November 12, 2009

एक्लिएको असमञ्जस माओवादी र दिल्लीले देखाएको ठेंगा

-एकलव्य


कामरेड प्रचण्डको चिन यात्राबाट हासिल अपेक्षाकृत कमजोड उत्साह, २२ दलको माओवादीसंग झुक्न हुन्न भन्ने अडान, झलनाथ कामरेड र उपेन्द्र यादवको दिल्ली तिर्थाटन ( यादवका भनाइमा नेपाली राजनीतिका लागि दिल्ली मक्का मदिना सरह हो ) पछि माओवादीले सञ्चालन गरिरहेको आन्दोलन तेस्रो चरणमा पुगे पनि , अहिलेको कठपुतली ( माओवादीका दृष्टिमा) सरकार झनै बलियो हुँदै गरेको हो कि जस्तो देखिन थालेको छ । माओवादीको श्वरमा एकतावद्द हुँदै सरकार बिरुद्ध आँधीबेहरी सिर्जना गरी सरकार पल्टाएर , प्रचण्डसरकारदेखि आँफूले खाँदै आएको उपप्रधानमन्त्रीको जागिर फिर्ता लिइछाड्छु भन्ठान्ने निर्णयसाथ आन्दोलनको रसदपानी र ईन्धन जुटाउन लागेका उपेन्द्र यादबलाई अचानक दिल्ली दरबारवाट आएको निम्तो र यही सरकारमा सहभागी हुनु भन्ने उताका गडफादरको ऊर्दीले पार्नु असमञ्जसमा पारेको प्रतित हुन्छ । तर भारतीय जनता पार्टी , नेपालको पुरानो राजदरबार र नेपाली माओवादीको समेतको विस्मयकारी गर्भाधानबाट जन्मेको फोरम र यसका हिजोका वामपन्थी र आजका हामपन्थी उपेन्द्र यादवको असमञ्जस भने अर्को गच्छेदारको रूपमा जयप्रकाश गुप्ताले आफ्नो मुखमा आउनै थालेको गास फेरि खोसिदिने पो हुन कि भनेर अरू बढ्दै र त्यही डरबाट आक्रान्त बन्दै गएको छ । यसो भयो भने फोरम , साँचो नेपाली अर्थमा सँधै पार्टी फोर्न खोज्ने दुस्साहसीहरूको फोरौँ पार्टी बनेर तेस्रो धडमा रुपान्तरित नबन्ला भन्न पनि सकिन्न । फोरम फोरिएर चोइटिँदै जाँदा , संसदमा पार्टीको संख्या बढ्दै जाने तर कामरेड प्रचण्डका जमातीहरू घट्दै जाने हुनेछ ।

जुनबेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा महासचिव वान कि मूनले नेपालका राजनैतिक दलहरू वृहद शान्ति प्रकृयाको मर्मलाई निष्कर्षमा पुर्‍याउन, सहकार्यसहित अगाडि बढ्नु पर्छ भनेर बोल्दै थिए त्यही बेला एमालेका अध्यक्ष झलनाथ कामरेड र फोरम नम्बर २ का अध्यक्ष यादव , नेपालको राजनीतिका बारेमा दिल्लीमा मन्त्रणा गर्दै व्यस्त थिए । लाजै पचाएर संरासंघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप २२ दलले लगाइरहँदा, दिल्लीले नेपालको राजनीतिलाई हस्तक्षेप गरेको कुरालई मानौँ दलहरूले यो त भारतले दिएको अभिभावकत्व हो भनेर अर्थ्याउने प्रयत्न गरिरहेका थिए ।

सुजाताको उपप्रधानमन्त्रि पदको चढान , कामरेड झलनाथ र उपेन्द्र यादवको दिल्ली मन्त्रणा, माओवादीको अपेक्षाकृत कम उपद्रवी खालको आन्दोलन आदि कुराले इंगित गर्न खोजेको कुरा एउटै छ , वर्तमानमा नया दिल्लीको संस्थापन पक्षको आशीर्वाद खुलेर नै वर्तमान नेपाली सत्ता गठवन्धन वा माधव नेपालको सरकार उपर छ । एमाले पार्टीको अध्यक्ष भएर पनि पार्टी भित्रबाटै माधव नेपाल सरकार बिरूद्ध खडा लबीको नेतृत्व गरिरहेका झलनाथ होऊन अथवा , शुरूदेखि माधव नेपाल सरकार बिरुद्ध उभिएर कामरेड प्रचण्डको इशारमा आन्दोलनको डंका पिटेर सरकारका लागि अस्थिरता पैदा गर्न सक्ने नेपाली राजनीतिका यी २ पात्रहरूलाई नया दिल्लीले आफ्नो आतिथ्यतामा के मेजमानी गर्‍यो होला , तिनैले जानून तर यो सर्वसाधारण प्रेक्षकहरूलाई पनि अनुमान हुन सक्ने कुरा हो कि यिनलाई दिल्लीले आफ्नो एजेण्डाप्रति राम्ररी सचेत गराउन कै लागि बोलाएर फिर्ता पठाएको छ ।

कामरेड प्रचण्ड र उनको पार्टीले आँफ्नो दल सत्तामा रहेका बखत होस् अथवा सत्ता बाहिर रहँदा होस् , भावनात्मक बहकाउमा बहँदै जाँदा परिपक्व राजनीतिका साँध सीमालाई ख्याल गर्न चाहेनन् । हिजोको क्रान्तिकालीन अवस्थामा कार्यकर्तालाई सुर्‍याउन भनिने वा गरिने काम र कुराहरू तथा आजको परिवर्तित राजनीतिलाई आवश्यक पर्ने परिपक्व निर्णायक कर्तव्य र योजनाहरूको सीमालाई चिनेर अघि बढ्ने संयोजनकलाको सर्वथा अभाव रहेको माओवादीको नेतृत्वमा कामरेड प्रचण्ड नेता भन्दा बढी अभिनेता हुन मन पराइरहे । आफ्नो एकात्मक र अतिवादी एजेण्डालाई मुलुकमा लाद्न , चर्का कुराको प्रक्षेपण गर्ने अनि , एक पाइला पछि हटेत फेरि दुई पाइला अगाडि बढ्दै अरूको अस्तित्वलाई ह्याकुले मिचाइँले पत्तासाफ गर्नु माओवादीको अभिष्ट रहेकाले नै , उसको यो प्रवृत्ति अरूले चिन्दा , आज माओवादी नेपाली राजनीतिका अरू घटकहरूका नजरबाट एक्कलिएको हो , अछूत बनेको हो । ऊ विश्वासिलो हुन चाह्यो र प्रष्टियो भने , २४० स्थान एक्लै संविधानसभामा ओगट्ने यत्रो विशाल पार्टीलाई अरू ६० स्थान जुटाएर सरकार बनाउन गाह्रो नहनु पर्ने हो जबकि ऊ भन्दा संख्यात्मक रूपमा आधा सानो एमालेले सरकारको नेतृत्व गर्न सकिरहेकै छ ।

माओवादीले आँफू किन अछूत हुन पुगेँ भनेर आत्ममूल्यांकन गर्न नखोज्नु र यो परिदृश्यबाट आँफूलाई मुक्त गर्न नखोज्नु तर आन्दोलनको सडक र तमाशे राजनीतिबाट अरूले उसका निम्ति बहुमत जुटाइदिएर टेको लगाई उसको सरकार खडा गरिदिनु पर्ने मान्यता राखूञ्जेल , उसलाई उपेन्द्र यादव मात्र हैन अरू धेरैको विश्वासले छोडिसक्ने हो कि भन्ने सम्भावना उत्तिकै छ ! तर माओवादी जति अविश्वासिलो भए पनि ऊ परिवर्तनकारी शक्ति हो भन्ने कुरा स्वीकार्नु पर्छ । देशलाई जातीय राजनीतिको आदिम विचार र वर्ग संघर्षको कम्युनिष्ट राजनीतिको दुर्गन्धित किमा मा रूपान्तरण गर्न खोजे पनि , माओवादीमा धेरैको आशा पनि अडेको थियो र अझै छ । तर निरंकूश कम्युनिष्टपथ प्रतिको मोह , विश्वमान्य लोकतन्त्रप्रति उसले देखाउन पर्ने ओठे आशक्ति र अन्तरपार्टी खिचातनीको लबी राजनीति बीच, असमयको सफलताले उसमा सिर्जना गरेको दम्भका कारण आफ्नो सफलताको बोझ कै तल दबेर माओवादी दिग्भ्रान्त नहराओस् , यो कामना गर्नै पर्छ ।



25 Comments:

HAWA said...

"लाजै पचाएर संरासंघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप २२ दलले लगाइरहँदा, दिल्लीले नेपालको राजनीतिलाई हस्तक्षेप गरेको कुरालई मानौँ दलहरूले यो त भारतले दिएको ‘अभिभावकत्व’ हो भनेर अर्थ्याउने प्रयत्न गरिरहेका थिए । "

एकलव्य ब्रो आफैले भनिसकेपछि यो माकुने सरकार लाई ‘कठपुतली’ ( माओवादीका दृष्टिमा) नभनेर सिधै कठपुतली भन्दा कसो होला ? ;)

Anonymous said...

माकुने सरकार कठपुतली भए माओबादी कठपुतला हो त? दिल्लीकै सम्झौताबाट माओबादी जंगलबाट शहरमा अबतरण भएको ले माओबादी त झन दिल्लीकै उत्पादन रहेछ त ?

एकलव्य ( Eklavya) said...

हावाजी ,

माओवादीले माधव नेपाललाई 'कठपुतली' सरकार भन्नुमा माओवादीको रोष र ईर्ष्या मात्र हो किनभने वास्तवमा त्यो 'कठपुतली' माओवादी आँफू भइरहन चाहन्थ्यो तर त्यो हुन पाएन । माओवादीको शक्ति संचय र निर्माणमा भारतीयहरूले आफ्नै मुलुकमा आश्रयस्थल, रसदपानी र अभिभावकत्व दिँदा पनि बाघ बनेको मुसोको कथामा जस्तो , ऋषीलाई रूष्ट पार्दा पु:न मुसिको भव: नामको कथामा जस्तो भारतीयहरूले माओवादीलाई सत्ता बाहिर राखेर माधव नेपालको थाप्लोमा आशीर्वाद राखिदिएका हुन । माओवादीलाई म्यानुफ्याक्चर गरेर फिल्ड टास्कमा खटाएका भारतीयहरूले आफ्नो सच्चा कठपुतली पहिला माओवादीलाई बनाएका हुन् गिरिजाले प्रधानमन्त्री छोड्न नमान्दा , छोड्न पर्छ भन्ने प्रेसर दिएर । जब यी नया कठपुतलीको प्रयोग नौ महिना जति भारतले हेर्‍यो र बीचमा समझबुझको केही गडबड पैदा हुँदा कठपुतली नम्बर २ को रूपमा माधव नेपालले बाजी मार्न पुगे । अझै पनि कामरेड प्रचण्डले कहिले भारतीय प्रभूलाई घुर्क्याउँदै, फकाउँदै र कहिले चाइना कार्डको कमजोर अस्त्रको तुरुप फालेर भए पनि 'कठपुतली' बन्ने मोह मर्न दिनुभएको छैन । मेरो कामना छ, यो वहाँको कामना शिघ्रताशिघ्र 'कठपुतली नम्बर १ ' बनेर पूरा होवस् ।

भारतीयहरूले खेलाउन खोज्दा खेल्न पर्ने कठपुतलीको निरिह भूमिकामा दलहरू झर्नु पर्नाको मुख्य कारण , हाम्रा दलहरू बीचको परस्परको चरम अविश्वास हो । यो चरम अविश्वासको वातावरण बन्नुमा माओवादीको हतियार,छापामार, मिलिसिया र यही बलको दम्भ बढी कारक रहेको छ । यिनै कुराको कारण अरू दलहरू माओवादीको नियत र उद्देश्य प्रति सशंकित छन् तर माओवादीले पनि बुझेको छ , यी तर्साउने नङ्ग्रा हटाउने बित्तिकै माओवादीलाई पनि कसैले टेर्ने छैन । माओवादीले शक्तिको भरमा अरू राजनैतिक शक्तिलाई नजरअन्दाज गर्न खोज्ने अनि आफ्नो राजनैतिक एजेण्डा मात्र लाद्न खोज्ने कारणले दलहरू बीचको अविश्वास बढीरहँदा , बिदेशीले यो बीचमा खेल्न सक्ने परिस्थिति अझ बढी बन्दै गएको छ । हामीले खेल्ने वातावरण बनाइदिएपछि अरू खेलिहाल्छन् पनि । अनि कुनै पनि कमजोड, पराश्रित र आँफै पराधीनताको अपेक्षा राख्नेले चर्को कुरा गर्दैमा राष्ट्रियता बलियो बन्दैन । कमजोड , गरीब र आशामुखीको घरमा झगडा हुँदा , वरिपरिका साधारण छिमेकी पनि आफ्नो अभिभावकत्वको अर्ति उपदेश लिएर हाम्रा आँगनमा देखापर्नु नौलो कुरा हैन ।

माधव नेपालको सरकार कठपुतली होला , तर माओवादीको क्रन्दन र रोदन पनि केवल आँफू कठपुतलीको स्थानबाट चिप्लिनु पर्दाको पीडा र मर्मको आलाप मात्र हो ।

प्रबिण थापा said...

आफु सरकारमा छदा गरेको अदुरदर्शी निर्णय, छलफल र विचार विमर्शबिना आफु मात्रै सर्बेसर्बा ठानेर गरेका कयौ निर्णयले गर्दा अनि जनताले जुन आशा राखेर सम्बिधान सभाको चुनाबमा माओबादीलाई ठुलो दलको रुपमा उभ्यायाका थिए जनताको त्यो अपेक्षा प्रति एक रति पनि काम गर्न नसकेर सत्ता निल्नु न ओकल्नु को गास बनेको बेला कटुवाल प्रकरणले सरकारबाट बाहिरिनु माओबादीका लागि अस्तित्व रक्षाको एउटा सुनौलो अबसर थियो भलै त्यहा राष्ट्रपतिको असंबैधानिक कदमले सुनमा सुगन्ध मिसाईदियो. आजको दिनमा जो जसले जे भनेपनि गाउ गाउमा जनतालाई भ्रमको हौवा फैलाएर नै किन नहोस हामीलाई काम नै गर्न दिएनन एमाले कांग्रेस सबै मिलेर भन्ने गहन छाप छोड्न माओबादी सक्षम बनेको छ. काठमान्डौका सडकहरुमा जति नै कराए पनि एमाले र कांग्रेस को उपस्थिति न्युन छ गाउ गाउमा जहाँ माओबादीहरुको एकाधिकार अझै कायमै छ र सकिन लागेको जनताको बिश्वास पुन माओबादीहरुले प्राप्त गर्न सकेका छन्.
संबिधान निर्माणको लागि सबै दल मिल्नुको विकल्प छैन, माओबादीले अहिल्यै नै सत्ताको साचो लिएर फेरी सरकार हाक्ने मनासाए लिनु भन्दा जिम्वेवार प्रतिपक्षको भूमिकामा आफुलाई उभ्यायर आफ्ना एजेन्डा अनुरुपको सबिधान निर्माणमा जोडका तोडले लागि अझ संगठन सुद्रिढ पार्नुमा ध्यान दिन जरुरि छ जसले भोलिका दिनमा नेपाली जनता र माओबादी पार्टी दुबैको हित गरोस.

ठरकि दादा said...

अहीलेको समयको एकदमै सहि र यथार्थपरक आलेख ।

नागरीक सर्बोच्चताको प्रत्याभूति आन्दोलन र नाच-गानले हैन, एउटा गतिलो संबिधानले दिन्छ । तर लाग्छ संबिधान बनाउने न कसैलाई फुर्सद छ न कसैको हुत्ती । त्यसैले नीयम-कानूनले प्रत्याभूति गर्नु पर्ने नागरीक हक र अधिकारको नाममा त्यही नियम मिचाई र बल प्रयोग बाहेक केही भएन हामीकहाँ ।

अब अरु साथीहरुले सुरु गर्नु भएको कठपुतलीको कुरा । बोल्दा मनमा ग्लानी हुन्छ, तर हामीकहाँ अहिलेसम्मको स्थिति हेर्दा 'नायक' कोही छैनन्, सबै कठपुतली नै हुन । झण्डा फरक- फरक समातेका छन, तर सबै मालिककै ईशारमा नाच्छन । विगतमा माओवादी संग एउटै मात्र आश थीयो कि उसमा राष्ट्रियताको गहन बोध छ । तर देखियो यो बोध पनि उही, छोरीलाई उपप्रम, भाईलाई वाणिज्यदूत बनाउने भन्दा केही फरक रहेनछ। मालिकले 'नाचो' भनेपछि त उनीहरु पनि मज्जैले नाच्दा रहेछन ।

पुष्प said...

गज्जब लाग्छ माओवादीलाई भारतीय कठपुतली भनेर ट्याग लगाएको थाहा पाउँदा ! युद्धताका माओवादीका नेताहरू भारतमा लुकेर बसेको कुरा सत्य हो, तर यसलाई भारतले दिएको रसदपानी र अभिभावकत्व भन्नुअगाडि भारतले कतिपय माओवादी नेताहरूलाई थुनामा राखेको 'इतिहास' पनि हेर्नुपर्यो नि । भारतमा १२ बुँदे 'समझदारी' भएको कुरालाई अन्यथा लिनुहुने महानुभावहरूले उक्त 'समझदारी'ले अहिले सबैभन्दा घाटा माओवादीहरूलाई भइरहेको यथार्थलाई पनि केलाउनुहुन अनुरोध छ ।

नागरिक सर्वोच्चताको मुद्दालाई खेलाँची ठान्नेहरूले खै कसको सर्वोच्चता चाहिरहनुभएको छ ? अनि संविधानको कुरो, के जनता तर्साउन बुट पड्काउने र शासकलाई सलामी अर्पण गर्ने सेनालाई सर्वोपरि बनाइने संविधान पुरानो भन्दा उत्तम हुनेछ ? संविधानको खोष्टो नै चाहिने भए त पुरानैलाई नयाँ खोल लगाइदिए भैगो नि, नभए भारत जिन्दाबाद, कि कसो ?

एकलव्य ( Eklavya) said...

प्रविणजी,
तपाईँको विचारपूर्ण प्रतिक्रिया अति राम्रो लाग्यो ।

पुष्पजी,

मेरो कामना छ एमाले, कांग्रेस वा माओवादी अथवा कसैलाई कठपुतली भनेर गाली गर्नु नपरोस्। किनभने यी सबै हाम्रो राजनीतिको काँध थाप्ने पार्टी नै हुन् । माओवादीलाई शक्तिशाली बनाउन कसले के भूमिका खेलेको थियो , त्यो कुरा कामरेड प्रचण्डले नै धेरै खोतलिसक्नु भएको छ । भारतलाई रिझाउन, आँफू सार्वजनिक हुने बित्तिकै, कामरेड प्रचण्डले भारतको राष्ट्रिय टेलिभिजन मार्फत कसरी "आँफू पाकिस्तानी गुप्तचर संस्थाले लोभ्याउँदा नलोभीई भारतीय लाइनमा वफादार रहेको थिएँ" भनेर स्वीकारेको एउटा घटनाले नै चाहिने मात्रामा भन्दा बढी बताएको हो । पछि पनि , माओवादीलाई सत्ता दिनुपर्छ भनेर लामो लबीङ गर्नेमा राजदूत सूद स्वयं थिए र भारतीय राष्ट्रिय कांग्रेसका डि पी त्रिपाठीदेखि , सिताराम येंचुरी अनि एसडि मुनिसम्मका हस्तिहरू कसरी माओवादीको पक्षमा हर्दम लागिरहेका हुन्थे, यसलाई पनि हाम्रो राजनीतिमा भारत समक्ष त्वं शरणं हुने संस्कारको निरन्तरताको रूपमा देख्नै पर्छ । यो दृष्टान्त नेपालका कुनै राजनैतिक दल विशेषलाई चोख्याउन र अरूलाई बिटुल्याउन काम लाग्ने फर्मूलाको रूपमा प्रयोग गर्न उपयुक्त छैन। हो, बरू राजनीतिक चातुर्यता नजानेका तर आफ्नो एकल दम्भमा बढी आश्वस्त बनेर भारतको प्रभावलाई कम आँकेर चल्न खोज्दा राजा ज्ञानेन्द्र बढारिनु परेको कुरा सबैभन्दा अकाट्य सत्य हो । अब भारतले नेपाली माओवादीको निर्माण , शक्ति संचय, उत्थानमा कुन कुन भूमिका खेल्यो त्यो कुराका बारेमा धेरै लेखिइ सकेको हुँदा , त्यो सन्दर्भलाई अहिले यहाँ चर्चा नगरौँ , तर बुझ्ने खोजे यो जहाँ कहीँ पाइन्छ।

जहाँसम्म, नेपाली माओवादीहरूको भारतमा गिरफ्तारीको कुरा छ , प्रमुख नेता मध्ये माओवादीको बाबुराम लबीलाई देखि नसहने माओवादीको कट्टरपन्थी धडका नेता मोहन वैद्य, मातृका यादव र सि पि गजुरेललाई मात्र भारतीय प्रहरीले किन गिरफ्तार गरी जेल राख्नु परेको हो यस बारेमा तपाईँले माओवादी स्वयंले बेलबखत जारी गरेका दस्तावेज र यस पार्टीका शिर्षस्थ नेताका यो विषयमा छरपष्टिएका मतमतान्तर पढेर गोड्नुभयो भने , त्यहाँ पनि नेपाली माओवादी पार्टीको अन्तरंगमा भारतको प्रभाव कुन ढंगले घनिभूत छ पाउनु हुनेछ ।

मेरो कुराको सारांश हो , माओवादी अहिले सत्ता बाहिर रहेका हुनाले प्रतिपक्षीय अधिकार प्रयोग गरी सत्तासीनहरूलाई कठपुतली भन्न पाउनु उसको अधिकार र धर्म हो , तर यो भनाइको गुह्य भने आँफू कठपुतली हुन नपाएको क्रन्दन मात्र हो ।

nepalean said...

एउटा ठुलो रुखले वरीपरीको सानो रुखलाइ पक्कै असर पार्छ। त्यो प्राक्रितक नियम हो। तर बिचार र देश आफ्नो भन्ने
अनि लाइन चाही बिदेशीको पक्डिने भने निक अचम्म मान्नु पर्ने कुरा हो। जती जती नया संबिधान बन्छ र नया नेपाल भनेर चिनाइन्छ उती उती भारत परस्त हुंदै छन पार्टीहरु। पंचायत सायद भारती संग मित्रबत ब्यबहार गरेनन क्यार ०४६ सालमा आएर पंचायतलाइ गलहत्ती पारियो। नेपालमा प्रजातन्त्र त आयो, जनता पनि सहिद भए तर आन्दोलनको ब्यु रोप्ने को, कसैले नढाटी यांहा भन्न सक्नुहुन्छ?

एबम रुपले कांग्रेस उदायो। कांग्रेस र कांग्रेसीहरु प्रया भारतमै जन्मेकाले उनीहरु भारतीहरु संग निकै नजिक मानिन्थ्यो।
एमालेले भारतसंग शत्रुता गर्दा हाता लाग्यो सुन्य भएको थाहा पाएपछी भारतसंग नजिकिन निकै प्रयास गर्यो। तर त्यती बेला भारत प्रभाब पार्न तम्सिन्थ्यो मात्र।

अहिले नया नेपाल र लोकतन्त्रको आगमन भए पछि भने भारत स्पष्ट रुपमै नेपालमा उठबस गरिरहेकोछ। राजा हुंदा उस्लाइ अप्ठ्यारो परेर होला,राजा हाम्रा पार्टीहरुले होइन भारतले फालेको हो। संबिधान बनाउने न्युमा झण्डा पनि फेरींदै छ, यो पनि भारतकै आइडिया हो। सक्दो नेपाली राष्ट्रियता कमजोर पारिंदै छ र पार्टीहरु यसमा को बढी भारत परस्त हुने भन्ने होड चलेको छ। यसमा माओबादी नं १ मा छ,यो स्पष्ट नै छ।
अब भन्नुस साथीहरु पार्टी ठुलो कि देश ठुलो? राष्ट्रियता बेच्ने काम किन गर्छन पार्टीहरु? र हामी किन मूर्ख झै पार्टीको अन्धभक्त भएर गाना गाउंछौं? के देखेको कुरा आकलन गरेर भन्न सक्ने हामीमा क्षमता छैन? अन्तयमा
जस्ले जस्को आशिर्बाद पाए पनि संसदमा गए पछि बहुमतले (एक्ले या जोडेर) सरकार चलाउने र कम-मत पाउने बिपक्षमा रहेर देश चलाउनु नै जनताको आदेश होइन?

Biplab said...

I would say Girija's grand design was done by Delhi.
Am I right?

पुष्प said...

एकलव्यजी,

प्रचण्डले भनेको भनिएको "आँफू पाकिस्तानी गुप्तचर संस्थाले लोभ्याउँदा नलोभीई भारतीय लाइनमा वफादार रहेको थिएँ" कुरामा केही नराम्रो त देखिएन । भारतसँग मित्रवत सम्बन्ध राख्नु के नराम्रो हो र ? 'वफादार' शब्दलाई अन्यथा लिनुभएन नि ।

भारतले माओवादीलाई सत्ता दिनुपर्छ भनेरै माओवादीले सत्ता पाएको हो र ? बडो अचम्मको भारत-माओवादी साँठगाँठ देखाउन खोज्नुभएछ एकलव्यजीले ।

नेपाली माओवादीको निर्माण, शक्ति संचय, उत्थानमा भारतको भूमिकाका बारेमा अलि प्रष्ट पार्नुहुन अनुरोध छ ।

कठपुतली को हो भन्ने कुरा जनताले जनमत दिएको दललाई पाखा लगाउनुले नै थाहा लाग्छ ।

sagar pokharel said...

Jaba jaba maoistko government form hunchha tyo pani aru party sanga rat din khutta jodera ra tyo sarkarle kunae pani bibad suljhauna sakdena ra afae rajinama dinchhana hamra marxbadi neta bhanera afaelae chinaune C.Prachandale tyo sarkar kathputali nahune ?
jaba maobadi matra tyo sarkarko oppositionma chha , ra 22 partyle sarkar banayeka chhan tyo kathaputali hune?
yo ta maobadiko "RUNCHE RAJNITI" bhayo.

Biplab said...

Exactly Sagar Pokharel. Yo ta maobadi ko RUNCHE RAJNITI bhayo ni. Sarkar banaune, JPT garera afain niskane ani aba sarkar chaincha bhanera sadak ma karaune. Hain julus garera Sarkar payine bhaye ta kina chunab nai hunu paryo?

पुष्प said...

सत्ता नै चाहिन्छ भन्या होइन सागरजी, विप्लवजी । लोकतन्त्रको सामान्य मान्यतालाई स्थापित गर्न खोज्या हो; राष्ट्रपतिको कदमका बारेमा सदनमा छलफल गर्न पाइयोस् भनेर; हार भएपनि स्वीकार गर्ने कुरा माओवादीले गरिसकेको छ । यसबाहेक दुइवटा विकल्प पनि माओवादीले दिइसकेको छ । जाबो यत्ति कुरा पनि मान्न नसक्ने ! अब आफै भन्नुस्, को रुञ्चे रहेछ ? जनताको जनमत पाएर सरकार बनाउने माओवादी कि राष्ट्रपतिलाई काँध चढाएर राष्ट्रिय सेनाको आडमा लिएर सरकार बनाउनेहरू ???

जहाँसम्म माओवादी सरकारबाट बाहिरिएको कुरा छ, दोहोरो सत्ताको खतरा नहोस् भनेर माओवादीले सरकार विघटन गरेको हो । कृपया यो कुरा तपाईंहरूजस्तो बुद्धमानहरूले बुझपचाउनु दुर्भाग्यपूर्ण हो ।

Biplab said...

Puspa ji
Aren't Maoist for Nagarik Sarbochhatta? What does it mean? Does it mean the step they took to remove Army Chief is Nagarik Sarbochhatta and President overturned this so it was against Nagarik Sarbochhatta? Why the government responsible to make sambidhan do other things like removing army people instead of making sambidhan?

Arko kura tehi army sanga ladera satru thanneko ra tehi rish pokhna rupangat lai nikalna khojeko kina buj pachauna paryo? Army infilterate garera army afno haat ma line ta prachanda le nai vdo ma boleko kura ho, yo ta gham jastai charlanga chha, kati jhut ma bachne bhannus ta?

Puspa ji tapai lai personnal question bhanda pani hami fact ma bachau,jun party le je garun hami sahi nirkyaul garau bhanne ho, anyatha nalinu hola.

पुष्प said...

विप्लबजी धन्यवाद,

'नागरिक सर्वोच्चता'को अर्थ जति सजिलो त्यति नै सजिलो अर्थमा माओवादीले लिएको छ, यद्यपि यसको गहनता लोकतन्त्रको मूलमर्म हो । सबैलाई थाहा भएकै विषय हो, अहिले राजनीतिक रडाको सेनाकै मुद्दाबाट शुरु भएको हो । कटवाललाई कारवाही गरेकोमात्र देख्नेले कटवालले सरकारी निर्णय मिचेको किन देख्दैनन् ? लोकतन्त्रमा सेना कसको अधीनमा रहन्छ वा रहनुपर्छ, मुट्ठीभर शासको हातमा कि जनताको ? जनता भनेको जनताले चुनेको सरकार होइन ? अनि जनताले चुनेर पठाएको सरकारले भनेको आदेश नमान्ने जोकोहीलाई सरकारले कारवाही गर्न पाउँदैन ? फेरि भन्नुहोला त्यो मांओवादीको निर्णय थियो । विप्लवजीलाई थाहै हुनुपर्छ; कटवाललाई कारवाही गर्नमा सहमतहरू रातारात कसरी फेरिए ! अनि कसको इशारामा फेरिए भन्ने कुरा पनि अनुमान गर्नुभएकै होला । यी सब पृष्ठभूमिमा राष्ट्रपतिलगायत अन्य दलहरूले कसरी लोकतान्त्रिक मूल्यमान्यताको उपहास गरे भन्ने कुरा छर्लंग छ । यसलाई राष्ट्रिय सेनासँगको शत्रुताजस्ता कुरा गर्नु हाँस्याष्पद छ त्यति समयसन्दर्भभन्दा बाहिरको भिडियो हेरेर तर्सिनु हाँस्याष्पद छ । शान्तिप्रक्रियामा आइसकेको दल र सेना समायोजनको कुरा चलिरहेको अवस्थामा यस्ता कुराहरू कति सान्दर्भिक होलान् !

Anonymous said...

पुष्पजी,

लोकतन्त्रको धेरै चर्का कुरा गर्नु पर्दैन । 'माओवाद' को राजनीति कति लोकतन्त्रवादी हुन्छ भन्ने संसारभरका मान्छेलाई थाहा छ । हिजोको पूर्वी युरोप र आजको क्यूवा र नर्थ कोरियाको जस्तो राजनितिले नागरिक सर्वोच्चता भनेर फलाक्नु भनेको स्वयंमा लाजलाग्दो दावा हो।
तपाईँको माओवादी पार्टीलाई आँफू बाँच्न आफ्नो निजि सेना चाहिने , वाइसिएलको अर्धसैन्य दस्ता चाहिने । यीनको बल र साथले चुनाब जित्न पर्ने, अरू दलका कार्यकर्ता र नेतालाई खोजी खोजी सखाप पार्न पाउने छूट दिनु पर्ने , यस्तो मजाकिया नागरिक सर्वोच्चता संसारको कुनै सभ्य मुलुकमा देख्नु भएको छ ?

के नागरिक सर्वोच्चता भनेको माओवादीले राष्ट्रिय सेनामा आफ्ना ब्रेनवास्ड जत्थालाई झुण्डका झुण्ड घुसाउने छूट पाएर राज्य सत्ता एक्लै कब्जा गर्ने मौका प्राप्त गर्न पाउनु हो ?

कटवालाई कारवाही गर्नु पर्ने कारण के हो ? कटवालले भनेको 'राजनीतिक प्रशिक्षित छापामार राष्ट्रको सुरक्षा सेनामा निर्बाध छिराएर सेनाको राजनीतिकरण हुन हुन्न' कुरामा के गलत छ ? 'सेनाको मापदण्डलाई स्वीकारेर व्यक्तिगत रूपमा जो कोही नेपालीलाई सेनामा प्रवेश गर्न छूट छ ' भन्ने कुरामा माओवादीको बिरोध कसरी भयो । माओवादीको सेना जनताको सेना हो भनेरे कस्ले स्वीकार्छ । मार्क्स,एंगेल्स लेनिन, स्टालिन, र माओको फोटो टावसे बसेका क्याम्पमा , माओवादी नेता र विचार र नेतालाई स्यालुट र अरूलाई सफाया गर्न बसेका माओवादीका हिंसात्मक जत्था , कसरी जनसेना भए ? अनि तिनलाई सबै विचारका नेपालीको करबाट उठेको रकमबाट तलब भरेर मुलुकले पाल्न पर्ने के खाँचो ? अनि तिनलाई राष्ट्र्को सेना बनाएर , मेरो मुलुकलाई उत्तर कोरिया बनाउन दिने कुरामा म सामान्य नेपालीले किन र कसरी सहमति दिने ?
के माओवादीले आफ्ना हिंसात्म जत्थाको बरमा देशमा दादागिरी देखाउनु सबैभन्दा ठूलो नागरिक सर्वोच्चताको उपहास हैन ? राष्ट्रपतिको कदम त माओवादी बाहेकका २२ वटा दल जसलाई कूल ६७% नेपाली जनताको अनुमोदन थियो ( प्राप्त मत हेर्नूस माओवादीको २९ र उपेन्द्र यादवको ३% बाहेक ) तिनैको सुझावका आधारमा लिइएको निर्णय थियो , माओवादीको निरंकूश उद्देश्यका बिरुद्ध ।

तपाईँ र माओवादीलाई नागरिक सर्वोच्चताको यति धेरै चाहना छ भने , पहिला माओवादीलाई हिंसा , बन्दूक र हतियार छाडेर नागरिक बन्न सिकाउनुहोस् । आँफू नागरिक बनेर , नागरिक सर्वोच्ताको शुरुवात गर्‍यो माओवादीले भने अनि हामीले पनि पत्याउँला । हैनभने माओवादीलाई टिक्न हतियार , हिंसा र सेना चाहिने तर , उसको हतियारको सर्वोच्चता कायम गरिदिन अरूले नागरिक सर्वोच्चता स्वीकार्न पर्ने , लंगडो तर्क लिएर कसले विश्वास गर्ला र ? माओवादीको हिंसा र हतियारको बन्धक बनेको देशले , उसैको मुखबाट यो हासो उठ्दो माग उठेको सुनेर के का आधारमा विश्वास गर्ने ?

-सम्यक

HAWA said...

निकास के त (अ)सम्यक जी, माओवादीलाई तह लाउन यो कठपुतली सरकारलाई तपाई के सुझाव दिनुहन्छ ? यु एन ले पनि हस्तक्षेप गर्न थाल्यो अब मित्र राष्ट बाट सेना झिकाएर शान्ति ल्याउ न त कि कसो? ;)

पुष्प said...

अनामजी, कटवाललाई हटाउनुपर्ने कारणमा तपाईंको बुझाइ गलत भो । माओवादी जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने कि नगर्ने भन्ने कुरामा प्रधानसेनापतिको विचारले कुनै अर्थ राख्दैन र यो अहिलेको मुद्दाको जड हुँदा पनि होइन ।

कटवालले जसरी शान्तिप्रक्रियाविपरीत सेना भर्नाको लागि आह्वान गरे त्यो नै आजको राजनीतिक अवस्थाको कारक हो । यसका विरुद्ध केही दलहरूले पहिले त सहमति जनाए; तर रातारात उनीहरू परिवर्तन भए । राष्ट्रपतिले पदीय गरीमा र संविधानको भावनाविपरीत कटवालको थमौति गरे । अब तपाईं आफै भन्नुस्, शान्तिप्रक्रियालाई भाँड्नेहरू र देशलाई युद्धको दलदलमा पुन: भाँस्न खोज्नेहरू को हुन् ?

अँ, तपाईंहरू नागरिक सर्वोच्चतालाई खेलाँची ठान्नुहुन्छ; क्यूबा, कम्बोडिया, उत्तर कोरिया आदिको उदाहरण सुन्दा-सुन्दा यो पनि ठट्टा नै लाग्न थालिसक्यो अनामजी । माटो-सुहाउँदो राजनीति गर्न माओवादीहरूले पनि जानेका छन् । शान्ति प्रक्रियामा आउनुले नै यो कुराको पुष्टि गरिसकेको छ ।

साम्यवादी चीनले खुला आर्थिक नीति अँगालेर गेको द्रूततर आर्थिक विकासलाई हेर्नुस् । अनि प्रजातन्त्र र पूँजीवादको पर्यायवाची भारतका स्लमडगहरूलाई पनि हेर्नुस् । आजका मितिमा कुनै अमूकवादले कुनै अर्थ राख्दैन । मुल कुरा भनेको नियत हो ।

हुन् त अगुल्टोले पोलेको कुकुर बिजुलीदेखि तर्सन्छ भन्छन्; यसमा तपाईंको कुनै दोष देखिँदैन । मात्र यति भन्न सकिन्छ; तपाईं मान्छे हो; धैर्य गर्नुस्, नतर्सिनुस् ।

Samyak said...

हावा अनि पुष्पजी,

अहिलेको सरकारलाई मेरो सुझाव छ , माओवादीलाई विश्वासमा लिने यथासक्य प्रायस गर र लेऊ । सरकार पनि माओवादीलाई बुझाऊ , तर माओवादीले बन्दूक, हिंसा र हतियारको त्याग गर्ने शर्तमा मात्र । अब गणतन्त्र स्थापित भैसकेको छ , सबै राजनैतिक दलहरू समानताको मैदानमा मुकाबिला गरून् । कोही हतियार , छापामार र बन्दूक बोकेर अरू कोही हात बाँधेर गरिने प्रतिस्पर्धा , लोकतन्त्र, गणतन्त्र वा सभ्य राजनीति केही हुन सक्दैन । देशको सुरक्षा गर्न बनेको राष्ट्रिय सेना हिजो पञ्चायतको वा राजाको वा सत्तामा बस्ने हरूको थियो होला , तर त्यसले पनि राजाको पक्षमा रगतको खोलो बगाएको थिएन । नेपाली सेना , कांग्रेस, एमाले , दरबार , पञ्च , फोरम वा अरू कुनै दलको जत्तिको हो त्यति नै माओवादी वा अरू पार्टीको पनि हो । यसमा सुधारको खाँचो छ , तर यो गर्न सबै दलको मतैक्यतामा एउटा पद्दति बसालेर गर्ने हो । 'त्यो कटुवाल को हो ?' भनेर टुँडिखेलमा फलाको हालेर सेनामा सुधार हुँदैन यसका लागि इमान्दारीपूर्ण अनि सहमतिपूर्ण प्रयास गर्नु पर्यो ,कि कसो ? अत: हिजोसम्म भएका बिरोधी दलका कार्यकर्ता मार्ने र लुकेर पुलिस मार्ने माओवादी क्रियाकलापलाई क्रान्ति मान्ने नै हो भने पनि , अबका दिनमा माओवादीको हतियारधारी जत्थाको प्रयोजन केवल अरू दलको अस्तित्व नामेट पार्न मात्रै प्रयोग गर्ने माओवादीको चतुर्‍याईँ अरूले बुझेर नै माओवादी एक्लिएको हो भन्ने कुरा तपाईँ र माओवादी चाटुकारहरूको माथिंगलमा जति छिटो घाम लाग्यो त्यति छिटो मुलुकको कल्याण हुनेछ भनेर बुझ्दा हुन्छ । मेरो सुझाव छ, हिंसा र हिंसाका ठेकेदारहरूलाई माओवादीले विचार र व्यवहारमा त्याग्न सकेमा सबैभन्दा राम्रो नागरिक शासन वा सर्वोच्चताको शुरूवात हुनेछ ।

पुष्पजी,

हो , अहिले पनि आफ्ना नागरिकलाई रोटी सेकाउने टोष्टर किन्ने अनुमति सरकारबाट लिन पर्ने क्यूवा, २०१५ सालसम्म नागरिकलाई मोबाइल फोन लिन पाउने अनुमति दिने घोषणा गर्न पर्ने क्यूवा, सन २०२० सालसम्ममा कम्प्युटर किन्न स्वतन्त्रता दिने घोषणा गर्ने महान क्यूवा र भोकमरी बीच जापान, साउथ कोरिया र अमेरिकासंग अन्न मागेर आफ्ना नागरिकलाई राष्ट्रभक्तिको मिसाइल खुवाउने उत्तर कोरियाको कुरा माओवादी सिद्दान्त बोकेका अधमहरूलाई सम्झाउँदा , रुनुको सट्टा हाँसो उठेकोमा म बिस्मित भएँ । जब नाम 'माओवादी' लिएर, राजनिति गर्न अघि सर्छन र चीनको आर्थिक विकासको आधार कोर्ने पूँजीवादी प्रयोगका अग्रज देङसियाओ पिङलाई संशोधनवादी भनेर गालीको गरेर नथाक्ने माओवादीको , कोकोहोलो सुनिन्छ कसरी पत्याउने कि यिनीहरू सभ्य संसारले स्वीकारेको राजनैतिक स्वतन्त्रताका घोर बिरोधी र चाउचेस्कू ब्राण्डका ठिमाहा सन्तति हैनन भनेर ? आफ्नो संवैधानिक प्रस्तावमा दलहरूलाई प्रतिवन्ध लगाउने , न्यायलय , सेना र प्रहरी अनि प्रशासनलाई कम्युनिष्ट पार्टीको मातहत ल्याउने विचारका दस्तावेजलाई सार्वजनिक नै गरेर बसेको पार्टीलाई कसरी मैले ठान्ने कि यिनीहरूबाट स्वतन्त्र राजनीति र जीवनको ग्यारेण्टी होला भनेर ? यिनके अध्यक्षले केही महिना अघि, मिलिसिया र छापामार सेनामा घुसाएर राज्य कब्जा गर्ने योजनाको खुलासा गरेको कुरालाई पत्याउने कि तपाईँले ठानेको 'सबैलाई सबै कुरा दिसक्ने ' माओवादीलाई पत्याउने , कृपया बताइदिनुहुन्थ्यो कि !

मलाई पनि आशा छ माओवादी तपाईँले भने जस्तो भैदिए ! तर हैन, ब्वाँसोले गाईलाई मुसारेर माया दिँदैन, मुसार्दै आन्दाभुँडी तानेर खान्छ । भर्खरै बर्लिन वालको २० औँ वार्षिकी संसारले मनायो तर हामीले बर्लिनवालको प्रेतलाई मुलुकमा पूजा गर्दैछौँ , कस्तो विडम्बना !

पुष्प said...

सम्यकजी,

समयसान्दर्भिक कुरा राख्नुभो, धन्यवाद ।

विद्रोहलाई आतंककै रूपमा हेर्नुहुन्छ भने तपाईंसँग कुरा गर्नुको ‌‌औचित्य रहँदैन । कुनै वादको ट्याग लाग्नु राम्रो वा नराम्रो हो भनी भन्नुहुन्छ भने पनि मेरो भन्नु केही छैन । तर परिवर्तनवाहकहरू कुनै अमूक ट्यागलाई आफ्नो पहिचान बनाउँदैनन् । परिवर्तनवाहकहरू आफ्नो विचारमात्रै लाद्ने हैन कि अरुको विचारलाई पनि आत्मसात गर्न पछि पर्दैनन् । बरु कांग्रेसीहरूले कहिल्यै अरुको विचार आत्मसात् गरेनन् ।

वर्लिनवालको इतिहासलाई माओवादीले नबुझेको पक्कै होइन होला । तर विकृत साम्यवादको उदाहरण दिएर साम्यवादको सुन्दरतालाई कसैले पनि धमिल्याउन सक्दैन ।

शान्तिप्रक्रियामा आउनुअगाडिका अभिव्यक्तिहरूकै भरमा माओवादीमाथि शंका गर्नु घाउ कोट्याएर अझै बल्झाउनुजस्तै हो । भन्छन् नि, शंकाले लंका जलाउँछ भनेर । शान्तिप्रक्रियामार्फत् लोकतन्त्रलाई आत्मसात गरेको माओवादीको विरोध त गर्नुस्, तर यो विरोधले राष्ट्रघाति हुँदै गएकाहरूको समर्थन नगरोस्, यही कामना ।

एकलव्य ( Eklavya) said...

अग्रलेखमा राखिएको कुरामाथि बहस चलाउनु हुने साथीहरू र कहीँ कतै सन्दर्भले प्रतीकात्मक रूपमा संकेत गरेका पक्षहरूलाई पनि समेटेर आ-आफ्ना तर्कहरू प्रस्तुत गर्ने साथीहरूलाई धेरै धन्यवाद ।

अन्तरसम्बन्धित संसारको सञ्जालबाट फाइदा लिएर नेपाल र नेपालीलाई माथि उठाउनु पर्ने वाध्यता एकातिर छ , अर्कोतिर 'तवं शरणं'को राजनीतिबाट व्यथित बनेको राष्ट्रवाद सुस्केरा छाडेर रूँदै छ । क्रान्तिको महानता कुन हो अनि हत्या , अपराधको जघन्यताको साँध कहाँ नेर छ प्रष्टिएको पनि छैन , छ भने केवल आ-आफ्ना विचारका दलिल र गैरविचार हरूको दुत्कार मात्रमा हामीले लोकतन्त्रको मनचिन्ते परिभाषा खोजिरहेका छौँ । आ-आफ्ना माग र दलिलको झोलामा मुलुकलाई च्यापेर , आ-आफ्नाहरूका स्वार्थका पोकापुन्तुरामा मुलुकलाई भाग लगाउन पाए , जातीवाद, क्षेत्रवाद, गोत्रवाद र आतंकवाद पनि हाम्रो मसिहा हुनेछ ।

सायद संक्रमणको वर्तमानमा हाम्रो आर्तनाद यही भन्छ । तर पनि , सबै भन्छन् उसैले चाहेको वा भनेको सही हो, अरू गलत र पाखण्डी दुवै हुन् । अलिक बुझ्नेहरू त बिलखबन्ध नभइ रहन सक्ने स्थति छैन , नबुझ्नेले नाचगान, तमाशा , सडकबन्द, गोली गट्ठा, कटपुतली सरकार, छोरीको सत्तारोहण, रेखा थापाको कम्मर मर्काई सबै कुरामा , उसले खोजेको चमत्कारी गणतन्त्रको स्वाद पाइरहनेछ ।

हे पशुपतिनाथ , खे के आशा गर्नु ! पार्टीको पुर्णकालीन सदस्यता लिएका ऋषीराम शर्मा र विष्णु दाहाललाई पुजारी बन्न पनि दिएनौ , राष्ट्रवादको के सेवा गरौला ? , तैपनि सक्छौ भने नेपालको कल्याण गर्देऊ सबैले सबै थोक पाउने व्यवस्था ल्याइदेऊ !

सायद अहिलेको अवस्थामा हामीले गर्न सक्ने प्रार्थना यही हो क्यार ! धन्यावद ठरकीसर, नेपालियनजि, बिप्लवजी , अज्ञात मित्र, सम्यकजी, प्रविणजी, पुष्पजी, हावाजी अनि म स्वयंलाई मीठो बहस चलाउन मद्दत गर्नु भएकोमा । 'वादे वादे जायते तत्व वोध' पनि भन्छन् ।

पुष्प said...

'बुझ्नेहरू'ले बुझ्पचाएपछि 'नबुझ्नेहरू' 'बुझाउने'हरूसँग नाचगान गर्ने नै भए नि एकलव्यजी । माओवादीले नियुक्त गरेका पुजारीहरूलाई पनि पूर्णकालीन सदस्य बनाइदिनुभएछ । हुन त के नै नराम्रो हो र सदस्यता लिनु ! :)

Anonymous said...

पुष्पजी,

वहाँहरूलाई मैले संस्कृत पाठशालको विगतदेखि चिनेको र पछिसम्मका राजनीतिक रुझानका कारण चिनेर नै त्यसो भनेको हो , अन्यथा हैन ।

एकलव्य

पोस्तक said...

माओबादीको सेना र वाईसिएल अर्धसैनिक संरचनाको कारणले अन्य दलहरुले माओबादीहरुलाई बिश्वास गर्न नसकेका हुन्। माओबादी सेना र वाइसिएल बिघटन् गर्ने शर्तमा माधवकुमारले राजीनामा दिदा कस्तो होला त पुष्प जी? आखिर माओबादी लोकतान्त्रिक पद्धतिमा आएको हो भने किन राख्न पर्यो र् निजि सेना? होइन भने सेना सहितको पार्टीलाई कसरि बिश्वास् गर्ने त?

पुष्प said...

अनामजी = एकलव्यजी !?

पोष्तकजी, जनसेना विघटन गर्ने त भनेकै छन् नि । तर विघटन गर्ने भन्दैमा त्यसै छोड्नु त भएन; यसो गर्दाको खतराको बयान गरिरहनुनपर्ला । सेनामा समायोजन र पुनर्स्थापना गर्ने भनि गर्ने भनिएको हो । तर देखिरहनुभएको छ, तथाकतथित सरकारमा बस्नेहरूले यसविषयमा नानाथरि वक्तव्य दिँदै हिँड्छन् ।

अनेकथरि राजनीतिक दलका झण्डा बोक्ने ट्रेड यूनियन, विद्यार्थी यूनियन, कर्मचारी यूनियन, आदि सबै खारेज गरेर एकल यूनियन बनाउनुपर्ने मान्यता राख्छु म । यदि यसो हुने हो भने वाइसीएलमात्र होइन अनेकथरि जत्थाहरूको कहिल्यै जन्म नै हुनेछैन । यसो गर्न सक्लान् त राजनीतिक दलहरूले, कर्मचारीहरूले अनि विद्यार्थीहरूले ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !