December 16, 2011

घनश्याम – रमा

- लुना
गोठको छानोमा ढुंगे खपेटा बिछ्याउने काम भर्खरै सिद्दियो । छानो छाउनेहरु बिस्तारै भर्यांगबाट तल झर्दै छन ।

खपेटा पुग्न दिने आईमाई केटाकेटीहरु आँगनमा लहरै गुन्द्री माथि बसिसकेका छन् । पानी नचल्ने जातका चै पराल गुटुमुटु पारेर आगनकै अर्को छेउमा छुट्टै बसेका छन् ।
काम सकिए पछी चिया खाजा खुवाएर पठाउने गाउँको परम्परा अनुसार उनीहरु चिया खाजाको पर्खाईमा छन् । गाउँमा हुनेखानेमा दरिन्छन् मुरली बाजे । घर संगै जोडिएको भान्साघरमा भित्र बाहिर गर्दै छिन् जहा बिहान भए देखि राति सम्म चुला निभेको हुदैन । काम सघाउनेहरु भए पनि मुरल्नी बज्यै आफै अघि सर्छिन् घरमा आएकालाई चिया खाजा खुबाउना । समयमै छानो छाएर सिद्दिएकोले मुरली बाजे हसिलो मुद्रा बनाउदै भान्सा नजिक पुगेर उर्दी गर्छन् ,’ मिठुकी आमा ! झट्टै गर है झट्टै ! छानो छाउनेहरु तल झरिसेक ‘ यसो भन्दै उनि
छानो तिर दृस्टी पुर्याउछन् ।

छानो छाउने मध्ये घनश्याम अझै पनि तल झरेको छैन । उ छाना माथि नै बसेर पत्रै पत्र पारेर खप्त्याईएको ढुंगाको खपेटा सुम्सुम्याउदै केहि सोचिरहेको छ ।

तल आँगनमा कर्ल्यांग बर्ल्यांग चलिरहेको छ ।
‘ ज्याला थापिदेउ है बाजे ! हाम्ले भोलि भ्याउने काम आजै भ्यायो ‘ ३६ नाघेको सानो गाठीको मगर साईला झुस्सको दार्ही कन्याउदै बोल्यो ।
‘ आजु ता बाज्या कात्ती रमाछा होई , थप्चा पो ‘ तमांगी ठुलिले बाजेलाई पढे झैँ मुखमा हेर्दै बोलि । बाजेले पुर्लुक्क ठुलीका मुखमा हेरे । ‘ हैना त बाज्या ‘ भन्दै हासी ठुली । हास्दा उसको झुम्के बुलाकी पनि उ संगै हल्लिएर दांत छोउ झैँ गरि हल्लियो ।
‘ हाम्ले पनि कम्ति छिट्टो चला हैन हात ‘ ज्याला थपियोस भन्ने आग्रहमा स्वर थपी घनश्यामकि बहिनि कान्छीले ।
‘ कान्छी ! आ यता बस् छेउमा ‘ घनश्यामकि आमाले आफूसंगै बस्न हप्काईन् छोरीलाई ।

उनीहरु थरले बिस्वकर्मा । आमा सधै सतर्क हुन्थिन् आफूहरुबाट हुने छोई छिटाको कारण गाल नपाईयोस् भन्ने कुरामा ।

८ कक्ष पढ्दै गरेकी कान्छी ध्यान दिन्न थि यस्ता कुरामा । झर्को लाग्ने भावले पुर्लुक्क हेरी आमालाई ।
आमाको निधार गाठो परिरहेको थियो उसैलाई हेर्दै । नजानिदो आँखा तर्दै रमाको छेउतिर सरेर बसी कान्छी ।

‘सबै झरिसके आँगनमा ! श्याम मात्रै के हेरेर बसीरा ‘ हो !?’ खुल्दुल खुल्दुल हुदै कैले घनश्याम तिर कैले आँगनमा जम्मा
भएका तिर हेर्दै थिई रमा ।
‘ किन सुन्दिन यो ! कति छुक छुक हुनुपर्या तँलाई ! ‘ अरुले सुन्लान् झैँ गरि बिस्तारै तर रिसाएको स्वरमा फेरी हप्काईन् आमाले कान्छीलाई । यस पटकको आमाको हप्की रमाले पनि सुनी र उ आफै आमासंगै आएर बसी । रमा आमाको छेउमा बसे पछी कान्छी पनि बल्ल आमाको छेउमा आएर बसी ।

‘ नानी त उतै बिस्टका लाईनाँ बसे हुनी नि ‘ उपल्लो जातका आईमाई केटाकेटीको झुण्ड देखाउदै बोलिन् आमा । आमाको लाचारी अनुरोध सिस्नुको पोलाई झैँ दुख्यो रमालाई । भोलिको दिनमा तपाईको छोरासंग बिबाह गरे पछी म तपाईसंगै त हुन्छु नि भन्ने आफ्नो पनको भावमा बोलि रमा ,’ म तपाईसंगै बस्छु आमा ‘ —

