January 12, 2009

आकार पोष्टको ब्लग-यात्रा

कुरा कहाँबाट सुरु गरौँ आफैँ दुविधामा छु । म आफैँ अलमल मा छु, अनि यही अलमल र दुविधा का बिच पनि केही लेख्ने कसरत गर्दैछु । पेशाले म विद्यार्थी जो ब्याचलर लेभल दोश्रो वर्षमा पढ्दैछ, अनि यसो कहिलेकाँहि सोच्छु, ब्लग को नशा किन यस्तो विधि लागेको होला । नशा त नशा नै हो नि, नशाको प्रकार जस्तो भएपनि ।
जब जब नेपाल को सन्दर्भमा ब्लग को इतिहास, खोतल्न थालिन्छ तब म त्यही सबैले मानिआएको, शाहीकदम सम्म पुग्छु । मलाई थाहा छैन, कहिले देखि नेपाल मा ब्लग अस्तित्वमा छन्, तर सबैले भन्ने गरेका छन्, उही ज्ञानेन्द्र को पाला देखि त हो नि ।

यहाँहरु कतिजनालाई थाहा छ, ब्लग भन्ने कुरा प्राय: सबै सोसल नेटवर्किङ साइटमा राखिएको छ, भलै नाम जे राखिएको भएपनि । यति भुमिका बाँधिसकेपछि, भनौँ मेरो ब्लगिङ इतिहास जुलाई २००६ देखि सुरु भयो, याहु को ३६० डिग्री http://360.yahoo.com/aakar19 पेजबाट । पहिलोपटक ब्लग भनेर याहू को पेज मा देख्दा के गर्ने होला, भनेर केही समय त अलमल मा परीयो तर फेरी खै, कसरी आफैँ ब्लग भनेको त आफ्नो लेख्ने चिज पो हो त भनेर ज्ञान आयो । ब्लगमा केही कुरा त राखेँ तर कहिले पनि आफूले लेखिन, आफूले लेखिन भन्ना को मतलब कपि पेष्ट गर्दैबसेँ, भनौँ न मलाई मन पर्ने परिकारहरु को कलेक्सन थियो त्यो । अब ब्लगबारे चुरो कुरो नबुझी, यसको उपयोगिता नबुझि, ब्लग भन्दैमा लेख्ने कुरा त पक्कै आउँदैनथियो । हो, आएन, म कपी पेष्ट गर्दै रहेँ, याहू ३६० मा अनि साथीहरु बनाउँदै गए, कारण खासमा याहू को ३६० पेज, सोसल नेटवर्किङ पेज थियो ।

एकपटक कान्तिपुर दैनिक मा दिनेश वाग्लेको ब्लग बारे सानो जानकारी छापिएको रहेछ, अन्तिम पृष्ठमा, जसमा भनिएको थियो “ब्लग” भन्ने शब्द टाइप गरेर सर्च गर्नासाथ हजारौँ साइटहरु देखापर्छन्, अनि ब्लग का लागि हिजोआज स्पेश निशुल्क उपलब्ध छन् । त्यती भनेपछि के चाहियो र, सर्च गरे गुगलमा पहिले नै ब्लगर भन्ने साइटमा छिरियो, अनि यतै हराइयो । अनि त्यसबखत रजिस्टर गरिएका ब्लगहरु अस्तित्व मा पनि छैनन् । करिब डेढ वर्ष अगाडि जति, फेरी एउटा ब्लग बनाए आकारपोष्ट, अनि यसैलाई निरन्तरता दिइरहेकोछु । अनि मैले भन्न छुटाउन नहुने कुरा, ब्लगमा आफ्नै विचार लेख्न रुपेश सिलवाल http://nepal.mypodcast.com/ ले नहौस्याएका भए, सायद म अझै कपि पेष्ट गर्दैमा व्यस्त हुन्थेँ होला ।

कहिलेकाँहि गफ पनि, दिक्क लाग्दो हुन्छ । म बुझ्छु तपाईहरु यस्तै यस्तै सोच्दैहुनुहुन्छ होला ! तर अब हाम्रो नेपालियन जी ले फर्म्याट नै त्यस्तो दिनुभएको छ, आफ्नो ब्लगिङ इतिहास भनेर, भने म के गरौँ हैन र ?

