September 13, 2009

गजल

दह्रो छैन भन्छन् चिप्लेला पाउ हजुरको
हार्दा'नि जित हुने हुन त दाउ हजुरको ।

वहाबको धार बुझी खियाउनु आफैँ अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको ।


अकथा

दुई वर्षअघि:
ऊ नेपालमै थियो। सहरको कुनै साइबर क्याफेबाट दिनको समयमा विदेशिएको साथीसँगै कुरा गर्दै थियो:
ऊ:         के छ, मस्ती होला नि तेरो त ?
उताबाट: मस्ती कि सास्ती ?
ऊ:         विदेश गएपछि के को सास्ती ?, सास्ती त हामी यहाँ बस्नेलाई पो हुन्छ !
उताबाट: हैन त्यस्तो हैन..., यहाँ पनि समस्या उही हो… ।
ऊ:         अनि कमाइ कति हुन्छ त ?
उताबाट:  ......., …
ऊ:          ...ओहो !..... त्यसो भए त मलाई पनि बोलाऊ न हो !...
उताबाट:  ...हैन कुरा त्यस्तो हैन ..., .... ....
नेपालमा अचानक बत्ती निभ्छ र  इन्टरनेट डिस्कनेक्ट हुन्छ । उताबाट लेखिएको सबै मेसेज उसले पढ्न सक्दैन ।


खुल्ला आकाश

  • यात्री शेखर
खुल्ला आकाश जूनतारा, गीतको लागि भाका होला ।
लाली गुराँस फुलिरहने, नवै रंगका पाखा होला ।

प्रकृतिको सिर्जनामा, सबै दङ्ग मख्ख पर्छन् ,
प्रकृतिकै उपहार हाम्ले साथ पा'का होला ।


September 11, 2009

हैन हौ, शपथ किन खान पर्छ ?

कुरा ढिलो बुझ्ने र तीन पल्ट हाँस्ने उपबुज्रुगको कोटीमा मेरो नाम दरे हुन्छ । डेढ दुई महिनादेखि नेपाली समाचार हेरेको छु, जता पनि परमानन्द र हिन्दी शपथको मात्र चर्चा छ । त्यो पनि एक वर्ष अघि खा’को शपथको कुरा अहिले किन गर्दैछन् , मरिजाऊँ बुझ्याभए । अब ऊ बेला शपथ हो कि के जाती हो खाने बेलामा , मन्त्री -उन्त्रीलाई टि भि’आँ देखेकै हो ।

कसैले धोती कुर्ता, कसैले आईमाई भएर नि जिनका पाइण्टाँ , कसैले खरानी रंगका पाइन्ट कमेजमा रातो टाइ र टोपी लगार, कोहीले पाण्डा , डिंगो अनि गोल्डस्टार जुता लाएर शपथ खा’थे । भाषा पनि अनेक थरिका थे , यिनले शपथ खाए कि कुपथ खाए खासै कसैले मतलब राखेको देखिएन । अब मन्त्री बन्ने , फिर्ता हुने र नया आउने कुरा हुन कुनै आइतबार कुर्न नपर्ने मुलुकाँ , के कपडा लाएर के भाषामा के जाति कुरा कतिले खाए भन्ने कुराको हिसाब किताब औँला भाँचेर राख्न पर्ने दरकार पो हाम्लाई किन परेको छ र ? त्यसैले राखिएन ।

पहिला पहिलाको जमानामा मन्त्री, रापंस , सांसद बन्ने हरूले दौरा शुरवाल लाएर अगडि उभिएको एक जनाले पढेको कुरा अरू पनि त्यस्तै पहिरन लगा’काले समूहमै दोहोराउँथे र पढ्थे । किन होला यति ठूला जस्ता देखिने मान्छेलाई पनि केटाकेटीलाई पढाए झैँ , दोहोराउन लगाएको भनेर सोचिन्थ्यो । त्यहाँ कहिले काहीँ राजा पनि हुन्थे । पछि कुरा बुझियो यही कामलाई शपथ खाने बनेर भनिँदो रहेछ । हामी चानचुने मान्छेले ‘विद्यानास, गाईखाने, म मरि जाउँ, जनैको धर्म , म प्वाक्क हुन परोस्, भने जस्तै ठूला मान्छेले राम्रो तरिकाले किरिया खाएको कुरालाई नै राजनीतिमा शपथ खाने भनेर भनिँदो रहेछ । यति त बुझेकै हो अल्लि पछि बुद्दि छिप्पिन थालेसि । चानचुने मान्छेले कसम वा किरिया खा’को छ भने उसले झूटो भनेको, गरेको वा भन्ने गर्ने छैन कि भनेर भरोसा गर्न सकिने अलिकति ठाउँ रहन्छ । तर पनि , पच्पच्ति किरिया खाएर , मान्छेको विश्वासलाई पनि गाजर मूला खाएझैँ कर्‍याम कुरूम पार्ने नभएका पनि हैनन् ।

तर यी पहिला न्यायधीश पनि भएर नेपाली भाषाँ अदालतका निर्णयका ठेलीका ठली लेख्ने तिरहूते बाहुन परमानन्द झालाई देशको उपराष्ट्रपति भएसि के रोग लागेछ बिचरा नेपाली खर्लप्पै भुलेछन् । नेपाली भुलेपछि नेपालीसंग लिपी उपी मिल्ने दाइ भाषा हिन्दीमा शपथ खाएछन् । यो कुरा अदालतले एक वर्ष पुग्दा, नपुग्दा थाहा पाएर भन्दिएछ ‘ हैन, नेपालको उप हुने हो भने , नेपालीमा नै शपथ खान पर्छ ‘ । यही कुरोमा हलो अड्केर मुलुक ठप्पै भैसक्दा पनि मेरो मगजमा कुरा घुसेन । मलाई भने यो शपथ खाने नियम हटाइदिएर टण्टै खलाँस पार्दा हुन्न र भन्ने लागेको छ ।

शपथ जुन भाषाँ खाए नि , शपथले बाँधेर राख्ने कुरो पनि हैन । शपथ खा’काले इमान्दार र नैतिकवान भएर कुरा वा काम गर्छन् भन्ने पनि कहिँ देखिएको वा लेखिएको छैन । गतिला शपथ खाएकाले नै देश लुटेर, ध्वंश पारेर यो हालत बना’र हाम्रो कन्तबिजोग भएकै छ । शपथ खाएर , शपथलाई अगस्ति मुनिले झैँ पचाएर, देश नै खान मिलेकै छ भने शपथ को इज्जत बचाउन पनि अब शपथ खान नपर्ने बनाउने बेला भएन र ?

मलाई शपथ खाँदामा यो राम्रो कुरो हुन्छ है भनेर कसैले बता’को पनि छैन । शपथ काण्डले देशलाई नै कुपथमा पारेको हो कि जस्तो मेरो मोटो बुद्दिले ठानिरा’छ । त्यसैले मेरो कुरो कसैले सुन्छ र मान्छ भने मेरो फिराद यही छ कि ‘ मिल्छ भने यो शपथ कुपथ केही खान नपर्ने बनाऊँ , हुँदैन र खाने नै हो भनेर जिद्दी गर्ने हो भने जसलाई जे मन पर्छ त्यै त्यै तरिकाले, रूचि अनुसार खान मिल्ने पारौँ’ । नया नेपालमा खाने कुरा र पकवानमा पनि कसैलाई ‘यही खान पर्छ र खा’ भन्न पाइन्छ र ? त्यसैले शपथ खान र ख्वाउन कर नलगाऊँ , खानै पर्नेले रूचि अनुसार अझ मिल्छ भने घर घराँ गएर खाऊँ । यसो गर्दा गणतान्त्रिक लोकतन्न्त्रको कायाकल्प हुन्छ ! हैन र ?



मुटु माझमा

  • यदु
ओखलढुङ्गा, हाल : दोहा कतार
----------
तिमीबाहेक यो मन कतै सर्दै सरेन |
यो मुटुमा तिम्रो माया मर्दै मरेन ||

अझै तिमीलाई पर्खिरहेछु भेटिएला भन्दै |
बाँचिरहेछु बिछोडका दिनहरु गन्दै ||


September 9, 2009

काठमाडौँ कथा

जोतारे धाइबा

बटुल्छ थोते मुस्कान,
कुनाको बस्तीमा ट्वार्र-ट्वार्र हुक्का तान्ने
मानौँ ऊ त्यो ज्यापूबा हो-
उही मुस्कानको विरही रङमा
चाउरी छल्काउँदै गालाकिनारसम्म
उस्तै उदास होली खेलिरहन्छ


September 8, 2009

ओरालो लागेको मृग अर्थात् नेपाल

मुलुकभित्र 'क्रान्ति, आन्दोलन, लोकतन्त्र, दिगो शान्ति, जनवाद, चमत्कार, नागरिक सर्वोच्चता’ जस्ता असंख्य शव्दहरूमा राजनीतिक बहस भैरहँदा, वर्ल्ड इकोनोमिक फोरम भन्ने संस्थाले हिजो जारी गरेको अन्तर्राष्ट्रिय आर्थिक विकास र प्रतिस्पर्धात्मक विकास स्तरको सूचीमा नेपाल १३३ देशमध्ये १२५ औँ स्थानमा गोलचक्कर खाँदै गरेको समाचार आएको छ ।
सत्य के हो भने , हामीले जति ठूला कुरा गरेर चिच्चाउँदै कोहोलो हाले पनि, हामी एशियाकै सबैभन्दा हरितन्नम पछौटे मुलुक रहेको तथ्यांकहरूले हल्ला गर्दै बताइरहेका छन् । हाम्रा साथमा वा हाम्रा पछाडि अब केवल केही अफ्रिकी मुलुकहरू - बुरूण्डी र क्रमशः घट्दोक्रममा जिम्बाबे, चाड, माली, मोजाम्बिक, बुर्किनाफासो, र मौरिटानिया जस्ता प्राकृतिक कोपभाजनका शिकार बनेका सब‍-सहारा क्षेत्रका मध्य अफ्रिकी देशहरू मात्र बाँकि रहेका छन् । यो सर्वेक्षणले प्रष्टाएको सत्य के हो भने, हामीले जति महान राजनीतिक चेतना र उपलव्धिका कुरा गरे पनि, हाम्रो भाग्य र हैसियतलाई बिगार्ने कामबाहेक अहिलेसम्म कामलाग्दो केही गरिरहेका रहेनछौँ । अहिलेसम्मका हाम्रा राजनीतिक, आर्थिक र सामाजिक विकासका उपलव्धिहरूको सारांश यही रहेछ कि हामी मानविय विकासको सूचकांकमा एशियाको सबैभन्दा कमजोर वा तल्लो मुलुक रहेछौँ । भन्न र स्विकार्न गाह्रो लाग्ने यो तीतो सत्य ओठ चेप्राएर निल्नु नै हाम्रो नियति हो भन्नुमा अन्यथा रहेन ।

पूरा रिपोर्ट पढ्न यो लिंकमा जानुहोला: http://www.weforum.org/pdf/GCR09/GCR20092010fullreport.pdf


नेपालको इतिहासमा सदैव देखिएको सत्य कुरा के हो भने, हामी राजनीतिको पछाडि सधै दगुरिरह्यौँ । राजनीतिको भीड बनाएर सदैव जिन्दावाद मूर्दावादका लयमा हिंसा, आतंक, भ्रष्टाचारको इन्धनले सडक तताइरहँदा, टायर बालिरहँदा र अरूकै थाप्लोमा आरोप थोपरिरहँदा हामी आफ्नै कर्तव्यबाट सँधै टाढिइरह्यौँ । कर्तव्य, प्रवृत्ति र पद्धतिलाई सुधार्न व्यक्तिले पनि गर्नु पर्ने वा गर्न सक्ने शुरूवातलाई बिर्सेर , आफैलाई राजनीतिक चेतनाको महानायक ठान्ने भ्रममा हामीले संसार कता जाँदैछ र हामी कता रुमल्लिएका छौँ भन्ने कुरालाई कहिल्यै हेक्का राख्नु पर्ने रूपमा सोच्नै सकेनौँ ।

देशमा महँगी, लूट, फरेब, कालाबजारी, हत्या, आतंक र हिंसाको राज चलेको छ । सर्वसाधारण नागरिक नेपाल भित्रै शरणार्थी बन्नुपरेको जगजाहेर हुँदा, कुनै राजनीतिक दल वा शक्तिको माग र बिरोध कार्यको मुद्दा नागरिकको बाँच्न पाउने अधिकार र जीउन चाहिने आधारभूत आवश्यकताका कुराहरू को उपलव्धता हुन सकेको छैन । सबैलाई सत्ता चाहिएको छ, सत्तामा पुग्दा आफ्नाहरूलाई मिल्ने मुलुकको अवसर र ढुकुटीको रजाइँ मात्र राजनीतिक सफलताको उद्देश्य हुने गरेको छ ।

अझै पनि, हाम्रो दशा र दिशा प्रष्टिएको छैन । हाम्रो लक्ष्य, गन्तव्य र मुलुकले लिन पर्ने बाटोका बारेमा कुनै राजनीतिक शक्तिहरूबीचमा मिल्नसक्ने आधारहरू देखापरेका छैनन् । यस्तोमा दलका समर्थक, जातीय समूह र क्षेत्रवादको आगो भर्खरै झोसेर मुलुक सल्काइएको छ र यसको दूरगामी प्रभाव भोलिका दिनमा कुन रूपमा हामीले अपनाउनपर्ने होला केवल अनुमान गर्न सकिन्छ । मध्य अफ्रिकाका मुलुकहरू कलह, हिंसा, भोक, अनिकाल, र खडेरीका पीडाबाट माथि उठ्न उपायको छटपटीमा छन् र युरोप र अमेरिकाको सहयोगी ध्यान पनि अब अफ्रिकालाई माथि उठाउन एकोहोरिएको छ, बिगत केही वर्षयता । तर हाम्रो मुलक नेपाल भने, आर्थिक विकासको चमत्कारिक दौडमा विश्वलाई नै अचम्म पार्दै अगाडि बढिरहेका दुई छिमेकीहरूको बीचमा बसेर पनि, ओरालोतिरको सजिलो दौडको बाटो झर्दै गरेको देखिन्छ ! कहिले होला यो दिशातर्फको यात्रा छोडेर हामी उँभो लाग्ने ?