June 8, 2009

बोझिलो दुखी नासो

प्रबिण थापा

अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है
जाली माया गरेर, फसाइ गयो नभन है

वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने
जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है

बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु
शिखरमा चढाएर, खसाइ गयो नभन है

केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु
अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है

कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु
बोझिलो दु:खी नासो, टसाइ गयो नभन है


June 6, 2009

भारत ले नेपाली को भावना मा चोट पुर्‍याउदै छ

शेखर ढुङेल

०६-०५-२००९

नेपाल र भारतको बीच विश्‍वमै एउटा अद्दितिय सम दुरी, धार्मिक एबं सास्कृतिक समानता र सामिप्यता हुनुको बाबजुद अनादी काल देखी नै पर्बतिय सृखंला र ॠषी मुनीहरुका तपोभुमी नेपाल आफ्नै बिशेष परिचय र अस्तित्वमा रेहेको देश हो । दुई देश का जनता बीच को सुमधुर सम्बन्ध र समदुरी लाई भारतीय सरकारको साउथ ब्लकले नाजायज निती मा परिणत गर्दै लगेको छ । साम्राज्यबाद बाट स्वयम पीडित भारतले छिमेकीहरु प्रती दादागिरी देखाउनु आँफैमा उदेक लाग्दो छ ।

एकाध सय बिभिन्न मुखुन्डो लगाएका नेपालका पापड लाल नेताहरु उस्को चरणमा छन भन्दैमा नेपाली सपुत हरुको बिरताको ईतिहासको साक्षी रहेको भारतले हामी नेपालीको सम्बेदनशील भावनामा खेलबाड गर्ने दुस्प्रयास गर्दछ भने त्यो भारतको लागि अरिंगालको गोला मा हात हाले बराबर हुनेछ । नेपालमा पनि लोन्डुप र लिट्टे उत्पादनको खेती फास्टाउदछ भन्ने भारतको सोच हो भने उस्ले आफ्नै खुट्टामा बन्चरो हान्यो भनी जाने हुन्छ । ''प्लिज नेभर उन्डरइस्टुड नेपलिज सेन्टिमेटल्'' भारत ले हाम्रो सम्बेदनशील भावनाको कदर गर्न जानेन वा सकेन वा आक्रमण गर्न खोज्दछ भने उ विश्‍व मै बदनाम हुने छ ।

कास्मिर को पिडा लाई नियालेर हेरोस अनी छिमेकी लाई कुदृष्टी लगाओस । छिमेकी लाई अस्थिर बनाएर , पेलेर अफु बलियो हुने भ्रम भारत ले त्याग्नु पर्दछ । नेपाल मा सधैं कुदृष्टी राख्ने भारतले नेपालीको एकतामा बिचलन भएको मौका पारी राजसस्था ढाल्न सफल भए पछी उस्ले रोपेको लोन्दुप र लिट्टे हरु फलेफुलेको भ्रम बढाएको हुन सक्तछ । त्यसैले निर्भिक्क भएर सिमा स्तम्भ गायब गरिदिने , मिच्ने र सिमा क्षेत्र मा बस्ने हज्जारौ नेपाली लाई आमानबिय ढंगले बिस्थापित हुनु पर्ने सम्म को अत्याचार गरेको छ । भारतको यो निम्न स्तरको दादागिरी ले संसार उ को सामुन्ने बदनाम हुनेछ ।

हाम्रा अदुरदर्शी सत्ता लोलुप पापड लाल केही नेताहरुको बिरोध , जुलुस , भाषण र स्मरण पत्र दिने औपचारिकताको भारतले मतलब राख्ने छैन । देखी हालियो, सचित्र अन्तरराष्ट्रिय चर्चाको बिषय भैसकेको दाङ घटनालाई भारतीय राजदुत सुदले ठाडो अस्विकार गर्दै चुनौती नै दिएका छन । दुताबास भन्दछ सिमा बिगारेको , हराएका छैनन , भारतीय सुरक्षा बलले केही गरेकै छैन, कुनै सीमा मिचेकै पनि छैन , नेपाली लाई झनै उत्तेजित बनाउने गरी यो बक्तब्य आउनु झन खतरा को संकेत हो । भारत सित टस्सल गर्न नैतीक रुपले आत्मबल गिराइ सकेका राजनैतिक दलले खुलेर बिरोध गर्न सकेका छैनन । देश सरकार , संबिधान , निती नियम बिहिन अवस्थामा पुगेको छ, यस बेला सम्पूर्ण तप्काका स्वाभिमानी नेपाली जनता एक भएर भारतको दादागिरी को बिरुद्धमा उत्रनु पर्ने भएको छ । नेपालको स्वाधिनताको लागि खम्बाको रुपमा रहेको राजसस्थालाई भारत कै चक्रब्युह मा फसेर ढाले पछी काठमान्डुमा दिल्ली दरबार खडा भएको छ । हाम्रा देशका सरकार प्रमुख र नेता भारतीय दुत का जागिरे जस्ता देखिएका छन । साझ बिहान घर घरमा गै यो गर र त्यो गर भनी आदेश दिन्छन । यस्तो अवस्थाको अन्त गर्न हामी जनता नै उठनु पर्दछ।

देशलाई माया गर्ने स्वाधिन नेपालका स्वाभिमानी नेपाली स्वदेश बिदेश जहाँ भए पनि भारतको दादागिरी , अन्याय अत्याचार , बिरुद्ध अन्तरराष्ट्रिय रुपमा सशक्त आवाज उठाउनु पर्दछ , तराइ का बिभिन्न शशास्त्र अपराधीक ( भारतीय ) गतिबिधी सन्चालन गर्दै आएको पर्सा ( बिरगन्ज ) को कन्सुलर कार्यालय हटाउनु पर्दछ , लैनचौर दुताबासमा भएको नेपाली नेता र उपल्लो कर्मचारी लाई बिदेशी रक्सी बाड्ने शाखा खारेज गराउनु पर्दछ , सयुक्त राष्ट्र संघ को स्थानिय र प्रमुख नियोग मा सप्रमाण भारत बिरुद्ध उजुरी दिनु पर्दछ , स्वतन्त्र अखन्ड राष्ट्र को हैसियत ले आफ्नो अस्मिता जोगाउन निस्चित नाका मात्र खोली मेची महाकाली सीमा मा पर्खाल लगाउनु पर्दछ , भारत सित पनि बदलिदो परिस्थिती अनुरुप राहदानी को ब्यबस्था गर्नु पर्दछ ।

हाम्रा पुर्खाको वीर गाथाले सुसज्जित सुन्दर देश नेपाल लाई भारतीय कुदृष्टीको बाछिट्टा बाट सुरक्षित राख्न परम्परागत सन्धि र नितीमा परिवर्तन गर्न जनताले अब नेताको मुख ताक्ने होइन स्वयम अरिंगाल बनी जाइ लाग्नु पर्दछ । जय होस नेपाल र नेपाली को ।



विदेशी हस्तक्षेप, हाम्रो बिरोध र घर भित्रका मतियारहरु ।

देशको कुनै पनि निकाय वा समग्रमा देशमाथी कुनै विदेशी हस्तक्षेप हुँदा हामीहरु सबै,सधैं विदेशीलाई धारे हात लगाउँछौं र निन्दा पुराणमा व्यस्त रहन्छौं र आफनो कर्तव्य जिम्मेबारी पूर्वक निर्वाह गरेको ठान्छौं। तर गहिरिएर हेर्ने हो भने ईतिहास साक्षी छ, देश ठुलो-सानो, धनि-गरिव जस्तो सुकै होस, कुनै पनि विदेशी शक्तीले आर्को राष्ट्रमा हस्तक्षेप गर्दा त्यहि देश भित्रका कुनै व्यक्ति, संस्था, दल वा समुहको सहयोग लिएर मात्रै गर्छ ।

सीक्कीमको भारत विलय देखी लिएर सद्दाम हुसेनको गिरफ्तारीसम्म सबैमा विदेशी शक्ती सफल हुनुमा देश भित्रै रहेका र विदेशीको ईशारामा चल्ने वा सिधै भन्दा ‘ईमान बेच्ने’ हुनु नितान्त जरुरी थियो/हुन्छ ।

केहि दिन देखी छापामा आएका सीमा अतिक्रमणको समाचारसंगै हामी पनि भारत बिरोधी नारा, भाषण र निन्दा गोष्ठीमा व्यस्त छौं । हो, विदेशीको कुनै पनि हस्तक्षेप हामीले सहनु हुँदैन, तर के यहि एक दुई पर्चाबाजी र बिरोध पत्र थमाएर हाम्रो कर्तव्य पुरा हुन्छ त?

बेला बेलामा नेपालको नाडी छाम्दै, जिस्क्याउँदै र ‘ए ! झुक्कीएछ’ भन्दै फर्कने विदेशि तत्वको शाहस त्यत्तीकै बढेको छैन। तीनलाई खुल्लै रुपमा सहयोग र समर्थन गर्ने धेरै हस्तीहरु हाम्रो देशमा निर्धक्क आफ्नो कीर्तनगानमा व्यस्त छन।

भर्खरै दाङमा अतिक्रमण भयो, एउटा सार्बभौम देशमाथीको यो बल प्रयोग गलत मात्रै थिएन, विश्वकै सबैभन्दा ठुलो लोकतन्त्रको पगरी भिरेको देशको लागि लज्जाको विषय पनि हुनु पर्थ्यो । तर यस्तो निर्लज्ज बल मिचाईलाइ हाम्रै देशकी नेतृ र मन्त्री समेतले घुमाउरो पाराले समर्थन गरीन “हैन भारतले सिमा मिचेकै छैन (नेपालीहरु त्यत्तीकै बहुलाएका छन, बदमाशहरु !)

नेपाली मितीमा तथ्य राख्दा, दैनिकीको जेष्ट २३ को खबर अनुसार संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिले सीमा अतिक्रमण गरिएको दाङको सीमा क्षेत्रमा स्थलगत अवलोकनका लागि सबै दलका सभासदहरुको टोली बनाएर त्यसतर्फ पठाउने निर्णय गरेको खबर छापीएको छ । तर सो भन्दा एक दिन अगाडि नै (अवलोकनपूर्व नै) , अर्थात जेष्ट २२ गते नै हाम्रो परराष्ट्र मन्त्रीले भारतीय पक्षले नेपाली सीमा मिचेको नपाइएको बताईसकेकी थीईन । धन्न छ टिकेको छ हाम्रो देशको अस्तित्व !!, यस्ता यस्ता हस्तीहरुको छत्रछायाँमा ।

कुरोको चुरो तर्फ जाँदा, धारे हात विदेशीतर्फ फर्काउनु भन्दा पूर्व खुला रुपमा देश बेच्न तम्सनेहरुलाई तह लगाउनु नितान्त जरुरी देख्छु म ।

जसरी शरीर विरामी हुँदा अन्य बाहिरी जीवाणुबाट बच्नु भन्दा, पहिलै काया प्रवेश गरी सकेका किटाणुलाई निर्मूल गर्नु जरुरी हुन्छ, त्यसै गरी आफ्नै घरको मानो खाएर विदेशीको सेवा गर्ने लाई ठिक ठाउँमा नल्याएसम्म यो बिरोध सार्थक हुनै सक्दैन । अनी हाम्रो देशमै यस्ता धमिराहरु रहेसम्म हाम्रो बिरोध र आक्रोशले विदेशी सुध्रीएला भनेर आश गर्नु पनि बेकार ठहर्ने छ।

संसारको प्राकृतिक नियम छ, गलत कार्य गर्ने जतीसुकै बलवान भएपनि एकजना गान्धी जस्तो हाड छालाको ढाँचासंग पराजीत हुन्छ । वलिष्ठ बाहुबल भएको चोर पनि दूर्वल मानिसको घरमा छिर्न डराउँछ । तर सर्त एउटै रहन्छ घर भित्र चोरका मतियार हुनु हुँदैन ।

हाम्रो मुलुक निर्वल होला, तैपनि कुनै सबल देशले हामीलाई तबसम्म दागा धर्न सक्दैन जबसम्म हाम्रै देश भित्र उसका मतियारहरु हुदैंनन् । घर जोगाउने काम पहिला घरभित्रै बाट शुरु गर्नु पर्छ र घरभित्र बसेर छिमेकीको सेवा गर्नेलाई पहिला तह लगाउनु पर्छ। आफ्नो मतियार नभएको घरमा जस्तो सुकै छुल्याहा छिमेकीले पनि आखाँ उठाउन पनि सक्दैन



June 5, 2009

शिरबन्दी नअडिने रित्तो केश

सुमन बगाले सुमनसुधा
आँबु खैरेनी तनहुँ
नेफुल्दैमा शेष ठानेछौ
शिर शिरबन्दी नअडिने रित्तो केश ठानेछौ
युद्धकालीन क्षतिग्रस्त नाङगो देश ठानेछौ
खाएका ति कसमहरु पलपलमा बदलियो
तिम्रो स्वार्थ यात्रामा ढुङगे ठेश ठानेछौ
कता कता हराउछु आफैलाइ रित्ताएर
नसुहाउने देश विनाको भेष ठानेछौ
सुकेछ कि हिमनदि भिज्न छाडयो परेली
मबाट टाढिएर दुर रहनु बेश ठानेछौ
मरेतुल्य हुन्छु तिम्रो प्रतिविम्म नआउदामा
शिशिर ॠतुमा नफुल्दैमा शेष ठानेछौ


June 4, 2009

तिम्रो मजेत्रो फाटेछ आमा

तिम्रो मजेत्रो फाटेछ आमा म टाल्छु भन्थ्यो
पिर सुर्ता नगर सुख सँग म पाल्छु भन्थ्यो

विश्वास कस्ले निभायो चेतना अधेरो भो रे
भरोसा जगमगाउने बत्ती बाल्छु भन्थ्यो

जर्जर भो रे उर्बर माटो, बाँझो कती राख्नु
रगतले गन्हाकोछ, पसिना हाल्छु भन्थ्यो

पुर्खाको सिको बिर्सिएछ, कती छिटो आमा!
अब स्वाभिमान निखन्ने काम थाल्छु भन्थ्यो

दुई खोच बिच अल्मल्लिएको हाबाको झोक्का
अब त आफ्नै मन र पनमा ढाल्छु भन्थ्यो

राहतको अनुभुती के गरेथे झल्यास ब्युझें
कस्तो देखेछु सपना बिकृती फाल्छु भन्थ्यो


उहाँले प्रश्नको जवाफ दिनुभो

राकेश कार्की
लस् एन्जेलस्
उहाँले प्रश्नको जवाफ दिनुभो
कसैलाइ उत्तर कसैलाइ रवाफ दिनुभो
प्रश्न सबै मार्मिक थिए
कुनै सामाजिक कुनै धार्मिक थिए
यथार्थता सबै प्रश्नमा थिए
मनभरी घाउ बोलेका थिए
जस्तालाई त्यस्तै जवाफ दिनुभो
कसैलाइ सान्त्वना कसैलाइ रवाफ दिनुभो
हकिकत प्रश्नले एकचोटी घोच्दा
उहाँले जड०गीएर दुइचोटी घोच्नुभो
धेरै प्रश्नसँग असहमत हुनुभो
अचानोलाई पींडा हुन्छनै भन्नुभो
सही या गलत जवाफ दिनुभो
कसैलाई फकाउनुभो कसैलाइ रवाफ दिनुभो


June 3, 2009

सत्य

शेखर ढुङेल
०६-०२-२००९
आबरण मात्र राम्रो हो
भित्र भद्रगोल छ
कतै आक्रोस कतै बिद्रोह
त्यो होइन
जो देखिन्छ
मनमा उ छैन
जो दिमाग ले बोल्छ
आबरण मात्र राम्रो हो
हाँसो क्रितिम
छाती कुढिएको छ
दु:ख छैन आशुमा
ठट्टा भरिएको छ
कठोर बोली भित्र
मन पगाल्ने
आशु लुकेको छ
लामो सुस्केरा
सपना छ रहर छ
दिन र रात यहाँ
फरक भन्न मुस्किल छ
आबरण मात्र राम्रो हो
कतै उन्मान्द
कतै बित्रिष्णा छ
बिचित्र चमत्कार
लक्ष्य अन्धकार छ
लोभ्याउने लेबल भित्र
तितो ओखती भरे झै
आबरण मात्र राम्रो हो
अगाडि बढ्ने सपना भित्र
बिबेक बन्धकि परेको छ
ठेल मठेल तमासा मात्र
देख्दा र भोग्दा को
मानिश बिलकुल फरक छ