September 15, 2009

अथ: द्रूतरथ ऊर्ध्व उदरासन

क्रान्तिकारी तरिकाले गाडी यसरी चढ्न सकिन्छ ! परम्परामा क्रमभंगताको अनुपम नमूना !


नयाँ नेपालको नारा धेरै सुने पनि यथार्थमा नयाँ नेपालमा के कुरा नयाँ हुनेछ त भन्ने बारेमा यथेष्ट जानकारी प्राप्त नभैरहेको बेला, नयाँ नेपालको एउटा दृश्यकथा देखापरेको छ हिजो बिराटनगरमा । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा मुख्य अतिथि बन्न पाल्नुभएका प्रधानमन्त्री माधव नेपालको विराटनगर आगमनलाई, माओवादी कार्यकर्ताहरूले देशव्यापी रूपमा गर्ने गरेको पाषाणवृष्टिपूर्ण स्वागत गरिसकेपछि, आफ्नो बाहुबली सामर्थ्यको प्रमाण समेत देखाउन यो गाडीहरूको उर्ध्व उदरासनमय अनौठो नजारा देखाएका रहेछन् ।

भौतिक सम्पत्तिको बिनाश र आगजनी , रेलिङ भाँच्ने, गाडीका टायर बाल्ने र गाडी र सार्वजनिक सम्पत्ति जलाउने वा धूवाँमय बनाएर वातावरणलाई प्रदूषित पार्ने परम्परागत र पुरातनपन्थी आन्दोलनका कार्यहरूबाट देश उँभो नलाग्ने भन्ने निष्कर्ष हालैको पोलिट ब्यूरो बैठकले निकालेर हो कि वा आन्दोलनलाई २ ३ फड्को माथि उठाउन अनि विश्वव्यापी बन्दै गएको ‘ग्रीन रिभोल्यूसन’ लाई समेत अपनाउने उद्देश्यबाट प्रभावित भइर हो, यो नया शैलिको आन्दोलन रचिएको हो कि जस्तो देखिन्छ । जे होस् , यो पराक्रम पहिला देखिएका भन्दा बिल्कुलै फरक भने छ । गाडी नजलेर, मरेका भ्यागूता सदृस ऊर्ध्वमार्गी पेट ठडाएर पल्टिएका छन् , मानौँ ई स्वामि रामदेवको कुनै योग आसनमा लीन छन् !

यसो त माओवादीहरूको गाडी-प्रेमका बारेमा पनि चर्चा धेरै नै भइसकेको छ । आफ्नो आन्दोलनको बीचमा टाँग अड्याउन आउने गाडीहरूलाई माओवादीले बडो स्नेहपूर्वक उत्तानो फर्काउन मेहनत गरेको देख्दा लाग्छ , गाडीहरूसंग यिनको प्रगाढ साइनो छ । आन्दोलनको यो तरिका हे्र्दा, गाडीहरूप्रति वादीहरूले अख्तियार गर्ने गरेको नरम नीति पनि उजागर भएको देखिएको छ कि जस्तो भान हुन्छ !

हिंसात्मक युद्धताका विभिन्न व्यक्ति र संस्थाहरूबाट बलजफ्ती वा स्वेच्छिक चन्दाको अनौठो आन्दोलन मार्फत जफतमा परेका सयौँ गाडीहरू अहिले पर्यन्त माओवादी पार्टीका नेताहरूका निजी वाहन बनेकै छन् । आफ्नै मार्कर पेनले लेखेका नम्बर प्लेट टाँसेर, आफ्नै पार्टीका वा छापामार नेताहरूका लेप्चे छाप लगाइएका स्व -प्रमाणित लाइसेन्सहरू बोकेर मुलुकका सबै बाटाघाटामा छ्यास्छ्यास्ती गुड्ने साइकल र गोरूगाडादेखि पजेरो र प्राडोसम्म सर्वाधिकार सम्पन्न रहेका माओवादीहरूले गाडीको महत्ता बुझेका छन् भन्ने बुझ्न गाह्रो छैन । यसैले जस्तो क्रान्तिकारी आन्दोलन गरे पनि गाडी जलाउन नहुने बरू उत्तानो पल्टाएर गाडीवालाको हूर्मतसम्म लिन सकिने नरम नीति माओवादीले अख्तियार गरेको पो हो कि ! ख्याल गर्नूस् है कामरेडहरू , चोरेर र लुटेर गाडी चढेकोमा आफ्नो मर्यादा नराखि दिएको भनेर पहिले नै रिसाएका गाडीहरूले फेरि यसरी आफ्ना सजातीयहरूको अपमान गरिएकोमा क्रोधित बन्दै ,तपाईँका नेताहरूलाई पनि यसरी नै गुल्ट्याउन मद्दत गर्लान नि !


