June 19, 2010

असुरक्षित पूर्वोत्तर भारतका नेपालीहरूको पीडा

- कृष्ण पौडेल

बिगत केही हप्ताहरूदेखि नेपाली छापा र मिडियाका माध्यमहरूमा भारतको पूर्वोत्तर राज्य मेघालयका नेपालीहरूको दु:ख र पीडाले चर्चा पाएको छ । मेघालयका रैथाने खासी जातिले त्यहाँ सदियौँ वा दशकौँदेखि श्रमिक र पशुपालन व्यवसायमा लागेर जीवनयापन गरिरहेका नेपाली भाषीहरूमाथि गरेका हिंसात्मक आक्रमण , २० औँ नेपालीको हत्या र त्यसकारण सिर्जित मानवीय उत्सर्जनका घटनाहरूले नेपाली मिडियामा प्रशस्त ठाउँ पाएको देखिएको छ ।

स्थानीय खासीहरूले मेघालयका पहाडी क्षेत्रहरूबाट सयौँ नेपाली परिवारहरूका घर गोठहरू जलाएका छन् वा बलजफ्ति विस्थापित गराएका छन् । यी परिवारहरु सहाराबिहीन बनेर छिमेकी राज्य आसाम र बंगाल हुँदै नेपाल फर्किन थालेका समाचार पनि आइरहेका छन् । हामी नेपालीहरू मध्ये कतिपयलाई लाग्न सक्छ , यी नेपालीहरू को हुन् र कहिलेदेखि त्यहाँ पुगेर बसोवास गर्न थाले त ?

यी मध्ये कतिपय परिवारहरू विगत केही सय वर्ष भन्दा बढी समयदेखि भारतमा छरिएर रहेका हुन् भने अरू कामको खोजीमा नेपालबाट अस्थायी समयका लागि त्यहाँ पुगेका छन् । भारतको आसाम लगायत पूर्वोत्तर राज्यहरूमा ३,४ सय वर्ष अघिदेखि बसोवास गरिआएका नेपालीहरूको जनसंख्या पनि उत्तिकै विशाल छ । संख्या निश्चित किटेर भन्न नसकिए पनि , भारतका बिभिन्न प्रान्तमा छरिएर रहेका नेपाली भाषीहरूको संख्या ६० लाख देखि १ करोड बीच रहेको अनुमान छ । यो संख्या मध्ये , सिक्कीम, दार्जिलिङ गोर्खा पार्वत्य परिषद, उत्तराञ्चलको देहरादून वरिपरि पुस्तौँदेखि बसोवास गरिरहेको मोटामोटी १०-१५ लाख नेपालीहरू मात्र तुलनात्मक रूपमा सुरक्षित छन् । नेपालीहरूको सघन बसोवास क्षेत्रमा रहेका हुनाले अपेक्षाकृत रूपमा सुरक्षित जनसंख्या हो यो । हुनत दार्जिलिङ क्षेत्रमा पनि नेपालीभाषीहरू बीच नै गोर्खाल्याण्ड आन्दोलनको विषयमा पक्ष विपक्ष बनेर संघर्ष जारि छ र त्यहाँ नेपाली समूहरू बीच नै हिंसाका घटनाहरू फाटफुट देखिने गर्छन । तर पनि , यी क्षेत्रहरूबाट यी छिटपूट संघर्षका कारण नेपाली भाषीले आफ्नो थातथलो छाडेर हिँड्नु पर्ने अवस्था नआउला भन्न सकिन्छ ।

पूर्वोत्तर भारत विविध खालका जातिय, भाषिक र क्षेत्रिय रूपका हिंसात्मक द्वन्दहरूबाट आक्रान्त छ। मेघालय, मिजोरम, अरूणाचल, नागाल्याण्ड र मणिपुर जस्ता साना राज्यहरूमा नै नेपाली भाषी १० औँ लाखको संख्यामा छन् । तर नेपाली भाषीहरू पशुपालन, वा श्रमजीवी पेशामा रहेका हुनाले उनीहरू आफ्नो बजार खोज्नका लागि पनि त्यहाँ संगठित रूपमा बसोवासमा छैनन् – उनीहरूको बसाइ तितरवितर फैलावमा छ । त्यसकारण पनि संगठित जातीय आक्रमणका बेला उनीहरू बढी असुरक्षित छन् । अझ प्रशासन र पुलिसमा स्थानिय रैथाने जातिहरूको वर्चस्व रहेका हुनाले , आँफूमाथि आक्रमण भैसके पछि पनि न्याय वा सुरक्षाका लागि नेपाली भाषीहरूको पहुँच झनै दयनीय बन्न पुग्छ । पूर्वोत्तर भारतको सबैभन्दा ठूलो राज्य आसाममा २० औँ लाख नेपाली भाषीहरू छरिएर बसोवास गरिरहेको अनुमान छ । सन् १९८० आसामको को जातिय दंगामा सयौँ नेपालीहरू मारिएका थिए भने , भित्री गाउँ र वस्तिहरूमा मारिएका , लुटिएका वा विस्थापित बनाइएका नेपालीहरूको आँकडा नै उपलव्ध भएको थिएन । अहिले पनि जारि रहेको आसामको उल्फा, बोडो र कार्बी जातिको संघर्षका दौरान, उग्रवादी संगठनले हिंसा मार्फत राज्य र केन्द्र सरकारमाथि आफ्नो दबाब दिनका लागि पनि असहाय नागरिकहरूको कत्लेआम गर्ने गरेका छन् र यो हिंसात्मक द्वन्दमा विवश ‘बलीको बोका’ बनाइएका छन् असहाय नेपाली भाषीहरू । यसरी उग्रवादी संगठनहरूको लागि ‘ एक्सपेण्डेबल आइटमको ‘ रूपमा नेपालीहरूको प्रयोग हुने क्रम जारि छ भारतमा, तर पनि यस प्रति चासो र संवेदनशिलता कसैले देखाइरहेको छैन । भारतको केन्द्र सरकारको हातहरूले पनि नभेट्टाउने राज्यस्तरका राजनीतिक, प्रशासनिक जालझेल र विविध स्वरूपका हिंसात्मक द्वन्द तथा खिचातानीले समाजको सबैभन्दा असहाय समूहले त्यसको भार बोक्नु पर्दा अधिकांशत: नेपालीभाषीहरूले त्यो भूमिका निभाउनु पर्ने जटिल अस्तित्वको बोझ खेपिरहेछन् पूर्वोत्तर भारतमा छरिएका नेपालीहरू ।

एकातिर भारतीय केन्द्र सरकारको नीति र स्थानिय द्वन्दमा खेल्ने उसको नीति अर्को तिर राज्य सरकारको नोकरशाही तन्त्र, पुलिस र उग्रवादी संगठनहरू बीचको प्रोक्सी युद्धमा यसरी नेपाली भाषीहरू जल्ने र मर्ने क्रम जारि छ । आज वस्ति वस्तिहरूमा र घर र गोठमा सुतिरहेका नेपालीहरू आफ्ना वस्तुभाउहरू संग संगै जलेर मर्न र बाँचेमा खेदिन वाध्य छन् तर यो चित्कार नेपाली कानको कानेगूजी छेडेर भित्र जान सकेको छैन । नेपाल भित्र बसोवास गरेका ४० औँ लाख भारतियहरूले नेपाली राजनैतिक दलहरूको असीम दयाबाट नागरिकता प्राप्त गरेर एक मधेश एक प्रदेशको गीत गाउने क्रान्तिकारी बनिसके । कतिले उत्तर प्रदेश र बिहारमा बसेर नै घरमा नेपाली नागरिकता मगाए ! तर आज भारतमा शताब्दियौँ अघि ब्रिटिश उपनिवेशकालमा पुर्‍याइएका ५० औँ लाख नेपालीहरूको नियति राशन, कार्ड, मतदाता नामावली र नागरिकताको कागजमा दर्ता हुन नसकेर , परिचिय बिहीन भौँतारिन र खेदिन वाध्य बनेको छ । अबको २ वर्ष भित्रमा, भारत सरकारले आफ्ना १ अरब २ करोड भन्दा बढी नागरिकलाई कम्प्युटराइज्ड बायोमेट्रिक प्रमाणपत्र ( स्मार्ट कार्ड) ले सुसज्जित गर्ने कार्य गर्दै छ जसले जागिर, बसोवास र व्यवसायमा नया आधार तयार गर्ने छ , तर त्यतिबेला लाखौँ भारतिय नेपालीहरू परिचय बिहीन ठहराइने निश्चित छ ।

नेपाल , नेपाली र नेपाली भाषीहरू माथि राष्ट्र भित्रै वा बाहिर अमानवीय प्रताडना यसरी जारि रहँदा पनि , हरेक झिना मसिना राजनीतिले सडक र मुलुक तताउन वा जलाउन तयार हुने नेपालीहरू भने कानमा तेल हालेर नेपाली राजनीतिको सदबहार तमाशा हेर्दै ताली पिट्न व्यस्त छौँ कि जस्तो देखिन्छ । यही बीच, पूर्वोत्तर भारतमा छरिएर रहेका लाखौँ लाख नेपालीहरू भोलिका दिनमा उत्सर्जित बनाइए भने त्यो भयावह बोझलाई हामी कसरी बहन गरौँला , जबकि मोटामोटी १ लाख नेपाली भाषी भुटानी शरणार्थीको समस्याले हामीलाई बिगत २० वर्षदेखि गाँजेकै छ !



4 Comments:

ठरकि दादा said...

सही कुरामा कलम चलाउनु भएको छ । वास्तबमै भारतमा हाल नेपालीभाषी माथी भैरहेको थिचोमिचो र यो स्मार्टकार्डको वितरण पछी निस्कने नयाँ समस्याले नेपाली मुलका वा नेपालीभाषीहरुले झनै पिडा भोग्नुपर्ने प्रष्ट छ ।

तर न सत्तामा बस्नेलाई यो कुरामा ध्यान दिने फुर्सद छ न प्रतिपक्षमा बस्नेलाई नै कुर्सी हत्याउने बाहेकका कुरामा विचार गर्न फुर्सद नै ।

Anonymous said...

Why dont indian government do anything for these nepelese origin indians in east india? If they were non-nepalese speaking nepali, obviously it would do something. So sad!

पुष्प said...

संवेदनशील तर दबाइएको राजनीतिक पाटो उजागर गर्नुभएकोमा कृष्णजीलाई धन्यवाद ।

Nepalean said...

जातिय युद्दमा भारतको केन्द्रिय सरकारको राम्र पौंच नपूगे पनि देशका नागरिक मर्दा केन्द्र टुलूटुलू गर्दै बस्नुनपर्ने हो। यसरी भारतीय नेपालमा मरेको भए भारतले आफ्नै देशका पूलिस काठमाण्डौ झिकाउथ्यो होला। तर मेघालयमा उही बचन दिएर मात्र भारत सरकार तर्किन खोज्दैछ। जनस्तरबाट यो बिषयमा कुरा उठाएर भारतीय सरकारलाई घचघचाइएका कदमहरु भने सर्हानिय छन। यसरी नै नेपालीहरु मिले नेपाली माथी थिचोमिचो गर्न अरुले एक पटक सोच्नै पर्ने हुन्छ।

यो भन्दा पहिला पनि नेपाली भाषी माथी थिचोमिचो नभएका होइन। करिब डेढ दशक अगाडी आसाममा मेरै आफन्तलाई गर,जग्गा,बस्तुभाउ छोडेर धपाइएको थियो। उनी अनुसार त्यो बस्तीमा बस्ने प्राय नेपाली भाषीलाइ त्यसै गरिएको थियो। त्यही समयमा पोखराका एक प्रतिष्ठित ब्यपारीको ब्यपार नै लुटेर झिटी गुन्टा बोकाएर नेपाल पठाइएको थियो। न्युरोडका भारतिय ब्यपारीलाई त्यसै गरे भारतले के गर्ला, सोचौं त?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !