September 7, 2009

चुनौती बुझ्ने छाता

हेर्दाहेर्दै हतार-हतार दुनियाँ
सायद कहीँ-कतै नजिकै
ओत खोज्न दौडिरहेछ ।

छड्के पर्छ त्यो बतासे पानी
सानो छाता, दुई आकृति
तैपनि अट्न खोजिरहेछ।

गडगड गड्कन्छ आकाश
हावाको वेग बढ्दै जान्छ
अझै चुनौती थपिरहेछ ।

छाता उढ़छ बेवास्ताले, सायदै
पानीको थोपै छिर्न सक्दैन
दुई बीचको दूरी खुम्चिसकेछ ।

बुझेन चुनौती मैले, दुनियाँले
तर चुनौती बुझ्ने त्यो छाता
महत्वहीन भई उत्तानो लडिरहेछ ।


* मुकुन्द
K.U.



गाऊँखाने कथा - २९ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २९ को सहि उत्तर हो खुर्सानी। उत्तर मिलाउने लुना जीलाइ बधाइ तथा प्रयास गर्ने संपूर्ण मित्रहरुलाइ धन्यबाद।
अब गाउं माग्ने पालो पनि लुनाजी को।
------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।

तल थाल माथि झाल, त्यस माथि हीरालाल, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


September 6, 2009

लौ हाँसौं !

मुक्तक

झ्यालबाट हेर्दा  बाटोमा कोही देखिएन ,
झ्यालबाट हेर्दा बाटोमा कोही देखिएन ।
बाटोमा गएर हेर्दा,
झ्यालमा पनि कोहि देखिएन ।

सरदार

Sardar Ji always studies in front of mirror for 3 reasons:
1: It helps saving revision time.
2: He can keep a watch on himself.
3: He likes combined study.

जँड्याको प्रयोग

आफैं जाँड खाने बाऊले छोरालाई जाँड-रक्सीको खराबी बताउन एउटा गिलासमा रक्सी भर्छ । भरीएको ग्लासमा भूईबाट एउटा कमिला समातेर हाल्छ । कमिला एकैछिन चलमल गर्छ र मर्छ ।

बाऊ: ल भन, छोरा तिमीले यसबाट के बुझ्यौ ?

छोरा: बुबा, जाँड रक्सी खायो भने पेट र शरिरमा भएका हानिकारक किटाणुहरु मर्दा रहेछन ।

माग्ने

एउटा माग्ने बाटो हिंडने संग पैसा माग्दै

“हजुर २० रुपैया दिनुस न कफी पिउन मन लाग्यो”

“अनि कफी त जम्मा १० ले नै आउँछ त”

“तर मसंग मेरो गर्लफ्रेण्ड पनि छ नि …”

“माग्ने भएर पनि गर्लफ्रेण्ड बनायौ?”

“हैन ! गर्लफ्रेण्डले मलाई माग्ने बनाई”

र अन्तमा यो पनि 

रामेको बाउले घरमा एउटा अनौठो रोबोट ल्याए । त्यो रोबोटले कसैले झुठ बोल्यो कि थाहा पाउने र गालामा चड्कन हान्थ्यो ।

एकदिन रामे स्कूल नगै अन्तै गएर ढिला घर फर्कन्छ । बाउले उसलाई सोध्छन
“रामे !, यत्तिका बेरसम्म कहाँ थिईस ?”
“स्कूलमा एक्स्ट्रा क्लास थियो....” रामेको वाक्य पुरा नहुँदै रोबोटले रामेको गालामा एक चडकन हान्छ ।

आफूसंग झुठो बोलेकोमा रिसाएर बाऊ चाही पनि रामेलाई दनादन पिट्दै गर्दा कोठामा रामेको आमाको प्रवेश हुन्छ । छोरालाई सानो गल्तिको लागि निर्घात कुटेको देखेर आमाचाही बचाउ गर्दै रोक्न अघि सर्छीन:- “ हैन गल्ति भयो त के गर्नु, छोरा त तपाईकै हो नि, आफ्नो छोरालाई पनि यस्तरी कुट्छन ....”

यसपाला रोबोटको हात हाबामा लहराउँछ र आमाको गालामा एक चडकन लाग्छ ।



September 5, 2009

जीवनको खुसी

अन्जान बिबश एक्लो
तुल्सिपुर, दाङ्

जीवनको खुसी चहार्दै हिडेँ
भीडभाडको माहौलमा झपार्दै हिडेँ

जीन्दगी के हो परिभाषित नहुँदा
धर्तिमा आफैलाई लतार्दै हिडेँ

कर्मको बोझ थुप्रियो काँधमा
अशक्त पाउहरु बटार्दै हिडेँ

जीउनलाई साँच्चिकै नमज्जा लाग्यो
गलहत्याई पचक्क मार्दै हिडेँ

भूमिमा निष्फिक्री ढलेको ज्यान
यमराजको समिपमा टकार्दै हिडेँ ।


September 2, 2009

एकादेशको छाडा देश

भारतद्दिपको छेउछाउमा पाखा पखेराको खोचिलो क्षेत्रमा एउटा अचम्मको देश छ। मानचित्रमा देखिने त्यो देशका रेखा छुट्टाउनै मुश्किल पर्छ,हरेक लेखौटमा सिमाना फरक फरक छन,सिमाना यसै हो भनेर भन्न सक्ने स्थिती छैन। रात रहंदा अग्राख पलाउंछ, अग्राख पलाउंदा सिमाना हराउंछ। बिचित्रको छ सिमारेखा। त्यो भन्दा बिचित्र सिमारेखा भित्र छ। त्यो बिचित्रतामा के गजबता हुन्छ कसैलाइ पत्तो हुदैन। एउटाले हुन्छ भनेर सक्न नपाउंदै अर्को हुन्न भनेर सकिसकेको हुन्छ। यस्मा आश्चर्य मान्नै पर्दैन किनकी देशै नै बोलीमा चलेको हुन्छ,हरेक ब्यक्ती आदेश दिन पोख्त छन। तर सबै आदेश कामलाग्दैनन,जस्ले सक्छ उसकै आदेश शिरोपर हुन्छ। कानुनको नाममा एक दुई खोस्टा छन। न त्यो कसैलाइ पत्तो छ न कसैलाइ पालना गर्ने स्वभाव छ। ठ्याक्कै भन्दा कानुनको अनुशरण गराउने कस्ले, पालन गर्ने कस्ले एक्दमै अनयौल छ। कुनै कुनै देशमा कुकुर बिराला पनि अनुशासनमा बस्छन तर त्यो देशका जनताको त्यती पनि अनुशासन छैन भन्नै हुदैन। कागले कान नलगे पनि कागकै पछि दगुर्ने हुलहरु त्यो देशलाइ छेडछाड गरे त आफ्नै घर जलाउन किन नपरोस बिरोधमा उत्रिहाल्छन। राजनितीक चेतना निकै उच्च छ। दश दश बर्षमा जनआन्दोलन भइरहन्छ। जनसंख्या भन्दा शहिदको संख्या बढी छ। आन्दोलन र शहिदको परिभाषा बुझ्न जरुरी छैन, उनीहरु त्यसको उच्च सम्मान गर्छन। अनी जनआन्दोलन गरिरहन्छन,शहिद बनिरहन्छन।

सर सम्मान निकै हुनेगर्छ त्यो देशमा। आफ्ना पूर्खाहरुको सालीक नै तोडे पनि बिदेशी नेताहरु फोटोहरु निकै जतनका साथ भित्तामा झुन्डाइन्छ। अझ संयोगबस कुनै देशको पाइखाना मन्त्री सवारी भए त सबैजना धनुष्टंकार भइबक्सिन्छ। नेताहरुमा हांहाकार चल्छ, राष्ट्रिय छापाहरुमाहरुमा अड्कल काटिन्छ अब सरकारको बयल गाडा बायां मोडिन्छ,फलानो ठाउंमा गएर रोकिन्छ। जब पाइखाना मन्त्रीको फिर्ती सबारी हुन्छ एक झुन्ड उफ्रिन्छ अर्को झुन्ड ओल्सिन्छ तर दुबै झुन्डको लोलीमा बोली मिल्छ अनि देशमा एउटा ऐतिहासीक निर्णय हुन्छ अब हरेक घरमा चर्पी निर्माण गर्ने। न योजना छ न बजेट। केही घरहरुमा चर्पी भइसकेका हुन्छन, केही घरहरुमा चर्पी निर्माण गरिन्छ, कतै त्यसै छाडिन्छ। तर अन्तत सबैले बाटैमा आची गर्छन। चर्पीको उपयोगिता कागतमै सिमित रहन्छ,इतिहांस बनेर दश बर्ष बित्न नपाउंदै फेरी त्यही चर्पीको लागी आन्दोलन हुन्छ,दुइ चार जना मर्छन,शहिदमा समेटिन्छन अनि देशमा पून चमत्कार हुन्छ। चम्तकारसंगै बिभिन्न अबतारको जन्महुन्छ। बिभिन्न बाबाहरु छ्याप छ्याप्ती शहरमा भेटिन्छन, कोही कात्रो बनाउन लाग्छन, कोही पात्रो बनाउन लाग्छन अनि कोही कानुन बनाउन लाग्छन। उनिहरुको कागजी कानुन उनीहरलाइ मात्र बुझ्ने अधिकार छ,अदालतले बुझेर ब्याख्या गर्ने खोजे कसैलाइ मान्ने हुनेछैन। कुरो सहि नै हो आफुले मान्ने कानुनको ब्याख्या आफैले गर्ने हो कहीं अदालतले गरेर पनि हुन्छ? कानुन पालन मनखूशी ले गरिन्छ। तर चाल चलन गज्जब छ त्यो छाडा देशको। नक्कली जोगीले खरानी धेरै धसेजस्तो जांहा कुनै नियम कानुनको वास्ता गरिंदैन त्याहां संबिधान सिजन सिजनमा बनिरहन्छ।


September 1, 2009

दुनियाँ हल्लाउन खोज्दा

केहि दिन अघि पढेको ठरकिजीको दुई लाइनले गजबसंग मनमा प्रभाव पारेको थियो । अनि एकलव्यजीले टांसेको स्कोलार ट्याक्सी ड्राइभर डा. काइको ब्लगले (http://www.dautari.org/2009/08/blog-post_29.html) पनि मथिंगल खल्बल्याइरहेको थियो । यसै मेसोमा आज आफ्नो काम गर्ने अड्डामा पनि सानो तिनो बोतल सकाउने कार्यक्रम थियो र बोतलसंगै ठरकिजीको दुइ लाइन सम्झे :

साहस भने तिमी यो दुनियाँ हल्लाएर हेर ,
हैन भने एक बोतल रित्याएर, दुनीयाँ हल्लीएको हेर

बोतलहरु सकिए तर मेरो दुनिया हल्लाउने र हल्लिएको हेर्ने प्रयास यसरी सकियो :

दुनियाँ हल्लाउन सके,
दुनियाँ हल्लिएको नै देखें,

दुई तीन बोतल सिध्याएपछि अरुलाई हल्लाउने त कुरै छाडौं,
फगत आंफै हल्लिन थालें ।

संभवत नेपाली या भारतियहरुले जस्तै चाइनिजहरुले कम्पलेन (वा शिकायत) गर्ने गर्दैनन र पृष्ठभुमीका धेरै कुराहरु बाहिर आउने गर्दैनन । त्यसैले किन र कसरी डा. काइ मिङले आफ्नो कामबाट हात धुनु पर्यो भन्ने कुराहरु धेरैलाई थाहा हुन सक्दैन ।

संगै काम गर्ने २-३ जना चिनिया मित्रहरुसंग बोतल शुरु भए पछि यस विषयमा कुरा भयो । उनिहरुलाई यसबारेमा धेरै थाहा रहेछ , किनकि उनको विषयमा चिनिया ब्लग र समाचारहरुमा समेत प्रशस्त चर्चा रहेछ ।

सिंगापुरको मोलेकुलर बायोलोजी सम्वन्धी संस्थाहरुमा केहि वर्षदेखि पश्चिमा (अंग्रेजी मातृभाषा भएकाहरु) लाई धमाधम जागिर दिइएको रहेछ । अंग्रेजी मातृभाषा भएकाहरुको लेख र प्रकाशनको रेकर्ड अरुको भन्दा कैयौं गुणा बढि छ यो धेरैले मानि आएको र जग जाहेर कुरो हो । किनकि तपाईको लेखन शैली भड्काउ अर्थात “ग्ल्यामरस” छैन भने अचेल साइन्टिफिक जर्नलहरुले समेत तपाइका लेखहरु पहिलो पटकमै रिजेक्ट गरिदिन्छन । मेरो आफ्नै फिल्डमा पनि देखेको कुरा हो नेचर र साइन्सहरु समेत “इम्प्याक्ट राख्ने लेखको” बहानामा भारतीय न्युज च्यानल "आजतक" र "एनडिटीभी"को स्तरमा ओर्लन्छन भने “अनुसन्धान” भन्ने विषय पनि “ग्ल्यामर” को दुनियासंग दाज्न मिल्ने भइसकेको छ । हैन भने नेचर र साइन्सका प्रकाशनहरुमा किन अमेरिकि र बेलायतिहरुको वर्चस्व हुन्छ ?

साइन्स र नेचरले छापेका प्रोपागाण्डा आर्टिकलहरुको थुप्रो मैले पनि उदाहरणको रुपमा देखाउन सक्छु ।

हो चिनिया मित्रले प्रा. डा. काइ मिङको विषयमा त्यहि भने । उनी एउटा सफल वैज्ञानिक रहेछन र उनको सिंगापुरको हिसाबले वार्षिक औसत रुपमा वैज्ञानिक अनुसन्धानका लेखहरु प्रकाशित हुंदारहेछन । तर पश्चिमी “बोस”हरुको प्रवेश पछि पहिले देखि काम गर्दै आएकाहरुको जागिर खोसिने क्रम शुरु भएछ । त्यसै क्रममा प्रा. डा. काइभन्दा अगाडि पनि धेरै जनाको जागिर खोसिइसकेको रहेछ त्यसैले उनिहरु चिन वा अन्य देशतर्फ लागेका रहेछन । तर डा. काइका बच्चाहरु सिंगापुरको स्कुलमै पढ्ने भएका कारण उनी सिंगापुर छोड्न नसक्ने वाध्यात्मक परिस्थितिमा रहेछन । त्यसैले अन्तिम बिकल्पका रुपमा ट्याक्सी चलाउन लागेका रहेछन ।

अहिले सिंगापुरका अन्य रिसर्च संस्थाहरुमा पनि त्यहि हाल देख्न सकिन्छ । यसलाई “कन्सपिरेसी थ्योरीका” रुपमा लिनुस वा “प्रतिस्पर्धा”मा फेल भएको हिसाबले लिनुस वा सिंगापुर सरकारको “फितलो भिजन”का रुपमा लिनुस तर विज्ञान यहां असफल भएको छ । दर्जनौं अनुसन्धानका लेखहरुले अरुलाई बाटो देखाउने वैज्ञानिक आज आंफै बाटो बिराएर बांच्ने बाटो खोज्दैछ , के यो बिडम्वना हैन ?

बेलायतमा कुनैबेला एनएचएसका मेनेजर भएर बसेका एक जना नेपाली भलाद्मी दाइ हुनुहुन्छ, उहांले ५५ वर्षको उमेरमा अथाह बायो डाटा र एप्पलिकेसन फाल्दै “निर्वाणा”को जीवन बिताइरहेको पनि नजीकबाट देखेको छु । मैले देखेको र बुझेको कुरा धेरै देशका आप्रवासीहरुको लागि पश्चिमा देशहरुमा उनिहरुको छालाको रंग र मातृभाषाको एक्सेन्टले एउटा हैन धेरै पुस्तासम्म पक्कै पनि पीडा दिइरहनेछ ।

एकजना विद्वानको भनाइ थियो :

"In a lot of the research institutes now, performance is assessed a huge part by how much intellectual property churned out, as well as how much industry dollars brought in." यो भनाइलाई वैज्ञानिक साम्राज्यबादको रुपमा लिनुस या व्यापार तर नियत छर्लङ छ ।

सिंगापुर मात्रै हैन मलेशियादेखि मध्य एशियाका स्कुल युनिभर्सिटिहरु पनि अंग्रेजी भाषाका आयातित “गुरु”हरुका लागि सुम्पिएका छन । हुन नेपाली पनि विर्सेर पुरानै युगतिर फर्किन थालेको नेपाली समाजमा यस्ता कुराले अर्थ नराख्लान तर दुनियाँको अगाडि आफ्नो पनि अस्तित्व भनेर केहि गर्न खोज्ने नेपाल या चिन या अन्य एशिया देखि अफ्रिकासम्मका मान्छेहरुका लागि अंग्रेजी भाषाको दासत्व आफ्नै भूमीमा समेत लोप्पा ख्वाउन पछि पर्दैन भन्ने कुरा हेर्न डा. काईकै उदाहरण काफी नेपालीहरु नाक, रौं र आंफैले नजान्ने “मातृभाषा”को विवादमा रुमल्लिएको बेला "मेरो सहानुभुति र प्रोफेशनल भातृत्व" नेपाल भन्दा धेरै टाढासम्म फैलिएर डा. काइ मिङसंगै रहनेछ ।

यो विषयमा धेरै कुरा लेख्न मन थियो तर कति शब्द वा भावहरु अपाच्य हुन सक्लान भनेर आफ्नो कलमलाई थांती राख्नमै उचित ठाने र दुनिया हल्लिएको हेर्ने चक्करमा आंफै हल्लिन थाले । बांकी हल्लिन छाडे पछि भोलि तपाइहरुसंगको भेटमा !


August 31, 2009

न्यायलयको नियन्त्रण कि अधिनयाकवादतर्फको यात्रा ?

भरखरै संविधानसभा भएको दलहरू बीचको सहमतिले भने अनुसार नेपालको आगामी संवैधानिक व्यवस्थाले न्यायलयका न्यायधीशहरूको नियुक्ति व्यवस्थापिका र कार्यपालिकाले गर्नेछ । यो सहमति भावी नेपालमा लोकतान्त्रिक पद्दतिमा हुनु पर्ने शक्ति पृथक्कीकरणको सिद्धान्तको पूर्ण बिरूद्ध छ । जब राज्यका तीनवटा अंगहरू व्यवस्थापिका , कार्यपालिका र न्यापालिकालाई स्वतन्त्र रूपमा कार्य गर्न नदिएर एउटा वा दुईटाको मातहतमा अर्कोलाई राख्न खोजिन्छ, त्यहाँ लोकतान्त्रिकताको मर्मले धोका खाँदैछ भनेर विश्‍वस्त भए हुन्छ । यो , अधिनायकवादको सूत्रपात गर्ने पहिलो कडी हो । दोस्रो विश्वयुद्धताका हिटलरको नाजीवादी मन्त्रिमण्डलमा संचारमन्त्री ( प्रोपोगाण्डा) रहेका डाक्टर जोसेफ गोएबल्सले ( Dr. Joseph Goebbels) भन्ने गर्थे , “ Justice must not become the mistress of the state, but must be the servant of the state policy” । सुन्दामा राम्रो हो कि जस्तो सुनिने यही नीतिको बाटो भएर , नेपालका भ्रष्ट र अपठित नेताहरूले , आफ्ना लागि अवरोधक बन्न सक्ने न्यायलय र अदालतलाई यसरी आफ्नो मातहतमा ल्याउन लगाएर , तानाशाही अधिनायकवादको बाटोमा मुलुकलाई धकेल्न जानेर वा नजानेर सहयोग गरेका छन्।

भनिन्छ, अदालत पनि भ्रष्ट भयो । तर के नेताहरूको पाखण्ड, गवाँरपन र भ्रष्टाचार मुनि अदालत वा न्यालयको स्वतन्त्रता बनिरहन सक्ला ? अनि, सोच, विचार, क्षमता र योग्यताले पंगू रहेका हाम्रा राजनैतिक दलका बाहुबली र बन्दूके नेताहरूको अघोरी इच्छाहरूका मातहतमा हाम्रा नागरिक अधिकार र स्वतन्त्रताप्रतिका जुझारू भावनाहरूले शरण पाइरहन सक्लान् ? क्षमता , प्रतिवद्दता र इमान्दारिताका कसिमा पूर्ण अयोग्य तर लडभीड, भ्रष्टाचार, घुसखोरी र आफ्नाहरूलाई पोस्न मात्र जानेका यस्ता पाखण्डी नेताहरूको अभिभावकत्वमा मुलुकका सम्पूर्ण संरचना र अभिभावकत्व सुम्पेर हामी सुरक्षित रहेन सक्ने स्थिति देशमा छ ? यस्तोमा , मुलुकमा एकदलिय तानाशाही शासन पद्दति लादेर , व्यक्ति र नागरिकमाथि अमानवीय व्यवाहर गर्न खोज्ने भोलिका सम्भावनाहरू बाट हामीलाई संरक्षण दिने निकाय कुन हुने ?

अहिले नेपालमा निश्चित राजनैतिक शक्तिहरू , आफ्नो दलको एकाधिकारवादी लक्ष्यमा अदालतको स्वतन्त्र अस्तित्व बाधक हुनसक्छ भनेर यसलाई समयमै नियन्त्रणमा लिनुपर्छ भन्ने अभिष्ट लिएर योजना बनाउँदै काम गरिरहेका देखिन्छन् भने अरू शक्तिहरू यो कुराको गम्भीरतलाई बुझ्नै नसकेर यिनै कुटिलहरूको स्याल भाकामा होहो मिलाएर , नेताहरूको सर्वोच्चता स्थापित भएमा आँफूहरू जस्तो करतूतबाट पनि मुक्त हुन पाइने सोचमा मख्ख परेर स्वतन्त्र न्यालयको घाँटी मिचेर यसलाई निमिट्यान्न पार्न आतुर देखिन्छन् । घाँटीमा आएको गलगाँडको उपचार घाँटी मिचेर हुँदैन । विद्यमान न्यायलयका विकृतिहरूलाई हटाएर स्वतन्त्र न्यायलयको गरिमालाई स्थापित गर्न सकेमा मात्र न्यायलयले व्यक्तिको हकअधिकारमा संरक्षक भूमिका निभाउन सक्छ , नत्रभने आज विषयको गम्भीरता र मर्मलाई नबुझी लहैलहैमा गरिने निर्णयहरूले भोलि डरलाग्दो एकाधिकारवादी तानाशाही पद्दतिको सूत्रपात गर्दा , व्यक्ति र जीवन निरिह बन्न सक्ने कुरामा हामी सचेत भएनौँ भने , दु:खका बेला हाम्रो रक्षा गर्न कोही आउने छैन ।

देशको कानून र न्यायलयलाई राज्यतन्त्रको नीति बनाउने गोयबल्स निति पछ्याएर , अदालतलाई आज जुन नियन्त्रणमा लिन खोजिएको छ, विश्‍व इतिहास सांक्षी त्यो निरंकुशताको हतियार बनेर व्यक्तिको स्वतन्त्रतामा मात्र जाइलागेको छ । अत: न्यायं रक्षति रक्षितं ( गीतामा धर्मोरक्षति रक्षितं भनिएको छ अर्थ=धर्मको रक्षा गर धर्मले तिम्रो रक्षा गर्नेछ ) भने जस्तो कानून र न्यालयको रक्षा हामीले गरेनौँ भने परेको बेला हाम्रो रक्षा पनि हुने छैन ।

-एकलव्य