May 8, 2009

छविलालको उदांगिएको छवी र उल्लू बनेका हामी

पुष्पकमल दाहालले शक्तिखोर ब्यारेकमा आफ्ना सैन्य दस्तालाई सुर्क्याउन घुर्क्याएका कुराहरू भिडियो बनेर छ्याप्छ्याप्ति बन्दा समाचार सुर्खीमा छाउनु स्वाभाविक बनेको छ ।

एकथरी भन्दै छन् यो त माओवादी नेताले १६ महिना अघि भनेको कुरा हो। अत: यो विषयलाई लिएर अत्तो थाप्नु हुन्न ।

तर, वृहद् शान्ति सम्झौतामा आँफैले सही ठोकेर माओवादी नेताहरूले वर्ष एक जति मन्त्री पदको जागिर खाँदै गरेको त्यो बेला, उसका पार्टीका सर्वोच्च नेता र छापामारहरूका कमाण्डर-इन-चिफ छविलाल उर्फ पुष्पकमल उर्फ प्रचण्डलाई १६ महिना अघि जे बोले पनि पाउने छूट राज्यले दिएकै थियो त ? १६ महिना अघि नेताले जे पनि बोल्न पाउने कानून थिएन भने कसरी उनका एमानका ठूला समर्थकहरूले यसको पैरवी गर्ने साहस जुटाए त ? लौ मानौँ, छविलाल दाहाललाई १६ महिना अघि जे बोले पनि पाउने छूट थियो अरे ! तर, त्यो सार्वजनिक गरिएको भिडियोमा भनिएका कुरा मार्फत माओवादीका सुप्रिमो दाहालले कि त माओवादी छापामार कि त गैरमाओवादी शान्तिवादी नेपाली जनता एकथरिलाई त थाङ्नामा नै सुताउने उल्लु कुरा त गरेकै छ नि !

छविलाल दाहालले अहिले बिभिन्न मुलुकका राजदूतहरू, विपक्षी नेताहरू र नागरिक समाजका कथित अगूवासंग दावा गर्दै याचना गर्दै छन् कि उनको लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिवद्दतालाई शंका गर्दिनु भएन । यदि यो मान्ने हो भने शक्तिखोर व्यारेकका कमाण्डर कामरेड विविध ( रामहरी श्रेष्ठका हत्यारा)लाई समेत संबोधन गर्दै माओवादीको जनगणतन्त्र कायम गर्न सत्ता कब्जाको तरिका र बाटोबारे जुन लेक्चर उनले आफ्ना छापामारलाई पिलाउँदै छन् र जुन भाषणमा उनका आज्ञाकारी छापामारहरू आफ्नो भोलिको विजयको सपनामा भूलेर ठहाका लगाएर तिघ्रा ठटाउँदै आनन्दित बनेका छन् तिनलाई धोका भएन र ? ट्रकका ट्रक सरकारी पैसामा खरिदिएका हतियारको प्रयोग गरी त्यही सरकारलाई 'नेस्तनाबूद' पार्दै सम्पूर्ण छापामारहरूलाई सरकारी सेनामा 'आफ्नै तरिकाले' चाहेजति भर्ना गरेर 'उताकालाई आधा घटाउने' अनि सारा सेनालाई कब्जामा लिने यो रणनीतिले या त मुलुकका गैरमाओवादी सबै शक्तिलाई उल्लू ठानेको छ या त तिनै माओवादी सपनामा लट्ठिएर संसारलाई छविलाल कामरेडले कसरी उल्लू बनाइरहनुभएको छ र माओवादी विजयको खाका कोरिरहनु भएको छ भनेर सोच्ने 'ब्रेनवास्ड' जमात माथि मानसिक शारीरिक र मनोवैज्ञानिक विष भरिरहनुभएको छ, हाम्रा महान कामरेड छविलालजिले।

७,८ हजारको मिलिसियलाई कैयौँ गूणा बढाएर अनमिनको प्रमाणपत्र लिनुलाई पार्टीको सफलता देख्ने र ती सबैलाई राष्ट्रीय सेनामा हाल्न सकेमा जनगणतन्त्र र सत्ता कब्जा अवश्यंभावी हुन्छ भन्ने प्रचण्डको दावामा, कट्टर माओवादीको हौसला जसरी उत्साहित हुनसक्छ त्यसरी नै विश्वमान्य लोकतन्त्रको कल्याणकारी राज्यप्रणाली र पुस्तौँ पुस्ताको शान्ति चाहने सामान्य माओवादी बाहेकको वा अन्य गैरराजनैतिक सोच राख्ने कुनै पनि नेपालीलाई कामरेड छविलालाको पछिल्लो कर्तूतले चिन्तित तुल्याउनु स्वाभाविक हो । यो चिन्ता माओवादीले कट्टर कम्युनिष्ट शैलिको जनगणतन्त्र स्थापना गर्न चाहे मुलुकमा भनेर हैन बरू यो असहिष्णु सोचका कारण नेपालमा अब सिर्जना हुन सक्ने प्रतिरोध र प्रतिशोधी राजनीतिका श्रृंखलाहरूले अझै केही पुस्तासम्मको राजनैतिक अस्थिरता अवश्य निम्ताउने नै छ । आखिर, अतिवादको राजनीतको परिणति 'खतिवाद' र विध्वंश त हो नि ।



हेर्दाहेर्दै

ह्स्त गौतम मृदुल

हेर्दा हेर्दै यहा दृश्य परिवर्तन भएको छ।
पुरानो पात्रको ठाउँमा नया आएको छ
जुन जोगी आए पनी कानै चिरेको भन्दै
देशमा जताततै नया तरंग फैलिएको छ।
उही रुप उही रंगका तिनै सपना देखाउदै
पुरानो पात्रको ठाउँमा नया आएको छ।
कैयौंलाइ बलिबेदीमा होमी बेपत्ता पारी
स्वतन्त्रताको दियो निभाउन खोजेको छ।
सर्वभौम हुने मौका मुठीमा बन्द गरेर
पुरानो पात्रको ठाउँमा नया आएको छ।



May 6, 2009

…छैन

मुर्झाइ सके फुलहरु बगैचामा माली छैन
बनझारले डसिसक्यो कुनै बोट खाली छैन

पातो खोपिएका चोर रैछन साँधु बनी आए
अनुहारमा लेख्या भे पो,छान्न पनि जाली छैन

बारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँ
ढलाए माटो मुखमा माँड लाउने बाली छैन

धोत्रायो कि धमिराले कि त मुसा पसे जगमा
भात्किएछ घरै अब त,ओत लाग्ने पाली छैन

झुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझै
अत्याचारी बध गर्ने कलियुगमा काली छैन

सिनो भएछ विश्वाश सदभाब बेवारीस भै
गनाएको यो बिक्रिती निकास हुने नाली छैन


देश संकटमा डुबेको बेला

आचार्य प्रभा

भन्छन देश संकटमा डुबेको छ
देश अब शेष हुँदैछ
हरेक पल नयाँ नयाँ खबरका
श्रीजनाहरु भै रहेछन
देश अवन्नतिको बाटोमा
लम्की रहेछ ,
त र... खै ?
यस्को निराकरण ?
खाली सुस्ताएर एकार्कामा
बेदना पोख्नु शिवाय
केवल... अखबारमा
ताजा समाचार बिश्लेषण गर्न बाहेक
अनी हामी... उत्तेजित बनेर
प्रत्एक समाचार पढ्न मात्र
आतुर हुन शिवाय !
त्यसैले म भन्छु हजुर ....
मेरा अघी बड्ने पाइलाहरुमा
फलामका कल्लिहरु बाँधिएका छन आजकल ,
मैले देशको लागि सोँच्ने माथिङलमा
असहज पट्टी बांधिएको छ अचेल
त्यसिले म के सोचौ ?
देशको लागि साथी ?
मलाई सोँच्ने मौका नै
देशका नरभक्षकहरुले कँहा दिएर
त्यती सजिलै ?
(मलाई केही साथीहरुको आरोप छ मैले देश को लागि सोचिन भनेर वहाँहरुलाई समर्पित कबिता )



परेलीमै छौ कि कसो

गुरु केदार बराल

परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु
सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु

केही दिन भो भेट न भाको, बर्सौं बिते जस्तो लाग्यो
मिठो मिठो सम्झना मा, सधैं रमि रहुँ जस्तो लाग्यो

तिमी लाई भेट्न भनि, भिडहरुमा धाउछु
तिमी लाई हेर्न भनि, हिउँद भै आउंछु

सक्दिन म बिर्सिदिन, छायां बनि पछि आउने छु
परेली मै छौ कि कसो, तिमी नै तिमी देख्छु

तिमी सित सधैं भरी कल्पना मा कुरा गर्छु
कहिले चद्छु उकाली त कहिले बेसी झर्छु

यि मिठा मिठा याद हरु, गीत बनाइ गाई दिन्छु
परेली मै छौ कि कसो, माया भनी देखछु


May 5, 2009

प्रचण्डको भिडियो र पद्मरत्नको क्यासेट !!!!

देशमा हाल घटिरहेका अप्रत्याशित घटना क्रमहरुले केही शब्द लेख्न लेख्दै छु । मैले नेपालको राजनीतिबारे टिका टिप्पणी गरें भने एक हूल पूर्वग्रहीहरु मसाने जुलुस निस्कन्थे रे निस्कने छन पनि । साझामा साझा चौतारीमा परदेशी पत्यार लाग्दो जीवनशैलिबाट केही स्वदेशी हावापानी पस्कने क्रममा केही कथा ब्यथाहरु कोर्दै आएको छु। धेरै शुभचिन्तकहरुले राजनीतिमा हात नहाल्नुस् दाई भनेका र धेरै साथी गुमाउनु परेकाले पनि सीमित मात्रमा टिकाटिप्पणी गरेको हुं। यसको अर्थ राजनैतिक यथार्थबाट पर हटेको छुइन।

मैले माओवादी र तिनका कलुषित गुरु योजना बारे धेरै लाई मौखिक वा अन्य फोरम मा भनी सकेको छु । कुनै समय माइ संसार मा समेत पाहुना लेखकको हैसियतले माओवादी कुसंसकारको भण्डाफोर गरेको थिएं र माइ संसारले प्रतिबन्ध समेत लागायो, राहुलभाइ लाई ।

२०५२ सालमा जब तत्कालिन जनमोर्चा जंगल पसे त्यतिबेला देखी नै मैले यी जंगलिहरुको असली नियत बारे ठाउँ ठाउँ मा कुरा राख्दै आएं । धेरैले हावा गफ भने। प्रचन्ड पथ भन्ने नै थिएन । प्रज्ञा पथ मात्र थियो । दौतरी डट ओरजी मा पनि यसबारे लेखिसकेको छु ।

आज इमेज च्यानल मार्फत जुन भिडियो बजार मा आएको छ । त्यसले माओबादी र कामरेड प्रचन्ड प्रती मेरो मनसपलटमा भएको चित्र सचित्र भएको छ । असली कम्यूनिष्ट को रंग देखाए तिनले । यती लेख्दा एमाले समर्थक मित्रहरुलाई न पच्न सक्छ । एमालेको बहुदलिय जनबादको अन्तिमा लक्ष पनि प्रचन्ड पथ भन्दा भिन्न छैन। संसदिय ब्यबस्था मार्फत सत्ता कब्जा गरी जनगणतन्त्र स्थापना गर्नु जबजको अन्तिमा लक्ष हुन ।

यो भिडियो नक्कली हो भनेर प्रमाणित गर्न लाखौं आउने छन। उत्तम बाबु, उमेश बाबु लगायतका प्रचन्डले लुटेर बाँडेका सिता टिप्नेहरु धेरै छन। साझा मै अनेक अचम्म नामधारी कामरेडहरु छन, नक्कली सीडी प्रमाणित गर्न न्वारन देखिको बल लगाउने छन ।

यती बेला यो सीडी प्रकरण संगै २०५१-५२ तिर तत्कालिन एमाले को टिकट मा उम्मेदबार भै स्वतन्त्र हुँ भन्ने नौटंकी गर्ने संसद पद्म रत्न तुलाधरको क्यासेट प्रकरण याद आयो। एउटा समारोहमा हाल आफुलाई नागरिक समाज को अगुवा मान्ने माओवादीका थिंक ट्यान्क पद्म रत्नले गाई काटेर खान पाउनु पर्ने जिकिर स्पष्ट संग गरे । क्यासेटमा स्पष्ट संग गाई काट्न पाउने कुरा को खुलेआम वकालत गरेको देखिन्थ्यो। त्यसको बिरोध भए, खास गरी प्रतिपक्षमा रहेको काँग्रेसले । पद्म रत्नले त्यस्तो बोलेकै हैन भनेर तत्कालिन एमालेले प्रती रक्षा गरे । क्यासेट नक्कली हो भनेर आँफै टाम्परिङ्ग गरी गाई काट्ने भन्ने बोली निर हल्ला समायोजन गरेर अर्को क्यासेट निकाले। यो प्रकारण मा बिरोध गर्नेहरुमा प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेन दास प्रधान थिए। हाल माओवादीका नेता तथा कथित नागरिक समाजका अगुवा मल्ल के सुन्दरले भिमसेन दास जी लाई अब आइन्दा बिरोध गर्‍यो भने नेवार जाती समुदायको बिरोध गरेको मणी कार्यबाही गर्ने र नेवारजातिबाट निकाला गर्ने फतवा जारी गरे ।
भर्खरै प्राप्त समाचार अनुसार प्रचन्ड को अश्लील तर असली भिडियो सार्वजनिक गर्ने इमेज च्यानल माओवादीहरुले घेराउ गरे रे। जंगलिहरुबाट यो भन्दा सभ्य प्रतिकृया के आश गर्न सकिन्छ र ? स्मरणिय रहोस्, इमेज च्यानल स्वयं माओवादी प्रती नरम दृष्‍टिकोण राख्ने पद्म रत्न तुलाधर कै अभिन्न मित्र राम कृष्ण मानन्धर को निजी च्यानल हो ।

अन्तमा सर्प लाई दुध खुवाएर पाले पनि आखिर मा बिष नै डस्ने हो। हिमाल मेडिया लाई चेतना भैसक्यो, अरुल्लाई पनि होला नै।