हुरुक्कै गर्थी रमा घनश्यामलाई । उनीहरु सानै देखि संगै हुर्के बढेका साथी । कोही कसैबाट मनमा जति नै पिर परे पनि उ अरुलाई कहिल्यै मुखले पिर्दैनाथ्यो । असाध्यै सहनशील थियो घनश्याम । अग्लो पातलोशरीर , सुलुत्त ठिक्कको नाक , फराकिलो निधार , शितल तर गहिरो हेराई , बोल्दा बिस्तारै बोल्ने , कसैलाई केहि परे ज्यान फालेर मद्दत गर्ने स्बभाबको थियो घनश्याम । गाउले हरु कुरा गर्दा भन्थे ‘ आँखैमा राखे पनि नबिझाउला जस्तो है घने ! ‘ रमा पनि यसै यसै भुतुक्कै भएर माया गर्थी घनश्यामलाई ।

रमा र घनश्याम बिचको प्रेममा तगारो थिईनन् आमा तर यो समाज तगारो बन्ने छ भन्ने उनलाई थाहा थियो । आँखामा दयाभाब ल्याएर हेरिरहिन् चुपचाप रमालाई ।

रमाको नजर घनश्याममै अडिएको थियो ऐले पनि । घनश्याम अझै पनि गोठको छाना माथि नै थियो । छानो हुँदै उसको नजर पर ठिंग उभिएको आफ्नो घरको धुरी सम्म पुग्यो । कुहिसकेको खरको छानोमाथि भाचिएका हाँगाबंगाको आडमा केही मुठा पराल ओत लागिदीन लम्पसार थिए । धन्यबाद भरिएका आँखाले हेर्यो उसले ति पराले मुठालाई र मनमनै प्रण गर्यो,’ छिट्टै नै तिमीहरुले मुक्ति पाउने छौ । मुसाले गुँड बनाएर राज गर्ने छैन तिमीहरु माथि — अझै केहि दिन पर्ख , म ढुंगे खपेटाको बन्दोबस्त गर्ने छु –
ढुंगे खपेटा बिच्याईएको कल्पना गर्दै केहि बेर हराई रह्यो २३ बर्षे घनश्याम ।

‘ ए डान्घ्रा ! किन ढिलो गर्छस् बज्या तल ओर्लन ! भोक ला’ छैन तँलाई ? आईज आ ‘ हेपाई र माया मिस्रित स्वर झाड्याम्म् घनश्यामको कानको जालीमा ठोक्किदा उ झस्कदै तल झर्न थाल्यो छिटोछिटो ।

‘ तँलाई काठे बाउन् ! मान्छेको छोरालाई डानग्रा भन्छस् ! ‘ भन्दै कपाल कुहेलेको कल्पना गर्दै चुपचाप रिस पिई रमाले । कान्छीले घृणा भरिएको आँखा मुरली बाजेतिर हुर्याई –

हतार गरेर झर्दै गरेको घनश्यामतिर हेर्दै मुरली बाजेले सतर्क गराए ‘ बिस्तारै झर् घने ! लड़लास् बाबै ! ‘

मानवियताको प्रचुर अंश हुदा हुँदै पनि माथिल्लो जात हुनुको धन्धन्गिमा मुरली बाजेको बोलि गोलि झैँ हुन पुग्थ्यो घनश्याम – कान्छिहरुको लागि । यस्ता बोलीको गोलीले मन-मुटुको भित्तामा कति भ्बांग परे कति — गनेर के साध्य — कुनै दिन हिसाब किताब हुन सक्ला — मुरली बाजेहरूले कहिल्यै बिचार गरेनन् —

***
हिजोआज खाडीतिर कमाई गर्न जाने नेपालीहरुको लहर बढ्दो छ गाउँघरमा । घनश्याम पनि त्यहि लहरमा थपिन जाँदै छ । कान्छी खुशीले फुरुंग भएकी छ दाई विदेश जाने कुरा सुने देखि । ‘अब त हाम्रो पनि दिन आउने छ — ‘ उ काल्पनिक पिङ्गमा चचाहुई खेल्छे ।

घनश्यामले विदेश जाने कुरा गरेदेखि निन्याउरिएकि छ रमा । डुब्दै गरेको घामले ओसाए झैँ ओसिएको छ उसको तनमन –
***

एक साँझ ,
केराघारीमा छेलिदै घनश्याम रमालाई पर्खदै थियो । परबाट रमा छिटो छिटो पाईला चाल्दै आईरहेकी थिई । । आउँदा आउदै बोलि रमा ‘ भोलि मन्दिर आउ है श्याम ! बरु ब्यानै पाचै बजे उठ है !’
सरर सरर चलिरहेको हावाले केराका पात फरर फरर फर्फराउदा रमाका घुम्रैला केश मुहार भरि छरियो । घनश्यामले रमाको कपाल पन्छायो । बाटुलो मुहार , डल्लो सानो नाक , नाकलाई सुहाउने सानो पानपाते फुली , बदामे गाजलु नयन कति शुन्दर ! मोहित बनेर हेरिरह्यो रमालाई । रमाले पढी घनश्यामको आँखालाई । अनि लाज मानेर बोलि ‘ भोलि आउ है भन्या ! पाँचै बजे उठ है ! ‘ फेरी दोहोर्याएर अनुरोध गरि । बल्ल उसले ‘हुन्छ ‘ को संकेतमा टाउको हल्लायो अनि रमाको कपालमा टासिएको झार झिकेर भुई तिर फाल्दै बोल्यो ,’ म गए है , भोलि भेटुला ब्यानै ‘
घनश्यामको मायालु हातले छोएको कपाललाई आफैले पनि माया गरेर सुमसुम्याई रमाले अनि पर सम्म पुग्दै गरेको घनश्यामलाई आँखाले देखुन्जेल हेरिरही ।
***

मंगलबार बिहानको समय ,
रमा गणेश मन्दिर पुगेर फर्कदै छे , घनश्याम पनि साथैमा छ । घनश्याम धेरै बोल्दैन , अन्तर्मुखी स्बभाबको छ । ठिक बिपरित रमाको स्बभाब पटर पटर बोलिरहनु पर्ने तर हिजो आज केहि दिन भयो घनश्याम विदेश जाने कुरा सुने देखि रमा गुमसुम भएकी छ । आज पनि उनीहरु चुपचाप हिडिरहेका छन् गणेश मन्दिरबाट पर शुनसान बाटोमा । घनश्याम बेला बेलामा पुर्लुक्क हेर्छ रमालाई , रमा पनि उसै गरि हेर्छे । केही बेरको मौन हिडाई पछी घनश्याम बोल्यो ,’ यो बाटो नहीडम् तलको बाटो हिडम् घाम उदाउनै लायो ‘। मुलबाटो हिड्दा बाटो हिड्ने गाउलेहरुले देख्लान् भन्ने उसको आशयलाई रमाले बुझी र मुलबाटो छाडी उनीहरु फटाफट घासे बाटो हिड्न थाले ।

केहि बेर हिडे पछी भुताहा ढुङ्गो आईपुग्यो . ‘भूताहा ढुङ्गो ‘ जहाँ गाउँका आईमाई – केटाकेटी एक्लै दुक्लाई हिड्न डराउछन् । उसो त रमालाई पनि डर लाग्थ्यो भूताहा ढुङ्गो हुदै एक्लै हिड्न । उ हिड्दा पनि हिडेकी थिइन कहिल्यै एक्लै यो बाटो तर घनश्याम संग भने आएकी छ केहि पटक । उनीहरु यहा आउदा निस्फिक्री हुन्थे । त्यसरी निस्फिक्री गाउले समाजको सामु हुन सकेका छैनन् उनीहरु । कारण त्यहि जात नामको जिउदो भूतले तर्सौथ्यो उनीहरुलाई । सन्काहा स्बभाबका आफ्नो दाईसंग असाध्यै डराउथी रमा । । उसो त उसको दाई भरत छेत्रीसंग सारा गाउले नै डराउथे । उसको पछाडी नाम लिनु पर्दा भक्ष भन्थे गाउँलेहरु । उ पनि रक्सि खाएको सुरमा आफूलाई ‘ मेरो नाम भक्ष हो भक्ष ! भरत छेत्री ! छेत्रीको छोरो खुकुरी बोक्ने जात !’ भन्दै आफू नजिक जे हतियार भेट्टायो त्यसलाई हावामा हलाउथ्यो । गाउँलेहरु भक्ष बौलायो भन्थे र आ- आफ्ना झ्याल ढोका बन्द गर्थे । यस्ताबाट जोगिन भागेर बिबाह नगरुन्जेल घनश्याम र रमाले आफ्नो प्रेमलाई गुप्चुप राखेका थिए । यसरी आफूहरु बीच पलाएको प्रेमलाई गुपचुप राख्नु पर्दा आफ्नो परिबार – गाउलेहरुको डरको अगाडी यो भूताहा ढुङ्गोको डर भुसुना बराबर हुन पुगेको थियो रमालाई । यहि भूताहा ढुङ्गो माथि दुवै चुपचाप छन् अहिले ।

माघ सिद्दिएर् भर्खर शुरु भएको फाल्गुनको बिहानी , उदाउदै गरेको घामको तापले तन न्यानो भए पनि मन न्यानो हुन सकेको छैन रमाको । डाँडा छोपिएको तुवालो निरस ओसिलो ओसिलो आँखाले हेरिरहेकी छ । हिजो अस्ति यिनै तुवालो हेरेर कल्पनामा डुब्न कति प्रिय लाग्थ्यो उसलाई ! तर आज त्यही दृश्य कति बिरक्त लाग्दो ! कति उराठ लाग्दो !

घामको न्यानो ताप संगै डाँडामा हराउदै गईरहेको तुवालो हेर्दै मनमा कुरा खेलाउछे रमा ‘ कतै घनश्याम पनि यसै गरि उता विदेशमै हराउने पो हो कि — ‘ उ झस्कन्छे अनि पुर्लुक्क माया भरिएका आँखा उठाएर हेर्छे घनश्यामलाई ।

उसैको मनको कुरा पढे झैँ गरि घनश्याम बोल्छ ,’ म उतै हराउने हो र यस्तरी पिर ले को तिम्ले !’
‘मनमायाको दाई ऐले सम्म आ’ छैन ! खबर पनि छैन ग’को पाच -छ बर्ष भैसक्यो ! भाउजु मोर्न ला’छ दुब्लार ! स- साना भुराहरुको बिजोग छ ! के ! के यो विदेश जानी कुरा पनि ! ‘
अबिस्बासको भावमा असन्तुस्टी पोख्छे रमा ।
‘भोज दाई पो फर्केनन् त , उ ! बिस्वको बा लाई हेर त ! ४ बर्ष कतारमा काम गरेर फर्के सी बन्धकी जग्गा निखन्यो , घरको छानो फेर्यो खपटे ढुंगा बिछ्याएर ! सप्पैको कर्म औटई त हुदैन नि ! भोज दाईको कर्मै अभागी ! ‘ उसले रमालाई सम्झाउन भरमग्दुर कोशिस गर्यो ।

आफ्नो पनि बन्धकी जग्गा निखन्ने , घरको छाना फेर्ने , कान्छीलाई धेरै पढाउने ,विदेशबाट फर्के पछी गाउकै चोकमा साईकल मर्मत पसल खोलेर घरको आर्थिक स्तर उकास्ने अनि बिबाहको चाजो मिलाउने आदि इत्यादि थुप्रै सपना पुरा गर्नको लागि पैसाको जरुरत पर्ने हुँदा त्यसैको लागि आफू बिदेशिनु बाहेक अरु बिकल्प नदेखेको कटु यथार्त अबगत गराईरहदा रमा चुपचाप सोचमग्न हुदै उसका कुरा सुनिरही ।

केहि बेर पछी कपालका त्यान्द्रा औलामा बेर्दै बोलि ,’ जाने नै हो भने जाउ , तर २ बर्ष भन्दा बढी नबस है त ? आफ्नो हातमा रमाको हात राख्दै बोल्यो ,’ दुई बर्ष मात्रै नभन ! ३-४ बर्ष तिम्ले हिक्मत राख्नु पर्छ ! ‘
सहमति जनाउनु भन्दा अर्को बिकल्प देखिन रमाले ।
***

फाल्गुन सिद्दिएर् चैत शुरु हुँदाको महिना । हस्यांग फस्यांग गर्दै रमा भूताहा ढुङ्गोमा आईपुगी । ‘ तिमी आजै हिड्ने रे हो ?! पर्सि आईतबार होईन र ? भिसाको खबर पायौ र ?! ‘ दौडिदै आएकी रमाले स्या स्या हुदै एकै सासमा सोधी ।
‘ म उता जान्न ‘ रमालाई हेर्दै बोल्यो घनश्याम ।
‘ हँ ? ! होर ??? अनि यो ब्याग ??? ‘ हिड्नलाई तयार घनश्याम र उसको ब्याग हेर्दै छक्क पर्दै सोधी रमाले ।
‘ मेरो कुरा सुन पैला , तिमी बस त एकछिन ‘ भन्दै ढुंगा माथि बसायो रमालाई । अनि आकाश तिर हेरेर लामो सास फेर्यो ।
केहि कुरा बुझ्न नसकेकी रमाले घनश्यामको कुम घच्घच्याउदै सोधी ,’ के कुरा हो छिट्टो भन न श्याम ! ‘
‘ म मा – म मा -म मा ‘ घनश्याम अकमकियो ।
‘ के ?!! क ‘ रमाको पनि स्वर अकमकियो ।
‘ के भने म माबोबादी जनमुक्ति सेनामा जाने भए , हिजो राति –’
घनश्यामको बोलि टुंगिन नपाउदै तर्सेर बोलि रमा ,’ माउबादीमा !?
के भो तिम्लाई श्याम ! ठेगानमा त छ तिम्रो दिमाग !? ‘ उसका बदामे आँखाको आयातन अचानक बढेको देखेर घनश्यामले केहि भन्न मुख आ गर्दै थियो रमा लगातर बोलि ,’ मान्छेहरु जंगल जानु नपरोस भनि भाग्दै हिड्या छन् तिमी भने विदेश जानी बेला — ! के भो तिम्लाई ! हे इश्वर ! ‘ उ आत्तिएर भगवानलाई पुकार्न थालि ।
‘मेरो कुरा चित्त ला’र सुन रमा ‘ उसले रमाको काँध थपथाप्याउदै बोल्यो ,’ हिजो राति मेरो घरमा ७-८ जना जनमुक्ति सेना आ का थे । उनीहरुको सप्पै कुरा सुने सी मैले कतार नजाने निर्णय ले को हो । ’
‘के सुन्यौ ते – तेस्तो ???’ रमा बडबडाई ।
घनश्यामले हिजो रातिको कुरा बेलिबिस्तार लगाउन थाल्यो :

‘ स्कुल छुट्टी भा भ र कान्छी मामा घर जान्छु भनेर जिद्दी गर्न थाली , आमाले पनि जा न त पुर्याएर आ भन्नु भो । कान्छीलाई मामा घरसम्म छोडेर घर आईपुग्दा साँझ परिसक्याथ्यो , हात गोडा पाखालिओरी म घर भित्र पुगे । ढोका खुल्लै राखेर म चुलाको छेउमा बस्दै थिए , साँझको चिसो पस्ला भनि आग्लो नलगाई ढोका ढप्क्याउनु भो आमाले । ’ आमा के बनायौ चटनी ?’ ताप्केको ढिडो उघार्दै सोधे मैले । ’ ‘तँ जाने भनेर था पा सी बाँसघारिकी मगर्नी दिदीले सुक्या माछा देथिन् तलाई खुवाउनु भनेर , त्यै पोलेर चटनी बना’छु तँलाई मन पर्नी ‘ , मन पर्नी मा जोड दिदै बोलिन् आमा ।
‘ पस्कन त झट्टै ! तिम्ले भनेसी झन् भोक लाग्यो ! ‘ मैले बटुकाको चट्नी सुँघ्दै बोले ।
थालमा आफूलाई र मलाई ढिडो राख्दै आमा बोलिन् ,’ आज दिउसो मुरल्नी बज्जैले घिउ दे थि न् माना एकै , मई पनि ख्बात्तई खन्याईदीईन् आज त ! ‘ भन्दै अम्खोराको मई ( मोही ) म तिर सारिन् आमाले । खै मलाई के झोक चल्यो ,’ पर्दैन मई सई तिमी नै खाउ ‘ भन्दै अम्खोरा आमाकै अगाडी थाचारे । अम्खोरा बाट मईका छिट्टा उछित्तिएर् भुई भरि भो । भुई भरी उछिटेका मई हेर्दै बोलिन् आमा ,’मायै ला’र त होला नि त्यस्तरी देर पठाकिन् मुरल्नी बज्यैले ,जे पर्दा नि उनैका नगई धरो छैन ! तिनै संग ईख न लि के बाबु ! हिड्ने बेलाँ त्यसरी —

आमाका बाक्यहरु पुरा हुन नपाउदै घर्याक्क ढोका उघ्रियो । हामी दुवै आमा छोराको आँखा ढोकामा जोतिन पुग्यो । ७-८ जना बन्दुक बोकेका मान्छेहरु देख्दा हामी आमा छोरा डरले खंग्रंगई भयौ ! ढिडो समाएको आमाको हात थालमा भ्यात्त झर्यो । म जुर्रुक्कै उठे दुवै हात टाउको माथि पुर्याउन पुगेछु आत्तिएर । मलाई आमाको पिर पर्यो , आमा तिर हेर्दै फेरी उनीहरुतिर फर्केर बोल्ने कोशिस गरे ‘ हा – हाम्ले क्यै पनि ‘ बन्दुक भित्र अडिएको गोलि झैँ मेरो बोलि घाटिमै अडियो ।
बन्दुक बोकेका हुलका नेता झैँ देखिने व्यक्ति बोले , ‘ भाई ! बस्नुस ! पैला खाना सिध्यौनुस ‘मैले उर्दी झैँ सम्झिए र थच्च बसेर खपाखप खान थाले । माछा साछाको स्वाद सबै बिर्सियौ हामीले । आमा पनि मैले झैँ खपाखप खान थाल्नु भो ।

हामीले खाना खाई सिध्याए पछी अघिकै ति नेता झैँ लाग्ने ति व्यक्ति बोले ,’ भाई ! तिमीलाई जनमुक्ति सेनामा सामेल हुन आग्रह
गर्न आएका हौ हामी । ’

उनीहरु आउनाको कारण बुझे पछी सिधै ‘ जादिन म तिमीहरुसंग ‘ भन्न नसकी भुईमा हेरिरहन पुगे म । मेरो अस्विकृत भावलाई बुझेर होला फेरी तिनै व्यक्ति बोले ,’ भाई ! हाम्लाई थाहा छ सबै तिम्रो कुरा , छेत्री थरकी रमासंगको तिम्रो प्रेम , तिम्रो जग्गा बन्धक सबै हामीले थाहा पायौ । भाई ! तिम्रो प्रेमलाई नस्विकार्ने समाज — तिम्रा कम्जोर आर्थिक अबस्था — तिम्रो झैँ हालत यहा धेरैको छ — जातभात – उचनीचताको खाडललाई पुर्न औजार समाउनु पर्ने हातहरुको खाँचो छ हामीलाई ! तिमी झैँ आर्थिक चपेटामा चपेटिएर मुग्लान् भासिने थुप्रै घनश्यामहरु छन् हाम्रो समाजमा — तिनलाई सरकारले नेताले मिठो भाषणमा भुलायो ! तर व्यवहारमा सधै भरि नमिठो संग रुवाईरहेको छ –मुलुकमा आमूल परिबर्तन ल्याउन अब हामी आफैले हाम्रो सेना बनाउनु छ जनमुक्ति सेना । जातभातको खाडललाई पुर्दै आर्थिक समानताको लागी जसको जोत उसकै पोत नाराका साथ् हामी अघि बढिरहेका छौ प्रचण्ड पथमा ! —-

यसरी धेरै बेरको छलफल पछी घनश्याम व्यक्तिगत खुशीलाई त्यागेर आफू र आफू जस्ता बर्गको सामूहिक हितको लागी जनमोर्चामा सामेल हुन राजी भएको बेलिबिस्तार लगायो ।
अचानोको चोट अचानोलाई नै थाहा हुन्छ — जातीय भेदभावमा पिल्सिदै गरिबीको चपेटामा चपेटीएको घनश्यामको निर्णयलाई अहिले सही सोचिन् रमाले ।
रमाले पनि सहमति जनाए पछी घनश्यामको हौसला दोब्बर भयो ।
***

दिनहरु बित्दै गए ^^^^^^
घनश्याम माबोबादी बनेर जंगल पसेको ५-६ महिना भैसकेको थियो । यो बिचमा रमाले एक दिन पनि भेट्न सकिन घनश्यामलाई । रेडियोले राज्य र माबोबादी जनसेना बीच घमासान हुँदा भएको जनधनको छेती बारे बारम्बार फुकिरहन्थ्यो । रमा बारम्बार झस्कि रहन्थी । कैले होश हराए झैँ भएर भूताहा ढुङ्गो सम्म पुग्थी ।

रमा र घनश्यामको सम्बन्ध बारे गाईगुई हुँदै रमाका परिबारले थाहा पाउन पुगे । समाजको अगाडी शिर निहुरिने भयले रमाका परिबार रमालाई छिट्टै नै बिबाह गरि टाढा पठाउन दौडधूप गर्न थाल्यो । आफ्नो गाउँ समाज नजिक बिबाह गरिदिए भोलि रमा र घनश्यामको सम्बन्ध थाहा हुन सक्ने भयले उनीहरुले रमालाई धेरै टाढा बिबाह गरि पठाउने सोच अनुसार पोखरा निबासी भुर्तेल परिवार संग कुराकानी चल्यो ।

इजरायलमा काम गर्न पुगेकी बिष्णु भुर्तेलकि श्रीमती उतै आफूसंग काम गर्ने सहपाठी संग घरजम गरेर बसे पछी यता बिष्णु भुर्तेल र उसका दुई नानीहरुको बिजोग हुन गई भुर्तेल परिबारले बिबाहको लागि केटि खोजिरहेको अबस्थामा पोखरा निबासी भुर्तेल परिवारकै छिमेकी रमाकी फुपु
मार्फत बिबाहको कुरा मिल्न पुग्यो । रमाको परिवारलाई के खोज्छस काना आँखो भने झैँ हुन पुग्यो । २१ बर्षे रमाको ४६ बर्षे बिष्णु भुर्तेलसंग पोखराकै मन्दिरमा सुटूक्क बिबाह हुने निश्चित भयो ।
***

उडु कि बुडु भएर रमा छट्पटाउन थालीन् । २-४ दिनमै रमालाई पोखरा पुर्याउने तयारी चलिरहेको थियो ।
एक साँझ टौबा मुनि बसेर परालका त्यान्द्रा तान्दै झुण्डीएर मर्ने सम्मको सोचमा पुग्दै घोरिरहेकी थिइ रमा । मर्नु भन्दा अघि एक पल्ट घनश्यामको घरसम्म पुगेर आउने बिचार आयो रमाको मनमा र उ घनश्यामको घरतिर हिड्न के लागेकी थिई छिमेकी फुच्चीले कागजको डल्लो रमाको हातमा थमाएर ‘ कान्छीले दे कि ‘ भन्दै दौडी । श्याम नै कागजको डल्लो भित्र छ झैँ हतासिएर डल्लो परेको कागज उघारी , ‘ रमा तिमी ऐले नै आउ , म संग समय कम छ , तिम्रो श्याम ‘
उ चकित भई । झन्डै चिच्याईन ‘ श्याम !!!’ भनेर । सम्हालिएर आफ्ना हातले ओठ छोपी र बोलीलाई मुटु भित्रै दबाएर राखी अनि हावाको बेगमा दौडिदै श्यामको घरमा पुगी ।

रमाको आँशुलाई पढीसके पछी घनश्याम बोल्यो ,’ रमा ! ऐले नै हिड तिमी म संग , तिमी पनि जनमुक्ति सेनामा सामिल हुनु पर्छ ! ‘

केही बेर अघि मर्ने सोचमा पुगेकी रमा घनश्यामको साथमा साथ् दिदै लड्न तयार भई । कान्छीले २ जोर आफ्नो लुगा रमाको लागि भनेर दाईको भिरुबा ब्यागमा राखीदिई ।

‘ कान्छी ! राम्रो संग पढ है ! ‘ बहिनीलाई मायाले मुसार्यो टाउकोमा अनि आमालाई ढोग्दै भन्यो ,’ आमा ! हामी हिड्छौ अब ‘
रमाले पनि शिर निहुराएर ढोग्न खोज्दै थिइन् आमाले नै ‘नानी ‘भन्दै अंगालोमा हालिन् रमालाई । बररर आँशु खसालिन् आमाले । कान्छीका आँखा पनि जलमग्न भए ।
‘ रमा ! बेर नगरौ ! हिडौ यहाबाट ! ‘ उसले आमाबाट रमालाई आफू तिर तान्यो र ब्याग बन्दुक बोक्यो ।
***

घनश्यामसंग रमा पनि भागेर जंगल पसेको कुरा गाउँ भरि फैलियो । रमाको माईतिहरुले घनश्यामकि आमा –– बहिनीलाई दिनु सम्म दुख दिन थाले बारम्बार । खासगरी रमाको दाईबाट जिउ ज्यान जोगाएर हिड्नु परिरहेको थियो उनीहरुलाई ।
***
एक दिन मेलाबाट फर्कदै छोरा घनश्याम र रमाको बारेमा सोच्दै हिडिरहेकी थिईन् आमा ।’ कठै बरी ! हुने खाने घरकी छोरी जंगलमा कति दुखले बस्दि हो ! हे इश्वर ! सार्है कमलो मनकी छे रमा , रछे गर इश्वर ! ‘ मनमनै भगवान पुकार्दै उनि आफ्नै बारीको डिल नजिक आईपुग्दा असिन पसिन हुँदै धंगधग्यौदै
आईरहेको भरत छेत्रीसंग जम्का भेट भयो । दुवै झस्किए , आमा बेस्मारी तर्सिन् । ‘ थु !’ गर्दै आमातिर थुक्दै धंगधगीएर हिड्यो । आमाले बल्ल सास फेरिन् ।

‘ आज बजियालाई कता हिड्न हतार भएच ! थुकेर मात्रै हिड्यो ! ज्यान जोगियो आज ! अब यो गाउँ छोडेर हिड्नै पर्छ ‘ भन्ने सोच्दै उनी घर भित्र पुग्दा —- कान्छी बेहालतमा लडेकी थिई भुईमा —-
आमाको चित्कार – गुहार गाँउको भित्ता भित्तामा बजारिन पुग्यो तर कोही पनि आएनन् – - – घनश्याम माबोबादिमा हिडे देखि राज्य पछको तारो बनेका उनीहरुलाई मद्दत गरे ‘मतियार’को नाममा कारबाई हुन सक्ने भय थियो गाउँलेहरुलाई ।
***
विछिप्त अबस्थामा पुगेकी घनश्यामकि बहिनी कान्छी र आमालाई क्याम्पमा ल्याई पुराए घनश्यामका साथीहरुले । स्वयं सेबिहरुले सक्दो उपचार गर्दै थिए ।

***
क्याम्पमा गाउँघरबाट नया साथीहरु आउने क्रम बढीरहन्थ्यो । नया केहीलाई थोरै समय मेस ( भान्सा घर ) को जिम्मेबारी
दीइन्थ्यो । एबम रितले रमाबाट मेसको जिम्मेबारी अरुमा पुगे पछी अब रमाले पनि तालिम लिने भई । शुरुआती तालिम घनश्याम मार्फत हुँदै थियो ।

***

’अझै कति हिड्नु पर्छ श्याम ?’ गोडा फतक्कै गलेपछी आत्तिएर सोधी रमाले । ‘ दोब्बर बाँकी छ , भोली देखि दगुर्नु पर्छ तिमी ‘
‘ मेरा गोडा फतक्कै गले श्याम ! सक्तिन म हिड्न ‘ भनेर मनले मनै संग भनि तर घनश्यामलाई भनिन उसले । घनश्यामको मुटु

भरिको घाउ उसलाई पनि खुब दुखेको छ । बदलाको ज्वाला दुवै भित्र सल्किएको छ – दुवै रातो फलाम बन्दै थिए –
***
दौडिने क्रम चलिरहेको छ बेदनालाई उर्जामा बदलेर –
***
उकाली ओराली खाल्टा खुल्टी खोलानाला नाघ्दै तर्दै हाम फाल्दै दौडिन सक्ने भईसकेकी थिइ रमा । सिस्नु घारिमाथी दौडिनु पर्दा पोल्ला भन्ने जब सोच्न पुग्थी कान्छीको निर्दोष अनुहार आँखा भरि रुन्थ्यो , अनि, अनि मुठी कसेर दौद्थी रमा घनश्याम संगै ।

***
दुवै मोर्चाका सफल सबल लडाकु बने ।

***
थुप्रै भरत छेत्रिहरुको हत्या भयो ।

केही पत्रुकारहरुले ‘ छापामारबाट सफाया ‘ लेख्दै भक्ष हरुको श्रादमा भात , आलुको तरकारी , खिर खाएर डकारे ।

***
जनान्दोलन बढ्दै गएको थियो । सफलता प्राप्त हुनुमा घनश्याम -रमाहरुको भूमिका आफ्नै ठाउमा महत्वपूर्ण थियो ।
***

लोकतन्त्र आगमन पछिका धेरै बिहानी सपना बोकेर उदाउथ्यो सूर्य –

घनश्याम र रमाहरु उज्यालो हाँसो हास्दै थिए बिगतका सबै पिडा बिर्सिएर —
***
सपनामा तुषारो लागिसकेको तब तिनले थाहा पाए जब सत्ताको लागि लुछाचुडी गर्दै तिनका प्रिय नेताहरु आ- आफूमा भुक्न
थाले ‘ भौं भौं भौं ‘ –
***
घनश्याम र रमाहरु बिस्तारै सपनाबाट ब्युझिदै छन् –
***
अवकाश लिने कि समायोजनमा जाने ? या पुनस्थापनामा ?
३५ को नजिकै पुगेको घनश्याम अवकाश लिने निर्णयमा पुग्यो ।
३२ को नजिकै पुगेकी रमाले घनश्यामको निर्णयमा सहमति जनाई ।
***


8 Comments:

sanu said...

nice story.
who is the author?

[email protected] said...

मार्मिक कथा...निकै राम्रो वर्णन पात्रहरु सजिब अनि प्लट को सुन्दर चयन ...

Anu said...

Can I know the name of writer please?......Or did writer ask not to publish her/his name? Then its Ok.

ANU

ANU said...

सुन्दर। लेखाइ, पात्र, बिषय-बस्तु सबै। आँखा अगाडि द्रिष्य नै आउने।

Dautari Admin said...

यो कथा लुनाजी लेख्नु भएको हो। समय व्यस्तताले गर्दा ब्लग अपडेट गर्न नसेककोमा क्षमा प्रार्थी छु।

दूर्जेय चेतना said...

मैले पहिले पढेको थिए। लेख्ने को हो थाह भएन। लुनाजीले लेख्‍नु भएको रहेछ। कथा राम्रो छ। नेताहरु भुकेरै बसे। त्याग गर्ने र बलिदान दिनेहरुको कुनै मुल्यांङ्कन गर्न सकेनन्। कतै फेरि उही बाटोमा देश जाने हो कि भन्ने डर लाग्छ कहिले काहि..

पोस्तक said...

कथा लेखनमा राम्रो प्रगति गर्नु भएछ लुनाजीले। जनजिव्रोका शव्दहरु, गाउले परिदृष्य सबै प्रशंसा गर्न योग्य छ। कथाको शिर्षक चयनमा चाँहि अलि अल्छि गर्नु भएको हो कि?

प्रबिण थापा said...

कथा एकातिर जनयुद्ध सफलतातीर अघि बढ्नुको एउटा सामाजिक पाटोलाई राम्रोसग बिष्लेषण गर्दै बिगतको जिवन्त प्रस्तुति गर्न छ भने अर्कोतिर ती बिगतका सपनाहरू,त्याग र बलिदानीको आदर्शमय भाबलाई कुल्चेर ब्यक्तिबादी स्वार्थमा अल्झिएको जनयुद्धको हर्ताकर्ता पार्टी र यसका नेताहरूको स्वार्थी पनलाई राम्रो सग उजागर गरेको छ। बिषय बस्तुलाई शिलशिला मिलाएर राम्रो सग उनिएको भए पनि कथाको शिर्षक छनोटमा भने कथा कमजोर छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !