November 14, 2009

हर्के र प्रजातन्त्र

हर्के आफूलाई ज्यादै भाग्यमानी ठान्थ्यो । सानै छँदा उसका बाले उसलाई ७ सा’लाँ कसरी प्रजातन्त्र आएर जनताको राज चल्न सुरु भएको हो भन्ने बताएका थिए र उ सधैं आफुलाई स्वतन्त्र नागरिक सम्झन्थ्यो ।

त्यसपछि उ जवान भयो र ४६ सालतिर फेरि आन्दोलनका कुरा चल्यो । गाउँको स्कूलमा ३ कक्षे पढ्दा पढ्दै खन-जोत नगरे अगेनामा आगो नबल्ने स्थिति आएकोले उसले अरु पढ्न पनि पाएको थिएन । गाउँका केही ठालुहरुलाई सोध्दा ‘७ सालको प्रजातन्त्र त नक्कली हो, अब चाही असली प्रजातन्त्र आउँछ’ भन्ने चाल पायो । प्रजातन्त्र पनि सक्कली र नक्कली हुन्छ र? उसले राम्ररी बुझेन, तर उसको ७ सालाँ प्रजातन्तर ल्याउने बाऊ बितिसकेका थिए फेरि यस पटकको प्रजातन्त्र पछि ‘गाउँ- गाउँमा बाटो, टोल-टोलमा स्कूल, सबैलाई काम, सस्तोमा माम’ दिने नाराबाट उ आकर्षित भयो र उ आफैं पनि लाग्यो आन्दोलनमा ।

खै के हो कुन्नी ४६ सालको असली प्रजान्त्र पनि २ -४ बर्ष नपुग्दै फेरि नक्कली नै भएको गाँई-गुई सुन्न थाल्यो उसले । पटक पटक प्रजातन्त्र ल्याउँदै, तीनै प्रजातन्त्र ल्याउने नेताहरुले फेरि त्यसैलाई नक्कली भनेको कुरा उसले बुझेन, तर यस्तो ठूला-ठुला कुरा बुझ्न आफ्नै पढाई कम भएको निर्क्योल निकाल्यो उसले ।

१०-१२ बर्ष गाँउमा ज्यान जोगाउनै मुश्किल भयो हर्केलाई । कहीले जनसेनालाई भई नभै भात पकाएर खुवाउनु पर्ने त कहीले जनसेनालाई खुवाएकोमा पुराना सेनाबाट लठ्ठी खानु पर्ने । जे होस अब भने किसानको ऋण माफ हुने, गाउँबाट सामन्ती साफ हुने । निजी बिद्यालय हटाईने, सरकारीमा शुल्क घटाईने। खाना, नाना र छाना सबैलाई बरोबर पाईने आकर्षक योजना सुन्यो उसले गाउँकै चौतारीमा ।

आजसम्म त यस्तो राम्रो योजना यस्तो सजिलै पुरा हुने उसले कहिल्यै सुनेको थिएन ।‘घर घरमा धारा, पानी खलल, बिजुली बत्ती गाउँ-गाउँमा, देशै झलल’ सुन्दा मात्रै पनि उसलाई जोश आउँथ्यो “ आफ्नी बुढीले आधा घण्टाको बाटोबाट पानी बोकेर ल्याउँदा र छोरा छोरीले मट्टीतेलको अभावका कारण टुकी बत्ती समेत बालेर पढ्न नसकेकोमा मन कुढिए पनि अब भने दिन फिर्ने भो भनेर फेरी उ होमीयो आन्दोलनमा ।

अरु त के जान्थ्यो र, उही ठुलाले जे भन्यो त्यही गर्‍यो । कुनै दिन खेतमा पानी लाउन छाडेर पनि जुलुसमा गयो, कहीले भैंसीलाई घाँस पराल छुटाएरै भए’नी धर्नामा बस्यो । उसका धेरै दिन यस्तै यस्तै देश बनाउने काममा बिते। जे होस बुढीले डोकाँ’ पानी बोक्न नपरे र छोराछोरीले सित्तैमा स्कुलमा पढ्न पाउने र आफ्ना घराँ नि सस्तोमा बिजुली बल्ने भए अरु जे सुकै होस उसले सोचेन। कति दिन भोक-भोकै दगुर्‍यो, कति पटक, लाठि र बुट पनि खायो, तर हिम्मत हारेन, घरकी बिरामी बुढीलाई पनि छाडेर उ ‘नयाँ नेपाल’ बनाउनै लाग्यो ।

धेरै दिन पछी उसले गाउँमै सुन्यो ‘जनताले जिते रे’ । कम्ता खुशी भएन हर्के, छिमेकीको रेडियोमा यस्तो खबर सुन्दा !, गाउमै पनि अबिर जात्रा निस्क्यो सबैजना नाचे, हर्केले पनि घराँ गएर बुढीलाई खुशिको खबर सुनायो ।

दिन, हप्ता, गर्दै महिना बिते, हर्के आँगनमै धारा, कोठामा बत्ती र छोराछोरीको स्कूलमा पैसा तिर्नु नपर्ने खबर आउँछ कि भन्दै कान ठाडो गर्दै हिड्थ्यो । तर खै त्यस्ता खबर त केही आएनन् उल्टै स्कूलमा पनि केजाती हो कर तिर्नै पर्ने भा’कोले झण्डै महिना दिन गाउँकै स्कूल पनि बन्द भए र कर समेत लागेको ‘फीस’ झनै बढी भएको कुरो पो सुन्यो हर्केले ।

उता केजाती कुरा नमिलेर हो गाउँमै खुलेको दूध चिस्याउने र संकलन गर्ने एउटा उद्योग पनि एक दिन जलाईएछ । अब हर्केका घरमा बन्ने १-२ लिटर दूधले पनि बजार पाउन छाड्यो । बाध्य भएर हर्केले ५-६ कक्षेमा पढ्दै गरेका छोराछोरीलाई घरकै काममा लगाउनुको विकल्प भेटेन ।

बुढी बिरामी परेकी धेरै दिन भो। गाउँमा केही नलागेर हर्के उसलाई शहर लाने बन्दोबस्तमा लाग्यो । ऋन,सापटी गरेर बुढीलाई काठमाण्डौ लग्न खोजेको पनि के के हो अग्रगामी सुधारको माग र स्वायत्तताको आन्दोलनले उसको बाटो खुलेको छैन ।

अघिल्लो हप्ता बल्ल-तल्ल हर्के बुढीलाई लिएर शहराँ पुगेको छ, तर खै आज पनि नागरीक सर्बोच्चताको लागि भयानक आन्दोलन र’छ । बल्ल बल्ल शहर पुगेका हर्केका जोडी शहरमै अलपत्र छन। एकापट्टिका वर्दिधारीहरु उसलाई ‘यहाँ भन्दा अगाडि नबढन’ भन्दैछन । अर्को तर्फका आन्दोलनकारी उसलाई ‘यो देशै तिम्रो हो त्यसैले जती सक्यो अगाडि बढ’ भन्दैछन ।

उ अलमल्लल छ । एकाथरी नागरीक सर्बोच्चता बनाउन थालेका रे, अर्काथरी जनताकै मौलिक हक जोगाउन लागेका रे । दुबैथरी जनताकै लागि लागिपरेका हुन भने विवाद के छ त्यो पनि बुझ्न सकेनन् हर्केका बुढा-बुढीले ।

अस्पतालको हडतालले बिरामी देखाउन पा छैन, गाडिको हडतालले गाउँ फर्कन नि पा छैन। एउटा मन्दिरको सत्तलमा सात दिन बसेपछि हर्केका जोडी बेहाल छन। शारीरिक पीडा र ग्लानिबस बुढीले हर्केलाई सोध्छीन, “...हैन बुढा! यसपालाको प्रजातन्तर पनि नक्कली नै रे ‘च कि क्या हो ?”

‘प्रजातन्तर नक्कली हैन बुढी, नेता नै नक्कली रहेछन... नत्र एउटै देशाँ तीन पटक प्रजातन्त्र कहीँ आउँछ…” हर्केको मुखबाट अचानक निस्कन्छ “...नेता नक्कली भएसम्म सक्कली प्रजातन्तर कहिल्यै आउँदैन जनतालाई... ”



9 Comments:

एकलव्य ( Eklavya) said...

उत्कृष्ट ।

हो, यो प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र सबै नेपालको सन्दर्भमा अन्धालाई हात्ती जस्तै भयो , भित्ता, डोरी, खम्बा र नाङ्ला जस्तो ।

सायद केवल आफ्नो झुण्ड र बथानको भलो गर्न सक्ने हूल्याहा राजनीतिको अर्को नाम नेपाली अर्थमा प्रजा, लोक वा जनतन्त्र हो ।

Biplab said...

Well said! When we gonna have real democracy? Unless the don't implement it, we wont never have actual right. Whenever we have a fight for people, these are for political power that means People right will never be exercised.

Again these political rallies are like high noise of magician, just for their favor.

पोस्तक श्रेष्ठ said...

हाहा, गजब गयो ल दादाको। नेपालमा जे सुकै राजनैतिक परिपाटी आए पनि हर्केहरुको लागि " कागलाई बेल पाक्यो हर्ष न बिष्मात्" भने जस्तो हो। सबै दलका नेताहरु बिभिन्न रंगका बोतलमा भरिएका उही ठर्रा रक्सी हुन्। संस्कार एउटै,पृष्ठभुमी उस्तै,बिरासत एउटै। कुनै परिवर्तन होला जस्तो छैन। जनताको रगत बग्छ र नेताहरु सत्तासिन हुन्छन् र उनीहरुको महल ठडिन्छ र हर्केहरु जस्ताको तस्तै रहन्छन्।

Prajwol said...

उत्कृष्ट लेख :)

Anonymous said...

That is exactly we have in your country. In other word, HATTI AYO AYO FUSSA. Can anyone admit on that?

HAWA said...

हँसायो हर्केले... ;)

Prelude said...

This is how the general citizens are tricked, used and thrown back on the same dump! Your interpretation is impressive!

Zero Hour (शुन्य समय) said...

तपाइले हर्केले बल्ल बुझ्यो भन्ने निष्कर्षमा पुग्नु भो मेरो बिचारमा त एउटा हर्केले बुझ्छ तर हजारौं अबुझ हर्केहरु निस्किरहन्छन र हर्केको परंपरा राखिरहन्छन ।

nepalean said...

It is irony fact, unfortunately whatever changes we have in our country, we are living in the same situation. As people say too many cooks spoil the broth, too many changes are just spoiling Nepal. Nothing better.

Its a nice real fiction tharki sir.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !