July 16, 2009

संविधान, भींमसेनपूजा, माओवादी र महायज्ञ

Mao-Yagnya हिजोको नागरिकन्यूज डट कमको वेब संस्करणले माओवादीले हालै सम्पन्न गरेको विचित्र महायज्ञको समाचार छापेको छ ( हेर्नूस: http://nagariknews.com/news-highlights/139-highlights/2910-2009-07-15-05-19-11.html) । ‘धर्म अफिम हो’ भन्ने सिद्धान्त बोकेको कट्टर कम्युनिष्ट पार्टी स्वयंको आयोजनामा सम्पन्न भएको श्रीमद्भागवत महायज्ञको कुरा सुन्दा जति अचम्म लाग्न सक्छ त्यो भन्दा कैयौँ गूणा बढी, यो महायज्ञमा भएको दान दिने शैलिका बारेमा पढ्दा लाग्छ । हिजो जनताबाट ‘स्वेच्छिक’ चन्दा लिने अनौठा प्रविधिहरूको सफल परीक्षण गरी पारंगत बनेका माओवादीहरूले धर्म र दानको परिभाषालाई नै ‘चमत्कारी छलाङ’ प्रदान गरेको कुरा यो समाचार पढ्ने जो कोहीलाई बुझ्न गाह्रो पर्दैन । दान दिने पार्टी भक्त दाताहरूले जहाँ जसको जे जस्तो हालतमा भएको सम्पत्ति वा धनलाई यज्ञस्थलमा आएर ‘ लौ मैले यति बोलेँ’ भन्ने शैलिमा दान दिन मिलेको यो समाचार पढ्दा मलाई यो कतै गाउँ खाने कथाको पहेली जितेपछि ‘यति र यो गाउँ लैजा’ भन्ने खेल पो हो कि भन्ने भ्रम परिरहेछ। धार्मिक महायज्ञको यो नमूना प्रपञ्चबाट धर्म, दान, परोपकार, न्याय कानून र सभ्यताका अरू पनि पक्षहरूको उठान कहाँ र कति भयो , यो सम्बन्धित हरूले नै केलाऊन तर यही एउटा प्रकरणलाई हाम्रो नेपालमा बेलाबखत मञ्चन भैरहने विचित्रताहरूको शृङ्खला मध्येको एउटा प्रतिनिधि झलक भने ठान्न सकिन्छ ।

यो महायज्ञको अर्को अनौठो विशेषता के रहेछ भने कुनै बेला माओवादीद्वारा नै मारिएका भनिएका पण्डित नारायण प्रसाद पोखरेलका सहोदर छोरा दिनबन्धु पोखरेल नै यहाँ मूल पण्डित भएर मण्डपासीन भएका रहेछन् र एउटै यज्ञमा ५०औँ करोड रकम र जायजेथा उनले उठाइदिएका रहेछन् । एउटा यज्ञमा ५० औँ करोड उठ्नुको महानतालाई हेर्ने भने नेपाल जस्तो दानी दाताको बाहुल्यता भएको मुलुक संसारमा कमै होलान जस्तो लाग्छ । बालाजूमा टाट पल्टिन लागेको कुनै प्राइभेट अस्पताल चार्टर्ड एकाउण्टेण्ट नारायण बजाजबाट माओवादीले ३३ करोडमा किनेको थियो र पछि यसको नाम जनमैत्री अस्पताल राखिएको थियो । यही अस्पतालका लागि यो यज्ञ गरिएको रहेछ । यहाँ स्मरणीय के छ भने , ७,८ महिना अघि माओवादी सरकारका पालामा यो अस्पताललाई आर्थिक लगानी गर्न हुने विश्वस्त आधार नदेखेर बैँकहरू तयार नहुँदा, माओवादी सरकारले राष्ट्र बैँक मार्फत दवाब दिँदै नेपाली बैँकहरूको एउटा कन्सोर्टियम खडा गरी ३५ करोड रुपैयाँको बलजफ्ति ऋण प्रवाह स्वीकृति गराएर अस्पताल किनिएको थियो ।

आजको कान्तिपुरमा प्रकाशित अर्को समाचार छ “ संविधान निर्माणका लागि भिमसेन पूजा” (हेर्नूस: phalano_july16 http://ekantipur.com/kolnepalinews.php?&nid=204479) । महाभारत अनुसार भीमसेन बाहुबली र गदा युद्धका कुशल लडाकू थिए । तर्क र विचारले भन्दा मल्ल युद्ध र गदा रूपी फलामको मुङ्ग्रो चलाउन माहिर यी भीमसेनको पूजा गरेर नया संविधानको निर्माणमा कस्तो शिघ्रता आउने हो भक्तजनहरूले नै जानून । तर, भक्तजनहरूको यो पूजा र आराधनाको समाचार सुनेर म एउटा निष्कर्षमा भने पुगेको छु । त्यो के भने, भीमसेनका पूजक यी भक्तजनहरू अब नेपालको संविधान समयमा बन्नका लागि भगवान कै हस्तक्षेप जरूरी छ भन्ने निचोडमा पुगेछन् क्यार! अथवा, अब एकापसमा मिल्दै नमिल्ने दलहरूलाई एक ठाउँमा आउन र नया संविधानका लागि काम गर्ने बनाउन भीमसेन जस्ता बहादुर दैवी पात्र आएर तिनीहरूको टुप्पी समातेर एक ठाउँमा तान्नै पर्ने निस्कर्षमा पनि ती खोटाङका भीमसेन पूजक भक्तजनहरू पुगेका हुनसक्छन् ।

मैले दुई घटनाका आधारमा एउट ब्रम्हज्ञान पाएको छु । नया नेपालमा क्रान्तिकारीहरूको सोच र व्यवहारमा हुने असंगति, बिसंगति र विडम्बनाका बारेमा नराम्रो भन्न नपाइने हुँदा यसको सकारात्मक पक्ष खोज्नु जरूरी छ । यसो त नेपाली कम्युनिष्टहरूको धार्मिक रूझानका बारेमा भारतीय विद्वान कुलदिप नायरले पनि धेरै लामा लेख लेखिसकेका छन् । नेपालमा जति नै ठूलो कम्युनिष्ट क्रान्तिको कुरा गरिए पनि, हाम्रो रगत र चरित्रमा कम्युनिष्टहरूको त्यो धर्म बिरोधी राजनीतिक सोच भने घुसेको छैन कि जस्तो छ । यो कुरा स्वदेशी र बिदेशीले बेलाबखत चर्चा गर्ने गरेका छन् । यत्रो रक्तरंजित क्रान्ति पछिको यो बिन्दुमा आइपुगेर, जनगणतन्त्र स्थापना गर्नै लागेको यो मौकामा , माओवादीले ‘श्रीमद्भागवत महायज्ञ’ लगाएको छ । यो पुण्यको महारथ कति होला भोलि फल लागेपछि देख्न पाइएला । कतै हाम्रो यो महान क्रान्तिकारी पार्टीले विविध राजनैतिक प्रयोगहरूको अनन्त श्रृंखलाका क्रममा , धनी, बुर्जूवा र सामन्तीहरूलाई बढी भएको सम्पत्ति ‘स्वेच्छिक दान’ गर्न लगाएर समाजमा रहेको असमानता र गरीब धनी बीचको असन्तुलनलाई धार्मिक ढंगले समाधान दिन खोजिरहेको त छैन ? कामरेड प्रचण्डले बारम्बार भन्ने गर्नु भएको चमत्कारको राजनीति { धर्म, अर्थ (काम र मोक्ष बाहेक) र राजनीतिको फ्यूजन} यस्तै खालको त हैन ? जहाँ श्रीमद्भागवतले समाजवाद र भीमसेन पूजाले संविधान स्थापनार्थ भगवद् सामर्थ्य हासिल गर्छ ! भगवान भरोसा चलेको मुलुकका लागि यो भन्दा ठूला क्रान्तिकारी विम्वहरू के नै होलान र ?


July 15, 2009

कल्पनाको सम्झना मायालुलाई

रवि कुमार गौतम
हाल बलादईराक

हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।

शायद श्वास प्रश्वासको प्रक्रियामा बम र बारुदको धुलो र धुवाँलाई अग्रस्थान दिदै धनाड्य बन्ने चाहानामा यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ? हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु ।

बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त समयको खेल भनौ विधिको विडम्बनाले गर्दा यस्तो हुन गयो । तिम्रा ति कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए । आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन हिचकिचावट गरेका थियौ आखिर सम्पूर्ण सजिव प्राणिको मन मस्तिष्क र हृदयको कुना कन्दरामा बास बसि रहने र दुख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको कर्तव्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ति अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ । कल्पनाको संन्सारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिकलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए । आखिर मैले तिमीलाई हृदय देखि नै माया गरेकै थिए । तिम्रो हरेक लक्षमा मेरो साथ रहि रहने छ भने कै थिए । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वकृस्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए । माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउनु पनि हो । विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफनो खुशी हो भनेर आफुमा भएको दुख पिडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभुमिको एकान्तमा बम र बारुदको प्रबाह नगरि अतितका पलहरुलाई सम्झेर बस्दै गहभरि आशु बगाउदै वर्तमानसँग रमाउन बाध्य भएको थिए । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए ।

शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना ॥

उहि अभागी

रवि कुमार गौतम



July 14, 2009

बिचार ,सिद्दान्त र कर्तब्यसँग ब्यवहारिकता मेल नखान पनि सक्छ

आचार्य प्रभा
(अमेरिका )

बिचार, सिद्दान्त र कर्तब्यसंग ब्यवहारिकता मेल नखान पनि सक्छ । भन्छन नि मान्छेहरु गफै गफमा मेरो बिचार ऊच छ सोच राम्रो छ । म भेदभाव गर्दिन, मेरो नजरमा सबै समान छन, तर कहीं न कहीं मान्छेको बिचार, सिद्दान्त, कर्तब्य र सोचमा फरक पर्न जान्छ । कहीं कतै यो हुन परिस्थिती र समयको खेल पनि हुन्छ र कहिले कही यस्ता कुरा मान्छेको मानसिकतामा पनि भर पर्छ ।

हुन त मान्छे सबै कुरामा दक्ष र पोख्त त हुन सक्दैन उस्मा केही न केही कमीकमजोरी अवश्य हुन्छ नै । मान्छेले चाहेर पनि कहिल्यै ईश्‍वर हुन सक्दैन । ईश्‍वर पनि त हामीले मानेर मात्र पूजनशिल भएको हो । पुराना धर्म ग्रन्थहरुमा देखाइएकै छ नि उनिहरुको कमी कमजोरी, रङलीला आदी । मेरो भन्नुको आशय यही हो कि मान्छ्ले ऊच बिचार र सोचको कर्तब्यपथलाई अङिकार गर्ने हो भने मान्छे, मान्छेबिच यस्तो बैमनष्यता, लुछाचुँडी, हानाथाप किन हुन्थ्यो ?

तर मलाई लाग्छ ऊच बिचार, सहि सोचलाई मान्छेले सदुपयोग गर्न पनि उस्लाई मान्छे, समाजकै प्रेरणाको आवश्यकता पर्दछ । जस्तै भनौ न कोही मान्छे सबैसँग राम्रो ब्यवहार गर्छु भन्छ, म सहि बाटो रोजेर हिंड्छु भन्छ समाजमा केही योगदान गरेर बाँच्न चाहन्छ भने उस्को एक्लो प्रयासले कहिल्यै त्यो सम्भव हुन्न, उस्लाई प्रोत्साहन, हौशला र उत्शाह त चाहिन्छ नै । यदी उस्को ऊच बिचार र सोचमा बाधा, अड्चन आइदियो भने उस्ले कसरी उस्को ऊच बिचार र सोचलाई कर्तब्यमा ढालेर ब्यवहारिकतामा उतार्न सक्छ ? यी त भए कसैको पनि ऊच बिचार को सदुपयोग समाजबाट नै हुन्छ भन्ने उदाहरण । तर मेरो मुख्य आशय के हो भने, कसैले ऊच बिचार राख्छ भने त्यस्को सदुपयोग ऊ भित्रको ब्यक्तिगत आचरणमा पनि भर पर्छ । भनौं न, कोही एक युवक म समाज सेवा गर्छु भन्छ अर्थात म कसैलाई पनि सहि नजर बाट मद्घत गर्छु भन्छ, तर समाजले उस्लाई त्यो ओहोदामा पुर्‍याए पनि उस्को ब्यक्तिगत आचरण नै सहि छैन वा उस्मा निहित स्वार्थ मात्र छ भने उस्को सहि सोच, उच बिचार कसरी कर्तब्यपथमा लागेर ब्यवहारिकतामा ढल्न सक्छ र ? यसर्थ सही बिचार र सिद्दान्तलाई सहि ढंगले कर्तब्यपथमा उतार्नलाई मान्छेको ब्यक्तिगत स्वार्थ र उस्को ब्यक्तिगत चरित्र नै सहि हुनु पर्छ ।

जस्तो एउटा नेताले सबै जनतालाई मक्ख बनाउछ, आफु आफ्नो ओहदामा पुग्नलाई तर जब ऊ आफ्नो स्वार्थको लिस्नो उक्लन्छ अनी उस्का मीठा मीठा बचन,बाणी र सहि सोच, सही बिचार र सहि सिद्दान्तका कुराहरु ऊबाट बहिष्कृत हुन थाल्दछन । यस्को अर्थ हो कि यस्तो हुनु चाँही उस्को निहित स्वार्थ हो । त्यसैले बिचार, सिद्दान्त र कर्तब्यलाई ब्यवहारिकतामा उतार्न आफ्नो ब्यक्तिगत आचरण सहि र ऊच हुन पहिलो आवश्यकता पर्दछ र दोश्रो समाज, अन्य सबैको सहयोगको आवश्यकता पर्दछ । अनी मात्र सहि बिचार, सही सिद्दान्तले कर्तब्यपथमा हिँड्ने मौका पाउदछ । मेरो आशय यही हो कि कुनै बेला सहि र ऊच बिचार ब्यवहारिकतामा लागु हुन आँफैभित्रको मानवियता सबल र सहि हुन पर्छ अनी त्यस्लाई ब्यवहारिक्तामा उतार्न सकिन्छ त र सोच एकातिर, ब्यवहारिकता अर्को तिर भएमा त्यस्तो सोचले समाज, देश जहाकही प्रश्रय पाउदैन । त्यो त उस्को ढोङी र अनर्थको भाषण मात्र ठहर्न सक्छ । यसर्थ सहि सोच, सही बिचार, सही सिद्दान्तको अनुयायी बने पनि त्यस्लाई ब्यवहारमा पनि ढाल्ने कोशीश गरौं, नत्र फोस्रो नाराको आव्हान गरेर किन सबैलाई आफ्नो गलत पहिचान दिएर समाजमा कलंकीत बन्ने ? कि त यस्तो कुनै फोस्रो गफ नै नगर्ने जस्ले आफुलाई समाजमा हास्यको पात्र मात्र बनाउछ । नत्र आफुबाट हुने सम्म र आफ्नो औकातले थेग्ने सम्म सहि बिचार, सही सोँच र सहि सिद्दान्तको भारी बोक्ने जस्ले आफुलाई पत्यारिलो बनाओस र समाज,आफन्त,देशले पनि आफुबाट केही आशा गरोस् वा आफुले पनि गर्न सकियोस, न कि बकमफुस्रे गफले आफुलाई स्तरहिन बनाएर सबैको सामु झुटको खेती गर्ने उपनाम आफ्नो शिरमा नलागोस यसर्थ हुन सक्ने र गर्न सक्ने पुर्याउन सक्ने सोँच बिचार र सिद्द्न्तको सबैले खेती गरौ बेअर्थको सोँच र बिचार लाई पालेर समाजमा आफु स्तरहिन नबनौ ।



गाउँखाने कथा - २३ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २३मा सहभागीहुने सबैलाइ धन्यबाद तथा यस्को उत्तर मिलाउने सुजन जीलाइ धेरै धेरै बधाइ। सुजन जी गाउं माग्नुहोला।
------------------------------------------------------------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

त्यो घरकी एक्ली बूढी, कु्म्लो छाडी रुख चढी।

यो गाउंखाने कथाको उत्तर पत्ता लगाउनुहोस?


बिगठन र आरम्भ मान्यताहरुको

- मधु माधुर्य, दोलखा
(हाल: मस्को, रसिया)

बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो -
येतिखेर दोबाटोको चौतारीमा विराजमान छ
बटुवाहरु आउँछन् चढाउँछन्
फूल, स्याउला, चन्दन र फलफूल
हुने खानेले चढाउँछन्
बोका, भाले र भेंडाहरू !

मेरो एउटा सपनीमा
बनदेवी रिसाउनु भयो -
अनिस्ठ पठाउँछु भन्नु भयो
कसले कुरा लाएछ कुन्नि !
मसंग सारै असन्तुष्ट छु भन्नु भयो

जताततै चाकडी मात्र चाहिने
चाकडीको अभावमा -
भगवान भगवान असन्तुष्ट
मान्छे मान्छे असन्तुष्ट
अर्थात्
आफ्नै आविस्कारहरु असन्तुष्ट
चाकडीको बस्तीमा-
सल्बलाए धेरै अनुहारहरु
उचाईमाथिको उचाई नपुगेर हो कि !
मानौ सबै केहि कुरेर बसिरहेका छन्

कार्यक्रम भगवानबाटै शुरु गरें :
झिसमिसे मै चौतारीको ढुङ्गोलाइ
पुरानै बगरमा फर्काइ दिएँ -
एउटा स्वप्न - आतंक रोकियो
चौतरीमा पशु-रक्तप्रवाह रोकियो
हजारौं फूलहरु अन्धाधुन्ध चुडालिएनन्

अल्फा र ओमेगाहरु शान्त होउन्
शान्त होउन् अल्फा र ओमेगाहरु
होउन् शान्त अल्फा र ओमेगाहरु

अब अर्को स्वप्न - आतंक बाँकि छ:
नेपाल सिमानाहरुमै हराईरहेको
देश बिनाको नागरिकता र राहदानी लिएर
केहि पृथ्वीबासीहरु छटपटाईरहेको
अप्रिय दृश्यहरु....
सपना पनि नहोस यस्तो त !!!

चोर, फटाहा र नामर्दहरुलाई लिस्नु चढाएर
देशको सत्ता र आफ्नो अस्तित्व सुम्पेको
दिनको याद आइरहेछ
कुर्सिधारी "दास" हरुकोलागि
गन्तब्य खोज्न
दिन दहाडै

मान्छेको भीडबाट
निस्कीरहको छु

एउटा स्वतन्त्रता
नेपालीको अनुहार देखाएर खुलेआम नेपाल बेच्नेहरुबाट
मुक्ति मागी रहेछ
मन्जुश्रीको तरवारको धारमाथि
अन्तिम आस्था र विश्वास संगालेर !

आफ्नै आविस्कार बिरुद्दको युद्धमा
आविस्कारहरु
देश बिरुद्ध
गोहीको आँशु
तप तप चुहाउदै
गुहार मागिरहेछन्

उनीहरुकोलागी
अन्तिम गन्तब्य खोजिरहेछु
बनदेवीलाइ बगर जस्तै

अल्फा र ओमेगाहरु शान्त होउन् !


July 13, 2009

फेरी अर्को पासो भित्र

प्रबिण थापा

प्रबिण माथि सुनामी नटरेकै जाती
तिमी बाँच्नु हाँसेर म मरेकै जाती

गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई
दाग लाग्छ यो संसारमा नझरेकै जाती

छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ
आदर्शका कुरा अब नगरेकै जाती

सुक्क सुक्क गरी गोहिको आशु नबगाउ
तिम्रो मनमा मेरो माया नसरेकै जाती

चोटको उपहारमा रमाउन थालेको छु
फेरी अर्को पासो भित्र नपरेको जाती


तिमी मुस्काइ रहु

तिमी मुस्काइ रहु बनेर जून ख्याती
सकेनन देख्न दुश्मनले तिम्रो प्रगती .......

चिरआत्माको गर्छौँ हामी सबैले कामना
तिमी प्रती छ हामी सबैको सद्भभावना .........,

चम्किलो तारा कहिल्यै निभ्दैन नभमा
तिमी अजर,अमर रहनेछौ सब माझमा ...........,

छुटयो सास देहबाट त के भो अब
तिमी जग्मगाइरहेछौ यो धर्तिमा जब ............,

गर्‍यो जस्ले तिमीसँग घ्रीणित घात,
भोग्नेछ उसैले आजन्म त्यस्को पाप ........,

तिमी अमर रहु बनेर शहिद ख्याती
यही जन्ममा मिल्नेछ फेरी प्राप्ती .......,