February 9, 2009

दिपक अधिकारीसंग ब्लग संबाद


पाठकहरुलाइ पक्कै थाहा छ यसपटक ब्लग भित्र ब्लगमा बरिष्ठ ब्लगर दिपक अधिकारी आउंदै हुनुहुन्छ। उहां लामो समय देखी अंग्रेजीमा ब्लग चलाइ राख्नुभएको छ। तपाइहरु उहांको ब्लग deepakadk.blogspot.com मा पढ्न सक्नुहुनछ। अहिलेलाइ वाहासंगको इमेल संबाद राख्दैछु। ब्लग भित्र ब्लग स्तम्भ कस्तो लाग्यो, के गर्दा राम्रो हुन्छ र हाम्रा ब्लगर दिपक अधिकारीको ब्लग कस्तो लाग्यो पक्कै पनि प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा गरेको छु।(नेपालियन)

१ नाम नै दिपक डायरी रहेछ तपाइको ब्लग पक्का डायरी हो त ? तपाइको ब्लगबारेमा जानकारी दिनुहोस् न ?
सन् २००६ जनवरीदेखि मैले दीपक्स डायरी नाम दिएर अंग्रेजीमा ब्लग पोस्ट गर्न शुरु गरें । यसका पछाडि एक-दुई कारण र पृष्ठभूमि छन् । कान्तिपुर दैनिकका संवाददाता दिनेश वाग्ले र काठमान्डु पोस्टका उज्वल आचार्य मिलेर सन् २००४ अक्टोबरमा अङ्ग्रेजीमा युनाइटेड वी ब्लग युडब्लुबी खोलेका थिए जसमा म शुरुदेखि नै लेख्थे । त्यतिखेर म नेपाल साप्ताहिकमा काम गर्थं । युनाइटेड वी ब्लग शुरुमा हामी साथीभाइबीच सीमित थियो । यसलाई हामीले अंग्रेजी लेखाइ तिखार्ने र समाचारमा नआएका कुरा लेख्ने ठाउँका रुपमा लिएका थियौं । सन् २००४ फेब्रुअरी १ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि टेलिफोन इन्टरनेट लगायतका संचार माध्यम अवरुद्ध गराइयो । त्यतिबेला मात्र हामीले ब्लगको महत्व बझ्यौं । युनाइटेड वी ब्लग नेपालमा शाही सरकारबाट भएका दमन सेन्सरसिप र निरंकुशताविरुद्ध आवाज उठाउने माध्यम भयो जसमार्फत हामीले सन् २००६ अपि्रलको आन्दोलनमा छिनछिनमा अपडेट गरेर देशभित्र र बाहिरका नेपालीलाई सूचना दियौं । युडब्लुबीको पहिचान राजनीतिक ब्लगका रुपमा विकास भएकाले निजी कुरा लेख्न मैले दीपक्स डायरी शुरु गरेको हुँ ।

२ काममा पत्रिका फुस्रतमा ब्लग बोर लाग्दैन ?

खासै बोर लाग्दैन । समाचारको आफ्नै सीमा हन्छ जसमा मनमा लागेका कुरा लेख्न पाइँदैन । त्यस्तो बेला मनको बह ब्लगमा पोख्दा आत्मसन्तुष्टी हुन्छ ।

३ तपाईको ब्लगले सबैभन्दा आनन्द ल्याएको कुरा के होला?

मेरो ब्लगमा मैले पशुपति वृद्धाश्रमको दुरावस्थाबारे लेखेपछि एकजना बेलायती फोटोपत्रकार नेपाल आए र मलाई भेटे । हामी सगै वृद्धाश्रम घम्न गयौ । उनले त्यहाँ खिचेका तस्बिर बेचेर र च्यारिटी कार्यक्रम गरेर उठेको पैसाले त्यहाँका वृद्धवृद्धालाई सहयोग गर्नेभएका छन् । यो सम्झदा मलाई आनन्द आउँछ ।

४ तपाईको ब्लगमा धेरै शाब्दीक अलंकार रहेछन् खुशीको बर्णन गरिदिनुहोस् न?

खुशी यस्तो मानवीय पक्ष हो जसबाट मानिस कहिल्यै वंचित हुननपरोस् भनेर कामना गरिरहन्छ ।

५ ब्लगान स्वर्गीय भयो भन्छन् नि तपाइको ब्लगमा त अझै ब्लगानको लोगो रहेछ?

ब्लगान करिब तीन वर्षअघि नेपाली ब्लगरहरु मिलेर बनाएको एक अनौपचारिक संजाल हो । ब्लगसम्बन्धी काम भर्चुअलु हुने भएकाले यो स्वर्गीय नै भयो त भन्न नमिल्ला । हामीले गठन गर्दैखेरी यसका सीमा बुझेका थियौं । हाम्रो त्यही प्रयासप्रति ऐक्यबद्धता जनाउन लोगो राखेको हुँ ।

६ नेपाली ब्लगको धरातललाइ कसरी ब्याख्या गर्नुहुन्छ ? नया पुराना ब्लगरलाइ केही सुझाब छ कि ?

भर्खरै एक महिला ब्लगर साथी जेड एक्सप्रेसले आफ्नो ब्लग तीन वर्ष पुगेको उपलक्ष्यमा लेखेकी छन् अहिले दिनहु कति नेपाली ब्लगर थपिन्छन् हेक्का राखेर साध्य छैन । त्यस्तै मैले पनि पछिल्ला समय के-कस्ता नयाँ ब्लग थपिए भन्ने अपडेट गर्न पाएको छैन । शुरुमा नेपाली ब्लग पत्रकारमा सीमित थियो । अहिले त्यसमा धेरै पेसाका मानिस समाहित भएको पाएको छु । नेपालमा ब्लगको धरातलको कुरा गर्दा इन्टरनेट प्रयोगकर्ता कति छन् भन्ने सवाल आउँछ । इन्टरनेटमा पहुँच असाध्यै कम भएकोले ब्लग विदेशमा बस्ने नेपालीका लागि देशका बारेमा अद्यावधिक गर्ने माध्यम भएको छ ।
भनिन्छ सुझाव विद्वानले दिदैं दिदैंन मुर्खले लिदैंन । तैपनि ब्लगरलाई म विषयमा विविधता ल्याउन अन्तक्रियात्मक बनाउन र निरन्तर अपडेट गर्न सल्लाह दिन्छु ।

७ अरबदेखी अमेरीकासम्म बस्नुभएछ अरबको नेपाली जीवन र अमेरिकाको नेपाली जीवनमा अन्तर समानान्तर के के छन् ?

पूर्वी पहाड पाँचथरको सानो बजार फिदिममा जन्मिएको म ,उत्तरतिरको भारापा डाँडोदेखि उता के होला फिदिममाथि लमतन्न सुतेको लालीखर्कबाट हेर्दा कस्तो देखिएला भनेर सानैदेखि गम खान्थें । यही उत्सुकताले काठमाडौं ल्यायो । १० वर्षअघि दृष्टि साप्ताहिकमा काम गर्दागर्दै संयुक्त अरब इमिरेट्स जाने मौका मिल्यो । त्यतिखेर खाडी राष्ट्र जाने उस्तो चलन थिएन । चार वर्ष म्याकडोनाल्ड्समा काम गरें । विदेशमा फरक काम गर्दाको अनुभव रमाइलो भयो । गत वर्ष नेपाल साप्ताहिकमा काम गर्दागर्दै अल्फ्रेड फ्रेन्डली प्रेस फेलोसिपमा छानिएर अमेरिका जाने मौका मिल्यो । अरबभन्दा अमेरिका धेरै विकसित लाग्यो । संस्कृति र मानिसहरुको सोच र प्रवृत्ति फरक छ । तर नेपालीका लागि एउटा समानता भेटें-अरबमा जस्तै डिपार्टमेन्ट स्टोर पेट्रोल पम्प र फ्याक्ट्रीमा काम गर्ने नेपाली उत्तिकै छन् अमेरिकामा पनि । फरक के मात्र भने त्यहाँ उनीहरु डलरमा कमाइरहेका थिए भने उता नेपालमा अरब जानेलाई भन्दा उनीहरुलाई सम्मानजनक रुपमा हेरिने ढोंगी प्रवत्ति हावी छ ।

८ अमेरीकी पत्रकारको लेखको मर्म र नेपाली पत्रकारको लेखको मर्ममा के अन्तर होला?

अमेरिकामा व्यवसायिक पत्रकारिताको लामो इतिहास छ । त्यहाँका पत्रकारले लामा तथ्यपरक र खोजमूलक समाचार-लेख लेख्दारहेछन् । नेपालको पत्रकारिता अझै बामे सर्दैछ । धेरै गर्न बाँकी छ नेपालमा ।

९ कान्तिपुरका लेखक कटुवालले कर्नाल बजाए जस्तै गर्छन् याने कान थुनेर धोक्रो फुक्छन । जायज हो यो आरोप ?

कुनै पनि पेसाका आफ्नै सीमा र वाध्यता हुन्छन् । कान्तिपुरले पनि सकेसम्म सन्तुलन गर्न खोजेजस्तो लाग्छ । तर माथिको प्रश्नको जवाफमा मैले भनेजस्तै अझै व्यावसायिक हुन सकेको छैन । यसको मतलब गर्नलाई प्रसस्त ठाउँ छ भन्ने पनि हो ।

१० जागिर खाएर हाकीम हुनेबेलामा रन्जित कर्णले गिरफ्तारी दिएको फोटो तपाईको ब्लगमा रहेछ । नेपाली अगाडी बढ्न नसक्ने हुन् या नचाहने हुन् ?

यो प्रश्न बुझिन । नराख्ता हुदैन।

११ शब्दावली थपे व्यक्तित्व विकास हुन्छ नेपाली राजनितीमा थपिएका शब्दले नेपाललाई अगाडी बढाउदैछ कि फसाउदै छ ?
अगाडी नै बढाउदैछ जस्तो लाग्छ । बाइबलसमेत इन् द बिगिनिङ देयर वाज वर्डु बाट शुरु हुन्छ । त्यसैले शब्द शक्ति हो । नयाँ शब्दावलीले नेपाली राजनीतिलाई अगाडि नै लैजानुपर्ने हो ।

१२ प्रश्न धेरै नेगेटीभ भयो कि जस्तो लाग्यो पोजेटीभ कुरा के सोध्नु पथ्र्यो ?

नेगेटिभ लागेन मलाई त । गिलास आधा खालि कि आधा भरि भनेजस्तो त हो ।

१३ दौंतरी हेर्नुभएको छ कस्तो लाग्यो दौंतरी ?

दौतरी राम्रो लाग्यो । म अमेरिकामा हुँदासमेत त्यहाँबाट अनलाइन पत्रिका चलाइरहेका इन्टरनेट फोरम आदिका साथीहरुसँग भेट भएको थियो । दौतरी अझ धेरै नेपालीलाई बाध्ने डोरी होस् मेरो शुभकामना । यसमा मेरा कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।
१४ तपाईलाई भन्न मन लागेका तर मैले छुटाएका केही कुरा छन् कि ?
छैन ।


February 8, 2009

गाउँखाने कथा - २ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने उत्तर दिने सबैलाइ धेरै धेरै धन्यबाद। हिन्दी अन्ताक्षरी र बिदेशी आइडलहरुले नेपाली मौलीक मनोरन्जनको ठाउं ओगटेको समयमा आफ्नो पन झल्काउने दौंतरीको यो सानो प्रयास मात्र हो। आशा छ तपाइहरु यसमा सामेल भएर या आफ्नोपन झल्कने अन्य रमाइला सामाग्री प्रस्तुत गर्नुहुनेछ।
अब भने गाउँखाने कथाको उत्तर तिर लागौं। पहिलो उत्तर मिलाउनेले पुरस्कारको रुपमा गाउं माग्न सक्नुहुनेछ। त्यो गाउं रहेको खण्डमा त्यो नै गाउं दिइने छ नत्र बिजेताले नयां गाउं पाउनुहुनेछ। को हो भयो होला त गाउं खाने कथाको पहिलो बिजेता? के होला त कथुरे गोरू? अनुमान गर्नुभयो? धेरै जनाको अनुमान मिल्यो। कथुरे गोरू हो मुसा र बिजेता हुनुभएको छ लुना। ल लुना जी कुन गाउं मनपर्छ मागी हाल्नुहोस।
-------------------------------------------------
यस पटकबाट गाउं नै खाने कथा शुरुहुदै छ अर्थात पहिलो उत्तर मिलाउनेले गाउं माग्न पाउनेछन। यदी त्यो गाउं अरुले पाइसकेको खण्डमा अरुनै गाउं दिइने छ। गाउं खाने कथाको श्रिखंला हरेक शुक्रबार आउने छ तथा नेपालका गाउं नसकुन्जेल सम्म चल्ने छ। गाउं खाने कथा २ को प्रश्न यस प्रकार छ:
होक्कां गोरु,भित्तो फोरु,धर्तीमुनिको कथुरे गोरु, के हो?


टिमुर्केको भन्यौ रे

टिमुर्केको भन्यौ रे मलाई,चिप्लो घस्न जानेको थिन
पछारिदा दोष थोपरिछ्यौ, छिर्की मैले हानेको थिन

मन भरी श्रदा मुटु भरी माया कसरी पोखाउनु
भिरबाट गुल्टाउँदा नि अझै पराइ ठानेको थिन

उडान उची थियो कता पुग्यौ मलाई थाहा भएन
बज्रीयौ रे नराम्री आखिर डोरो मैले तानेको थिन

अनुभुतीमा सुन्दरता तिमी अलौकिक थियौ मेरा लागि
मनले सुन्थे मुटुले छाम्थे आँखाले छानेको थिन

चर्कायौ मुटु थर्कायौ छाती फुटेर भेल कती बगे
जिबन हारी सक्दा पनि झूट भनी मानेको थिन


बैरी भै धावा बोले नि ,साथी भै फेरी खाता खोले नि
आगमन स्वागतार्थ मुटुको किल्ला बानेको थिन



ईन्द्र, तिमी अचानक कता हरायौ ?

- हिमाल_पारी

प्रश्नइ प्रश्न हरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्ती मा
घर घरमा टेलिभिजनमा आयौ
मानीस हरुको मन मनमा छायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?

*********************

तिमी पूर्वको झापा बाट उदायौ
पश्चिमको रोल्पा र,
बैतडी अनी कंचनपुर सम्म धायौ ।
मेचीको आँशु लाई काठमाडौं पुर्यायौ
कालीको रोदनले सिंहदरबार हल्लायौ
जनताको बोली बनी प्रतिगामी थर्कायौ
शहिद्को गोली बनी राष्ट्रघाती तर्सायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?

**********************

तिमी यती छिट्टै नहराउनु पर्थ्यो ।
जनताको पिर र ब्यथा हरु लाई
देश बनाउछु भनी खाका कोर्ने हरुको
कान सम्म पुर्याइ रहनु पर्थ्यो ।
झुपडीका सुस्केरा र क्रन्दन हरुले ,
जनताको कर र भोट् ले ठडीएका
बाद्शाहहरुका महलहरु थर्काइ रहनु पर्थ्यो।
र गरिरहनु पर्थ्यो खबर्दारी,
घुस्खोरी र भ्रस्टाचारी हरुलाई ।
र चलाई रहनु पर्थ्यो डण्डा,
देश लुट्ने र झन्डा च्यात्ने हरुलाई।

**********************

अनेक अबरोधहरु आए यात्रामा
तिमी कहिल्यै बिचलित देखिएनौ
कैयो बाधाहरु आए बाटोमा
तिमी कहिल्यै थकित देखिएनौ
द्रिध रह्यौ तिम्रो बिचारमा
र खोजी रह्योउ जवाफ तिम्रा जटील प्रश्नहरुको ।
चढिरह्यौ उन्नती को सगरमाथा
र फहराइ रह्यौ झन्डा आत्मबिश्वास र स्वाभिमानको ।

***********************

तिम्रो कलम कुल्चन खोज्नेहरु,
आँफै पछारिये पाताल्मा
तिम्रो मुख थुन्न खोज्नेहरु
फ्याकिये ईतिहासको रछ्यानमा
बटुली रह्यौ आवाज कुनाकप्चाहरुको
र बुलन्द गर्‍योउ जनताको गाली
आमाको छातीमा कुल्चनेहरुलाई।
बजाइ रह्यौ स्वतन्त्रताको ताली,
र रोपिरह्योउ प्रश्नका भालाहरुले
जनताको मालिक हुँ भन्नेहरुलाई।

***********************

प्रश्नइ प्रश्नहरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्तीमा
घर घरमा टेलिभिजनमा आयौ
मानीसहरुको ढुक्ढुकीमा छायौ
देखेथेँ तिमीलाई अस्ती
नाची रहेथियौ तिम्रै आगनमा
खेलीरहेथेयौ तिम्रै दुई कोपिलाहरुसँग
देख्दिन तिमीलाई आज
टेलिभिजनका ति पर्दाहरुमा,
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?

************************

(ईन्द्र लोहनी मा समर्पित)



गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ३

आचार्य प्रभा
त्यो जुत्ताको आवाज आनन्दको नै रहेछ । वहाँ कोठाभित्र पस्नुभयो म पनि अलिक संयमित बने किनकी म पनि नौलो नै थिए। वहाँ अलिक अन्कनाउदै मेरो अगाडि बस्नु भयो। मैले नमस्कार गरेँ र मेरो परिचय दिए। वहाँ जुरुक्क उठेर मलाई नमस्कार भन्दै “दिदी मैले तपाईंलाई नमस्कार गर्नु पर्छ किनकी तपाईं म भन्दा सिनिअर लेखक हुनुहुन्छ। म सानो हुँदा नै तपाईंका रचनाहरु पढ्ने गर्दथें”।  भने, मानौ त्यो समय आनन्दको हाउभाउ यस्तो लाग्दथ्यो कि म वहाँभन्दा कुनै सिनिअर अफिसर हुँ । हुन त सेनाका मान्छेहरु जत्तिपनी मसंग नजिक थिए मैले सबै नै अनुशासित भेटें। मलाई आनन्दको म प्रतिको सद्भावले यस्तो लाग्यो आनन्दभित्र अहमता र अभिमान भन्ने रहेनछ । मलाई पनि वहाँसँग बसेर कुरा गर्न अप्ठ्यारो भ्एन। अब हाम्रा भावनाहरु आदन प्रदान हुन थाले । हाम्रा कुराहरु गीत, सङीत बारे नै भए।

लगभग दुई घण्टा सम्म हाम्रो कुराकानी हुँदा पनि त्यो भाइको अत्तोपत्तो भएन । म भने अब अलिक अत्तालिन थालिसकेकि थिए। हुन त त्यत्रो समय बित्दा पनि समय गएको पत्तो भएन। केही छिन पछी आनन्दले नै भन्नु भयो “ठिकै छ दिदी म बाहिर सम्म छाडि दिन्छु नि अब मेरो पनि ड्युटी अफ हुने बेला भयो”। मैले पनि हुन्छ नि त भनेर पाँच बजेको प्रतिक्षामा बस्न बिचार गरें। त्यही बिचमा आनन्दलाई फोन आयो त्यो फोन राम्रकृष्ण ढकालको रहेछ। आनदले यत्ती भनेको मैले सुने की “भाइ आचार्य प्रभा दिदी अहिले मसँग हुनुहुन्छ तिमी चाडै आउ” त्यहा बाट पनि हुन्छ भन्ने नै जवाफ आयो। त्यस्को केहीक्षणमा नै रामकृष्ण पनि त्यहा आइपुगे। अनी फेरी हाम्रा कुराकानी गीत संगीत पट्टी नै ढल्किए । रामकृष्णको ''आरोह'' अल्बमको बिमोचन दुइदिन पछाडि रहेछ त्यसको बिमोचनको निमन्त्रणामा उनले मलाई पनि बोलाए। हुन त उनले मेरो गीत पहिला नै फिल्ममा गाइसकेका थिए, तर म झापामा नै धेरै बस्ने हुनाले मेरो कसैसँग त्यती भेट हुँदैन थियो । मेरो उपस्थिले रामकृष्ण पनि खुशी भए। यसरी पहिलो भेट नै मेजर साहबसँग रमाइलो र खुलस्तसँग बित्यो। म सपनामा नै छु जस्तो पनी महसुश भैरहेको थियो। किन कि आनन्दको भद्रपन र सहज स्वभावले म ज्यादै प्रभावित भैरहेकि थिए। यस्तै कुराकानीको प्रसङमा नै दिनको पाँच बजिसकेछ । हामी सबै निस्कनलाई तयार भयौ । रामकृष्ण र आनन्द्ले सहिद गेट सम्म छाडिदिए । फेरी रामकृष्ण्को बिमोचनमा भेट्ने बाचा गर्दै हामी त्यस्दिन छुट्टीयौ ।



February 7, 2009

माओबादीलाइ जनताले कहिल्यै भुल्ने छैनन

  • संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो।
  • कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?।
  • यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त?।

देशमा धेरै क्रान्ती भए, धेरै शहिद भए तर देश भने ज्युकात्युं। अझ भनौं न, झन झन अधोगती छ। शासक त हामीले मल्ल, राणा, शाह सबै पायौं। तर नेपालमा भन्न लायक लहडे बिकास सिबाय अरु केही छैन। डेढ दशक पहिला सम्म नेपाली गरिब मात्रै थिए तर जब माओबादीले कथित जनयुद्द रच्यो मान्छे अशुरक्षित पनि हुन थाले। त्यो भन्दा पहिला पनि मर्ने मारिने घटना नभएका होइनन तर संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो। उनिहरुलाइ प्रश्न सोध्नुहोस किन मान्छे मरे भनेर"मकै पिन्दा घुनहरु त पिसिन्छ" निकै हलुका उत्तर पाउनुहुन्छ। के नेपाली ज्यान घुन भन्दा पनि सस्तो हो? मानविय जिवनलाइ किरा फट्यांग्रासंग तुलान गर्ने कस्ता राजनितिज्ञ हुन यिनीहरु? अब त माओबादी सरकारमा गइसक्यो। सरकार गिराउन खोज्नेले बन्दुकको गोली पाउने त प्रचण्डले टुडिखेलबाट उदघोष नै गरिसके। अब कांग्रेस र एमालेका नेता पहिला कुम्लाएको सम्पती बोकेर बिदेश पसे हुन्छ। सरकार माओबादीको पन्जाबटा फुत्कनेवाला छैन। पहिला गाउं गाउंमा त्रास फैलाएर माओबादीले देश हल्लाएका थिए अब सरकारमै बसेर देश हल्लाउदै छन। उनिहरुलाइ ‘वाइ.सि.याल’ या अरु कुनै स्यालले मार काट गरेको के मतलब?, बस उनिहरुलाइ जसरी हुन्छ देश आफ्नो मुठ्ठी राखे पुग्छ।

