June 22, 2010

कृष्णपक्ष ब्लगयात्रा

ब्लग भित्र ब्लग दौंतरीको नियमित स्तम्भ हो। यो स्तम्भबाट नेपाली ब्लगरहरुलाई पाठक माझ प्रस्तुत गराएर उहांहरुको ब्लग जिबनबारे उजागर गर्न प्रयास गर्दछौं। पूराना ब्लग गफ हेर्ने ब्लग भित्र ब्लग स्तम्भमा जानुहोला।
यस पटक ब्लग भित्र ब्लगमा कृष्णपक्षलाई निम्ताएका छौं। उहां मुख्य रुपमा कृष्णपक्षमा साथै मेरो सन्देशमा ब्लगिगं गर्नुहुन्छ। प्रस्तुत छ कृष्णपक्षसंगको ब्लग गफ।

१)ब्लग के का लागी लेख्नुहुन्छ? -प्रत्येक टाँसोमा थोरै भए पनि सामाजिक सन्देश सम्प्रेषित होस् भन्ने मेरो अभिप्सा रहन्छ, यद्यपि मेरो ब्लग लेखनको मूल अभिप्राय भनेको आत्मसन्तुष्टि नै हो ।
२) कृष्णपक्ष आफ्नै नामबाट जुरेको हो की भाव पनि त्यस्तै भएर ब्लगको नाम कृष्णपक्ष राख्नु
भएको?

-नाम पनि र भावपनि । पहिलो कुरा म एकदम अनियमित सम्प्रेषक हुँ कहिलेकाहीं मात्र झुल्कने, दोस्रो कुरा मेरो लेखनको धेय चेतना र उज्यालोको खोजी बनोस भन्ने कामनाले ब्लगको नाम 'कृष्णपक्ष -उज्यालोको खोजीमा ' जुराएको, किनकी उज्यालो खोज्न, बुझ्न, पढ्न वा लेख्न अँध्यारोको अस्तित्व अनिवार्य छ ।
‍३) ब्लगको सामाग्री कसरी तय गर्नुहुन्छ ?
-ब्लगकै लागि भनेर म त्यति खोजी, सन्दर्भ र सामाग्रीहरु जुटाउँदिन । कहिले काही पत्रिकाका लागि केहि लेख्दा वा साहित्य सिर्जना गर्दा त्यसैलाई टासोको रुपमा ब्लगमा राख्छु र कहिलेकाही आफ्नै दिनचर्या र भोगाईहरुले केहि लेख्न उत्प्रेरित गर्छन र तिनैलाई टाँस्छु।
४) बिदेशको बसाईं,नेपालीमा लेखाइ त्यसलाइ कसरी लिन भएको छ?
-हो, नेपाली भाषाको अध्ययनमा कमि र अपर्याप्त पाठ्य सामाग्री बिदेशमा रहदाको प्रमुख समस्या मैले देखेको, जसले लेखनमा प्रत्यक्ष प्रभाव पार्छ । तरपनि आफ्नो भाषा साहित्य र संस्कृति प्रतिको प्रेम विदेशमा बस्दा झन् प्रगाढ हुदो रहेछ, त्यसैले आफ्नो भाषामा अनुभवहरु बाड्दा वा केही लेख्दा गौरव र आत्मसन्तुष्टिको अनुभूति सघन भएको मैले महशुश गरेको छु ।
५) बिदेशमा बस्दा कस्तो बेला रमाइलो कस्तो बेला नरमाइलो लाग्छ?देखिन बिदेश र भोगिन बिदेशमा के भिन्नता छ?
-यस्ता धेरै क्षणहरु हुन्छन जस्तो चाडवाड आएको बेला,साथीसंगी र आफन्त संग टाढा भएको यथार्थबोध घरिघरि भएको बेला र कहिले त्यतिकै पनि घर र देशको सम्झना बढेको बेला नरमाइलो महशुश हुन्छ, यद्यपि जहाँ जहाँ हामी पुगेका हुन्छौं त्यहाँ आफ्नै समुदाय र समाजको निर्माण गरेका हुन्छौं । घरकै तिर्सना मेट्ने गरी हुने यस्ता भेटघाट, उत्सव र कार्यक्रमहरुमा सरिक भईंदा रमाइलो महशुश हुन्छ । देखिन विदेश केवल सपनामात्र हो, जहाँ बालुवाका महलहरु हुन्छन, र भोगिन विदेश -यथार्थ, जहाँ आएपछि स्वप्नभंग हुन्छ ।
६) तपाईको रेगुलर दिनचर्या कसरी बित्ने गर्छ?
- म आफु पनि नियमित छैन यसर्थ मेरो दिनचर्या एकदम अनियमित छ । पहिलो प्राथमिकता जागिर, त्यसपछिका समयहरु पत्रिका प्रकाशन, इजरायलको नेपाली समुदायमा हुने विभिन्न कार्यक्रमहरु, इन्टरनेट, भेटघाट र घुमघामले लिई रहेका हुन्छन । टुक्राटाक्री डिजाइंनिंग र लेख्ने पढ्ने कामको लागि रातको समय प्रयुक्त हुन्छ ।
७) तपाईलाइ लेख्न मन पर्ने बिधा कुन हो ? -साहित्यका काव्यिक विधाहरु कविता गीत या गज़लहरु पनि मन नपर्ने होइन, तथापि आख्यानमा मेरो रुची अलि विशेष र बढी छ ।
८) तपाई भाबुक हुंदा के गर्नुहुन्छ,त्यसबेला आफूलाइ कस्तो महशुस हुन्छ?
- भावुक हुँदा प्राय संगीत सुन्ने वा कतै घुम्न जाने योजना बनाउछु, यसले मन हल्का हुन्छ ।र यस्तो हुँदा प्राय साथीहरुकै माझ पनि भित्रि मन चाहि विरानो वा एक्लोपनको महशुश गरिरहेको हुन्छ ।
९) फेसबुकमा दख्खलता हासिल गर्नुभएको रहेछ। नेपाली माझ फेसबुक कसरी प्रयोग भइराखेको छ?
-फेसबुक जस्ता सामाजिक संजालहरु धेरै अर्थमा उपयोगी छन, प्रतिभाको उजागर गर्ने देखि घटना, कार्यक्रम तथा वस्तुको प्रचार प्रसार गर्न होस् वा समाचार र संदेश प्रसारण गर्ने सन्दर्भमा यसको उचित प्रयोगले महत्वपूर्ण भूमिका खेल्न सक्छ । बिचार र भावनाको सजिलो आदानप्रदान हुने थलो हो यो, धेरैको संख्यामा नेपाली प्रयोगकर्ताहरु बढेका छन यो खुसीको कुरा हो, यसले नेपाली संचारको उन्नयनलाई पनि इंगित गर्छ । तरपनि अरुको परीचयमा नक्कली प्रोफाइल निर्माण गरी भ्रम उत्पन्न गर्ने, तल्लोस्तरको बिरोध समुह बनाउने वा अत्यन्त अभद्र र घृणित व्यंग्य तस्विरहरु टास्ने कार्यहरु पनि नभएका होइनन, यस्ता दुरुपयोगलाइ निरुत्साहित गर्दै जानु पर्छ ।
‍१०) मान्छे शत्रु के हो,नेपालको शत्रु को हो?
-मान्छेका कुरा गर्दा आफ्नै अहम या अभिमानलाई सबै भन्दा ठुलो शत्रु ठान्छु म । नेपालको परिप्रेक्ष्यमा रोग, भोक, गरिबी, अशिक्षा र अभावलाई मुख्य शत्रु वा चुनौतिको रुपमा हेरिदै आए पनि समुन्नत समाज निर्माणको लागि सबै भन्दा पहिले विद्यमान अव्यवस्थित राजनीति या यसले अङ्गीकार गरेको विध्वंसकारी प्रवृत्ति जरै देखि उखेल्नु जरुरी छ । अहिलेको बाधक या शत्रु तिनै हुन् भन्ने लाग्छ ।
११) नेपाली साहित्य कता जांदै छ?
- नेपाली साहित्यमा क्रमिक विकास जरुर भैरहेको छ, नेपाली साहित्य र सर्जक सही दिशामा अघि बढिरहेको कुरामा विश्वास गर्न सकिन्छ । संचारको विश्वव्यापी पहुँच र पत्रकारितामा भएको विकासले साहित्य र सिर्जनालाई परिष्कृत बनाएको छ । डायोस्पोरिक साहित्यको क्षेत्रमा पनि देशबाहिर रहनु भएका नेपालीहरुले उल्लेखनीय प्रयास गर्दै आउनु भएको छ । यद्यपि नेपाली साहित्यले विश्वसाहित्यमा आफ्नो उपस्थिति र अस्तित्व बनाउन अहिलेको रफ्तारले अझ पुग्दैन भन्ने लाग्छ । खोज अध्ययन र लेखनका साथै स्तरीय कृतिहरुको अनुवाद र प्रचार प्रसार हुनु अत्यन्त जरुरी छ ।
१२) देश कता जांदै छ त?
-देशले कुनै स्पस्ट दिशा र गति लिन सकेको छ जस्तो मलाइ लाग्दैन, यतिखेर देश अझ पहिलेको भन्दा द्विविधा, अलमल र अन्योलतामा छ कि जस्तो लाग्छ ।
१३) कस्तो लाग्दै छ नया नेपाल र नेपालको लोकतन्त्र?
- नया नेपाल जस्तो देखिएको छ यसले नेपाली जनताको अपेक्षामा तुसारापात मात्र गरेको छैन, नया नेपाल शव्दको नै उपहास गरेको छ ।जस्तो हुनु पर्थ्यो र जुन कामना थियो, जनताको त्यो आकांक्षालाइ नेपालको लोकतन्त्रले पटक्कै सम्बोधन गर्न नसकेको अवस्था छ । नाउँ मात्र फेरिएको छ, पुरानो घरलाई नया घर भने जस्तो, व्यवस्था र संरचना लगभग उस्तै छन । अझ धेरै भत्किएको भान भैरहेछ तर पनि आशावादी हुनुको विकल्प छैन । लोकतान्त्रिक अभ्यासको यो कठोर प्रारम्भिक घडी समाप्त भएर लोकतन्त्रको सफल र सही अनुभूति नेपाली जनताले कुनै दिन पक्कै गर्न पाउने छन भन्ने कामना गरौँ ।
१४) नेपाली भाषामा प्रकाशीत हुने ब्लग बारेमा तपाईको कस्तो धारणा छ?
-नेपाली भाषामा प्रकाशित हुने ब्लग र प्रयोगकर्ताहरु बढ्दै जानु खुसीको कुरा हो। विचार र भावनाहरु पोख्न कुनै अर्को पत्रिका वा साइट कुर्नु पर्ने बाध्यतालाई ब्लगले हटाइदिएको छ । यसबाट नेपाली भाषा साहित्यको प्रचारप्रसार र बिचारको सम्प्रेषण हुने मात्र नभई एक अर्कामा अपनत्व आत्मीयताको पनि आभास गराउछ । सामाजिक र राजनीतिक चिन्तन र सही विश्लेषण गर्ने धेरै राम्रा ब्लगरहरु हामीमाझ हुनु हुन्छ, उहाँहरुबाट हामी केही न केही सिक्ने अवसर पाई रहेका हुन्छौं । नेपाली भाषी ब्लगको गुणात्मक विकास होस् भन्ने चाहन्छु ।
१५) नया र पुराना नेपाली ब्लगरहरूसंग के कुरा बाढ्न चाहानुहुन्छ?
-केही पुराना र धेरै नयाँ ब्लगर हुनु हुन्छ सबै संग म परिचित छैन, उहाँहरुलाई ब्लग लेखन शोख त छदैछ, त्यसको साथै सामाजिक तथा राजनीतिक चेतप्रवाह गर्न सके सुनमा सुगन्ध हुन्छ भन्न चाहन्छु । आफु एकदम अनिमियत भए पनि ब्लग शुरु गरि सकेपछी हरसम्भव नियमित र निरन्तर बनाउन कोशिश गर्नुहोला - मेरो सुझाव ।
१६) दौंतरी ब्लग कस्तो लाग्छ,यो ब्लग कस्तो भइदिएहोस जस्तो लाग्छ?
-दौतरीको कन्सेप्ट नै राम्रो छ । नेपाली लेखकहरुलाई एउटै छातामा समाहित गराउने, ब्लगर भेला गराउने देखि लिएर नेपाली ब्लगर्स समुह मार्फत एक अर्काको समस्या/ आइडिया शेयर गर्ने गराउने दौतारिको प्रयास अत्यन्त सह्रानीय छ । यो क्रमले निरन्तरता पाओस ।प्राविधिक रुपमा आगामी दिनमा नेपाली ब्लगरका कुनै नया पोस्ट टासिने बित्तिकै दौतरीको भित्तामा देखिने, पढ्न मिल्ने या यस्तै केहि अनुप्रयोग,जसले प्रत्येक ब्लगर प्रत्येक्ष रुपमा समेटिएको आभास गराउने ले आउट या स्वरुपमा आएको हेर्ने इच्छा छ मेरो । दौतरी नेपाली ब्लगर्सको चौतारी बनोस ।
१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?
-सर्वप्रथम मलाइ पाहुना बनाएर अन्तर्वार्ता लिनु भएकोमा हार्दिक धन्यवाद दौतरी समुहलाई । ब्लगकै तिर्सना मेट्ने अरु धेरै खाले कार्यक्रममा व्यस्त हुँदा ब्लगलाइ चटक्कै भुलेर कतै हराएको म भित्रको कृष्णपक्षको खोजी गरेको छ दौतरीले फेरी एकपटक । यो भेटले मलाइ लेखनमा निरन्तरता दिन र पाठक संग टाढा हुदै गएको सम्बन्धलाई सुधार्नेतिर लाग्न प्रेरित पनि गरेको छ ।
धन्यवाद !

11 Comments:

कृष्णपक्ष said...

नेपालियनजी, मेरोसंदेश मेरो प्रयोगात्मक भिडियो अनुकुलित ब्लग हो, यहाँ मेरो वेवदैनिकी भन्दा पनि सामुहिक प्रयोग धेरै छ । तर मेरो खास ब्लग भने "कृष्णपक्ष उज्यालोको खोजीमा" हो है, । यसको लिंक यसप्रकार छ - www.krishnathapa.com ।

कृष्ण पौडेल (Krishna Paudel) said...

ब्लग वार्ता र कृष्णपक्षजीको विचार दुबै राम्रो लागे , धन्यवाद ।

Aakar said...

कृष्ण जी, को ब्लग अनुभव यात्रा पढ्ने मौका जुराइदिएको मा दौँतरीलाई धन्यवाद, साथै कृष्ण जी लाई सफलता को शुभकामना !

Dilip Acharya said...

सायद विगत करिब डेढ वर्ष देखि वहाँको ब्लग पच्छ्याउँदै आएको छु । वहाँका रचनाहरु सृजनात्मक र रोचक त छँदैछन्। सन्देश मूलक पनि रहने गरेको छ ।

ब्लगवार्ता निकै रोचक र रचनात्मक लाग्यो । कृष्ण जी र दौँतरी दुवैको सफलताको कामना गर्दछु ।

Nepali Blogger said...

ब्लगर कृष्णपक्षलाई धेरै धेरै शुभकामना।
उहांको उत्तरोत्तर प्रगतीको कमान गर्दछु।
उहांलाई याहां ल्याकोमा दौंतरीलाई धन्यबाद।

Nepalean said...

कृष्णपक्ष जी को ब्लगको नाम मात्र होइन ब्लगको पूरै ब्याक ग्राउण्ड कालो रहेछ। कालो ब्याक ग्राउन्डमा कालै फोटो राम्रो देखिने रहेछ। ब्लगका सामाग्री त राम्रा लागे तर ब्लग कहिले पोष्ट भएको हो त्यो चांही रहेनछ। मिती पनि राखे रमाइलो हुनेथियो।

कृष्णपक्ष जी लाई उहां र उहांको ब्लग प्रति धेरै धेरै शुभकामना।

Loser said...

बधाईछ कृष्ण ब्रोलाई। यहाँको ब्लगहरु नियमित हेर्नेमा मो पनि पर्छु र यहाँबाट धेरै ज्ञानहरु लिएकोछु ब्लग सम्बन्धी मोइले पनि। यहाँको लेखेन शैली र प्राविधिक ज्ञानको मो एकदम कदर गर्दछु, यहाँलाई शुभकामना।

Basant Giri said...

कृष्ण जी लाई शुभकामना

दूर्जेय चेतना said...

म पनि उहाँको बल्ग नियमित नै पढ्ने गर्छु। राम्रो लाग्छ मलाई पनि। कृष्णजीको बारेमा पढ्न पाईयो खुसी लाग्यो। केही प्रश्नहरु (छानेर) अलिक अनौपचारिक, र अलिक नीजी प्रकारको भए पढ्नअझि मज्जा आउने थियो। आफूले सघै पढ्ने गरेको लेखकको बारेमा भित्रबाट जान्न चाहने इच्छा मेरो पनि छ।
दौतरीको यो अभियानलाई शुभकमना....

Jotare Dhaiba said...

उहाँको ब्लग जस्तै रोचक र अन्तरकुन्तरलाई छोएर आएको कुराकानी लाग्यो ।
दौँतरी र कृष्ण जीलाई धन्यवाद । यति मात्र भन्छु कृष्णलाई - ब्लगमा अलि नियमित झुल्किने प्रयास गर्नुहोला ।
तपाईंका शब्दमा अपनत्व पाउँछु म ।

डीआर न्यौपाने'सूर्य' said...

कृष्णजीको मिठो भेटघाटमा ढिलै भएपनि आइपुगेछु । खुसि लाग्यो, समयले साथ दिएसम्म उहाको ब्लग यात्रालाई मैले पनि पछ्याउदै आइरहेको छु । न्यानो भलाकुसारीको लागि धन्यबाद दौतारीलाई ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !