June 25, 2010

एप्पल धमाका :

:-कृष्ण पौडेल

दश वर्ष अघि लगभग मृत मानिसकिएको ‘एप्पल’ ले केही हप्ता अघि कम्प्युटर सम्राट मानिएको बिल गेट्सको ‘माइक्रोसफ्ट’ लाइ जितेर संसारको सबैभन्दा ठूलो कम्प्युटर ब्राण्ड बन्ने सौभाग्य जित्यो । माइक्रोसफ्टको लगभग २१९ अरब डलरको ब्राण्ड भ्यालुलाई उछिनेर आफ्नो समग्र ब्राण्डको मूल्य २२२ अरब पुर्याउँदा ‘एप्पल’ को लेटेष्ट सेनसेसन ‘आइप्याड’ मात्र एक हप्ताको आयूसहित बजारमा प्रवेश गरेको मात्र थियो । पोर्टेबल कम्प्युटर रूपी, मल्टिमिडिया डिभाइस र इण्टर्याक्टिब कम्युनिकेसन डिभाइसको रूपमा काम गर्ने क्षमता भएको यो आधुनिक ‘खरीपाटी’ जस्तो ‘आइप्याड’ लाई केही महिना अघि बजारमा ल्याउनु पूर्व ‘एप्पल’ ले उद्घोष गर्दै गर्दा कतिपयले , यो ‘प्याड’ लाई रजस्वाला आईमाइको गुप्ताङ्ग छोप्ने कुराको जस्तो नाम राखेर पनि के चल्ला भनेर खिसिट्युरी नगरेका हैनन् । तर लञ्च गरिएको छोटो समयमा नै लगभग ३० लाख भन्दा बढि प्रति बिक्रि भएर ‘आइप्याडले’ कीर्तिमान कायम गरिसकेको छ । यो बिक्रिको गति विश्वभर प्रतिमिनट ४५ हजार प्रतिसम्म पुगेको थियो भन्ने आँकडाले यसको लोकप्रियतालाई उजागर गर्छ । आइप्याडको क्रेज अझै विस्तार हुने क्रममा छ र यसले नया कीर्तिमान कायम गर्दै आफ्नो साम्राज्य विस्तार गरिरहेछ । मल्टिटास्किङको अभाव, फ्लास भिडियो हेर्ने एडोबे सफ्टवेयरलाई नराख्नु, युएसबी पोर्ट र क्यामरारहित भएर थुप्रै आलोचना र त्रूटिका बीच पनि ‘आइप्याड’ को क्रेज डढेलो झैँ बढेको देख्न पाइन्छ ।

तर यहाँ चर्चा नगरी नहुने विषय भने ‘एप्पल’ले हिजो मात्र वितरण थालेको एप्पल आइफोन-४ को हो । हिजो जुलाइ २४ मा अमेरिकी फोन कम्पनी एटिएनटी र एप्पल स्टोर बा बिक्रि वितरण थालिनु पूर्व नै प्रि –अर्डरबाट ६ लाख प्रति आइफोन -४ बिक्रि भैसेकेको तथ्य आइपुगेको छ । उता पहिलो अन्तर्राष्ट्रिय चरणमा बिक्रि खुला गरिएका , देशहरू: जापान, जर्मनी, फ्रान्स , बेलायत र अमेरिकी स्टोरहरूमा बिक्रि शुरू गरिएको केही घण्टामा ‘आइफोन -४’ को स्टक रित्तिएको छ । यस्तो देखिन्छ , अब आइफोन-४ का लागि आन्दोलन पो हुने हो कि !

सन् २००७ मा एप्पलले पहिलो आइफोन मार्फत स्मार्टफोनको संसारमा पाइला राख्दा नोकिया र मोटोरोला जस्ता ठूला मोबाइल फोन निर्माता कम्पनीहरूले उसबाट कुनै खतरा महशूस गरेका थिएनन् होला, तर आज ३ वर्षमा ‘आइफोन’स्टाटस र काम दुबैले एउटा ‘आइकन’ बन्न पुगेको छ । विश्वभर आइफोनका अघिल्ला भर्सनहरू ५० मिलियन ( पाँच करोड) गोटा बिक्री भैसकेका छन् , एउटा सिंगो फोन ब्राण्डको यो बिक्री कीर्तिमानलाई अबको आइफोन -४ ले आकाशमा नै पुर्‍याउने अनुमान गरिँदैछ । किनभने ‘एप्पल’ ले ल्याएका अघिल्ला उत्पादन सबैले अनुमान गरे भन्दा कैयौँ अगाडि पुगेर नया रेकर्ड बनाएका छन् ।

स्मार्टफोनको बजारमा एप्पलको टक्करमा उत्रेका अरू सबै बाम पुड्के साबित भएका छन् भने मोटोरोला जस्तो फोन बजारमा तीन वर्ष अघिको दोस्रो ठूलो कम्पनीलाई त अहिले अस्तित्वका लागि संघर्ष गर्नु पर्ने भएको छ । क्यालिफोर्निया कुपर्टिनोको एप्पल कम्पनीले आफ्ना ब्राण्ड र उपकरण उत्पादनमा अरू भन्दा भिन्न आकर्षक डिजाइन , गुणस्तर र तरिका प्रयोग गरे पनि , एप्पल कम्प्युटर , आइफोन र आइप्याडमा प्रयोग भएका भित्री पूर्जा र चिप्सहरू स्यामसुङ, क्वालकम, स्नेप्ड्रागन, आदि कम्पनिका उत्पादन नै हुन । आफ्ना अत्यन्त गुप्त विज्ञहरूको निगरानीमा चीनको ग्वाङजाउ स्थित फक्सकन र अन्य कम्पनीहरूमा ‘एप्पल’ उपकरणहरूको उत्पादन हुन्छ भने ‘एप्पल’ हार्डवेयर र तिनमा प्रयोग हुने सफ्टवेयर वा अपरेटिङ सिस्टम सबै यही कम्पनीको अमेरिकी कार्यालयमा बन्छन् । ‘एप्पल’ उत्पादनका अन्तरंगलाई चिरफार गरेर हेरेको ‘टियरडाउन’ कम्पनी ‘आइफिक्सइट’ ‘एण्डग्याजेट’ र गिज्मोडो’ का अनुसार ‘एप्पल’ ले आफ्ना उत्पादनबाट सबैभन्दा बढी मार्जिनको नाफा लिने गरेको छ । यही अत्यधिक नाफा मार्जिन लिएर नै ‘एप्पल’ ले आँफूलाई छोटो समयमा सारको सबैभन्दा धनी कम्पयुटर ब्राण्ड बनाउन सकेको हो भन्ने रोप पनि यसमाथि नलाग्ने गरेको हैन । यो कुराको उदाहरणको रूपमा ‘एप्पल’ का लागि काम गर्ने ताईवानी कम्प्युटर पार्ट्सको कम्पनी फक्सकन को ग्वाङजाऊ शाखा जहाँ ४ लाख ५० हजार कामदार कठोर निगरानीमा काम गर्छन् त्यहाँ भैरहेको मजदूरहरूको आत्महत्याको दर हो जुन गएका हप्ता १२ कामदारको मृत्यूमा पुगेको छ ।

तर यी सबै कुराका बावजूद ‘एप्पल’ को लोकप्रियता बढेको छ घटेको छैन र यो ज्यामितीय वृद्दि दरमा देखिँदैछ ।

आफ्नो लोकप्रियताका वावजूद ‘एप्पल’ बुर्जुवा र पैसामूखी नै हो । ‘एप्पल’ आफ्नो नाम र ब्राण्ड भित्रका कुनै कुरालाई सित्तैमा त के सस्तोमा पनि दिँदैन । ऊ तुलनात्मक रूपमा महंगो रूपमा आँफूलाई उभ्याउँछ । तर कसको के लाग्छ जति महंगो बनाए पनि संसार उसैका पछि लागेर भएको जति नाफा उसैलाई दिन तम्सिए पछि ?

एप्पलको यो बुर्जुवा दादागिरी विरुद्ध , गुगलको ओपनसोर्स एण्ड्रोइड प्लेटफर्ममा बनेका केही अरू स्मार्टफोन हरू पनि आकर्षक मानिएका छन् र यो प्लेटफर्ममा सामसुङ , एचटीसी, र मोटोरोला ब्राण्डका ग्यालेक्सी एस, नेक्सस् वन र ड्रोइड फोन पनि ‘एप्पल आइफोनसंग’ प्रतिस्पर्धामा पछि पछि आएका छन् । विज्ञहरू भन्छन् , आइफोन -४ को आगमन पछि अझ केही वर्ष आइफोन अरू भन्दा अगाडि निस्कने निश्चित जस्तै भए पनि ‘आइफोन’ ले स्थापित गरेको ट्रेण्डलाई पछ्याएर गुगलको एण्ड्रोइड प्लेटफर्ममा नया नया फोनहरू अझ विकसित बन्दै गर्दा ‘आइफोन’ र ‘एण्ड्रोइड’ को भिडन्त रमाईलो हुनेछ र यसबाट ग्राहकहरू लाभान्वित हुने सम्भावना ठूलो छ । अहिलेसम्म बजारमा रहेको आईफोन थ्रिजिस मा धेरै सुधार गरेर मल्टिटास्किङ, इम्प्रुभ्ड आइफोन ओएस-४, हाइडिफिनसन भिडियो, वाइफाइ इनेबल्ड आइफोन टु आइफोन फ्रि इण्टरनेट कल , हाइस्पिड इण्टरनेट ब्राउजिङ सुविधा र जाइरोस्कोप जस्ता सुधार थपिएको आइफोन-४ र अप्ग्रेडेड अपरेटिङ सिष्टमसहित आफ्नै अघिल्लो संस्करण भन्दा धेरै माथि रहेको प्रमाणित भेसकेको छ । अगाडि र पछाडि दुवै तिर स्क्रायाचप्रुफ ग्लास, ५ एमपी क्यामरा र भिडियो च्याटका लागि फ्रण्ट फेसिङ अतिरिक्त क्यामेरा भएको र सफा र विशिष्ट रेटिना डिस्प्ले संयन्त्रले सुसज्जित आइफोन-४ ले स्मार्टफोनको दौडमा सबैलाई धेरै धेरै पछि छाडिदिएको आँकलन गरिँदैछ र भनिँदैछ अबको केही समय आइफोन – ४ को हैसियतलाई कसैले छुन नसक्ने देखिएको छ ।

( दौँतरीका लागि कपिराइटेड मटेरियल प्रकाशित २५ जुन २०१० , साभार गर्नु परे contact: [email protected])



4 Comments:

दूर्जेय चेतना said...

राम्रो चिरफार गर्नु भयो। समाचार त सुनियो, एप्पलले फड्को मार्‍यो भन्ने तर भित्री कुरा थाह पनि पाईयो। कृष्णजीलाइ र दौतरीलाई धन्यवाद..

Dilip Acharya said...

अन्तराष्ट्रिय प्रतिस्पर्धा को रोचक र जानकारी मूलक प्रस्तुति । आईफोन महँगो नै भए पनि अझै केही समय आफ्नो बर्चस्व कायम राख्न सक्षम छ जस्तो लाग्छ मलाई पनि ।

आफू भने "ओपन सोर्स" को हिमायती भएकोले गुगलको एण्ड्रोइडले पनि बिस्तारै गति लिनेछ भन्ने कामना भने छ नै :)

कृष्ण पौडेल (Krishna Paudel) said...

दिलिपसर, हामी क्लास र अभिजात्य स्वादका पछि मात्र दौडिन असमर्थ गरीब देशका प्रयोगकर्ताका लागि ओपनसोर्सले सफ्टवेयर , अपरेटिङ सिष्टम र एप्लिकेसनस्मा जीत हासिल गर्नु लाभदायक छ । त्यसैले पनि , सन् २०१५ सम्ममा अहिले समार्टफोन बजारको १२ प्रतिसत हिस्सा राख्ने 'एण्ड्रोइड' नै सबैभन्दा ठूलो हुने विस्वास गरिँदैछ । किनभने, हरेक कुरामा आफ्नो विशिष्ट अग्राधिकार राख्न खोज्ने 'एप्पल' भन्दा सबै सबै अरू ब्राण्डकालागि प्रिय बन्दै गएको 'एण्ड्रोइड'बलियो बन्नबाट कसैले रोक्न सक्दैन । तैपनि 'ग्ल्यामर'को संसारमा अहिलेको वर्तमान 'एप्पल' को सिंगो मोहनीमा फँसेको भने सत्य हो ।

Nepalean said...

Krishna ji, very good update of apple. It was in loss for a long time. But now luck is on their side. Probably its time for them to reap their hard work. Well they are doing kind of monopoly in cell phone bussiness. Looks like no one can beat them for now. I pad is on the same track. But its again a spike. If something goes up, that goes down too.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !