December 23, 2008

धन्यवाद / Thank you

Thank you for taking the time to submit our form.

We have received your submission.

If necessary, your Question/Query will be answered by our team member.

Thank You!

हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यावाद । तपाईको सल्लाह सुझाव हामीसम्म पुगेको छ र आवश्‍यक देखिएमा हामी तपाईलाई सम्पर्क गर्ने छौं ।

 

धन्यवाद ।



December 22, 2008

कथा - देवी

सुमन बगाले
आबुँ खैरेनी ढकलटार ५ तनहुँ, (हाल इराक)


उसले एक गरिव परिवारमा जन्म लियो । होस सम्हाले देखी भोक त चिन्यो तर उसले गरिवीकै कारणले भने कहिल्यै भोको रहनु परेको थिएन । किनकी उसका बाबाआमाले दिनरात एक गरेरै भएपनि कहिल्यै भोको राखेनन । जसरी जिउन पर्ने हो त्यो वातवरण सकेसम्म पुराइदिएका थिए । साधरण परिवारमा साधरण हिसावले नै जिवकोपार्जन गर्दै आयो । साच्ची नै भन्नु पर्दा ३ महिनासम्म खान पुग्ने जमीनपनि छैन । जति छ त्यो जमीनलाइ कहिल्यै फुर्सत दिएनन् । दिनहुँ दुख्ख दिन्छन् । कहिले कुटो कोदालोले कहिले हलो ले कोतारेर कहिले पानीले लचप्पै निर्थुक्कै बनाइ भिजाइ दिन्छन् । सँगैको सधेरीले कहिले आली तासेर साधको ढुङगा सारेर भएपनि खुब साध मिच्थ्यो । बाबालाइ अरुको निबेक गर्दै थाहै हुदैन थियो भने आमा र उसलाइ भने त्यसको पत्ता हुन्थ्यो किनकी उसले त्यस तरकारी बारीमा फलफुललाइ भने पानी निकै हालेको थियो । फेरी उसले साँधलाइ जस्ताको तस्तै बनाइदिन्थ्यो । साह्रै घचेडो सहेको थियो । पछि ठुलो भएर त्यो साहुको जमीनपनि किनेर मेरो बारीको साथी बनाउछु भन्ने उसको मनमा दाउ थियो । कहिले काहि त कागजको भकुन्डो लात्ताले हान्दा त्यहि बारीमा पुग्थ्यो कति मायाले हुर्काएको टुसाहरु उसले आखै नहेरी बललाइ त्यहि बाट मच्चाएर त्याहिबाट आगनीमा फाल्दा लडबडिएर कति बोट भाचिन्थे पनि भने उसलाइ रिस उठयो भने त्यहि बारीमा गइ लडीबुडी खेल्थ्यो । आमा बाबाले फेरी लतारेरै या फकाएर भएपनि उसलाइ त्यहि बारीबाट घर भित्र हाल्थे । उसको रिसपनि धेरै खायो त्यो बारीले त्यैपनि उसैलाइ नै पालीरहेको थियो । एक न एक फल फलाएकै हुन्थ्यो । तर बिडम्बना जति फलाएपनि ति तिन परिवारलाइ कहिल्यै साल भरीलाइ पुग्ने अन्न उपलब्ध गराउन भने सकेको थिएन । साच्चिनै भन्नु पर्दा गर्व गर्नुपर्छ पर्ने ठाँउ छ त्यो अन्नदातामा ।


उ सानै बाट झोडी थियो मतलव मुर्खता । कसैले केहि भने त मुखले जवाफ दिन भन्दापनि हातले कर्मकाण्ड पुराइदिन्थ्यो । अनी त्यो बाट त्यस्तो कुनै प्रतिक्रिया आउदैन्थ्यो थियो । ५ बर्षमा नै आमा बाबाले उसलाइ नजिकैको प्राथामीक विद्यालयमा कक्षा एकमा भर्ना हाली दिए । मानी नमानी भएपनि गयो । एक दुइ हप्ता यस्तै भयो त्यसपछि त बानी पर्यो कि क्याहो स्कुल नै प्यारो लाग्न थालेछ बिस्तारै बिस्तारै हुलमिल हुदै केहि कुराहरु सिक्न थालेछ । तर आफनो बानी व्यहोरामा भने कुनै परिवर्तन गर्न सकेन किनकी उ एक झोडी थियो ।

छिमेकीहरुले कुरा काट्थे कस्तो उराउन्ठेउलो जन्मीयो, कस्तो बदमास भन्थे उ सहन्थ्यो तर एकजनाले उसलाइ ‘घरमा खान पाउदैन कसरी मेरो छोरालाइ मार हान्यो यसले’ भनी आखा के तरेको थियो यसरी भनी एक लौरो उठाएर दिएछ बुढो त त्यही मार्यो नी भन्दै थुचुक्कै बस्यो । अरु छिमेकीले उसको लौरो खोसे र हकारे पनि रिसले आगो हुदै घरतिर हुत्तियो । बाबाले गाली गर्नु भयो आमाले भने सम्झाउनु भयो। उसले बिद्यालयमा सुधा मिसले सिकाउनु भएको पाठ बाबा आमालाइ सुनाइदियो बुढाबुढी मख्खै परीहाले । एक छिनपछि त सुरु भइहाल्यो भोली तिन चार पटटी मेला परेको छ कसको जाने कस्को नजाने भन्ने कुराको छलफलमा दुबै दम्पत्ति व्यस्थ देखिन्थे ।

भोलीपल्टको कुरो आयो उ सानो गाँठीको भएर होला प्राय जसो कक्षा एकको लाइनमा अगाडी नै हुन्थ्यो । सँगैको साथी कुले आएन भनी । कुलेन्द्र कडेल हो नाम तर उसले कुलेन्द्रलाइ कुले भनी बोलाउथ्यो । हिजो बुढोलाइ लौरीले हानेको सजाय गल्तीको सजाय भनी लाइनमा सबैको अगाडी बोलाएर बदमास भनी दुइ तिन लौरी पिठीयुँमा हान्नु भयो विद्यालयका प्रधान अध्यापकले अझै हान्नु हुन्थ्यो कि क्या हो सुधा मिसले रोक्नुभयो । बेलुकी घर फकर्दा सुधा मिस र उ प्रायजसो सँगै फर्किन्थे मिसको घर उसको घर हुदै १० मिनेटको बाटो अली पर जानु पर्यो ।

त्यस दिनको मिसको रोकाइले उसको मनमा कौतहल जाग्न थाल्यो किन रोकेको होला अरु सर मिस हरुपनि थिए कोसैले केहि बोलेका थिएनन् । त्यो मिसलाइ मात्र किन चासो पर‍यो  भन्ने कुराले उसको कलिलो मनमा डेरा जमायॊ दुइ तिन दिनपछि मीसलाइ सोधेछ । सानो मान्छेलाइ त्यसरी सजाय दिनु हुदैन नि त फकाउनु पर्छ फुलाउनु पर्छ नी भनी उत्तर दिनु भयो । उसलाइ पनि हो कि जस्तो लाग्यो त्यस दिन देखी मिससँग अली नजिक हुन थाल्यो । बिद्यालय आउने जाने क्रममापनि मिससँगै सँगत बढन थाल्यो । मिसको सँगतलॆ छाडा काममापनि धेरै कमी आइसकेको भने एक बाट दुई कक्षामा जाँदा दोस्रो स्थान हासिल गर्यो । अबिरले रात्तामै भइ पुरस्कार लिएर मिसको हात समाउदै घरमा आउदा एक छिन त आमा बाबापनि खुशी भए भने मिसलाईपनि बधाई दिए । दुई तिन ओटा कपी चार पाँच ओटा शीसाकलम पनि थियो । आमाले भन्दै हुनुहुन्थ्यो । दुई तिन महिनालाई भने ढुक्कै भयो कापी कलम किन्नको लागी । पुरस्कार लिएर प्रगति गर्‍यो भन्नु कहा हो कहा आर्थिक कारोबारमा टेवा पुरायो भनी पो रमाउछन । हुन त त्यहा भन्दा बढि सोच्ने क्षमतापनि थिएन होला उनीहरुसँग । अरुपनि यस्तै तितामिठा घटना घटयो होला तर दिमागमा आएन ।

कक्षा दुईमा पुग्दापनि मिस साथमा नै हुनुहुन्थ्यो । बिद्यालयका शिक्षकहरु मिसलाइ कर्के नजरले हेर्थे । झन बाबुराम सुबेदी शिक्षकले त पछिपछि पनि कुरा कटदै हिडथे । बाटोमा एक सैनीक गण पार गरेर जानु पर्यो त्यसका बाटो ढुक्ने गरी गार्ड बसेका सैनीकहरुलेपनि शुशेली मार्थे, उसलाइ भने ढाहा लाग्थो । आफनो मिसलाइ र उसैमाथी मायापनि गर्ने अरुले आखा लगाउदा रिस उठनु स्वभाविक नै थियो । अरुले लानु भन्दा मै बिहे गर्छु यो मिसलाइ भन्ने सोच मनमा आउन थाल्यो अब उसको दिमागमा । उसलाइ कता कता मिससँग बिबाह गर्न मन लाग्यो । मिसलाइ भित्र भित्रै मन पराउन थालेछ । उसलाइ मिससँग हात समातेर हिडदापनि पल्ला घरका माने शान्ता भाउजुसित हात समाउदै शशुराली गएको जस्तो भान हुन्थ्यो ।अब मिसको साडीको फेरो होइन अंकमाल गर्न उसका भावना हरु आतुर देखिन्थे । मिससँगै विद्यालय जादा आफुपनि सर भए भै लाग्न थाल्यो । मिसका ति लज्जालु मिर्मिरे आखाले उसैलाइ खोजीरहेको जस्तो भान हुन्थ्यो । मिसका ति नरम हातले स्पर्श गर्दा कता कता काउकुति लाग्न थाल्यो । मिसलाइ एकोहोरो हेरेर हैरान पार्थ्यो । बिद्यालयको खाजा खाने छुट्टिमा मिसलाइ नै खोजीरहन्थे आखाहरु । यता कतै निदेख्दा सुन्यतामा बिलाउथ्यो । बाटोमा हिडने उराउन्ठेउला केटाहरुले वाह क्या छ यार भनी छेड हान्दै हिडदा मिस नसुनेको झै गरी हिडनुहुन्थ्यो पर पुगी उसलाइ नै हेरी लज्जाउदै मुस्कुराउनुहूथ्यो तर केहि बोल्नुहून्थेन । ति मौनतामा फुस्केका मुस्कानले सुमन म तिमीलाइ मन पराउछु किन अरुले मलाइ छेड हान्छन भने जस्तो लाग्न थाल्यो उसलाइ ।

मिसले पनि अरुलाइ भन्दा उसलाइ अलि बढि नै माया गर्नुहुन्थ्यो । मिसको मन पर्नुमा के कुन्नी रहस्य थियो त्यो भने जान्ने कोशीश कहिल्यै गरेन । उसलाइ यति मात्र थाहा छ म मिसलाइ मन पराउछु । मीससँग बिबाह गर्यो भने कापी कलम पनि मिसले नै किनी दिनुहून्छ खानापनि मिसले नै बनाउनु हुन्छ लुगापनि धोइदिनु हुन्छ । घरमापनि सिकाइदिनु हुन्छ यस्तै यस्तै फाइदाहरु मनमा आउन थाले । अझै मुख्य कुरो कसैले आखापनि नलगाउने यस्तै यस्तै सोच्दै कक्षा दुइको पढाइमा धेरै लत छोडेछ परिणाम पास मात्र भएछ ।

मिसलाइ नरमाइलो लागेछ कि कसो हो उसलाइ बोलाएर किन यसरी बिग्रेको पढाइ त किनै खस्केछ नि त भन्नुभयो, हप्काएजस्तो पनि गर्नु भयो । उसले साहास बटुलेर मिसलाइ भनेछ मिस म तपाईसँग बिहे गर्न चाहान्छु । मिसले उसको अन्तरआम्माबाट निस्केको यो कुरालाइ हावामा उडाउदै हास्दै भन्दै हुनुहून्थ्यो कस्ले सिकायो यस्ता कुरा, यो बेला त पढने हो पढेर ठुलो मान्छे बन्नु पर्छ सबैले मान्ने गुन्ने हुनुपर्छ, देश आफनो आमा बाबाको सेवा गर्न सिक्नुपर्छ यति सानो उमेरमा पनि बिहे गर्छ त । पछि म ठुलो हुन्छु त्यसपछि तपाइ म सँग बिबाह गर्नु हुन्छ भनी सोधेको मुस्कुराइको साथ ल, ल सोचैला नी भन्नु भयो । उसको मनमा एक निराशको साथै उत्साहपनि थपियो । निराश यस कारणले भयो की मिसले उसको प्रेम प्रश्तावलाइ हावामा उडाइदिनु भयो भने उत्साह चाहि सोचौला नि भन्ने वाक्यले अलि बढि आश जगायो ।

बच्चाले पनि कत्ति साह्रै हेपेको हो मलाइ त भन्दै गुनगुनाउदै हुनुहुन्थ्यो । उ भने निराश मुद्रामा एकोहोरो मिसलाइ हेरीरहयो । यसरी नै दिनचार्यहरु वित्दैगयो एक समय एक सैनिक जवान बाटो ढुकी बसेको रहेछ मिससँग बोल्नको लागी । हाइ हेलो भन्दै नजिकीदै गयो । प्राय: त्यो बाटो बढि नै जिस्काउने त्यही नै थियो । उसलाइ सहि नसक्नु भएको थियो तर मिसले समाल्नु भयो नत्र त्यहा पक्कैपनि ठुलै घटना हुने सक्ने अबश्था आएको थियो । यसरी नै त्यो सैनीक हप्ता महिना गर्दा गर्दै मिसको प्रेममा पागल भनु या मीसलाइ आफनो प्रेममा फसाइसकेको रहेछ । तर उसको भने धेरै पढेर मिससँगै बिबाहगर्ने सोचले पढनमा पनि ज्यादै ध्यान बढदै गएको थियो । फलस्वरुप दुइबाट तिनमा जादा दोस्रो स्थान नै हासिल गरेछ । मिसपनि रमाउनु भयो भने उसको त झन कुरै भएन । उसले मिसलाइ फेरी सोध्यो । मिस अब म यसरी नै पढदै गए भने तपाइ मसँग बिबाह गर्नु हुन्छ नी भनेर । तर यो बेला भने मिसले ज्यादै चोटिलो जवाफ दिनु भयो ।

छाँगाबाट खसेको जस्तो भयो! चारै तिर अन्धकार छायो, मनमा अनेकौ तरङगहरुले गाठो पर्न थाल्यो । भोलीपल्ट देखी उ मिसबाट टाढा टाढा हुन थाल्यो । बिद्यालय आउँदा पनि मिस भन्दा पहिल्यै आउने र जाँदा पनि पहिल्यै जाने बानी बन्यो । यता उता गाउ समाजमा मानिसहरु शङखाले हेर्थे । कुकुरलाइ घ्यु पच्दैन भनेको यही रहेछ भनी कुरा काटन थाले । उसको बाबा आमापनि मिससँग किन रिसाएको भन्दै गाली गलज गर्थे । रिसाएको छैन भनी कुरा टारिदिन्थ्यो । यसरी नै मिस र सैनिकको प्रेम भने दिनको दुइ र चारको चौगुनाले बढदै गएछ । बिद्यालयसम्म उहि सैनीक पुराउन जान्थ्यो भने छुटदापनि उही सैनीक बिद्यालयको गेटमा नै हाजीर भइसकेको हुन्थ्यो । उ कहिले मिसहरुको पछि पछि हुन्थ्यो भने कहिले अगी अगी हुन्थ्यो । उसलाइ समाउने हात कहिले सैनीक समात्थ्यो भने कहिले काही गाउले को आखा छली गाला समेत चिमोटन पछि पर्दैनथ्यो । उ धेरै भावुक बन्नै गयो । खै उसलाइ कता चित्त बुझेन छ की कसो हो उ एक दिन आमा बाबासँगै भन्दैथियो । म त्यो स्कुलमा पढ्दिन् । अर्कै स्कुलमा पढाइदे नत्र स्कुलै जान भनी धम्कायो पनि । तर बाबु आमालाइ त्यसको धक्काइले केहि छोएन भनु या उनीहरुको त्यस्तो कुरामा सोच्ने फुर्सदै थिएन ।

एक दिन एक्कासी गाउ छोडी पलायन भएछ । गाउ नै शुन्यताले छायो । मिसलाइ पनि केहि सँकोच त परेको थियो तर उनी अपरिचीत जिबनसाथीको माया प्रेममा फसेर होकि के हो त्यति ख्याल राख्नुभएन । केहि महिनापछि बढदो प्रेमलाइ अझ सहि दिशा दिनकोलागी मिसले आफनो सर्बस्व ठानेर सबै जिउ ज्यान सुम्पीदिनुभएछ परीणाम रुवरुप मिस बिबाह पुर्व नै दुइ जिउको हुनुभयो । एक सैनीक नै थियो सरुवा मागेर त्यहा बाट अन्तै सरुवा भइदिएछ । गाउ समाजबाट घृणा अनी तिरस्कार सहन नसकी मिसले एक दिन आफुलाइ आफै देखी घृणा लागेछ कि कसो हो डोरीको साहायताले बगैचाको आपको हाँगामा झुण्डीएर प्राण फालीदिनु भएछ ।

दिन वित्यो, हप्ता वित्यो, बर्ष वित्यो । यसरी नै समयको चक्रले नेटो काटदै थियो । सँयोग भनुँ या परिस्थितिले चौध वर्षपछि मेरो सरुवा त्यहि सुधा मिसको गाउमा पार्यो । मनमा कता कता विगतका अविस्मरणीय क्षणले डर जमाउन थाल्यो त्यैपनि जानु नै पथ्र्यो म सरुवापत्र लिएर त्यहि ठाँउमा पुग्याँ । माघको महिना डम्म कुहिरोले ढाकेको मौसम एकदम ठन्डी थियो । आज गाउ घुम्नुपर्यो भन्ने सोचले म एक अन्जान पर्यटक बनेर त्यहि गाउ घुम्न निस्केँ । मनमा भने कता कता डर लागीरहेको थियो । विस्तारै पाइलाहरु अगाडी बढे अलि परैबाट सुमनको घर देखियो नजिकै पुगी नियालेर हेरेँ कतै केहि देखिदैन थियो । बाह्रैमास फल फलाउने ति बारीमा गन्धे र लेते झारले सेत्तामै हुने गरी फूल फूलाएका रहेछन भने सधेरीले ले साँध मिच्दै आधि भन्दापनि बढिमा आफनो कब्जा जमाइसकोको रहेछ । घरका काठहरुमा धमिराले गण जमाइसकेको रहेछ भने छानाहरुमा ऐजेरु अन्य झार उर्मीएको देखियो । यसैले प्रष्ट देखायो कि यो घर छोडेको पनि धेरै बर्ष भइसकेको हुनुपर्छ । नजिकैको छिमेकी भन्दैहुनुहुन्थ्यो सुमनको पलायन पछि बुढाबुढि देवघाट बृद्धा आश्राममा शरण लिएका छन रे । मन खल्लो भयो । विस्तारै विस्तारै बाक्लो कुहीरोलाइ पर्छादै पारीलो घामले डेरा जमाउदै थियो । अहिले भने पारी पट्टि भएको हो हल्ला र्छलङग देखीयो मानिसको घुइचो थियो । साना तिना बालबच्चाहरु रङगी बिरङगी पोशक हातमा पुजाका सामाग्रीले सजिएका थिए । मलाइ लाग्यो पक्कै त्यहा कुनै जात्रा हुनुपर्छ । पाइलाहरु ति भिडतिरै बढे । मन कापिरहेको थियो । नजिकै पुग्दा त्यहा सरस्वतिको मन्दिर बनेका रहेछ । श्रीपंचमीका दिन भएकाले सबै प्राय स्कुले बालबच्चाहरु लाइन बध्ध भएर बसेका रहेछन । मन्दिर नजीकै पुगेँ मन्दीरको साइनबोर्डमा मेरा आखा टक्क अडिए शिक्षाका सुधा विश्वकर्माको नाममा बनाइएको सरस्वतिको मन्दीर पो रहेछ । मेरो सातोपुत्लो गयो । हो तिनी उही सुधा रहेछिन । उनीको सबै जानकारी त्यहि बोर्डमा लेखीएको थियो मेरै कारणले उनीले यो सँसार छोडेकी रहेछिन । मैले गरेको पापको पश्चतापले मलाई नै जलाउदै थियो । लाखौ अन्धा बालबालीकाहरुलाइ ज्ञानको ज्योति दिने एक विद्याकी देवी सरस्वतिलाइ पो मैले दुइदिनको लागी ओछ्यान तताउने साधन बनाएको रहेछु । आफुले गरेको त्यो कुकर्मको फलले मलाइ नै पोल्दै गयो ।यस्तै यस्तै सोचले गर्दा अनायसै आशुका ढिक्काहरु ख्स्न थाले । नजिकै आएर एक स्कुले नानी भन्दै थिइन ‘सर! सर तपाइपनि मन्दीरमा पुजा गर्न आउनु भएको हो यो फुल चढाउनु, विद्या की देवीले धेरै ज्ञान दिनुहुन्छ’ । साच्चीनै भन्नुपर्दा म मा ज्ञानकै कमीले गर्दा यो परिस्थीति व्योहोर्नु परेको थियो । फूल हातमा लिएर चढाउन के लागेको मात्र थिएँ मन्दिर भित्रबाट सुधा मिस ज्ञानको ज्योतिले भन्दै थियो । ‘सैनिक दाइ! अरुपनि मैले जस्तै अकालमै ज्यान फाल्ने कति भए?’ ।मैले गल्तीको पश्चताप गर्ने ठाउँसम्मपनि पाइन । ………………………।

सुमन भित्रको सुधा कथा सँग्रहबाट साभार ।



अतितको पानाबाट (चौथो भाग)

(अतीतको पानाको पहिलो भाग यांहा छ। अतीतको पानाको दोस्रो भाग यांहा छ।) तेस्रो भाग भाग यांहा छ।

पत्र उनैको थियो। ब्यग्रताका साथ पढ्नथालें। पत्रको पहिलो अंशमा उनले मेरो पत्रको प्रतिक्षा गरीरहेकी र किन पत्र नलेखेको भन्ने गुनासो ब्यक्त थियो। पहिलो पत्रमा केही चित्त दुख्ने कुरा भए माफी मागिएको थियो र बांकि भागमा उनले मलाई मन् पराएको कुरा स्वीकार गरेकी थिईन् र जीवन् संगै बिताउने सपना देखेको कुरा उल्लेख गरेकी थिईन् । अनि धेरै कुराहरु-एउटा प्रेममा परेकी किशोरीले लेख्ने चलन् चल्तीका सबै कुराहरु थियो त्यसमा। मैले साथीहरुको प्रेमपत्र लेख्ने र अरुको पनि पढ्नेगरेकोले ती सबैका भाषाहरु करीब् करीब् उस्तैनै लाग्यो। कुनै नवीनता थिएन। तर त्यो कसैले मेरै लागि लेखेकोले असाधारण थियो। हिन्दी सायरीबाट प्रभावित् ती वाक्यांशहरु मेरो मनमा आंधि-तूफान् मचाउन सफल् थियो। पत्र बारंबार पढें र हरेक् पटक् मिठो लाग्यो। जीवनको पहिलो अनुभूति-एउटा मिठो अनुभूति-जुन् फेरि कहिले अनुभव हुन सक्दैन। भएन। त्यो दिनको मेरो पढाइमा बिस्राम् लाग्यो। पढाइमा एकाग्र हुन सकिन र घुम्न निस्किएं। घर नजिक नदी थियो। नदीको किनार किनार धेरै तलसम्म पुगें। हिउंदको महीना, तराईको समथर मैदान। नदीमा, कुनै ठूलो छाल् थिएन-तरंग थिएन। तर मेरा मनका ज्वार्-भाटाहरु उच्च थिए। केही पाउंदाको खुशी थियो। रोमान्च थियो। नदी बही रहेको थियो। पानी जस्तै मेरा सोचाइहरु पनि बगीरहेका थिए-एउटा अनन्त यात्रामा।

त्यस पछि पत्राचारको क्रम् चल्न थाल्यो। हरेक हप्ता-दश दिनमा पत्रको आदानप्रदान् हुन्थ्यो। अकास भन्दा फराकिलो-समुद्रभन्दा गहिरो मायाप्रीतिका कुराहरु लेखिन्थ्यो। अर्को जन्म हुन्छ कि हुन्न थाहा थिएन तर हरेक जन्ममा साथ दिने कसमहरु खाइन्थ्यो। कुनै कुनै पत्रमा त उनले रगतका थोपाहरुलेसमेत केही शब्द लेख्थिन्। सायद मैले पनि त्यसै गरें हुंला। मेरो एस् एल् सी परीक्षा सिद्धियो। परीक्षा समग्रमा राम्रै भयो। परीक्षा पछि म त्यसै हल्लिरहेको थिएं। एक् दिन स्कूल तिर गएको बेलामा मेरो गणित शिक्षकले-त्यसै किन समय खेर फाल्छस्, स्कूल आएर पढाउने गर। क्याम्पसको लागि अलि खर्च जुट्छ भन्नु भयो र स्कूलको निजीस्रोत बाट तलब भुक्तान् हुनेगरी ठाडो अश्थायी नियुक्ति दिलाइ दिनु भयो। वहांले भनेको कुरा अकाट्य हुन्थ्यो। कतैबाट बिरोध् आएन र म शिक्षक भएं। म तासको जोकर जस्तो थिएं-जता पनि फिट हुने। वहांले अरु शिक्षकको बढी भएको पिरिएडहरु झिकेर मलाई दिनु भयो-कुनै कक्षामा गणित पढाएँ, कतै सामाजिक शिक्षा,कतै नैतिक् शिक्षा आदि-आदि।

एउटा असहज परिस्थिति आयो। मलाई उनको कक्षामा पनि पढाउन पर्ने भयो। बिषय चाहि के थियो कुनि, मैले भूलें। अब म उनको शिक्षक बनेको थिएँ। शिक्षकको मर्यादामा बस्नु पर्ने र आफ्नो प्रेम पनि जोगाइराख्न पर्ने। सके सम्म सामान्य हुने कोशीस् गर्थें। उनलाई गर्ने ब्यबहार अरुलाई गर्ने ब्यबहारसंग फरक् वा बिशेष नहोस् भन्ने कुरामा सजग थिएं। मलाई याद छ, स्कूलका केही शिक्षकहरुको केही छात्राहरु प्रति बिशेष लगाव रहेको कुरा चर्चामा आइरहन्थ्यो र म त्यस्तो चर्चाको बिषय बन्न नपरोस् भन्ने चाहन्थें। कक्षामा सोधिएको कुराहरुको उत्तर् दिन नसक्दा छडी खाने पंक्तिमा तिनी पनि पर्दथिन्। तर भेटमा वा पत्रमा माफी मागिहाल्थें र उनले पनि मेरो स्थिति बुझेको र कुनै गुनासो नरहेको कुरा ब्यक्त गर्थिन्। मेरो प्रेम रथ आफ्नै गतिमा चलिरह्यो। कुनै जात्रा, मेलामा भेटने गरिएन न भागेर फिल्म हेर्न गइयो-जुन त्यतिखेर प्रेमीहरुको चलनचल्तीको कुरो थियो। यस्तैमा मेरो एस् एल् सी को रिजल्ट पनि आयो। प्रथम् श्रेणीमा राम्रै अंक ल्याएको थिएं। अब के पढ्ने कुन कलेज् पढ्ने आदि कुराहरुमा बढी ब्यस्त हुनथालें। तर यस् बिचमा उनका केही पत्रहरु अलि अनौठा आउनथाले।

क्रमश्:



गजल - सबको मनमा बसिदिने रैछौ तिमी दौतरी

आचार्य प्रभा

सबको मनमा बसिदिने रैछौ तिमी दौतरी
आकाश,धर्ती जोडीदिने भैछौ तिमी दौतरी।

भावनालाई बल्छी थापी सबलाई खुराक पुर्‍याउने
एकमात्र छरितो हल्कारा रहेछौ तिमी दौतरी।

संसारभरी फैलिएर सबलाई खुशी बनाउने
मनोरन्जनको प्रतिक झैछौ तिमी दौतरी।

जब खोल्छु तिम्रो पन्ना मनै प्रफुल्ल हुन्छ
पुर्णिमाको चन्द्र जस्तै हँसिली नैछौ तिमी दौतरी।

(अमेरिका)
(दौतरीको उत्त्रोत्तर कामना साहित उसैमा समर्पित गजल)



December 21, 2008

हबल्दार !, मास्टर !, र हुट्टीट्याउँहरु !

हवल्दार!, तिमि हवल्दार थियौ
हवल्दारै रहेको भए ठीकै हुन्थ्यो
देशै चलाउँछु भनेर तम्सियौ
पटक पटक मौका पायौ, तर
न त देश नै चलाउन जान्यौ
न आफूलाई नै अयोग्य ठान्यौ

शकुनिका पासा फ्याक्यौं
छिमेकका झाँक्रि डाक्यौ
भष्माशुरको बुई चढी
तिम्ले ईन्द्रासन ताक्यौ

अब तिमि मात्रै हैन देशै डुबाएर छाड्यौ
हबल्दार!
तिमि हवल्दारै भएको भए
कमदेकम देश त डुब्दैन थियो

***         ***          ***
मास्टर!, तिमि मास्टर थियौ ।
मास्टरै रहेको भए राम्रो हुन्थ्यो
कुण्ठाको आवेगमा
दुई-चार लट्ठी हान्न पाएकै थियौ
देशै युद्धभुमी बनायौ

पाठशाला र कक्षा चलाउन नसक्ने
मुलुकै हाँक्न निस्कियौ
सय जना पढने स्कुल र
अढाई करोड जनातको मुलुक
कसरी यौटै हुन्थ्यो?

यो जान्नै सकेनौ!
त्यो धान्नै सकेनौ!
उधारो नीति, सापटीको ज्ञान!
तिमि मात्रै बगेको भए
कुनै रुनु थिएन
तिमिले त लहडमै देशै बगाएर छाड्यौ ।

हबल्दार! मास्टर! र हुट्टीट्याउँहरु

देश तिम्रा बुताले चल्दैनन।
हबल्दार हबल्दारी मै,
मास्टर, पाठशाला मै
र, हुट्टीट्याउँ बाँसको टोडकामै
ठिक थिए, छन र रहने छन।



पूर्वराजा ज्ञानेन्द्र र हामी

शेखर ढुंगेल
क्यालिफोर्निया

नेपालको दशक लामो जनयुध्दले ल्याएको राजनीतिक उतारचढाव परिवर्तनको अभ्यास गर्दै आजको अवस्थासम्म आइपग्दा हामी नेपाली एकदमै स्वार्थी, हतारमा निर्णय गरी फुर्सदमा पछुताउने अनि जता पात हल्लियो त्यसै कुदीहाल्ने प्रवृत्तिमा पर्दछौं । जुन समाजशास्त्री एवं मनोविदहरुको बिश्लेषणमा अपरिपक्व मानसिकताको चरम लक्ष्यण हो । यस्तो प्रवृत्तिलाई मानवशास्त्रीहरु अध्ययनको कमी अशिक्षा एवं अभावको उपज पनि भन्दछन् ।

यो पंक्तिकार यस्तै प्रवृत्तिको शिकार भई १२ वर्ष अगाडि निक्कै लज्जित अनुभव गर्न पुगेको थियो । भएको के थियो भने १९९५-९६ तिर जापानको टोकियोमा एकजना नेपाली व्दारा जापानी नागरिकको बिभत्स हत्या भनी पत्रपत्रिका टीभीमा समाचार प्रचारमा आएको थियो । गैह्रकानुनी रुपमा बसेका नेपालीहरुको बीचमा एक स्वरले अभियुक्तको बिरोधमा कुरा काट्दै थिए अपराधीले नेपालीको बदनाम गरायो । उसलाई खोज्ने क्रममा सबै नेपालीले दुःख पाउने भए आदि आदि । यसै आशयको कुरो मैले जापानिज मित्र सामु राखें उनले भने- तिमीहरु त्यसो नभन घटना घट्यो पत्रिकाले लेख्यो त्यो असत्य पनि त हुनसक्छ । प्रहरीको अनुसन्धान र अदालतको निर्णय नआउन्जेल कुनै धारणा बनाउनु बुध्दिमानी हुन्न ।

यही प्रसङ्गमा पूर्व राजा श्री ५ ज्ञानेन्द्रले शान्तिपूर्वक बहिर्गमन रोजेपछि उनकै आफन्त, उनका भजन मण्डली बनी सडकबाट करोडपति बनेकाहरु नै पूर्वराजालाई लान्छना आरोपका विषबमन गर्न थालेका छन् । उनी शक्तिमा हुँदा हुण्डी खाने, भजन गाउने दर्शन पाउन चप्पल छाडेर दौडने, उनको नाम बेचेर ठगी खानेहरु आज उनलाई बदनाम गर्न अग्रपंक्तिमा देखिएका छन् । असफलताको दोष एक्लो पूर्वराजा ज्ञानेन्द्रको काँधमा थोपर्ने दुस्साहस तिनै व्यक्तिहरु गरिरहेका छन् । जुन कटु यथार्थ पचाउन गाह्रो विषय बनेको छ ।
पूर्वराजाको असफलता सँगसँगै उनको नाममा लुटेर खानेहरु कोही विदेश भागे त कोही पानीमाथि ओभानो बन्न उनकै गल्ती देख्न थालेका छन् । १९ हजार निर्दोष नागरिकको हत्याका योजनाकारलाई आफ्ना भाग्यबिधाता देख्न थालेका छन् । स्वार्थी मानसिकताका यस्ता व्यक्तिहरु आफुलाई समय चिन्नसक्ने र आफ्ना पूर्व अन्नदाता राजालाई समय चिन्न नसक्ने भनी आरोप लगाउन हिच्किचाउँदैनन् ।

यस्तै बतासे लांछनाको भारी बोकी बसेका पूर्वराजा ज्ञानेन्द्रको कदमको पृष्ठभूमितर्फ फर्केर हेरौं । सानाठूला, गरीव-धनी कसैको ज्यानको सुरक्षा थिएन । सरकार शान्तिसुरक्षा दिन असफल थियो । सरकार चारैतिरबाट असफलताको चक्रव्यूहमा फसेको थियो । जताततै आतंकको साम्राज्य फैलिएको थियो । त्यति नै बेला सरकार प्रमुख तत्कालीन प्रम शेरवहादुर देउवालाई हटाउने सिफारिस गर्न पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दरबार जानु भयो । वहाँकै सल्लाहमा पूर्व राजा ज्ञानेन्द्रबाट देउवालाई हटाउने काम भएको हो । तत्कालीन संविधानतः संसद सदस्यहरुको बैधानिकता समाप्त भैसकेको थियो । त्यसैले दलहरुको समर्थन लिई सरकारको नेतृत्व गर्न आव्हान गर्दा दलहरुले सरकार प्रमुखको नाम सिफारिस गर्न नसकी दुईहप्तासम्म देश सरकारबिहीन हुनपुग्यो । यो दलहरुकै जिम्मेवारी थियो । अन्तमाः बाध्य भएर कदम चाल्नुको बिकल्प थिएन । पूर्व प्रम चन्दको राजनीमापछि परिस्थिति संकटपूर्ण बन्यो ।

प्रतिगामी नन्दीभृङ्गीहरुको चंगूलमा परी पूर्व राजा ज्ञानेन्द्र कस्सिए । तत्कालीन अवस्थाको मुख्य शत्रु राजाबाहेक अरुसित कुरा नगर्ने भन्ने माओवादीको रणनीतिले पनि उनलाई उक्सायो । साँच्चिकै वार्तामा आई समस्या समाधानमा साथ देलान् माओवादीले देशको शान्तिसुरक्षा जनताको सुखदुःखमा साथ दिई जस पाउने उनको लालच अनि विश्वासमा तुषारापात भयो- जसरी कोइराला गलत पात्रहरुका कारण असफल भए त्यसै गरी पूर्व राजा श्री ५ ज्ञानेन्द्र पनि असफल भएका हुन् ।

तर पूर्व राजा ज्ञानेन्द्रलई जे जति आरोप-लांछनाको भारी बोकाए पनि वास्तवमा त्यो सबै मिथ्या रहेछ भन्ने साबित गरेर देखाई दियो समयले । मानिसहरु भन्दथे यी साह्रै घमण्डी छन् जिद्दी छन् यिनले सजिलै सत्ता किन छाड्लान् माओवादीले सत्ता पाउन जनयुध्द र रक्तपात मच्चाउनु पर्‍यो। गिरिजाले सत्ता टिकाउन रुकुम रोल्पाका सैयौं घरभित्र सैयौं निर्दोष नागरिकलाई जिउँदै जलाए तर तत्कालीन सेनाका परमाधिपति भएका राजाले १९ दिने जनआन्दोलनकै भरमा सत्ता छाडिदिए सुम्पिदिए । के प्रचण्ड र गिरिजाले त्यसरी त्याग गर्न सके ?।

पूर्व राजाले आफैव्दारा पुर्नस्थापित गरिएको संसदले जबर्जस्ती गणतन्त्रमा जाने भनी गरेको निर्णयमा एक शव्द बोलेनन् । आफुप्रति भइरहेको एकतर्फी अन्यायलाई चुपचाप सहेर बसे । कतै कुनै गुनासो गरेनन् । नेपालीहरुको एकता शान्ति र स्थायित्वको कामना गरिरहेका छन् अद्यापि । जनताको आदेश शिरोपर गर्दै मर्नै परे पनि नेपाली भएरै यही भूमिमा मर्ने प्रण गरेर एक सच्चा देशभक्त इमान्दार नागरिकको स्थान लिन सफल भएका छन् पूर्वराजा । समयलाई चिन्ने उनी बाहेक अर्को व्यक्ति को देखियो आज।

संविधानसभा निर्वाचन अगाडि नै टिके सांसदहरुले संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने असंवैधानिक निर्णय गरिसकेको थियो । तर पनि पूर्वराजा ज्ञानेन्द्रले कुनै त्यस्तो हरकत गरेनन् जसले संविधानसभा निर्वाचन बिथोलियोस् । उल्टो उनले सबैको धारणा बिपरित यस्तो महान प्रजातान्त्रिक अभ्यासमा शान्तिपूर्वक सहभागी बनी संविधानसभाको निर्वाचन सफल पार्न जनतालाई आह्वान गरे ।

नेपालका अरु नेताहरुले नबुझे पनि पूर्वराजा ज्ञानेन्द्रले बुझेको एउटै सत्य के देखियो भने हाम्रो देशको राजनीति नेपालीको हातमा रहेन उनको सबैभन्दा ठूलो चिन्ता नै सार्वभौम नेपालको अधिकार अस्तित्वमाथि कसैले धावा बोल्न नपाओस् नेपालको स्वतन्त्र बर्चस्व समाप्त नहोस् नेपाली बिभक्त नहुन् राष्ट्रिय एकता र अस्मिताको रक्षा होस् भन्ने देखिन्छ । बास्तवमा यी कुराको परिपूर्ति बिना न त हाम्रो देश रहन्छ न त प्रजातन्त्र नै ।

इमान्दारिताका साथ भन्ने हो भने हज्जारौं गलत नियतका नन्दीभृङ्गीहरुका उक्साहट बिलौना यातनाकाबीचबाट सरक्क माथि उठी जसरी पूर्वराजाबाट दरवार त्यागेर जंगलतिर उकालो लाग्ने काम भयो उनलाई आधुनिक बुध्द भन्दा फरक पर्दैन । जसरी तत्कालीन राजकुमार शिध्दार्थ शाक्य विश्व मानवजातिको शान्तिको खोजीमा राजकाज त्यागी तपस्यामा लीन भएका थिए त्यसैगरी जनतामा अशान्ति अराजकता अस्थिरताको बीउ म भन्ने भ्रम नपरोस् मेरो बिना देशमा सुखशान्ति छाउँछ भने म बाधक बन्दिन भनी हाँसी हाँसी कुनै गुनासो नपोखी दरवार त्याग्ने पूर्व राजा ज्ञानेन्द्रलाई नेपालको आधुनिक बुध्द भन्दा फरक पर्दैन । तर पूर्वाग्रहीहरुमा यति उदारता कहाँ पाउनु।

बास्तवमा उनले समय नचिनेको बुध्दि नपुर् याएको भए जे पनि हुनसक्थ्यो । शैनिक विद्रोह रक्तपात शैनिक शासन माओवादी जनगणतन्त्र वा विदेशी हस्तक्षेप जे पनि । तर पूर्वराजाकै बुध्दिमत्तापूर्ण सुझबुझमा नेपाली जनताले आज प्रजातान्त्रिक अभ्यासको अभिलाषा पुरा गर्ने मौका पाएका छन् । नेपालको २४० वर्षे इतिहास एवं नेपाली संस्कृतिको एउटा पाटो बनिसकेको राजसंस्था यति सजिलै र शान्तिपूर्वक हट्ने कसैले सोचेका थिएनन् । पूर्व राजाले एक्लै गरेको यो बुध्दिमानी कामले नेपाली जनतामात्रै होइन नेपाल र नेपालीको भलो चाहने सबै राजाप्रति कृतज्ञ भएका छन् । समय र जनमतको कदर गर्ने नेपाली राजाहरुको परम्परामा यो अर्को कडी परिनिर्माण थियो पूर्वराजाको शान्तिपूर्ण तरिकाले राजकाज परित्याग ।

आफु अमुक राजावादी भनाउनेहरु कथित बरिष्ठ पत्रकारहरु पूर्व राजाले हाम्रो सल्लाह बुझें बुझें मात्र भने तर सुनेनन् भनी राजालाई धारेहात लगाई हिडेको सन्दर्भमा पूर्व राजाले धेरै अगाडिको सम्भाव्य परिस्थिति बुझिसकेका रहेछन् भन्ने कुरो हाल आएर प्रमाणित भएको छ । सबैको एउटै भनाई थियो : राजा प्रजातान्त्रिक शक्ति अर्थात् तत्कालीन दलसित मिलेर जानुपथ्र्यो । तर पूर्व राजालाई थाहा थियो: दलहरु कै कारण प्रजातन्त्र राष्ट्रियता र राजसंस्था दाउमा गइसकेको थियो । उनीहरुबाट हत्यािहंसाको अन्त गराई शान्तिसुव्यवस्था कायम हुनसक्ने थिएन । आफ्नो नामको जुवा अरुलाई खेल्न दिनुभन्दा स्वयम् किन नखेल्ने हार्नु जित्नु त आज या भोली पक्कै छ उनलाई स्पष्ट थियो कि दलहरुले उनको रक्षा गर्न सक्दैनन् । उनीहरुको मार्फत राजसंस्था सिकंदा धेरै ढिला र अपि्रय स्थिति आउनेमा शंका थिएन ।

गद्दीहीन बनी शान्तिपूर्वक अध्ययनमा तल्लीन पूर्व राजाले देश र जनताको हित बाहेक केही सोचेका रहेनछन् । उनलाई लगाइएको महत्वकांक्षी भन्ने आरोप पनि मिथ्या साबित भएको छ आज । पूर्व अधिराजकुमार हुँदा कम बोल्ने र कमै जनसम्पर्कमा हुँदा बुध्दिमानी छन् रे भन्ने सुनिन्थ्यो । दरवार काण्डपछि असहज परिस्थितिमा राजा बन्न पुगेका पूर्व राजा ज्ञानेन्द्र लांछना र आरोपका थुप्रै पीडादायी भारी बोक्न बिबश भए । उनीमा साँच्चिकै त्यस्तो महत्वाकांक्षा र गलत नियत थियो भने बोकीसकेको त्यत्रो राजकाजको भारी सजिलै बिसाएर किन हिंड्थै सहजै अनुमान गर्नसकिन्छ कि पीडित पूर्व राजाले जीवनमा ठूलै उतारचढावको अनुभवबाट खारिएरै होला अन्तिम समयमा जुन साहसिक स्वयम् धैर्यतापूर्वक निर्णय गरी एक्लै अगाडि बढी दल र जनताको लागि राजनीतिक मार्ग खुला गरिदिए त्यसको लागि पूर्व राजा ज्ञानेन्द्रको हामी नेपालीले प्रशंसा एवम् आभार व्यक्त गर्न कन्जुस्याईं गर्नु हुन्न । संभवतः विवेक र उदारता भनेको यही हुनेछ ।