September 11, 2009

हैन हौ, शपथ किन खान पर्छ ?

कुरा ढिलो बुझ्ने र तीन पल्ट हाँस्ने उपबुज्रुगको कोटीमा मेरो नाम दरे हुन्छ । डेढ दुई महिनादेखि नेपाली समाचार हेरेको छु, जता पनि परमानन्द र हिन्दी शपथको मात्र चर्चा छ । त्यो पनि एक वर्ष अघि खा’को शपथको कुरा अहिले किन गर्दैछन् , मरिजाऊँ बुझ्याभए । अब ऊ बेला शपथ हो कि के जाती हो खाने बेलामा , मन्त्री -उन्त्रीलाई टि भि’आँ देखेकै हो ।

कसैले धोती कुर्ता, कसैले आईमाई भएर नि जिनका पाइण्टाँ , कसैले खरानी रंगका पाइन्ट कमेजमा रातो टाइ र टोपी लगार, कोहीले पाण्डा , डिंगो अनि गोल्डस्टार जुता लाएर शपथ खा’थे । भाषा पनि अनेक थरिका थे , यिनले शपथ खाए कि कुपथ खाए खासै कसैले मतलब राखेको देखिएन । अब मन्त्री बन्ने , फिर्ता हुने र नया आउने कुरा हुन कुनै आइतबार कुर्न नपर्ने मुलुकाँ , के कपडा लाएर के भाषामा के जाति कुरा कतिले खाए भन्ने कुराको हिसाब किताब औँला भाँचेर राख्न पर्ने दरकार पो हाम्लाई किन परेको छ र ? त्यसैले राखिएन ।

पहिला पहिलाको जमानामा मन्त्री, रापंस , सांसद बन्ने हरूले दौरा शुरवाल लाएर अगडि उभिएको एक जनाले पढेको कुरा अरू पनि त्यस्तै पहिरन लगा’काले समूहमै दोहोराउँथे र पढ्थे । किन होला यति ठूला जस्ता देखिने मान्छेलाई पनि केटाकेटीलाई पढाए झैँ , दोहोराउन लगाएको भनेर सोचिन्थ्यो । त्यहाँ कहिले काहीँ राजा पनि हुन्थे । पछि कुरा बुझियो यही कामलाई शपथ खाने बनेर भनिँदो रहेछ । हामी चानचुने मान्छेले ‘विद्यानास, गाईखाने, म मरि जाउँ, जनैको धर्म , म प्वाक्क हुन परोस्, भने जस्तै ठूला मान्छेले राम्रो तरिकाले किरिया खाएको कुरालाई नै राजनीतिमा शपथ खाने भनेर भनिँदो रहेछ । यति त बुझेकै हो अल्लि पछि बुद्दि छिप्पिन थालेसि । चानचुने मान्छेले कसम वा किरिया खा’को छ भने उसले झूटो भनेको, गरेको वा भन्ने गर्ने छैन कि भनेर भरोसा गर्न सकिने अलिकति ठाउँ रहन्छ । तर पनि , पच्पच्ति किरिया खाएर , मान्छेको विश्वासलाई पनि गाजर मूला खाएझैँ कर्‍याम कुरूम पार्ने नभएका पनि हैनन् ।

तर यी पहिला न्यायधीश पनि भएर नेपाली भाषाँ अदालतका निर्णयका ठेलीका ठली लेख्ने तिरहूते बाहुन परमानन्द झालाई देशको उपराष्ट्रपति भएसि के रोग लागेछ बिचरा नेपाली खर्लप्पै भुलेछन् । नेपाली भुलेपछि नेपालीसंग लिपी उपी मिल्ने दाइ भाषा हिन्दीमा शपथ खाएछन् । यो कुरा अदालतले एक वर्ष पुग्दा, नपुग्दा थाहा पाएर भन्दिएछ ‘ हैन, नेपालको उप हुने हो भने , नेपालीमा नै शपथ खान पर्छ ‘ । यही कुरोमा हलो अड्केर मुलुक ठप्पै भैसक्दा पनि मेरो मगजमा कुरा घुसेन । मलाई भने यो शपथ खाने नियम हटाइदिएर टण्टै खलाँस पार्दा हुन्न र भन्ने लागेको छ ।

शपथ जुन भाषाँ खाए नि , शपथले बाँधेर राख्ने कुरो पनि हैन । शपथ खा’काले इमान्दार र नैतिकवान भएर कुरा वा काम गर्छन् भन्ने पनि कहिँ देखिएको वा लेखिएको छैन । गतिला शपथ खाएकाले नै देश लुटेर, ध्वंश पारेर यो हालत बना’र हाम्रो कन्तबिजोग भएकै छ । शपथ खाएर , शपथलाई अगस्ति मुनिले झैँ पचाएर, देश नै खान मिलेकै छ भने शपथ को इज्जत बचाउन पनि अब शपथ खान नपर्ने बनाउने बेला भएन र ?

मलाई शपथ खाँदामा यो राम्रो कुरो हुन्छ है भनेर कसैले बता’को पनि छैन । शपथ काण्डले देशलाई नै कुपथमा पारेको हो कि जस्तो मेरो मोटो बुद्दिले ठानिरा’छ । त्यसैले मेरो कुरो कसैले सुन्छ र मान्छ भने मेरो फिराद यही छ कि ‘ मिल्छ भने यो शपथ कुपथ केही खान नपर्ने बनाऊँ , हुँदैन र खाने नै हो भनेर जिद्दी गर्ने हो भने जसलाई जे मन पर्छ त्यै त्यै तरिकाले, रूचि अनुसार खान मिल्ने पारौँ’ । नया नेपालमा खाने कुरा र पकवानमा पनि कसैलाई ‘यही खान पर्छ र खा’ भन्न पाइन्छ र ? त्यसैले शपथ खान र ख्वाउन कर नलगाऊँ , खानै पर्नेले रूचि अनुसार अझ मिल्छ भने घर घराँ गएर खाऊँ । यसो गर्दा गणतान्त्रिक लोकतन्न्त्रको कायाकल्प हुन्छ ! हैन र ?



3 Comments:

ठरकि दादा said...

आहा ! मजा आयो ल यो सपथ खाने र खुवाउने कुरा पढ्दा ।

मेरो बिचारमा चाही हाम्रा नेताहरूले भने "सपथ न खा !" भनेनि खान्छन होला । किनकि खाएपछि पच्छ । अनि पचेपछि जे गरेपनि हुन्छ । खाँदै खाएन भने त सायद पचाउन पनि सकिन्न होला नि! , अनि त खाने नै भए (तैपनि फ्रि मा पाएको बेलामा "खाने कुरा" छाडने नेता हामीकहाँ कति जना होलान र ?)

पीजी said...

मैले त मन्त्रिहरुको विषय पनि थपे है ।
हैन अब त चौधरीहरु पनि नेपाली नबुझेर हिन्दी मात्रै बुझ्ने हुन थालेछन । चौधरीहरु त हिन्दी भन्दा नेपाली राम्रो बोल्थे जस्तो लाग्छ ।

मलाई त हिन्दीमा सपथ खांदा मन्त्री भएर वर्षदिन भरिमा कमाएको भन्दा ५ मिनेटको सपथ खुवाइमा बढी कमाइ हुन्छ जस्तो लाग्न थाल्यो है । अनि मन्त्रीको जागिर त २ महिनाको हो कि तीन महिनाको हो के थाहा । ल हेर जनता तिम्रा प्रतिनीधि ! "राम्रा मान्छे" चुनेकोमा "जनतालाई" र "जनताका प्रतिनीधिलाई" बधाइ छ !

उत्तर भारतका सांस्कृतिक प्रतिनीधि हुन कि देशका उपराष्ट्रपति र मन्त्री हुन छुट्याउन गार्हो ।

यीनका सपथ त उहि माथि लेखमा भनेझैं केटाकेटी हुंदा खाने कसम जस्तै हुन थाल्यो ।
"महंगो दामको सस्तो सपथ"

HAWA said...

अरे क्या बात करते है भाई साब आप लोग भि... छेउ न टुप्पो का

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !