September 5, 2008

कामरेड प्रचण्डको बिबिसी अन्तर्वार्ता : यसको निहितार्थ

जनताको रगतले भिजेका आफ्ना हातहरू ओभानो पनि बन्न पाएका थिएनन् , माओवादीहरू सत्तासीन बन्ने परिस्थिति जुट्यो । फलत कामरेड पुष्पकमल दाहाल उर्फ कामरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्न पुग्नुभयो । वहाँले यो अकस्मात प्राप्त बोझ उठाउनु पर्दा स्वाभाविक असहजपन महशूस गरेको हुनुपर्छ , त्यसैले शपथ ग्रहण गर्दाका दिनमा पत्रकारहरूको जिज्ञासामा भन्नु भएको थियो ' म अति एक्साइटेड भएको छु, र मसंग अहिले बोल्ने शव्द पनि छैनन्' । तर पदारोहणको २ हप्ता बितिसक्दा, कामरेड दाहालको 'एक्साइटमेण्ट' सब्साइड भइसकेको भान भएको छ । यो किनभने , गएको हप्ता प्रधानमन्त्री दाहालले बिबिसी नेपाली सेवाका रविन्द्र मिश्रलाई एउटा लामो अन्तर्वार्ता दिनुभयो । यसो त अन्तर्वार्तामा कामरेड दाहालको भावुक व्यक्तित्वको धरातलमा बनेको जिम्मेवारीपन झल्किन्थ्यो भने , वहाँको 'एक्साइटमेण्ट' मा ' क्यारिड अवे' हुने कम्यनिष्ट धङधङी बोकेको उद्देश्य पनि छताछुल्ल बन्यो यो वार्ता मार्फत ।


कामरेड दाहाल-भट्टराईको माओवादी पार्टी भित्रको प्रभावसाली सिण्डिकेटले पछिल्ला दिनहरूमा रट लगाउने गरेको चामत्कारिक आर्थिक विकासको नेपाली-मोडेलको पुनर्खुलासा कामरेड दाहालले आफ्नो लफ्पाजि भरिएको वार्ताका दौरान पनि दोहोर्‌याउनु भयो । तर सदैव जस्तो, यो चामत्कारिक विकास रूपी कल्पनाको घैँटो फुटाल्ने आख्यान बाहेक यस्तो विकासको प्रामाणिक आधार, यसका लागि लगानीकर्ताहरूको खोजी, वातावरणको निर्माणदेखि अरू आवश्यक पर्ने यावत जरूरतहरूको तथ्य र आँकडागत उदाहरण पनि कतै दिन किचकिच गर्नु भएन । यस्तो लाग्छ, माओवादी मोडेलको यो भ्यागुतो जस्तो उफ्रने विकास , नेपालमा एकाएक माओवादी नेताहरुको मुखराविन्दबाट प्रकट हुने बित्तिकै छलाङ मार्दै अवतरण हुन पुग्ने हो । यो विकासे नेपालको कथा बिगत केही महिनादेखि नेपालमा सुनिँदै आएपनि, माओवादीका कुनै पनि नेताले , यो कसरी कारगर हुन पुग्ने हो भन्ने कुरामा माथापच्ची गर्न आवश्यक नै ठानेका छैनन् , कामरेड दाहालको पछिल्लो बिबिसी अन्तर्लापले पनि यसको निरन्तरता बाहेक नया कुरा केही दिएन । विकास र माओवादीले भन्ने गरेको 'चमत्कार' का लागि सोच र भावुकताको भन्दा ,व्यवहारिक योजना र प्रतिवद्दता अनि तिनको क्रियान्वयनको खावचो टड्कारो रहनेछ । हिजो द्वन्दका दिनहरूमा, नेपालमा खोलिएका बहुराष्ट्रिय र विदेशी कम्पनिहरूको अस्तित्व समाप्त पार्न अनि बनेका पूर्वाधारहरूको विध्वंश गर्न खर्चेको माओवादी ऊर्जा र माओवादीले अङ्गिकार गरेको राजनैतिक सिद्दान्तले बोकेको निजि पूँजी र पूँजीको परिचालन , बजारमुखी उदरवादी अर्थनीति बिरोधी एजेण्डा नै यो चमत्त्कारिक विकासको मार्गमा नम्बर १ अवरोधक हो ।

