August 25, 2009

बन्धुहरु लाज लाग्यो !

आज नागरिक न्युजमा छापिएको एउटा बिचित्रको समाचार देखेर अचम्म लाग्यो । अचम्म यस अर्थमा कि नेपाललाई “समृध्द” बनाउन एअरपोर्टमा १-२ सय ट्रली र देवघाटमा वृध्दाश्रम बनाएर नेपाललाई सहयोग गर्ने नेपालबाट बिदेशिएका Non Returning Nepali (एन आर एन) हरुले आफ्नो सम्मेलन गर्न नेपाल सरकारसंग चन्दा मागेको भनेर समाचार लेखिएको थियो र त्यति मात्र हैन त्यस संस्थाले त्यस्तै सम्मेलनको लागि भनेर नेपालीहरुले तिरेको करबाट पहिले पनि रु ४५ लाख सम्मेलनका लागि मात्र लिइसकेको रहेछ ।

समाचारको अंश:
“अर्बौ लगानी भित्राउँछौँ भनेर दोहोरो नागरिकतालगायत सुविधा खोज्दै आएका गैरआवासीय नेपालीको संगठन (एनआरएन) आफ्नो महाधिवेशन गर्नसमेत नेपाल सरकारसँग आर्थिक रूपमा निर्भर रहने गरेको छ। आगामी असोज २७ देखि २९ सम्म काठमाडौंमा हुने चौथो अन्र्तराष्ट्रिय महाधिवेशनका लागि एनआरएनले सरकारसँग २५ लाख रूपैयाँ उपलब्ध गराउन माग गरेको छ। यसअघि २००३, २००५ र २००७ मा तीनैवटा अन्तर्राष्ट्रिय सम्मेलन र महाधिवेशन गर्दा सरकारसँग क्रमशः १०, १५ र २० लाख रूपैयाँ लिएको थियो। एनआरएनले प्रत्येक दुई-दुई वर्षमा गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ।“

आफ्नो भलाईको लागि विदेशिने अनि उतैको नागरिकता लिने र कुनै पहिचान नभएपछि इज्जतको भोक मेटाउन नेपाल र नेपालीकै भर्याङ रोज्ने अनि पैसाको लागि पनि विश्वकै एउटा दरिद्र मुलुकको भर पर्नु पर्ने ? नेपालीमूलका नेपालीलाई नेपालको माया छ भने जहिले पनि जहां पनि जसरी पनि आफ्नो देशको लागि सहयोग गर्न सक्छन । टाइ र कोट लगाएर „आप्रवासीहरुको“ भेला गर्दैमा देशको काचुली फेरिने भए नेपाल मात्र हैन अमेरिका, बेलायत र जापानीहरुले पनि गैर आवासियहरुको संस्था खोल्थे होलान ।

धेरैलाई चेतना भएकै कुरो हो एन आर एन चलाउने एउटा बलियो हिस्सा नेपालको खुकुलो कानुन र देशका स्रोतहरुमाथि आफ्नो पकड जमाउन चाहन्छ । त्यसरी नेपाल बन्दैन “आप्रवासी बन्धुहरु” ! बरु सक्नुहुन्छ भने आ-आफ्नो स्तरबाट सा सानो सहयोग आफ्नो गाउं ठाउंलाई दिए हुन्छ । देशमा शान्ति र स्थायित्व हुन्छ भने “कोडाक” मात्रै हैन „बिलगेट्स“ पनि लगानी गर्न नेपाल आउन सक्छन । नत्र नोक्सानको लागि एन आर एनका नाइकेहरु पनि नेपालमा लगानी गर्न जादैनन । विदेशमा समेत यस्ता कार्यक्रमहरुलाई सरकारले पैसा दिन्छ भनेर एकजना बुज्रुकले भन्नु भएछ । कहि पनि शुध्द बिचार लिएर समाज सेवा गर्न तम्सेका व्यक्तिहरुले चिया देखि गाडि भाडासम्मको पैसा आंफै ब्यहोर्छन ।

६०० जना सहभागीलाई १ करोड चाहिन्छ रे ! ए बाबा , ३०० रु प्रति व्यक्ति भन्दा सस्तोमा लन्च सहित पांच तारे होटलहरुले हल उपलब्ध गराउंछन भने वर्षौंमा एक पटक नेपाल जानेहरुले ४ दिनको लागि १००० रु खर्च गर्न सक्दैनन ? दशैंको मौका पारेर फ्रिमा देश दर्शन गर्ने र एउटा गरिब देशको सरकारको पैसामा “छुट्टी मनाउने” आप्रवासीहरुको देशप्रतिको माया बुझिनसक्नुको छैन र !

यहि नेर एउटा प्रसंग निकालीहालौं सन २००७ को यस्तै सम्मेलनमा रुसबाट सयौंको संख्यामा नेपालिहरु वा नेपालीमूलकाहरुले निशुल्क नेपाल दर्शन गर्न पाएका थिए , आखिरमा अहिले थाहा भो पैसा राष्ट्रकै ढुकुटीबाट जांदोरैछ ।

धन्य छ बन्धुहरु तपाईहरुको नेपाल प्रेम !

समाचार लिंक :
http://www.nagariknews.com/news-highlights/139-highlights/4321-2009-08-25-02-52-02.html


24 Comments:

प्रबिण थापा said...

के गर्नु दुर्भाग्य नै भन्नुपर्छ नेपाल र नेपालीको, हुनत आफुपनि बिदेशतिरै बसेर प्वाक्क नबोल्नु पर्ने हो तर के गर्ने सार्है निच कार्य गर्न थालेपछि कति चुप लागेर बस्नु यदि यो समचारमा पुर्ण सत्यता छ भने धिक्कार छ ति चोर शोषकहरुलाई जो पर्दा अगाडि एउटा कुरो गर्छ र पर्दा पछाडि यस्ता शोषकि र निच व्यबहार प्रदर्शन गर्छ, यो ठगि खाने र नेपालमा आफ्नो अस्तिव देखाउन केहि गरेका छौ भन्ने भर्म सिर्जना गर्ने अनि स्वार्थले अभिप्रेरित नितान्त व्यक्तिगत कुरामा तछाड मछाड गर्ने सबैलाइ ठिक पार्नु पर्छ बेलैमा।

पुष्प said...

अति लज्जाष्पद, दुर्भाग्यपूर्ण समाचार ! कस्तो लाज नभएका नकचराहरू ! चाहिन्न हो हामीलाई तिमीहरूको लगानी-सगानी ! उतै गुलामी गरेर बस !

हिमाल्_पारी said...

हुन त आफु पनि नेपाल बाहिर नै बसिएको छ । तर NRN भनौदा हरु को तरिका देखेर आफु लाई NRN हु भन्न पनि लाज लाग्यो । हुन त आफु लाइ अहिले सम्म NRN भनौने रहर पनि लागेको छैन । मैले एसो हिसाब गरेको, ६०० जना सहभागी बाट US $ 55 को दर ले पैसा उठाउँने हो भने पनि नेपाल सरकार सँग 25 लाख रुपैया माग्नु नपर्ने रहेछ । आखिर हज्जारौ ड्लर खर्च गरेर भेला मा जाने सहभागी हरु ले $55 बढी कसो खर्च गर्न नसक्लान र ? देश मा लगानी भित्र्‍यौछु भनि टोपल्ने बिदेशी धनाढ्य हरु ले पनि "गरीब देश भएको ले २५ लाख मात्र मागेको" भन्दै सरकार सँग नै दारा निच्च गर्ने हो भने NRN का बन्धु हरु लाइ साच्चै नै धिक्कार छ । बरु सरकार ले त्यो २५ लाख ले जीवन जल को पुरिया हरु झाडा पखाला लागेको बच्चा हरु लाइ सित्तै मा बाडोस् ।

बिप्लब said...

