April 13, 2008

बधाइ माओवादीहरूलाई !!!

म आँफू माओवादीको प्रशंसक वा समर्थक दुवै नभएको हुनाले र पनि सर्व-संलग्न लोकतन्त्रको पक्षमा बोल्न मन लाग्ने मान्छे भएको हुनाले बिगतमा गरिएका माओवादी व्यवहारको आलोचनाको सन्दर्भ उक्काएर कसैले दलबदलको आरोप पनि लगाउने सम्भावनाबाट म सर्वप्रथम अलग्गै उभिन चाहन्छु र कुरा त्यस्तो हैन भन्ने प्रष्ट पार्दै यो घन्थन शुरू गर्न चाहन्छु । माओवादीहरूले हिंसाको राजनीतिबाट चालेको यात्रा यति छिटो चुनाबी राजनीतिमा यति बिघ्न सफलताको उचाइमा पुग्ला भन्ने कल्पना पक्कै गरेका थिएनन् होला । तर निकट हिजो सम्मका सबै चुनाबी आँकलन , सर्वेक्षण र अनुमानहरू को र गणितलाई पूर्णतया गलत सिद्द गर्दै माओवादीले जनमत मार्फत आफ्नो सफलता देखाएर दुनियालाई तीन छक पारिदिएको छ भने चुनाबी राजनीति आफ्नो निजि पेवा सम्झेर आत्मरतिमा रमेका कांग्रेस र एमाले जस्ता माहिर खेलाडीलाई लोकतान्त्रिक राजनीतिक लडाईँको महिलो राउण्डमा तीन चित खुवाइदिएको छ । जनता प्रत्यक्ष संलग्न बनेर जुनसुकै परिस्थितिमा मतदान गरेको भए पनि सँधै जस्तो यो निर्वाचनका बेलामा भए गरेका केही ज्यादतिपूर्ण घटनाहरूलाई आधार मानेर निर्वाचनको वैधतामाथि औँला उठाउने परिस्थति पनि हरूवाहरूलाई अब हासिल हुन सक्दैन । अत: माओवादीहरूलाई बधाइ त दिनै पर्छ , एउटा लोकतन्त्र पक्षधरका नाताले । तर पनि केही कुरा कांग्रेस र एमालेका बारेमा त भन्नै पर्छ , उनीहरू यसरी किन चिल्लिए आफ्नै चुनाबी राजनितिका भरपर्दा कुशल खेलाडी आफ्नै home territory मा किनभने सबैको विचारमा यो क्षेत्र उनीहरूको आफ्नै थियो ।

यद्यपि, कांग्रेस र एमालेले के बुझ्न नसकेको प्रष्ट देखियो भने संविधानसभाको चुनाब पूर्व उनीहरूको पार्टीगत स्थिति सारा नेपालभरि कस्तो बिजोग हालतमा पुगिसकेको थियो । बिगत १३ -१५ वर्षमा बिरलै स्थानिय तहमा पुगेर जनतासंग सम्पर्क र सहलाप गर्न सकेका यि पार्टीहरूले , माओवादी बिद्रोहीहरू जसले कठिन भन्दा कठिन अवस्थामा ग्रामीण तहमा बसेर साम , दाम (? हैन होला, बरू लिए दिएनन ), दण्ड ( मृत्यु सम्म पनि ) , भेद, छल र कौशल सबै उपायले संगठनको बलियो आधारशिला बनाउन सकेका थिए र स्थापित दलहरूका संरचनालाई धमिरोले झैँ खाएर आफ्ना पक्षमा भत्काउन सकेका थिए, त्यो कुरासंग पूर्णरूपेण अनभिज्ञ रहेको देखियो । काठमाण्डुमा रहेर राजनिति गर्नु पर्ने तर ग्रामीण तहका कार्यकर्ता र मतदाताले हिंसाको स्थितिमा सामना गर्नु परेको ज्यादतिमा माओवादीसंग मिल्दा नै जाती हुने जनताको वाध्यात्मक मनोविज्ञानसंग अपरिचित दलहरूले यो कुरा बुझेनछन् कि कसरी कालान्तरमा त्यो वाध्यता नै आस्थाको रूपमा बदल्न जान पनि सक्दो रहेछ । तर एकपल्ट स्थानिय तहमा हासिल गरेको मत र बनाइएका कार्यकर्तहरू नेताहरूको स्वार्थलम्पट रवैयामा अनि नेताको चरम उपेक्षाका बावजूद पनि सँधै उनीहरूप्रति नै वफादार भएर रहनेछन् भन्ने आँकलनबाट चुनाबी राजनितिमा सफलताको मनको लड्डूमा रमाउन खोज्ने कांग्रेसी वा एमाले दम्भ र अभिमानको घैँटो पनि यिनै कारणले चकनाचुर हुन पुग्यो जस्तो देखिन्छ ।

एकातिर जनता राजतन्त्रसंग पूर्णत मोहभंगको स्थितिमा थिए भने , गएको देढ दशकको संसदीय प्रयोगको अस्थिरता र दिशाबिहीनता ,स्वेच्छाचारिता, भ्रष्टाचार र अकर्मण्यता र जनताप्रतिको चरम उत्तरदायित्वहीनताका कारण जनता कति रुष्ट थिए भन्ने कुराको प्रतिकृया स्वरूप निर्वाचनमा मतको वर्षा माओवादीका पक्षमा गएको पनि बुझ्न गाह्रो छैन । माओवादी हिंस्रक थियो र उसबाट ज्यादति भएका थिए भन्ने कुरा साँचो हुँदाहुँदै पनि उसले उठाएका राजनैतिक र देशिय मागहरू आकर्षक थिए भने कांग्रेस वा एमाले जस्ता दलहरूले त्यही माओवादी हिंसा र समस्यालाई भजाएर आफ्नो अकर्मण्यतामाथि खोल राख्दै आफ्नो स्वार्थको दूनो सोझ्याउने काममा लीन भएका यी दलहरूलाई जनताले चाहे भने कस्तो उथलपुथल वा कायपलट सिर्जना हुन सक्छ भन्ने कुराको पाठ पनि बन्न पुगेको छ यो निर्वाचन परिणामको तथ्यांक ।


अर्को कुरा गिरिजा प्रसाददेखि माधव नेपालसम्मले एउटै दम्भ पालेर रहनु र आफ्नै दलको स्थानिय राजनीतिमा कस्तो दयनिय नियति छ भन्ने कुरा बुझ्न नसकी निर्वाचन सम्पन्नताको विषयलाई आफ्नो व्यक्तिगत प्रतिष्ठासंग गाँसेर रहनु पनि उदेक लाग्दो परिणामको कारक रहेको छ । ‘म संविधानसभाको चुनाब नगरी मर्दिन’ भन्ने गिरिजा प्रसादले त्यो घटना पछिको जिम्मेवारी माओवादीलाई छोड्ने बारेमा मन बनाएका थिए भने त उनको ईच्छा पूरा भयो होला हैन भने उनले आफ्नो दलको बलिदानीमा माओवादी दलको राजनितिलाई उर्वर बन्न ढोका खलिदिएका छन् , असलमा यो परिणामको कारक उनी पनि हुन भन्दा फरक पर्दैन । किनभने विपक्षीदलका नेता र कार्यकर्ता जनतासंग मत माग्न निर्धक्कसंग गाउँघरमा पुग्न पनि नसक्ने स्थिति कायमै रहेको मुलुकमा निर्वाचनका लागि निर्भय परिस्थिति निर्माण गर्ने कुरालाई भन्दा निर्वाचन सम्पन्न गराउने काम सकेर निवृत्त हुन खोज्ने गिरिजा प्रसादले यो माओवादी विजयमा बेसरी खुशी हुन सक्नु पर्छ ।


अन्त्यमा के स्विकार्नै पर्छ भने नेपाल वामपन्थमय भएको छ । यदि माओवादी र एमालेको चुनाबी तालमेल भएको भए प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले त एउटा सिट पनि हासिल गर्न गाह्रै हुन्थ्यो होला । त्यतिबेला आफ्नो संविधानसभामा प्रतिनिधित्वको जस पनि कांग्रेसले मनमनै माओवादी कारणले बनेको समानुपातिक प्रतिनिधित्वको अन्तरिम संवैधानिक व्यवस्थालाई दिइरहेको हुन्थ्यो होला । तर जनताले यति बिघ्न कम्युनिष्ट विचारले नै आफ्नो र मुलुकको उद्दार गर्छ भन्ने सम्झिन्छन् भने उनीहरूको मतलाई सम्मान गर्नै पर्छ , भलै म त्यो विचारमा असहमति नै किन नराखूँ । तर २१ औँ शताव्दिमा यो surge of communist tidal wave देखेर बाँकि संसार विस्मित र विस्फारित आँखाले नेपालतर्फ हेर्दै गरे पनि निर्वाचनको वैध बाटोबाट माओवादीले यो सफलता लिएकोमा कुनै लोकतन्त्रवादी चिन्तित हुन पर्दैन किनभने यो अवस्यम्भावी थियो र नै हुन सम्भव भएको हो । अब बाँकि के हो भने, हाम्रो भोलि कस्तो होला .............



माओवादी चुनाबी प्रतिवद्दतापत्रका वर्षेनी १००० मेगावाट विद्युतशक्ति उत्पादन गर्ने मुलुकलाई २० वर्षमा सिंगापुर वा स्विट्जरल्याण्ड बनाउने बाटोमा केही पाहिला पनि माओवादीले स्पष्टसंग लिन सकेको खण्डमा , भोलि पनि उसको अनावश्यक आलोचना गर्न समय खर्चिरहन नपर्ने हुनसक्छ । किनभने आधुनिक नेपालको बिगत ५० वर्षमा ५०० मेगावाट बिजुलीको धिकिर धिकिर बत्ति बालेर दिनहूँ ६ देखि ८ घण्टे लोडसेडिङलाई तोकेर वर्षेनि १००० किलोवाट बिजुली निकालेर देखाइदिने पार्टीलाई सही ढंगले छनोट गरेर जनताले के चाहेका रैछन् देखाइदिएका छन। यो त केवल एउटा बूँदा हो प्रतिवद्दता पत्रको । तर माओवादी स्वयंलाई पूर्ण जिम्मेवारी दिएर मिलिट्याण्ट शक्तिको राजनैतिक कामकार्वाही छिटै हेर्न भने पाइने भएको छ । यथास्थितिवादी शक्ति विरुद्द क्रान्तिाकारी शक्तिको स्पिरिटले नै केही गर्ला भन्ने मतदाताको आशामा म पनि एकाकार हनै परेको छ अहिले ।

अब जबर्जस्ति वा स्वेच्छिक चन्दाका घटना हुने छैनन् होला वा हुँदै गरेका छन् वा छैनन, सेनाले सहयोग वा असहयोग के गरिरहेको छ, प्रहरी कता फर्केर के गरि'राछ , भारत , अमेरिका, सुरक्षा, सेना र दरबार महंगी , लोडसेडिङ वा असंख्य अरू विषयका बारेमा सिधा सरोकार माओवादी नेतृत्वको सरकारले गर्ने छ अबदेखि। यसो गर्दा कमसेकम हिजो समस्या देखाउने ठाउँमा रहेको माओवादीले समाधान दिन पर्ने ठाउँको जिम्मेवारीलाई कति क्रान्तिकारी स्पिरिटमा निभाउने छ त्यो हेर्न पाउनु अति रोचक , रोमाञ्चक र फाइदाजनक सबै हुनसक्नेछ । त्यतिबेला उसले अरूलाई दोष वा अवरोधक भएको कुराको दोष नथोपरी बिद्रोहीपन र विनम्रताको फ्युजन आफ्नो व्यवहार, काम र विचारमा कसरी गर्ला हेर्न धेरै दिन कुर्न पर्ने छैन । संविधानसभाले संविधान बनाउने र अनुमोदन गर्ने मुख्य काम गर्ने भएपनि अहिलेको गिरिजा नेतृत्व पछिको सरकारको नेतृत्व माओवादीको नै हुने बारेमा कसैको शंका पनि रहेन अब त । समस्या देखाउने ठाउँबाट समाधान दिने ठाउँमा एकाएक पुग्दा बाँकि जनतालाई आश्चर्य लागेपनि , आँफूलाई नया सत्ता मानेर पुरानो सत्ताको अस्तित्वलाई नकार्दै आएका माओवादीलाई ख्यालख्यालको सत्ताबाट वास्तविक सत्तामा स्थानान्तरित भएर अपनाउनु पर्ने जिम्मेवारीको वोध अवश्य नै होला र काम पनि त्यसै अनुरूप होला भन्ने अपेक्षा सिवाय अरू केही गर्न सकिने स्थिति नि छैन हामीसंग अहिले ।
जे होस् जनताले क्रान्तिकारी जोशलाई जिम्मेवारी दिँदै भनेका छन् “ लौ गर्ने भए गरेर देखाओ, सप्पै जिम्मेवारी दिएका छौँ” । हेरौँ यो गहनतम जिम्मेवारीले उनीहरू कर्तव्य र जिम्मेवारीमा कति विनम्र बन्ने हुन् र आशातित सफलताको यो खुशीमा उनीहरू कसरी सबै नेपालीहरूको सरकार बन्ने हुन् ।
त्यसैले मेरो पनि सहस्र बधाइ छ माओवादी पार्टीको नया राजनीतिक अवतरणको यो विशाल सफलतामा !!! बधाइ कामरेड प्रचण्डज्यू ,माओवादी पार्टी र मतदाताहरूलाई !!!


April 12, 2008

बधाई त दिन करै लाग्यो।

सबैको अनुमान बिपरीत छक्कै पार्नेगरी चुनावी परीणाम आइराखेको छ। सायद माओबादी नेत्रित्वलाई नै यस्को आभाष थिएन र हामी हार्ने चुनावको के महत्व भन्दै उनीहरु चुनाव बाट तर्किरहेका थिए र कांग्रेस एमालेले यसलाई माबादीको कमजोरी भनेर आंकलन गरे। यहाँ अहिले माओबादीहरु बिजयोल्लासमा छन भने कांग्रेस र एमाले चित खाएर बसेको छ। तर मलाई कसैको जीत वा हार भन्दा पनि देशमा शान्ती स्थापना हुन्छ कि हुन्न भन्ने मात्र चासो थियो। समाचारमा छापिएका वाइसिएलका गतिबिधिहरु पढेको सुनेको आधारमा मलाई पनि लागेको थियो माओबादीको नराम्रो पराजय हुने भयो। उनीहरुको पराजयले उनीहरुलाई फेरी जंगलको बाटो लैजाने छ भन्ने पीर रहिरहेको थियो। त्यसैले शान्तीको लागि माओबादीहरुलाई कांग्रेस्-एमालेले केही समय साथ साथै लैजानु पर्ने जिकिर गरेको थियं। कांग्रेस त जहिले पनि मै खाउं मै लांऊं भन्ने पार्टीहो र भर्खर देउवाको तान्त्रीक समुहसंग एकता भएको दम्भ थियो, किन टेर्थ्यो र। एमालेले पनि सही आंकलन गर्न सकेन। बामदेव, झलनाथ लगायतका ले माओबादीसंग चुनावी एकताको पहल गरेका थिए, तर माओबादीका जन्मजात शत्रु बनेर निस्किएका केपी ओली र प्रदीप नेपालहरु जस्ता बिरालु नेताहरुले त्यो पहललाई तुहाइदिए। पार्टीको केन्द्रीय कमिटीमा सो बिषयमा छलफल नै हुन पाएको छैन, यी दुइले पहिले देखिनै बिरोधमा बोल्न थालिहाले र जसले गर्दा महासचिव लगाएत केन्द्रीय कमिटीको निर्णयलाई प्रभाव पारीहाल्यो। महासचिवको हैसियतले यी दुइलाई ठेगानमा राखेर निर्णय गर्न नसक्नु माधव कुमार नेपालको कमजोरी नै हो। साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देखे जस्तो एमाले नेताहरुले पनि आफ्नो पार्टीको स्थिति ७-८ बर्ष पहिले जस्तै रहि रहेको गलत आँकलन गरे। नेताहरु सत्ताको लुछाचुंडीमा काठमाण्डुमा ब्यस्त-चिल्ला गाडीमा कुद्ने, मोबाइलमा कुरा गर्ने, कम्प्यूटरमा मनगढन्ते लेख लेखेर छाप्ने र रिषि धमलाको अड्डामा भाषण ठोक्ने बाहेक जनतामा जाने, संगठन् गर्ने काम भएन। निराशाले गर्दा गांउ-इलाका स्तरका कार्यकर्ताहरु या त बिदेश पलाएन भए या कुनै रोजगारी वा पेशामा लागे वा माओबादीको प्रभावबाट बच्न सकेनन् र जनस्तरमा पार्टीले पकड गुमाइसकेको थियो तर नेताहरुले यसको भेउ पाएनन् वा केपी ओलि र प्रदीप नेपाल जस्ता दम्भकारीहरुले यो कुरो बुझ्न चाहेनन्।
माधव कुमारले नैतीकताको आधरमा राजीनामा दिनु स्वभाविक हो र एउटा जिम्मेवार नेताले त्यस्तो गर्नै पर्छ। राजीनामा त ल्यापटप-मोबाइलमन्त्री प्रदीप नेपालले दिन पर्ने हो। मन्त्री हुने बित्तिकै आफ्नो छाता पनि अर्कैले ओडाइदिन पर्ने शामन्ती संस्कारका केपी ओलीले दिन पर्ने हो। हिजो बामदेवहरुलाई पार्टी फुटाउन बाध्य पार्नेमा पनि यिनै दुई केपी र प्रदिपहरु हुन र अहिले पार्टीको यो स्थिति पुर्याउनमा पनि यिनै दुइको भूमिका जिम्मेवार् छ।

जे होस माओबादीको बहुमत् आउने निस्चित् जस्तै छ र उनीहरु अब पक्कै जंगल् जाने छैनन् तर उनीहरुले सरकार जंगलीरुपमा नचलाउन् भन्ने मेरो कामना छ। एउटा बिधिको शासन चलाउन।फेरी भाटे कार्बाही, हत्या अपहरण जस्ता कुराहरु नहुन् र बिगतमा कांग्रेस एमालेले गरेका गल्तीहरु नदोर्याउन्।राम्रा कामहरु गरेछन् भने जनता तपाइहरुकै साथमा रहिरहने छन् होइन भने नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टी र पछिल्लो दसकको प्रख्यात एमालेलाई जस्तै तपाइहरुलाई पनि जनताले छोड्ने छन्। देशमा फेरी युद्ध नहोस। बधाई त दिन करै लाग्यो।



नया बर्षमा नया माहोल सबैलाइ शुभकामना

नया नेपालमा नयै नयां। नया बर्ष २०६५ को सबैलाइ हार्दिक मंगलमय शुभकामना। नेपालमा शान्ती र बिकास सधै जनताको घर दैलोमा पुगोस। अबको संबिधान जनतालाइ नै बनोस तथा कागजमा मात्र होइन ब्यवाहारमा पनि लागुहोस।
बर्ष नया संगै नेपालको ठुलो पार्टी पनि नया भएको छ। अहिले सम्म बन्दुकमा ठुलो रहेको पार्टि ब्यालेटमा पनि ठुलो भएको छ भने पहिले जनताको निम्ती लडेका पार्टीहरुलाइ जनताले पाखा लगाइ दिएको छन। यसो हेर्दा पुराना अनुहार चिप्लिने र नया अनुहार झुल्किन क्रम बढ्दो छ। पुराना घुस्याहा अनुहार चाही चिप्लियर जेलमा थन्कियुन, नया नेपालमा यो कुरा देख्न पाइयोस।
फेरी पनि नया बर्ष२०६५ को समस्त लेखक तथा पाठकलाइ हार्दिक मंगलमया शुभकामना।


April 9, 2008

संबिधान सभाको चहल पहल

संबिधान सभाको चुनाव आज सुरु भएको छ। बिगतमा जस्तै कतै शान्ती कतै अशान्ती, तर चुनाव प्राय ठाउंमा सुचारू छ। सुरक्षालाइ बल दिन सबै कर्मचारी, सुरक्षा बल , म्यादी प्रहरी तथा हवाइ गस्ती जुटाइएको छ। छिटो खबर पाउन सजिलो होस भनेर नेपाली कमिन्युटी बाट तयार पारिएको नेपाल एफ एम दौतरीमा राखिएको छ। तलको लिंक क्लिक गरेर ताजा समाचार सुन्न सक्नुहुनेछ। तुरुन्तै सुरु नभए केहि समय कुर्नुहोला।
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<नेपाल fm>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>






सभै सभा संबिधान सभा

यता उता जता तता, नेपालमा संबिधान सभाको रमिता। सार्दा सार्दा, हुन्छ हुन्न भन्दा भन्दा संबिधान सभाको दिन आउने ४८ घण्टा पनि बांकि छैन। जनतालाइ स्पष्ट रुपमा किन संबिधान सभामा भाग लिने भन्न नसके पनि जनताले नया बन्ने संबिधान बनाउन आफ्नो प्रतीनिधी पठाउन पाउने भएका छन।
नेपाल चुनाव आयोगले संबिधान सभालाइ यसरी परी भाषित गरेको छ।

"संविधानसभा भनेको जनइच्छा बमोजिमको नयाँ संविधान निर्माणका लागि जनताबाट निर्वाचित गरिएका जनप्रतिनिधिहरुको सभा हो । सवै तह, वर्ग र क्षेत्रका जनताको उचित र समानुपातिक प्रतिनिधित्व एवं सक्रिय सहभागितामा उनीहरुको चाहना अनुसारको नयाँ संविधान निर्माण गर्न नेपालमा संविधानसभाको आवश्यकता परेको हो । यसरी बन्ने संविधानमा जनताको स्वामित्व स्थापित हुन्छ ।"

"Constitution is the main law of the country. The country's state management runs according to this law. Constituent Assembly is an assembly of people's representatives chosen by the people for the formation of a new constitution, as desired by the people. Constituent Assembly Election is needed in Nepal to restructure the nation according to the aspirations of the People's movement – II, to reach a decision on the future of monarchy, to ensure democratic rule of law, to ensure proportional representation in all the bodies of state, to institutionalize the people's sovereignty and to create an atmosphere for all the citizens to exercise equal rights."

कालो गोरो जस्तो सुकै होस यसपटक फेरी नेपालले नया संबिधानको खोल ओड्ने पाउने भएको छ। जती नेता उती अस्थिरता, तर अस्थिरताको अन्त्य गर्न चुनाबको आबश्यक्ता; यो सबैले बुझेकै कुरो हो। यदि नेताहरुको भनाइ र देशको परितस्थीती हेर्ने हो भने यो संबिधान सभाको चुनाव पछि आदी भन्दा बढि राजनैतीक समस्याको अन्तय हुनुपर्छ। आशा गरौ देशले यो चुनाब पछि गति लिनेछ, देशमा शान्ती छाउने छ, देशले कहिल्यै शहिदको लगी रगत बगाउने छैन।




निरंकुशता, दण्डहिनता, अज्ञानता र चरम, पुँजिबादको महत्वकांक्षामा उब्जिएको बिद्धोह



-पुरुषोत्तम सुबेदी
मानिश जन्मदात स्वतन्त्रताको अधिकारी हो र मानिश एउटा सामाजिक प्राणि पनि हो । बिगत २३७ बर्षसम्मका अवधिको नेपाली समाजमा ४ जात ३६ बर्णको भेदभावलेनै नेपाली समाजलाई अन्य मुलुकको तुलनामा धेरै पछाडि धकेली दिएको छ । बर्गै बर्ग जातै जात भएको समाजमा जातिय बर्गिकरणले गर्दा समान्तबादले जरो गाडेको पाइन्छ , जसले जान्यो बुझ्यो टाँठो बाठो भयो शिक्षा प्राप्त गर्यो त्यो बर्गले अन्य असिक्षित बर्गलाइ माथि उठन बन्चित गरायो । जातिय भेदभाव बाट सामन्तबादी नङग्रा गाडने बाहुनबाद र सैन्य शक्तिबाटै आफ्नो राज्य टिकाइ राखेको शाह बंसिय समाजले नेपाली सोझा साझा जनतालाई धेरै बर्षसम्म पिंजडामा राख्न शबल भयो ।

प्रकृतिको चक्रसंगै समयपनि परिर्बतनशिल छ । गतिशिल छ समयकै गतिमा मानिश पनि दौडिरहेको छ । पिजडामा राखेको सुगाले पनि पटु भन्छ भने एउटा निरंकुश दण्डहिनताको खुल्ला समाजमा रहेका नेपाली सोझा जनताले लोक तन्त्रको पटु बाक्य उच्चारण गर्न सक्ने भएका छन । तानाशाही र सामन्तबादीहरु दमन शोषणबाट पिडित जनताले यतिबेला निकै छला‹मारि सकेका छन । यो एउटा नेपाली समाजको त्रि्र गतिशिलता हो । हिजो आफैले दमन, शोषण गरेर गूमरामा राखेका दरबारीयाहरुले तिनै सिधा सोझा जनताको हक अधिकारको प्रयोग गरि फेरी सत्तामा पुग्ने बकमफुसे दाउमा छन । ठुलाले जे गरेपनि छुट र सानोले केही गल्तिनै नगरि आफ्नो बाँच्ने अधिकार गुमाएको नेपाली सोझो समाजले अब जतिसुकै महंगो मुल्य चुकाएर पनि निंरंकुशता दण्डहितना र अज्ञानको मुल जडलाईनै समाप्त पार्ने आँट र जमर्को गरेको छ यसले नेपालको बिकाशको ठुलो फड्को मार्ने केही बिदेशी अडकलबाजहरुले बिष्लेशण गरेका छन् ।