August 19, 2009

सन्दर्भ : कुशे औँसी, बाबुको मुख हेर्ने दिन र मोती जयन्ति

 

भोलि अर्थात अमावश्या तिथि भदौ ४ गते २०६६ साल ( २० अगस्त २००९ साल) , नेपाली परम्परा अनुसार तीन वटा सन्दर्भहरूको महत्वपूर्ण दिन हो ।

नेपाली हिन्दू परम्परा अनुसार यो दिन कुशे औँसी हो । हिन्दू पूजापाठ र पवित्रता विधिमा कुशको ठूलो महत्व छ । कुश घाँसको एउटा प्रकार भएपनि, हिन्दू मान्यतामा यसलाई वर्षको एकपटक यही दिनको सन्दर्भ पारेर मात्र काट्न वा वितरण गर्न सकिन्छ। पुरेत्याईँ पेशाका ब्राम्हणहरूले,आ-आफ्ना यजमानहरू कहाँ गएर यो दिन बिहानै कुश लगेर छोडिदिने चलन छ । यही सुकेको अवस्थामा रहेको कुशलाई वर्षभरि हुने पूजापाठ र अन्य शुभकार्यमा प्रयोग गर्नु पर्ने भएकाले,यो दिनमा यसको संग्रह गरेर घरघरमा राख्ने हिन्दू परम्परा रहेको छ । यो दिन कुश संकलन नभएका घरमा भने पूजापाठ पर्दा ब्राम्हण स्वयंले आफ्नो घरबाट यजमानकहाँ पुर्‍याइदिने पनि गर्दछन् । अनि, कुशे औँसीलाई नेपाली गाउँघर र शहरमा पनि विशेषत: तीज पर्वको वास्तविक शुरूवात भएको रूपमा लिइने गर्छ । तीजको दरखाने दिन र भोलिपल्टको तीज व्रत पर्वका लागि चेलीबेटीहरूलाई उनीहरूका घर घर गएर माईत ल्याउन निम्ताउने चलनमा कुशे औँसीको आगमनले शिघ्रताको आभास थप्छ । यो नेपाली सामाजिक परम्परामा चाडवाडहरूको शुरूवातको संकेत द्योतक पनि हो ।

भोलिको दिनलाई बाबुको मुख हेर्ने दिनको रूपमा पनि नेपालमा मान्ने परम्परा छ । आफ्ना स्वर्गे भैसकेका पितालाई छोराछोरीहरूले , पवित्र तीर्थस्थलहरूमा गएर पितृतर्पण वा श्राद्ध गरी पितृभक्तिको श्रद्धा दर्शाउने गर्छन् , भोलिको दिनमा । जीवित पिताहरूलाई नया वस्त्र , फूलमाला, नगद वा गहना अर्पण गरी पूजा गरी आशीर्वाद लिने कार्यहरू गर्दै यो दिनको सन्दर्भलाई महत्वसाथ लिइएको पनि पाइन्छ । आफ्नो जन्म, पालनपोषण र सफलतामा योगदान गर्ने माता पिताको महान कार्यप्रति कृतज्ञता अर्पण गर्न कम्तिमा पनि वर्षमा छुट्टाछुट्टै एक एक दिन श्रद्धाभक्तिले गरिने यस्ता कार्यहरूले हाम्रो महान परम्पराप्रति हामीलाई गौरवशाली बन्न सम्झाउँछन् ।

नेपाली भाषा साहित्य कला र राष्ट्रियताको मोहमा हुरुक्क हुनेहरूका लागि भोलिको दिन नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको जन्मजयन्ति पनि हो ।वि. सं १९२३ भदौ औँसीको दिनमा काठमाण्डौको भोसीको टोलमा जन्मेर ३० वर्षकै कलिलो उमेर वि सं १९५३ को उही भदौको कुशे औँसीका दिन स्वर्गीय हुने मोतीराम भट्ट नेपाली साहित्य आकाशका एउटा जाज्वल्यमान उज्जवल नक्षत्र हुन् ।श्रृंगारिक रसका कविता, समस्या पूर्ति र गजलहरूको लेखनमा आजपर्यन्त नेपालीमा मोतीरामलाई उछिन्ने हैसियत कसैको बनेको छैन। उनको जीवनको अर्को महत्वपूर्ण योगदान थियो: बिर्सिएका आदिकवि भानुभक्तलाई नेपालीहरूको समक्ष ल्याएर चिनाउनु र उनलाई आदिकविको स्थानमा पुर्‍याउनु । भनिन्छ , मोतीराम भट्टले भानुभक्तलाई प्रचारमा ल्याउन र उनको नेपाली साहित्यप्रतिको योगदानको खोजी नगरिदिएको भए,आज भानुभक्तलाई सायदै कसैले स्मरण गरिरहेको हुन्थ्यो। आफ्नो तीस वर्षे जीवनमा पनि क्मलपना न गर्न नसकिने संख्यामा उच्च कोटिका कृतिहरू: मनोद्वेग प्रवाह, पञ्चक प्रपञ्च र तीजको कथा, पिकदूत, गजेन्द्र मोक्ष, गफास्टक, उषचरित्र, भ्रमरगीत, कमलभ्रमर र अनेकौँ फूटकर कविता, गीत र गजलहरू जस्ता साहित्यिक कृति दिएर जाने कवि मोतीराम भट्टको योगदान नेपाली साहित्य संसारमा अतुलनीय छ। नेपाली साहित्यको गजल विधाका उनी पिता नै मानिन्छन्।  कवि मोतीराम भट्टलाई अंग्रेजी साहित्यका यस्तै कलिलो उमेरमा स्वर्गे भएका पुरोधा कवि स्रष्टाहरू: जोन किट्स र पिबी शेलीको उच्च स्थानमा राखेर बुझकी साहित्यानुरागी नेपाली आस्वादकहरूले लिने गरेको पाइन्छ । यस्ता महान नेपाली कविप्रति यो अवसरमा हार्दिक भावपूर्ण श्रद्दाञ्जली !!!



7 Comments:

बेदनाथ पुलामी ( उमेश ) said...

एकलव्य जी बाबुको मुख हेर्ने दिन र मोती राम जयन्ति को उपलक्ष्य मा - यो पोस्ट तास्नु भएको मा धन्यवाद !

B.J. Dummali said...

समय सापेक्ष्य टाँसो र केहि महत्वपुर्ण जानकारीको लागी एकलब्य जीमा धन्यबाद।

दीपक जडित said...

मेरो पनि युवाकवि मोतीराम भट्ट प्रति हार्दिक भावपूर्ण श्रद्दाञ्जली !!

ठरकि दादा said...

सानो लेखमा पनि आजको दिनको सबैपक्षलाई स्पष्टसंग खोल्नु भएको छ ।
धेरै धेरै धन्यवाद ।

Zero Hour (शुन्य समय) said...

बाबुको, आमाको मुख हेर्ने भन्ने कुरा नेपालमा मात्र नभएर युरोप अमेरिकातिर पनि हुदोरहेछ । भिन्न धर्म र भौगोलिक दुरीमा पनि आफ्नै तरिकाले मनाइने यस्ता दिनहरुको उत्पतिमा पक्कै पनि केहि समान कारक वा "रुट" (जड) पनि समान होला या के होला !

तर आंफु हुर्केको ठाउंमा यस्तो परंपरा कहिल्यै (बाबुआमा दिवंगत हुनेहरुले गरेको कार्य बाहेक) नदेखेको कारण युवा अवस्थासम्म यस विषयमा थाहा थिएन । तर अंग्रेजी परंपराले पनि नेपाली संस्कार सिकाइदियो, यस अर्थमा परंपराको जालोहरु पनि एक अर्काका पुरक हुदारैछन ।

नेपालियन said...

समय सापक्ष समाग्री पस्कनु भएको मा एकलव्य जीलाइ धेरै धेरै धन्यबाद।

बाबु आमाको मुख हेर्न जांहा पनि हुन्छ। गजब राम्रो चलन हो यो। पक्कै पनि फ्नो जन्म, पालनपोषण र सफलतामा योगदान गर्ने माता पिताको महान कार्यप्रति कृतज्ञता अर्पण गर्न कम्तिमा पनि वर्षमा छुट्टाछुट्टै एक एक दिन श्रद्धाभक्तिले गरिने यस्ता कार्यहरूले हाम्रो महान परम्पराप्रति हामीलाई गौरवशाली बन्न सम्झाउँछन् ।

मोतीरामले छोटो समयमा निकै धेरै कुरा गरे। मोतीराम जयन्ती को अबसर पारेर कसैले मोतीरामको एउटा कबिता,गजल कुनै टांसे निकै राम्रो हुनेथियो। केही उपाय होला ?

पोस्तक श्रेष्ठ said...

यो परदेशमा पनि नेपाली पर्वहरुको स्मृति गराईदिनु भएकोमा धन्यवाद।यस्ता अवसरहरुमा देश याद आउँदो रहेछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !