October 9, 2009

के माओवादीहरू साँचै नागरिक सर्वोच्चताका पक्षधर हुन ?

संविधानसभाको कार्यकाल सकिन अब केही महिना बाँकि छन् । तर , सभाको उद्देस्य सरकार बनाउने , बिघटन गर्ने र अर्को बनाउने दाउपेचमा अल्झिएको छ र सबैका प्रयासहरू संविधानको दस्तावेजतर्फ नलागेर राजनीतिको सनातनी खिचातानीको दलदलमा नराम्ररी जाकिएको छ । एकले अर्कालाई लगाउने आरोप र संविधान बनाउन चासो नदेखाएको फित्तुर अरूको टाउकोमा पन्छाएर आँफू मात्र पानी माथिको ओभानो बन्ने प्रयासमा , दलका नेताहरू आआफ्ना कार्यकर्ता बीच कुर्लने प्रवृत्तिको अन्त्य देखिएको छैन । राजनीति जोड घटाऊ वा संख्या जुटाऊको परिधिसम्म रहँदा त बहुमत र अल्पमतको लोकतान्त्रिक विशेषताको मर्यादा भित्र नै छन् भनेर भन्ने सकिने स्थति थियो , तर अब त संख्या जुटाउन नसके पनि कालो झण्डा र ढुङ्गामुढा जुटाएर प्रहार गर्दै ‘हाम्लाई सरकारको नेतृत्व दे !’ भन्ने बिजोगमा राजनीति फँसेको छ ।

नेपालको राजनीति चर्को बोलेर अरूलाई आरोप लगाउँदै आँफूले त्यही काम गर्ने रोगबाट आक्रान्त छ । माओवादीहरू ‘नागरिक सर्वोच्चता’ को कोकोहोलो हाल्छन् तर यिनीहरूको राजनीतिमा ‘नागरिक’ का लागि कुनै ‘स्पेस’ छैन । बन्दूक र हिंसाका बलमा राजनीतिलाई आँफूले चाहेको दिशामा बलात् मोड्न चाहने माओवादीहरूले नै साँचो अर्थमा ‘नागरिक सर्वोच्चता’ र स्वतन्त्रताको खिल्ली उडाएका छन् । आफ्नो पार्टीको निजी सेना ब्यारेकमा पालेर अर्को त्यस्तै अर्धमिलिसिया वाइसिएल नामको जमातलाई मुलुकभरि गैरसरकारी पुलिसको काम थमाएर, भिजिलान्तेवादको अभ्यास गरिरहेका माओवादीहरूलाई अरूबाट सहजै लाग्ने आरोप हुनुपर्थ्यो ‘नागरिक सर्वोच्चता’ बिरोधी । तर अपशोस , राष्ट्रपतिले सेना प्रमुख हटाउने माओवादी प्रयासमा गरेको अवरोधलाई जरिया बनाउँदै माओवादी काला झन्डा र ढुङ्गामुढा बोकेर नागरिक सर्वोच्चता खोज्न सदन अवरोध गर्दै सडकमा छाएको छ । आँफूले सरकारी धनमा पार्टीको सेना पालेर तिनैको बलमा बहुमत कमाएको जान्ने माओवादीले, पहिला आँफूले आफ्ना हतियार, छापामार, मिलिसिया र हिंसालाई नत्यागुञ्जेल, नेपाली राजनैतिक शक्तिहरूका बीचमा ऊ मात्र नागरिक सर्वोच्चता बिरूद्धको सबैभन्दा ठूलो षडयन्त्रकारी हो भन्नुमा कुनै अत्युक्ति छैन । आफ्नो पार्टी र उसले अंगालेको समग्र राजनैतिक विचार र अभ्यासको बुनियाद हिंसा र युद्धोन्मादमा संग्रहित गरेर , नागरिक सर्वोच्चता केवल आफ्ना जिरहहरूमा मात्र खोज्नुले माओवादीको नियत के हो भन्ने कुरामा अरू राजनैतिक शक्तिहरूलाई शंकालु बनाउँछ ।

यो सत्य हो कि नेपाली सेनाले गर्न सक्ने सम्भावित ‘कू’ वा सैनिक सर्वोच्चता लाद्ने उसको प्रयासले लोकतान्त्रिक गणतन्त्रको कलिलो बिरूवा निमोठिन सक्छ । नागरिक सर्वोच्चता लोकतन्त्रको आधार भएको हुनाले यसको परिपक्व व्यवस्था जरूरी छ । ई सही र सत्य कुरामा विवाद जरूरी नै छैन । यसो हुँदाहुँदै बुझ्नु पर्ने कुरा के हो भने जसरी मुलुकको सेनाका बारेमा अविश्वास गरेर सम्भावित ‘कू’ को आरोप लगाउन सकिन्छ , त्यसै गरी अन्य राजनैतिक शक्ति वा दलहरूले माओवादीलाई त्यही आरोप लगाउन सक्छन् । माओवादी पनि आफ्नो निजी सेना बोकेको दल भएको हुनाले उनीहरूले राष्ट्रिय सेनालाई आफ्नो अधीनस्थ पार्न सके भने र परिस्थतिलाई आफ्नो अनुकूलतामा मोड्न सके भने , माओवादीको सर्वोच्चतालाई नै नागरिक सर्वोच्चताको खोल ओढाएर एकदलीयता लाद्ने छन्

माओवादीका घोषित गरिएका सार्वजनिक दस्तावेज र नीतिहरूले समेत यो कुरा चिच्याएरै बताइरहेका छन् कि , यदि उनीहरूले भने बमोजिम राजनीति अगाडि बढाउन सकियो भने आफ्नै पार्टीको मातहतमा चल्ने ‘जनवादी गणतन्त्र’ को सर्कसरुपी पद्दतिलाई ‘नागरिक सर्वोच्चताको जामा पहिराउनेछन् । यस्तो पद्दति जसले कम्युनिष्ट पार्टीको मातहतमा काम गर्ने समूहलाई राजनैतिक दलको नाम पहराएर बहुदलियताको प्रतिनिधित्व गराउने ठेकेदारी गर्नेछ , जसले न्यायलयको स्वतन्त्रता र कानूनी शासनको अभ्यासलाई पार्टीको पोलिट ब्यूरो कार्यालयको एउटा कोठामा सिमित गरिदिनेछ , जसले देशको राष्ट्रीय सेनाको वफादारीलाई पार्टीको मातहतमा व्यवस्थित पार्नेछ । यी व्यवस्थाहरू नबुझेर लगाइएका आरोप हैनन् बरू माओवादीले जारी गरेको घोषणापत्र र त्यस पछि पनि जारी गरिएका दस्तावेज भित्र प्रष्टसंग लेखिएका शव्द र हरफहरूको सारांश हो ।

अत: मेरो विनम्र सुझाव माओवादी नेतृत्वलाई यो छ कि उनीहरूले आँफू साँचो अर्थमा मन, वचन र कर्ममा नागरिक सर्वोच्चता पक्षधर हुन भन्ने प्रष्ट्याउन चाहन्छन् भने त्यो कुराको आधार शर्त पुरा गरून् । जस्तो निर्वाचन भएको भए पनि , अहिलेको संविधान सभामा उनीहरू सबैभन्दा ठूलो दल हुन र सरकारको नेतृत्व गर्ने नैतिक अधिकार पनि उनीहरू संग छ तर यसको अर्थ यो पनि हो कि आँफू एक्लैको बहुमत सिद्द नभएको स्थितिमा , बहुमत जुटाएर सिद्ध गर्नु पर्ने काम पनि उसैको हो । उसले कालो झण्डा र ढुङ्गामुढा गरेर अरूले उसका लागि बहुमत जुटाइदेलान सपना देख्नु हुँदैन । यसका लागि सही पहल आँफैले गर्नु पर्छ । अनि सकिन्छ भने नागरिक सर्वोच्चताको व्यवहारिक प्रामाणिकता सिद्ध गर्न कथित जनसेना नामको ‘माओवादी छापामार’ संगको आफ्नो सम्बन्धलाई तोडेर अहिलेसम्मको हिंसात्मक कर्तूत र क्रियकलापको पश्चाताप र आत्मआलोचचना गर्दै जनताको र केवल जनताको मतमा मात्र विश्वास गर्ने पार्टी भएको घोषणा गर्दै अगाडि आउन पर्‍यो । यसो भएमा , माओवादी प्रतिवद्दता र नियतलाई विश्वास गर्दै पनि मेरो मत माओवादी दललाई अवश्य हाल्ने छु र हरूलाई पनि यसो गर्न भन्नेछु । कारण अरू अकर्मण्य दलहरूको कामकारवाहीबाट म पनि निराश भएको छु र , लोकतन्त्रवादी बनेको माओवादीका लागि उसका काम र विचारका आधारमा म मतदान गर्न चाहन्छु ।

किनभने मलाई वैयक्तिक स्वतन्त्रता, बहुदलियता, नागरिक र कानूनको सर्वोच्चता, मानव अधिकार र जनजीविकाको सुनिश्चितता सहितको लोकतन्त्रमा अगाध विश्वास छ । तर यो शव्दाडम्बरले भरिएको कुटिल चालहरूको पासोतन्त्र हुनुहुन्न बरू विचार र व्यवहारमा देखिएको हुनुपर्छ ।



11 Comments:

ठरकि दादा said...

आजकल नेपालमा एउटा राजनैतीक ठट्टा हिट छ रे:

माओबादी = ‍ नागरिक सर्बोच्चता
नेपाली कांग्रेस = लोकतन्त्र
एमाले ‍= जनमुखी सरकार

यी जस्तै अरु सबै शब्द र वाक्याशंहरु पनि शब्दजाल मात्रै हुन।

नेपालियन said...

अहिलेको नागरिक सर्बोच्चता भनेको माओबादी बल मिचाइ हो। नागरिक सर्बोच्ता भनेको नागरिकबाट भोट दिएर भोटको संख्याबाट नियम पूर्बक देश संचालन गर्नुहो। त्यसै अन्तर्गत माओबादीले सत्ता संचालन गरेको थियो अहिले एमाले ले गर्दैछ। अब माओबादीले भन्न पर्यो एमालेले के गयर कानुनी गरेर सत्ता चलाउंदै छ?

अल्पमतको पार्टीले सरकार संचालन गर्न पाउनुपर्छ भन्दै नागरीक सर्बोच्चता को कुरा गर्नि १००% हास्यादपद हो।

बार्हखरी नजान्ने वाइसिएल भन्दा अरु पक्कै अज्ञानी कोही छैनन।

Nepal! said...

हुन ।
ठोक्नु, पड्काउनु, भत्काउनु पनि राष्ट्र बनाउने तरिकाको फ्युजन हो र यो गर्न पाउने छुट नागरिक सर्वोच्चता हो । यस्तो सर्वोच्चता नेपाल र अफ्रिकाका केहि दरिद्र मुलुक लगायतका विश्वका खराब टेनमा पर्ने देशहरुमा हुन्छ । यो अल्पज्ञानीले सुने अनुसार अब केहि महिना पछि केहि हुनेछ, त्यसको पृष्ठभुमीका लागि यी सवै ताण्डवहरु जरुरी छन । त्यो "केही" के हो भन्ने कुरा देखे पछि थाहा पाइन्छ।

BIPLAB said...

के माओवादीहरू साँचै नागरिक सर्वोच्चताका पक्षधर हुन ?
BARKING DOG SELDOM BITES!

Anonymous said...

नागरिक सर्वोच्चतालाई हेर्ने र बुझ्ने नजर फरक फरक छन। खेदो खन्न मन लागे उल्टो प्रब्रित्तीले हेर्न सकिन्छ र नियालेर बुझ्नेले सुल्टो नै देखेको हुन्छ। बिहानीको शीतका थोपालाई कोही शीत मात्रै भनेर बुझ्छन त कोही प्रकृतिले दिएको अनुपम उपहार भनी बुझ्दछन।

पुष्प said...

नेपालियनजी जस्ताले पनि भर्खरै बाह्रखरी पढ्नेहरूले जस्तो कुरा गरेको पढ्नुपर्यो ।

नेपालियन said...

पुष्प जी तपाइले ठ्याक्के के भनेको त बुझीन तर माओबादीले नागरीक सर्बोच्चता भनेर गर्न खोजेको कुरा उही समस्या खडा गर्ने मात्र हो। अहिलेको सरकार चुनाब जितेका पार्टीबाटै बनेको हुंदा र नियम पूर्बक नबने अदालतमा जान सकिएको ले माओबादी ढुंगा मुडाको नागरिक सर्बोच्ता बखेडा निकाल्ने भांडो मात्र होला।

वाइसिएको कुरा गर्ने हो भने यसमा अधिकांस पढ्दै गर्दै छोडेका या अनपढहरुको बगाल भएको ले बार्हेखरी नजान्ने भनेको हुं। पढेकै भए पनि यिनीहरुको कार्य देख्दा मलाइ गोठाले बुद्दी भन्दा अरु केही जस्तो लाग्दैन।

पुष्प said...

नेपालियनजी,

कानुनी राज्य कसलाई मनपर्दैन । कानुनी राज्य स्थापित गर्नकै लागि त जनता जाग्ने गरेका छन् । तर नेपालमा कानुन भनेको राजारजौटाहरूको रखौटी भए । जनताले राजाहरूलाई पाखा लगाए, नागरिक प्रतिनिधिका नाउँमा नयाँ राजाको जन्म भयो; जसले कानुनलाई 'धोती' लगाइदिए । तपाईंले अझै पनि यस्ता मुद्दा अदालतबाट छिनोफानो हुनसक्छ भन्नुहुन्छ भने तपाई‍को हैसियत गोठालो बन्ने पनि छैन भन्दा फरक नपर्ला ।

Anonymous said...

नेपालीयन जी र पुष्पजीलाई सानो अनुरोध है मान्नु नमान्नु तपाईंहरु नै जानाकार हुनुहुन्छ। ब्यक्तिबिशेका नीच गाली र पगरी गुठाउनु भन्दा स्वच्छ बादबिबाद र अन्तर्कृया गर्दा सौहद्रता बढ्ने थियो। आखिर राजनैतीकरुपमा बिचार र सिद्धान्त फरक हुँदा सबैले आफ्नो पक्षमा नै वकालत गर्न चाहन्छ। तपाईं हामी बिचारले फरक फरक हुनसक्छौ तर हामी नेपाली हौ नि भन्ने कुरा बुझौ र गाली होइन बैचारिकरुपले आफ्नो स्वच्छ तर्क राख्दा नेपालीको कद होचो होइन अग्लो नै हुन्छ भन्ने कुरा नभुलौ न।

पुष्प said...

अनामजी,

यो गालीगलौज वा व्यक्तिगत खिचातानीका होइन । वैचारिक मन्थनका साथै वैचारिक झापड पनि हान्नुपर्छ । अन्यथा लिनुभएन ।

Luna said...

अन्नो म्युस जि !
यस्तो गहन कमेन्ट मा त मैले ता क्यै पनि गाली देखिन त !
न त त र म म कुरा छ न छि छि र दुर दुर को कुरा छ !
यथार्त कुरा मा छलफल हुँदा तपाईं लाई कसोरी नपचेको हो !!!
मुलुकको राजनीतिक हाजमुला पाचक खानुस् पच्छ । हाम्रो गिरिजा बा सँग थुप्रै छ यस्तो पाचक - - - उन्लाई लाजै लाग्दैन र बेला बेलामा - - - र पो यस्तो बर्बाद भा'को मुलुक मा !
दुर्गान्धै आउने गरी - - -
गिर्जा बा सँग बेस्मरी हाजमूला पाचक छ माग्नुस् र प:चाउनुस् अब नेपाली राजनीति का शब्दहरु - - -

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !