July 6, 2009

ब्लगर सुजनसंग ब्लग बार्ता


ब्लगभित्र ब्लग दौंतरीको नियमीत स्तम्भ भएको त तपाइहरुले अनुभव पक्कै गर्नुभएको होला। दौतरीले चारैतिर छरिएर बसेका नेपाली ब्लगरलाइ आफ्नो बारेमा जानकारी गराउने तथा अन्य पाठक बिच परिचित गराउने उदेश्य राख्दै यो स्तम्भ जारी राखेको छ। प्राय जसो पुराना ब्लगर निम्ताइरहेकोमा यस पटक लोकप्रिय तर नया ब्लगरलाइ ल्याएका छौं। उहांको बारेमा मैले गन्थन गर्नु भन्दा उहांबाटै थाहा पाउन उचितहोला। ल त लागौं सुजन शर्माको ब्लग यात्राको भलाकुसारी तिर।

१ ब्लगीगं दुनियामा कहिले र कसरी आइपुग्नुभयो?
ब्लगहरु पढ्न थालेको त धेरै भयो तर आफै चलाउन थालेको भने छ महिना जत्ती हुँदै छ। दौँतरी र यस्तै अरु साथी -भाईहरुको ब्लग हेर्दाहेर्दै यो अभिब्यक्ति र फुर्सदको समय उपयोग गर्ने रचनात्मक माध्यम भएकोले बिस्तारै यसमा लागेकी हुँ।

२ तपाइको ब्लगको परिचय भेट्टाउनै मुश्किल भयो,तपाइको ब्लगको अलीकती परिचय दिनुहोस न?
फोटो ब्लग मा फोटो मात्र नराखि सो सम्बन्धी साधारण जानकारिहरु समेत दिने हिसाबले यो ब्लग सुरु गरेको थिएँ। त्यसैले ब्लगको सब-टाईटल पनि मैले “Pictomation” भन्ने आफ्नै शब्द बनाएर यो ब्लग लाई Picture with Information अर्थात फोटो सहितको जानकारीहरु दिने प्रयास गर्दैछु । तर लेख्दै जादाँ कहिलेकाहिँ जानकारी मात्र नभई अन्य अनौपचारिक कुराहरु पनि पर्दो रहेछ। त्यसैले ब्लगको खासै परिचय त म आफै पनि खोज्दै छु।

३ ब्लग साज सज्जा देखी प्रस्तुती निकै भव्य छ नि,छोटो समयमै कसरी सम्भव गराउनुभयो?
हा हा हा, यो साज सज्जा मिलाउन चाँहि मलाई त्यत्ती आउँदैन । यसको सबै श्रेय चाँही आफ्नै बुढा लाई दिनु पर्ला। फुल टाईम फ्री टेक्निकल सर्भिस प्रोभाईडर घरमै भएकोले सजिलो भाको छ।

प्रस्तुतीको बारेमा भने, साहित्य,राजनिती र ठुला-ठुला कुरा लेख्‍ने दख्खल छैन। त्यसैले फोटो ब्लगीङमा लागेकी हु। फोटो मात्र राख्दा खेरी फोटोले भन्न छुटाउने र नसक्ने केही कुराहरु पनि हुने हुनाले सो सम्बन्धी केही कुराहरु भने लेख्‍ने कोसिस गर्छु।

४ तपाइमा लेख फुर्न सप्ताअन्त नै चाहिन्छ जस्तो छ नि, लेख पनि २७,२१,१४ आदी मितीमा आउदा रहेछन?
हा हा हा, निकै ध्यान दिएर हेर्नु भएछ। हुन त साहै ब्यस्त हुन्न, त्यहि पनि हप्ताभरी घर-परिबार र कार्यालयको काममा समय बित्ने हुनाले ब्लग तयार गर्नलाई प्राय: सप्ताहअन्त कुर्नु पर्दो रहेछ।

५ मठ मन्दिर निकै धाउनु भएछ,कुनै रमाइलो अनुभव सुनाइदिनुहोस न?
ईश्‍वरमा आस्था भएकोले कहिलेकाही भ्याएसम्म मन्दिरहरु जान रुचाउँछु । खासै वयान गर्न लायक अनुभव त छैन, तैपनि धर्म हाम्रो जीवनको एउटा अभिन्न पाटो हो र धर्मले मानिसलाई बन्धन हैन मुक्तिको मार्ग देखाउने भएकोले कुनै पनि मठ मन्दिर वा चैत्यमा पुग्दा आत्मिक शान्ति त मिल्छ नै ।

६ किन होला महिला ब्लगर पुरुषको तुलनमा निकै कम छन?
नेपाली महिलाकै कुरा गर्ने हो भने, हाम्रो सामाजिक ब्यबस्थाले पनि केही असर गरेको होला जस्तो लाग्छ। त्यसो त केही बर्ष यता घरमा मात्र सिमित नरहेर कार्यालय, बन्द- ब्यापारमा पनि महिलाहरुको सहभागिला बढ्दै गएको देखिन्छ। यस हिसाबले हेर्दा ब्लगमा पनि महिला सहभागिता क्रमिक रुपमा बढ्दै जाने निश्‍चित छ। यस बाहेक प्राविधिक झन्झटका कारण पनि सहभागितामा केहि कमी आएको हुन सक्छ।

७ तपाइ नित्तान्त नया ब्लगर,पूराना ब्लगरलाइ केही सल्लाह दिनुहुन्छ कि?
ओहो कस्तो प्रश्‍न सोध्नु भाको । मैले त पुराना ब्लगरहरु बाट सिक्ने पो हो त, के सल्लाह दिनु र!!

८ तपाइको ब्लगको पुछारमा त पैसा कमाउन सिकाउनु भएको रहेछ,कसरी कमाउने हो अन्य ब्लगरलाइ पनि सिकाइदिनुहुन्छ कि?
ओहो!!, त्यो मैले राखेको होईन। यो ब्लगको टेम्पलेट संगै झुन्डिएर आएको हो । त्यो टेम्पलेट ईडिट गर्न बाँकि नै रहेछ सम्झाईदिनु भएकोमा धन्यबाद। अब निकाल्ने छु।

९ ब्लगिंग दुनियाका रमाइला नरमाइला कुरा के भेट्टाउनुभयो?
नरमाईलो त केहि छैन बरु ब्लग लेख्न थालेपछि धेरै कुराहरु जान्ने र सिक्ने मौका पाएकी छु। विविध बिषयमा भिन्न भिन्न ब्यक्तिहरुको धारणा, बिचार र अनुभबहरु बुझ्न ब्लग एकदमै राम्रो माध्यम भएकोले रमाईला कुराहरुनै बढी भेटेकी छु।

१० फुर्सदमा के गर्नहुन्छ?
फुर्सदको समय यसो कमप्युटर अगाडी रहने त छँदै छ, त्यस बाहेक घुम-घाम र परिबार संगै रहेर बिताउँछु।

११ तपाइको दौंतरी प्रतीको अनुभव के छ?
दौतरी धेरै अघि देखि नै पढ्दै आएकी छु । प्राय: ब्लगहरु एकजना ब्यक्तिले चलाउने हुदाँ कुनै एउटा ब्लगमा रचनारहरुमा बिधागत विभिधता भएपनि आदर्श वा मुल बिचार एउटै देखिन्छ । तर दौंतरी भने एउटै ब्लगमा धेरै जना सर्जकहरु लाग्नु भएकोले एकै बिधामा पनि बैचारिक, भावनात्मक र नैसर्गिक भिन्नता भेटिन्छ ।यो दौंतरीको एकदमै राम्रो पक्ष हो।

समर्थन वा बिरोध जे भएपनि सिष्टता र सालिनताको दायरा ननाघिकन विबेचना गरीने र मर्यादित भाषामा लेखहरु आउने हुनाले पनि दौँतरी अन्य व्यक्तिगत ब्गलहरु भन्दा भिन्न र राम्रो लाग्छ मलाइ ।

१२ आगामी ब्लग भित्र ब्लगमा कसलाइ बोलाउने सल्लाह दिनुहुन्छ?
एउटा बिचार है, तपाईहरु दौँतरीमा लेख्‍ने पनि धेरैजना हुनुहुन्छ, कहिलेकाही आफ्नै दौँतरी परिवारका लेखकहरुलाई पनि यसमा राख्‍न मिल्छ कि ? । हामीलाई पनि तपाइहरुको बारेमा अझ बढी जान्ने अवसर मिल्थ्यो नी !

१३ तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

खासै केहि छैन, यस क्षेत्रमा भर्खरै जस्तो प्रवेश गरेको मलाई आफ्नो कुराहरु राख्‍ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । साथै दौँतरीको उत्तरोत्तर प्रगतीको कामना गर्न चाहन्छु ।



हराउदै गएको अस्तित्व

आचार्य प्रभा
(अमेरिका )
जब म पसलमा सजिएको हुन्छु
बिभिन्न रङमा सुसज्जित भएर
मेरा शरीरभरी नानाथरिका बुट्टाहरु कुंदिएका हुन्छन
बत्तुहरु जडिएका हुन्छन म बिभिन्न आकरमा बिभाजित हुन्छु
सुरिलो,होँचो,गोलाकार वा अरु कुनै आकार ...........,
आउँछन ग्राहकहरु अनी पर्छन मक्ख !
मलाई सुम्सुम्याउँछन्,
मेरो तारिफ गर्छन्,
मेरो बनावटमा दँग पर्छन,
अनी.... कल्पना गर्छन्
कोठाको कुनै टेबलमा मलाई सजाएर
त्यो कोठाको सौन्दर्याता बढेको ,
त्यो क्षण,त्यो पल,म सबैको
आकर्षणको बस्तु बन्छु
जस्ले मलाई पैसामा मोलेर लैजान्छन ।
अन्त्यमा.... जब म
चाहनाको अन्तिम लक्ष वा स्थानमा पुग्छु
मेरा घाँटीभरी कोच्याएर
जब बिभिन्न फूलहरु सजिन्छन
रातो,पँहेलो,नीलो वा अरु कुनै ........
सयपत्री,गोदावरी,गुलाफ वा अरु केही ......
तब..... मेरो आकर्षण फूलहरुको सौन्दर्यमा
परिभाषित हुन्छ ,
मेरो अस्तित्व फूलहरुको अगाडी
अस्तित्वहिन हुन्छ ,
अनी म फूलहरुको उपस्थितिमा
पलायन हुन्छु ,
म..... केवल फूलहरुको भरिया मात्र हुन्छु ,
अनी हुन्छु उस्को श्रिङारको रक्षक
तब...... म निस्सार,निस्साहाय,निरीह बन्छु
मेरो अस्तित्व अनी महत्व राख बन्दै जान्छ
अनी...... म सबैको सामिप्यताबाट
ओझेल बन्दै जान्छु ,
आफ्नो हराउँदै गएको अस्तित्वसँग
आँफै बिरानो बन्छु,
बस बिरानो बन्छु ।


July 5, 2009

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन 2009

डायस्पोरा नेपाली साहित्यको विकास र विस्तारमा दूइ दशकदेखि लागि परेको अन्तर्राष्टिय नेपाली साहित्य समाजको आयोजनामा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आउदो अगष्टमा हुंदै छ।

१५ अगष्टमा न्युर्कमा हुने उक्त सम्मेलनमा कबिता,गजल आद साहित्यक प्रश्तुतीका साथै डायस्पोरामा नेपाली भाषा तथा साहित्यका वारेमा छलफल र विचारविमर्श गरिनेछ। साथै नेपाल तथा अन्य देशमा रहेका मूर्धन्य नेपाली साहित्यकार तथा विचारहरुका विचार तथा कार्यपत्रहरु पनि प्रश्तुत गरिनेछ।

पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको यो भाषा-साहित्य सम्मेलन युवाकवि मोतिराम भट्टको जन्मजयन्तीका अवसर पारेर गर्न लागिएको हो।

यसबारेमा विस्तृत जानकारीका लागि http://conference.inls.org/ मा राखिएको छ। सम्मेलनमा वाचन गरिने रचनाहरु ७ अगष्ट २००९ भित्र यो इमेल ठेगानामा [email protected] आइसक्नु पर्ने नियम राखिएको छ ।

तिम्रो मेरो साईनो

Dinesh karki
colorado
AMERICA

तिम्रो मेरो साईनो अब, यो जुनीमा यत्तिकै भो।
के भर भयो अर्को जुनी,भेट हाम्रो यत्तिकै भो ।।

एक प्रहर समिप भएउ,सँझेछु जुनीभरी
एकान्त को बसाइ अब, कुइनेटो मा यत्तिकै भो ।।

सम्झना को तरेलि मा, सपना त्यो अल्झिने भो।
जुनेलीको पर्खाइ अब,चोउतारी मा, यत्तिकै भो।।

सुनेको छु तिम्रो सीउदो, भरिने दिन आउँदैछ रे।
घुम्टो भित्र तिम्रो मुहार, हेर्ने रहर यत्तिकै भो ।।



July 4, 2009

दौंतरीमा ब्लगर भेला

दुइढुंगा भित्रको चारकुने तरुलका छाउरा छाउरी ढुंगा बिचमा मात्रै नच्याप्पी संसारै भरी छरपस्ट भएर बसेका छन। शिक्षा र संसारको बिकाससंगै उनीहरु पनि आफ्नो बारेमा,देशको बारेमा र संसारकै बारेमा बोल्न, आफ्ना भावना प्रश्तुत गर्न ब्लगर भएर उदाएका छन। ब्लगरहरु आफ्ना रोजाइ,भोगाइ र आफ्नै समयको कठघरामा समेटीएका बिचारहरु बिध्धुतिय अन्तरजालोमा निस्वार्थ बांड्दै हुनुहुन्छ। यसरी हरेक कुनामा रहनु भएका ब्लगरहरुलाइ दौंतरीमा ब्लग भित्र ब्लग स्तम्भमा बोलाएर परिचय गराउने जमर्को गर्दै आएका छौं। यो त केबल एउटा सानो पाइला मात्र हो्। सानो पाइलाले उचित सरहाना पाए पक्कै पनि त्यसले ठुलो यात्राको सुनिश्चिता प्रदान गर्दछ।

समय मिल्दा बिशेष गरी सप्ताहअन्तमा दौतरी जिमेल च्याट,दौतरी फेसबुक र दौतरी साउट बक्समा समय बिताउने गर्दछु। आज ब्लगर दिलीप आचार्यसंग भेट भयो। कुरै कुरामा उहांले सोध्नु भयो दौतरीमा के नया आउदै छ? उखान टुक्का पछि त्यस्तो केही नया छैन भने। आफुलाइ अलि असजिलो महशुस भयो। केही नया पन दिन पाए त हुन्थ्यो। अनि साउट बक्सको कुरा गर्यों। साउट बक्स धेरै ब्लगरले मन पराएको कुरा पनि उठ्यो। मैले तुरुन्तै भने यही साउट बक्समा महिनाको एक पटक सबै ब्लगर मिलेर गफ गरे कसो होला? उहांले यो कुरा निकै मन पराउनुभयो। मलाइ पनि यसो गर्दा दौंतरी साउट बक्समा संसारका हरेक कुनामा बस्ने ब्लगरहरुले आपसमा कुरा राख्ने गज्जबको ठाउं होला जस्तो लाग्यो। यस प्रकारको ब्लगर भेलाले पक्कै पनि केही नया कुरा सिक्ने सिकाउने अबसर प्रदान गर्नेछ। मिती र समय त एकिन गरेको छैन तर अंग्रेजी महिनाको हरेक अन्तिम अमेरीकी शुक्रबार राती ११ बाट १ ( नेपालको शनिबार बिहान ११ बाट १ - समय रिफ्रेसन्स चाही नेपालको समय राखौं है) राख्दा उचित होला जस्तो लागेको छ।

साउट बक्स तल राखिए जस्तै तर दौतरीको मुख्य पृष्ठमा ब्लगर भेलाको समयमा अली ठुलो हुनेछ जुन पटक पटक आफै रिफ्रेस हुनेछ। अब यो बिचार कस्तो लाग्यो ब्लगर मित्रहरु जानकारी गराउनुहोस है?




राष्ट्रको कान्ति

हस्त गौतम मृदुल

एताउता घुम्न पनि लाग्छ मलाइ डर
आँतमा राख्ने मान्छे भै सकेछन पर

झुठा सपना देखाएर द्धन्दमा फसाए
तहस नहस पारी देश दुनियाँ हसाए

म त झनै बल्झिए सकुनीको जालमा
कसरी जिउनु म यस्तो कुटिल चालमा

कुराकानी गर्न पनी लाग्छ मलाइ डर
शुभचिन्तक भन्ने पनि भैसकेछन पर

कहिलै मुक्ती पाउला आफनो राष्ट भित्र
भताभुंग पारी सके आफनै देशको चित्र

न त मैले सुख पाएँ न त पाए सान्ती
ओझेलमा पार्दै गए यो राष्टको कान्ती

भेटघाट गर्न पनि लाग्छ मलाइ डर
मानवीय सम्वेदना पनी भैसके छ पर


July 3, 2009

कस्तो हुनुपर्छ त राज्यको शासकीय स्वरूप ? (बहसका लागि)

- एकलव्य

नेपालमा नया संविधान बन्दै छ र नया संविधानले देशको शासन व्यवस्था कस्तो हुने हो भनेर तय गर्नेछ र यसकै तपशिलमा राज्य पुनर्संरचना वा संघियता , समावेशीकरण, आदि अनेकौँ परिशिष्टको क्रम तोकिनेछ । एकीकृत माओवादी पार्टीले संशोधित रूपमा राज्यको शासकीय व्यवस्थाको कुरालाई चर्चामा ल्याएको छ । आफ्नो नाम अनुसार नै एउटा कट्टर कम्युनिष्ट शासन प्रणाली अपनाएको राज्यले अपनाउँदै आएको शासन व्यवस्थासंग मिल्दा जुल्दा विशेषतायुक्त राज्य व्यवस्थाको प्रस्तावना गरेर माओवादीले आफ्नो उद्देश्य दर्शाएको छ । हिजो सत्तामा हुँदा उसको प्रस्ताव अलग खालको थियो र आज सत्ता छोड्नु परेर आक्रोशित बन्दा यो अलग देखापरेको छ । फेरि सत्तामा आएर खुशी हुँदै गर्दा उसको विचार फेरिएन भने माओवादीले मोही माग्दा , ढुङ्ग्रो लुकाएको छैन । उसले कम्युनिष्ट पार्टीको विचार अनुसार जनवादी केन्द्रियतामा राज्ययन्त्रका सम्पूर्ण पक्षलाई नियन्त्रणमा लिने खालको, देख्दा लोकतान्त्रिक देखिने तर सारमा कम्युनिष्ट पार्टी नियन्त्रित राज्यतन्त्रको प्रस्तावना गरेको प्रष्ट छ । परम्परागत कम्युनिष्ट शासन रहेका मुलुकहरू रूस , चीन , क्यूवा र कोरियाका धेरै विशेषता बोकेको साथै केही अलग कुराहरू पनि अँगालेको यो संवैधानिक प्रस्तावनासंगै शासकीय व्यवस्था सम्बन्धी बहस अग्रतामा आएको छ ।

‘माओ’ वाद भन्ने विचार एउटा कट्टर कम्युनिष्ट शासकीय संयन्त्रयुक्त राज्यतन्त्रमा विश्वास गर्ने वाद हो । चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङ्ले तत्कालीन चीनमा कम्युनिष्ट क्रान्तिका लागि अबलम्बन गरेका रणनीतिक तथा राजनैतिक विचार र व्यवहारहरूको प्रयोग मार्फत त्यस्तै राज्यव्यवस्था कायम गर्ने सोच राख्ने विचार र दलका रुपमा यसलाई बुझ्नु पर्छ । माओत्सेतुङबाट शुरू भएको कम्युनिष्ट विचार निर्देशित राज्यतन्त्रमा माओको मृत्यूपछि, देङ सियाओ पिङले सुधार गरे पनि यो मूलत: नया आर्थिक मोडेलको स्थापनार्थ थियो । देङलाई थाहा थियो , १ अरब भन्दा विशाल जनसंख्या बोकेको विशाल चीनलाई नियन्त्रणमा राखेर एकोहोरो विकासको बाटोमा हिँडाउन कम्युनिष्ट एकाधिकार र १ करोडको ( २५ देखि ५० लाखको पिएलए नामक सेना, पुलिस , र अन्य गार्डहरू ) संख्यामा रहेका लालसेना ( रेड गार्ड वा पिएलए , नेपालमा माओवादीले पनि यही नाम दिएको छ आफ्नो लाडाकूलाई ) नामको सैन्य नियन्त्रणमा सुरक्षित शान्तिमा मात्र सम्भव छ। फलत: ,विकासका लागि शान्ति र शान्तिकालागि राजनैतिक तानाशाहीको मार्ग मात्र सही ठहर्‌याइयो। स्मरण गर्नु पर्ने कुरा के हो भने , देङ सियाओ पिङको मार्गचित्रमा अघि बढेको वर्तमान चीनले अबलम्बन गरेको राज्यव्यवस्था सम्बन्धी राजनीतिक अभ्यास त्यही कम्युनिष्ट विचारको मातहत पूर्ण नियन्त्रित र निर्देशित छ भने, उसले आर्थिक प्रगति गर्नका लागि पूँजीवादी शैलिलाई अपनाएको छ । अर्को शब्दमा , अहिलेको चीनको राजनीति कम्युनिज्म र अर्थनीति पूँजिवादको सम्मीश्रित रूप हो । यस्तो मोडेलको राजनीतिमा, मुलुकको राजनीतिको एकाधिकार कम्युनिष्ट पार्टीको एकल छत्रछायामा मौलाउँछ । सेना, प्रहरी, अदालत, प्रशासन ,कानून , सरकार र समग्र मुलुक नै कम्युनिष्ट पार्टीको निर्देशनमा काम गर्नु पर्ने यस्तो राजनैतिक प्रणालीलाई पश्चिमा उदारवादी शासनप्रणालीका मुलुकहरूले अक्सर एकाधिकारवादी तानाशाही राज्यतन्त्र भएकाहरू को सूचिमा राख्ने गरेको पाइन्छ ।

यहाँनेर एउटा उदाहरण उल्लेख ग्रनु उपयुक्त लाग्यो । गत महिना चीनिया सेना प्रमुख फू क्वानयुले दिएको एउटा वक्तव्यलाई आधार मान्न सकिन्छ । तियानेनमेन चोकमा २० वर्ष अघि भएको बिद्रोह दमनको वार्षिकी मनाउन हुनसक्ने गडबडीलाई इङ्गित गर्दै सेना चिफले आफ्नो प्रतिवद्दता सार्वजनिक गरेर भने “ हाम्रो विशाल सेना , चिनिया कम्युनिष्ट पार्टीकालागि जुनसुकै मूल्य चुकाउन तयार छ” । पश्चिमी उदारवादी राजनैतिक दर्शन र अभ्यास अनुसार, पार्टी वा दलहरू मुलुकका पर्यायवाची हुनै सक्दैनन् । मुलुकको सेनाले कुनै पार्टीका लागि जुसुकै मूल्य चुकाउने वाचा गर्नु त्यहाँ उदेक लाग्दो मानिन्छ। पार्टी त हराएर जान सक्छन्, सरकार पतन हुन सक्छन् र नया विचारले नया निर्माण हुन पनि सक्छन् , तर मुलुकको अस्तित्व पार्टी र सरकारभन्दा भिन्दै विशिष्ट हुने ठानिन्छ । सेना, अदालत, पुलिस, र प्रशासनको वफादारी मुलुक जनताप्रति हुनुपर्छ कुनै दल विशेषप्रति हैन भन्ने विचार यो उदारवादी राज्यतन्त्रका हिमायतीहरूको सामान्य बुझाइ हुने गर्छ ।

नेपाली माओवादीले भने आफ्नो राजनीतिक मोडेल यही चिनीया वा कम्युनिष्ट शैलिको हुनेछ भन्ने कुराको खुलासा हालै आफ्नो दलको विस्तारित केन्द्रीय समितिले जारी गरेका निर्णयहरू मार्फत उजागर गरेकाछन् । यो भन्दा पहिला पनि उनीहरूको प्रस्तावित संविधानको खाकाले त्यताप्रतिको आसक्ति देखाएको भएपनि अलिक अवसरवादी बनेर यता कि उता हुने भन्ने कुरामा द्विविधा नदेखाएको हैन । तर , माओवादीले खोजेको जस्तो राज्यको व्यवस्थापकीय स्वरूपका बारेमा जारी गरिएको यो नया अवधारणा, कम्युनिष्ट राज्यतन्त्रको जनवादी केन्द्रीयताको सिद्दान्त अनुरूप भएको पाइएको छ , जुन विशेष गरी पश्चिमी देशहरुमा अपनाइएको विश्वमान्य लोकतन्त्रका सिद्दान्तसंग धेरै मात्रामा बिमति राख्छ । प्रचारमा आए अनुसार राज्यको शासकीय स्वरूपका बारेमा माओवादीले गरेको प्रस्तावमा निम्नलिखित मुख्य विशेषता हुनेछन् ।

१) देशमा एक जनप्रतिनिधिसभा ( चीनको पिपल्स कंग्रेसको अनुवाद) रहनेछ र यसले एउटा सर्वधिकार प्राप्त राष्ट्रपति मण्डलको ( इरानको गार्जियन काउञ्सिल कि कम्युनिष्ट पार्टीको पोलिट व्यूरो वा त्यस्तै मुलुकको प्रेसिडियम ? ) छनोट गर्नेछ । साथै कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति पनि व्यवस्थापिकाले छनोट गर्नेछ । ( कम्युनिष्ट मुलुकमा बाहेक अन्य मुलुकको कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था छ । साथै अमेरिका र फ्रान्स जस्ता विकसित पश्चिमा मुलुक बाहेक कार्यकारी अधिकार सम्पन्न राष्ट्रपतीय प्रणाली भएका मुलुकहरू अपवादबाहेक तानाशाही बाटोमा लागेका उदाहरण प्रसस्त भेटिन्छन् । यही व्यवस्था बोकेका क्यूवा र उत्तर कोरियाले त आजीवन राष्ट्रपतिले नपुगेर , भाइ , छोरा र नातीमा राषट्रपतीय प्रणालीलाई हस्तारण गराउँदै नवकम्युनिष्ट राजतन्त्र कायम गरेको पनि देखिएकै छ क्यारे ! )

२) अदालत र सेना सबै व्यवस्थापिका कै मातहतमा हुनेछन् ( शक्ति पृथकीकरको सिद्दान्तलाई पूर्णत हटाइनेछ र कम्युनिष्ट मुलुकको व्यवहार अपनाइनेछ ) ।

३) सामन्तवाद र साम्राज्यवादविरोधी पार्टीको बहुदलीयतालाई मात्र स्वीकार गरिनेछ ( मतलब, कम्युनिष्ट पार्टी मातहतको अदालतले आवश्यक ठानेका दललाई सामन्तवाद वा साम्राज्यवादका पक्षपोषक ठानी प्रतिवन्धित गर्नेछ , जस्तो कि कम्युनिष्ट मुलुकको बहुदलियता हुने गर्छ)।

४) जनप्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको सरकारमा प्रतिनिधित्व हुनेछ र व्यवस्थापिका विपक्षीबिहीन हुनेछ ।
( यस्तो व्यवस्था अन्त पनि छ जस्तो कि दक्षिण अफ्रिका जहाँ १०% भन्दा बढी मत ल्याउने दलबाट उपराष्ट्रपति र मत प्रतिशत अनुसार अरू दलहरूलाई मन्त्री बनाइने चलन छ । मेलमिलापको राजनितिका लागि यो राम्रो हुन पनि सक्छ तर आँफूले इच्छाएकाले मात्र दल खोजेर राजनीति गर्न पाउने र तिनै दलहरू मात्र दूधको सांक्षी बिरालो जस्तो सरकारमा सर्वसम्मत सहभागितामा रमाउने हो भने यो पनि वर्ग संगठनको निर्दलीय पञ्चायति व्यवस्था जस्तै नेपाली माटो सुहाउँदो व्यवस्थातर्फको यात्रा त हुने हैन ? कि चीनमा जस्तो उही कम्युनिष्ट पार्टीका बिभिन्न भ्रातृसंगठनहरू लाई राजनीतिक दलको रूपमा मान्यता दिएर तिनको प्रतिनिधित्वलाई बहुदलीयताको नाम दिन खोजिएको पो हो कि ! )

तर पनि धेरै नेपालीहरूलाई माओवादीको क्रान्तिकारी रोमाञ्चमा अविश्वास छैन जस्तो देखिन्छ । जस्तो सुकै राजनैतिक पद्दति भए नि केहि फरक नपर्ने सोच राखिएको हो भने यस्तो सोचबाट निस्पन्न हुने भविष्य डरलाग्दो नहोला भन्न सकिन्न ।

राज्यको शासकीय स्वरूप कस्तो हुने वा हुनुपर्ने हो त्यस सम्बन्धी बहस र मन्थन हुनुपर्ने भन्दा एकदमै थोरै भैरहेको जस्तो लागेको छ । यो त्यति हल्का फुल्का विषय पनि हैन र यही कुरामा मुलुकका कम्तिमा पनि आगामी केही दशकहरू र केही पुस्ताको भविष्य र भाग्य कैद बन्नेछ । हाम्रै निकट भविष्य नियन्त्रणमा लिन सक्ने यस्तो गम्भीर विषयमा राजनैतिक दलहरू नै नदारद रहेको यो घडीमा जनताले व्यक्तिगत रूपमा चिन्ता लिएर पनि केही फरक पर्ने हैन । तर विज्ञहरूले यो विषयमा बहस चलाउने जमर्को सम्म नगरेको देख्दा , यस्तो गम्भीर मुद्दाको छिनोफानो पनि लहड कै भरमा हुने हो कि भन्ने छाँट देखिन्छ । हुनत, अहिलेको संविधानसभाको संरचना हेर्दा र त्यहाँ पुगेका मानव आकृतिहरू मध्ये कतिले यस्तो महत्वको कुरा बुझ्ने सामर्थ्य राख्लान् त्यो नै सोचनीय कुरा छ । माओवादीले त आफ्नो राज्य मोडेल प्रस्तुत गरेर , आँफ्नो परिचय र उद्देश्य दर्शाउन हिचकिचाहट देखाएन। अरूको यस मामिलामा गृहकार्य के भैरहेको छ थाहा पाइएको पनि छैन । हामी नेपालीले वि. सं. १९९७ सालको शहीद काण्डदेखि हरेक दश वर्षमा लड्ने गरेका आन्दोलन र क्रान्तिको शृङखलामा यो पछिल्लो कडीको क्रान्ति , आन्दोलन , संविधानसभाको निर्वाचन अनि राजतन्त्रको उन्मूलन पश्चातको परिदृश्यमा खोज्दै गरेको शासकीय स्वरूप कस्तो हो त ? हामी प्रष्ट छौँ ? सही जवाफ कसले खोज्ने ? कस्तो हो त मुलुकलाई चाहिएको शासन व्यवस्था जसले तय गरेको बाटोमा हिँडेर हाम्रा असंख्य आकांक्षाहरू सम्बोधन होलान् ? देश त हामी सबैको हो नि ! त्यसैले आउनूस् हामीलाई कस्तो शासन व्यवस्था चाहिएको हो त्यसमा बहस गरौँ, नत्र बेला घर्किएला !