August 5, 2010

नयाँ नेपालको यात्रा

नयाँ नेपालको यात्रा (जात्रा )।


(हालै मात्र नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।)

भाग १

झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही
  ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो ।

मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला,
  पानी बिनाको माछा कसरी जिउदो होला ? आदी इत्यादी यक्ष प्रश्नहरुको उत्तर खोज्दै एतिहाड एअर को कुर्चीमा केही बेर निदाएं । केही बेर अर्ध निद्रामा बर्बराएं । आमा जिउंदै हुँदा जान नपाएको पीडा दुखिरहेको थियो। अस्तब्यस्त घर परिवारको ब्यथा बल्झिरहेको थियो । देश र शहर बारे त दिन दिनै अखबार पढेकोले अपडेटेड भए छु जस्तो लाग्थ्यो । तै पनि साँच्ची कस्तो भयो होला है हाम्रो गणतन्त्र नेपाल ?

अबुधाबी पुगियो साढे १२ घण्टाको उडान पछी । ट्रान्जिट लामै भए नि बस्न होटल र खानाको राम्रो प्रबन्ध भएकोले समय कटियो सजिलै सँग। साझा पनि हेरियो, चौतारीका मित्रहरु सँग भलाकुसारी गरियो ।


अबुधाबिबाट कथामाडौ जान गेट नम्बर ७ मा जानु थियो, गैयो । गेट ७ को लामो सुरुङ देखी नै नयाँ नेपाल को झझल्को देख्न थालें । यस्तै त होला नि नयाँ नेपाल- अराजक, अनुशासनहीन। नेपाल जाने प्लेनमा नेपाली न भे को हुन्थ्यो र ? ९० प्रतिशत नेपाली र बाँकी बिदेशी। सेकुरिटी चेक् देखी नै लाइन थिएन। बलमिच्याइ र भिडमभिड । अझ त्यसमा बिदेशीहरु समेत जैसा देश वैसा भेष गर्दै ठेलमठेलमा रमाइ रहेका थिए । खाडी मुलुकमा नेपालीद्वारा बेचिएका नेपालीहरु भन्छु म- त्यो भीडलाई । हुन सक्छ, कत्ती बर्ष पछी मरुभूमिमा पसिना चुहाइ, दलालको खर्च कटाइ आफन्तजनको केही इच्छा साकार पार्न पहिलो पल्ट् आफ्नो घर फर्कन हतार गर्दै थिए मदनवाहरु, धनीयाहरु । नेपालीमा कुरा गर्दै गरेकोले केही ले कुरा गर्न आए । देशमा काम पाएन, ऋण लिएर साउदी आएको र बडो दु:ख पाएको किस्सा सुनाउदै थिए अधबैसे च्याङ्बा । हामी सबैको कथा ब्यथा उस्तै थियो । ललितपुर सिद्धिपुरका मचाकाजी त नेवारीमा कुरा गर्न पाएकोमा खुशी थिए। ३ बर्ष भो रे नेवारीमा कसै सँग कुरा गर्न न पाएको ।

त्यो टर्मिनलको अराजक स्थिती कारण आधा हाम्रो मानसिकता र आधा ब्यबस्थापन( एअर्पोर्ट अथोरिटी) को कमजोरी जस्तो लाग्छ । सिक्युरिटी अफिसर बाहेक जम्मै कामदार नेपाली हुनु पनि अराजक आगोमा घिउ जस्तो लाग्यो । प्लेन उड्यो , करिब चार घण्टाको उडान थियो ।

प्लेन भित्र दिइने खाना खाँदै एउटा सिनेमा हेर्दैमा प्लेन उपत्यका छिरेको उदघोष गरे क्याबिन क्रिउले । झ्याल निर कै सिट भाकोले तलतिर नियालें। साँझको साढे सात हुंदो थियो । तल केही न देखिने चुकघोप्टे अन्धकार थियो। लाग्यो म एउटा टाइम मेशिनमा बसेर एकाइसौं शताब्दिबाट आदिमा युग तिर फर्की रहेछु। प्लेन जती तल तल झर्थ्यो , त्यति टुकी युगको धमिलो आकार देखिन्थ्यो । प्लेनले धावन मार्ग छोयो । एअर्पोर्ट को हाल बेहाल थियो नै ।
गुन्टा टिपी बाहिर के निस्केको थिएं , अन्धकार बीच ठुलो फ्लोरोसेण्ट होर्डिङ बोर्डमा " बधाई छ आज आउनु भयो - भोलिको नेपाल बन्दमा स्वाग्त छ " भनी लेखिएको जस्तो देखियो । मात्रीभूमीको टेकेको पहिलो पाइला मै नेपाल बन्दको स्वागत ।

क्रमश:


भाग २


नेपाल बन्दले भए नि स्वागत गर्‍यो भन्दै दङग पर्दै, ट्याक्सी वालाहरुको तानातानबाट डलरे शर्ट बचाउंदै बासस्थान तिर लागियो । शहर अन्धकार भित्र पिलपिले बत्तिमा गुल्जार थियो । ६५० रुपैयाको यात्रा २० मिनेट मै टुंगियो । घरमा स्वागत गर्न परिवारजनहरु इमर्जेन्सी लाइटमा उज्यालिंदै थिए। पुग्ने बित्तिकै भाईले खुश खबरी सुनायो - नेपाल बन्द फिर्ता रे ।
राहुलभाइ को आगमन को खबर पुगेछ क्या रे बन्द आयोजकमा, फिर्ता लियो- एक छिन ठट्टामा माहौल रंगिन बनाएं । भोक र थकाई संगै चिन्ता पनि बढ्दै थियो । समय थोरै काम धेरै । आफ्नो काम संबिधान बनाउने जस्तो अनिश्चितकालिन एजेण्डा भित्र परेन ।

रात को खाना खाइ अन्धकार मै सुतियो । समयान्तर र स्थानान्तर दुबैको योगले एकाब्यानै ब्यूंझें । काग र चराहरुको मिश्रित तर अनौठो संगितले पनि होला, निद्रा छिटो भङग भएको, राजनैतिक पार्टीहरुको वार्ता जस्तै ।


एम्बेसी जाने काम थियो । ट्याक्सी चढियो । मिटर पनि पाङ्राकै गती मा घुम्दो रहेछ । १७५ रुपैयामा रोकियो । एम्बेसी को काम सकियो , फर्केर उही रूट १८५ चढ्यो । चानचुन १० को हिसाब हुंदैन रे काठमाडौ मा । युगले फन्को मारेको हेक्का रहेन । ७ पढ्दा १० पैसे टिफिन खर्च , १० पढ्दा १ रुपैया , १२ पढ्दा २ रुपैया र बि एस्सी पढ्दा ३ रुपैया टिफिन खर्च सम्झेर बुढ्यौलिको अनूभुत गरें ।


मेरो मह्त्वपूर्ण काम भनेको जागिर छोड्नु थियो । अचम्म कुरा गर्‍यौ भन्लाऔ यो राहुलेले । मान्छेलाई जागिर खानु पो महत्वपूर्ण काम हुन्छ, छोड्ने काम पनि ??


हो हजुर , जागिर छोड्न काठमाडौ धाएको हुँ हजुर । बेतलबी अध्ययन बिदामा पढ्न अमेरिका आएको । ३ बर्ष स्वीक्रित बिदा सकेको थियो । निजामती सेवा नियमावली अनुसार एक पटकमा ३ बर्ष भन्दा बढीको बिदा स्वीक्रित गर्न न मिल्ने । बिदा थपको लागि युनिभरसिटीको आबश्यक कागजात सहित् निबेदन दिंदा स्विक्रित भएन । अझै डेढ बर्ष बिदा दिन लिन मिल्थ्यो । अझ हाम्रो देश मा न मिल्ने कती काम मिल्ने हुन्थ्यो । एकदम सिधा हिसाबमा पनि मज्जाले मिल्थ्यो । हाम्रो देशको चलन, मिलेन । बिदा थप भएन । सँगइ अमेरिका आएको अर्को मित्रले तलबी बिदा मज्जाले हसुरी राख्या छन। आफुले नियमा अनुसार बेतलबी बिदा मात्र मागेको । त्यो पनि मिलेन । हाजिर हुन आउने सूचना निकाल्यो गोर्खापत्रमा । स्पष्टिकरण पठाउदा नि स्पष्ट भएन भन्दै खारेज गरियो । पुन: सूचना निस्कियो । लाग्यो सरकारले केही न गरी दिए पनि " इन्जिनियर राहुल भाई " बिदेश गा छ भनी प्रचार प्रसार गरी दियो । समबेदना छाप्न त पैसा नभै नहुने बेला फोकट मा छपियो । दङ्ग हुने एक बहना मिले जस्तो ।

जब सरकार ( हाकिमा को नियत नै जागिरबाट बर्खास्त गर्नु देखिए पछी सगर्ब रजिनामाको दर्खास्त दिनु राम्रो देखें । आफ्नो इच्छा र योग्यताले जागिर खाएको थिएं । आफ्नै इच्छाले रजिनामा दिने बिचारले सोही दिन मन्त्रालय पुगें ।

सिंह दरबार छिर्ने पो कसरी ? फोन गरें मन्त्रालयमा कार्यरत एक सहकर्मिलाइ । पासको लागि गेटमा सूचना पठायो । नागरिकता वा ड्राभिङ लाइसेन्स धरौटी माग्यो । म सँग दुबै थिएन । विश्व बिद्यालयको परिचय पत्रले मानेन । स्टेट आइ डि ले मान्ने कुरै भएन । केही सीप न लागे पछी पुन: फोन गरी लिन आउन भनें मित्रलाई । उनले आफ्नै परिचयपत्र धरौटी राखी सिंह दरबार छिराए ।


मन्त्रालय पुग्ने बित्तिकै दुइलाइनको रजिनामा लेखेर बुझाएं । रजिनामा दिंदा कुनै आत्म ग्लानी थिएन । मनौ एउटा भारी बिसाएछु । चाकडी चुपलुसिबाट् मुक्ती मिलेको छ । एक दुई दिन मै रजिनामा सम्बन्धी कार्यबाही टुंगिने अश्वासन पाएकोले त्यहाँबाट निस्कें र सिधै प्रख्यात महेन्द्र बौचा को म: म: पसल भित्र छिरें ।



क्रमश :

2 Comments:

कृष्ण पौडेल (Krishna Paudel) said...

राहुलभाइजी,

नेपाल भ्रमणको खुशी र अधिक विष्मयले पूर्ण अनुभव तपाईँको मिठासपूर्ण कलमबाट पढ्न पाउँदा खुशी लाग्यो ।

Nepalean said...

राहुलदाईको रुट पनि म गएकै रुट परेछ। तपाई जांदा आबुदाबीमा ठेलमठाल रहेछ, म त प्लेन उड्नु ३ घण्टा अघी देखी गेटमा लाइन देखेर ३ छक परें। कता प्लेन पनि २ घण्ठ अघी उड्ला भन्ने डर। प्लेन चढेपछी प्लेनको बाथरुमै थुनिए एकछिन। जति गरे पनि चुक्कुलनै खुल्दैन,लाग्छ केही। यता उता ठेल्दा ठेल्दै १० मिनेट जती पछी बल्ल खुल्यो।

राहुलदाईको राजिनामा गतलाग्दो रहेछ। त्यांहा मिले जति पनि तलबी बिदा पाइन्छ नमिले एक दिन पनि बेतलबी बिदा दिंदैनन। अरु अरू भाग पनि राख्दै जानुहोला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !