट्नु पर्छ भने झैँ , कमजोड नेपाललाई निचोरेर बढि फाइदा लिन यस्तो मौका इतिहासमा दोहोरिने पनि छैन । तसर्थ नया नेपालका ठेकेदारहरूले नेपाली झण्डा फेर्ने प्रस्ताव गरेझैँ केही समयपछि नेपाली भाषालाई राष्ट्रभाषाबाट हटाउन आन्दोलन छेड्ने सम्भावना ज्यूँका त्यूँ रहाक हुनाले राष्ट्रभाषा पनि फेर्ने प्रस्ताव ल्याउन ढिलो नगर्दा हुन्छ । यसको बीऊ परमानन्द प्रकरणमा रोपिइसकिएको छ, यसलाई मलजल गरौँ !

झण्डा र भाषा फेरेपछि 'ने' नामका हिन्दू ऋषीले 'पालन' गरेर नेपाल भएको किंवदन्ती पढेकाहरूलाई यो आसयको नाममा आपत्ति लाग्नु पनि अनौठो हुने कुरा भएन । त्यसैले यो पुरानो नाम 'नेपाल' मा किन रोकिने भनेर क्रान्तिकारी पेटमा आगो दन्किन पनि सक्छ । त्यसैले प्याकेजमा नै सबै कुरा फेरे हुन्छ । राष्ट्रभाषा , राष्ट्रिय झण्डा र मुलुकको नाम नै फेरे पछि त हामी पुराना कुराबाट मुक्त भैहाल्यौँ नि ! आमूल परिवर्तनको यस्तो विधि हुँदा हुँदै किन अरू प्रयत्नमा रुमल्लिइरहने ? देशको नाम पनि 'माओस्तान' वा 'जनताको जनजातीय जनसंघ' वा यस्तै केही राखेर चमत्कार गर्न अब ढिलो गर्नु हुन्न !