February 12, 2009

देश असफल राष्ट्र बन्ने भो

शेखर ढुगेंल

नेपाली कांग्रेसले अध्यादेशको पक्षमा नरहेकोले तत्काल व्यवस्थापिका संसद बोलाउन माग गरेकै दिन एकीकृत नेकपा माओवादीको नेतृत्वको सरकारले ३ थान अध्यादेश ल्याउने निर्णय गरेपछि माओवादी र नेपाली कांग्रेसबीच टकरार पर्ने स्थिति सिर्जना भएको छ ।

यही विषयमा आराम गर्न २४ गते विराटनगर पुगेका गिरिजाप्रसाद कोइरालाले पत्रकारहरुलाई बोलाएर प्रचण्ड तानाशाह बन्न थालेको प्रतिकृया दिएर राजनीतिलाई अरु तताइदिएका छन् । गिरिजाले त्रिभुवन, वीरेन्द्र, ज्ञानेन्द्रसँग तुलना गर्दै प्रचण्डलाई उनीहरुको चरित्र र माओवादीको चरित्र उस्तै छ कुनै भिन्नता छैन भन्ने प्रतिकृया दिएर प्रचण्ड सरकारलाई तानाशाहीको बिल्ला भिराई दिएका छन् । अध्यादेशका सम्बन्धमा एमालेले सहमति जनाए पनि अन्य दलहरुले केही बोलिरहेका छैनन् ।
यसरी माओवादीले कांग्रेससँग लाप्पा खेल्न कम्मर कसेपछि कांग्रेसले २४ गते देखि नै संविधानसभामा रहेका र नरहेका अध्यादेशका सम्बन्धमा माओवादीलाई पछार्न छलफल सुरु गरेको छ । यो छलफलले माओवादीविरुद्ध प्रजातान्त्रिक मोर्चा बन्न सक्ने आधारभूमिसमेत तैयार गर्न सघाउ पुग्ने विश्लेषकहरुले बताउन थालेका छन् । अवको माओवादीको अधिनायकवादविरुद्धको मोर्चाको नेतृत्व कांग्रेसले लिने रिहर्सलसमेत यही हुनेछ ।

कांग्रेसका सभापति कोइरालाले अध्यादेशको विपक्षमा अडेर राजनीतिक सहमति कायम गर्न र अधिनायकवादविरुद्ध लड्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । यही निर्देशनको पालना गर्दै रामचन्द्र पौडेलसहितका कांग्रेसी नेताहरु माले, राप्रपा, राप्रपा नेपाल र जनशक्ति पार्टीसँग छलफल प्रारम्भ गरेर अघि बढिसकेका छन् । यस्तो छलफलमा केही फोरमका नेतासमेत सामेल हुनुबाट सत्ताधारी पार्टीभित्र पनि एकमत नरहेको देखिन्छ ।

एमालेभित्र पनि झलनाथ खनालबाहेकका नेताहरु अध्यादेशको पक्षमा छैनन् । संविधान मस्यौदा मूल समितिमा अध्यक्ष बनाइएका प्रभावशाली एमाले नेता माधवकुमार नेपालले ‘अध्यादेशले शासन गर्न पाइन्न’ भनेर कुर्लिसकेको अवस्था छ । दिनदिनै चर्किदै गएको अध्यादेशको पक्षमा माओवादी नेताहरु खुलेर लागेका छन् । अध्यादेशमा समर्थन जुटाउन नसकेर मन्त्रिपरिषदको वैठकसमेत पटक पटक स्थगित गर्नुपरेको छ । अध्यादेशको मुद्दा प्रेसमाथिको असुरक्षा, न्यायालयमाथि हस्तक्षेप, लोडसेडिङ्, महगी, असुरक्षाजस्ता विषय जोडिएर राजनीतिक मुद्दा बन्न पुगेको छ । आगामी दिनमा यिनै मुद्दा सडकमा उर्लने र जनताले कुर्लने विषय बन्दै गइरहेको छ ।

संविधान लेख्न तम्तैयारी भइरहेको बेलामा राजनीतिक दलहरुबीच यसरी मतभेद बढ्नु वातावरण धमिलिनु हो । तर सत्ताधारी दलले बहुमतको समर्थनलाई सदुपयोग नगरेर सहमतिको अवस्थालाई धमिल्याउन किन उद्दत रहेको छ भन्ने विषय आश्चर्यजनक मानिएको छ । यही विषयलाई लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा माओवादीको सामाजिकीकरण नहुने र उसको संसदीय प्रणालीमा पूर्णविश्वास नरहेको हो कि भन्ने आशंकाका दृष्टिले पनि हेर्न र मूल्यांकन गर्न थालिएको छ ।

जनताका लागि आवश्यक कानुन आउनु पर्ने विषयमा कुनै पनि दलले इन्कार गरेका छैनन् । त्यति भएर पनि सरकार किन संसदबाटै कानुन ल्याउन खतरा अनुभव गरिरहेको छ यो यस्तो विषय बनेको छ जसले राजनीतिक सहमति आउने दिनमा अरु बिथोलिने र राष्ट्रमा थप अराजकता छाउने अनुमान गर्न सकिन्छ । यसो भयो भने यो आफैमा दुर्भाग्यपूर्ण हुने निश्चित छ ।

संघीय संविधानका स्वरुप कस्तो हुने यसमा संलग्न हुनुपर्ने विषय के के हुन् सबै जाति भाषा क्षेत्रलाई कसरी समेट्ने आदि विषयमा व्यापक छलफल र बहस चलाएर जनमतसमेत बुझेर संविधान निर्माणमा लाग्नुपर्ने स्थितिमा राजनीतिक दलहरु अध्यादेश ठिक कि बेठिक भनेर एक-दोस्राप्रति प्रहार गर्न अघि सर्छन् भने नयाँ संविधानमा सहमति हुन्छ लेखिन्छ र घोषणा हुनेछ भनेर कसरी विश्वास गर्न सकिन्छ ?, यो बिडम्बनापूर्ण परिदृश्य देखिनु भनेको ठूला दलहरु संविधान लेख्न प्रतिवद्ध छैनन् उनीहरु संविधान लेखियोस् भन्ने पक्षमा नरहेको यथार्थ उजागर गर्दैन र हुन पनि सबै राजनीतिक दलहरु सत्ताका भागबण्डामा यति धेरै लिप्त भएका देखिएका छन् कि यिनीहरुको सिद्धान्त निष्ठा नैतिकता र लक्ष्य भनेकै सत्ताभन्दा अरु छैन ।

यसरी आफूलाई सत्ताभन्दा माथि उठाउन नसकेका दलहरुले यतिखेर अध्यादेशका सम्बन्धमा देखाएका चरित्रलाई लोकतान्त्रिक चरित्र भन्नै मिल्दैन । जुनसुकै र जतिसुकै प्रभावशाली निर्णय गर्न पनि राजनीतिक सहमति सक्षम छ भने यो सहमतिलाई तोड्ने चुडाल्ने र जुधाउने शक्ति कुन हो यसको खोजी जरुरी देखिएको छ।



February 11, 2009

गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ४

आचार्य प्रभा
त्यसदिन हामी छुट्टीए पश्चात हाम्रो फेरी रामकृष्णको अल्बमको बिमोचनमा भेट भयो । हामी सँगै बसेर कुराकानी गर्दै त्यो समारोहमा रमाइलो गर्‍यौं । जे होस, आनन्दसङको भेटले म ज्यादै आनन्दित भैरहेकि थिए । मलाई यस्तो महसुश भैरहेको थियो कि मैले बल्ल मात्र एउटा सशक्त, बिद्वत अनी आदर्श ब्यक्ती पाइरहेकी छु जस्को मनमा न कुनै स्वार्थ छ, न कुनै घमण्ड, न त अहमता नै छ न त बनावटि अभिनय नै छ । हुन त मैले यस्तो कुरा गर्न नहुने हो तर मेरो भोगाइमा सबै भेटिएका मान्छेहरु आनन्द जस्ता स्वभावका भेट्न सकेकि थिइन । आनन्दले मलाई जत्ती आदर गर्नुहुन्थ्यो त्यो आदरमा छुटै बिशेषता थियो । नत्र त त्यती ठुलो पोस्टमा बसेको मान्छेले मलाई त्यती सम्मानको साथ ब्यवहार गर्न जरुरी पनि थिएन । तर त्यही ब्यवहार नै त वहाँको बिशेषता भएर मैले आज यती टाढा आएर पनि ती क्षणहरुलाई संस्मरणमा अनुवाद गर्दैछु । त्यो दिन साङितिक परिवेशमा हाम्रो समय बित्यो । छुट्टीने बेलामा मैले आनन्दलाई मेरी दिदिको घरमा आउने आग्रह गरें । वहाँले पनि हुन्छ भन्नु भयो किन कि आनन्दको बोलिमा शायदै ‘हुँदैन’ भन्ने शब्द मैले सुने होला । मैले बोलाएको दिन र समय ठ्याक्कै आनन्द त दिदिको ढोकामा हाजि र! । म त छक्कै पनि परे कि बाटो नचिन्ने पो हुन कि जस्तो लागेको थियो त र आर्मीको जवान त्यही पनि आनन्द । साचै मैले पत्याएँ ।

त्यो दिन दिदिको घर लगनखेलमा आनन्दसँग कुराकानी भए । अब हामी झन नजिकियौं । झन धेरै गीत, सङीतका बारेमा छलफल भए । मलाई झन लेखन क्षेत्रमा अझ हौसला मिल्न थाल्यो । यत्ती सम्म कि हामी भेटे पछी कुराकानीमा समय बितेको पत्तो नै हुन छाड्यो । हामीलाई न कसैको कुरा गर्न नै थियो । न कसैलाई केही भन्नु नै थियो । यस्तो लाग्दथ्यो आनन्द एउटा आर्मी अफिसर भएर पनि वहाँमा कसैप्रती दुश्मनीको छनक नै थियो । न कसैलाई शँका गर्नु नै थियो, न कसैलाई बद्ला लिनुको भावना नै थियो । थियो त केवल आफ्नो ड्युटीमा बफादारी र साङीतिक मोह । शायद यस्तै स्वभाव भएकोले पनि म झन नजिक भ्ए हुँला किन कि कुरा र भावना नै नमिल्ने मान्छेसङको संगत त्यती गाडा र अमीट पनि त हुन्न नि । हुन त संगत धेरै सँग भए । बिर्सन नसक्ने क्षणहरु पनि धेरै छन तर मान्छेको गुण र स्वाभावको आकर्षणले गर्दा पनि होला । आनन्दसङको भेट र क्षण मेरालागी लाभप्रद र एउटा प्रेरणामयी बनेकोले म त्यो क्षणहरुलाई आफ्नो संस्मरणमा अनुवाद गर्ने अनुमती दौतरिसँग मागिरहेकी छु । सबैलाई पाच्य नहुन सक्छ, तर खाली यस्लाई मीठो प्रेरणा मात्र सम्झिदिनु भएमा म पाठकहरु प्रती अनुग्रहित बन्नेछु । कसैको साथ, प्रेरणा कत्तिको सम्झन लायक हुन्छ भन्ने तथ्यलाई एउटा भावना सम्झना बनाइ यहाँरुलाई पस्कने प्रयास गरेकी छु । अझै घट्नाहरुलाई शब्दमा उन्ने काम बाँकी राख्दै फेरी अर्को अंकमा भेट्ने बाचा सहित् मीठो संस्मरणको बिट यही मार्दै बिदा चाहन्छु ।
क्रमश :



धमला, प्रेसमाथि हमला र अपराध संरक्षण

Quote नेपाल यस्तो देश हो जहाँ कुनै अभियुक्तको अभीयोग प्रमाणित हुनु अघि र अदालतले आफ्नो राय दिनु अगाडी नै अभीयुक्तलाई निर्दोष साबित गर्नेहरुको लाईन लाग्ने गर्छ ।

गज्जब छ हाम्रो देश !, बस लुटने डाँका, सुन भीत्र्याउने तस्कर वा रंगेहात समातीएको आतंककारीनै किन नहोस, यदि उलसे कुनै दलको झोला, झण्डा वा डण्डा समातेको छ भने त्यो दलका ठूला भन्दा ठूला दिग्गज र बरिष्ट नेता पनि तिनका बचाउकोलागी यसरी लागि पर्छ मानौं त्यहि एकजना अभियुक्तमा देशको अस्मिता टिकेको छ ।

यसो त अदालतमा विचाराधिन भएको कुनै पनि मुद्दाका बारेमा राजनैतिक बृत्तबाट टिका टिप्पणी हुनु आफैमा गलत कुरा हो, त्यसमाथी पनि घामभन्दा प्रष्ट प्रमाणलाई पाखा लगाएर त्यसको विल्कुल बिपरीत अभियुक्तका सम्बन्धमा हुनसक्ने आदेशलाई समेत प्रभाव पार्न सक्ने वा दबाब दिने खालका वक्तव्यबाजी गरेर हाम्रा नेताहरु कहिल्यै थाक्दैनन।

यत्ती भुमिका पढ्दा सायद कुरा प्रष्ट भैसकेको हुनुपर्छ, यस पटक कुरा ऋषि धमला नामधारी र पत्रकारीताको आडमा आतंकमा संलग्न व्यक्तिको वारेमा हो । म उनलाई ‘आतंककारी’ नै भन्छु, कारण जसरी अपराध पनि त्यसको प्रकृति अनुसार फरक फरक हुन्छ त्यसैगरी आतंक पनि थरी थरीका हुन्छन। उनी माथी हतियार र विष्फोटको अभियोग सिद्द हुन्छ हुदैंन त्यसमा नेपाल पुलीसको सोच, समझ रणनीति र अदालतको निस्पक्षता आदी कारणले भुमिका खेल्लान, तर यदी उनी चंदा आतंक र सोसंग सम्बन्धित ठगी र असुलीको ईल्जामबाट पनि मुक्त भए भने चाहि त्यो न्याय पालीकाको मात्रै हैन सम्पूर्ण न्याय प्रेमी जनताको हार हुनेछ ।

गएको हप्ता धमला समातीए, समातिनु पर्ने थियो समातीए। तर त्यसको लगत्तै आफूलाई देशको सर्बशक्तिमान सम्झने कोईराला परिवारको एकजना नेताको देनकोलागी आजिवन व्याज खाएर बसेका नेताले वक्तव्य दिए ‘यो प्रेसमाथिको आक्रमण हो ! ’ ।

नेपाल प्रहरीले हालसम्म सार्बजनीक गरेका सबै प्रमाणहरु हेर्दा र सुन्दा यस अपराधमा यि धमला मुछीएका होईनन, प्रमुख भुमीका निर्बाह गर्थे भन्नेमा कसैलाई शंका बाँकि रहदैन। तर यहि ईश्युलाई ठुलो बनाएर ‘जाते-जाते’ एक पटक फेरी ‘राज’ गर्ने मनाशयले हो वा लहरो तान्दा परो गर्जने डरले हो गिरिजाले त्यतिले मात्रै नपुगेर प्रेसलाई सो मुद्दा नियोजित भएको समेत भन्न बाँकी राखेनन् । देशलाई कानुनी राज र सुशासनमा डोहर्‍याउने जिम्मा लिएर बसेका नेताका यो कुरा सुनेर जनताले पुर्पुरोमा हात राख्‍ने बाहेक अरु गर्न सक्ने केहि थिएन ।

धमिराले खाएको बुद्धि र कुर्सीप्रतिको अत्यधिक हवसका कारण गिरिजाले सो विचार व्यक्त गरेको ठहर गरे सबैकुरा देखेका र सुनेका सबैले ।

त्यहि बिचमा केहि धुपौरे र केही आसेपासेले सायद उनकै ईशारमा यि आतंकिलाई निर्दोष साबित गर्ने जेहाद पनि छेडे नेपालमा । हुन त यो बिचमा तिनलाई अपराधि प्रमाणीत गर्ने अन्य प्रमाण र उनलाई अन्य मुद्दामा ‘पोल्ने’ को पनि कमि नरहेको समाचारले देखाउँदै छ ।

गिरिजाको अभिव्यक्ति पुरानो हुन नपाउँदै ´उनीमाथि लागेको अभियोग प्रमाणित नहोस् भन्ने मेरो चाहना हो।´ भन्दै आज फेरी अर्को बक्तव्य आएको छ हाम्रा बहालवाला गृहमन्त्रीको । गज्जबको तर बुझीनसक्नुको चाहना छ हाम्रा गृह मन्त्रीको । शान्ति शुरक्षाको बागडोर सम्हालेर देशमा अमन चैन दिने ठेक्का लिएर बसेको यौटा मन्त्री कुनै संकोच र शरम बिना सिधै यौटा अपराधिलाई बाईज्जत वरी गर्न आतुर छन । बामेले के कस्तो अबस्थामा यो अन्तर्मनको आंकाक्षा जनासमु ल्याए त्यो त थाहा छैन तर जे जस्तो परिस्थितिमा बोलेको भएपनि देशको गृहमन्त्रीको हैसियतले बोल्नै नहुने कुरा थियो यो ।

यस्ता बक्तव्यले पक्कै पनि धमला र धमलाजस्तै देशको अस्मिता र जनताको सम्पतीमा हमला गर्नेहरुलाई ठुलो प्रोत्साहनको मिलेको हुनुपर्छ । उनको यो महावाक्य सुनेर देशभरका अपराधिहरुमा शक्ति संचार मात्रै भएन होला, सबै चोर–डाँका, फटाहा र अपराधिहरुका छाती आफूमाथि पनि कसैको संरक्षणको हात छ भनेर गर्वले चौंडा भए होलान र ३-४ दिन पछाडीको ‘भ्यालेन्टाईन्स डे’ अग्रिम रुपमै मनाउन व्यस्त भए होलान तिनिहरु ।

सत्तापक्ष र प्रतिपक्ष दुबैनै यसरी एकजना बदनाम आतंकीलाई साधु साबित गरी जोगाउन लागेपछि यिनिमाथि लागाईएका मुद्दामा कति प्रभाव पर्छ र यो मुद्दा कसरी अगाडी बढ्छ सहज अनुमान लगाउन सकिन्छ । तर कुनै जमानामा भौतिक कारबाहिको नाममा ठाउँ-कुठाउँ र जसलाई पनि गोली हान्दै हिडंने माओबादीलाई समेत उल्टै गोली हान्ने अर्को समुह जन्मि सकेको बेलामा यस्ता अपराधिलाई बचाउने कार्यले अन्तत्वगत्वा ति बचाउनेलाई पनि प्रतिकूल असर मात्रै गर्नेछ भन्ने चाहि यिनका कुहिएका दिमागमा कहिले घुस्ने होलान?।



अरुलाई भुल्न थाले

बिजय कुमार श्रेष्ठ
-हाल ईराक
विधाकी खानी तिमी सबैलाई सुबुध्दिको ज्ञान दिने
सुबुध्दि दिएका थियौ तिमीले कहाँ गए विधा लिने ।
गुरुलाई मान्न छाडे विधा बिना नै गुरु बन्न थाले
आफनो औकात हेर्नु छैन विश्व हाक्छु भन्न थाले ।
पुर्खाले जगाएको सास्कृतिलाई मान्दिन भन्न थाले
संसारको रित फेरी दिन्छु भनि कदम चाल्न थाले ।
देशका निम्ती वलिदान दिने शहिदलाई भुल्न थाले
बलिदानलाई बिसर्ि कुसर्िको आन्नदमा रम्न थाले ।
हिटलरलाई माथ गराई दिन्छु भनी बिगुल फुक्न थाले
फोस्रो आश्वासन दिदै कमजोरीको सफाई लिन थाले ।
साहास नभएर आफुलाई अनुभब नभएको भन्न थालॆ
आश्वासनमात्र दिएर आफु चाखो बन्ने रोगपाल्न थाले ।



February 10, 2009

निल्नु न ओकल्नुको

प्रबिण थापा

निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी
कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी

दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी
सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी

ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा
छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी

अबुझ ईश्यालु, म थिए रे त्यतिबेला
दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी

आपत बिपत परिराछ, तिमी टाढा भएदेखी
हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी


देश रोएको शोक गीत

मर्नेहरू शहीद बने , मार्नेहरू राजा
बेहाल बयो जनताको मुलुक नर्क साझा
अचम्मको रित बस्यो लट्ठिवालको भैँसी
लूटेराको राज चल्यो शासक पर्‍यो दादा ।।

जनताको तन्त्र भन्छन् कानून कतै छैन
जसको शक्ति उसको भक्ति बन्दूकैको राज
जुन बोक्सी उही धामी कता उजूर गर्ने
देश दन्क्यो डढेलोमा, हामी पिल्सिएर मर्ने।।

भत्काएर संरचना विकासका सबै
छिनाएर टाउकाहररू जनताका उनै
छाएका छन् सलह झैँ,कहालीको राज भो
खै कसरी बाँच्ने हजूर, जीवन धान्न धौ भो।।

बल्दैन है बत्ति पनि , पानी बीना धारा
नया नेपाल व्यंग बन्यो, तड्पाउँदै सारा
राज्य बन्यो गूण्डा नाइके राक्षसी छन् दाह्रा
डासीहाल्ने , निलिहाल्ने मांशाहारी पारा ।।

कब्जा गर्छु सत्ता भन्छ,सत्तामै छ आँफू
सत्ता हो वा बिद्रोही कि चम्बलको डाँकू
राज्यको जो ढिकुटी छ पोस्छ आफ्नै गणलाई
राहतको कुरा गर्दै आहत पार्छ जनलाई ।।

सर्वहारा गणतन्त्र जहानिया राज भो
लोग्ने स्वास्नी भाइ बुहारी प्रचण्डको ताज भो
एउटा राजा फाल्यौँ भन्थे झन जब्बर पो आयो
चौटा रोज्दा झोल्मा डुब्ने विडम्बना भयो ।।