कामरेड प्रचण्डको यो अन्तर्वार्तामा देखिएको अर्को बिसंगत पक्ष भनेको उनको राजनैतिक मुद्दा सम्बन्धी स्वीकारोक्ति हो । विश्वमान्य उदारवादी लोकतन्त्रका पक्षमा खुलेर वितृष्णा जाहेर गर्न नसके पनि आफ्नो पार्टीको आशक्ति र अनुरक्ति एकाधिकारवादी कम्युनिष्ट शासन पद्दति नै हो भन्ने कुरा उनले प्रष्ट बताएका छन् , यो वार्तामा । तर वर्तमान लोकतान्त्रिक संसारको भाका र लयलाई समातेर उनीह बिगतमा आफ्नो पार्टी र अरू कम्युनिष्टहरूले भन्ने गरेको हिंसात्मक रूपले सत्ता कब्जा गर्ने कुरालाई नपक्रेर , लोकतान्त्रिक पद्दतिबाट कम्युनिष्ट राज्य व्यवस्थाको स्थापनातर्फ अघि बढ्ने चलाख तर्क प्रस्तुत गर्छन । यसका लागि उनको जिरह छ आगामी चुनाबमा उनको पार्टीले दुई तिहाइ मत ल्याउने छ र अन्त्यमा उनको लक्ष्य ९०% जनमत हासिल गर्ने हुनेछ । यसरी जनमत प्राप्त भएपछि जनवादी गणतन्त्र स्वत: अनुमोदित हुनेछ भन्ने प्रम दाहालको तर्क छ । सर्सर्ति हे्र्दा यो कुरामा बिमति राख्न पर्ने कुरा देखिन्न । ९०% बन्दा बढी जनताले चाहे भने त मुलुकमा जे कुरा लागू गर्दा पनि लोकतान्त्रिक पद्द्ति सम्मत भएको मान्न सकिन्छ । तर , के आधुनिक विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकहरूमा दलगत प्रतिस्पर्धाको वातावरणमा एउटा दलले ९०% जनमत ल्याउन सम्भव छ ? के कतै यो भएको छ ? संसारका समुन्नत देशहरू र आदर्श लोकतान्त्रिक मानिएका मुलुकमा पनि यति विघ्न जनमत कुनै एउटा दल विशेष वा उसका नीति नियमका पक्षमा एकोहोरिएको छ भन्ने उदाहरण पाइँदैन । यस्तो विघ्न मत कसैले ल्याएको थियो भने केवल फलिपिन्सका पुर्व तानाशाह मार्कोस, बांग्लादेसका तानाशाह हुसेन एर्शाद र रोमानियाका निकोलाइ चाउचेस्कूले मात्र ल्याउन सकेको उदाहरण आधुनिक विश्वमा हामीले देखेका हौँ । सेना , मिलिसिया र बलको भरमा ९९% सम्म जन- मत हासिल गर्ने यी तानाशाहहरूको नियति तिनको त्यो अगाध जनअनुमोदनको भरमा पनि टिकेन , हामीले देखेका हौँ । यस्तो जनमत हासिल केवल देखावटी नौटमकी निर्वाचनहरूमा समा, दाम, दण्ड, भेदहरूको समष्टि शक्ति प्रयोग गरी प्राप्त भएको मात्र देखिन्छ । तर आधुनिक लोकतन्त्रहरूमा बहुमतले शासन दिने र अल्पमतको पनि समावेशी सशक्तिकरणमा विश्वास गरिने हुनाले साथै आवधिक जननिर्वाचनको माध्यमबाट मुलुकको शासन प्रशासन सञ्चालन गरिने हुनाले अनावश्यक प्रचण्ड बहुमतको दरकार नै त्यहाँ ठानिन्न । फेरि जनताको विचार पनि समय समयमा अनि नेता तथा दलहरूको कार्यव्यवहार अनुसार परिवर्तनीय हुने भएकाले एक पटक बहुमत प्राप्त हँदैमा सँधैका लागि अकाट्य हुनेछ भन्नु पनि मुर्खता हो ।

यदि कामरेड प्रचण्डको भनाइ र निहितार्थ बुझ्ने हो भने , अहिले हासिल राज्यको शासन र प्रशासनको भरपुर उपयोग गर्दै माओवादी दलको नियन्त्रणमा रहेको जनवादी गणतन्त्रतर्फ नेपाललाई बलात् लैजाने कुरामा वहाँको पार्टी र नेताहरूमा बिमति छैन, यो छ भने केवल हाम्रो बुझाइमा ।


माओवादिको विदेश नीति र चौतारिको गफ

केहि समय अगाडि चिनको ‘खेलकुद भ्रमण’ गरेर फर्केका प्रधानमन्त्री आगामी १४ सेप्टेम्बर देखी छिमेकी राष्ट्र भारतको भ्रमणमा जाँदैछन ।

यता हाम्रा प्रधानमन्त्री र माओबादि दल यो भ्रमणलाई लाजै नमानी उनको ‘पहिलो राजनैतिक भ्रमण’ भएको परिभाषित गर्न जोडतोडका साथ लागि परेको बेलामा भारतिय अनलाईन मिडियाहरुले भने प्रचण्डले परम्परा देखि चलि आएको ‘रिवाज’ लाई तोडि चिनको भ्रमण पहिले गरेकोले उनको भ्रमणले यस भन्दा पहिले गिरिजा कोईरालाले पाएको जत्ति सम्मान नपाउने कुरा उल्लेख गरि सकेका छन् ।

माओबादिले प्रचण्डको भ्रमणलाई ‘खेलकुद भ्रमण’ बनाउन गरेको कसरतले कुनै रंग नदेखाउने कुरा अब करिव करिव प्रष्ट भैसकेको छ । राजनैतिक विश्लेषकहरु यसपाला प्रचण्डले अघिल्लो पटक गिरिजा कोईरालाले पाएको जत्ती सम्मान नपाउने मात्रै हैन विमानस्थलमा स्वागत गर्न पनि भारतिय प्रधानमन्त्रि नजाने करिव करिव निश्चित भैसकेको बताउँछन ।

यो सबै प्रचण्ड र माओबादि नेतृत्वको ‘दुईवटा डुङ्गामा खुट्टा राख्न खोज्ने नीति’ को फल हो । पक्कै पनि चिन र भारतको सम्बन्धमा सन्तुलन राख्ने जरुरत नेपाललाई होला तर यसरी भुमिगत छँदा, कुनै निर्जन गाँउको चौतारिमा बसेर कार्यकर्तालाई हावा गफ दीएर ‘वाह! वाह!!’ बटुलेको जस्तो पाराले नेपालको विदेश नीति तय गर्न खोज्नु भनेको माओबादिको ठुलो भुल हो ।

त्यसो त नेपालको तात्कालिन स्थिति, आन्तरिक समस्या आदिलाई हेर्दा प्रचण्डले ओलम्पिक ताका चिनको भ्रमण नगरेकै भए पनि चीनले दागा धर्ने स्थिति भने पक्कै थिएन । तर ‘परम्परा तोडेर’ ‘हिरो’ भन्ने लालसाका कारण र विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई ‘चौतारिको गफ’ जस्तो हलुका आकलन गरेका कारण प्रचण्डले चीनको ‘खेलकुद भ्रमण’ को अबसरलाई छाडेनन् । अब भारत भ्रमणको समय नजिकिदैं जाँदा त्यसको परिणाम र गम्भीर भएर आएको ‘चौतारीको गफ’ का कारण माओबादिलाई हम्मे हम्मे परेको छ ।

जनतलाई जोस्याउन, भोट कमाउन वा आफूलाई परम राष्ट्रवादि भएको देखाउन जे जस्तो कुरा गरेपनि हामि चिन भन्दा भारतमा बढि निर्भर रहेको कुरा घाम जस्तै छर्लङग छ। यस्तो अबस्थामा पहिला चिनको भ्रमण गरेर ‘हिरो’ बन्न नखोजेको भए तात्कालिन स्थिति र आन्तरिक समस्याको कारंण चिनले सो बिषयलाई हाल भारतले जस्तो गरि गम्भिर रुपमा लिने थिएन । तर गाँउमा कत्ति कार्यकर्तालाई गफ दिएर ‘ठीक ठाँउमा’ ल्याएको थिए, त्यस्तै गफ दिएर भारतलाई पनि भुल्याउने छु भन्ने सोच र ‘खेलकुद भ्रमण’ को हाउगुजि देखाएर भारतलाई छक्काउने हल्का बिचारका कारण गरीएको भ्रमण हाल माओबादिलाई भालुको कन्पट साबित भएको छ ।

आशा गरौं यो घटनाबाट माओबादि नेतृत्वले विदेश नीति र अन्तराष्ट्रीय सम्बन्धलाई ‘चौतारिको गफ’ जस्तो हल्का लिने छैनन् र आगामि दिनमा जिम्मेबार दलका रुपमा अघि बढनेछन्।



September 1, 2008

रिमोट कन्ट्रोल को तालमा प्रचण्डको लाखेनाच

-शेखर ढुङ्गेल
गरिब जनतालाई आस र त्रास बाँड्दै १९ हजार निर्दोष नागरिकको लासको भर् याङ्ग चढी सत्तामा पुगेका प्रचण्डले सवा लाखको ुबेडु रोजेर आफू सर्वहारा वर्गको बुख्याचा मात्र भएको प्रमाणित गरिदिएका छन् । राष्ट्रको सम्मानित एवं नेतृत्व तहमा बस्नेले आफूलाई उदाहरणको रुपमा प्रस्तुत गर्न दृढ सन्तुलित एवं संयमित अनुशासित नैतिकवान उच्च मनोवलका साथ निर्णायक क्षमता राख्न सक्नुपर्दछ । प्रचण्डमा त्यो क्षमता देखिएन । उनी कतैबाट साचालित बुख्याचा देखिएका छन् ।

सनातनदेखिको तपोभूमि नेपालका बुख्याचा प्रधानमन्त्रीलाई नेपालीको त्यो अस्था र विश्वासप्रति मान्यता दिने इच्छा छैन । विश्वको एकमात्र हिन्दू राष्ट्र उनलाई पचेन किनकि उनी कतैबाट संचालित छन् । उनी आफ्ना हजारौं जघन्य अपराधलाई गिरिजाप्रसादमार्फत् वैध मात्र बनाउँन मात्र होइन कुर्सीमा पुग्नसमेत सफल भए । सत्तामा पुगेको साँढे दुई वर्षमा के नयाँ काम गरे विस्थापित एवं पीडित नागरिकलाई उनका घर फकर्न र जफत गरेका सम्पत्ति फिर्ता गर्ने काम गरे पीडित अपाङ्ग र घरबारविहीन भएकालाई एक पटक सम्बोधन गरे राष्ट्रियता र राष्ट्रवादका लागि गर्व गर्ने एक कुनै काम गरे जातीयता र क्षेत्रीयतामा जनतालाई भिडन्तमा उतार्नु बाहेक हाम्रो अस्मिता र गौरवमा आँच पुर् याउन बाहेक राष्ट्रिय पोशाक राष्ट्रधर्मप्रतिको अनास्था फैलाउने उनी कुन देशका बुख्याचा हुन् समयलॆ प्रमाणित पक्कै गर्ने छ ।

के नेपाल स्वतन्त्र राष्ट्र होइन चीन भ्रमण राजनीतिक भ्रमण होइन पहिलो राजनीतिक भ्रमण भारतबाटै हुनेछ भनी स्पष्टीकरण दिनु के एउटा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीको हैसियतलाई बुझ्न नसक्नेलाई बुख्याचा भन्न मिल्दैन त्यति मात्र नभै इतिहासमै पहिलो पटक उनले प्रधानमन्त्रीको शपथ खाँदा भारतीय टोली बोलाइयो र भारतीय राजदूतसित विशेष रुपले अङ्कमाल अर्थात् अनुग्रहित भएको सन्देश दिने काम भयो । बिहारी गणतन्त्र मान्दैनौं भन्ने माओवादी प्रमुख अतिथि विहारका शरद यादवलाई उनले कसरी निम्ताए यसरी स्पष्ट भएको छ कि राजसंस्था फ्याँक्न भारतले खडा गरेको बुख्याचा हुन् प्रचण्ड ।

नेपाली कांग्रेससित केही लिन खोजे राष्ट्रवादका खोल ओढेका यी ब्वासाहरुको नक्कली अबरोध खेप्नु परेको र भारतको चाहनाको मुख्य दुस्मन राजा फ्याँक्न भारतले यी नरभक्षी बुख्याचालाई प्रयोग गरी आफ्नो काम फत्ते गरेको स्पष्ट हुँदै गैरहेको छ । माथिबाट प्रचण्ड बुख्याचा तलबाट फोरम उपेन्द्र यादव झा अनि तमलोपा यी तीन रुपका बुख्याचामार्फत आफ्नो स्वार्थ पूरा गर्न उसलाई अब कसैले रोक्न सक्तैन । प्रचण्ड नयाँ लोण्डुप दोर्जे बन्नेमा आशङ्का नगरे हुन्छ ।

रौतहट काण्डको बारेमा दिएको वक्तब्य र उपेन्द्र यादबसितको सहयात्राले स्पष्ट भएको छ कि देशको शासकीय बागडोर अब नेपालीको हातमा रहेन । प्रचण्ड उपेन्द्र यादब झारुपी बुख्याचाहरुले राष्ट्रको मौलिकतालाई लत्याइसके र विदेशीको उधारो भाषा र भेष प्रयोग गर्न थालेका छन् । धर्म नमान्ने सामाजिक आस्थाका मान्यतालाई कुल्चने कामले प्रश्रय पाएको छ । स्मरण रहोस्- अमेरिका भारत लगायतका विकसित र स्थापित प्रजातान्त्रिक देशहरुमा ईश्वरकै नाममा शपथ खाइन्छ । ईश्वरलाई साक्षी राख्नुको अर्थ हुन्छ । प्रेम सद्भाव सहयोग र सहअस्तित्वप्रतिको प्रतिबद्धता अझ कि्रस्चियन देशहरुमा त सदनमा प्रत्येक दिनको कार्यक्रम ईश्वरको प्रार्थना गरेर मात्र सुरु हुन्छ । तर हाम्रा आयातीत मानसिकताका बुख्याचाहरु ईश्वरप्रति नै अनास्था गर्दैछन् ।

जनताका नाममा शपथ खान्छन् तर गैरकानुनी रुपमा जनताका घरजग्गा कब्जा गर्दछन् । विस्थापित भएका हजारौं जनतालाई घर फर्कन दिदैनन् । उनकाविरुद्ध बोल्नेको गला रेट्छन् । यो कस्तो विडम्बना जनताको नाममा जनताकै लाशको भर् याङ्ग चढी सत्ता सम्हालेका प्रचण्डरुपी बुख्याचालाई जनभावना विपरित मन्त्रालय विभाज गरी मन्त्रीको संख्या बढाउन लाज लागेको छैन । एउटै मन्त्रालयमा दुई मन्त्री दुई सचिव राख्ने विचित्र काम गर्न हिचकिचाएका छैनन् । मन्त्री मण्डल गठनमा देखिएको प्रधानमन्त्रीको निरीहता एउटा बुख्याचाको नियतिभन्दा फरक देखिएन । शपथ ग्रहण कार्यक्रममा आफ्नै दलका मन्त्रीले बहिस्कार गर्नु उनको प्रधानमन्त्री कुसर्ीमा बस्ने नैतिक आधारको समाप्ति हो ।

त्यसमा पनि वामदेव गौतम जे.पी. गुप्ता विजयकुमार गच्छेदारलाई साथ लिएर कुन चािहं नयाँ शासन दिन खोजेका हुन् आफ्नै दलका बरिष्ठ नेताभन्दा अरुको दलको नेतालाई महत्व दिने प्रचण्डको कार्य क्षमता कस्तो होला देश आर्थिक जर्जरतामा फसेकी छ मितव्ययिताको सानोभन्दा सानो कार्यक्रम लेराउन सकेका छैनन् । बाढी र भोकमरी पीडित जनताभन्दा उद्घाटन विसर्जनजस्ता भाषणमै प्रधानमन्त्रीदेखि मन्त्रीहरु व्यस्त छन् । के हो नयाँ नेपालको खाका कस्तो हो नयाँ प्रशासनिक ढाँचा ध्वस्त जीर्ण अस्तव्यस्तता लुट अराजकता दण्डहीनताको बढावा नै नयाँ नेपालको नियति हो भने किन चाहियो गणतन्त्र निरंकुश राजतन्त्र र अहिलेको तन्त्रमा के फरक उनको शासनले कुनै काम र जनताले राहत पाउने काम गर्ने सङ्केत देखिएको छैन । प्रधानमन्त्री स्वयं पार्टी नीतिभन्दा अलग देखिएका छन् । उनी कतै अदृश्य शक्तिबाट साचालित भएको उनकै केन्द्रीयस्तरका नेताबाट खुलासा भएको छ । मन्त्रीहरुको शपथग्रहण कार्यक्रममा पत्रकारलाई प्रवेश नदिएर आफ्नै अधिनायकवादी सोचको पर्दा उधारिदिएका छन् । नियम कानुन जनभावनालाई कुल्चनेलाई अधिनायक भन्दछन् होइन र एउटा हिन्दी सिनेमाको संवाद छ नि ुआवाज दवाउन नसके के भो त गला त दवाउन सकिन्छ निु । बस नयाँ नेपालको नाममा प्रचण्ड बुख्याचा बनी नेपालको धर्म संस्कृति भेष भाषा अखण्डता अस्मिता गौरव अनि अर्थतन्त्रको गला दबाउने काम गर्दैछन् । उनी कोबाट प्रशिक्षित प्रेरित अनि प्रभावित छन् यो पर्दा उघार्नु जरुरी छ ।


August 31, 2008

अदुअआको शुद्धीकरण राष्ट्रनिर्माणको आधार

शेखर ढुङ्गेल
बदिलंदो राजनीतिक परिस्थतिसँग देशको एक महत्वपूर्ण संवैधानिक निकाय अख्तियार दूरुपयोग अनुसन्धान आयोगको भूमिका एवं कार्य क्षमताका बारेमा चर्चा-परिचर्चा भैराखेको देखिन्छ । वास्तवमा यो आयोग र राष्ट्रिय अनुसन्धान विभाग दुवै सेता हात्ती सावित भैसकेका छन् । अनुसन्धानको नाममा राज्यको ढिकुटी रित्याउने आफ्नै थाप्लोमा भारी बढाउने र राजनीतिक कार्यकर्ता भर्ने यी दुई थलोको बारेमा जरैदेखि पुनसंरचना गर्ने सोचाइ राख्नुपर्दछ । पाचायती कालमा प्रशासनिक क्षेत्र र राजनीतिक दलहरुको जासुसी गर्न मण्डले लठैतहरुको भर्तीकेन्द्रको रुपमा स्थ्थापना गरिएको राष्ट्रिय अनुसन्धान विभागको त अब कुनै औचित्य नै छैन ।


रह्यो अख्तियार दुरुपयोग निवारण आयोगको कुरो यस आयोगका जिम्मेवार अधिकारी अख्तियार दुरुपयोगको खोजी र अनुसन्धान त गर्दै गर्दैनन् उजुरी परेपछि वा जनताको आवाज पत्रपत्रिकामा आउन थालेपछि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरु कुर्सीबाट उठ्न थाल्दछन् । सजाय होइन क्षमादानका बाटोमात्र अवलम्वन गर्दछन् । त्यसै कारणले आयोगले पेश गरेका मुद्दा जानीजानी कमजोर बनाएर विशेष अदालतमा पेश गर्दछन् अनि अदालतले मुद्दा खोक्रो बनाई सफाइ दिने वा न्यून सजायको भागिदार बनाइ दिन्छ ।


अख्तियारका पदाधिकारीहरु राजनीतिक नेतालाई खुसी पार्ने र आफ्नो कुर्सी जोगाइ राख्ने मात्र उद्देश्य राखी आपुनो कर्तव्य पूरा गर्दछन् । एउटा त्यस्तो मुद्दा जसलाई जनताले देखेका वा थाहा पाएका छैनन् जुन मुद्दाका अभियुक्तले मुद्दा हारी अख्तियार दुरुपयोग गरी कमाएको सम्पत्ति राजस्वमा दाखिलाभै जेल सजाय पाएको होस् ।


यो आयोग मौसम एवं सत्ता परिवर्तनको चालमा उठ्ने र सुत्ने गर्दछ । उदाहरणको लागि भर्खरै एउटा समाचारले प्रक्षेपण गर् यो कि आयोगले शाही शासन कालका अख्तियार दुरुपयोगहरुमाथि कारबाही अगाडि बढाउँछ रे वाह आयोगका हाकिमहरुको दिमाग ! माओवादीको सरकार के बन्यो उनीहरुलाई खुसी पार्ने चाट्के बुद्धि पलायो ! दुई बर्षसम्म के हेरेर बसेको थियो आयोग सबलाई यादै छ शाही शासनकालमा यही आयोगले तत्कालीन प्रधानमन्त्री पूर्व प्रधानमन्त्री गिरिजाप्रसादलगायत सयौं नेताहरुलाई पनि कारबाही गरेको हुइयाँ पिटाएको थियो के भयो सबै मुद्दा निरर्थक सावित भए । किनकि त्यस बेला शाही शासकलाई पनि खुसी पार्नु थियो । नेताहरुलाई पनि अर्थात् साँप पनि मर्ने लठ्ठी पनि नभाँचिने दूरदर्शी नीति अपनायो र त्यस्तै फितलो मुद्दा बनायो अन्ततः अदालतले सफाइ दियो ।


प्रमाण जति आयोगकै मिलोमतोमा नष्ट हुन्छन् वा गराइन्छन् । आयोगका पदाधिकारी नितान्त कर्मचारी पृष्ठभूमिबाट आएका छन् । त्यसैले खुसी पार्नु र कमाउनु उनीहरुको सिद्धान्तमा आधारित छ । यो आयोगको सफलता काममा उपलब्धि र प्रतिफलको आसा राख्नेहरु मुर्ख ठहरिएका छन् । यो आयोगलाई भारतको सिबिआई वा अमेरिकाको एफबिआई जस्तो निष्पक्ष भरपर्दो र सक्रिय बनाउने हो भने जागिर खाने थलोबाट रुपान्तरण गरी एक सशक्त संयन्त्रको रुपमा विकास गर्न सकिन्छ । वरिष्ठ कानुनविद् नागरिक समाजको प्रतिनिधि एवं पत्रकार समूहसमेत संलग्न संयन्त्र निर्माण गरी निष्पक्ष काम गर्नेलाई पुरस्कार र ढिलासुस्ती एवं अनियमितता गर्नेलाई कारबाही गर्न सिफारिस गर्ने बलियो केन्द्र बनाउँन सकिन्छ । न्याय तटस्थता र शुद्धीकरणको सिद्धान्तमा आधारित रहेर राष्ट्रप्रमुखसमक्ष मासिक प्रतिवॆदन दिने व्यवस्था गरी यस केन्द्रको पुनस्रंरचना गर्नु आवश्यक छ ।



लोकतान्त्रिक नेपालको भविष्य: चिन्ता र चिन्तन

४ महिना अघि सम्पन्न संविधानसभाको निर्वाचन र परिणाम र सोही आधारमा भर्खरै गठित नेपाल सरकारको वामपन्थी वर्चस्वको स्वरूपले , नेपाललाई नेपालको इतिहासमै पहिलो पटक कम्युनिष्टहरूको जनवादी गणतन्त्रात्मक राजीतिक पद्दति शासित मुलुकमा रूपान्तरित हुने मोडमा खडा गरिदिएको छ । नेपाली राजनीतिमा बिगत अढाइ दशकदेखि प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा नियन्त्रण कायम गरिरहेको राजतन्त्रको विधिवत अन्त्य संगै, राजतन्त्र र परम्परागत शक्तिप्रति वफादार रहेको मानिएको नेपाली सेनाको मनोबल धराशायी बनेको छ र ऊ नया क्रान्तिकारी सरकारको राजनीतिक तजबीज र उद्देश्य निर्देशित कार्यक्रमको मूक प्रतिक्षामा निरिह उभिएको प्रतित हुँदैछ । परम्परागत दक्षिणपन्थी शक्ति मनसून पूर्व नै कोशीको नदीको भेल-कटानमा बगेको जस्तो देखिन्छ भने क्रान्तिकारीहरूलाई मूलधारको राजनीतिमा ल्याएको भुलभुलैयामा मख्ख राजनीतिक मध्यधारको प्रतिनिधिपात्र नेपाली कांग्रेस माओवादी उपयोगितावादको चाल नचिनेर चुसिएको उखु जस्तो किनारमा थुप्रिएको छ । उसको भूमिका संविधानसभाको निर्वाचन सम्पन्न गराएर खारेजीमा परी निवृत्त बन्न वाध्य भएको कर्मचारीको जस्तो देखिएको छ ।

आधुनिक नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस नामको दलको सबैभन्दा ठूलो योगदान छ भन्नुमा अत्युक्ति छैन । राणाहरू बिरुद्द क्रान्तिको परिचालन र नेतृत्व गरेका कारणले। तीन दशक भन्दा लामो राजाको प्रत्यक्ष शासनको निगरानीमा हुर्काइएको पञ्चायत नामको राजकीय व्यवस्था बिरुद्द कहिले सशस्त्र र अहिंसात्मक लडाई लडेर नेपाली कांग्रेसले बहुलवादी उदारवादी लोकतन्त्रका पक्षमा प्रतिनिधिमूलक ढंगले खबरदारी गरिरह्यो भने त्यही खबरदारी गर्ने कामको पारिश्रमिक पनि पञ्चायतको अवसाननसंगै सत्तासीन बनेर लिन सफल भयो । तर अपसोस , तानासाही बिरुद्दको लडाईँहरूमा नेतृत्व दिन र विश्वमान्य बहुमतीय उदारवादी प्रजातन्त्रका पक्षमा निशंकोच अडिग भएर समर्पित रहन सक्ने विशिष्ट गुणका वावजूद नेपाली कांग्रेसले आँफू भित्रको आन्तरिक प्रजातन्त्रलाई मजबूत बनाउने काममा र आँफू सत्तासीन भएका बखत मुलुकलाई सुशासन दिने वा जनताका आकांक्षाहरू समवोधन गर्ने काममा भने आँफूलाई सदैव अत्यन्त दूर्बल मात्र कायम राख्यो । साथै, मुलुक र मुलुकवासी जनता सदैव यथास्थितिवादी हुन्छन् अनि आफ्नो प्रजातान्त्रिक पद्दतिप्रतिको समर्पण भावका कारण मात्र सँधै सत्ताको सुखमा ढलीमली गर्ने भाग्यशाली बन्न सकिन्छ भन्ने कमजोड राजनीतिक गणित पनि कालान्तरमा कांग्रेसको भाग्यमा प्रत्यूत्पादक बन्न पुग्यो, जुन उसलाई पत्तै भएन ।

इतिहास विजेताहरूको घोडा हो । ६ दशक अगाडि राणा बिरुद्द क्रान्ति छेडेर नेपाली कांग्रेसले आँफूलाई नेपाली राजनीतिको सर्वाधिक प्रभावशाली शक्तिको रूपमा प्रक्षेपण गरेको थियो । तर राजनीतिक व्यक्ति वा समूह जो कसैले पनि आँफूलाई समयको गतिमा प्रवाहित गर्न चाहेनन् वा सकेनन् भने , त्यो अग्रस्थान कुनै अर्को शक्तिलाई नचाहेर पनि छाड्नु पर्छ । राणाशासन बिरुद्दको आन्दोलन पछिको राजनीतिक अस्थिरताको दशक र त्यसपछि सम्पन्न आम चुनावमा नेपाली कांग्रेसको भीषण विजयलाई आफ्नो राजनैतिक महत्वाकांक्षामा वाधक ठानेका राजा महेन्द्रले "नेपालमा कम्युनिष्ट शासन उत्तरतिर बाट बस चढेर आउन सक्दैन" भन्ने उक्तिका साथ 'कांग्रेसी शक्तिलाई क्षय पार्न कम्युनिष्ट बढाऊ' भन्ने सोचका साथ अघि बढाए । तर , 'पुनर्मुषिको भव:' ( फेरि मुसो भएस् ) भन्ने कथाको मुसोले बाघ बनेपछि आँफूलाई बाघ बनाइदिने ऋषीको नै पहिलो शिकार गर्न खोजे जस्तो, कुनै बेला दरबारको नर्सरीमा हुर्केको नेपाली ' कम्युनिज्म' ले दुई पुस्ता पछि गएर राजतन्त्र नै हजम गरिदिने बिडम्बनाकारी परिदृस्य खडा गरिदियो । चरम गरीबी, पछौटेपन, जातिवाद , भारत बिरोधको राष्ट्रवाद र भावुकताको नारामा रम्ने हामी नेपालीहरू आज कहीँ कम्युनिष्टहरूले लगाएका ' सबै विकृतिहरू हटाइदिन्छौँ ' भन्ने चमत्कारी नारामा रमेर अनि कहीँ कथित लोकतान्त्रिक ठानिएका कांग्रेस जस्ता दलहरूको अकर्मण्यता र असक्षमताका कारण, जनवादी गणतन्त्रको संघारमा पुर्याइएका छौँ ।

भनिन्छ राजा त नागार्जुनमा बसाइँ सरेर जनता बने । तर, अब अवसानको नियति भोग्ने पालो को र कसको हुने हो धेरै अनिश्चितता छ नेपालमा । नेपाली जनताले नेपाली कम्युनिष्टहरूलाई बहुमत दिएर एउटा परीक्षण गरेका छन् र मुलुकमा चमत्कार नै ल्याउँछौँ भन्ने क्रान्तिकारी कम्युनिष्टहरूको नेतृत्वमा कम्युनिष्ट बहुमतको सरकार गठन हुन पुगेको छ । यस्तोमा लोकतन्त्रको नेपाली मोडेललाई उकेरा दिइरहन अनि कम्युनिष्ट जन- गणतन्त्रको तानाशाही बाटोमा जानबाट मुलुकलाई रोक्न कांग्रेस वा यस्तै बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको उपस्थिति भने नेपालका लागि अरू टड्कारो रूपमा जरूरी छ, पहिला भन्दा पनि अझ बढी । उदारवादी बहुलवादी प्रतिस्पर्धाको विश्वमान्य मान्यतालाई अंगिकार गर्दै, आर्थिक र सामाजिक परिवर्तनका पद्दतीय चमत्कारहरू गर्नबाट नया नेपालमा कसैले रोकिनु हुन्न , तर "हाम्रो लक्ष्य त जनगणतन्त्र हो , अहिलेको संविधानसभालाइ त केवल रणनीतिक उपयोग मात्र गरिएको हो " भन्ने जस्ता खुल्लम-खुल्ला अभिव्यक्ति स्वयं शीर्षस्थहरूले दिइरहँदा " अहिलेको संसारमा कसैले यसो गर्न सक्छ? " भनेर उसको उद्देस्यपुर्ण घोषणालाई कमजोर ठानेर बुझ्न खोज्ने हाम्रो बुझाइ कुन बढी पाखण्डी थियो भन्ने कुरा केवल इतिहासले आँकलन गर्ला ।

तर पनि दोस्रो विश्वयुद्द यताका तानशाह बिरुद्द गरिएका वा छेडिएका ९५% भन्दा बढी पपुलर क्रान्तिहरूको नियति अर्को झन क्रूर तानाशाही पद्दतिको जग राख्नका लागि बन्न पुगेको थियो भन्ने सत्यलाई देख्ने हो भने , हामीले त्यो बाँकि ५% भित्र पुग्न सो्च्नै पर्छ ।



August 28, 2008

शुद्ध असली दूध, असली दूध र दूध

सानै छंदा कतै पत्रिकामा यौटा कार्टुन चित्र देखेको थीएँ । यौटा पसल बाहिर टाँसिएको मुल्य सूचिको चित्र थियो त्यो । संझनाका आधारमा लेख्दा चित्र करिव करिव यस्तो थियो :

Shop

हालै हाम्रा प्रधानमन्त्रीको चिन भ्रमण र त्यसपछि आएका बिभिन्न स्पष्टिकरण, तर्क-कूतर्क अनि वक्तव्यले मलाई त्यो चित्रको सम्झना गरायो ।

पहिला त हाम्रा प्रधानमन्त्री चीनतर्फ हिडें, अनि लगत्तै उनलाई ‘हिरो’ देख्‍ने र बनाउन खोज्ने पत्रिका, ब्लग र समुहले उनको यो महान शाहसिक कदमलाई ‘परम्परा तोडेको’ भनेर खुब भजन गाए। यता यो भजन र स्तुतिमा रमाउनेहरु रमाउंदै थिए भने उता ठूल्दाईको तर्फबाट यो भ्रमणको बारेमा असन्तुष्टिहरु देखीन थाल्यो ।

सामान्य नागरिकका हिसाबले हामिले पत्र-पत्रिकामा देखिएका वक्तव्यबाजि र ‘यस्तो भयो रे’, ‘यस्तो भन्यो रे’ भन्ने मात्रै सुन्यौं, तर कुरो पुग्नु पर्ने र सुन्नु पर्नेकहाँ दरिलो उदघोष नै पुगेछ । अनि तुरुन्तै हाम्रा शाहसिक प्रमले ‘शुद्ध असली दूध’ लाई ‘असली दूध’ मात्रै भएको वक्तव्य जाहेर गरि हाले: “हैन, म पहिलो राजनैतिक भ्रमण त भारत कै गर्छु! … ”, “… अहिले त म ओलम्पिक खेल मात्रै हेर्न गएको थीएँ … पुरानो परम्परा कायम रहने छ … ” मानौ यसपछि उनलाई चीनले पून: एकचोटि ‘राजनीतिक भ्रमण’को निम्तो दीईसकेको छ ।

हाम्रा प्रम चिन गए, त्यहाका राजनैतीक नेता र देशका प्रमुखहरुसंग पनि भेटे, वार्ता गरे तर ति सबै खेल हेर्ने बेलामा अचानक भेट भएर गरीएको भेट-वार्ता रहेछन भनेर बुझ्नु पर्‍यो अब हामीले । अनि उनले ‘म पहिलो राजनैतिक भ्रमण त भारत कै गर्छु भन्नुको मतलब के हो त! ‘दोस्रो राजनैतीक भ्रमण चाहि चिनको गर्छन त?” । यो सोचनिय बिषय छ । हाम्रा शाहसिक प्रमले के कति बचन, दबाब वा प्रतिक्रियाका कारण यस्तो बोल्नु पर्‍यो त्यो त उनै जानुन, तर जहासम्म चिनको बिषय छ मलाई लाग्दैन की चिनले पनि उनको यो भ्रमणलाई खेलकुद भ्रमण घोषणा गरेर फेरी ‘राजनैतीक भ्रमण को निम्तो दिनेछ ।

चिन भारतको अगाडि ‘दूध’ देखाएर त्यसमा ‘शुद्ध असली दूध, असली दूध वा दूध’ को भेद गरेर स्पष्टिकरण दिएर पक्कै बस्ने छैन ।

केहिदिन अगाडिसम्म निक्कै गरम रहेको प्रमको भारत भ्रमणको “ईश्यू”लाई प्रम स्वयंले ‘यो शुद्ध असली दूध थिएन असली दूध’ मात्रै थियो भनेर मत्थर पार्ने प्रयास गरे। तर सुनिन्छ ठुल्दाईलाई यो कुराको अझै चित्त बुझेको छैन । केहि दिन अगाडि केहि भारतिय अनलाईन समाचारमा आएका टिका टिप्पणीले पनि यो कुरा प्रष्ट पार्छ ।

माथी भने जस्तै चीनलाई भारत संग डराउनु पर्ने कुनै कारण नभएकोले यो बिषयलाई शब्दजालको खेल बनाएर यो सक्कीसकेको भ्रमणलाई ‘राजनैतीक’ हो वा ‘गैह्र राजनैतीक’ के थियो भन्ने व्यर्थ खेलमा पक्कै पनि चिनले टाउको दुखाईरहने छैन । तर यता यसलाई ‘शुद्ध असली दूध होईन असली दूध’ मात्रै हो भनेर पनि धर पाएनन् भने हाम्रा प्रमले कुनै दिन यो ‘शुद्ध दूध पनि थिएन केवल दूध’ मात्रै थियो भनी आर्को वक्तव्य नतेर्स्याउलान भन्न सकिन्न । त्यस्तै अबस्थामा यो नितान्त व्यक्तिगत भ्रमण थीयो भने र प्रमको बक्तव्य आयो भने यो ठरकिलाई भने आश्‍चर्य लाग्ने छैन ।



अर्थ लाग्ला त यि हातहरु को ?

--पुरुशोत्तम सुबेदी -बेल्जियम

सदिऔं सम्म राजनीतिक चपेटा मा परि निसास्सियका नेपाली जनताले अझै पनि रानीतिक न्यानो पायको अनुभुती गर्न पाएका छैनन । आदिम युग देखी नै सामन्तबादी सोच भएका दानब हरुको अखडामा अझै पनि मानव हरुको जमघट हुन सकिरहेको छैन । २१औं सताब्दिमा संसारले बिकासमा निकै फड्को मारेको अवस्थामा नेपालीहरुको भेडे दिमाग का नेताले आफ्नो स्वार्थमा जे गर्दै जान्छ त्यसैमा नेपाली निमुखा सोझा असिक्षित जनताले मात्रै नभएर केही पढेलेखेका विद्वान भनाउँदाहरु ले समेत असक्षम र अबुझ झुन्ड लाई सघाउनाले देशले अहिले सम्म निकास पाउन सकिरहेको छैन । कहिले बिकास के हो थाहै नभएकाहरुको मुठिमा शासन पुग्छ भने कहिले बिनास के हो भन्ने थाहै नभएकाहरु संग हातमा शासन पुग्छ । पहिले बन्नै नदिनेहरुको राज भयो । अहिले केही बनेको इमारत हरु भात्काउने हरुको राज छ ।

राणाले आफ्नो शासन टिकाउन अंग्रेज हरुको समेत् सहायता लीन पुगे । राजाहरु पनि आफ्नो सत्ता टिकाउन भारत कै आसिर्बाद लीन पुगे । तर भारत ले नेपालप्रती खेलेको भूमिका प्रती कसैले चासो लीन खोजेनन । किनकी नेपाल मा अहिले सम्म कुनै राज नेता अर्थात राष्ट्रबादी नेता देश ले पाउन सकिरहेको छैन । चाइना लाई कम्जोर तुल्याउने उदेस्यले अमेरिका र इन्डिया को मिली मतोमा नेपाल को माओवादी जन युद्धको अबसर छोपी राजा बिरेन्द्र को हत्या को संजाल रचियो । त्यती बेला नेपाली बिध्वोंसकारी हरुले हत्यारा हरुले डलर कुम्ल्यार आफु राजा र राज कुमार हुने धोकोले आफ्नै बंस नाश गरे । राजा लाई बिष्णु कै अबतार मान्ने सोझा जनता माझ राज खान्दान भित्र बाटै हत्याको संजाल रच्न सफल अमेरिकि सड्यन्त्र र भारतीय सड्यन्त्र सफल भयो ।

नेपाल लाई कमजोर बनाएर अमेरिकि दुर्बिन नेपाली भुमिमा राखी चाइना मा फुट ल्याउने उद्वेस्यले गरिएको प्लानिङ अहिले आएर केही हद सम्म असफल त भयको छ । सांराज्यबादी र बिस्तार बादी हरु को अगाडि नेपाली जनताले आफ्नो राष्ट्र प्रती देखायको माया को कदर भने गर्नै पर्छ । तर अझै पनि राष्ट्रको माया नभएका अबसरबादी हरु भारतकै बुइ चढ्न खोजी रहेका छन । बर्तमान राष्ट्रपती राम्बरण यादव आफ्नो पद को सदुपयोग गर्न नजान्ने पहिलो लल्लु पन्जु राष्ट्रपतिमा गनिएका छन । किनकी छिमेकी राष्ट्र चाइना मा विश्वकै मानिसहरुको जमघट मा उपस्थित हुन नजानु भनेको राष्ट्रपतिको पद भारतले दिएको उपहार मानिन्छ । माओवादी र एमालेमा फुट ल्यायर माओवादी भित्र भारतीय यजेन्टहरुको चल्खेल गराइ भारतले आफ्नो फेवर को मान्छे नेपाल को राष्ट्रपतिको नाम मा मधेसको मुख्य मन्त्री बनाउन सफल भएको छ । भारतीय दलालहरु हिन्दी भाषामा सपथ खाएर हुन्छकी के बोलेर हुन्छ नेपाल को प्रमुख पदको दुरुपयोग गर्ने चेस्टा गर्दै छन भने कोही आफु सत्तामा जान नपाय फेरी जंगल जाने धम्की दीइरहेका छन ।

२०४६ साल मा पनि देशमा के के नै भयो जस्तो गरी भारत संग हात मिलाउन गयका कृष्ण प्रशाद भट्टराई लाई भारत ले एउटा सानो जहाज तोफा दियर फर्काएको थियो । भारत ले के के न दियो भन्दै नेपाली मेडिया हरुले खुब फुके । भारत ले कुन स्वार्थमा के चिज कुन खेमाको बिचार बोकेका दलाल हरु लाई दिन्छ भन्ने कुरा नेपाली जनताले थाहा पाउन चासो खासै नराख्नाले सधैं भारतीय हरुले नेपाली हरु लाई हेपेर राखी रहेका छन । भारतीय खुल्ला बजार निती नेपाल को लागि हानिकारक छ भन्ने कुरा सासकहरुले जब सम्म थाहा पाउदैनन । सिमा सुरक्षा लगायत भारत आउन जान पास्पोर्ट सिस्टम भिसा सिस्टम को बेवस्था हुँदैन ।१९५० को सन्धी खारेज हुँदैन । चोरि निकासी पैठारी को कन्ट्रोल हुँदैन । तव सम्म नेपाल र नेपाली जनताको भलो हुँदैन । यक तर्फी संझौताले देशले कोल्टे फेर्न सक्ने अवस्था भने अब नपाल मा छैन । छिमेकी मुलुक चाइना संग पनि त्यती नै संबन्ध बढाउनु जरुरी छ ।

गएको २० बर्ष सम्म पनि कांग्रेस एमाले ले पररास्ट्र निती संबन्धी चाइना संग संबन्ध राख्न सकेन । सबै नेता भारत कै आशिर्वाद मा राज्य हाक्ने दाउमा पुगे । तर अहिले माओवादी पार्टी जंगल छोडेर सत्तामा गयको छ । माओबाद नै सर्वे सर्वा हो भन्दै हिंडेको पार्टिले अब कस्तो खाले संबन्ध चाइना संग बिस्तार गर्ने हो हेर्नै पर्छ । दुई देस लाई बराबर दुरिमा राखी नेपाली राजनीतिक पार्टी संघ एउटा प्रजातान्त्रिक प्रकृया द्वारा अगाडि बढेमा अवस्य पनि माओ बादी पार्टी को भबिस्य सुनिस्चित छ । तर सहतिमा तुरुन्त असहमती जनाउने खुबै क्रान्ति कारी कुरा गर्ने तर कम्यु निस्ट यकतालाई अबरोध पुर्याउने जस्ता काम माओवादी बाट भएमा यि मिलाइयका हातको कुनै अर्थ लाग्ने छैन । बैचारिक हिसाब मा मात्र ग्रसित नभै व्याबहारिक रुप मै नेपाल को शासन सत्ता लाई दुई देस मुखी अर्थात बरावर सम्बन्ध दुबै देस संग राख्न सकेमा मात्र पहिलो भ्रमण को उपलब्धी प्रचन्डलाई हात लाग्ने निस्चय छ ।