August 26, 2009

गाउँखाने कथा - २७ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २७ को सहि उत्तर हो ओदान। उत्तर मिलाउने सुजन जी लगाय सबैलालाइ बधाइ।
अब गाउं माग्ने पालो पनि सुजनजी को।
------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

इल्सिङ मिल्सिङ, काली गाईका तीन सिगं, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोला। उत्तर जान्न गार्हो परे अनुमान लगाएर भए पनि रमाइलो लिनुहोला। नेपाली मौलकिपन झल्काउने अन्य रमाइला सामाग्री भए प्रश्तुत गर्नुहोला।


August 25, 2009

बन्धुहरु लाज लाग्यो !

आज नागरिक न्युजमा छापिएको एउटा बिचित्रको समाचार देखेर अचम्म लाग्यो । अचम्म यस अर्थमा कि नेपाललाई “समृध्द” बनाउन एअरपोर्टमा १-२ सय ट्रली र देवघाटमा वृध्दाश्रम बनाएर नेपाललाई सहयोग गर्ने नेपालबाट बिदेशिएका Non Returning Nepali (एन आर एन) हरुले आफ्नो सम्मेलन गर्न नेपाल सरकारसंग चन्दा मागेको भनेर समाचार लेखिएको थियो र त्यति मात्र हैन त्यस संस्थाले त्यस्तै सम्मेलनको लागि भनेर नेपालीहरुले तिरेको करबाट पहिले पनि रु ४५ लाख सम्मेलनका लागि मात्र लिइसकेको रहेछ ।

समाचारको अंश:
“अर्बौ लगानी भित्राउँछौँ भनेर दोहोरो नागरिकतालगायत सुविधा खोज्दै आएका गैरआवासीय नेपालीको संगठन (एनआरएन) आफ्नो महाधिवेशन गर्नसमेत नेपाल सरकारसँग आर्थिक रूपमा निर्भर रहने गरेको छ। आगामी असोज २७ देखि २९ सम्म काठमाडौंमा हुने चौथो अन्र्तराष्ट्रिय महाधिवेशनका लागि एनआरएनले सरकारसँग २५ लाख रूपैयाँ उपलब्ध गराउन माग गरेको छ। यसअघि २००३, २००५ र २००७ मा तीनैवटा अन्तर्राष्ट्रिय सम्मेलन र महाधिवेशन गर्दा सरकारसँग क्रमशः १०, १५ र २० लाख रूपैयाँ लिएको थियो। एनआरएनले प्रत्येक दुई-दुई वर्षमा गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ।“

आफ्नो भलाईको लागि विदेशिने अनि उतैको नागरिकता लिने र कुनै पहिचान नभएपछि इज्जतको भोक मेटाउन नेपाल र नेपालीकै भर्याङ रोज्ने अनि पैसाको लागि पनि विश्वकै एउटा दरिद्र मुलुकको भर पर्नु पर्ने ? नेपालीमूलका नेपालीलाई नेपालको माया छ भने जहिले पनि जहां पनि जसरी पनि आफ्नो देशको लागि सहयोग गर्न सक्छन । टाइ र कोट लगाएर „आप्रवासीहरुको“ भेला गर्दैमा देशको काचुली फेरिने भए नेपाल मात्र हैन अमेरिका, बेलायत र जापानीहरुले पनि गैर आवासियहरुको संस्था खोल्थे होलान ।

धेरैलाई चेतना भएकै कुरो हो एन आर एन चलाउने एउटा बलियो हिस्सा नेपालको खुकुलो कानुन र देशका स्रोतहरुमाथि आफ्नो पकड जमाउन चाहन्छ । त्यसरी नेपाल बन्दैन “आप्रवासी बन्धुहरु” ! बरु सक्नुहुन्छ भने आ-आफ्नो स्तरबाट सा सानो सहयोग आफ्नो गाउं ठाउंलाई दिए हुन्छ । देशमा शान्ति र स्थायित्व हुन्छ भने “कोडाक” मात्रै हैन „बिलगेट्स“ पनि लगानी गर्न नेपाल आउन सक्छन । नत्र नोक्सानको लागि एन आर एनका नाइकेहरु पनि नेपालमा लगानी गर्न जादैनन । विदेशमा समेत यस्ता कार्यक्रमहरुलाई सरकारले पैसा दिन्छ भनेर एकजना बुज्रुकले भन्नु भएछ । कहि पनि शुध्द बिचार लिएर समाज सेवा गर्न तम्सेका व्यक्तिहरुले चिया देखि गाडि भाडासम्मको पैसा आंफै ब्यहोर्छन ।

६०० जना सहभागीलाई १ करोड चाहिन्छ रे ! ए बाबा , ३०० रु प्रति व्यक्ति भन्दा सस्तोमा लन्च सहित पांच तारे होटलहरुले हल उपलब्ध गराउंछन भने वर्षौंमा एक पटक नेपाल जानेहरुले ४ दिनको लागि १००० रु खर्च गर्न सक्दैनन ? दशैंको मौका पारेर फ्रिमा देश दर्शन गर्ने र एउटा गरिब देशको सरकारको पैसामा “छुट्टी मनाउने” आप्रवासीहरुको देशप्रतिको माया बुझिनसक्नुको छैन र !

यहि नेर एउटा प्रसंग निकालीहालौं सन २००७ को यस्तै सम्मेलनमा रुसबाट सयौंको संख्यामा नेपालिहरु वा नेपालीमूलकाहरुले निशुल्क नेपाल दर्शन गर्न पाएका थिए , आखिरमा अहिले थाहा भो पैसा राष्ट्रकै ढुकुटीबाट जांदोरैछ ।

धन्य छ बन्धुहरु तपाईहरुको नेपाल प्रेम !

समाचार लिंक :
http://www.nagariknews.com/news-highlights/139-highlights/4321-2009-08-25-02-52-02.html


August 23, 2009

तिमीलाई मनका कुरा भन्न मन लग्यो

तिमीलाई मनका कुरा, भन्न मन लग्यो
आऊ प्रिये समिपैमा ,बस्न मन लग्यो

चुलबुले जोबन तिम्रो, कैले सम्म साच्छौ
इसाराले बोलाउछौ ,आउन मन लग्यो

लजाएर रंग चढाई,नसालु भै हेर्छौ
त्येहीबेला तिम्रो रुप,चोर्न मन लग्यो

फर्की फर्की हेर्छौ आफै,नजर झुकाउछौ
त्येसैले त दोबाटोमा, कुर्न मन लग्यो

बतासले केस उडे,ओठ टोकी हिड्छौ
अंगालोमा बाधिएर,चुम्न मन लग्यो

यसरीनै कैलेसम्म,लुकिछिपी गर्छौ
आऊ प्रिये आज प्रिती,साट्न मन लग्यो


August 22, 2009

कहिले यस्तो पनि हुन्छ।

काठमाण्डौमै बसोबास गर्ने एउटा बेलायती साथीको बुवा आएको थिए काठमाण्डौको हायात रिजेन्सी होटलमा राखेका थियौं। साथीको बुवा जाने अघिल्लो दिन उनको कोठामा नै खानपानको लागि हामीहरुलाइ बोलाइएको थियो र म र मेरो पार्टनर गयौं। कोठाको नम्वर तीन बाट शुरु भएकोले कोठा तेस्रो तल्लामा नै हुनुपर्छ भनेर हामी लिफ्ट भित्र पस्यौं। अर्को एकजना मानिस पनि लिफ्टमा पसे। मैले तीन नम्बरको बटन थिचें। त्यो अर्को मान्छेले कति नम्वर थिचे कुनि, वास्ता गरिएन। लिफ्ट तल गयो कि माथि गयो पनि हेक्का भएन।

म र मेरो पार्टनर आफ्नै गफमा ब्यस्त थियौं। अर्को मान्छे कति नम्वरको तलामा ओर्लिए कुनि, याद गरिएन। तीन नम्बरको बत्ती बले पछि ढोका खुल्यो। हामी निस्कियौं र साथीको बुवाको कोठामा गयौं। होटलका कर्मचारीहरुले रुम सर्भिस गरे। खानपिनपछि साथी हामीलाई होटलको लबी सम्म छोड्न जान्छु भनेर अघि लागे, हामी उस्को पछि लाग्यौं। एकछिन फ्याङ फ्याङ करिडरमा हिंडेपछि हामी सिधै लबीमा पो पुग्यौं। ए बास्सै। अघि लिफ्ट चढेर आएको, अहिले कसरी एक्कैचोटी लबीमा पुगियो, हामी चकित भयौं। भरेङबाट ओर्लिएको पनि होईन। अलि अलि दारु पनि लागेको थियो। सबै दारु एकै चोटी उत्रियो।

यसो बुझेको त हामी होटल प्रबेश गर्दा सिधै तेस्रो तलामा रहेको लबीमा पुगिने रहेछ। लिफ्टमा हामीसंग रहेको मानिसले अर्को बटन थिचेकोले पहिला लिफ्ट उसको फ्लोरमा पुग्यो। हामीले तीन नम्बरको बटन थिचेकोले लिफ्ट त्यसपछि फर्किएर लबी भएको तेस्रो तलामा आयो। अर्को मान्छे लिफ्टमा नआएको भए, हामीले तीन नं को बटन थिचेकोले लिफ्ट पक्कै चल्ने थिएन र लिफ्ट चलेन भनेर भरेङ खोजिन्थ्यो होला। हामी मरीमरी हाँस्दै फर्कियौं।

तपाँईहरुसंग पनि यस्तो अनुभव छ भने बाँड्नु होला।


तीजको मंगलमय शुभकामना !

आदरणीय विश्‍वभर छरिएर रहनुभएका नेपाली दिदीबहिनी, आमा तथा चेलीबेटीहरू,
नेपाली महिलाहरूको महान चाड: आज दरखाने दिन, भोलि तीज पर्सी ऋषिपञ्चमीको
उपलक्ष्यमा तपाईँहरूको सुख, समृद्दि, आरोग्यता एवं दीर्घ जीवनका लागि भगवान
पशुपतीनाथले सहस्र आशीर्वाद अनवरत कृपादृष्टि प्रदान गरिरहून् भन्ने हार्दिक मंगलमय शुभकामना !


August 20, 2009

के नेपाली ब्लगरहरुको ‘छाता संयन्त्र’ आवश्यक छ ?

केही समय अगाडी दौँतरीको यही साईबर-बैठकमा प्रथम नेपाल ब्लगर भेलाको आयोजना भयो । केही कमजोरी, अलिकता हल्ला र सामान्य विचार बिमर्शका बीच सम्पन्न सो भेलालाई जतीसुकै न्यून आकंलन गरेपनि, एकै छाता मुनि विभिन्न महादेश र देशमा रहेका नेपालीहरुको जमघट गराएर बल्गरहरुलाई एकताबद्द गर्न भने सो भेला सफल भएकै मान्नुपर्छ ।

सो भेलामा ब्लगरहरुको साझा चासोको बारेमा केही सकारात्मक कुराहरु उठेका थिए। यहाँनेर यो पनि भनिहालौं कि कुनै पनि बिषयगत वा बुँदागत कुरामा भने त्यस्तै भेलाबाट कुनै गहनतम ‘निर्क्योल’ मा पुग्न भने साधारण अबस्थामा सम्भव नभएको कुरा पनि त्यतिबेला नै उठेको हो । भेला आवश्यक छ, तर भेलाबाटै कुनै कुरा पारित हुनु वा अनलाईन च्याट बक्सका सिमीत हरफहरुमा आफ्ना जटिल बिचार सबै पोख्‍न सायदै सम्भव होला ।

ब्लगरहरुको सामुहिक प्रयास र सकृयतामा ब्लगरहरुको सामुहिक हित बाहेक, देशको लागि समेत केही गर्न सकिने कुरा पनि भेलामा उठेको हो । तर बल्गरहरुलाई एक-आपसमा जोडने संयन्त्रले के कस्तो काम गर्ने भन्दा पनि यो संयन्त्रकै प्रारुपको वा ढाँचाको बारेमा सामान्य बहस आवश्यक छ जस्तो लाग्छ ।

अत: आज पून दौँतरीकै आगँनमा, म चासोमाथि पनि सबैभन्दा बढी चासो भएको र ब्लगरहरुको साझा “छाता” बनाउने कि नबनाउने भन्ने बारेमा आफ्नो बिचार पोख्दैछु । ( हुन त यहाँ उल्लेख गर्नु जरुरी नहोला, तर पनि यो नितान्त मेरो मात्रै व्यक्तिगत बिचार हो र ‘यसमा सहमत वा असहमत हुन सबैलाई समान अधिकार र स्वतन्त्रता छ’ भने भनी राखौं है । दौँतरीमा टाँसीएकोले अरु बाहिरका साथिहरुलाई यो दौँतरीको साझा अडान वा बिचार हो भन्नेमा भ्रम नपरोस)

यस बारेमा ब्लगर मित्र बसन्त गौतमले पनि राम्रो विश्लेषणत्मक टाँसो उहाँको ब्लगमा टाँसीसक्नु भएको छ । त्यसमा वहाँले नेपाली ब्लगरहरुको साझा छाताका विकल्प सहित कुरा राख्‍नु भएको छ भने म चाही सिधै ईमेल समुहको हिमायती भएकोले ब्लगरहरुको ‘छाता’ (माफ गर्नुस!, यहाँ ‘संघ’, ‘संगठन’ आदि शब्द प्रयोग गर्दा त्यसको राजनैतिक रंगको अनावश्यक चर्चा हुनसक्ने र आफू राजनीतिबाट टाडै रहेकोले ब्लगरहरुको सामुहिक संयन्त्रलाई मैले ‘छाता’ मात्रै लेख्दैछु ) ईमेल समुह नै सबैभन्दा उपयुक्त हुने कुरा लेख्दैछु ।

सर्ब प्रथम नेपाली ब्लगरहरुको संख्या ब्लग दर्ता गराएको हिसबमा हेर्ने हो भने हजारौं भए पनि नियमित लेख्‍नेहरुको संख्या भने करिव २०० को हाराहारीमा रहेको छ । यस बारेमा सामान्य चर्चा यहाँ गरीसकिएकोले यहाँ बढि समय नलिऔं ।

जे होस, नेपाली ब्लगहरुको आंकडा हेर्दा, ठुलो संख्यामा नेपाली ब्लगहरु विदेशमा बस्ने नेपालीहरु द्वारा सञ्चालीत छन । यस्तो अबस्थामा, कुनै पनि बिषयमा वहस, भेला वा सम्मेलन आदि गर्नु पर्‍यो भने यिनै अनलाईन वा मित्थ्यालोकका विकल्पको भर पर्नु बाहेक हाललाई अर्को उपाए छैन । हैन, विदेशमा बस्ने ब्लगरहरुलाई नसमेटने र भौतिक रुपमै उपस्थीत हुनसक्ने प्राणीहरु मात्रै लिएर हिँडने हो भने कुरा भिन्दै हो, नत्र नेपाली ब्लगरको दायरालाई नेपाल भीत्रै वा अझ काठमाण्डौ वा कुनै सहर विशेषको सिमारेखा भित्र मात्रै संकुचन नगर्ने हो भने ब्लगरहरुको छाता मित्थ्यालोकमा मात्रै बन्न सक्छ ।

अहिलेको समयमा आएर र प्रबिधिको उच्चतम उपयोग गरेर (कमसेकम हामी ब्लगरहरु भने प्रबिधिको उच्चतम उपयोग गर्नेमा नै पर्छौं) पनि, कुनै समुह वा साझा संयन्त्रलाई सक्रिय गराउन भौतिकतलमै कार्यालय कोठा र पदबाहक प्रबन्धक अनि कार्यकारी समिति बनाउनु पर्छ भन्ने कुरा मलाई आवश्यक लाग्दैन । दौँतरीको भेलाले पनि कमसेकम सो कुरा पुष्टी गरीसकेको छ ।

कुरा अलिक सीधै राख्छु (बरु खप्की खान परे पनि खाउँला) । मैले देखेको, कुनै संस्था वा समुह दर्ता गराएर मागी खाने भाँडो बनाउने उदेश्य छैन भने ब्लगरहरुको छाताको उद्देश्यलाई जम्मा दुईवटामा संक्षिप्त गर्न सकिन्छ ।

१) ब्लगरहरु बीच आपसी सहयोग बिकास गरी नेपाली ब्लग जगतको उत्थान गर्ने ।

२) नियमित वा आवश्यक परेको खण्डमा कुनै सामाजिक कार्य वा देश बिकासमा आफ्नो स्थानबाट योगदान गर्ने ।

हालको समयमा यि कुनै पनि कार्य गर्न, हामीले सोच्न सक्नेभन्दा बढी विकल्पहरु उपलब्ध भैसकेका छन । यस बारेमा केही कुरा बसन्तजीकै पोष्टमा पनि उल्लेख भएको छ ।

आज, जापानका हाईस्कुलमा पढने बिद्यार्थिले बचाएका खाजा खर्चबाट नेपालको कुनै सुदूर ईलाकामा स्कूल चलेका छन भने, एकजना बेलायतकी कलाकार वा अर्को कुन देशको पर्वतारोहीको सहयोगमा अन्य कुनै सामजिक कार्यले हाम्रो देशको बिकट ईलाकामा मूर्तरुप पाईरहेको छ । यो सामान्य उदाहरण मात्रै हो र खोजी पसेमा यस्तै धेरै कार्यहरुको सूचना मिल्न सक्नेछ । मुख्य कुरा भावना र मन हो, त्यो छ भने भौगोलीक दूरी वा समय सिमा केही पनि बाधक हुँदैन ।

दौँतरी भेला पछि नेपाली ब्लगरहरुको ईमेल समुहमा उलेख्य बृद्धि भएको छ । म यसलाई एकदमै सकारात्मक रुपमा हेर्छु र यसले यही मित्थ्यलोक बाटै धेरै कुरा गर्न सक्छ भन्नेमा मेरो विश्‍वासमा झनै बृद्धि भएको छ ।

संघ, संस्था दर्ता गर्ने, कार्यकारी वा संचालकहरुको मनोनयन गर्ने अनि, वाद- विवाद र बिरोधसंघै गुट-उपगुट र बिरोधि गुटमा बिभाजित नभै नेपाली ब्लगर’ मात्रै रहेर केही गर्ने हो भने मेरो बिचारमा हालको ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हो ।

हो, यसलाई अझ सहज बनाउने वा ईमेलबाट मात्र सम्भब नभएमा केही कार्यको लागी “अनलाईन फोरम” वा आपसी सहयोगको लागि छुट्टै ब्लग पनि बनाउन सकिन्छ । तर मेरो बिचार पून एक पटक दोहर्‍याउँछु: संसारभरी छरिएर रहेका नेपाली ब्लगरहरुलाई संलग्न गराउने हो र नयाँ-पुराना ब्लगर वा ठूला-सानाको भेद नहुने गरी सवैलाई समानस्तरमा सकृय गराउने हो भने ईमेल समुह नै सबैभन्दा राम्रो विकल्प हुने छ । बाँकी, असहमत हुनेको बिचारमा पनि मेरो उच्च सम्मान रहने नै छ ।

जय ब्लग! ह्याप्पी ब्लगीङ !!