March 12, 2010

पैसा बोलता है: अझै पनि मेशिन रिडेबल पासपोर्ट भारतलाई छपाउन दिने ?

"मौका सबको मिलता है" भन्ने झण्डै एक दशक पहिले हेरेको सत्या भन्ने हिन्दी फिल्मको डायलग धेरै पटक सान्दर्भिक भएको देखेको छु । अहिले पनि एउटा दर्हो मौका आएको छ नेपाललाई सांकेतिक रुपमा भए पनि भारतलाई घच्घच्याउने मेशिन रिडेबल पासपोर्ट छपाउन नदिएर, र यसमा अहिलेसम्म उत्कृष्ट खेलेको छ लेखा समितिले । नेपालको राजनीतिमा गन्हाउन हतारिएकी र देशलाई बाबुको लाली पप ठान्ने महा महिम सुजाताको मुखलाई नसके पनि हातलाई सम्म अहिलेसम्म कन्ट्रोल गरेको छ लेखा ले ।

अहिलेको दुनियामा अधिकांश देशहरु बिचको सम्बन्ध, सामिप्यता या अन्तर्देशिय मित्रता आर्थिक कुटनीति र नाफा नोक्सानसंग जोडिएका हुन्छन । यसो भनेर सांस्कृतिक र अन्य किसमका सम्बन्धहरुको अर्थै छैन भन्न खोजेको हैन । अमेरिका र युरोप एकदम घनिष्ठ मित्रहरु भए पनि यिनिहरुको मित्रताको चुरो बेला बेलामा माइक्रोसफ्टलाई ठेगान लगाउने युरोपको कारवाही र एअरबसले पाएको अमेरिकी सेनाको इन्धन भर्ने ठेक्का खोसिदिने अमेरिकी चलाखी जस्ता कुराहरुले देखाइरहन्छन । यसको बदला केहि वर्ष भित्रै युरोपले चुकाउने छ किनकि "मौका सबको मिलता है"। अझ भाषा र भुगोल जोडिएको जर्मनीले स्विस ब्यांकमा रहेका आफ्ना नागरिकहरुको गोप्य खाता विवरण चोर्न एउटा इटालियन ह्याकरलाई मिलियन डलर दिन्छ , यतिबेला कानुन वा छिमेक भन्दा आफ्नो स्वार्थ हेरिन्छ । किनकी "पैसा बोलता है" !

हो अहिले नेपालले यदि भारतले आफुलाई थिचो मिचो गरेको छ र आंफुलाई समान व्यवहार गरेको छैन भन्ने लाग्छ भने मौका यहि हो । नेपाली जनताले भारतलाई हामीले विश्वास गर्दैनौं भन्ने संदेश दिन चाहन्छन भने हो, मौका यहि हो । भारतले जहिले पनि नेपालले जे भने पनि मान्छ भन्ने ठान्छ भने त्यसको जवाफ दिने मौका यहि हो, सांकेतिक रुपमा भए पनि । अझै पनि हैन टाइम छैन छिटो चाहियो, अब छिमेकि त हो उधारो भए पनि उसैले दिन्छ भनेर अर्को पटक पुन आंगनमा „सुसु“ गर्ने ठाउं दिने हो भने भन्नु केहि छैन नत्र अहिले नेपालले यो काम भारतलाई नदिएर अन्य प्रतिस्पर्धीलाई दिएको खण्डमा भारतले एक पटक पक्कै सोच्नेछ , किनकि "पैसा बोलता है" । र यो भन्दा अर्को दर्हो र सुरक्षित आर्थिक-कुटनितिक मौका झ्याप्प नआउन सक्छ । नबिर्सौं एउटा कोडाक जस्तो एउटा फोटो सम्बन्धी सामाग्री बनाउन नेपाल आएको कम्पनीलाई भारतले "भ्रुण" समेत नष्ट हुने गरी मिल्काइदिएको । जब भारतले हामीलाई उंभो लाग्न नदिन यस्ता तिकडम गर्छ भने हामीले मौकामा जवाफ दिन पर्दैन ?

तर अचम्म सिमानामा झण्डा गाड्ने र एस एस बीको सिपाहीको लाठि खाएर "राष्ट्रको इज्जत राख्ने" नेताहरु हुन वा खुकुरी नचाउंदै कालापानी पुग्नेहरु हुन यस विषयमा मौन छन । अरु त अरु भारतीयहरुको हुण्डी नखाने पत्रकारहरु पनि मौन छन । किन क्वारेन्टाइनमा थन्किनु परेका ट्रक, कोडाक आदिका आफ्नै हातले लेखेका कहानी पनि विर्सन्छन नेपालि पत्रकारहरु ? के नेपाली पत्रकारहरुको स्मरण शक्ति ९० वर्ष नाघेका गिरीजा प्रसादको भन्दा क्षीण छ ? सबैले बुझ्नु पर्ने हो कुरा हो एक पटक नेपालले भारतलाई जवाफ दिनै पर्छ । र जवाफ रेलिङ भांचेर, झण्डा गाडेर, खुकुरी हल्लाएर वा उपनामहरु दिएर हैन शिष्ट पाराले दिनु पर्छ किनकी "पैसा बोलता है" र सानो पैसाको ठुलो बोलीले पनि दर्हो संदेश दिन सक्छ । हैन भने यस्तो बेलामा पनि त्वं शरणं जाने हो भने त्वं शरणंबाट माथि आउन धेरै समय लाग्न सक्छ या असंभव पनि हुन सक्छ ।



3 Comments:

MANU said...

कठै कठै नेपाली को बुद्दी। नपढेका त भारतीको दरबान भए भए,पैसा र बुद्दी हुने पनि त्यही भारतीकै दरबान हुने रेछन कि? देख्दा पनि लाज।

Nepalean said...

पासपोर्ट काण्ड पोलटिक्समा घुसेको राजनिती जस्तो लाग्छ। सुरुमा परेका ठेक्का सबै रद्द गर्नुको कारण त के हो कुन्नी तर अब भने रिडेबल पासपोर्टको काम सरकारलाइ घांणो भएको छ। नया ठेक्का गराउन समय छैन,पूरानो क्यान्सिल भैहाल्यो। सायद अप्ठ्यरोमा परेर सुजाता भारतको कान्छी औंलो समाउन खोज्दैछिन। जनतालाइ दु:ख दिनु भन्दा त जता सकिन्छ उतै पासपोर्ट छपाउनु बुद्दिमानी हुन्छ। यस मानेमा नेपाल सरकार भारत भन्दा नजर लगाउला जस्तो लाग्दैन किन कि उनिहरुको जाने बुझेको, भरपर्दो भनेको भारत सरकार नै हुन। तर जे होस मेसिन रिडेबल पासपोर्ट भने समयमै बनोस।
हिजो सुजाताको इन्टरभियु पढ्ने मेसो मिलेको थियो। उनको इन्टरभ्युमा गौण कुरा भन्दा पनि पढ्दा ठट्टा गर्न मिल्ने खालका बिषय हुन्छन, सेरा पेलिनको जस्तै। तर त्याहां आफ्नो गल्ती भने स्विकारेकी थिइन,ठेक्का रद्द नगार्नुपर्ने हो। ठेक्का चांही किन रद्द गरेको नि? सुने अनुसार त्यांहा पैसाको ठुलै पोको सुजातातिर सोजाइएको ले उनले त्यस्तो कदम चालेकी हुन।
भारतले नेपालमा व्यबसाय फस्टाउन सहयोग भने कहिल्यै गर्दैन। कोडाकको त काजक्रिया नै गरायो। नेपालका बनस्पती घियुलाइ पनि पोलियो लगाएको छ। अरुको के कुरा गर्नु? तर अहिलेको ग्लोबल मार्केटमा हामी भारतकै मात्र मुख ताकेर बस्नु मुर्खता हो। भारतसंग जुधेर या निहुरेर होइन कुटनितीपूर्बक अगाडी बढेर नेपालको हितको लागी केही गर्नुपर्छ। संसारमा कुन देश शत्रु कुन देश मित्रु भन्ने जस्तो आएको अबस्थामा भारत नेपालको लागी बाधक भएर पक्कै बस्ने सक्दैन।

Nepalean said...

ए अर्को कुरा, जिरोआवर जी, लामो समय पछी आउनु भयो,बेला बेलामा आउंदै गर्नुहोला।
तपाइले भनेक पैसा बोल्ता है ठिक हो तर समयमा बुद्दी नपुराउंदा पैसा कागजको खोस्टो बन्ता है ;)
सायद भएको पैसालाइ पनि कागजको खोस्टो बनाउने भएकोले नेपाल गरिब भएको हो कि?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !