November 11, 2008

नेपाल डायरी -१


कुनै तथ्यांक त स्पष्ट छैन तर भनिन्छ , भारतमा रहेका लगभग ६०-८० लाख नेपाली ( भारतीय र नेपाली नेपाली दुवै नेपाली गरेर) , बाहेक अरू मुलुकमा विविध उद्देस्यले बिदेशिएका नेपालीहरूको संख्या २० लाख नाघिसकेको छ । र यिनै विदेशिएका नेपालीको भरमा नेपालको अर्थतन्त्र अडिएको छ । सानो र गरीब अर्थतन्त्र अनि २ खरब जतिको रेमिटेन्सले थेगेको छ भन्दा अन्यथा हुन्न रे ! विज्ञहरू भन्छन् । निकट हिजोका आन्तरिक द्वन्दका दिनहरू देखि आजको अर्ध- जनवादी सरकार सञ्चालन हुँदाका दिन सम्मका लागि नेताहरूलाई विदेश भ्रमणको स्वाद जुटाइदिनेदेखि, देश नामको रथ घिस्रेको देखाउन र नेतगणहरूलाई चमत्कारको फलाको हाल्न गरी उभ्याउन अनि राष्ट्रवादको रट लगाउन यिनै बिदेशिएका नेपालीले खाडीको बालुवालाई कष्टकर ढंगले पेलेर तेल निकाल्ने कामदेखि मलेशियाको आर्द्र जंगलभित्रको विदारक पीडासंग जुधेर भित्राएको रेमिटेन्स धनको टेकोले जोहो जुटाएको छ । संसार भर छरिएर रहेका यिनै नेपालीले सालाना २०० अरब भन्दा बढी रूपैयाँ नेपालमा आफन्तका नाममा पठाउने हुँदा नै, यहाँका लागि रेमिटेन्सले नै समानान्तर बजेटको काम गरेको छ भन्दा अत्युक्ति हुन्न । भन्नै पर्छ, नेपाललाई केवल रेमिटेन्स धनले अडाएको छ ।

म अहिले स्वदेशमा नै रहेको हुँदा , नेपाल सम्बन्धी अनुभव साथीहरूलाई सुनाउन मन लागेको छ । बिदेशमा रहँदा र इन्टरनेटको माध्यमबाट समाचार पढेर नेपालका बारेमा सूचित हुन मन पराउने म जस्तै धेरै जसो नेपालीलाई, केही समयका अन्तरालमा नेपालमा थुप्रै परिवर्तन भैसकेको होला जस्तो भान पर्नु स्वाभाविक नै हो। तर स्वदेशी भूमिमा पाइला परेका बखतदेखि नै यहाँको छिन्नभिन्न अव्यवस्था, अराजक प्रवृत्ति अनि नेपाली अपरिवर्तनीय मौलिकताका विशिष्टता देखेर, हाम्रो पनमा रम्नु र एडजष्ट हुनै पर्ने वाध्यात्मक विष्मयले गम्लंग अंकमाल गरीहाल्छ ।

जब विमान काठमाण्डौको आकाशमा कावा खान थाल्छ, र आकाशबाट शरदकालीन काठमाण्डौ र वरपर पहाडी श्रृंखलाको दृस्यावलोकन चित्ताकर्षक बन्न थाल्छ , स्वदेश स्पर्शको अनुपम उत्तेजनामा उमंगिएको मन , एयरपोर्ट ल्याण्ड हुनु, एयरलाइन्सको गाडीमा चढ्नु, अध्यागमनको पहेँलो कार्ड बोकेर लामबद्द हुनु, कारिन्दाहरूको सुस्त कामको पर्खाइ र मध्ययुगीन शैलिको लाग्ने हाम्रो विमानस्थलको व्यवस्था र वातावरणमा अचम्मित बनेका विदेशी पर्यटकहरूको अनुहारमा देख्न वा पढ्न सकिने विष्मय र उत्सुकतालाई नियाल्नु , भन्सार कर्मचारीगणका चम्किला आँखामा देख्न सकिने उत्सुकतापूर्ण शिकार खोजीको त्यो अनुराग , बाहिर प्रतिक्षारत ट्याक्सि चालकहरूको तानातान र पाहुनाको पर्खाइमा लामबद्द होटलका एजेण्टहरूको आफ्नै कुराले पनि नेपालीपनको यो परिचयमा मौलिकता भरिदिन्छन् । यी र यस्तै कुराबाट सुरु भएको नेपाल पुन: प्रवेशको कथाले काठमाण्डौको धूलो र धूँवामा पूर्ण गुम्सिएर , ट्राफिक जाम, भीड , कोलाहल, बन्द, हड्ताल अनि प्रदर्शनका अनपेक्षित तर निरन्तर चलायमान प्रकृति र प्रवृत्तिहरू संग जुध्न वा मिल्न सिक्नै पर्ने हुन्छ ।

बाहिर रहँदा धेरै कुरा भैसकेको होला जस्तो लागे पनि, नेपाल भित्रको वस्तुस्थितिमा देखिने सारभूत परिवर्तन केही छैन र परिवर्तनको अनुभव नै गराउने खास कुरा केही छैनन् । काठमाण्डुमा बढेका सवारी साधन र तिनले पैदा गर्ने बेला र कुबेलाको जाम, मानिसको सर्वत्र देखिने कोलाहल युक्त भीड , काठमाण्डुको जग्गगाको आकासिएको मूल्य , अनि एकदमै तिब्र गतिमा भैरहेको उपभोग्य सामानहरूको मूल्य वृद्दि यहाँको वर्तमान दैन्दिनिका मुख्य विशेषता हुन् भन्न करै लाग्छ ।

माओवादी सरकार सत्तासीन छ , त्यसैले हिंसा, अस्तव्यस्तताका कारकहरू अनि जोरजुलुम गर्नेहरू नै सत्तामा बसेको हुँदा अपेक्षाकृत शान्ति कायम भएको देखिनु सामान्य कुरा भयो । तर पनि कसले कतिबेला के कारण बन्द वा हड्ताल गर्ने हुन् भन्ने अनिश्चितता र सन्त्त्रास यथावतै छन् । तराईमा पहाडिया भएर रहँदाका जीवन अनिश्चितता मात्रात्मक रूपमा बढेकै छ्न् , घटेका छैनन् । यो पछिल्लो विषय केवल पढ्न सकिएको मात्र हो ।

केही दिन यता निम्न चर्चा योग्य कुराहरू पनि भए:

(१) सरकारले राष्ट्रिय योजना आयोग नामको विकासे संस्थामा राजनैतिक नियुक्ति गर्‍यो । नेपालको इतिहासमा पहिलो पल्ट योजना आयोगमा अर्थशास्त्री र योजनाविदहरू नियुक्त गरिएनन् बरू एमाले, माओवादी र जनमोर्चा र फोरमका नेताहरूका नातागोताले भरिएको मण्डलीहरूको योजना आयोग गठन हुन पुग्यो । एमालेको कोटाबाट गएका प्रम कुँवर पूर्व भलिबल खेलाडी रहेछन् र अहिले एउटा कलेज पढाउने रहेछन्। जनमोर्चाका कोटाबाट सदस्य बनेका राममणी पोख्रेल यस्तै मणी पोख्रेल तर नाम गरेका जनमोर्चाका नाताका भाइ परेछन् भने माओवादीमा बिलीन हुन ठिक्क परेका एकता केन्द्रका नेता कामरेड प्रकासका भाइ पर्ने सुनिल बाबु श्रेष्ठ अर्का सदस्य रैछन् । उता कामरेड बाबुरामकी सासू दिदी वनस्पतिशास्त्री र पेसाले प्रयोगशालाविद् कयोदेवी यमी अर्की सदस्या भएकी छन् भने फोरमको कोटाबाट आएका योगेन्द्र यादव भाषाविद् हुन् । नातागोताले भरपूर अहिलेको योजना आयोगको गठनको एउटा विसेषता हो, नया दिशा तर्फको छलाङ किनभने यहाँ कुनै योजनाविद् र अर्थशास्त्री नै छैनन् । सायद अहिले सम्मका विशेषज्ञ अर्थशास्त्रीहरूले भरिएका योजना आयोगले पो के लछारेका थिए र ? भनेर पो यस्तो नातागोता इष्टमित्र अनि पार्टीका हनुमान कार्यकर्ताले भरिएको योजना आयोग गठन गरी स्थापित पद्दतिमाथि व्यंग्य गर्न खोजिएको पो हो कि ? जे होस् योजना आयोगको गठनमा भने चमत्कारै भएको छ !!!

यही विषयमा माओवादीको तरफदारी गर्ने पत्रिका ‘ नया पत्रिका’ ले समेत ८ नोभेम्बर मा एउटा रिपोर्ट छापेको थियो “ योजना आयोगमा पूर्व भलिवल खेलाडीदेखि , प्रयोगशालाविदसम्म” । तर , यस कुरालाई लिएर यसका सम्पादक कृष्णज्वाला देवकोटाले माओवादी नेताकोम बोलाहट मात्र हैन खप्कि नै पाएको कुरा एउटा निकटस्थबाट मैले आज बिहान मात्र पाएको छु । सदस्य चयन हास्यास्पद भएको र स्वयं माओवादीले बनाएका उपाध्यक्ष डाक्टर पिताम्बर शर्माले समेत यसमा बिरोध जनाए पछि सरकारले यसमा फेरि पुनर्गठन गर्ने भएको छ रे !

(२)रामहरि श्रेष्ठ हत्याकाण्डका नाइके, शक्तिखोर शिविर चितवनका निलम्बित प्रमुख कालि बहादुर खाम विविधसंग जिल्ला प्रसासन कार्यालय चितवनमा सार्वजनिक कार्यक्रममा पत्रकारहरूको समेत उपस्थितिमा नै वर्तमान रक्षा मन्त्री राम बहादुर तापाले भेट गरेको विषयमा, संविधानसभामा बिरोध हंगामा खडा भएपछि , स्वयं रक्षा मन्त्री र गृहमन्त्रीले सदस्यहरूलाई सो विषयमा जानकारी दिएका छन् । रक्षा मन्त्रीले आँफूले हत्याका अभियुक्तसंग नभेटेको कुरा गरेका छन् भने ,प्रत्यक्षदर्शी पत्रकारहरुले आफ्ना लेखहरू मार्फत रक्षा मन्त्री झूट भएको कुरा आफ्ना लेखहरू मार्फत चुनौतिकासाथ बताइरहँदा, गृहमन्त्री बामदेवले माओवादी शिविर भित्र गएर प्रहरीले अभियुक्त निकाल्ने काम गर्न नसक्ने लाचारी हिजोको संविधानसभा बैठकमा प्रकट गर्नु भएको छ ।

(३)वर्तमान बजेटले प्राइबेट शिक्षण संस्थामाथि लगाएको ५% को अतिरिक्त कर हटाउनु पर्ने र सो कर नतिर्ने निर्णय निजी स्कूलहरूको केन्द्रिय संगठनले सरकार समक्ष गरेको छ ।

(४)कथित जनयुद्द लडेका माओवादी लडाकुहरूलाई उनीहरूले गरेको एक दशक लामो लडाँइमा आर्जन गरेको सिप र ज्ञानका आधारमा , माओवादी सरकारले विद्यालय र विश्वविद्यालय योग्यता प्रदान गर्ने योजना गरिरहेको कुरा डाक्टर बाबुराम भट्टराईले अखिल क्रान्तिकारीको एउटा भेलामा खुलाएका छन् । अब यस्तो लाग्दैछ, माओवादी भएर लडेका र जनताको घोडा चढेका सबैले १२ क्लासदेखि पिएचडिसम्मका थरितरि डिग्री सित्तैमा लिएर , वास्तविक हाड घोटेर पढ्ने र योग्यता लिनेहरूलाई विस्थापित गर्ने दिन पनि आउने भए !!!

(५)कामरेड प्रचण्ड फेरि एक पटक बर्बराएका छन् । उनले हिजो मात्र एउटा सार्वजनिक कार्यक्रममा एउटा कागजमा लेखिएको अंग्रेजी भाषण नेपाली लयमा पढ्दै भनेका छन् “ संसदिय अभ्यास र त्यही पद्दतिमा सञ्चालित राज्य व्यवस्थाका कारण आर्थिक विकास नभएको र गरीबी बढाएको छ” भन्ने कुरा गरेर उदारवादी संसदीय पद्दतिको बिरुद्दको असन्तुष्टि र झुसिलो डकार छाडेर कामरेड प्रचण्डले आँफू पद्दतिमा बाँधिएर काम गर्ने प्रणालीलाई सजिलो व्यवस्था मान्न सक्ने स्थितिमा नरहेको उद्घोष गरेका छन् ।

(६)र अन्त्यमा, राजावादी पूर्व मन्त्री कमल थापाले अर्को द्वन्को खतरा भएको कुरा औँल्याउँदै भनेका छन् “ माओवादी वा उसलाई पराजित गर्ने अर्को शक्तिबाट अर्को अधिनायकवाद आउनेछ” । उनले अरू प्रष्ट्याउँदै भनका छन् “ प्रजातन्त्र उग्र वामपन्थी धरापमा फँसेको छ र यो कमजोरी माओवादीलाई शान्ति प्रकृयामा ल्यायौँ भन्ने काग्रेस र एमालेको हो” । उनले यो कुरामा थप्दै भने “ हिंसा गलत थियो भन्ने कुरालाई माओवादीले कहिल्यै स्वीकारेन बरू त्यसैका कारण आँफू यो स्थतिमा आएको कुरामा उसले गर्व महशूस गरेको छ” । म राजावादी र कमल थापाको राजनैतिक सोचलाई अँगाल्ने मान्छे त हैन तर मैले हिजो काभ्रेमा उनले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दा भनेका कुराहरूलाई मनन गर्दा वर्तमान नेपाली राजनीतिको वस्तुस्थितिका सन्दर्भमा शतप्रतिसत सत्य पाएँ ।


परिस्थिति र इण्टरनेटले साथ दिँदा फेरि भेट्ने वाचा सहित । -एकलव्य


नोभेम्बर ११ २००८ , शंखमूल, काठमाण्डु



November 10, 2008

विविध जिल्ला प्रशासनमा कसरी छिरेका थिए ?

- रमेशकुमार पौडेल

कात्तिक पाँच गते माओवादी तेस्रो डिभिजनका कमाण्डर विविध साँझ साढे पाँच बजे तिर चितवनको जिल्ला प्रशासन कार्यालयमा आएकै हुन् । यो मेरै आँखाले देखेको कुरा हो । यो दृष्टिभ्रम पनि हुनसक्छ भनेर त्यहाँ आएका व्यक्ति विविध हुन् होइनन् भन्नका लागि क्रस चेक पनि गरेकै हो । पक्का भएपछि मात्रै चितवन पोष्टमा ७ गते समाचार छापियॊ । तर आइतबार रक्षा मन्त्री बादलले विविध त्यहाँ नआएको कुरा सदनमा गरेको सुन्दा अचम्म लाग्यो ।त्यस दिन दिउँसो बादलले चितवन नारायणगढको क्याम्पा चौरमा तिहार मेलाको उद्घाटन गरेका थिए । लगभग चार त्यही बजेको थियो । त्यहाँबाट निस्केर अफिस आइपुग्दा नपुग्दै पाँच बजे जिल्ला प्रशासनका बादलले पत्रकारहरुलाई भेट्ने भन्ने खवर आयो । क्रान्तिकारी पत्रकार संघले सो कार्यक्रम आयोजना गरेको थियो ।

म लगभग समयमै जिल्ला प्रशासनमा पुगेको थिएँ । तर रक्षमन्त्री बादलले जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिइराखेका थिए । प्रशासन कार्यालयको सभा कक्ष भित्र कार्यालय प्रमुखहरु टन्नै थिए । सभाहलको उत्तर तर्फको झ्यालमा गएर केही बेर मैले बादलको कुरा सुने । त्यती बेला उनले जेल सुधारको कुरा गर्दै थिए । उनले भने जेलमा अब धेरै कैदी राखिराख्न आवश्यक छैन । केही सर्तहरु सहित उनीहरुलाई आम माफी दिएर छाडिदिए हुन्छ । फेरि सवैलाई छाड्नु पर्छ भनेको पनि होइन । 'शोभराज जस्तालाई त छाड्न पनि भएन ।’ पत्रकार भेटघाट अलि अबेला हुने छाटदेखे पछि म झ्याल छाडेर प्रशासनको भवन बाहिर निस्किए । चौरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष कृष्ण गिरी लगाएत अरु दुई जना साथीहरु हुनुहुन्थ्यो । पत्रकार सम्मेलन सुरु नहुदासम्म चौरमै गफगर्ने योजना हाम्रो बन्यो । यो सल्लाह गरेर हामी बस्न पनि भ्याएका थिएनौ बाहिर सडकमा एउटा सेतो जीप देखियो ।

गाडी अनमिनको हो की भन्यौ तर गेट तर्फ सोझिए पछि माओवादीले प्रयोग गर्ने नम्बर प्लेट देखियो । पहेलो सेतो र हरियो गरेर तीन रंगको समिश्रण भएको सो नम्वर प्लेटमा बा ०००१ अ सम्मको अक्षर मैले अझै भुलेको छैन । 'अ' पछाडीको नम्वर ४० देखि ५० सम्मको बीचको हुनुपर्छ । अनि गेटबाट छिरेको सो सेतो जीपमा एउटा अनुहार देखापर्‍यो जो विविध थिए । हामी उभिएकै तर्फ जीप आयो । हामी तिरै आएका हुनाले बाटो छोडिदिनु परेको थियो । त्यस पछि विविध झरे । अघि भित्र देखेको मान्छे विविध हुन भन्ने पक्का उनी झरे पछि झनै भयो । विविधसँग एक दुई चोटी होइन पटक पटक भेटभएको छ । कुराकानी भएको छ । फोटोमा मात्रै देखेको भए पनि झुक्किने कुरा हुन्थ्यो । टाढाबाट देखेको भए पनि के हो के हो भन्ने हुन्थ्यो । तर राम्रैसँग परिचित मान्छे माओवादीकै नम्वर प्लेट भएको जीपमा आएको छ । पोशाक सादा भए पनि उनी यति नजिकबाट गए कि अनुहारमा देखिने अलिअलि पोतोसम्ममा हाम्रो दृष्टि पुगेपछि यो भ्रम हो भन्ने लागेन ।त्यती बेला साथमा क्यामरा थिएन । अरु कसैले क्यामरा ल्याएको छ कि भनेर खोज्न लागे । त्यति बेलासम्ममा विविध जिल्ला प्रशासनको भवनमा छिरिसकेका थिए । साथीहरुको माझमा पुगेर क्षणभरमै म फेरि बाहिर निस्किए ।

त्यति बेला प्रशासन भवनको च्यानल गेट नजिक सर्ट पाइन्ट लगाएकी एक जना युवतीले फोनमा यसो भन्दै थिइन "म यहाँ विविध सरसँग जिल्ला प्रशशासनमा छु । जीवित दाइको बारेमा कुरा गर्नु पर्ने । कारागार जान भ्याइएन त्यसैले यतै छौं … " ती युवतीको कुरा सुने पछि विविध नै होइछन् भन्नेमा कुनै दुविधा रहेन । उनले नाम लिएको जीवित भन्ने व्यक्ति रामहरि हत्याप्रकरणमा अदालतले पूर्पक्षका लागि भरतपुर कारागार पठाएका तेस्रो डिभिजनका ब्रिगेड कमाण्डर हुन् । युवतीको कुरा गर्दै थिइन म उत्तर फर्केर बसेको त्यही सेतो जीपमा एक पटक फरि नजर लगाए । भित्र महिला र बच्चा पनि थिए ।त्यस पछि म फेरि भवन भित्रै छिरे । एकजना पत्रकारले भने 'विविध र बादल कानेखुसी गरेर उता अर्को कोठा तिर लागे । म क्यामरा खोज्ने चक्करमा थिए । फेरि बाहिर निस्किए । कान्तिपुर दैनिकका बिनोद त्रिपाठी आउँदै हुनुहुन्थयो । दुर्भाग्य उहाँसँग पनि क्यामरा रहेनछ । विनोद जीसँग विविध आएर बादललाई भेटेको कुरा भयो । भेटघाट गरेको कोठा तर्फ लाग्दै गर्दा म त्यसको नजिकै पर्ने ट्वाइलेट भित्र छिरेको थिए । उनीहरु झट्टै गैइहाल्लान भन्ने लागेको थिए न तर त्यति बेलै निस्केछन् ।यो दृश्य चितवन पोष्टको अफिसमा आएर चर्चा भयो । तै पनि आत्तिएर सममाचार नलेखिहाल्ने अरु ठाउँमा पनि बुझ्ने सल्लाह भयो । फेरि एक पटक तेस्रो डिभिजनमा बुझ्न लागियो ।

त्यहाँको एक जना आधिकारीक व्यक्तिसँग मोवाइलमा सम्पर्क भयो । उनले भने "हो विविध सर हिजो देखि यतै हुनुहुन्छ । सायद आज भरतपुर पनि पुग्नु भयो होला ।" यस्तो यस्तो गाडी तपाइँहरुकै हो भनेर सोध्दा उनले हो भने ।यति भए पछि जिल्ला प्रशासनमा आएका व्यक्ति विविध होइनन् भनेर शंका गर्ने ठाउँ रहेन । अब उनी त्यसरी हिड्न पाउँछन् या पाउँदैनन् भन्ने बुझ्नु नै थियो । रामहरि हत्या प्रकरणको थुनछेक आदेशका लागि जिल्ला अदालत चितवनमा बहस हुँदाका दिन हामी त्यही थियौं । अदालतले विविधलाई फरार अभियुक्त करार दिएको थियो । उनी फरार अभियुक्त हुन भन्ने थाहा थियो तर त्यसरी घुम्न पाउने नपाउनेमा अझै बुझ्नु पर्ने भयो । कान्तिपुर दैनिकका विनोदजी पनि भोली अदालतमा बुझेर लेख्नेमा सहमत हुनुभयो । उहाँ र म भोली पल्टसँगै गएर अदालत कानुन व्यवसायी र प्रहरीमा बुझ्यौ । उनी त्यसरी हिड्न नपाउने र देखेमा प्रहरीले समात्न सक्ने जानकारी हामीले बटुल्यौं । त्यस पछि कात्तिक सात गतेको चितवन पोष्टमा यो खवर आयो । कान्तिपुरमा नौं गते निस्कियो । कतै पनि कुनै प्रकारको खण्डन आएको थाहा छैन तर संसदको हैसियतमा बस्ने संविधान सभाको बैठकमा कुरा उठेपछि र जवाफ दिन बाध्य हुनु पर्ने अवस्था आए पछि बादलले भेटेको होइन भनेछन् । क्रान्तिकारी नेताले पनि यस्तो झुठ बोल्नु पर्ने यो कस्तो नयाँ नेपाल त्यसो त आफ्नो गल्ती कम्जारीहरु ढाकछोप गर्ने माओवादीहरुको विशेषता नै हो । यो रामहरि प्रकरण नै यस्का लागि काफी छ । गएको बैशाखमा रामहरिको मृत्यु छापामारको कुटाइले भयो । शोभराजले गर्ने भन्दा कम थिएन त्यो हत्याको शैली । चाल्स्र शोभराजलाई आममाफी दिन हुदैन भन्ने बादलले यो बचन बोलेको केही मिनेट पछि नै रामहरि हत्याप्रकरणका फरार अभियुक्तलाई भेटेको कुरा सजिलै किन स्वीकार गर्दथे । धेरै तथ्य र सन्दर्भहरु जोडेर हामीले समाचार छापेका हौ । देखेको कुरा नलेखेर बस्नु हाम्रो धर्मले दिएन । बादल जीहरुलाई देखेको कुरा नलेखेकोमा नै खुसी लाग्दो रहेछ । तर त्यसो गरिएन । तपाइ साच्चिकै नयाँ नेपालको इमान्दार नेता हो भने भेट गर्नु ठिक हो भन्ने तर्क गर्नुहोस या भेटेर गल्ती गरेछुभन्ने स्वीकार गर्नुहोस । पत्रकारहरुले फोटो खिच्न भ्याएनछन् भन्ने जानेर नै तपाइले झुठो बोल्ने आँट गर्नु भएको होला । समाचारमा पत्रकारले खिचेको ताजा तस्वीर समावेश नहुनुलाईनै बादल जोगीने कबज बन्दै छ ।

साभारः ( चितवनबाट रेडियो चितवनका सहकर्मी मोहन बश्यलको सहयोगमा )



November 9, 2008

विशाल नेपालका निर्माता र अहिलेको नेपाल


दीर्घराज प्रसाई

२४० बर्षअगाडि राष्ट्र निर्माता पृथ्वीनारायण शाहले सबै जाती र समूहको सहयोगमा टुक्रा-टक्रामा विभाजित हिमवतखण्डका स-साना राज्यहरुलाई एकिकृत गरेर विशाल नेपालको सिर्जना गरेका थिए । अहिले विशाल नेपालका पहरेदारहरुलाई विदेशीहरुको इशारामा राष्ट्रिय एकीकरणदेखिको सुनौलो इतिहासलाई पार्टीका नेताहरुले खिल्ली उडाइरहेका छन् । पृथ्वीनारायण शाह त्रिभूवन राजा महेन्द्का र राजा वीरेन्द्रका नामका नगर विद्यालयहरुको नाम फेरेर उनीहरुको ठाउँमा आफूखुसी नाम राखेर विदण्डा मच्चाउनको लागि जनआनदोलनले चाहेको थिएन । जनअधिकारको नाममा सींहदरबार अगाडिको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालीक फुटाउनु गणतन्त्रको नारा जातीय स्वायत्तताको कुराहरुलाई उचालेर राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउदै अधिकार प्राप्तीको नाममा राष्ट्रिय सम्मान माथि चोट पुर्‍याउनु कहाँको राजनीति हो?, जातीय स्वायत्तताको कुराबाट नेपालका ब्रामण क्षेत्री मगर थकाली आदि पहाडका बासिन्दा र तराईका बासिन्दाहरु बिच फुट ल्याएर के स्वतन्त्रता र समानताको माग पुरा हुन्छ?। यहाँ कुन जातिलाई कस्ले शोषण गरिरहेको छ र राष्ट्रनिर्माता प्रति आक्रोश पोख्ने नेपालको राजसंस्था सामन्तीवर्गको पोषक र जनताको शोषणको आधार नभएर जनताको संरक्षक हो ।

नेपाल कम्युनिष्टहरु कस्को बिरुद्ध लडिरहेका छन् ?, वर्गसंघर्ष कम्यूनिष्टको नीति हो तर यहु जातीय स्वायत्तताको कुरा कहाँबाट आयो माओवादीहरुमा कम्यूनिष्टहरु त जातीय-साम्प्रदायिकताका त जन्मजात बिरोधी हुन् । विपी कोइरालाको भनाई थियो एथनिक ग्रुप भनेको मदेशे, पहाडी, राईलिम्बु, ग्रुपलाई उचाल्नु यो अराष्ट्रिय काम हो । हिन्दुस्तानले हामीलाई कमजोर गर्नु पर्‍यो भने कुन स्ट्रेटेजी अपनाउला यही गर्छ कि गर्दैन जातीय संम्कृर्णता भित्र रुमल्लिएर सिङ्गो नेपाली जनताको एकतात्मक भावनामा चोट पुर्‍याउने काम कम्यूनिष्ट लगायत कुनै पार्टीका नेताहरुले नगरुन् ।


नेपालको एकीकरण भएको १०० बर्ष पछाडि टुक्रा टुक्रामा विभाजित जर्मनीलाई विश्मार्कले एकीकरण गरे । नेपालको एकीकरण हुनुभन्दा १०० बर्ष पछाडि जर्मन जस्तै टुक्रा टुक्रामा विभाजित इटाली कबुर र ग्यालिभर्दि जस्ता सपुतहरुको नेतृत्वमा विशाल इटालीमा परिणत भयो । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुजि्ररहेको जापानमा मेजी रेष्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बन्यो । नेपालको एकीकरण हुनुभन्दा २०।२५ बर्षसम्म पनि अमेरिका बेलायतको उपनिवेश थियो । अमेरिका, जर्मनी, इटाली, जापान लगायत यस्ता कैयौं देशहरु अन्धकारमा रहेका अवस्थामा पनि अंग्रेजले यसक्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भयो । तर हिन्दुत्वको अस्तित्वलाई चकनाचुर पारेर भारतमा साम्राज्य स्थापना गर्‍यो । यसक्षेत्रमा पथ्वीनारायण शाहको नेतृत्वले गर्दा चन्द्र-सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको मौलिकतालाई जीवन्त राखियो । सुगौली संधि पछाडि अंग्रेजले यहीका केही राष्ट्रघातीहरुलाई बोकेर पूर्वमा मेची पुर्वको टिस्टासम्म र पश्चिममा महाकालीदेखि कांगडासम्मको भूभाग जालसाँज गरेर कब्जा गरे । तर पनि दार्जिलिङ्ग, कालेङ्पङ्ग, देहरादुन, अलमोडा लगायत गोर्खालीहरु बसेको क्षेत्रमा नेपालीभाषा नेपालको राष्ट्रिय पोषाक-टोपी दौरा-सुरुवाल सारी-चोलो आदि यत्यादि र नेपाल पहिचान भित्रका तिज दशै तिहार शिवरात्री बुद्ध जयन्ती आदि नेपालीहरुको सांस्कृति राष्ट्रवादलाई बचाएर राखेका छन् ।


पृथ्वीनारायण शाहको नेतृत्वको कुरा गर्दा- वि.स.१८०० मा पृथ्वीनारायण शाहले बनारस भ्रमण गरेकाबेला अंगे्रजले भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै भारतीय जनतालाई कुट्ने मार्ने र जहाँतहीं लुटपिटहरु मच्चाउने घटनाहरु देखेर अंग्रेजहरुले यसक्षेत्रमा कब्जा जमाए भने जनताको कस्तो दुराअवस्था होला भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो । त्यसबेला पृथ्वीनारायण शाहले -गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरङ्गी भनेको ब्वासो हो । ‘जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो । तर फिरङ्ग भिनेको अर्कै हो’ भनेर यसक्षेत्रका स-साना राज्यका जनतालाई एकताको सूत्रमा आवद्ध गराएका थिए । पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका विजय गरेपछि क्रीस्चियन धर्म प्रचारक केपुचीनलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही इखले पृथ्वीनारायण शाहलाई वद‍्नाम गर्न कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर केपुचीन पादरीलाई आधार बनाएर झुटा र कपोल्कल्पित कुराहरु अंगे्रजहरुले लेखेका थिए । कस्तो अपमान वास्तवमा कीर्तिपुरेहरु युद्धमा हारेकाले कीर्तिपुरेहरुलाई आक्रोसित तुल्याउन भ्रम फैल्याइएको थियो । नेपालको एकीकरणपछि सबै राज्यका जातजातिहरुको रीतिथिति संस्कृति धर्म भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिको रुपमा ग्रहण गरिएको थियो । अनेकौं जातीय भाषाहरुको बीचमा नेपाली भाषा प्रचलित भइसकेकाले नेपालीहरुको साझा भाषाको रुपमा स्वतः रुपान्तति भएको हो । अर्कोतर्फ एकीकृत नेपालको पूर्व र पश्चिमका सबै साना राज्यहरु हिन्दु र वौद्ध धर्मका अनुयाई भएकाले नेपालको एकीकरणमा थप बल पुग्न गएको थियो । भारतमा हिन्दु धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्ने र फिरङ्गीहरुको अत्याचार हरक्षेत्रमा फैलिएकाले पृथ्वीनारायण शाह जस्ता कर्मठ संरक्षक पाउँदा सबै जनता अत्यन्तै खुसी थिए । त्यहीक्रमले शाहवंशीय राजाहरुले नेपालको सावैभौसत्तामा आँच आउन नदिने र नेपाली जनतालाई पेल्ने काम कहिले गर्दै गरेनन् । नेपालको राजसंसथा सम्राज्यवादि शक्तिसँग लडेर आएको नेपाल र जनताको रक्षक हो ।

तर परचक्री र स्वदेशी कुचक्रीहरुले इतिहासलाई बिसे्रर २४० बर्ष अगाडिदेखिको शाहबंशीय राजाहरुको देन माथि प्रहार गरेर नेपाललाई अफगानिस्थानको हालतमा पुर्‍याउन खोजे सिक्किम बनाउन खोज्दै छन् । सिक्किम एक सार्वभोमसम्पन्न राष्ट्र, आज भारतको कब्जामा छ । बितेको १२बर्ष अगाडि माओवादी विद्रोहको कारक राजा थिएनन् । सत्तासीन नेपाली कांगे्रसको कुशासन हरक्षेत्रमा ब्याप्त भ्रष्टाचार जनमोर्चा माथिको दमनचक्रनैं थियो । नेपालको राजसंस्था प्रति बितृष्णा जगाएर हामीलाई प्रजातन्त्रको लागि भनेर लडाइरहेको छ । भारतले भूटानमा प्रजातन्त्रको कुरा किन उठाउँदैन किनकि भूटानको रक्षा र परराष्ट्र नीति आफ्नो मातहतमा छ । कम्यूनिष्टहरु दिल्ली संझौताको बिरोध गर्छन् तर त्यही दिल्लीको ग्रायण्ड डिजायन्भित्र अभिनय गर्छन् । विधानसभाको निर्वाचनको निहुमा सिक्किम सिद्धियो । त्यस्तै हुनेछ नेपालमा संविधानसभाको परिणाम अनि राष्ट्रवादीहरको नेतृत्वमा देशद्रोहीहरु लखेट्न रगतको खोलो बग्छ ।


राजसंस्था बारेमा वि.पी. कोइरालाले अडान थियो- नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहदैन । राजतन्त्रका साथ समाजवाद चल्नसक्छ । म चहान्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेलहोस् । कांग्रेसहरु आफूहरुलाई वि.पी. वाद देखाउँछन् तर वि.पी. विचारको प्रतिकुल हिडछन् । भाँडन र भत्काउन सजिलो हुन्छ तर बनाउँन सजिलो हुँदैन । हाम्रा मान्यताहरु सिद्धिएपछि नेपालभित्र र विश्वभर छरिएर बसेका नेपालीहरुको हालत के होला राजसंस्था हिन्दु तथा बौद्ध अधिराज्य्र नेपाली भाषा सगरमाथा बुद्धको जन्मथलो नेपालको पहिचान हो । दुई ठूला राष्ट्रहरुको च्यापोमा परेको यो सानो देश र यहाँका विविध संस्कृति र परप्परामा आवद्ध नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्न सक्ने आधिकारिक स्रोत बचाएर मात्र नेपालमा संसदीय प्रजातन्त्रको सुदृढीकरण गर्नसकिन्छ । तसर्थ नेपालके स्थापित मान्यता र पहिचान जोगाएर नेपालको सावैभौमसत्ता र संसदीय प्रजातन्त्रलाई दिगो राख्न सम्पूर्ण स्वदेश-विदेशमा रहेका नेपाली जाति सचेत हौ ।



नया नेपालका केहि परिदृश्य

केहि दिन अगाडि अचानक नेपाल फिर्ने तालमेल मिल्यो र छोटो समयकोलागी 'नया' बनेको नेपाल हेर्न र भोग्न पाईयो ।

पत्र-पत्रिकामा नया नेपाल र नेपाललाई नया बनाउनेको निक्कै चर्चा-परिचर्चा हेर्ने र पढने मौका पाए पनि नया नेपालको प्रतक्ष अनुभूति भने यस पटक मात्रै भएको हो । आज त्यहि नया नेपालको केहि परिदृश्यहरु बाँढने जमर्को गर्दे छु ।

दृश्य नं १

मेरो जहाज काठमाण्डौको हवाई मैदानमा उत्रीयो र म निक्कै जोस उत्साहका साथ बाहिर निक्लने उपक्रम गर्न थाल्दै थिएं । जहाजबाट उत्रेर मानिसहरु पासपोर्टमा छाप लगाउने ठाउँमा पुग्दा समेत अध्यागमनका कर्मचारीहरु त्यहा पुगी सकेका थिएनन् । जसो तसो एक छिन कुरेर त्यहाको मेसो सक्काएर अगाडी बढें ।

आफ्नो सामानहरु जम्मा गरीसकेपछि चारैतिर हेरें, तर त्यहा न कतै खालि ट्रली देखिन्थे,  न त सोधपूछ गर्ने कुनै मानिस ! । पछि बिस्तारै अगी बढदै जाँदा थाहा भयो कसैलाई आफ्नो सामान राख्न ट्रली चाहिने भए ऊ आफै त्यहाबाट बाहिर निस्केर बहिरबाट खोजेर ट्रली घिसारेर ल्याउनु पर्ने रहेछ ।

स्मरण रहोस यसरि यात्री 'ट्रली खोज्न' बाहिर निस्कदाँ उस्ले बिमानस्थलको भन्सार, सुरक्षा जाँच सबै पार गरेर निस्कनु पर्छ । तर त्यहा न कसैले तपाई बाहिर निस्कदा के के लिएर निस्केको छ हेर्छ, न कसैले पछि फेरि भित्र छिर्दा कुनै सबाल जबाफ वा जाँच बुझ नै गर्छ ।

आफ्नो सामान राख्न ट्रली खोज्न निस्केर बाहिर ट्रलि खोज्दा मेरो मनमा कुनै समयमा चार्ल्स सोभराजले भनेको कुरा याद आयो :"नेपालको भन्सारबाट सियो त के भैसीं पनि सजिलै छिराउन सकिन्छ रे!"

दृश्य नं २

कामको सिलसिलामा राजधानिको सडकमा हिंडदै थिएं, सडकमा सुरक्षाकर्मिहरुको प्रचुर उपस्थिति देखें, अघिल्लो १-२ दिन त यस्तो देखिएको थिएन … मैले यसो सडकतिर नजर दौडाएं । बाटोमा गाडिहरु पनि देखीएनन् । कतै आज नेपाल बन्द त होईन … मलाई थाहा भएन कि के हो … बाटो हिडंदा हिडंदै कतै गएर फसिने त होईन भन्ने डर लागेर मैले सडक छेउका एकजना सुरक्षा कर्मिलाई सोधें "हैन बाटो किन खालि छ आज?" " ए! सबारी छ नि त आज" सुरक्षा कर्मचारिको जबाफले म झसंग भए। "राजतन्त्र अन्त भएको यत्ति समय सम्म पनि के को सबारि र!" मैले नबुझेर सोधें "कहा ज्ञानेन्द्रको हुनु नि, प्रधान मन्त्रिको सबारि हुदैंछ" । यसपाला भने मेरो ज्ञान खुल्यो, गणतन्त्रमा पनि सर्वहाराका नेताको स्थान भने रैतिको भन्दा निक्कै माथि हुने रहेछ ।

दृश्य नं ३

लक्ष्मी पूजाको दिन, धेरै पछि घरमा झिलिमिलि गरेर तिहार मनाउने सौभाग्य प्राप्त भएको थियो। अचानक झ्याप्प बत्ती गयो, अन्धकारमय तिहारमा मैन बत्ती र चार्ज गर्न पनि समय नमिल्ने (हरेक दिन २-३ पटक बत्ती निभ्ने हुँदा ईमरजेन्सि लाईट र मोबाईल फोन चार्ज गर्न पनि समयको निक्कै हिसाब किताब गरेर गर्नु पर्ने रहेछ) 'ईमर्जेन्सी लाईट' बालेर हामि तिहार मनाउने तरखर गर्न थाल्यौं ।

अन्धकारमय तिहार भए पनि साथि-भाईलाई शुभकामना दिनु पर्‍यो भने र म एक-दुई जना साथिलाई फोन गर्न थालें । प्राय सबै जना लोडसेडिङले दिक्क भएको कुरा सुनाउँदै थिए । तर एकजना साथिकहा फोन गरेपछि फेरि मलाई नया नेपालको आर्को प्रमाण मिल्यो ।

"मेरो मा त अन्धकार छ, तर दिपावलीको शुभकामना है" मैले भने, "हा हा, आजकल भने हामिकहा आनन्द छ … राति बत्ति जाँदैन" उताबाट साथीको आबाज आयो। "हैन सीगैं नेपाल अन्धकार हुन्छ तिमिकहाँ मात्रै किन र, 'ईन्भर्टर' राख्यौ की के हो?" मैले सोधें । " कहाको 'ईन्भर्टर' राख्नु नि, मेरो घर बालुवाटार भनेर बिर्सीयौ ! … " उसले उताबाट जानकारि दियो " राजाका पालामा नारायण हिटिमा बत्ति ननीभेको जस्तै अहिले बालुवाटारमा बत्ती निभ्दैन के" । कुरै कुरामा उसले बतायो, एकचोटि पटाका मार्का बम पड्के पछि हाम्रा उपराष्ट्रपति र उनका छिमेकमा पनि आजकल नया नेपालको प्रतापले बत्ति जान छाडेको छ रे । म सोच्न थाले हुन पनि बत्ति त रैतिका घरमा पो निभाउनु पर्छ सवा लाखको पलङ हुने घरमा पनि कहि बत्ति निभाउनु हुन्छ त!?

दृश्य नं ४

फर्कने बेलामा बिहान ७:४० को फ्लाईट थियो, अन्तराष्ट्रिय उडानमा घटिमा पनि २ घण्टा पहिला रिपोर्टिङ गर्नु पर्ने भएकाले म करिव ५:३० बजे नै बिमानस्थल पुगेको थिए । तर त्यहा ६ नबजेसम्म 'प्रस्थान' को मूल ढोका पनि खुलेको थिएन । एरपोर्ट भीत्रको सेवा र सुबिधाको बारेमा सायद कसैलाई केहि भन्नु पर्दैन होला, सामान हाल्ने ट्रलि त आफै बाहिर गएर खोजेर लानु पर्ने ठाँउमा अरु कुराको आश गर्नु बेक्कार पनि हुनेछ । तर जे होस, जहाज चढने हरेक यात्रीले बिमानस्थल शुल्क भने अनिवार्य बुझाउनु नै पर्छ । सायद त्यो रकम नया नेपालको निर्माणमा जान्छ कि? । जय होस !



November 8, 2008

देबकोटालाई बिन्ती पत्र

देबकोटाको जन्मदिबस बिती सके पनि यहाँ कोलोराडोमा भने
आईतवार मनाउने भएकोले एउटा कबिता कोरेको छु ,

देबकोटालाई बिन्ती पत्र

आदर्णिय गुरु देबकोटा ,जदौ !
मनभरी देश दु:खी रैछ आराम छु भनु कसरी
छातीभरी माटो रोइ रहेछ आनन्द छु भनु कसरी
बरु ,
कट्कट्टिएको रगतको छिटामा
आंसुको थोपा घोली ,यो पत्र लेखी राछु
अनगिन्ती अनुउत्तरित प्रश्नहरु,
यो पत्रमा सोधि रहेछु
ब्रुजुकहरु उपबुज्रुक भएको ठाउँमा
अन्योल र संत्रास निबारणको ,उपाय मागी रहेछु
आशा छ मलाई न्याय गर्नु हुनेछ
दिल र जातको समायोजना हुन्छ कसरी ?
धन र मनको मिलन हुन्छ कसरी ?
हुलहुल टाउकाहरु बिचरामा बिचलन भ'का हुन कि
गूदी सकिएर रन्थनिएका हुन कि
जातिय भेदको नारामा भुल्लिन्छन टाउकाहरु
राजनीतिमा झुत्त्तिन्छन टाउकाहरु
हुलहरु मोर्चा भए ,हुलहरु संघ भए ,हुलहरु संघठन भए
हुलहरु तराइ भए ,हुलहरु पहाड भए ,हुलहरु शहर भए
हुलहरु जज्लपा भए ,सबेरो भए ,खै के के भए
तर
हुलहरु कहिले नेपाली भएनन किन ?
हुलहरु कहिले नेपाल भएनन किन?
शायद ,
बिचराकै अनिकाल परेको हो कि
सोचकै खडेरी परेको हो कि
बिखल्बन्धमा परेको छु म त
हजुर जस्तो ,
नोकोटिनको सर्कामा बिचारको मुस्लो उडाउन सकेन
चुरोटको बट्टा, भित्ता कतै, कसैले सोच खोप्न सकेन
बरु ,
जिलेटिनको धुँवामा बारुदको कथा लेखे
बुद्धको कांखमा बाँझलाई शरण दे
छटपटाएर शान्ती रुदा
फट्फटाएर परेबा रुदा
टाउका टाउकाहरु शर ताजको सतरंज खेले
किन ?
किन?
घरदेशका नंग्रा परदेशमा पलायन छन
आफ्नै घरगाउका बाटाहरु बिराना छन
सांध सिमानामा पनि चन्द्र सुर्य लत्रिएका छन
बांकी बचेँको सगरमाथाको टोपी पनि
लाजले झुकेर कोशीमा बगेको छ
स्वाभिमानको टाल्नै नसकिने भ्वाग परेको छ
किन ?
सबाल मात्र उठाउने म पनि लांछी छु शायद
यसैले उडी चन्द्र छुने लक्षय लिन सकिन
आफ्नै माटोलाई अन्याय गरी पसिना बेची रहेछु
आफ्नै टोपी लुकाएर आँफैलाई साटिरहेछु
थाहा छैन,भडकिएको हुँ कि भडकाईएको हुँ
आफ्यानऐ भेष भुषा भुलेर उधारोमा बाँचिरहेछु म
तेसैले ,
म जस्ता कायरहरुको बुद्धिको बिर्को खोल्न
भडकिएको टाउकोमा गिदी भर्न
हजुरलाई बिन्ती गर्छु
एक चोटि फेरी आँखा उघारी हेर्नु पर्‍यो
फेरी एउटा अर्को जन्म लिनु पर्‍यो
बरु सकिन्छ भने साथमा
हजारौं दुर्योधन र दुशासनलाई सुधार्न
एउटा बिदुर लिएर आउनु पर्‍यो
हजारौं राबण र कुम्भकर्णलाई बुँझ्याउन
एउटा राम लिएर आउनु पर्‍यो
किनकी ,
यहाँ धेरै रहरहरु बाँझो छ
र धेरै बिबेकको खाँचो छ
फेरी दिल र जातको समायोजन पनि त गर्नु छ
सांग र सिस्नोको आनन्दिको बयान पनि त कोर्नु छ
मन र पनलाई पनि त गाँस्नु छ
तेसैले मेरो बिन्ती ,.
एउटा मुनामदन फेरी कोर्न आउनोस
एउटा नयाँ सोच फेरी फोर्न आउनोस
जहाँ सुनको थैला भन्दा आनन्दी मनको आकार होस्
जहाँ मुर्ती र मन्दिर भन्दा श्रम र शिपको आधार होस
घात र प्रतिघातको हाट भन्दा सदभाबको चाँदर होस्
हजुरको आग्याकारी चेलो

बर्जस्वाँठ


समानुपातिक व्यवस्था र हाम्रा प्रधानमन्त्री

बिजय कुमार श्रेष्ठ
धादिङ्ग हाल ईराक
एक तन्त्रिय जहानिए निरंकुश राणा शासनको १०४ सालको दमन सहेर शसंकित र बेसहारा भएर बाच्न बाध्य भएका हामी नेपालीले २००७ सालमा निरंकुश शासनलाई अन्य गरि प्रजातन्त्रको पुर्नबहाली गरियो । यो प्रजातान्त्रिक शासनमा केहि हदसम्म नेपाली जनताले जहानिय शासनको भन्दा केहि फरक प्रकृयाको शासन उगभोग गर्न पाए । त्यति बेला पनि जनताले जे सोचेर आफुलाई बलिदान दिएको थियो । त्यस परिबर्तित शासकहरुले सारा कुराहरुमा एक तान्त्रिक बिचार धाराको सुत्रधारलाई अंगालेर एक दलिए तानाशाहि व्यवस्थालाई मान्यता दिएर केवल शासकलाई मात्र उच्च रुप दिन सफल भयो ।

पंचायत व्यवस्थाको बिजारोपण गरियो । यो पाचायती व्यवस्थाले ३० वर्षको लामो आयु लियो । सोझा सिधा नेपाली जनतालाई पिजडामा राखेर शासक वर्गले दमन र अत्यचारको सिमा नाघेर आफुले सके भरको अत्यचार र अन्याय गरेर जनतालाई कठपुतली जस्तो बनाएर द्धापर युगको लंकाको राजा रावणले जसरि शासन सत्ता चलाए । यो अत्याचारले पनि सिमा नाघेकोले हामी नेपालीले सहन नसकेर फेरि पनि न्यायको हात फिजाउन सुरु गरियो । त्यो थियो २०४६ सालको तानाशाहि पँचायती व्यवस्था ठुलो रक्तपात र बलिदानको सँघर्षको पश्चात फेरि अर्को परिवर्तन पाउन सफल भए ।

नेपाली जनताले त्यो हो बहुदलिय प्रजातान्त्रिक व्यवस्था । बहुदलिय व्यवस्थाको पुर्नबहाली गरियो देशमा सारा नेपालीको मुहारमा हर्ष उल्लासको सिमा रहेन । एक तन्त्रीय शासनको कठघरामा बसेर कठपुतलीको जस्तो शासन भोगि रहेको हामी नेपालीले स्वातन्त्रता भन्ने के हो भन्ने कुराको अनुभवसम्म गर्न पाएका थिएनौ । देशमा शासन सत्ता परिवर्तन भयो नयाँ सविधान बन्ने पक्का भयो । देशमा नयाँ र नौलो बिहानीको जस्तो कलीलो पारिलो बिहानीको पारिलो घाम तापेको अनुभवको महसुस गर्न थालीयो ।

अब आउने शासक कस्ता होला ।नयाँ सविधानमा लेखिने कानून कस्ता होला भन्ने विभिन्न नयाँ कौतुहलहरु हामी जनमानसको मानसपटलमा सलबलाउन थाल्यो । केहि महिनाको पर्खाई पछाडि नेपालको नयाँ सविधानको पुर्नजन्म हुन गयो । सबै नेपाली जनताले चाहेको नयाँ सविधान २०४७ तय गरियो । त्यस पछि नेपाली जनताले वाक स्वातन्त्रता पाउन थाले । पँचायती व्यवस्थाको सट्टा नेपाल सरकारको नामाकरण गरियो । नेपाली जनताले केही हदसम्मको परिवर्तनको महसुस गर्ने मौका पाएका थिए । धेरै दलहरुको शासन पद्धति र धेरै किसिमका शासकहरुको अनुभव हेर्ने मौका पाए त्यति बेला । केहि हदसम्म नेपाली जनताले परिवर्तनको स्वाद लिने मौका पाईसकेको थियो । हुन त हाम्रो नेपालीमा एउटा उखान छ नि त सायद यो उखान त प्राय नेपालीले आफनो आफनो भाषामा आफनो ठाउँमा प्रयोगमा ल्याई सकेका होलान् । कौवालाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै हामी नेपाली जनतालाई बहुदल भनेको कौवालाई पाकेको बेल भने जस्तै भयो र यो परिवर्तले पनि मुर्हत रुप लिन सकेन ।

बहुदलिय प्रजातन्त्रको पुर्नबहाली भएको केहि साल बित्न नपाउदै प्रजातन्त्रवादि भनौदा पार्टिहरुमा ठुलो सँघ्रामको बादविवादले सिमा नाग्न थाल्यो र एक आपसमा अवसरबादि हुन थालेर जनताले रगतको भेल बगाएर आफनो आहुतीको बलिदानलाई कोरा कागतको खेस्रा जस्तो सम्झेर आफुले जनता सामु खाएको कसम बाचाँहरुलाई नाघेर आफनो गोजीको समस्यालाई मध्य नजर राखेर सारा देशको ढुकुटीलाई पुखौली सम्पति बनाएर देश र देश बासी जनतालाई बिहान बेलुकीको छाक टार्न समेत धौ धौ पर्ने स्थितिमा पुर्‍याई दिए । परिवर्तन त भयो किन भएन जो व्यक्ति खाली खुट्टा हिड् डुल गर्थ्यो ति व्यक्तिहरुको खुट्टामा गरिव जनताले वर्ष भरि खान पुग्ने रकमको जुत्ता हुन् थाल्यो । अनि हामी गरिव निमुखा जनताले कसरि सहि बस्नु त ।

फेरि पनि जनतामा शासन लाद्न थाले ति देश बहाक शासकहरुले मुखले राम राम बगलीमा छुरा यो मन्त्रलाई मध्य नजर राखेर देशमा ति प्रजातन्त्रका मुकुन्डो लगाएका नेताहरुले देशको ढुकुटीमा रजाई गर्न थाले । नाताबाद र कृर्पाबादले पारदर्शी हुन थाल्यो देशमा । गरिव जनताको छोरा छोरीले समानान्तर पाउन सकेन । फेरि पनि हैकमबादको धाक धम्की रवाफ चल्न र चलाउन सुरु भयो देशमा अनि गरिव जनताले न्याय पाउन सकेन । केवल व्यवस्था मात्र परिवर्तन भएको थियो देशमा शासकहरु उहि नै थिए । माहुरिको चाकामा बसेर मह चुस्ने बानी परेकाहरुलाई सत्ता परिवर्तन भएर के भयो त । व्यक्ति त्यहि नै हो शासन गर्ने ठाउँ त्यहि नै हो र कानून त्यहि नै हो । त्यसै कारणले जनता अत्याचार र दमनले चरम सिमा नाधेर गएकोले जनतामा रक्तपात क्रान्तिको थालनी भयो ।
त्यो क्रान्तिको थालनी गर्ने पार्टि थियो नेपाल कम्युनिष्ट पार्टि माओवादि । भण्डाफोरको निती लिएर बहुदलिय व्यवस्थाको बिरोधमा भुमिगत भएर नौलो क्रान्तिको विगुल फुक्न थाले कम्युनिष्ट नेता माओसेतुङ्गको सिद्धन्तलाई अंगालेर । त्यो भण्डाफोरको थालनी थियो २०५२ साल । सारा देशबाशी जनताको मनमा शंका उपशंकाहरुले बास गर्न थाल्यो । भयानक बिध्वङसकारी बिस्फोटनहरुको उत्पति हुन थाल्यो । आम जनतामा त्रासको भाव सृजना हुन थाल्यो । गाउँका बस्तिहरु दिन दिनै उजाड बन्दै जान थाल्यो । गाउँमा उमेर पुगेका पुरुष महिलाहरुको बास हुन छाड्यो । कोहि माओवादको नारा लिएर हिड्न थाले भने कोहि जीवन र मरणको दोसाधमा पिल्यिर बाध्यताले आफनो प्यारो देश छाडेर मुङलानिया बन्न पुगे । बाकि रहे ति उमेर पाकेका बुढा बुढी केबल आफनो जीबनको भरोसा नभएका ति पाका वृद्ध बाबा आमालाई पनि शान्तिले कहाँ बाच्न दिएर ति बहुदलबादीहरुले र क्रान्तिकारीहरुले कोहि कसैको जिवनको भरोसा भएन जिउने र मर्नेको एक आपसमा ठुलो सङग्रामको वातावरणको सृजना गराई दिए । खान लागेको भात भन्न पाएन न त परिवार भनेर नै शान्तिले बाच्न पाए । कतिको सिउन्दो पुछियो कतिको बेघरबार भयो । कोहि कसैले पनि यो मेरो हो भनेर भन्न पाएनन् ।बिशाल यूद्ध भुमि बन्न गयो त्यो सुन्दर शान्त नेपाल । ति निमुखा जनता कहिले सरकारको चपेटा कहिले क्रान्तिकारिको चपेटामा आफना सारा समय कसरी बितायो भन्ने कुराको अनुभव हुन सकेन । यो युद्धको कमाण्डर हुनु हुन्थ्यो प्रचण्ड र बाबुराम भट्टराई उहाँहरुको त्याग र बलिदानले १२ वर्षसम्म चल्यो युद्ध ।

यो युद्धबाट ति सिधा साधा जनताले ठुलो सास्ती र दुर्दशाहरु भोग्नु पर्‍यो । गोला र बारुद नदेखेकाले त्यसलाई आफनो दैनिकीको विषयमा सुचि करण बनाएर हिड्न थाले । को आफनो को अर्का भन्ने कुराको परिचय समेत भुल्न बाध्य भए ति सिधा साधा जनताहरु आफनो हक र अधिकारको खाजि गर्नको लागि आफुसँग भएको सार्मथ्यले भ्याएसम्म न बास न गासको ठेगान समेतको प्रवाह नगरिकन जंगली जिवन बिताउन बाध्य भए । ति सारा नेपाली जनताको त्याग र बलिदानले गर्दा १२ वर्षको लामो कठोर सँघर्ष पछाडि देशमा फेरि नौलो बिहानीको पात पलाउन सुरु गर् यो । त्यो नौलो बिहानीको कलकलाउदो पात थियो जुन नेपाली जनताले धेरै पहिला देखी नै चाहेको चाहानाको कुरा थियो । जनताले मन बचन र कर्मलाई साछि राखेर देशमा लोक तन्त्रको बहाली गरायो । कैयौ दमनकारीको दमन र थिचो मिचोलाई सहेर देशमा नौलो बिहानीको पुर्नवहाली गरेर छाडे । नेपाली जनताले चाहेको लोकले चलाउने शासन लोकतन्त्र । समान हक र अधिकार भन्ने नाराको साथमा एउटै नारा रचेर ल्याएको थियो यो लोकतन्त्र ।

त्यो दिनको हामी नेपालीको ओठमा छाएको हासो हस्रउल्लासमयका दिनहरुलाई हामीले कहिले भुल्न सक्दैनौ । ठुलो आशाको नौलो किरण छाएको थियो नेपालीको मुहारमा लहरा तान्दा पहरा थर्के जसरी संसार भरि छरिएर बसेका नेपाल आमाका सन्तानको मनमा खुशियाली छाउन थाल्यो । परदेशमा आफुलाई परेको सारा दुःख बिसर्िएर लोकतन्त्रको पुर्नवहालीको हस्रउल्लास मनाउन तिर व्यास्त भयो ति परदेशी मनहरु । लोकतन्त्रको पुर्नवहाली पछि देशमा समानुपातिकको नारा गिुन्जन थाल्यो । सारा देशमा रहेका देशबाशीहरुको मुहारमा हर्षको आशु बग्न थाल्यो । सानो र ठुलो भन्ने शब्दावली शब्दकोषबाट नै फाल्ने अठोट गरियो । सामान्ति शासन र हलियाँ प्रथाको अन्त्य गर्ने नियम कानुनको प्रतिपादन गर्ने अठोट गरियो ।

देशमा पुर्ण रुपमा लोकतन्त्रको बहाली गरियो । ठूलो त्याग तपस्या र बलिदान पश्चात सघर्षशिल पाटिलाई जनताले आफनो अमुल्य मत दिएर देशमा सबै भन्दा ठुलो दलको नामले चिनाई दिए । त्यो थियो नेपाल कम्युनिष्ट पाटि माओवादि । सो पाटिको नेतृत्व गर्ने बौद्धिक बिचार धार भएका दुई हस्तिहरु थिए । त्यो नाम थियो प्रचण्ड र अर्का नेता बाबुराम भट्टराई । देश चलाउने जिम्मा माओवादि पाटिको काधमा आयो । सधर्षबाट आएको देश र जनताको बारेमा सम्पुर्ण अध्याय जानकारी भएको पाटिको काधमा गएको त्यो देशको डाढु पन्नियो भाग वण्डा त राम्रै नै लगाउला भन्ने आशा थियो जनतालाई त्यो आशाको दियो थियो देशको प्रधानमन्त्रि हुनु भएका माओवादिका हस्ति प्रचण्ड पुष्पकमल दाहाल सायद यो नाम सारा नेपाली जनतालाई थाहा थिएन होला । उहाँको जोस र जागर हाउँ भाउँ जनतालाई धेरै मन परेको थियो । आशा थियो उहाँको नेतृत्व समान र काचन होला भन्ने कुरा । नेपाललाई सिङापुर बनाउने सम्म बोल्नु भएको थियो कुनै दिनमा त्यो कुरा त उहाँलाई नै थाहा होला । अब पालो आएको छ नेपाललाई के बनाउने हो हामीले हेर्न बाकि छ ।

समानुपातिकको नाराले देशलाई नयाँ रुप दिने बाचाका साथ त्यो कुर्सीको हर्ता कर्ता बन्नु भएको छ । नाताबाद र कृपाबादको नारालाई पनि उहाले औला उठाउनु भएको थियो । उहाले समान भन्ने अर्थमा आफना स परिवारलाई राज्यकोषबाट तलब भत्ता पाउने गरि नियुक्ती दिनु भएको छ । केवल पत्निलाई बाहेक । आफनो छोरालाई कम्प्युटर अपरेटरको नाम दिदै आफु जता गयो साथमा नै लिएर जादै हुनु हुन्छ । के त्यति ठुलो पाटिमा अरु कोहि थिएन कम्प्युटर अपरेटर अरुले सिकेका थिएनन् होला कम्प्युटरको क यो पनि समान नै गर्नु भयो । अनि अरुको पार्टिबाट त राख्न सकेन हुदैन पनि थियो भत्ता खुवाउन तर आफना पाटि भित्र त त्यस्ता योग्य व्यक्ति थिएन होला आफनो श्रीमतिलाई उपनेताको पद दिलाउनु भएको होला । अब यसलाई कुन बादको सँज्ञा दिने होला त नयाँ नेपाल बनाउने सपना लिएर देशको प्रधानमन्त्रि बन्नु भएको प्रचण्ड जीको कार्यकालको थालनी हामीले परिवारबादबाट हेर्न पायौ ।

उहाँलाई पनि थाहा होला आफनो पारिवारिक घटनाहरु परिवारमा बिहान बेलुकाको छाक टार्न हम्मे हम्मे परेकोले उहाँको बुबाले आफनो जन्म स्थान छाड्नु परेको कथाहरु हामीले त उहाँको मुखबाट निस्कीएको लवज मात्र सुनेका हौ । परिवार धान्न गार् यो भएकोले र पहाडमा उब्जनी कम हुने भएकोले तराईको बसाई सर्नु भएको कथा आज पनि सुनाउदै आउनु भएको छ प्रचण्डका बुबाले नेपाली पत्र पत्रिकामा । आफनो र देशको परिस्थितिलाई उहाँ कसरि बुझनु भएको हो । नेपालीको छोरोले ५० रुपैयाँ मिटरमा पाउने दौरा र सुरुवाल समेत किन्नलाई धौ धौ परेको बेलामा उहाँ नयाँ नेपालमा नयाँ परिवर्तन भनेर तेती राम्रो दौरा र सुरुवाललाई चटक्क फालेर बेलायती पोशाकमा सजिनु भयो । आज उहाँ पनि राजनितिक गरेर त्यो ठाउँमा नपुग्नु भएको भए के उहाँलाई त्यो आफनो शिक्षक पेशाले ती महंगा सुट लगाउन सक्नु हुन्थ्यो होला त अनि आफुले चाहि नलगाउने आफु उपस्थित हुने समारोहमा कर्मचारीलाई उपस्थित हुन चाहि राष्ट्रिय पोशाक लगाउनु पर्ने यो पनि नयाँ नेपालको नयाँ सृजना होला ।

नयाँ नेपालमा हाम्रा प्रधानमन्त्रिले गर्नु भएका नयाँ समानुपतिक व्यवस्थाको सृजना यस्ता छन् ।

१। आफनो परिवारमा चार सदस्य सरकारी तलवी ।
२। राष्टिय पोशाक दौरा र सुरुवाललाई त्याग्नु भयो ।
३। कम्प्युटर अपरेटरमा आफनो छोरालाई नियुक्ति गरेर बिदेश भ्रमणको साथि बनाउनु भयो ।
४। भारतिय नागरिकता भएको आफनो छोरीलाई निजी सचिवालयको प्रमुखमा नियुक्ति गर्नु भयो ।
५ ।सत्ता हस्तान्तरणमा आफनो पत्नीलाई साक्षी राख्नु भयो ।