आकार ले आफ्नो ब्लग “आकारपोष्ट” को चर्चा नगर्ने त कुरै भएन । खासमा भन्दा, म आकारपोष्टलाई सबैकुराको सम्मिश्रण भन्न रुचाउँछु । सायद घमन्ड गरेको पनि ठहर्ला तर ब्लगमा टेक्निकल विषय देखि लिएर राजनिति सम्म का कुरा गरिएकाछन् । अनि व्यङ्ग्य देखि लिएर खबर समेत अटाएका छन् ब्लगमा, त्यसमध्ये पनि प्राय: पोष्टहरु नेपाली मै लेखिएकाछन्, अत: आकारपोष्टलाई नेपाली ब्लग भन्दा पनि फरक नपर्ला । तर आकारपोष्ट मेरा दैनिक गतिविधि समेटिएका पर्सनल डायरी भने हैनन् ।

खासमा लेखाइ भनौँ या ब्लगिङ भनौँ यो पनि एक प्रकार को नशा नै रहेछ । यसो सोच्दा, लेख्ने कुरा के होला र जस्तो लाग्थ्यो ? स्तम्भकार ले पत्रिका मा कसरी लेख्न सकेका होलान् जस्तो लाग्ने गर्थ्यो ? तर अहिले थाहापाइसकेँ कि, लेख्न कोशिस मात्रै गर्ने हो भने, धेरै लेख्न सकिँदोरहेछ, आफ्ना मनलाई छताछुल्ल पारेर ब्लगमा राख्न सकिँदोरहेछ । मलाई पनि खासमा त्यस्तै लागिरहन्छ, हरपल अनि हरेक चिज आफ्ना लेखनीका विषयवस्तु बनाइहाल्छु तर मन मा आएका सबै भावना खै किन हो, लेख्न सकिरहेकोछैन । अनि मुटुमा हात राखेर भन्दा, भर्खरै लेखिएको पोष्ट “आक्रमण र विरोध” http://www.aakarpost.com/2008/12/blog-post_23.html भन्ने पोष्ट मलाई अहिलेसम्म चित्त बुझेको पोष्ट हो । भ्याएसम्म, ब्लगमा हाजिर भैरहेको हुन्छ, विभिन्न वाहाना मा । कहिले फोटो ब्लग को निहूँ गरेर त कहिले अडियो ब्लग को निहुँ गरेर । अनि अहिलेसम्म सन्तुष्ट छु, आफ्नो लेखाइबाट अनि अझै सुधार को प्रयास पनि गरिरहेको छु । अझ, ब्लगमा आउने कमेन्ट ले त जुरुक्कै उचाल्छ, अत: सम्पुर्ण ब्लगर मित्रहरुलाई यहीँ बाट नै हार्दिक धन्यवाद पनि दिन चाहन्छु यहाँहरुको ताली र गाली का लागि।

ब्लग मुख्यत: आफ्नै कुरा राख्ने ठाउँ हो । यस सिलसिला मा नेपाली ब्लगरहरु शिष्ट नै मानिन्छन् कारण प्राय: ब्लगरहरु मनपरी बोल्दैनन् । अनि कहिलेकाहीँ भाषिक ज्ञानको कमी या भनौँ टाइप मिस्टेक भएर, अर्थ को अनर्थ लागेका ब्लगहरु भने प्रशस्त नै भेटिएलान । साँच्चै, भन्दा, हामी व्याकरण मा चाँहि त्यति सारो चासो दिइरहेका छैनौँ । तर सकेसम्म म व्याकरण मा चाँहि ह्रस्व, दीर्घ को नियम भने पालना गर्ने कोशीस गर्छु, अरु कुरा त त्यस्तै हो, नेपालीमा अंग्रेजी भने सँगसँगै जोडिएर आइरहेकाहुन्छन्, प्रत्येक वाक्यमा ।

मलाई सँधै अचम्म लाग्ने कुरा के हो भने, कुनै ब्लगर ले केही कुरालाई आफ्नो तर्फबाट मात्रै विश्लेषण गरेको छ भने, हामी पनि हो मा हो नै मिलाइरहेका हुन्छौँ, प्राय: अधिकांश सन्दर्भमा । हामी विरलै मात्र हाम्रा ब्लगहरुमा अरुको फरक दृष्टिकोण पाइरहेका हुन्छौँ । सायद, ब्लगरहरु एकै किसिम ले सोच्न् कि जस्तो पनि लाग्ने गर्छ कहिलेकाँहि ।

अनि प्राय: म आफूले भ्याएका र जानेबुझेसम्मका सबै ब्लगहरु हेर्नेगर्छु । मलाई लाग्छ, लेखेर मात्र केही हुँदैन, अरुले लेखिएको पढिएन अरु को विचार बुझिएन भने, आफूले लेखेर मात्र पनि केही काम छैन । यहाँ नाम तोकेरै यही ब्लग हेर्छु भन्ने छैन, लिस्ट धेरै लामो छ । हुन त म पेशाले विद्यार्थी तर फुलटाइम ब्लगर जस्तो लाग्छ, आफुलाई किनभने म प्रत्येक पटक अनलाइन चहार्दा ब्लग मै डुलिरहेको हुन्छु ।

मैले सुनेको पहिले “ब्लगान” BLOGAN भन्ने एउटा समूह बनेको थियो रे, नेपाली ब्लगरहरु को । तर त्यसको बारेमा खासै थाहाछैन, अनि अहिले त्यो अस्तित्वमा पनि छैन । मैल जानेसम्म, त्यो समूह उही हाम्रा स्थापित ब्लगरहरुका इगोका कारण छिन्नभिन्न पुगेको हो । अनि अहिलेसम्म, ब्लगरहरुको कुनै पनि संगठित समुह गठन भएको छैन । बाहिर जति चर्चा अनि परिचर्चा हुन्छ, त्यती सहयोग गर्न ब्लगरहरु हिच्किचाइरहेकाछन्, यो मेरो अनुभव हो । जब मैले ब्लग सुरु गरेँ, तब मैले नाम चलेका केही ब्लगरहरुलाई ईमेल पनि गरेको थिँए, सहयोग को अपेक्षा राखेर तर अफसोच कतैबाट केही सल्लाह, सुझाव पाइएन । अनि अहिले, आकारपोष्ट जति साजसज्जा अनि तौर तरिका मा आएको छ, बिलकुल आफ्नै क्षमता का कारण हो । सायद यसैकारण ले होला, म भने नयाँ आउने या जोकोहीलाई पनि सहयोग गर्न हरदम तयार भएर बसेको छु । मैले जुन प्राविधिक कठिनाइ भोगेँ, त्यती अरुले भोग्नु नपरोस् भन्ने अपेक्षा मैल राखेको छु, अनि खुशी लाग्छ, महिना मा यस्तै १-२ वटा ब्लगसम्बन्धि जिज्ञासाहरु आइरहेका हुन्छन्, इमेलमा ।
सायद मैले, धेरै गफ गरेँ जस्तो छ । लौ, यस्तो मज्जा को प्ल्याटफर्म जुटाइदिने दौँतरीलाई त झन्नै भुसुक्कै बिर्सीएको । त्यो पनि नेपालियन जी को प्रश्न ले सम्झाइदियो । सायद मैले दौँतरी चिनेको ६-७ महिना भयो होला । हो त्यस्तै केहि समय भयो होला, जब यहाँ उपराष्ट्रपति ले हिन्दी मा सपथ खाएर बब्बाल मच्चाइरहेका थिए । हो त्यती नै खेर दौँतरीलाई चिनेको हुँ, या भनौँ पढ्न थालेको हुँ । दौँतरी खासमा नाम अनुसार कै काम गर्न सफल भएको छ । सायद नेपाली ब्लग इतिहास मा सहकार्य को उदाहरण दौँतरी भन्दा अरु कुनै ब्गलग मा पनि पाइँदैन होला । साँच्चै, धेरै मित्र कमाउन सफल भएको छ, दौँतरी । अझ, ब्लग भित्र ब्लग भन्ने नयाँ सन्दर्भ ले त, हामीलाई झनै हौस्याइरहेको छ, सबैको अनुभव पढ्न पाइएको छ । अनि मेरो पनि केही शब्द राख्नपाएको मा दौँतरी टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु । दौँतरीका दौँतरीहरु बढ्दै जाउन यही शुभकामना छ ।

फेरी पनि आफ्नै ब्लगको कुरा गरौँ, एउटा सुचना नै भनौँ न, साहित्य प्रेमी दौँतरीहरु अझ भनौँ गजल प्रेमीहरुलाई लक्षित गरेर, आकारपोष्टबाट “बुलबुल” नामक एउटा साहित्यिक रेडियो कार्यक्रम अनलाइन बज्नेगरेको छ । आशा छ, सुन्नुहुनेछ । धन्यवाद !!!
आकार पोष्ट हेर्न कृपया : http://www.aakarpost.com/ वा www.aakarpost.blogspot.com मा क्लिक गर्नु होला ।


बाडुल्कीको तरङगमा

प्रबिण थापा
धादिङ, हाल इटली
बाडुल्की लाग्छ भन्थ्यौ तिमीलाई मेरो सम्झाइमा
बिर्सीयौकी के हो कुनी थोरै दिनको बसाइमा
न कुनै खबर आयो न त बाडुल्की नै लायो
आशाहरु देखाएर निरास पारे जस्तो भयो
के थाहा कुनी अर्कै मनले ठुलै आशा छर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित

किन हुन्छौ सिरीयस हास्न सिक भन्दै
मनभित्रको चाहानलाई पुर्ने खाडल खन्दै
छोडि गयौ इच्छाहरुलाई काडे तारले बारी
मलाई पार्यौ दोधरमा वारी जाउकी पारी
न सम्झनाले तिम्रो साम्झनाले अन्तै डेरा सर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित

कहिलेसम्म रोइ बाच्ने पिरै पिर बोकी
बुझेर नि नबुझेको जस्तो गर्या हो कि
भनी हाल मनको कुरो किन पार्ने गाठो
प्रेम पनि हुँदै हो नि जीवनको एउटा पाटो
हिर्दयको कुन भित्र मेरो माया मर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित


परिचय प्रभा आचार्यको कबिता संग्रह परदेशबाट

यो कबिता सङ्रह मेरो लेखनक्षेत्रको डेढ दसक पछी प्रकाशनमा ल्याएको हो यस्मा सबै कबिताहरु बिभिन्न पत्रीकामा प्रकाशित भएका छन र कत्ती भने अमेरिका भित्रिएपश्चातका छन यो कबिता सङ्रहमा देश प्रतिको माया,पर्देशको पीडा,नारिहरुको बेदना,मान्छे कसरी इछ्याहरुको कमारो बन्छ, मान्छेहरुमा किन अहमताले बास गर्दछ? अनी मनहरु किन र कसरी बिभाजित हुन्छन?, अनी कबिता के हो ?भन्ने कुराहरु जस्ता मैले समेट्न खोजेकी छु । २०६३ सालमा प्रकाशित सङ्रहको बिमोचन कार्यक्रम काठमाडौंमा भब्यताको साथ डा. गोविन्द राज भट्टराई को प्रमुख आत्तित्थ्यमा र बिष्णु बिभु घिमिरेको सभापतित्वमा बिमोचन भएको थियो। म परेदेशमा नै भए पनि आफ्नो देशबाट पलायन भएको आभास नहोस् भन्नकालागी मैले यो सङ्रह निकालेकी हुँ र यो सङ्रहको अमेरिकाको कोलोराडोको बोल्डरमा पनि प्रमुख अतिथी नेता बेनुप राज प्रसाइ र कोलोराडो च्याप्टरका नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा एक साहित्यिक कार्यक्रममा बिमोचन गरिएको थियो। यस भित्रका केही कबिताहरु:


१)'' पीडाको अर्को रूप नारी ''
ऊ स्वास्नी मान्छे
मुटुको दहबाट कसैलाई
एक अन्जुली माया उघाएर
दिन सक्छे ,
तर ---बदलामा उस्ले
स्वार्थिपनको उपहार पाउन सक्छे ।
ऊ स्वास्नी मान्छे,
आफ्नो शरीर पस्केर
कसैको भोक मेटाउन सक्छे
तर ---सट्टामा उस्ले
घ्रीणाको उपनाम पाउन सक्छे ।
मुटु रित्याएर माया दिनु
शरीर पस्केर भोक मेटाइदिनु
अन्त्यमा ---उस्ले
जीवनभरी अभिश्राप पाउनु र
जुठेल्नाको फ्याकिएको जुठो हुनु हो
अनी ---स्वास्नी मान्छे हुनुको अर्थ
पीडाको अर्को रूप हो ।

२)''मन बिभाजित भएपछी''
आगन एउटै भएर पनि मन बिभाजित भएपछी
छानो एउटै भएर पनी
बिचारमा फरक परेपछी
आफ्नो पनि बिरानो हुदो रहेछ ।
छहारि एउटै भएर पनि ब्यवहाँरमा फरक परेपछी
घरपनी भिन्न लाग्दोरहेछ
आकाश एउटै भएर पनि
स्वार्थ अनायस उब्जिए पछी
धर्ती एउटै भएर पनि
पाइला बेग्लै चालेपछी
माटो पनि बिभाजित हुदो रहेछ ।
देश एउटै भएर पनि
स्वार्थ अनेक भएपछी
भाषा एउटै भएर पनि शास्त्र अनेक भएपछी
आफ्नै मुलुक पराइ लाग्दो रहेछ ।

३)''पराइभूमिमा छट्पटाइ रहेछु''
दुखेका चोटहरुमा
शान्त्वनाको मल्हम लगाउदै
म,
आफ्नै देशको झझल्को
आँखामा टसाएर
पराइभूमिमा भौतारिरहेछु ।
शायद ---बिवस्ता नै हो कि ?
आफ्नी आमाको न्यानो स्पर्श
बिर्सनु पर्ने
कि ---बाध्यता थियो ?
मैले आफ्नो माटोबाट
बिस्थापित हुनुपर्ने ।
चाहे जे होस्
म सूर्योदयको बिहानिमा
आफ्नी आमाको सम्झनामा


एक अन्जुली पानी चढाउछु
म ,
रङिन क्षितिजलाई नियाल्दै
मनको बगैचाबाट स्वछ फूल चडाउछु ।
खोसिएका हासोहरुमा
आश्वासनको रङ पोत्दै
म आफ्नै देशको माया
छात्तिमा बोकेर
पराइभूमिमा छट्पटिइ रहेछु



January 11, 2009

कविता - तिम्रो बारे

बिजयकुमार श्रेष्ठ,
धादिङ्ग कटुन्जे (हाल ईराक)

गजल लेख्ने गजलकार होईन म, न त गितकार नै परे
अनयासैमा केवल दुई चार शब्दमा मनका तरङ्गहरु कोरे ॥
सोचेको थिएन हाम्रो भेटघाट यति छिटो हुन्छ भन्ने बारे
कसैबाट सुन्न थाले दौतरी ब्लग बनि गुगलमा छाको छ रे ॥
कम्प्युटरको सहारा लिई गुगल सर्चमा घुम्न थाले
दौतरीको माया पाउन गुगल सर्चमा आई डि फाले ॥
गुगल सर्चको माध्यमबाट तिमीलाई पाईकन छाडे
जानी नजानी तिम्रो लागी उपहार रुपी शब्दजाल बाडे ॥
साधुवाद छ दौतरी तिमीलाई हाम्रो मित्रताको बारे
रहि छौ तिमी मित्रताको शिखर चुम्न सिकाउने सितारे ॥



हैन गिरिजाले भनेको सांच्चै हो कि क्या हो?

नेताले माइक पाए पछि के? बोल्न त भरमार बोलीहाल्छन माइक छोड्ने झन नामै लिदैनन। बहुदल आएपछी अरू केही नभए पनि नेताहरुको बोल्ने भाषणमा त खुब बिकास भाको छ। बिकासको खोया नभए पनि भाषणमा चै नेपाली जनता बिश्वकै सुखी र भाग्यमानी छन। बहुदल आए पछि आकाशै छुने नेता गिरीजा हुन। कहिले कुनै गफ चियाको कपमा आएको तुफान भन्थे कहिले भने यांहा ग्र्यान्ड डिजाइन छ भनेर कुर्लन्थे। खोइ के हो त्यो ग्र्यान्ड डिजाइन कसैले छारो फोर्सो बुझेका होइनन। कम्नियुष्ट भने पछि गिरिजा तिन कोष परैबाट चिढिन्थे। अब कम्नियुष्ट नेता निकै फुर्तीला, खुब भाषण दिने, गिरिजालाइ टेन्सन। कसरी भीत्ता लगाउने तिनीहरुलाइ, अनि जांहा पनि त्यही डाइलग पेल्थे, "कम्नियुष्ट जे बोल्छ त्यो गर्दैन जे गर्छ त्यो बोल्दैन"। गिरीजाले आफुले भनेको चाही के पो गरेका थिए र अनि उनको त्यो डाइलाग सधै हासोमै उडाइन्थ्यो। हुन त गिरीजा आफु केही गर्ने नै भन्दैनथे गर्नै के पो पर्यो र? अहिले त गिरीजा थलै परेका छन के कुरा गराइ भो?

