December 6, 2008

गजल - तिमी फूल बनेर हेर


बसन्त मोहन अधिकारी

तिमी फूल बनेर हेर ।
मेरो पिडा सहेर हेर ।

पूजाको सरदम बनी
मन्दिरमा गलेर हेर ।

फक्रिएर बंगैचा बिच
आफैलाई चुसेर हेर ।

बनेर सृष्टि कर्ता तिमी
सुन्दरता लुछेर हेर ।

हे निष्ठुरी भमराहरु !
आफ्नो रुप फेरेर हेर ।

जीवनको उमङ्ग बिच
आफैलाई चुडेर हेर ।

अरुको गला सजाउन
सियोमा उनिएर हेर ।

फूल जस्तै छ यो नारी
कठ्ठै ! जीवनको खेर हेर।



अतीतको पानाबाट (दोस्रो भाग)

(अतीतको पानाको पहिलो भाग यहा छ)

यसो हेर्दा नौ-दश कक्षामा पढ्ने देखिए पनि तिनी सात कक्षामा पढ्दीरहेछिन। तिनकै क्लासमा मेरो एउटा साथी थियो जसले पढ्न ढिलो शुरुगरेको ले भक्खर् सात कक्षामा पुगेको थियो। उ बाट तिनको बारेमा केहि सोध्न थालें। तिनको खास् घर तनहुंको खैरेनीटार तिर रहेछ र यहा सानिमाको घरमा बसेर पढ्न आएकी रहिछन्। मलाइ त्यतिखेर खैरेनीटार् कहा छ भन्ने पनि थाहा थिएन। तिनी राम्री थिईन् तर अहिले झन् तिनको सुन्दरता बढ्दै गए जस्तो लाग्न थाल्यो। दिन् पर् दिन् झन् झन् राम्री। तिनले हेरेको, हांसेको, सबै राम्रो लाग्न थाल्यो। अझै बोलचाल् भने भएको थिएन। त्यसै त केटीहरु संग बोल्न गाह्रो, झन् "कुछ् कुछ् होता है" हुन थाले पछि त झन् कस्तो गाह्रो। प्रयास् चांहि जरुर् गरें। तिनी बस्ने घरको बाटो, काम् नपरे पनि अलि बढि हिंड्न थालें। तिनकी सानीमाको पसल् पनि रहेछ र केही किन्ने निहुँले पसल् पनि जान थालियो, तर नचाहिएको भए पनि सामान् किन्यो, फर्कियो, र तिनीलाइ देखिईहालेमा यसो मुस्कायो अनि हिंड्यो। खास केही प्रगति भएन।

मैले तिनको कक्षामा पढ्ने मेरो साथीसंग कुरा छेडें। उसले चिट्ठी लेख्, म दिन्छु पनि भन्यो, तर हिम्मत् भएन। त्यतिखेर कस्तो स्थिति थियो भने, कुनै केटाले केटीलाई चिट्ठी लेख्यो र त्यो स्वीकार् भएन भने त्यो चिट्ठी स्कूलको अफिसमा पुग्थ्यो अनि शिक्षकको भक्कुमार् खाइन्थ्यो । र कहिले काहि त केटाको अभिभावकलाई समेत स्कूलमा झिकाइन्थ्यो। मेरो क्लासको दुई-तीन जना आशिक-दिवानाहरुले त्यो भोगि सकेका थिए। म त झन् क्लासको फर्स्ट ब्वाइ, अनुशासन, लगनशील र जिम्मेवार नमुना बिध्यार्थी भनेर चिनिएको। कहिले कांही यो इज्जत भन्ने कुराले पनि अवरोध पुर्याउदो रहेछ। चिट्ठी दिएर कथंकदाचित् approval भएन र त्यो स्कूलको अफिसमा पुग्यो भनेत बर्बादै भयो नि। यत्तिकैमा दशैं आयो। दशैं, नयाबर्ष आदिको मौकामा शुभकामना साटासाट खुब् हुन्थ्यो। कसले कसलाई पठायो, के लेखेर पठायो, र त्यसको के अर्थ हो, खूब् चर्चा हुन्थ्यो। अकास पात्ताल् जोडेर नेपाली अनि हिन्दीमा सायरी लेख्थे। कत्ति साथिहरुको शुभकामना पत्र, प्रेम् पत्र मैलेनै लेखि दिएको पनि थिंए। स्कूलको साहित्य प्रतियोगिताहरुमा, कथा, कविता, निबन्धहरु लेख्ने गर्थें र स्कूलको भित्ते पत्रिकामा त म सम्पादक मण्डलमा नै थिएं। त्यसैले यसको साहित्य राम्रो छ भनेर केही साथीहरु प्रेम पत्र लेखाउन म कहा आउथे। मलाई यसको राम्रो अनुभव थियो। तर आफ्नो लेख्ने बेलामा कस्तो गारो।

मेरो साथीले दशैंको यो मौकामा शुभकामना पत्र पठाएर हेर्न भन्यो। मलाई पनि हो जस्तो लाग्यो। बजार गएर एउटा राम्रो ग्रीटिङ् कार्ड किनेर ल्याएं, अनि आफूले उसलाई मन पराएको कुरा हल्का रुपमा राखेर, तिनलाई स्वीकार भए जवाफ लेख्नू, नभए पनि ठिकै छ नराम्रो नमान्नू वा नरिसाउनू वा यस्तै केही जे होस आफू बच्ने खालको भाषा प्रयोग् गरेर लेखें र साथीलाई दिएँ। यत्तिकैमा दशैं को छुट्टी भयो अनि त्यसपछि लगतै सेन्ट अप् टेस्ट पनि थियो। अलि याद् भएन,सेन्ट अप् टेस्ट दशैं पहिले थियो वा दशैं पछि। जे होस प्रत्यूत्तर् को प्रतिक्षा गरिरहें। प्रतिक्षाको घडी कस्तो ढिलो हुन्छ, भनिरहन पर्दैन। अति ब्यग्र र अधैर्य हुन्छ त्यो समय। त्यस माथि प्रेम पत्र लेखेको सार्बजनिक भएमा हुने लाज त छदै छ। यस्तो मान्छे ले पनि यस्तो गरेको भन्ने हुन्छ। जे होस प्रत्यूत्तर् को प्रतिक्षा गरिरहें। हरेक् दिन साथीलाई सोध्थें, जवाफ आयो कि भनेर । छैन भन्ने जवाफले निराश तुल्याउथ्यो।

क्रमश.....



तीन सय पचासका सभासद र नया नेपालको संबिधान

देशको हालसम्मको सबै खराव कार्यको लागी होलसेलमै राजतन्त्रलाई दोष लगाए पनि र गणतन्त्रको नाममा आफ्ना सबै पुराना पाप धोएर गौदान गरी चोखीन खोजे पनि हाम्रा देशका महानतम नेताहरुले आफ्नो रंग देखाउन थालिसकेका छन ।

एक जमानामा खसी बोका जस्तो गरि किनबेच भएर बदनाम भएका हाम्रा नेताहरु आजका दिनमा आँउदा सुध्रिसके भन्ने कसैलाई लाग्छ भने त्यो बिल्कुल गलत हुनेछ ।

यो कुनै व्यक्ति वा दल विषेशको कुरा होईन, तर हाम्रा नेताहरुको नैतीकताको स्तर झन झन घट्दो हालतमा छ । अझ सिधै कुरा गर्ने हो भने यिनिहरुको मूल्य '… लाई भन्दा देख्‍नेलाई लाज' भने जस्तै यति सस्तो भएको छ कि पत्याउन पनि मुश्किल हुन सक्छ ।

केहि दिन अगाडी पत्रिकामा यौन क्रिडाका लागी चाहिने औषधिको बिल सरकारी ढुकुटिमा पेश गर्ने सभासदको महानता भरिएको समाचार सेलाउन नपाउँदै यो हप्ता ३५० रुपैया मा बिक्ने सभासदहरुको आर्को समाचार आएको छ।

हालको नियमावलीमा गरिमामय संबिधान बनाउने जिम्मा पाएका सभासदले हाजिर गरेपछि दैनिक २ सय रुपैया बैठकभत्ता र १ सय ५० रुपैया यातायात खर्च गरि ३५० रुपैया पाउने व्यबस्था छ । अनि हाम्रा माननियहरु त्यो रकम प्राप्त गर्न मात्र सभामा हाजिरि जनाउन जाने गर्दछन ।

यो कुनै मनगढन्ते कुरा होईन डिसेम्बर ४ तारिखका दिन ४७ जना सभासदहरु ३५० को हाजिरी मारे पछि सभाहल बाट अन्तर्ध्यान भएछन । अब यो क्रम कति दिन देखी जारि थियो र कति दिन सम्म चलिरहनेछ भन्ने त यिनै ३५० मा बिक्ने सभासद र तिनका दलका नेताहरुलाई थाहा होला तर यो उच्च पदको निचो अबमूल्यन गर्ने सभासद र यिनका दलले कस्तो संबिधान बनाउलान र देशको कुन गती गर्ने हुन भन्ने चाहि सबैले सहज अनुमान गर्न सक्ने कुरा हुन ।

संबिधान सभाको चुनाव भएको दिनलाई छाडी पहिलो बैठक बसेको दिनबाट गन्ति गर्दा पनि यो गरिमामय सभाले पुरै ६ महिनाको समय यस्तै बिबिध जन-प्रियजन-सेवाको कार्यमा खर्चि सकेको छ ।

हुन त केहि समय अगाडी नया नेपालको संबिधान कुन दिन, कसरी र कहाबाट लागु गर्ने भन्ने सम्मका तिथि मिति तोकीएका खवर पनि आई सकेका छन, तर विकाउ सभासदका व्यस्तताका कारण चुनाव सक्कीएको सात महिना हुन लाग्दा समेत केहि स्थानमा गर्नु पर्ने उप चुनाव समेत हुन सकेका छैनन् । फेरी सरकार पक्ष र प्रतिपक्षको हालसम्मको रवैयालाई हेर्दा कसैलाई पनि यो संबिधान बनाउने हतार भएको पनि देखिन्न । जनतको बलिदान, ईच्छा, आकांक्षा सबै एकातिर राखेर हाम्रा सभासदहरु भने चिया-गफ, घाम तप्ने –बदाम खाने र दिनमा ३५० रुपैया कमाउनैमा व्यस्त र मस्त छन ।

नया संबिधान बने पछि हुने चुनावमा फेरि आईने, नआईनेमा यि ३५० का सभासदहरुलाई शंका होला र त यिनिहरु यहि सभालाई जति सक्यो त्यति तन्काउनु र लम्बाउनुमा नै लागेका छन। तर यस्ता ३५० का सभासदले कहिले संबिधान बनाउलान र कहिले देखी लागु गर्लान? खै मलाई त शंकै छ !



December 4, 2008

लोकतन्त्रले उदाएका दिनहरु

बिजयकुमार श्रेष्ठ, ईराक


परिवर्तनको खोजिमा भौतारिएको ति हातहरुले आफनो गाउँ समाजलाई देखेर आफूमा नै विहल हुदै संघर्षको मैदानलाई अंगालेर परिवर्तनको पुर्नरसंरचना तिर लाग्नलाई आफनो ज्यानको सम्म परवाह नगरि आफना भुन्टे च्यान्टे लाला वालालाई समेत चटक्क छाडेर सँधर्षको मैदानमा उत्रिए । आफनो हक र अधिकारको लागि न त दिन नै भनेर बसे न त रातमा नै विसराम मारे । आटे र गरे के नै हुदैन भन्ने पुर्खौली उखानलाई साबित गराएर देखाउन सफल भए ति हाम्रा पौरखि हातहरु ठुलो त्याग र तपस्याको बलिदन पछि सफलता आफनो पोल्टामा भित्रयाउन सफल भए । हाम्रो नेपाली उखानले उख्याएको छ नि त ‘कुवाँको भ्यागुताले संसार भनेको नै त्यहि कुवाँलाई सोच्ने गर्दछ’, किन कि उ त्यो कुवाँ भन्दा बहिर गएको हुदैन यो उखानलाई लत्याएर होईन हामीले देशको मुहारलाई बदल्नु पर्छ र सामान्ति शासनको जालबाट पार गर्नु पर्छ भनेर आटिलो शाहस लिएर यो परिवर्तको हातलाई अगाडि बडाएका थिए ।

तिमी गाउँबाट एका एक हराए देखि गाउँमा धेरै विकासहरु भए । एक पछि अर्को गर्दै नयाँ नयाँ किर्तिमानहरु तोडिन र जोडिन थाले बहुदलिय प्रजातन्त्रको दमनकारीहरुको शिकार बन्न पुगेका ति कलिला हातहरुले लोकतन्त्रको बिगुल फुकेर देशमा लोकतन्त्रको पुर्नवहाली गर्न सफल भए । जब देशमा लोकतन्त्रको बहाली भयो धेरै कुरामा उथल पुथल हुन पुग्यो ।नयाँ र नौलो बिचारहरुको उत्पती हुन थाल्यो । कमरेड अब तिमीले पनि आफनो गाउँ फर्कने बेला आएको छ किन कि अब गाउँ घरमा धॆरै बिकासको लहर फिजि सकेको छ त्यसैले म पनि मेरो प्राण भन्दा प्यारो जन्मभुमिमा फर्कदै छु र अब हामीले हातमा हात मिलाएर गाउँलाई सिङ्गगार्नु पर्छ । कमरेड म कसरि वर्णन गरु यि विकासका अग्र गतिहरुलाई तैपनि मैले यति छिटै भएको एक्काइसौ शताब्दिको परिवर्तनलाई मान्नै पर्छ उजागर पार्नै पर्छ ।

कमरेड पहिलो विकास भनेको तिमी छदांका ति धाराका बिगि्रएका टुटीहरु खिईएका फाली कोदाँला हसियाँ र खुकुरीहरु लिलामीमा बिकि्र गरीदिए किन की तिनको मर्मत सम्मार गर्ने काईला मिजार पनि सभासद् भएछन् रे । त्यसैले गाउँमा पुराना फाली कोदालो हसियाँ अर्जाप्ने मान्छे नभएको कारणले आर्थिक बिकासका लागी बिक्री गर्नु नै उत्तम ठानेर बिकासमा लगानी गरि दिए । अब गाउँमा पुराना टालेका कपडाहरु पनि पाईन छाड्यो, किनकी ति कपडा सिदिने साईला सुनामहरु पनि शहर पसि सके । उनीहरु पनि संसद भवन तिर धाउन थालेरे । अनि गाउँमा टालटुल गर्ने मान्छे नभए पछि सबैले नयाँ लुगा लगाउन पाउने भए गाउँमा भट्टि पसल गर्ने ति लामा कान्छा दाई पनि उनिहरुको पछि लागेरे । त्यसैले गाउँमा रक्सी चुरोट र खैनी खान सबैले छाडि सके ।पल्ला घरे पण्डित बाजेलाई पनि मन्दिरबाट निकाली दिए खै कुन्नी कुन दलित भन्ने पुजारि आएका छन् रे । पुजारि बाजे पनि बसाई सरे पछि गाउँमा कर्म कि्रया गर्ने मान्छे नभए पछि गणतान्त्रिक लोकतन्त्रले तय गर्ने झमेला पनि हटाईदिने सम्भावना छ रे । गाउँका अलि अलि हुने खानेहरुलाई लुटी पुटि पारेर गाउँबाट निकालेर बस्न नदिएर निकाले पछि गाउँमा सरसापाट चो पैचो पनि लिन दिन छाडेको छ । सर सापट अैचो पैचो नपाए पछि आफैमा आत्म निर्भर बन्न पर्ने हुनाले त्यसलाई पनि बिकासको मुल आधार मानिएको छ । अर्को कुरा गाउँका ति पिडित पुजारिले मन्दिरका वरिपरि सुन्गुर र कुखुराको फाराम खोलेका छन् रे । त्यसबाट पनि आर्थिक विकास हुने नै भयो । ति पल्ला गाउँका मास्टर साहेब देशका सबैभन्दा ठुला मान्छे बनेका छन् रे । हिजो फालि कुट्ने दानबहादुर पनि कमाण्डर बनेर खै अब त देशलाई सुधार्ने र उन्नतिको बाटोमा लम्काउने रे अब के को कमि हुने भयो त अनि हामीले लोकतन्त्रबाट पाएको शान्ति सुरक्षा र अमनचयन यस किसिमबाट उपलब्धि हासिल गर्न सफल भयौ । यो परिवर्तन त सुरुवात मात्र हो हेर्दै जाउँ । सर्वहारा वर्गको परिवर्तनले सर्वहाराको उजागर गरेर नौलो नयाँ रुप धारण गर्दछ कि उतार चडापको चपेटामा पानी बिनाको माछो बनाउने हो त्यो त समयले नै बताउने छ ।




अतीतका पानाबाट

सायद दश कक्षातिर पढथें होला। म प्राय: अघिल्लो बेन्चमा नै बसेको हुन्थें। हाम्रो कक्षा कोठाको ढोका प्राय खुलै हुन्थ्यो र म ढोकातिरकै छेउमा पर्दो रहेछु वा त्यहि नै मेरो रोजाइ थियो, थाहा भएन तर एउटी केटीले ढोका बाहिरको खम्बामा आड लगाएर मलाई हेरिरहने गरेको आभाष हुन थाल्यो। तिनी कतैबाट केही महिनामात्र हाम्रो स्कूलमा आएकी थिईन र उनको गाउँ पनि मेरो गाउँबाट नजिकै थियो। मलाई यति सामान्य जानकारी भने जरूर थियो।

तिनको त्यो ढोका बाहिर आएर हेर्ने क्रम जारी रहन थाल्यो र मलाई पनि कता कता रमाइलो लाग्न थाल्यो र कुनै दिन तिनी आईनन भने के के नभएको जस्तो, आजकलको भाषामा भन्ने हो भने, मैले तिनीलाई मिस् (miss) गर्न थालें।

हाम्रो पालामा सेन्ट अप टेस्ट हुन्थ्यो, सायद अहिले पनि हुन्छ। सेन्ट अप् टेस्ट नजिकै आईरहेको थियो र मेरो शिक्षकहरुको म प्रति केही आशा थियो, जिल्लामा बोर्ड फर्स्ट ल्याउछ कि भन्ने। मैले अन्य कुराहरुमा नअल्झि पढाइमा ध्यान दिनु थियो। तिनले मेरो ध्यान खिच्न थालेको जस्तो लागेपछि, मैले ढोका बन्द राख्न खोजें तर कोठा अंध्यारो भएकोले शिक्षकहरुले खोलिदिन्थे र सायद म पनि तिनी ढोका नजिक आऊन भन्ने चाहन थालिसकेको थिएँ।

यो क्रम चलिरह्यो। हाम्रो पालामा केटीहरुसंग बोल्न, संगै उभिन, हिंडनु ठूलो साहसको कुरो थियो। अहिले पनि म सम्झिन्छु, कक्षाका केही केटी सहपाठीहरुसंग कहिल्यै बोली मिसिएन। तै पनि सुनिन्थ्यो फलानाको फलानासंग, फलानाको फलानासंग प्रेम छ आदि आदि कुराहरु। त्यसले जरुर केही प्रभाव पार्थ्यो र मेरो पनि "कोही" सँग "त्यस्तै केही" भएहुन्थ्यो भन्ने कता कता लाग्थ्यो तर त्यस्को लागि कसैको पछि लागिएन, वा केही प्रयास् गरिएन। नजिकमा केही केटीहरु थिए तर तिनीहरुको सम्बन्ध कि दिदी कि बहिनीको हुन्थ्यो।

क्रमश:



December 3, 2008

भन राजा तिम्रो माया

सुमन बगाले,
आबुँ खैरेनी ५ तनहु (हाल इराक)


भन राजा तिम्रो माया कति
देवी देवताको शरणमा तिम्रो गाए भजन भक्ति
मठ मन्दीर बाकी छैनन् नबालेका मैले बत्ति
कयौ दिन कयौ रात अन्धाकारमा बिताइसके
कति कुराइ राख्छौ मलाइ अब भयो अत्ति
कि माया मारीसक्यौ कि त अन्तै डेरा सार्यौ
लाग्नै छोडीसक्यो मलाइ बिश्वास भर रत्ति
आजसम्म कुरेकी छु कुरी रहने छु पछिपनि
अझै देउ देवी देवता मलाइ धैर्यधारण शक्ति
मलाइ मात्र यस्तो हो कि ज्यानलाइ पनि हुन्छ
मेरो माया सय हो भन राजा तिम्रो कत्ति



गीत - नेपाल आमा


राकेश कार्की, लस् एन्जेलस्

बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी

दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ बिदेशको छायाँ

पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा

रातभरी सम्झे आमा मैले दिन भरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।।