14 Comments:

sanu jange said...

ha ha ha !!!!!!!!!

sarai ghat paryo ho saathi, kati mitho byange garnu bhayacha tara bujhne le bujhne hainan kyare....

bhanchan ni goru ko ke ho jati ma bansuri bajaya pani artha na bartha

पीजी said...

आन्दोलन गर्ने तरिकामा अग्रगामी छलाङ हो कि गाडी उल्टो पनि गुड्छ कि भनेर अनुसन्धान गर्न लागेका हुन ।

ठरकि दादा said...

म सानै भएको बेलामा हाम्रो घरतिर एकजना चटकी आएको थियो । उ केही चटक देखाउनु अगाडि मन्त्र पढेजस्तो गरेर यस्तै केही भन्थ्यो :
उल्टा खोपडि, उल्टा ज्ञान
मा भुतनी, बाप सैतान
बच्चा खच्चा सब बेईमान
...........,...........


यो माथीको कुरा पढेपछि र फोटो हेरेपछि किन किन मलाई त्यो लाईनहरु याद आईरहेको छ ।

सायद यो उर्ध्व उदरासन उनिहरुले हेर्दा भने 'चतुचक्रयान सुखासन' वा 'उचितासन' देख्‍छन होला के गर्ने !

पुष्प said...

लोकतन्त्रको सुन्दरता भनेको खुलारूपमा विरोध गर्न पाउनु हो । विद्रोह र हिंसा अलग-अलग विषय हुन् । जाबो कालोझण्डाबाट तर्सेर अश्रुग्याससमेत बर्साउन पछि नपर्नेहरूका लागि योभन्दा गतिलो जवाफ अरु के हुनसक्छ ?

aashica said...

old rule of

Rajan said...

गज्जबको सुन्दर लोकतन्त्रको परिपाटी बस्ने भएछ हाम्रोमा । कालोमोसो र ढुंगामुडा गर्ने छुट हुनु पर्ने । जसले जसलाई पनि कुटपिट गर्न पाउनु पर्ने । भिडलाई हटाउन अश्रुग्यास चलाउन नपाउने र चलाएमा गाडि उत्तानो पार्न पाउने ।

अश्रुग्यास त बेला बेलामा विदेशतिर पनि चलाईन्छ, तर खै जान्दैनन रहेछन विदेशीहरु यो सुन्दरताको अनुसरण गर्न । वा हालसम्म नेपालमा बाहेक अन्त कतै लोकतन्त्र नै नभएको हो कि? ।

म त सोच्दैछु । यो विरोधको सुन्दरता, अनि अराजक भिडको ढुगांमुढाको सुन्दरता अनि उताबाट अश्रुग्यासको सुन्दरता पछि लाठीचार्च र हवाई फायरको सुन्दर जबाफ आएको भए लोकतन्त्रका पक्षधरहरुले पनि यताबाट खुकुरी र पुराना हतियार नचाएर झनै कस्तो सुन्दरताको कस्तो गतिलो जबाफी नमूना नै पेस गर्ने थिए होलान !

विरोध सबैले गर्न पाउनु पर्छ तर रिस उठ्यो भन्दैमा गरिव राष्ट्रको बचे खुचेको थोरै सम्पति यसरी तोडफोड गर्ने कसैलाई अधिकार छैन । वाणी र बिचार दुबै लिएर आएको मान्छेले विरोधको धेरै तरिका भेटनु पर्ने हो यो गोरुको जस्तो बल र रिस देखाउनु अगाडि ।

पीजी said...

कालो झण्डा, विरोध प्रदर्शन र गाडी उत्तानो पारेर लडाउनुमा फरक हुदैन र ?

कालो झण्डा प्रदर्शन गर्नुलाई जायज मान्छु म , त्यो पनि निषेधित गरिएको ठाउं हैन भने । नेपाललाई स्विट्जरल्याण्ड बनाउछु भन्नेले स्विट्जरल्याण्डमा पनि अनुमति नलिई विरोध प्रदर्शन गर्न पाइदैन अनि निषेधित ठाउंमा कर्तुत देखाउनेहरुले जीवनभर त्यसको मोल चुकाउनु पर्छ भन्ने थाहा नपाएको वा नबुझेको हो कि ?

पीजी said...

चित्त बुझ्दो कुरा राख्नु भो राजन जी ।

पुष्प said...

कालो झण्डा देखाउँदैमा तर्सिनुपर्ने के छ र ? सरकारमा बस्नेहरू उग्र भएपछि जनता उग्र हुँदैनन् ? यो त ठ्याक्कै राततन्त्रको चाला भइहाल्यो नि ।

Prajwol said...

कालो झण्डा भन्दैमा भुत नै आयो जस्तो गरी डराउने कुरो मलाई अलि हास्यास्पद नै लाग्यो । तर झण्दा देखाउन पाएन भनेर जनताको सम्पत्ती उल्टांउदै हिड्ने भने झन हास्यास्पद लाग्यो ।

Anonymous said...

This proves Maoist are still terroist and they keep on terroizing people.
If this not a terror activity,prove that I am wrong.

नेपालियन said...

बिरोध प्रदर्शन गर्ने एकदम असभ्य तरिका हो यो । यस्तो पागल प्रदर्शन पनि कहिं हुन्छ? ०४६ सालमा प्रजान्त्र आउंदा यस्तै जे पाही त्यही गरे। एक जना गोरेले प्वाक्क बोले यो नि कांही डेमोक्रेसी हो यो त डेमोक्रेजी हो। अब लोकतन्त्र आएको छ, पक्के पनि यो झोकतन्त्र हो। जे झोक चल्छ त्यही गर्ने। नियम कानुन काले कुकुरको आचीगर्ने तिर।

पुष्प said...

कालो झण्डा देखाउँदैमा संसारबाटै लुप्त हुनलागेको अश्रु ग्याँस छाड्नेहरू असभ्य र मानवताविरोधी हुन् कि त्यसका विरुद्ध जनताको आक्रोश ।

अमेरिकाका पूर्वराष्ट्रपति बुशलाई जुत्ता हान्दा ३ वर्षको जेल सजायँ पाए । तर इराकी जनताले उनलाई साथ दिए र उनका पक्षमा नारावाजीसमेत गरे । आखिरमा १ वर्षमै उनलाई रिहा गर्नैपर्यो । बुशजस्तो इतिहासकै हिंसक राष्ट्रपतिलाई जुत्ता हान्ने उनी किन रिहा भए? एकजना साउदी धनाढ्यले त त्यो जुत्ता १० मिलियन डलरमा किन्ने प्रस्तावसमेत राखेका थिए; आखिर किन त ? एकचोटी विचार गरौं त !

दिनेश राज said...

उहाँहरुले गरेपछि जे पनि सहि हुन्छ , ढुङ्गा हान्ने र गाडी उल्ट्याउने हाम्रो निर्देशन होइन भनेर माथिका पन्छि हाल्छन् । कालो झण्डामा ढुङ्गा पोको पारेर देखाए पछि प्रहरी पनि के गरोस् बिचरा ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !