May 9, 2009

जिस्किन थाल्यौ प्रिया

सुमन बगाले
फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ प्रिया
रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ प्रिया

पुर्णिमाको जुनमापनि कालो दाग औलाएर
दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ प्रिया

भ्रुण मै मरे कोपीला रुखो बोटको के रङ रुप
चिनो दिइ सम्झनाको भित्र भित्रै पोल्यौ प्रिया

गाइ मारेर गधा पुज्ने चलन चल्ती तिम्रो रैछ
धोइ पाप पखाल्नलाइ लाख बत्ति बाल्यौ प्रिया

सँगै हिड्ने सहयात्री नहुने रहेछ जिवनसाथी
बनी काल हिजो आज जिस्किन थाल्यौ प्रिया

सुमनजी आफ्नो ब्लगमा अन्य गजलहरु पनि पढ्न सकिन्छ



अस्वाभाबिक कुटनैतीक चलखेल

शेखर ढुङेल
०५-०९-२००९
बिगत केही बर्ष देखी नेपालको साना ठुला जूनसुकै घटनामा पनि बिदेशी कुटनितिज्ञहरुको अधिक सक्रियता बढेको देखिन्छ । जुन एक स्वतन्त्र सार्बभौमसत्ता सम्पन राष्ट्र को आन्तरिक मामलामा अस्वाभाबिक हस्तक्षेप हो । बिदेशी दुतहरुको एक निस्चित कार्य क्षेत्र, मर्यादा र प्रकृया हुन्छन । सार्बभौम राष्ट्रको सरकार वा राष्ट्र प्रमुख लाई भेट्न बिदेश मन्त्रालय मार्फत प्रोटोकल पुरा गरे पछी मात्र समय लिएर भेट्ने विश्वब्यापी प्रचलन छ । तर नेपाल मा बिदेशी राजदुत ले हफ्तामा १० पटक सम्म प्रधान मन्त्रीलाई भेट्दछन मानौ कुनै मालिकले आफ्नो कम्पनी को प्रबन्धक लाई भेटदै छन । यस्तो प्रबृतिले के सोच्न पर्ने अवस्था आइसक्यो भने कतै नेपालमा स्वदेशी र बिदेशी को द्वैध शासन चलिराखेको त छैन ? देश को आन्तरिक मामिला मा यत्रोबिधी चलखेल र भूमिकालाई किन स्वागत गरी राखेका छौ हामी ?

देशको पछील्लो राजनैतिक घटना क्रम संगै एकै पटक अमेरिका, बेलायत, फ्रान्स, फिनल्यान्ड, जर्मन, डेनमार्क, र युरोपियन युनियनका राजदुतहरुले एमालेको केन्द्रिय कार्यालयमा पुगी अध्यक्ष खनाल सित भेटेको समाचार लगायत अन्य गतिबिधीले यो लेखक नेपालमा एक स्वदेशी, दुई बिदेशी कुटनितिज्ञ र तीन एन जि ओ, आइ एन जि ओ गरी त्रिकोणीय सरकार छ भन्ने निस्कर्षमा पुगेको छ । हो, आज को ग्लोबल भिलेज अबधारणाको विश्‍वमा कुनै देशमा प्रजातन्त्र, मानबाधिकार, दन्डहिनता, प्रेस स्वतन्त्रता जस्ता सम्बेदनशील अन्तरराष्ट्रिय बिषयमा सम्बन्धित सरकारलाई सुझाब, खबर्दारी गर्नु, कुटनितिज्ञहरुको धर्म हुन सक्ला, तर सरकार बनाउने गिराउने, राष्ट्रले आवश्‍यक्ता अनुसार निती नियम बनाउने, प्रशासनिक हेरफेर गर्ने जस्ता नितान्त आन्तरिक बिषयमा समेत बिदेशीको चासो र हस्तक्षेप स्वाभिमानी नेपालीलाई पाच्य हुने कुरो हो जस्तो लाग्दैन । ६० बर्ष् प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त भै सकेका नेपाली जनता र सरकारले गरेको निर्णयको बिरुद्ध बिदेशी कुटनितिज्ञले गर्ने हस्तक्षेप एक स्वतन्त्र राष्ट्रको अस्तित्व माथि नै प्रहार हो जस्तो मलाई लाग्दछ । सरकारले गर्ने गलत निर्णय को प्रतिकार गर्न सक्ने क्षमता नेपालीमा छैन जस्तो मलाई लाग्दैन । ०३६ -०४६ र ६२-६३ को आन्दोलन प्रत्यक्ष प्रमाण हुन ।

यस्ता बिदेशी चलखेललाई राजनैतिक बिस्लेषकहरुले तीन क्षेत्रमा बिभाजन गरी अध्ययन गरेको पाईन्छ । एक - भारतीय साउथ ब्लक वा '' र'' को नेपालमा भारतीय निती मुताबिक नेपालको पररास्ट्र, आर्थिक र राजनीति निती माथि प्रभाब र हस्तक्षेप कारी भूमिका खोज्ने । दुई - अमेरिका र युरोपियन राष्ट्र को तिब्बत को चासो र नेपाल को भुमी को उपयोग निती र तेस्रो - नेपाललाई इशाइ राष्ट्र बनाउने अन्तरराष्ट्रिय क्रिस्चियन मिसिनरी को रणनिती ( बिभिन्न आइ. एन. जि. ओ. मार्फत ) ।

सर्सर्ती हेर्दा प्रजातन्त्र र मानबाधिकार माथिको चासो जस्तो देखिए पनि बिदेशी कुटनितिज्ञहरुको बढ्दो चलखेल र सरकार माथिको दबाब देख्दा भित्री मनसाय भने माथि उल्लेखित बिषयमा नै केन्द्रित छ भन्दा अत्युक्ती नहोला । बिगत दशक देखी सरकार बनाउने र गिराउने खेल लगायत १२ बुंदे सम्झौता, संबिधान सभा को निर्वाचन, राजसस्था को अन्त, धर्म निरपेक्षता को घोषणा गराउने खेल मा प्रत्यक्ष बिदेशी को हस्तक्षेप भएको छ । बिदेशी को अशिर्बाद थाप्ने होडमा माओवादी लगायत सबै दल को प्रतिस्पर्धा छ र नेता तिन्का एक इमान्दार कार्यकर्ता जस्ता देखिनाले नेपाली को स्वाभिमान मा धक्का पुगेको छ भनी बिज्ञ हरु बताउन थालेका छन ।

सत्तामा पुग्न बिदेशी को आसीर्बाद माग्ने र सत्ताबाट हट्नु पर्दा गाली गर्ने एउटा बिडम्बना युक्त प्रबृति पनि हाम्रो सामु छ । गणतान्त्रिक नेपालका निर्बाचित प्रथम प्रधानमन्त्रीले आफ्नो राजिनामा सम्बोधनमा राजिनामा गर्नु पर्दाको कारणमा पनि बिदेशी दबाब लाई इङित गरेका छन । यद्यपी यो नयाँ कुरो होइन, पछील्लो कडि मात्र हो । यो अवस्था सम्म आइ पुग्दा प्रचन्ड कै भनाइलाई आधार मान्ने हो भने पनि एउटा जन निर्बाचित सरकार बिदेशी को कारण ढल्दछ भने ''नागरिक सर्बोच्चता'' को प्रश्न मा शेना लाई जोड्नु को कुनै तुक नदेखिदने मात्र होइन बन्द र राष्ट्रपती को बिरोध पनि तर्क संगत मान्न सकिदैन । बिदेशी हस्तक्षेपको शिकार हिजो कोइ भए आज प्रचन्ड र भोली अर्को हुने नै छ । राजिनामा पछी सुदले फेरी प्रचन्डलाई भेटे, अमेरिकि राजदुत पौलिनले गिरिजा लाई भेटिन । जुनसुकै बहानामा एक स्वतन्त्र सार्बभौम सत्ता सम्पन्न राष्ट्र नेपालको आन्तरिक मामिलामा दल र नेताहरुलाई बिदेशीले खेलाउने र खेल्ने घातक प्रबृतिले राष्ट्रको स्वतन्त्र अस्तित्व माथि हस्तक्षेप भै राखेको छ ।



May 8, 2009

छविलालको उदांगिएको छवी र उल्लू बनेका हामी

पुष्पकमल दाहालले शक्तिखोर ब्यारेकमा आफ्ना सैन्य दस्तालाई सुर्क्याउन घुर्क्याएका कुराहरू भिडियो बनेर छ्याप्छ्याप्ति बन्दा समाचार सुर्खीमा छाउनु स्वाभाविक बनेको छ ।

एकथरी भन्दै छन् यो त माओवादी नेताले १६ महिना अघि भनेको कुरा हो। अत: यो विषयलाई लिएर अत्तो थाप्नु हुन्न ।

तर, वृहद् शान्ति सम्झौतामा आँफैले सही ठोकेर माओवादी नेताहरूले वर्ष एक जति मन्त्री पदको जागिर खाँदै गरेको त्यो बेला, उसका पार्टीका सर्वोच्च नेता र छापामारहरूका कमाण्डर-इन-चिफ छविलाल उर्फ पुष्पकमल उर्फ प्रचण्डलाई १६ महिना अघि जे बोले पनि पाउने छूट राज्यले दिएकै थियो त ? १६ महिना अघि नेताले जे पनि बोल्न पाउने कानून थिएन भने कसरी उनका एमानका ठूला समर्थकहरूले यसको पैरवी गर्ने साहस जुटाए त ? लौ मानौँ, छविलाल दाहाललाई १६ महिना अघि जे बोले पनि पाउने छूट थियो अरे ! तर, त्यो सार्वजनिक गरिएको भिडियोमा भनिएका कुरा मार्फत माओवादीका सुप्रिमो दाहालले कि त माओवादी छापामार कि त गैरमाओवादी शान्तिवादी नेपाली जनता एकथरिलाई त थाङ्नामा नै सुताउने उल्लु कुरा त गरेकै छ नि !

छविलाल दाहालले अहिले बिभिन्न मुलुकका राजदूतहरू, विपक्षी नेताहरू र नागरिक समाजका कथित अगूवासंग दावा गर्दै याचना गर्दै छन् कि उनको लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिवद्दतालाई शंका गर्दिनु भएन । यदि यो मान्ने हो भने शक्तिखोर व्यारेकका कमाण्डर कामरेड विविध ( रामहरी श्रेष्ठका हत्यारा)लाई समेत संबोधन गर्दै माओवादीको जनगणतन्त्र कायम गर्न सत्ता कब्जाको तरिका र बाटोबारे जुन लेक्चर उनले आफ्ना छापामारलाई पिलाउँदै छन् र जुन भाषणमा उनका आज्ञाकारी छापामारहरू आफ्नो भोलिको विजयको सपनामा भूलेर ठहाका लगाएर तिघ्रा ठटाउँदै आनन्दित बनेका छन् तिनलाई धोका भएन र ? ट्रकका ट्रक सरकारी पैसामा खरिदिएका हतियारको प्रयोग गरी त्यही सरकारलाई 'नेस्तनाबूद' पार्दै सम्पूर्ण छापामारहरूलाई सरकारी सेनामा 'आफ्नै तरिकाले' चाहेजति भर्ना गरेर 'उताकालाई आधा घटाउने' अनि सारा सेनालाई कब्जामा लिने यो रणनीतिले या त मुलुकका गैरमाओवादी सबै शक्तिलाई उल्लू ठानेको छ या त तिनै माओवादी सपनामा लट्ठिएर संसारलाई छविलाल कामरेडले कसरी उल्लू बनाइरहनुभएको छ र माओवादी विजयको खाका कोरिरहनु भएको छ भनेर सोच्ने 'ब्रेनवास्ड' जमात माथि मानसिक शारीरिक र मनोवैज्ञानिक विष भरिरहनुभएको छ, हाम्रा महान कामरेड छविलालजिले।

७,८ हजारको मिलिसियलाई कैयौँ गूणा बढाएर अनमिनको प्रमाणपत्र लिनुलाई पार्टीको सफलता देख्ने र ती सबैलाई राष्ट्रीय सेनामा हाल्न सकेमा जनगणतन्त्र र सत्ता कब्जा अवश्यंभावी हुन्छ भन्ने प्रचण्डको दावामा, कट्टर माओवादीको हौसला जसरी उत्साहित हुनसक्छ त्यसरी नै विश्वमान्य लोकतन्त्रको कल्याणकारी राज्यप्रणाली र पुस्तौँ पुस्ताको शान्ति चाहने सामान्य माओवादी बाहेकको वा अन्य गैरराजनैतिक सोच राख्ने कुनै पनि नेपालीलाई कामरेड छविलालाको पछिल्लो कर्तूतले चिन्तित तुल्याउनु स्वाभाविक हो । यो चिन्ता माओवादीले कट्टर कम्युनिष्ट शैलिको जनगणतन्त्र स्थापना गर्न चाहे मुलुकमा भनेर हैन बरू यो असहिष्णु सोचका कारण नेपालमा अब सिर्जना हुन सक्ने प्रतिरोध र प्रतिशोधी राजनीतिका श्रृंखलाहरूले अझै केही पुस्तासम्मको राजनैतिक अस्थिरता अवश्य निम्ताउने नै छ । आखिर, अतिवादको राजनीतको परिणति 'खतिवाद' र विध्वंश त हो नि ।



हेर्दाहेर्दै

ह्स्त गौतम मृदुल

हेर्दा हेर्दै यहा दृश्य परिवर्तन भएको छ।
पुरानो पात्रको ठाउँमा नया आएको छ
जुन जोगी आए पनी कानै चिरेको भन्दै
देशमा जताततै नया तरंग फैलिएको छ।
उही रुप उही रंगका तिनै सपना देखाउदै
पुरानो पात्रको ठाउँमा नया आएको छ।
कैयौंलाइ बलिबेदीमा होमी बेपत्ता पारी
स्वतन्त्रताको दियो निभाउन खोजेको छ।
सर्वभौम हुने मौका मुठीमा बन्द गरेर
पुरानो पात्रको ठाउँमा नया आएको छ।



May 6, 2009

…छैन

मुर्झाइ सके फुलहरु बगैचामा माली छैन
बनझारले डसिसक्यो कुनै बोट खाली छैन

पातो खोपिएका चोर रैछन साँधु बनी आए
अनुहारमा लेख्या भे पो,छान्न पनि जाली छैन

बारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँ
ढलाए माटो मुखमा माँड लाउने बाली छैन

धोत्रायो कि धमिराले कि त मुसा पसे जगमा
भात्किएछ घरै अब त,ओत लाग्ने पाली छैन

झुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझै
अत्याचारी बध गर्ने कलियुगमा काली छैन

सिनो भएछ विश्वाश सदभाब बेवारीस भै
गनाएको यो बिक्रिती निकास हुने नाली छैन


देश संकटमा डुबेको बेला

आचार्य प्रभा

भन्छन देश संकटमा डुबेको छ
देश अब शेष हुँदैछ
हरेक पल नयाँ नयाँ खबरका
श्रीजनाहरु भै रहेछन
देश अवन्नतिको बाटोमा
लम्की रहेछ ,
त र... खै ?
यस्को निराकरण ?
खाली सुस्ताएर एकार्कामा
बेदना पोख्नु शिवाय
केवल... अखबारमा
ताजा समाचार बिश्लेषण गर्न बाहेक
अनी हामी... उत्तेजित बनेर
प्रत्एक समाचार पढ्न मात्र
आतुर हुन शिवाय !
त्यसैले म भन्छु हजुर ....
मेरा अघी बड्ने पाइलाहरुमा
फलामका कल्लिहरु बाँधिएका छन आजकल ,
मैले देशको लागि सोँच्ने माथिङलमा
असहज पट्टी बांधिएको छ अचेल
त्यसिले म के सोचौ ?
देशको लागि साथी ?
मलाई सोँच्ने मौका नै
देशका नरभक्षकहरुले कँहा दिएर
त्यती सजिलै ?
(मलाई केही साथीहरुको आरोप छ मैले देश को लागि सोचिन भनेर वहाँहरुलाई समर्पित कबिता )