मान्छेलाइ बन्दुकले लुटेर खान सिकाउने यिनै माओबादी हुन। तराइका मान्छेलाइ बिगतमा भारतिय डाकुले लुटेर हैरान पार्थे। फराकीलो जमिन अक्षम नेपाली सुरक्षा, बिचरा तराइबासी टोलको सुरक्षा आंफै गर्थे। अहिले त उनिहरु टाइगर, आगो, ज्वाला आदीका नाममा आफ्नै टोल छिमेकका मान्छेबाट लुटिदै छन। लुटिए त ठिकै थियो, भोलीबाट मिठो पिठो भने पनि खान्थे अब त कमाएर पिठो ख्याउनेलाइ पनि मारिदै छ। कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?

रुकुम,रोल्पा,गोर्खा आदीको त कुरै नगरौं। यती बिकट छ कि मान्छे पखला लागे पनि उपचार नपाएर मर्छन। झन त्यो ठाउं त माओबादीको गुंडनै बन्यो। माओबादी सत्ता हात पारेर काठमान्डौ छिरीसके, अब ति बिकट ठाउंमा पुराना घाउ बाहेक केही छैनन। बिकासको नाममा भएका १-२ वटा हुलाक र हेल्थपोस्ट पनि बन्दुक र बमले उडिसके। देश लोड सेडिंगले आक्रान्त भएको छ, सायद ति गाउंका मान्छेलाइ लोडसेडिगं भनेको के हो नै थाहा छैन होला। हवाइ जहाज उडेको सुन्दा इत्ला कान्लामा दौडि दौडी हेर्दछन, तिनले बिजुलीको मुख कहिले देख्ने?

काठमान्डौको जिबन त झनै कष्टकर छ। देशकको राजधानी, नेपालकै सबै मान्छे यही खनिएर कुरुप बनेको छ। सरकार बनाउने, गिराउने,तस्कर, लुटेरा देखी सिताराम यचुरी सबैको प्रिय स्थल बनेको छ यो कान्तीपुरी नगरी। धान्न त काठमान्डौले धान्ला तर यसको आकर्षण उमेर ढल्केर ३ पत्रो लाली पोतीएकी नागरीक बधुको जस्तै भएको छ। त्याहांका बासिन्दा आफुलाइ सबै भन्दा भाग्यमानी ठान्दा ठान्दै बाइसियल देखी लुटेराको मारमा च्यापिएर निस्सासिन पुगेकाछन। कुनै दिन कुनै ठाउं काठमान्डौमा यस्तो छैन जांहा जाम, टायर बाल्ने आदी अस्त ब्यस्त हुने क्रियाकलाप नभएको होस।

तपाइले सोच्नुभयो होला यो बिना बिषयको ब्लगको तात्पर्य के होला?,  समाचारहरु त तपाइहरुले पत्रपत्रिका देखी ब्लगमा पढिसक्नु भयो होला। हाम्रा पत्रपत्रिकाले घटना भएको मिनेट भरमै ब्रेकिगं न्युज छापिहाल्छन। प्युठानको स्याउलीवांगमा प्रहरी चौकी ससस्त्र समुहले आक्रमण गरेको पनि पक्कै पढ्नु भयो होला। यसरी पहाड तिर आक्रमण गर्ने त माओबादी नै थिए कताबाट आयो यो नया समुह?, माओबादीको नाममा नआए पनि आउन त पक्कै जंगलको कुनैबाट आए होलान। तर यस्को गुरु माओबादी नै हो। चाहे तराइका स-सना समुह हुन या पहाडका मुक्ती मोर्चा, बन्दुकको गोली र कुन्दाले जनतालाइ तर्साउन सिकाउने यिनै माओबादी हुन। यो नेपाल मात्र होइन संसारले नै देखेको कुरा हो।

हामीलाइ ॠषी धमलाका खबरहरुले भन्दा पनि यस्ता खबरले स्तब्ध गराउने गर्छ। ॠषी धमला जस्ता नेपालमा कैयौं छन जुन अकुत सम्पती कुम्लाएर राता रात धनी भएका छन। कोही प्रहरी पोषाकमा लुट्दै छन त कोही मन्त्रिको पोशाकमा। ॠषी पत्रकार भएर लुट्न खोजे। मोबाइल टेक्नोलोजीको बिकासले गर्दा उनका कर्तुत जनता सामु आए। अदालतले दोषी नठराए सम्म त उनी पनि पुलिसको पाहुना मात्रै हुन।

बन्दुकले जनता तर्साउने खेल कहिले सम्म चल्ला?, यो छिटै बन्द हुने वाला छैन। नेपालको भौगोलीक स्थीती देखी निती नियमको काम गराइको तरिकाले यस्ता आतंककारी क्रियाकलापलाइ प्रशय सिवाय केही दिदैन। बन्दुकको र बमको तालिम पाएका स्वांठहरु लुट्न छोडेर पसिना चुहाउदै काम गर्लान त? पक्कै गर्दैनन। यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त? माओबादीको उपहारको यो असर कहिले सम्म रहने हो सम्झदै काहाली लाग्ने अबस्था छ। नेपाललाइ इमान्दारी आंखाले हेर्ने हो भने न त देश समेल्ने कोही छ न त देशको नियममा समालिन चाहाने कोही छ, कसरी चल्छ त यो देश? भगवानसंग प्राथना गरौं नेपाल एसिएको सोमालिया कहिल्यै नबनोस!



पानीको देशमा पानीको हाहाकार

NEW YORK: The United Nations warned that two-thirds of the world's population will face a lack of water in less than 20 years if current trends

in climate change, population growth, rural to urban migration and consumption continue.

Speaking at a high-level symposium on water security here yesterday, UN Dy Secretary-General Asha-Rose Migiro stressed that "if present trends continue, 1.8 billion people will be living in countries or regions with water scarcity by 2025, and two-thirds of the world population could be subject to water stress."


यो माथिको समाचारलाई मैले टाइम्स अफ इण्डियाको आजको वेब संस्करणबाट हुबहु उतारेको हुँ । भर्खरैको नेपाल बसाइबाट फर्कँदा मैले अनुभव गरेको कुरा यही हो कि नेपालमा निकट भविष्यमा भयानक जलसंकट पर्न सक्छ । हुनत म कुनै जलस्रोतविद हैन र मेरो भनाइ केवल भावनात्मक मात्र ठानिन पनि सक्छ । म पनि चाहन्छु, मेरो भावनात्मक डर नेपालको सन्दर्भमा झूटो नै साबित होवस् , तर पनि यसो भन्दैमा मेरो यो विषयको डर पनि मर्ने भने हैन ।

नेपालमा वातावरणिय चेतनाको स्तर हेर्‍यो भने उदेक लाग्दो स्तरको छ र यो केवल केही डलराग्रही एन जी ओको मोहताज बनेर निरिह जीवित छ भन्दा हुन्छ । निर्वाध बिना योजना बढ्दो शहरीकरणको नेपाली विस्तारलाई नियाल्यो भने , सर्वत्र कहालीलाग्दो दृश्य उजागर हुन्छ । काठमाण्डु र देश बाहिरको समेत खाने पानी योजना केवल मन्त्राणी यमी र उनी पछिका उत्तराधिकारीलाई सगोत्री सात पुस्तालाई जागिरोद्दार गर्न बनाइएका अड्डा प्रतित हुन्छन् । मेलम्चीको कथा माओवादीले सरकारी जासूसको आरोप लगाएर भौतिक कारवाहीमा पारी निर्वाध थिलथिलाइएर अर्धमृत बाँच्न वाध्य पारिएको कुनै हिजोको गाउँले कांग्रेसी कार्यकर्ताको दयनीय नियतिमा घर्षणीय बनेको देखिन्छ । काठमाण्डू नामको कंक्रिटको जंगल भित्र बस्ने देशका सेलेक्टेड केहीका लागि अहिले पानी भनेको भूगर्भभित्रबाट अन्धाधुन्द बोरिङ गरी घरेलु मेशिनले तानिएको फिल्टर्ड झोल हो । तीन चौथाइ काठमाण्डुमा खानेपानि संस्थानका पाइप नै पुगेका छैनन् , त्यहाँ या त प्राइभेट ट्यांकरहरूको सेवा वा त जमिन मुनीको पानी थुत्न सिकाउने र उपकरण जडान गर्नेहरूको व्यवसायले मन्त्रालय कायम गरेको जस्तो देखिन्छ । अहिले नै यो जमिन मुनिको पानीको उपलव्धता अलि उच्च स्थानका ठाउँबाट हराइसकेको छ र यो हराउने क्रममा छ । तर यो चिन्ता कसैलाई भएको देखिन्न । यसो कुराकानीको प्रसंगमा एक जाना साथिले भनेथे " देशमा पानी छ क्यारे , अहिलेका सराकारमा बस्नेले गरेनन् भने पनि पछि आउनेले गर्लान नि !" । यस्तो उदासीनता बीचमा पनि बचेको हाम्रो योजना बिहीन शहरीकरणको व्यवसाय, विश्वव्यापी मन्दीको श्वर नै नसुनिकन अग्र गतिमा छलाङ मार्दो छ । "घडेरीको भाउ ३ महिनामा दोब्बर भयो नि !" भन्ने दलालका बोलीले सिर्जना गरेको चासोमा पानीको कथा कतै छैन ।

कथित र र कता कता पढेको कुरा दिमागमा नाचेको नाचै छ । जलस्रोतमा संसारको दोस्रो धनी मानिएको मुलुक आज दैनिक १६ देखि २० घन्टे लोडसेडिङको चचहुइइइ पीङ खेल्दैछ । तर हिजो भौतिक संरचना ध्वंस पारे पछि नया सिर्जना सजिलो हुन्छ भन्नेहरू रगतका कटकटे दाँत ङिच्च देखाएर निर्लज्ज हाँस्दै १० वर्षमा १० हजार मेगावाटको कथा नाङ्लोमा लिएर दक्षीणको दलाल रिझाउन जनतासामु सपना बेच्दै आफ्ना छापामारमाथि देशको बजेट पोषण गर्दैछन् । हिजोका ध्वस्त पारिएका विद्युत योजना मरम्मतको आर्थिक भार जुटाउन नसक्ने , नया योजका लागि वातावारण बनाउन नसक्ने अनि १० हजार मेगावाटको सुनौलो सपना बेचेर अरु दलहरुकै कारणले व्यवधान आयो भन्न तम्तयारयार बनेको राजनीतिको तमाशा भित्र , भूमण्डलीय उष्मीकरणले नेपालमा सिर्जना हुने भयावह ( ग्लोवल वार्मिङको ) भावी चुनौतिको कतै चर्चा नै छैन् । हिजोका ठूला जलासययुक्त कुलेखानी जस्ता भरपर्दा योजनाको सतह पहिरो र भूक्षयले पूरिँदै जानु अनि ती पुराना योजनाको बूढ्यौली नआउँदै नयाले भरथेग गर्न पर्ने उत्तराधिकारको खोजी गर्नै नपर्ने, तर राजनीतिको चर्को भ्यागूते विकासको गफ हाँकेर चमत्कारको रडाको अलाप्नेहरूको माथिंगलमा कतै नेपालमा पनि यो अंग्रेजी ग्लोबल वार्मिङ भन्ने कुरा हुन्छ र भन्ने विष्मय नाचेको त छैन ?

नत्र भने, खै त विश्वभरका पर्यावरणविद हरूले सकेसम्म चर्को श्वरमा चिच्याएर सन् २०२५ सम्ममा हिमालयको हिउँ पूर्णत पग्लिएर , हिमालय पर्वतहरू डरलाग्दा काला चट्टानका पहाडहरूमा रुपान्तरण हुनेछन भनेर भनिरहँदा हाम्रो कानमा त्यसको असर परेको ? के बिना हिमालको आदिम नेपालमा संसारको कुनै पर्यटक डलर खर्च गर्ने पर्यटक बनेर भित्रिएला ? के सदावहार हिमाली नदीको स्रोत मानिएको हिमाल नै नरहेपछि , हाम्रा शाश्वत नद-नदीहरूको कलरवले हिजो जस्तै कतै कसैको ध्यान र मन तान्ला ? अनि के होला पिउने पानी र बिजुली बाल्ने चाहनाको हाम्रो कथा ? २१ औँ शताव्दिको भौतिक चकाचौँधको संसारमा २० घण्टा टुकी बालेर बस्न वाध्य पारिएका हामी नेपालीहरूको खोटो भाग्यमा अब अरू सुख भोग्न प्राकृतिक र मानविय रूपमा लेखेकै छैन त ? खै हाम्रो जलस्रोतको निधिलाई हाम्रा पुस्ता दरपुस्तासम्म जोगाएर प्रयोग गर्ने र गराउने हाम्रो वातावरणीय चेतना ? खै हाम्रो परिचयको हिमाल र हिमाली नदीहरूको अस्तित्व जोगाउनका लागि हाम्रो स्वतस्फूर्त जागृति ?