August 10, 2009

दुष्टले त लाज खायो :

-एकलव्य

बेथितिको भेल आयो, आतंकको राज छायो
दुष्कर्मी र पापीले नै सत्कर्मीको भाग खायो ।

राम्रो गर्यो राम्रै फल्छ , भन्ने चलन हराएर
रित जाँदा , हेर आज धुरीबाट पाप करायो ।

जनताको नाम लिँदै , लाज सर्म पचाएर
क्रान्तिकारी कुरा गर्यो्, लुड्याउँदै भाग खायो।

बोक्सी आँफै धामी आँफै, ताण्डवको राज छायो
सभ्यताको बिहानीमा, दूर्दिनको मात लायो ।

बोल्नेको हो पीठो बिक्ने, यति जाने हुन्छ हजूर
जान्ने बुझ्ने छैनन यहाँ, दुष्टले त लाज खायो ।

August 9, 2009

गूगल अर्थले गल्ति सच्चाउने रे, तर हाम्रो हैन !

मैले केही समय अघि गुगल अर्थले सगरमाथाको शीखर चीनमा परेको देखायो भनी आपत्ति जनाएको थिएँ । त्यस्तै खालको लेख हिजोको टाइम्स अफ इण्डियाको वेब संस्करणमा पनि छापिएको थियो । यसका अनुसार , गुगुल अर्थको पछिल्लो भर्सनमा , भारतको सुदूर उत्तर पूर्वी अरूणाचल प्रदेशका भारत शाषित धेरै भूभागलाई  चीनिया भूभागको रूपमा देखाइएको रहेछ । बुझ्न सकिन्छ, यो समाचार पढेपछि कति भारतिय जनता र सरकारका प्रतिनिधिहरू समेतले सो कुराको बिरोध गरे होलान् गूगल समक्ष । त्यसैको परिणाम गूगलले आँफूबाट गल्ति भएको र सो गल्तिलाई सच्चाउने आश्वासन भारतीयहरु सामु प्रकट गरेछ ।

स्मरणीय छ,भारत र चीन बीच प्रशस्त सीमा विवादहरू छन् । यी मध्ये भारतले आफ्नो भूभाग हो भनी दावा गरेको पश्चिमोत्तर राज्य जम्मू काश्मीर प्रदेशको अक्साइ चीन भनिने भूभाग र पूर्वोत्तरको अरूणाचल प्रदेशको उत्तरी भूखण्ड समेत नब्बे हजार वर्गकिलोमिटर क्षेत्रफल भएको विशाल भूभाग अझै चीनीया नियन्त्रणमा नै छ । भारत चीन बीच सीमा विवादले गर्दा पछिल्लो समय १९६१-६२मा यी दुई मुलुकबीच घमासान युद्ध पनि भयो र आजपर्यन्त सीमा विवाद समधानका प्रशस्त प्रयासहरू भए पनि यी दुई मुलुक बीच समस्या यथावत् छन् । रोचक कुरा त के छ भने , त्यति बेलाको भारत माथिको चीनीया आक्रमणलाई भारतको मार्क्सवादी कम्युनिष्ट पार्टीले सही ठहराएको थियो । कम्युनिष्ट राष्ट्रले आफ्नो मुलुकमाथि गरेको आक्रमणलाई सही ठहर्‍याउने कम्युनिष्ट  पार्टीभित्र यो कुराले ठूलो विवाद जन्मायो र यो पार्टी भारतीय कम्युनिष्ट पार्टी ( चीनिया आक्रमण बिरोधी ),मार्क्सवादी कम्युनिष्ट पार्टी ( चिनीया आक्रमणको शुरूमा भोकल र पछि मौन समर्थक ) मा विभक्त भयो । यो विवादास्पद,राष्ट्रविरोधी तथा कम्युनिष्ट अन्तर्राष्ट्रवाद पक्षीय अडानले गर्दा , आज पर्यन्त भारतीय राष्ट्रवादमा माकपाका बारेमा धेरै नै प्रश्न उठ्ने गर्छन् ।

आफ्नो सीमामा गूगलले अन्यथा देखायो भनेर गल्ति सच्चाउन घच्घचाउने भारतीयहरू , अरू साना छिमेकी मुलुकका सीमाहरूमा उनीहरूका कारण देखिएको मलमिचाइँमा भने चूँ सम्म बोल्न उचित ठान्दैनन् । यसको उदाहरण नेपालले भोगेको भोग्यै छ । उता नेपालको उत्तरी सीमामा भएको चीनिया अर्घेल्याईँ भने नेपाली मिडिया र जनताको मनमाथिंगलमा कहिल्यै देखा नै पर्दैन किनभने उत्तरी सीमा त धेरै नेपालीलाई थाहै छैन। 

गूगलले गल्ति सच्चाउने कुराको समाचार यो लिंकमा छ :

http://timesofindia.indiatimes.com/news/india/Google-admits-mistake-of-wrong-depiction-of-Arunachal/articleshow/4871753.cms

अनि हाम्रा नेतालाई पनि कस्तो टेन्सन् भएको होला ! आफ्नो राष्ट्र रसातल तिरको यात्रामा झरेको झर्यै छ त्यसको बारेमा चासो छैन । मुलुकलाई सँधैको हिंसा , अराजकता र रडाकोको क्रान्तिमा हुलेर बडा बडा गुड्डी हाँक्दै ,   हाम्रा कामरेड प्रचन्ड भने अमेरिका र भारत मिलेर चीनलाई खान लागे भनेर सुर्तामा दुब्लाएका पो देखा परे , हेर्नूस त , तलको लिंकमा  :

http://www.indianexpress.com/news/prachandas-latest-india-us-planned-to-attack-china-using-nepal/498655/

अनि यसको खण्डन यो लिंकमा:

http://www.indianexpress.com/news/India-rubbishes-Prachanda--s-claim/499165

हरे, हाम्रो गति र मति !

(सगरमाथा हाम्रै भएको जानकारी गुगलाई दिन कृपया यो पेज मा गएर “Please select the problem you're experiencing” भन्ने Dropdown menu मा “Wrong location” को विकल्प चुनेर सबैले २-३ लाईन नै भएपनि लेखौं ।)



गजल

थोपा पुगेनन कि आँसुको छाती त जली नै रह्यो
लप्काले छोप्यो हेर्दा हेर्दै मुटु मेरो बली नै रह्यो

देखेको हुन्न रहेछ लेखिएकी रहेनछ्यौ शायद
भाग्यले पनि यही अभागीलाई नै छली नै रह्यो

जुनी जुनी पुराउछु भन्थ्यौ हाम्रो नाता बार बार
तिम्ले गाड्या मायाको चिनो हेर्दा हेर्दै ढली नै रह्यो

अधेँरोमा छु शायद खुशी छु अधेँरो बाँचेर पनि
दियो त के बल्थ्यो मन भरी हुरी जो चली नै रह्यो

मुटु भित्र दुखेका अतीत घरि घरि घोच्छन किन
रोक्दा रोक्दै पनि आँखाको त्यो गोरेटो गली नै रह्यो


फूलको चोट

शिव प्रकाश

उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर "हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ" उ अहिले आफ्नै कथा आफैं भनिरहेछ - "फूलको चोटको कथा !"

उसले सेतो फूल मन पराउन छोडेको छ !

ढुङ्गाको चोटभन्दा फूलको चोट झन् गहिरो हुदोरहेछ, झन् पीडादायक हुँदोरहेछ । निको भएर जाँदोरहेछ ढुंगाको चोट, तर कहिल्यै निको नहुदोरहेछ फूलको चोट ! सधैं दुःखिरहदो रहेछ चस्सचस्स भित्रभित्रै, सधैं दुखिरहदो रहेछ ! सायद ढुङ्गा र फूलमा फरक पनि यतिमात्र हुँदो हो …। !

सीताशालाई सम्झदाँ शिवासु सधै त्यो सेतोफूल सम्झन्छ । मुटुमा बिजेको काँडा भएर बसेको छ त्यो सेतोफूल शिवासुको छातीभित्र ! खुशीका क्षणहरु सम्झन्छ तर ती क्षणहरुसँगै पीडाका भेलहरु उर्लेर आउँछन् । शिवासु अझै भित्रभित्रै आतंकित हुन्छ "कतै ती भेलले अझै मलाई नबगाउन् ।" उ आफूलाई अझै भयभीत देख्छ ।

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्रवर्ष वितिसक्दा पनि सीताशाका वारेमा उभित्र द्धन्द अझै छ । मानौं उभित्र एकप्रकारको युद्ध चलिरहेछ ! उ आफैं एउटा युद्धभूमि भइरहेछ र एउटा युद्ध नायक पनि ! दुबैपक्षको नेतृत्व उ आफैंले गरेको छ । यो युद्धमा उ आफै एक अर्काको शत्रुपक्ष भएर उभिएकोछ !

सीताशा ठीक थिई वा म आफू गतल थिए ? सीतासा गलत थिइ वा म आफू ठीक थिएँ ? युद्ध निरन्तर छ उभित्र ! सीताशा-शिवासु ! शिवासु-सीतासा ! गलत-ठीक ! ठीक-गलत ! एउटा भीषण मनोवैज्ञानिक युद्ध विभिषिका उसको मनमस्तिष्कमा अझै मडारिरहेछ । उ मुक्ति चाहन्छ यो द्वन्दबाट । तर न सीताशालाई विर्सन सक्छ न त्यो फूललाई र न त आफ्नो भूललाई ! न त्यो युद्दबाट मुक्ति !

उ सोच्छ - द्वन्दको कारण सीताशा हैन, फूल हो । हैन, द्वन्छको कारण फूल हैन; सीताशा हो । दुबै थरी सोच्छ, दुबै थरी स्वीकार्छ, दुबै थरी नकार्छ ! हो पनि, होइन पनि ! होइन पनि, हो पनि ! सायद मान्छेमात्र यस्तो प्राणी हो जो हो र होइनको विचित्र व्यवहार र अनिश्चित विचारभित्र बाँचेको हुन्छ ! शिवासुको क्षणिक विश्लेषण हो यो मान्छेका बारेमा - हो पनि, होइन पनि; होइन पनि र हो पनि !

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्र वर्षमा उसले एउटी आइमाईमान्छे सीताशालाई चिन्न सकेन । तर एउटा लोग्नेमान्छे उ आफैंले आफैंलाई पनि आजसम्म चिन्न सकेको छैन । उ अझै रनभुल्लमा छ । यो संसारले नबुझ्ने र नसुन्ने एउटा प्रश्न यही संसारलाई गर्छ - 'मान्छे सबै मजस्तै हुन् कि म अरु सबै मान्छे जस्तो हुँ ?' उसका यस्ता हरेक प्रश्नहरु त्यो फूलसँग सम्वन्धित छन् । हरेक घटनापरिघटना, दृष्यपरिदृष्य सबै त्यो फूलसँग सम्वन्धित छन् । अर्थात फूल नहुदो हो त यी कुनै कुरा हुदैनथे ! अथवा सीताशा नहुदी हो त त्यो फूल पनि हुदैनथ्यो ! अथवा त्यो फूल त्यतिबेला नै फ्याकिदिएको भए .....?

सीतासाको नाउँसँगै सधैं त्यो सेतोफूल सम्झन्छ । वास्तवमा सम्झनु पनि पर्देन नदी सम्झने वित्तिकै नदीसँग पानीको विम्ब आए जस्तै सीताशासँग फूल आउँछ । नदीको पर्याय पानी भए जस्तै सीतासाको पर्याय फूल भएको छ त्यो सेतोफूल ! तर पानीको पर्याय नदी नभए जस्तै फूलको पर्याय सीतासा भने हैन - भन्ने ठान्छ ।

फूल धेरै प्रकारका हुन्छन् र मान्छे पनि ! उसले एउटा कविता पढेको हुन्छ -

निश्छल छ फूल

फूलको निश्छलताभित्र प्रतीक छ प्रेमको

उपमा छ आत्मीयतको, वैभव छ विश्वासको

तर फूलभित्र काँडा पनि हुन्छ !

फूल कागजकोपनि हुन्छ !

फूल सम्झेर सुम्सुम्याएको सीतासाभित्र तिखारिएर बसेका विषालुकाँडाको अनुभव उसले गरसिकेको छ । अब न फूलप्रति विश्वास हुन्छ उसलाई न मान्छेप्रति !

सीताशासँग हिडेका बाटाहरु सम्झन्छ, पाटाहरु सम्झन्छ । खेतबारीहरु सम्झन्छ, उकालीओरालीहरु सम्झन्छ । हातहरु सम्झन्छ, साथहरु सम्झन्छ; सँगै विताएका रातहरु सम्झन्छ । रातका मातहरु सम्झन्छ, रातका बातहरु सम्झन्छ । रातको मौनता सम्झन्छ, मादकता सम्झन्छ । रात बौलाएको सम्झन्छ, रात मुर्झाएको सम्झन्छ । घोडा चढेको सभ्झन्छ, बग्गी चढेको सम्झन्छ । समुन्द्रको किनार सझन्छ, जंगलको बाटो सभ्झन्छ । हिउँका फाल्सा सझन्छ, गाउँका खोल्सा सम्झन्छ । शरह सम्झन्छ, गाउँ सम्झन्छ । हिलो सम्झन्छ, धूलो सम्झन्छ । तर प्रत्येक सम्झनासँगै त्यो सेतो फूल सम्झन्छ ।

सीताशाबाट शिवासुले धेरै राम्रा कुराहरु सिक्ने मौका पाउँछ ति सबै सम्झन्छ तर तिसँगै त्यो फूल पनि सम्झन्छ ! राम्रासँगै केही नराम्रा कुराहरु पनि सिक्छ ति पनि सबै सम्झन्छ र ति सबैसंग त्यो फूल पनि सम्झन्छ । फूल - सीताशा ! सीताशा - फूल ! अर्थात शिवासुको मुटु छेड्ने त्यो शूल…त्यो सेतोफूल !

शिवासुले एउटा झिनो निष्कर्ष निकाल्छ - मैले आफूलाई भन्दा सीताशालाई राम्ररी चिनेको छु, यस अर्थमा चिनेको छु कि मैले आफूलाई सम्पूर्णरुपले हेर्न सक्दिन तर सीताशालाई सम्पूर्ण देखेको छु । सीतासाले मलाई लुकाउँन बाँकी नै के थियो र तर ……! उ मनमनै भन्छ - 'सीतासाको मन बाहेक सबै देखेको छु । देखेँ तर चिनिन, चिन्नु पनि कसरी मन त मैले कहिल्यै देख्दै देखिन ! ‌‌‌‌। मान्छे चिने पनि मान्छेको मन नचिन्नु भूल हो त ?'

हरेक फूल देख्दा उ सीताशा सम्झन्छ । सीताशा जस्ता हरेक आइमाइहरु देख्दा उ त्यो सेतोफूल सम्झन्छ । सीतासालाई चाहेर पनि विर्सन सक्दैन र सम्झेर पनि सधैं सम्झन चाँहदैन । तर विडम्बना …सोचेजस्तो जीवन र जीवन जस्तो सोचाइ कहाँ हुन्छ र ! सीताशा पनि छे, त्यो फूल पनि छ । सीतासा अझै हाँसिरहेकी छे यो धरीतमा त्यो फूल अझै सुरक्षित बसेको छ तर कतै कुनै पत्रुमा ! र, त्यो फूलको चोट अझै फक्रिरहेछ शिवासुको हृदयमा ! सायद सीताशालाई त्यो फूलको कुनै हेक्का छैन - सीतासाले यस्ता फूल धेरैलाई दिएकी हुन सक्छे ।

त्यो दिन साँझ झमक्क परिसकेको थियो । गेटमा उभिएर सीताशाले उसलाई हातमा सेतोफूल, गालामा रातो हुनेगरि चुम्बन र हृदयभरीको शुभकामना दिएर विदा गरेकी थिई । सीताशाका शव्दहरु सम्झन्छ - 'शिवासु धेरैधेरै शुभाकामना ! तर विदेश गएर यताउता धेरै नबरालिनु, यसपटका तिम्रो पालो । तिमी जानु र म जानु भनेको एकै हो शुभकामना …! शुभकामना …! ! शुभकामना ,,,,,! ! !

जागीर खाएकोदश वर्ष भै सकेको छ, उसको यो पहिलो विदेश भ्रमण ! उभित्र उत्सुकता र कौतुहलताहरु उद्वेलित भइरहेकाछन् । एक दिन कै लागि भए पनि विदेश जानु भनेको हाम्रो समाजमा यसै पनि इज्जतिलो ठानिन्छ त्यसमाथि करीव एक महिनाको भ्रमण, त्यसमाथि सुख्खा जागिरेका लागि एउटा रसिलो र भरिलो आम्दानी । सोच्यो - 'जीवनमा पहिलोपटक डलर पनि देख्ने भइयो ।' शिवासु फुरुक्क परेर घर फर्कियो । बाटामा उसले पहिलो पटक पुरा एक किलो खसीको मासु किन्यो साथमा एक क्वाटर मन्जो पनि ! औधी खुशी थियो घर आइपुगेको थाहै भएन । सीताशाप्रति विषेश शिष्टाचार तथा कृतज्ञता ज्ञापन गर्न फोन गर्यो, फोन उठेन ! आधाघण्टा पछि फेरि गर्यो, फेरि उठेन ! अर्कोआघा घण्टा पछि फेरी गर्यो, फेरि उठेन ! हरेक आधाघण्टा पछि उसले लगातार गरिरह्यो, बल्ल छैठौं पटक फोन उठ्यो तर फोनमा आवाज अर्कै थियो ! साध्यो - जवाफमा 'म काम गर्ने देवकी' भन्ने आयो । सीतासाका बारेमा सोध्यो - 'दिदी आउने वित्तिकै बाहिर जानु भो र बाहिरबाट आउने वित्तिकै घप्लक्क सुत्नु भो' ।' अपत्यारिलोजवाफ पायो, आश्चार्यचकित भायो ! तर पनि खुशीले रातभर रातसँग बातमारी रह्यो, निदाएन ।

अब सारा साथीभाइबाट वधाइ पाइने भइयो- नाना कल्पनापरिकल्पना गर्दै खुट्टा भुँइमै भएता पनि मन बोइङ्गमा उडाउँदै भोलीपल्ट उ विषेश स्फुर्तिसाथ अफिस पुग्यो । तर अफिसको सूचनापाटीमा उसको नाउँ थिएन, त्यो सीटमा एकमात्र निर्विकल्प उमेद्वार भनेर सीताशाको नाउँ टाँसिएको थियो । सीताशाको घरैछेउमै डेरा बस्ने उसको सहायकले खुसुक्क कानमा भन्यो - 'सर सीताशा म्यामलाई हिजोराति अबेला मन्त्रीको गाडीले पुर्याउन आएको देखेको थिएँ ।'

शिवासुले त्यो दिनदेखि सेतोफूल मन पराउन छाडेको छ ।

आखिर प्रेम गर्ने र नगर्ने दुबैले गर्ने त एउटै हो - भोग ! अर्थात भोक मेटाउने भोग - सम्भोग ! प्रेम र मित्रता त एउटा नाउ मात्र हो जुन नाउमा सबै प्रेमी र मित्रहरुले दुबै खुट्टा हालेका हुदैनन्, त्यसैले प्रेमामा मित्रतामा घात-प्रतिघात हुन्छन् - मैले सुनिरहे ।

मित्रता ! मित्रताभित्रबाट प्रेम ! प्रेमभित्रबाट धात-प्रतिघात ! घात-प्रतिघातबाट शत्रुता ! शत्रुताभित्रबाट पुनः मित्रता ! यसरी नै सुनायो शिवासुले त्यो फूलको चोटको कथा …!


August 7, 2009

आज ब्लग-गान भेला ( टेक्स्ट सहित)

आज ठ्याक्कै भूतले खाजा खाने समयमा चारैतिर छरिएका ब्लगरहरुलाइ एउटै चौतारीमा समेट्दै एकदिने बिशाल
आम ब्लगर भेला गराइदै छ। यस्को प्रत्यक्ष प्रसारण गर्ने जिम्मा म गोपालीयनले पाएर अरुहरु ले बोक्रा चपाउँदा म भित्रदेखी नै तिनीहरुलाइ कुच्चीगं भनिरहेको छु। तपाइँहरु भ्रममा पर्नुभयो होला, केही समय पहिले नामै नसुनेको औतारी नाम गरेको ब्लगले ब्लगर भेलाको नाममा आफ्ना ठूलाबा सानाबाका छोरा-छोरी,अंकल-आंटी बिचमा कुराकानी गराएर पहिलो ब्लगर भेला नाम दिएको रहेछ। सर्बप्रथम त, त्यो पहिलो भेला हुँदै होइन किनकि ब्लगर नै हामी,हामी नै ब्लगर हौ र हामीहरु त्यहाँ थिदै थिएनौं । दोस्रो कुरा ब्लगको गाना नै नगाई गरिएको त्यो भेला ब्लग-गान भेला हुनै सक्दैन। सबैलाइ सक्दो झुक्काउन ब्लगर फ्युजनलाइ राष्ट्रियगान गाउन लगाएर ब्लग-गान भनेर झुक्काउन खोजेको कुरा सबै समक्ष छर्लंग छ। उक्त भेलामा भारत,चीन या अमेरिकाको हात रहेकोले तपाईँहरू त्यस भ्रममा नपर्नु हुन आग्रह गर्दछौं। बरु आजै हुने ब्लग-गान भेलामा पुराना भेलालाई खारेज गर्दै त्यो भेलाको साथै ती ठूलाबा सानाबाका छोरा छोरी,अंकल,आंटी आदी सबैको भण्डाफोर तिर लागौं।

म तपाईँहरुलाइ यो प्रष्ट पार्न चाहन्छु कि गाना नै नगाएको भेला ब्लग-गान भेला हुनै सक्दैन। त्यो एक हप्ता अघि होस वा एक हप्ता पछि। तसर्थ, आजको भेलामा आलूतामा का साथै ब्लगको गानाको पनि व्यवस्था छ। आज नया,पुराना,बिशेष,अर्धबिशेष सबै खाले ब्लगरहरु भेला भएका छन् । पाहूनामा भने अरूका लेख चोर्ने,सिधै कपिपेष्ट गर्ने,एउटै लेख गिद्दको आची जस्तै चारैतिर छर्नेहरू पर्नुभएको छ। ल, अब आजको भेलाको उद्घघाटन झक्कु दादाले कालो झण्डा देखाएर गर्दै हुनुहुन्छ। कालो झण्डा अस्तीको गैर ब्लगर भेलाको बिरोध स्वरुप छानिएको हो भने हरुवा प्रधान मन्त्री माकुने धोबीहरुको कपडा धुने कार्यक्रमको उद्घघाटनमा गएकाले यो बिशाल भेलामा उनी भन्दा पनि शक्तीशाली झक्कु दादा ल्याइएको हो।

खबर धेरैलाइ गरिए पनि कसैका भात खाने ट्याम परेकाले,कसैको भात पाक्दै गरेकाले,कसैको भर्खर भात बसालेकोले र कोही आउन मन नलागेकोले सहभागिता अलि कम भएको जानकारी गराउन चाहान्छु। अहिले सम्म भेलामा फलानु मानुभावहरु आइसक्नुभएको छु:

- झक्कु दादा
- गोपालियन
- फ्युजन
- दुकलव्य
- शाइबाजी
- रमेश
- बन्दमञ्च
- तिम्रो ब्लग
- काका
- हुरीबतास
- जेपी
- गेष्ट ४२०
- पेष्ट ८२०

अन्य ब्लगरहरु पांग्राजाम,टोल बन्द,बिजुलबन्दमा फंसेकाले उहांहरुलाइ कुर्दा ब्लगको गाना बासी हुनेभएको ले भेलाको क्रम भंग नगराइ एजेण्डा तिर लागौं। आजको एजेण्डामा अघिल्लो साताको गयर भेला खारेज गरिनुपर्ने,ब्लगरलाइ जस्ले भेटेपनि नमस्ते या सलाम टक्राउनुपर्ने,सित्तैमा अरुको ब्लगबाट कपि पेस्ट गर्न पाउनुपर्ने,एउटै कबिता १०० ठाउंमा पोष्ट गर्न पाउनुपर्ने आदी। ल अब परिचय तथा छलफल तिर लागौं:
गोपालियन:नमस्कार तथा स्वागत छ है सबै ब्लगर मित्रहरुलाई।
जेपी: खोइ त गाना? कुर्दा कुर्दै । यो त समाचारमा बिज्ञापन बजाए जस्तै भो नि।
गोपालियन: गाना आउदै छ। पहिला परिचय तिर लागौं। त्यस पनि ब्लगको गाना गाउंला।
गोपालियन: मेरो नाम गोपालियन हो। केही समय देखी ब्लगमा खोक्दै आएको छु। आजको भेलाको जिम्मा..
हुरीबतास: हैन मेरो परिचय दिने पालो आएन,खाली त्यो गोपालियन आफूमात्र बोल्या बोल्यै। बोल्ने मान्छे फेर्नुपर्यो।
गेष्ट ४२०: गेष्टहरुको परिचय कतिबेला आउंछ त? सुरुमै मेरो आपत्ती है। त्यो ब्लगरलाइ देख्ने बित्तीकै नमस्कार टक्राउन हामी सक्दैनौं। एक दुइ लात हो भने ठिकै छ।
बन्दमञ्च: ल यि सबैकुरा बन्द गरेर गाना गाउन तिर लागौं। गाना नगाएर पनि कतै ब्लग-गान सुरु हुन्छ?
गोपालियन: पखौं न मित्रहरु। परिचय कार्यक्रम सकिएकै छैन,पहिला त्यो त सकौं, अनि गाना गाउंला। मेरै परिचय
है, म गोपालियन, २ बर्ष देखी ब्गगिगं गर्दै आएको छु,आजको भेलाको जिम्मा...
हुरीबतास: मैले अघि नै भन्या होइन। यो गोपालियन खाली आफुं मात्र परिचय दिन्छ अरुलाइ परिचय गर्न नै दिंदैन।
काका: हैन सबैलाइ के भाको? सबभन्दा उमेर खाएको म यांहा छु कसैले वास्तै गर्दैन। यो भेलाको सभापती मलाइ दिनुपर्छ है।
काका: हैन किन सबै चुपचाप? यांहा षडयन्त्रहोला जस्तो छ। ल आजको भेलाको सभापतित्तव म आंफैलाइ घोषणा गरें।
रमेश: क्या झन अघि देखी चुप्प लागेर बसे सबैले भाउदेलान भनेर भनेको सभापती त अर्कैले उडाए। अरु केही बांकी छैन? छ भने मलाइ दिउं साथीहरु नत्र भने म भेलाबाट बाहिर लागें।
रमेश is away
तिम्रो ब्लग:पद सदको कुरा म जान्दिन बरु ब्लग-गानको एउटा अफिस स्थापना गर्न कोठा खोज्न तिर लागौं। तपाइहरु गफ गर्दै गर्नुहोस म चाही ब्लग-गानको अफिसको लागी कोठा खोजेर आउंछु।
तिम्रो ब्लग is away

भेलाको टेक्स्ट सहित लाइभ अपडेट छिटै आउंदै छ.....


गाउँखाने कथा - २६ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २६ को सहि उत्तर हो तमाखु। उत्तर मिलाउने एनोमिनस जीलाइ बधाइ। अब गाउं माग्ने पालो पनि तपाइकै।
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

फतफते बूढीको तालुमा भुंग्रो, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोस।


August 6, 2009

किन?

प्रबिण थापा

मलाई दोषी देखिरहयौ बदलिएनौ किन?
माया गर्छु भनिरहयौ पग्लिएनौ किन?

पिंडाले म जलिराछु समस्याले चेप्पिराछु
समाधानका बाटहरुमा देखिएनौ किन?

नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती
आज मनको बगैचामा भेटिएनौ किन?

गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम
स्वार्थ पुरा भएपछी सम्झिएनौ किन?

समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै
मलाई आफ्नो बनाउन तम्सिएनौ किन