January 4, 2009

संबाद अर्चनासंग

नेपाली ब्लग जगतका ब्लगरको बारेमा दौंतरीमा भलाकुसारी राख्ने गरेको तपाइहरुलाइ थाहा नै छ। यस्ले सधै अरुको बारेमा ब्लग लेख्ने ब्लगरले आफ्नु बारेमा ब्लग लेख्न मौका मिल्ने छ। साथै पाठकहरुलाई ब्लगर र ब्लगको बारेमा पनि जानकारी हुनजान्छ। यस पटक “ब्लग भित्र बल्ग”
स्तम्भमा अर्चना श्रेष्ठ अर्थात http://archanashrestha.blogspot.com/ आउँदै हुनुहुन्छ भनेर प्राय: पाठकलाइ बिधितै छ। ल त, लागौ अर्चना जीसंग इमेल संबादमा।

* कहिले देखी ब्लग लेखन शुरु गर्नु भयो र कसरी ब्लग लेखन तर्फ आकर्षित हुनु भयो?
ठ्याक्कै मिती भन्दा अप्रिल २००६ टन्टलापुरे घाम लागेको दिन देखी सुरु गरेको हुँ । जब मैले आफ्नो ब्लग सुरु गरे त्यति बेला मेरा लागि ब्लग नया बिषय थिएन । म यो सँग धेरै परिचित थिए अनी नजिक थिए। मेरो प्रोफेसननै हर बखत कम्प्युटर अगाडि बस्ने थियो अनी डिजाइनिङ् कन्सेप्ट् बनाउने थियो र धेरै जसो मैले बिदेशी कस्टमरको वेब डिजाइनिङ् कन्सेप्ट बनाउने गर्थे उनिहरुको धेरै जसो वेब साइटमा ब्लग सेक्सन हुन्थ्यो अनी त्यो सेक्सनको लागि ब्लग सेटअप गरिदिनु पर्थ्यो। अबुइ नि जस्ले ब्लग बनाएको देखेर कहिले काही त म छक्कै पर्थे, जस्तै डाक्टर देखि लिएर बिउटिसिएन सम्म अनी लेखक देखि लिएर हाउसवाइफ सम्मका ब्लग हुने। कहिलेकाही तिनीहरुको ब्लग पढ्दा बडो रमाइलो लाग्ने अझ घोचपेच गरेर कमेन्ट गरेको देख्दा त झन् हासो उठ्ने।
त्यस्तैमा मलाई एक्जना कस्टमर ले सोध्यो
“Do you have your blog?
मैले ‘No’ भने
उस्ले मलाई सजेस्ट गर्‍यो why don’t you have your own personal blog?
अहो सिकर्मीका घरमा काठका सामान नभए जस्तो लाग्यो । मलाई त्यो कुरा मनमा बिझ्यो, म त कस्तो हुस्सु आफ्नै ब्लग किन नबनाएको होला है भनेर ब्लग खोलेर लेख्न थाले ।

* आफ्नो ब्लगको लागी कसरी ब्याख्या गर्नहुन्छ?

सर्सर्ती हेर्दा मलाई आफ्नो ब्लग खिचडी जस्तो लाग्छ। यहाँ हरेक कुरा राखेको छु। घर देखी अफिसका कुरा, बोय्फ्रेन्ड देखी नेताका कुरा , गाली ताली, माया रिस सबै ओकल्ने राम्रो ठाउँ भेट्टाएको छु।

* नेपाली महिला ब्लगरको बारेमा केही भन्नुहुन्छ कि? पाठकले ब्लगरको रुपमा लिन्छन कि महिलाको रुपमा लिन्छन तपाइको अनुभव बताइदिनुहोस न?

नेपाली महिला ब्लगर एकदम कम छन्। स्वभाबलेनै आफु लाई व्यक्त गर्न अप्ठेरो मान्ने र केहीलाई टेक्निक्ल्ली के कसो गरेर ब्लग चलाउने ज्ञान नभएर पनि कम भएको हुन सक्छ। अहिले सम्म ७०१ जनामा करिब ६२ महिला ब्लगरको ब्लग bloggers.com.np मा रजिस्टर भएको छ।

मेरो अनुभबमा धेरै जसोले ब्लगरको रुपमा लिन्छन् र कोहि कोहिले केटि मान्छेले के लेख्दा रैछन् भनेर ब्लग पढ्ने गरेको सुनाउछन् ।
* ब्लग लेखनबाट कति सन्तुष्ट हुनुहुन्छ ? तपाईले लेख्नु भएको सबैभन्दा मन पर्ने ब्लग कुन हो ?

ब्लगलाइ लिएर मेरो केहि गुनासो छैन। ब्लगमा स्वतन्त्र रुपले व्यक्त गर्न पाईन्छ। व्याकरण, सुद्दा सुद्दीमा म मतलब गर्दिन। जस्तो आउछ तेस्तै लेख्छु।
ब्लग सम्बन्धि एउटा रमाइलो कुरा गरौ है त , एकदिन म र मेरो साथी रेस्टुरेन्टमा कफी खाइ रहेका थियौ त्यतिकैमा एकजना बुढो मान्छे आएर तपाईं ब्लगर होइन भनेर सोध्यो? । मैले हो भने, उहाले भन्नु भो म त तपाईं को ब्लग रेगुलर हेर्छु मलाई तपाईं को ब्लग एकदम मन पर्छ भनेर चर्को चर्को स्वरले आधा घण्टा सम्म गुणगाण गाए। बाफ रे!, आफु लाइ त पसिना नै पसिना आयो, सबैको अगाडि लाज पनि लाग्यो मेरो साथि त ट्वाँ परेर हेरेको हेरै भो बिचरालाइ ब्लग भन्ने नै था रैन छ । बल्ल बल्ल उहा आफ्नो खाना तिर लाग्नु भो। मैले पनि केहि राहत महसुस गरे। ब्लग बनाए पछि माथिका जस्ता थुप्रै रमाइला क्षणहरुको सामना गरियो, यस्ले एउटा छुटै परिचय दियो ।

महाबिर पुन जि ले म्यागासेसे अवार्ड र चर्चा पाउनु अगाडिनै मैले उहाको वाएर लेस प्रोजेक्ट र उहाको बारेमा लेखेकी थिए । उहाले अवार्ड पाइसके पछि मैले सही मान्छे चिनेर लेखेछु जस्तो लाग्यो । आइटी क्षेत्रमा उहा रोल मोडल हुनु हुन्छ। उहाको मिहेनत र सफलताको कथा लेखेको लेख मलाइ सबै भन्दा मन पर्छ।

* नेपाली बल्गर र बल्गहरु कतातिर जाँदै गरेको अनूभव छ ?

मैले ब्लग सुरु गर्दा र अहिले धेरै परिवर्तन भै सकेको छ। ब्लग सम्बन्धी नेपालीहरुलाई खुब चासो बढेको पाए, मलाई थुप्रैले सोध्ने गर्छन् ब्लग भनेको के हो , कसरी सेटअप गर्ने, पैसा लाग्छ् कि लाग्दैन आदी इत्यादी। bloggers.com.np को डाटाबेस हेर्ने हो भने २००७ मार्च सम्म १३० जना रेजिस्टर थियो भने अहिले ७०१ जना नेपाली ब्लगरले आफ्नो ब्लग रजिस्टर गरिसकेका छन् र दिनहु यो
यो गन्ती बढ्दै छ। मलाई लाग्छ बिस्तारै यो सम्बन्धमा एक कान दुई कान हुँदै चेतना फैलिदै जाने छ र हामीले ब्लगको माध्यम बाट धेरै भन्दा धेरै नेपालीहरुको बिचार बुझ्न पाउने छौं।

* पत्रिका र आइटी संग सम्बद्ध बाहेक अन्य ब्लगका ब्लगर कत्तीको प्रतिपर्स्धाम्क देख्नुहुन्छ?

कस्तो गार्हो प्रश्न। खै मैले त तुलना गरेको छैन। मन परे हेर्ने मन नपरे छिर्दै नछिर्ने।

* नेपाली ब्लगहरु कस्तो हुनुपर्छ जस्तो लाग्छ? कुन कुन अन्य ब्लग हेर्ने गर्नुहुन्छ?

ब्लग यस्तै हुनु पर्छ भन्ने छैन लेखक ले आफ्ना लेख, रचना, मनमा लागेका जस्तो कुरा नि पोस्ट गर्न पाउछन। यो ब्लगर को अधिकार हो। आफ्नो प्रोफेसन अनुसार smashingmagazine.com रेगुलर हेर्छु। त्यस बाहेक उमेश जि को माइसंसार र फुर्सद भए सम्म अरु साथीहरुको ब्लग पढ्ने गर्छु।

* दौंतरी कस्तो लाग्छ, के भए जस्तो भए हुन्थ्यो जस्तो लाग्छ?, फुर्सतको समय के गर्नुहुन्छ?

माफ गर्नु होला मैले त आजै हेरेको। कति रोचक साइट रैछ। कस्तो हुस्सु पहिला था’ नै पाइन।सबै दौतरी भेट हुने चौतारी रैछ। फुर्सदको समय एकान्तमा बसेर मिठा मिठा कल्पना गर्न मन पराउछु त्यसबाहेक धेरै जसो फुर्सदका पल कम्प्युटरमै बित्छ।



मौका मा चौका हान

शेखर ढुंगेल
अमेरीका

भन्ने हरु भन्दै गर्छन्
सक्ने ले गर्ने हो
खा’को ला’को पा’को
नेपाली को उखान सबै ले थाहा पाको

-----
लुट्नेहरु निर्धक लुट
कानुन देखे पार्टी को झन्डा लुट
हत्यारा लाई शाहीद घोषणा भएको
देश मा अपराध लाई कस्ले रोक्छ ?
-----
माग, माग आजै क्षति पुर्ती माग
जेको पनि माग्ने भए
आमा ले ९ महिना सम्म पेटमा
कब्जा गरेकी थीइन त्यस्को पनि माग
------
खोतल खोतल मौका यही हो
जता ततै खोतल
जहाँ सम्म आफु आएको ठाउँ देखिन्न
तब सम्म खोतल
-----
तिम्रो आँशु मात्र मोती
अरु को आँशु बर्षा को पानी
कती सम्म लुट्छौ, लुट देश
नेता रुपी देश का बेईमानी
-----
टोपी फाल्यौ दौरा फाल्यौ
पात्रो पनि फाल्ने भन्छौ
फाल् फाल् पालै पालो
पशुपती बुद्ध र देशै फाल्
(माफ है देश को बिक्री को आक्रोस मा पोखिएको भाषा को लागि )



गित - तिम्रो सपनामा

- अशोक खलान को मान्छे
फ्रान्क्फर्ट , जर्मनी
तिम्रो सपनामा आजकल पराई ले राज गर्दा
कती चोट सह्यौ होला मेरो मुटु झिकी फ्याक्दा

तिमी लाई भनेरै म मलाई भनेरै तिमी
मन लुकाइ बाचेका थियौ,चिट्ठीमै हासेका थियौ

कती मन रोयो होला आफ्नै हातले चिट्ठी पोल्दा
कती आशु खस्यो होला खाली सिउदोमा रंग पर्दा