कुरो सबैलाइ थाहा भएकै हो, माओबादीले कब्जा गरेका सम्पती सबै फिर्ता गर्ने। अस्ती भर्खरै हो प्रचण्डले कब्जा गरिएका सबै सम्पती फिर्ता गर्ने ३ महिना म्याद दिएका । के भन्ने खोइ, आफ्नो सम्पती पाउन पनि प्रचण्डकै कृपा चाहिने। प्रचण्डको कथा उही बिरबलकै खिचडी त होला नी, तर पनि आफ्नो सम्पती दिन्छु भने पछि खुसी नहुने कुरै भएन। तर आजको कान्तीपुर पढेर पो झसंग भए, गिरीजाले ठिकै भनेका हुनकी भन्ने। हिजै मात्र माओबादीको जथ्थाले तेह्रथुममा अरुण तेस्रो आयोजनाको २० रोपनी जग्गा कब्जा गरेर त्याहां आफ्ना कार्यकर्तालाइ घर टहरा बनाउन लगाएछन। कारण चाही खेरा गएको जग्गा उपभोग गर्न त्यसो गरेको रे!कुरा पनि कस्तो? अब मेरो खल्तीमा सयको नोट छ मैले खर्च गरिन भनेर अरुले खोस्ने त? बुझी नस्क्नु छ बा यो माओबादीको राजनिती! भन्न त तेह्रथुमका सि.डि.यो ले जबरजस्ती जग्गा कब्जा गर्नेलाइ कडा भन्दा कडा कारबाही गर्ने रे। तर बामेदेबले एक घन्टी फोन हाने पछि कुं गरेर बस्ने त होलान नि सि.डि.यो साप!

पशुपती नाथले कल्याण गर भनुम भने पनि पशुपती पनि पोलिटिक्समा छिरी हाले। अर्को साल पशुपतीलाइ पनि चुनाबमा टिकट मिल्ला जस्तो छ। कता फर्कने हो अब खोइ?
आज एउटा साथीले भन्थ्यो के रे "बुझीस नेपाल सोमालिया जस्तै हुन्छ, २-४ बर्षमा सरकार छरकार केही हुदैन,जिल्लै पिच्छे प्रधान मन्त्री हुन्छन"। मैले नि भने अहिलै नै सोमालिया भन्दा खत्तम भइसक्यो नि नेपाल। ति सोमालियाका पाइरेट्स भन्दा कम छन त वाइ.सि.एल? कमसे कम सोमालियाका पाइरेट्सले पानी जहाज मात्रै कब्जा गर्छन,यि वाइ.सि.एल ले त दौडने बाख्रा पाठा देखी गुड्ने गाडी सम्म केही बांकी राख्दैनन्। बरु नेपाल सोमालिया भएकै जाती। त्यही फेबातालका २-४ वटा डुगां कब्जा गरे मात्रै । नत्र भने पानी जहाज नेपालमै आउदैन,वाइ.सि.एल हेरेका हेरै। तपाइहरु नरिसानुहोस है पाठक बृन्द, अब देखेको कुरो त भन्न पाइयो नि है? आफ्नो देश भनेर के गर्नु सब भन्दा थर्ड क्लास काम त्यही हुन्छ। यस्सो चिया खर्च दिए पछी काम नहुने ठाउ कहीं छ त?



ब्लग लेखन र यसका चुनौति ।

Blogger's riskसन १९९४ मा Justin Hall ले शुरु गरेको links.net भन्ने विश्‍वकै प्रथम बल्ग शुरु हुँदा यसको विकासक्रम यसरी जाला भनेर सायदै कसैले सोचेका थिए होलान । आज ब्लगको संख्या लाखौंमा हैन करोडौंमा छन र संख्यात्मक बृद्धि संगै ब्लग जगतमा गुणात्मक विकास र विबिधता आउने क्रम पनि जारी छ । ब्लगको शुरुवात र विकास वारे मेरो अघील्लो पोष्ट जय ब्लग! ह्याप्पी ब्लगीङ मा केहि सामान्य जानकारी राखी सकेकोले यो पोष्टमा त्यसतर्फ नजाऔं ।

अब ब्लग जगतका हालका स्थिति, चुनौति र भविश्यको वारेमा साधारण चर्चा गरौं । पत्र पत्रिका वा अन्य बिद्युतिय संचारमाध्यम जत्तीकै अत्यावश्यक सेवा वा सुबिधाको रुपमा ब्लगलाई नलीईए पनि ब्लग जगतको लोकप्रियता दिनदिनै बढदै गईरहेको र यो मानिसहरुको दैनिक जनजिवनको यौटा अंग बनिसकेकोमा भन्नेमा कसैको दुई मत नहोला । यसको व्यापकता र विबिधतालाई एकैछिन संकुचन गरेर हेर्नेहो भने उपलब्ध सामाग्रीका हिसाबले विश्‍वमा हाल जानकारि मूलक, समाचार मूलक र मनोरन्जनका गरी तीन प्रकारका ब्लगहरु बढी चलेको देखीन्छन ।

समाचारको लगी ख्याति प्राप्त बिबिसी र सफ्टवेयरका महारथी कम्पनी माईक्रोसफ्टले समेत आफ्नो आफ्नो ब्लग चलाउनुले यो समाचार वा सुचनाको छुट्टै बिधा भएको कुराको पुष्टि गर्छ ।

नेपाली ब्लगको कुरा गर्ने हो भने हाल समय समयमा अपडेट हुने ब्लगहरुमा पनि समाचार, साहित्य र विबिध ब्लगहरु नै प्रमुख देखिन्छन। यदा कदा केहि समुह वा संगठनले मुखपत्रको रुपमा ‘ब्लग’ सन्चालन गरेको देखीए पनि त्यस्ता ब्लगको संख्या धेरै भने छैनन् ।

सतहि रुपमा हेर्दा ब्लग संचालन रोमान्चक र सजिलो देखिए पनि यो बिधामा पनि आफ्नै जटिलता र चुनौतिहरु बिद्यमान छन । जहा पत्रिकामा एकचोटी लेखिएको लेख र समाचार नै प्राय अन्तिम सत्य मान्नु पर्ने स्थिति हालसम्म पनि बिद्यमान छ भने ब्लगमा भने यसका हरेक पोष्टकोलागी यसका प्रेषक वा ब्लगर उत्तरदायी हुनुनै पर्छ । आफूले लेखेको पोष्टप्रति आउने टिकाटिप्पणीले ब्लगरलाई उत्तरदायी मात्रै बनाउँदैन अझ बढि अध्ययन र जानकारीकोलागी अभिप्रेरित पनि गर्छ, यो नै ब्लगको यौटा रचनात्मक पाटो हो ।

हुन त ब्लग स्वतन्त्र माध्यम हो तर यसको स्वतन्त्रताको पनि कैयौंले भारि मूल्य चुकाएकाछन । World Information Access को यौटा रिपोर्टमा सन २००३ देखी २००८ सम्ममा विश्‍वमा करिव ६४ जनाले ब्लगमा लेखीएको बिषयका कारण पक्राउ पर्नु परेको कुरा उल्लेख गरेको छ। बिशेष गरी चीन, बर्मा, ईरान लागाएतका मध्य पूर्विय देशहरुमा कहिले स्वतन्त्रता त कहिले कुनै राजनैतीक विषयमा लेखेका कारण ब्लगरहरुले थुनामा सेमेत बस्नु परेको छ ।

प्रकाशित आंकडा भन्दा अप्रकाशीत वा गुपचुप रुपमा सजायको भागि हुनु पर्नेका संख्या निकै बढी हुनसक्ने अनुमान बिभीन्न अन्तराष्ट्रिय संस्थाहरुले गरेकाछन । बाहिर प्रकाशमा आएका आकडाहरु मात्रैलाई सहि मान्दा पनि:

