April 7, 2009

जन्म त लिए जिउनको लागि

सी "दोषी"
जन्म त लिए जिउनको लागि साहारा खोज्दै हिडे
साहारा खोज्दै हिड़दा हिड्दै जीवन आधा बीते ।
उकाली चढदा गहर्यो हुन्छ हात दिन्छु उचाली
तानी पो दिन्छन् भन्ने आशमा बस्छु कोही छ की समाई l
ओराली झर्दा लकलक खुट्टा कांपेर हैरान छ
लौरी को साहारा लिदै झर्छु भन्ने मन भैइराछ ।
आराम गर्न चौतारीमा बसी थकाई बिसाई
सिरसिरे बतास पनि आउदैन म संग रिसाई ।
गरेको छैन केही बिराम मैले सजायको भागीदार
सजाय भित्र आलमलिए पछि "दोषी" भो बराबर ।


April 6, 2009

नआएको भए हुन्थ्यो

प्रबिन थापा
बेखबरलाई खबर बनाएर
अखबारहरु रङगाउन
अक्षरहरु पड्काउन
बुद्धको धुजी उडाउन
सगरमाथाको शिर नुगाउन
उही पुराना कुरा,पुरानो भाषण
प्रजातन्त्रको नाममा निरंकुश शासन
उस्तै आतंक,पुरानै भ्रष्टचार
उही हत्या,हिंसा, बलत्कार
बिक्रिती नै बिकृतिको
आयतन बढाउन
अधिकारको नाममा
सभ्यता बिर्साउन
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।

बाँच्ने आशाहरु देखाउदै
पल पलमा मार्नलाई
जितको मिठो आश्वासनमा
सधैं हार्ने पार्नलाई
बेश्रीङ्खलित बाटाहरुमा
श्रीङ्खलाबद्ध पिंडा छर्न
परिचित घुम्तिहरुसँग
अपरिचित भएको नाटक गर्न
हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै
मनका उच्छबासहरुलाई कैदी बनाउन
सपनाहरुलाई लास बनाउदै
मसानघाटमा रमाउन
शुन्यता भित्र जुरमुराउदै
विश्वाशको यथार्थतालाई कुल्चेर
अन्धबिश्वाससँग लुकामारी खेल्न
सम्भाबित दुर्घटनाको आधारशिबिरबाट
लामो मानबताको खडेरी बोकेर
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।


डलर टिप्ने यात्रा - ५

शेखर ढुङेल
०३-३१-२००९

(यो यात्राको शुरु देखीका भागहरु पढन यहाँ जानु होला )
नेपाल मै दुताबास भए पनि नेपाली कर्मचारीको नेपाल मै डलर टिप्ने दुस्प्रयासको कारण वाक्क दिक्क भएर १९९५ देखी भिसा शाखा दिल्लीले हेर्न थालेको रहेछ त्यो पनि त्यसै बेला थाहा भयो । विश्‍वमा नेपालमा मात्र त्यस्तो भयो जहाँ आबासिय राज दुताबास छ, तर भिसा लीन भने अर्को देशमा भएको दुताबासमा जानु पर्ने । नेपाली कर्मचारी को बदमासि र तत्कालिन सरकारको लाचारीको नमुना लाग्यो अस्ट्रेलियन दुताबास अनी दु:ख र अनाबस्यक खर्चको भार ब्योहर्ने सोझा जनता ।

इन्डियन् एयरलाइन्सको बिमान बाट दिल्लीको लागि उड्दा संगैको सिटमा रहेका यात्रि सित परिचय भयो। उनी रहेछन कोलकोत्ताका धन्याड्य । प्राचिन कला , चित्र र मुर्ती सँकलन् गर्ने शौख रहेछ उन्को । एक घण्टा २० मिनेटको आकाशे बाटोमा ब्यापार केन्द्रित गफ भयो, ब्याबसायिक कार्ड आदान प्रदान भयो । मेरो कार्ड देखेर उनी उत्साहित भएको संकेत मैले पाएँ । वासेबल प्लास्टिक र फोटो सहित को कार्ड मा यस्तो लेखिएको थियो

म्यानेजिङ डाइरेक्टर फार इस्ट ट्रेडर्स नेपाल ( एक्स्पोर्ट इम्पोर्ट )
एक्सुकेटिभ फाउन्डर सचिब नर्वे नेपाल फ्रेन्डशिप एन्ड कल्चर एसोसियसन
फाउन्डर एक्सुकेटिभ मेम्बर अस्ट्रिया नेपाल चेम्बर अफ कमर्स
सचिब जापान नेपाल नागरिक समिती

यो कार्डले एउटा हिन्दी कहावातको याद दिलाउदथ्यो '' जो कुछ नही कर्ता, वही सब कुछ कर्ता '' भने झै यो गर्छु त्यो गर्छु भनी भाग्यो कुद्‍यो प्रतिफल जिरो थियो । मैले अस्ट्रेलियामा ब्यापार सुरु गर्न भिसा ठोक्न जान लागेको भने । उन्ले आफ्नो अनुभब र सल्लाह को भारी मात्र दिएनन आज उन्कै (दाजु )को घरमा बस्न जान बल पनि गरे । उन्का दाजु दिल्लीको लागि कोरियन कार देउ का डिलर रहेछन । दिल्ली बिमान स्थल मै कार खडा थियो दक्षीण पाटेल नगरमा पुगी कार रोकियो । सुरक्षा गार्डले सेलुट ठोके, बिमानमा बनेका मित्रले भने '' ए बहादुर भि नेपाल से ही हे '' एक छिन अगीसम्म शानले फुकेको छाती बेलुन फुट्या झै छ्यास छुस खुम्चियो । तिनी सित हात मिलाएँ र घर सोधे । धादिङ का रहेछन । बिगत १२ बर्ष देखी त्यहा रहेछन । भारतीय मित्रले उन्को ठुलो प्रसंसा गरे । खुशी लाग्यो । घर भित्र पसे पछी त म नर्भस जस्तै भए, पछाडि दुई वटा पौडी पोखरी, फ्लोर देखी भित्ता सम्म कहिल्यै नदेखेको महङा सजावट का अनगिन्ती सामान, ४ कोठा भएको छुट्टै पाहुना घर । उन्ले थापा भनी सम्बोधन गर्दै सुन्तलाको जुस मगाए। नेपाली टोपी मै ढल्केका थापा जि पनि धादिङ कै रहेछन । कता कता मेरो मनले सोच्यो कतै इन्ले मलाई पनि जागिर खान्छस त भन्दैनन ?

हामी उन्को दाजु को पर्खाइमा थियौ । उनी आए पछी पक्कै कुखुराको साप्रो र तीन पानी धोक्न पाइएला भन्ने मेरो सोचाइले त्यस बेला हावा खायो जब उनीहरु साकाहारी भन्ने थाहा पाएँ । आपको अचार्, सुख्खा रोटी ,दाल अनी प्याज, कागती, मुला को सलाद मा डिनर खत्तम । हामी भे ? ।

भोली पल्ट बिहा ६ बजे नै अर्का थापा दाईले कार मा चाणक्य पुरी पुर्‍याई दिए, जहाँ भारत को लागि अस्ट्रेलिया को राजदुताबास रहेको छ । चाणक्यपुरीको जस्तो बिदेशी नियोग, आबासको लागि मात्र छुट्टै ब्यबस्था गरिएको बिशाल क्षेत्र अन्य देशमा कही पनि छैन । तर नेपाल र इन्डोनेसियाको भने बाह्र खम्बा रोडमा उछिट्टिएको छ । त्यस बेला पुग्दा पनि मेरो नम्बर ११३ थियो । कुन त बिशाल भारत त्यस्मा पनि जम्मा ४ मुख्य ठाउँ बाट मात्र भिसा दिने हुँदा त्यो भिड स्वाभाबिक नै हो रे । भित्र पसियो २ घण्टा पछी आयो त्यहाको मर्स्या यमराज को दुत सित मुखा मुख गर्ने पालो । के-के नाना भाँती प्रश्नको झटारो हान्छ बा!। तालुमा टुटुल्को उठ्ने गरी, तँ यो हिन्द महासागर को बैतरणी तर्न सक्दैनस पो भन्छ गाँठे !।

त्यो यमदुत भए म पनि महादेब को दुत ( पशुपती को छिमेकी ) के कम्, त्यस्को भन्दा ठुलो आबाजमा चर्केर कर्के आँखाले हेर्दै भने हिन्द त के, दुई चोटि प्रशान्त महासागर वार पार गरी सकेको मान्छे लाई त्यसो भन्ने ? । जा तेरो ख्वामित यमराज लाई बोला, कि मेरो फाइल लगेर देखा, त्यस पछी म यो बैतरणी तर्न सक्छु कि सक्दिन थाहा पाउँछस । उ मेरो फाइल बोकेर भित्र हुत्तियो । मलाई १५ मिनेट कुर्न भन्यो । आधा घण्टा पछी सहायक् यम राज ले उन्को कोठा मा लगे र सामान्य सोध पुछ पछी गूड् लक भन्दै ढ्याम्म ठप्पा लगाइ दिए ।

मलाई अस्ट्रेलिया हुत्याउन उफार्नेमा अर्का एकजना कङारुका मित्र पनि थिए । उनी थिए तत्कालिन श्री ५ को सरकारले गठन गरेको भन्सार सुधार सुझाब आयोगका प्रमुख जोन हवार्ड त्यस्तै नाम तत्कालिन कङारु का प्रधानमन्त्रीको पनि थियो । उन्कै सहयोगमा सिडनीमा हस्त कलाको सामान बेच्नेहरु को सुची पाएको थिएँ । उन्कै सल्लाहमा दिल्ली बाट दुई ट्यान्का र काठमान्डु बाट एक गरी तीन ट्यान्का आधुनिक फेन्सी गहना , नेपाली कागज का बस्तु आदी बोकी सिङ्गापुर एयर लाइन्स को एयर बस ३२० ( २०० सेरिज ) को उडान मा चडें। बिमान स्थलमा जुत्ताको धुलो टक टकाउदै । ७: ४० साँझमा सिङ्गापुरमा झारी दियो । फेरी दौडदै जानु पर्ने रे छ अर्को हैजाज भेट्टाउन, त्यो साँढे हो कि गोरु ८ बजे उड्ने रे छ । लाइफको जिन्दगीमा पहिलो पल्ट बोइङ ७४७ ( ४०० सेरिज ) को हुक्कु चिल चढेको । नाइट बस झैं साँझमा चढेको बिहान ६ बजे तिर सिडनीमा थचारी दियो । त्यहाँका प्रहरी र भन्सार कर्मचारीको सहयोग देखेर म उनीहरु प्रती अनुग्रहित भएँ, किनकी मेरो अमेरिकाको दुबै पटकको भ्रमणमा नमिठो अनुभब भएको थियो । दोस्रो पटकमा त कुरो बुझिसकेको थिए त्यसैले अचम्म लागेन । पहिलो पटकमा भने एकछिन त आफ्ले आँफैलाई भि. आइ. पी. नै सम्झे । एक छिन पछी छुट्टै कोठामा तीन तीन वटा के जातका साँढे जत्रा कुक्कुर फ्या- फ्या गर्दै घुम्न थाले पछी पो चिट चिट पसिना आएको थियो । क्यालिफोर्निया को एल. ए. बिमानस्थलमा थाइ एयर वेजको बिमान्बाट निस्कने बित्तिकै प्रहरीले कहाँ बाट आइस ? , के गर्न आइस भनी सोध्यो । भुखमरी देशको ब्यापारि हुँ भने । के मान्छे गन्दथ्यो ?, ‘फलो मी’ भन्यो मैले इस्पेसल ट्रिट गरी छिट्टै बाहिर पुर्‍याई दिन लाग्यो भन्या त कुक्कुर लेराए पछी पो थाहा भो । नाङे झार पारेर जाचेर छोडि दिएको थियो एउटा घोषित अपराधी लाई झै । तर त्यहा त्यसो भएन । त्यती धेरै सामान देखेर सोधे किन लेराएको ? मैले भने यो नमुना सामन हुन । तिम्रो देशमा ब्यापार गर्ने महासुरमा छु म । गूड् लक भन्दै छोडि दिए ।

दङ पर्दै नयाँ संसारमा बाहिर निस्किएँ । बास बस्न जानु पर्ने ठाउँको मित्र लाई फोन गरे, फोन उठदैन । भाडा कार लिएर त्यो ठेगानामा पुगे । पब्लिक बुथ बाट फोन गरें उठदैन । एपार्टमेन्टको घन्टी बजाए ‘नो रेसपोन्स’ । शनिबार को दिन १० बजी सक्यो । निन्द्रा भन्दा पनि कट्टी मुनी को दुबै बीभागमा आपत कालिन समस्या भै सक्यो कहाँ जाने ? ।नेपालको जस्तो खुरुरु कान्ला मुनी पुगेर सिध्याइ दिने ठाउँ पनि छैन क्या फसाद ? ।जस्ले बोलाएका थिए उन्लाई फोन हाने २ घण्टा टाढा बस्छु पो भन्छन । फेरी फोन गरे बल्ल उठ्यो अडकेला जस्तो भै सकेको श्वास फेरी सुचारु भयो । अनिन्द्रा र अरुचिपूर्ण आवाज थर्क्यो कानमा ‘ए आइपुग्नु भो, ल एक छिन पर्खनोस म तल आउछु"’ । एक घण्टा बित्यो चरो मुसो झर्या होइन । फेरी फोन गरे उठ्या होइन । त्यही कोठामा बस्ने अर्का मित्रको नम्बरमा हाने उन्ले उठाए र भने ‘ए आइसक्नु भो ?’, आफ्नु जाने बेला भै सक्यो आउने कूरा ? उनी हत्तार हत्तार गर्दै आए । सामान घिसार्दै लगे । उनीहरु ५ तला माथि को एपार्टमेन्ट मा बस्दा रहेछन ।

कोठामा प्रबेश के गरेँ, हुसुसु बियर, गाँजा को डुङ डुङति गन्ध थियो । यसो आँखा घुमाएँ, अन्य दुई केटा र दुई केटी लगभग नग्न अनी बेहोस अवस्थामा सोफा र भुइँमा लडेका देखेँ । टेबुल मा निलो चलचित्र , बियर वाइन का खाली बोतल र अर्को छेउ मा गाजा को बाँकी पोको थियो । ति आफन्त ले किन्चित असजिलो नमानी भने हिजो गूड् फ्राइ डे मनाएको साथीहरु सित, एक नेपाली र एक फिजियन युबती विद्यार्थी साथी रे उन्का । मेरा नजिकका आफन्त जस्को अनुरोधमा म त्यहा गएको थिए उनी त खुट्टा टेक्न सक्ने अवस्थामा नै रहेनछन । उनलाई ब्युझाएँ, तर पनि टाउको दुखेको भन्दै कोठा मा गएर सुते ......... बाँकी

(यो यात्राको छैठौं भाग हाँ )



April 5, 2009

समुद्रपारीबाट नया नेपालको यात्रा


एउटै यात्रा कसरी हुन्छ त दुइवटा ब्लगबाट? शिर्षक एउटै भएपछी हुदैन त एउटै यात्रा? शिर्षक मात्र कांहा हो र बिषय पनि एउटै हो। कुनै बेला एउटै बिषयमा लेख्न केही पहिला sapanasansar.com का मित्र बिश्व र मेरो सल्लाह भएको थियो। एउटै लेख धैरै ब्लगमा छाइरहेको बेलामा एउटै बिषयमा दुइवटा ब्लगमा फरक लेख देख्दा कस्तो अनुभव होला म त्यसै रोमान्चित भएको थिए। सल्लाह अनुसार हामीले पस्चिमको यात्रा तय गर्यौं । म बसेको ठाउं भन्दा करिब ६० माइल पश्चिममा St Cloud State University छ। दौरा सुरवालमा ठाटिएको म interstate 94 मा exit 171 लाइ तारो बनाइरहेको थिए। त्यहा हिजो शनिबार हुन गइरहेको थियो नेपाल सांझ, जसको शिर्षक थियो "यात्रा"।
करिब एक हजार मानिसले खचाखच मनोरन्जन हलमा नेपाली बिध्धार्थीहरुले नेपाली संस्क्रिती झल्काउदै उपस्थित दर्शकलाइ भरपुर मनोरन्जन दिइरहेका थिए। नेपालको भुभागमा मात्रै बिभिदता छैनकी भाषा र संस्क्रितीमा पनि उत्तीकै बिभिदता छ। अमेरीकाको अर्कनसास स्टेट जत्रो क्षेत्रफल भएको देशमा ६० भन्दा ज्यादा जात जाती हरु छन त ७० भन्दा धेरै बोलीचालीका भाषाहरु छन। २ घन्टाको समयमा यि सबै देखाउनु निकै चुनौतीको काम थियो। अमेरीकाको कठीन जिबन, पढाइ र कामबाट बचेको समय खर्चेर नेपाली बिध्धार्थी अमेरीकी माझ नेपालको संस्क्रिती देखाउन उपस्थीत भएका थिए। समग्रमा प्राय बिदेशमा हुने नेपाल सांझमा केही रुपमा बिषय बस्तुमा एकरुपता हुने गर्छ। एकरुपताले दर्शकहरुलाइ दिक्क बनाउंछ त्यसैले "यात्रा"मा एकरुपतलाइ चिर्दै बिभिधदता थपिएको थयो, जसले गर्दा समय गएको पत्तो नै भएन। पंचकन्याको स्वागत,कुमारीको न्रित्य,नेपाली राष्ट्रिय गान प्रस्तुत गरेर हाम्रो दैनिक संस्कार पस्केका थिए। शुरुमा साना तिना भाषणले लाटो बनेका दर्शकलाइ नया नेपाल र पुरानो नेपालको बारेमा भिडियो देखाएर कार्यक्रमको क्षितज कोरिएको थियो। इतिहास भएर हो या स्पष्ट नै भएर हो पुरानो नेपालको द्रष्य राम्रै बुझियो। नया नेपाल कुहिरोमै रुमलिएर हो या प्रस्तूती नै त्यस्तै नया नेपालको प्रस्तुती त्यती स्पष्ट भएको लागेन। मन तब त्यसै रसायो जब साना साना अमेरीकी नानीहरु मै छोरी सुन्दरी भन्दै नेपाली गितमा नाचे। त्यसको भिडियो मैले प्रस्तुत गरेको छु ,अमेरीकी किशोरीहरु नेपाली तालमा पाइला मिलाएको देखेर पक्कै पनि तपाइहरु दंग पर्नुहुनेछ । तारा देबीको "काली पारी " को गितले चोखो अमुर्त प्रेममा नेपालीमन कसरी कल्पिन्छ छर्लागांइएको थियो। नेपथ्यको तालको पानी बोलको लोक-पप गित देखी लिएर रेश्मा सुनुबारको मै ठुली भइछु रे गितबाट नेपालीहरूको प्रेमजाल देखी दैनीक जिबनशैली झल्काउने प्रयास गरिएको थियो। साथै रिमिक्स गित, कबिता र चुट्किलाबाट नेपाल नै देखाउने प्रयास गरिएको थियो।
जब मन फुरूगं भयो तब नेपाली भेष भुषा मा बिध्धार्थीहरु मञ्चमा प्रस्तुत भए। नेपाल चार जात छत्तिस बर्णको फूलबारी भएको प्रत्यक्ष बर्णन पाएको महशुस भयो। जात नै फरक भएको भरमा नेपाललाइ मधेस देखी हिमाल सम्म टुक्राउनु पर्छ भने जमातलाइ सात समुन्द्र पारी पढ्न आएका नेपाली बिध्धार्थीहरुले हामीहरु फुटेर होइन जुटेर नै नया नेपालको यात्रा तय गर्ने सकिन्छ भनेर महत्वपूर्ण पाठ पढाइरहेका थिए।



तक्दिरको तस्बिर

तक्दिरको तस्बिर आफ्नै आँखाले देखिने भए
दु:ख को लेखथ्यो मनले चाहेको लेखिने भए

कदम कदम जिन्दगी दुख्छ खुशी फुटेर यहाँ
उकालो ओरालो केले छेक्थ्यो हबामा टेकिने भए

बिधिको बिधान न मेटिन्छ न छेकिन्छ कतै
घाम नि लुक्दो हो नत्र बादलले छेकिने भए

पापको भय नपर्ने भए देउता को पुज्थ्यो
शान्त हुन्थे सबै यहाँ आँफै मानो सेकिने भए

दुनियाँमा को छ पिर ताप मुक्त मान्छे यहाँ
कस्ले बोकथ्यो बोझ नत्र सजिलै फेकिने भए


April 4, 2009

नर्डिक भ्रमणको 'विण्डफल' एउटा परिहास ।

आजको कान्तिपुरले छापेको छ " हावाबाट बिजुली निकाल्ने कुरा , त्यति सजिलो रहेनछ" - कामरेड प्रचण्ड ।

हो कामरेड , ध्वंस गर्न, फुटाउन, ध्वस्त पार्न , सफाया गर्न , बिनास गर्न मात्र सजिलो हुन्छ , सकारात्मक र निर्माणको काम फलामको च्यूरा नै हुन्छ । हिजो तपाईँको समूहले हिंसाको ताण्डव नेपाली भूमिमा नाच्दै गर्दा, श्रीलंकाको शान्ति प्रकृयामा सहयोग गरेको नर्वेले नेपालमा पनि तपाईँहरू शान्ति प्रकृयामा आउनुभयो भयो भने धेरै कुरामा सहयोग गर्नेछौँ भन्ने आश्वासन तपाईँलाई दिएको थियो , तर आज तपाईँहरू आफ्नो हिंसात्मक युद्दको अध्याय अधकल्चो पारेर ( बिसाएर भन्न भएन, किनभने हिंसा बिसाउनु भएको त छैन ) , सत्तामा हुनुहुन्छ र नर्वेले तपाईँलाई 'ललिपप' दिएर फकाउनु पर्ने दरकार नै छैन । भात खान निहू खोज्ने रूञ्चे बेबिलाई पो चक्लेट किन्दिऔँला भनेर फकाउने हो , खाइसके पछि त 'जा गएर पढ वा काम गर' भन्ने हो नि !

कामरेड प्रचण्डले एकहप्ते नर्वे-फिनल्याण्ड भ्रमणको पोको बिसाउँदै खुइय्य गरेछन् र भनेछन् ' हावाबाट बिजुली निकाल्ने कुरा हावा नै रहेछ' । नजिक बसेकी कामरेड सीता अनि नवयुवराज प्रकाशले पनि भृकुटी खुम्च्याउँदै नर्वे भ्रमण मन नपरेको छनक दिए । उनीहरूले नर्वे फिनल्याण्ड त्यति 'इन्जोए' गरेनछन् । सायद उत्तर ध्रुवको नजिक अवस्थित , यी अँध्यारा मुलुकहरूले महारानी सीता देवि तथा , मजाकिया मिजासका नवराजकूमारलाई त्यति दित मर्ने आनन्द प्रदान गर्न सकेन ।

अनि पहिलोपल्ट अचानक स्थगित गरेर पुन: २,३ महिना पछि साइत जुराएर बडो तामझाम र चर्चा बीच गरेको भनिएको यो 'बिजुली' भ्रमणले कुनै गुल खिलाउने वा बुलुब बलाउने छाँट देखिएन । प्रधानमन्त्री प्रचण्डले केवल परिवारसहित एक हप्ते बिदा बिताएर 'अप्रिल फूल' मनाउने र मुलुकलाई पनि 'फूल' बनाउने सौभाग्य पाउनु भयो । देशमा बिजुलिको हाहाकार भएका कारण आत्तिएर , १६ घण्टे लोडसेडिङलाई कम गर्न , ठूला ठूला बिजुली उत्पादन गर्ने पंखाहरू सापटी माग्न वा किन्नका लागि उता जानुभएका प्रचण्डलाई कुनै 'विन्डफल' त भएनछ भन्ने कुरा बुझियो नै , साथसाथै हरेक भ्रमण जस्तो यो भ्रमण पनि केवल 'उत्पादक' मात्र बन्न पुगेछ, दु:ख लाग्यो । आशा गरे जस्तो 'अत्यन्त सफल' र 'चामत्कारिक' स्तरको भ्रमण भयो भन्ने सम्मको प्रतिकृया नआएको खण्डमा , भ्रमणहरू आशातित नभएको अर्थ लाग्ने भएको हुनाले, कामरेड परिवारको नर्डिक मुलुकको भ्रमण 'विण्डफल' सपनामा 'हावादारी' मा घटुवा बन्न पुगेछ । कामरेड सिताको मुखमण्डलमा पनि त्यो कान्ति नदेखिएका हुनाले , कामरेड प्रचण्डको 'बिजुली भ्रमण' को उत्साह भविष्यको कुनै समयमा फिनल्याण्डले बनाइदिने भनेको 'पोलि टेक्निकको' कथात्मक आश्वासनमा खोजिने छ ।

मेरो सल्लाह छ , अहिले मुलक मै बसेर काम गर्नूस् । आफ्ना कार्यकर्ताका कारण थिलोथिलो बनेको मुलुकको शान्ति प्रकृयालाई उकेरा लगाउनुस्, सबै दलहरूसंग मित्रतापुर्ण सम्बन्ध कायम गरेर एउटा सर्वसम्मतिको नया संविधान निर्माणमा पहल गर्नूस्,मुलु भित्रको सम्पदाको वैभवलाई कसरी अधिकतम ढमगले परिचालन गर्न सकिन्छ भन्ने बारेमा एउटा बृहद् 'गोलमेच'सम्मेलन डाक्नूस् , एउटा सर्वदलीय संयन्त्र बनाएर त्यसलाई विश्वासमा लिई नजिकका छिमेकी भारत र चिनसंग जलविद्युत , पर्यटन र ट्रान्जिट रूट निर्माणका बारेमा सन्तुलित प्रस्ताव लैजानूस् र लगानीको वातावरण निर्माणमा आश्वस्त पार्नूस् । अन्य दातृराष्ट्रसंग आफ्ना प्रतिवद्दता, र व्यवहारिक अठोट एवं इच्छाशक्तिले बार्गेन गर्नूस् किनभने बाँकि संसारले हामीमा स्थायी र विस्वासिलो शान्ति खोजेको छ जुन बाहिरबाट प्रष्ट देखिन सकोस् । बाँकि संसारलाई तपाईँ वा अर्को अमूक समूहले हाइज्याक गर्न खोजेको राजनितिक 'तन्त्र'को कथित शान्तिको हौवामा विस्वास छैन । पहिला, हामी नेपालीबोधको समष्टिपूर्ण शान्ति स्थापनाको विश्वासिलो प्रस्थापन गरौँ अनि अरूले विश्वास नगर्ने कुरै छैन । यसो गरेनौँ भने , हावाले बिजुली बाल्ने हावादारी भ्रमणको सिलसिला 'हावा नै रहेछ ' भन्दै 'भ्रमण उत्पादक रह्यो' बन्ने कस्मेटिक राग अलापमा समाधिस्थ बन्ने नौबत आइरहनेछ ।


हेल्लो कामरेड, तपाईँले भन्ने गरेको 'जनता' को हो ?

राष्ट्र र जनताको पक्षमा निर्णय नगरी व्यक्तिको पक्षमा निर्णय गर्ने अदालत नै होइन ― रक्षामन्त्री थापा -विक्ली नेपाल डट कम

" जनताले अदालतको फैसला मान्न पर्छ भन्ने छैन" - राम बहादुर थापा
" जनतलाई अदालतको फैसलाको बिरोध गर्ने हक हुन्छ" ‍- एकराज भण्डारी माओवादी कानूनविद्
" अदालत र सेना जनताको पक्षमा ल्याउनु पर्छ र मात्र गणतन्त्र बलियो हुन्छ"- बाबुराम भट्टराई


यसो त माओवादीको नामले चिनिने सबै कुरामा 'जन' वा 'जनता' को फूर्को टाँसिएकै हुन्छ । नेपालमा मात्र हैन संसारकै दुर्नाम तानाशाह किम जोङ इलको कम्युनिष्ट उत्तर कोरया पनि 'जनवादी गणतन्त्र' नै हो । नेपालको सन्दर्भमा 'जनयुद्द', 'जनसेना', 'जनपक्षीय, ,'जनदिसा', आदि क्याचवर्डहरू माओवादीका एकल पेवा हुन पुगेका छन् । पञ्चायत अवसान हुनु पूर्व 'जनपक्षीय' भनेकाहरू बामपन्थी खेमामा उभिएका पञ्चायती राजनीतिकार मानिन्थै भने कांग्रेसीहरू आँफूलाई प्रजातन्त्रवादी भनेर चिनाउने गर्थे । तर समयक्रम संगै 'जन' को यो फूर्को माओवादीले 'हाइज्याक' गरिसकेको छ । माओवादिको बुझाइ र दावालाई मान्ने हो भने अबको नेपालमा 'जनता' वा 'जन'शव्दको एकल प्याटेण्ट राइट ऊसंग मात्र छ , कुनै अर्को शक्तिले यो दावा गर्न सक्दैन ।

भर्खरै सेनाका ८ जर्नेलहरूको सेवा अवधि नबढाउने भनी रक्षा मन्त्रीले गरेको फैसलामाथि अदालतले अन्तरिम आदेश गरी सरकार बिरुद्द निर्णय दियो । माओवादीले आफ्ना कतिपय सभासद, नेताहरू समेत सहभागी रहेको बिरोध जलुस निकालेर अदालका यस्ता माओवादी निर्णय बिरुद्द उभिन खोज्ने न्यायधीशहरूलाई 'फाँसी'हुनुपर्ने क्रानतिकारी माग सहित आफ्ना मजदूर, जातिय संगठन र अन्य भ्रातृसंठनका 'जनता' सडकमा उतारेर बिरोधको ताण्डव सिर्जान गर्‍यो । यस कालको सिलसिला नया पनि हैन, हिजो पनि कथित जनयुद्दको क्रममा माओवादीका कार्यकर्ता वा नेताहरूको उर्दि बमोजिम बिरोधी दलका कार्यकर्ताहरू कत्लेआम गरिन्थ्यो अनि सरकारको पक्षमा जासूसी गरेको कसुरको झ्याली पिटाएर ' जनताले' कार्वाहि गरेको भनेर सजायँ पछिको माओवादी फैसलाहरू आउने गरेको हामीले सुने जानेकै हो ।

आखिर को हो त नेपालमा यो 'जनता' शब्द्ले चिनिने यस्तो नाम नखुलेको अमूर्त समूह ? वास्तवमा नेपाली भनेर चिनिने सबै स्वदेश र बिदेशमा बसेका नेपालीहरू जो मोटामोटी ३ करोडको हाराहारीमा छन्, ती सबै जनता हुनु पर्ने हो । तर माओवादीको परिभाषाको पछि लागेर जनताको निर्क्योल गर्ने हो भने यस्तो हिसाब हुन आउने रहेछ । नेपालको सम्पूर्ण जनसंख्या मध्ये लगभग १ करोड ५० लाख बालिग मताधिकार गर्ने योग्यता पुगेको हरूको आँकडा हाम्रो सामू छ । यी १ करोड ५० लाख मध्ये लगभग ६०% ले मतदान गरेको मान्ने हो भने ९० लाख नेपालीले मतदान गरेको मान्नु पर्ने हुन्छ । थाहा भएको आँकडा अनुसार माओवादीले गत निर्वाचनमा तमाम कारनामा र कृत्यका बाबजूद प्राप्त गरेको मत लगभग २९ लाख जति हो जुन समग्र नेपाली बालिग जनसंख्याको २०% हो , खसेको मतको २९% जति हो र समग्र जनसंख्याको १०% भन्दा पनि कम हो । अनि माओवादी वा अन्य कुनै दललाई मत हाल्नेहरू मध्ये पनि सबे ती दलका हरेक कुरामा सती जान चाहने 'डाइ हार्ड'फ्यानहरू पनि हैनन्, जुन 'एब्स्ट्रायाक्ट जनता' को हवाला दिएर आफ्ना हरेक आग्रहरूलाई सही ठहर्‍याउने दुहाइ दिन सकियोस् ।

सरकारमा बसेर काम गर्ने भए पछि , राष्ट्र सञ्चालन मेकानिज्मका अबयबहरू न्यायपालिका, कार्यपालिका र विधायिकाका कार्यक्षेत्रहरू र तिनले गर्ने कार्यहरूलाई एकअर्काले कसरी अपनाउने वा प्रतिकृया धारण गर्ने भन्ने सम्बन्धमा स्पष्ट विधिहरू छन्। विधिको शासनमा प्रतेक कुरा र कामको निरूपण गर्न निश्चित प्रकृया र बाटोहरूको व्यवस्था गरिएको हुन्छ । विचार पुर्‍याएर निर्णय लिन नसक्ने , निर्णय लिने कुरामा केवल बिद्रोही राजनीतिको पूर्वाग्रह मात्र कारक बन्ने र पछि गएर निर्णयहरू उपर सर्वत्रबाट प्रहार हुने , कानूनी त्रुटीहरूको बोझ पैदा हुने र निर्णय फिर्ता लिने नौबत पैदा हुने शैलि वर्तमान माओवादी नेतृत्वको सरकारको चरित्र रहेको छ । यस्तोमा आफ्नो , लाज बचाउन हरेक असफलताको नाङ्गोपन ढाक्न माओवादी राजनीतिका हर्ताकर्ताहरू यो कथित 'जनता'को दुहाइ दिएर के कुरा साबित गर्न खोज्दैछन् , बुझ्न खोज्नु नै उदेक लाग्दो भएको छ । यस्तोमा मेरो प्रश्न छ , कामरेड को हो त्यो 'जनता' जसले मात्र तपाईँको पक्षमा हरेक ज्यादतिलाई क्रान्तिको रूपमा ग्रहण गर्ने गर्छ ? के 'जनता' नामको त्यो अमूर्त हौवा खडा गरेर त्यही कौपिनको टालोले माओवादीको इज्जत र आबरू जोगिइरहन सम्भव होला र ?