ति हजार सपनाले कही बास पाएन है
ति हजार रंगहरु कुनै क्यान्भाषमा भरिएन है

कती पिर पर्‍यो होला सपना नै हत्या हुँदा
कती बाधा सहयौ होला आफ्नै चित्र फरक पाउदा


January 3, 2009

एक छिन हासौंन - ११

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
अँ त, मैले मेरो अन्तिम अनुभूतिमा यही शिर्षकमा लेख या अनुभव लेख्नुपर्दा भोगिएका भोगाइहरु बाँड्छु भनेर अघिल्लो अंकमा भनिसकेकिछु त्यसैले मैले बाचा त पूरा गर्नै पर्छ। पाठकबृन्द, साहित्य मेरो निजी जीवनको रहर र उदेश्य भएको हुनाले यस्लाई मैले जत्ती अमूल्य ठान्छु अरुको निम्ती त्यती अमुल्य नहुन पनि सक्छ। एक त बिदेशको बसाइ, यहाको सधैं हत्तारको काम, समयको महँगी त्यस्तै छ आफ्नो मनको कुरा आफ्नो श्रीमान, श्रीमतिलाई पोख्न पनि साइत जुराउनु पर्छ। रात, बिहान, साँझ योटै मानेर काम गर्नु पर्छ। आफ्नो ब्यवसायको होस् या अर्काको काम होस्, ठीक समय र पलामा चल्नु पर्छ। आफ्नो भनेर धर छैन।

यस्तै मेरो पनि स्थिती छ। यौटा सानो रेस्टुराँ छ। बिहानदेखी गोरु जोत्तिए झै जोत्तिनु पर्छ। आफ्नो भनेर धर छैन, ''डिउटी इज डिउटी'' किन कि यो अमेरिका हो, यहाँ सबै समान छन। ''काम गर खाउ'' को सिद्दान्त लागु हुन्छ यहाँ। म आफ्नो देशमा हुँदाको सम्झना गर्छु कहिलेकही। म काठमान्डुबाट झापा र झापाबाट काठमाडौं यात्रा गर्दा बाटामा पर्ने मुङ्लिनको होटेल रेस्टुराँहरुमा खाना खान पसेको सम्झिन्छु। होटेलका साहु, साहुनीहरु गल्ला नछाडी गमक्क परेर खाली पैसा लिन र दिन मात्र बस्छन। होटेलमा आएका ग्राहकहरुले जे जस्तो खाउन, तर पैसा मात्र समाउन पाए पुग्यो। ती सिङाने, मैलो, धैलो केटाहरुले ग्राहकहरुलाई जस्तोसुकै सेवा गरुन साहु,साहुनिलाई मतलब छैन। अनी हाम्रो देशको मान्यता भनौ वा सोच, मालीक-मालिकनी भए पछी जुठो थाल उठाउनै नहुने। उनिहरुले सेवा गर्नै नहुने खालका मनस्थिती छ । तर यहाँ त्यस्को ठीक उल्टो छ। को मालिक, को म्यानेजर, को वेटर?, बस ग्राहकको सेवामा सबै लाग्नु पर्छ। काम को बाँड,फाँड छैन। म मालिक्नी हुँ भनेर धर छैन। हो यस्तै परिस्थितीको दासी हुँदै म आफ्नो कलमलाई साथ मागी रहेकी छु।

घरमा ''ल्याप टप'' छ, समय छैन। रातको करिब १०/११ बजे घर पूग्छौ, त्यही पनि दिनभरिको थकाईले हैरान भएर। घर पुग्ना साथ फेरी एक्छिन कम्प्युटर अन गर्छु। श्रीमान रन्किनु हुन्छ ''न त रेस्टुराँमा आराम गर्छौ न त घरमा, यो तरिकाले जिउलाई कसरी आराम हुन्छ?” । हुन पनि हो, म सधैं हत्तारमा नै हुन्छु। रेस्टुराँ नजिक लाइब्रेरी छ एक्छिन मौका मिल्यो कि त भागेर लाइब्रेरी पुगिहाल्छु। मेरो ध्यान समय चोर्ने देखी अरुकेहीमा छैन। एक घण्टाको ब्रेक हुन्छ सब आराम गर्छन म भने लाइब्रेरितिर नै कुलेलम ठोक्छु। अब त अत्ती भएर मेरा म्यानेजरले समेत तपाईं आराम गर्नु होस् किन यस्तो दौड्धूप गर्नु हुन्छ भनेर गाली गर्न थालिसके। अब त उसैलाई पनि छल्न थालेकिछु मैले। हो, मैले अघिल्लो अंकमा भनेकिथिए मान्छेले नचाहेर पनि ढांट्नु-छल्नु पर्दोरहेछ भनेर। यो मेरो बाध्यता हो। किन कि लेखन क्षेत्रको दुईदशक बित्न लागेछ। म कसरी आफ्नो कलमलाई चिर निन्द्रामा सुताउन सक्छु र ? जत्ती समय बित्दै जान्छन। झन लेखकिय भावनाले सताएको महसुश हुन्छ। भावनारूपी सन्तानहरु जन्मन उद्वेलित हुन्छन। यसैले पनि साहित्यरूपी सन्तान जन्माउने पीडाले म छट्पटिन्छु अनी कसरी त्यो पीडा शान्त हुन्छ र? । यसरी म वाध्य बन्छु आफ्ना भावनाहरु ओकल्न। समय मेरो लागी धेरै अमुल्य छ, तर पनि म यस्लाई आफ्नो कैदमा राखेर यात्रा गरी रहेकिछु। मेरो थकाई, गलाई, ब्यस्तपनलाई भुलिरहेकिछु। धेरै लामो यात्रा भएकोले म कसैको पनि गाली, उपहास, निरुत्साह गर्नेखालका कुराहरुबाट पछी भागदिन। मेरो जीवनको लक्ष बस ''कलम'' हो। यसैले मलाई इज्जत, सम्मान र आज यहाँसम्म ल्याइपुर्‍याएको  छ। अहो ---ब्रेकको समय सकिन लागेछ!। ''भरै फेरी एकान्तमा रुनु त छदैछ '' भने झै काम गर्नु त छदैछ। धन्यवाद दौतरी, तिमी मेरो भावना बिसाउने फाटिलो आगनको छात्ति भैदियौ। जहाँ मैले पारीलो घामको किरण चोरेर तिम्रो छात्तिमा बिस्कुन सुकाउने अवसर पाए। मेरा भावनाहरु अरु कसैलाई सन्तुष्टी दिन भनेर पोखिएको हैन, म आँफैलाई सान्त्वना दिन मात्र दौतरिसँग सुटुक्क केही समय र स्थान मागे। म अनुग्रहित छु दौतरी तिमीसँग। तिमी सधैं सबैसँग मन मिल्ने दौतरी बन्नु। अल्पायुमा नै हरेस नखानु। तिम्रो फराकिलो छात्तिमा सबैले मनका तरङहरु पोख्न पाउन। यहि मेरो मेरो कामना। शुभ दिन।



गजल - आफैले घाटी शेर साथी

सुमन सुधा
आँबु खैरेनी तँनहु

कस्तो हुन्छ प्रेमजाल त्यो अभागीलाइ हेर साथी
बेचविखन भयो उसको माया गएन खेर साथी

दुवै तर्फ युद्ध चल्यो मरे घाइते भए मुनाहरु
वरिपरी शत्रु हुन्छन् फ्याकी जाल बेर साथी

लाखौं मौरी घुम्छन् यँहा त्यही वासनका लागी
बनी बगैचाको माली रानी मौरी घेर साथी

आउदा जादा चौबाटोमा धेरै जिवहरु भेटिन्छन्
नचिन्ने गरी छेपाराले झै रुप रँग फेर साथी

वियोगान्तमा पिडा हुदाँहुदै अब मृत्यु पक्का भयो
किन ढिला गर्छौ आफैले घाँटी शेर साथी


पुरानो बर्षको बिदाइ

हस्त गौतम मृदुल

छोडेर गयौ अचानक हरे माया नै मारेर।
सुन्दर सपना संधैका लागी ओझेलमा पारेर।

आउदा कति हर्षित थिएं हर पल रमाएं।
सफल्ताको शिखरमा पुगी प्रभुत्व जमाएं।

आत्मीय पन टु टाइ जादा मन मेरो धर्कियो।
नसकी खप्न बिछोडको पींडा छाती नै चर्कियो।

साचुला संधै ति क्षेणहरु संगसंगै बसेको।
बिर्सने छैन जीवनमा कैलै मायाले डसेको।

मनको शान्ती अटल खुशी संधैलाइ हरायो
गुलाफको फुल सम्झिदा खेरी रोइरने गरायो।