  • बिगत पाँच बर्षमा ६४ जना बल्गरहरु पक्राउ परेका छन।
  • पक्राउ परेकाहरुले कम्तिमा १ दिन देखी बढिमा ८ बर्षसम्मको जेल सजाय पाएका छन।
  • ८ बर्ष जेल सजाय पाउने ४ जना चीनिया नागरीक रहेका छन।
  • थुनामा बस्नु परेको समयाबधि सरदरको हिसाबमा प्रति ब्लगर १५ महिनाको छ ।
  • चीन, ईरान, ईजिप्ट र वर्मा ब्लगरका लागी सबैभन्दा असुरक्षीत रहेको छ।
  • पक्राउ पर्नेहरु मध्य प्राय सबैलाई सरकारी नीतिको बिरोध गरेको, संस्कृति माथी प्रहार गरेको र शान्ति स्थिति खलबल्याउन लागेको जस्ता आरोप लाग्ने गरेका छन ।

हुन त केहि नेपाली ब्लगरहरुलाई पनि यदाकदा डर वा धम्कि दीईएको भन्ने कुरा सुन्नमा आएपनि यसरी बल्गमा लेखिएको बिषयकै कारण कुनै ब्लगरले सजायको भागि बन्नु परेको कुरा भने हालसम्म प्रकाशमा आएको छैन। तर सन्चार माध्यमलाई दुश्मन ठान्ने रवैया भएकहरु शक्तिमा बसेको बेलामा र दिउसै मिडिया कार्यालयमा भौतिक आक्रमण गरेर समाचारको मुख थुन्ने प्रयाश गर्नेहरु गतिशिल रहँदासम्म नेपाली ब्लगरहरुले पनि आफूलाई पूर्ण सुरक्षीत महशुस गर्न सकेका पनि छैनन् ।

त्यसो त नेपाली ब्लगको कुरा गर्दा यदाकदा आफुलाई मन नपर्ने मान्छेको खेदो खन्ने र कारण वा बिना कारण पनि केहि समुह, दल वा गुटको बिरोध गर्ने काममा कलम खर्चिने ब्लगको संख्या पनि कम छैनन् । अनी ब्लगलाई पेशा र लेखन कार्यलाई सेवा बनाएर लेख्नेहरु पनि छन, तर समष्टिमा हेर्दा नेपाली ब्लग जगत बिस्तारै परिस्कृत हुँदै गएको अनुभूति भने हामि सबैले गरेको कुरा हो ।

ब्लगको गतिबिधिलाई र बल्गका सामाग्रीलाई एकैछिन पर सार्दा संसारभरिनै व्याबसायिक र गैह्र व्याबसायीक गरी दुई प्रकारका ब्लग चलेकाछन । अनि कुनै कर्पोरेट कम्पनि वा निकायले संचालन गरेको ब्लग बाहेक अन्य बल्गहरु संचालन गर्न पनि कहिलेकाहि आर्थिक समस्याले पनि बाधा पुर्‍याउन सक्छ। कुनै शक्ति केन्द्रको स्तुति गान नगर्ने वा भजन मण्डलीमा सामेल भएर तिनिहरुको सबैकामलाई जायज ठहर्‍याउने राग अलापेर नैतीकताको सम्झ्यौता नगर्ने हो भने साधारण ब्लगरले आर्थीक श्रोत जुटाउन गर्न सक्ने यौटै कार्य भनेको Google AdSense, Live Search Cashback वा YPN (Yahoo! Publisher Network) को माध्यमबाट अनलाईन विज्ञापनमा जुटनु नै हो। तर ब्लगले निश्‍चीत लोकप्रियता हासील नगरेसम्म यो सम्भब पनि हुँदैन।

यसरी ब्लगीङ आफैमा यौटा चुनौतिपूर्ण कार्य हो भने चुनौतिमै रमाउने र सृजनात्मक कार्यमा रम्ने मानव स्वभावका कारण यो बिस्तारित हुने क्रम भने जारी नै छ। यसमा रहेका कमि कमजोरी हटाएर ब्लगीङ बिधालाई स्वतन्त्र, रचनात्मक र सृजनात्मक बनाउने जिम्मा पनि हामिहरु आफ्नै भएकोले हामिनै यसमा जुटनु पर्छ ।

बाकी तपाईहरुको विचार पनि सुनौंन !

यो पनि हेर्नुहोस!

Blogger arrests hit record high

Are bloggers replacing real journalists?