अब उनीहरु नेताहरुले देश लुटेको देख्दा यसो दशैंको मौका पारेर अलिकती भए पनि मोजमस्ती गरौं भनेर होला नि त? कती नेताले मात्रै देश लुट्ने। यसो NRN लाउरेहरुले पनि त देश लुट्न पाउनु पर्यो नि कसो? आखिर के नै छ र नेपालमा जस्ले हान्यो उस्ले जान्यो भन्ने चलन छ क्यार। जय बम भोले हामी सबैको क्लयाण गर।

Basanta said...

साह्रै चित्त बुझ्दो कुरा गर्नु भयो नेपालीज्यू! यो काइते एनआरएन पनि गरीब देश चुसेर आफू मोटाउन थपिएको अर्को एउटा किर्नो मात्रै हो। यिनको सपना र जपना भनेकै नेपालका महापत्रु नेताहरुसंग मिलेर देशलाई दुहुनु हो।

ठरकि दादा said...

साँच्चै हो, पढ्दा पनि लाज लाग्यो ।

पुष्पजीको शब्दहरु सापट लिन्छु म पनि :

चाहिन्न हो हामीलाई तिमीहरूको लगानी-सगानी ! उतै गुलामी गरेर बस !

नेपालियन said...

यदी यो समाचार सांचो भने लाज लाग्नु पर्ने स्वभाबिकै हो। बिदेशमा बसेर अब देशको लागी पनि केही गर्न नेपालमा भेला भएका महानुभवहरुले उल्टै गरिब देशको सरकारसंग पैसा माग्नुले उनीहरु नेपालमा लगानी भित्राउन सक्ने कुरामा शंकै छ। उनीहरुको कती योजनाहरु जायज होलान तर यसरी सरकारसंग सिधै पैसा माग्नु एकदमै नाजायज हो।

मलाइ त माथी लेखमा भनिए जस्तै नियम कानुनको खिल्ली उडाइने देशमा कतै माफिया बनेर छद्म नेपालीहरु दशै मान्न नेपाल धाएका त होइनन? एन आर एन नियत अली सफा भएन है!

सपनासंसार said...

एक आयोजकका हिसाबले सरकारसँग रकम माग गर्नु लाई म कुनै नौलो कुरा मान्दिन । कि भने नेपाल सरकार उक्त सम्मेलन को प्रायोजक हुनु हुदैन हैन भने यस सम्मेलनको केहि आर्थिक कार्यभार व्यहोर्नु पर्छ । एन आर एन को सबै काम नराम्रो पनि छैन नि अब आजकै अर्को समाचार हेर्नुहोस्न -
ट्रेड स्कूलका लागि एनआएएनएको १५ लाख सहयोग । त्यसैले यो कुरा लाई म त सामान्य रुपमै लिन्छु है मित्र हरु !

नेपालियन said...

प्रायोजकसंग शुल्क लिनु स्वाभिक नै हो। तर समाचारमा लेखिएको कुरा सहि हो भने त २५ लाख माग गर्दै अनुरोध पत्र पठाइएको छ भनिएको छ। त्यो त एक प्रकारको चन्दा पत्र भएन र भन्या? एन आर एन ले अन्य राम्रा कुरा उठाए पनि मलाइ यो चन्दा प्रथा भने कत्ती पनि मन परेन है।

Anonymous said...

आफु पनि भगुवा नै परियो, देशको खोइरो किन खन्नु भनेर बोली हाल्न कता कता सन्कोच लाग्छ। तर एन आर एनको नाम चर्चा बजारमा आएको धेरै बर्ष बिते पनि यस्को सदस्य भैखाको र यसैको लागि भनेर लागिपरिएको छैन। बाहिरफेर जे चर्चा चले पनि एन आर एन भित्रको खोक्रो टाइ सुट मजाले देखिएको छ। फ्रान्सेली नेपाली ब्लगरले पनि परिवारको पेवा भएको राम्रै सँग लेखेका थिए हुन पनि वास्तबिकता त्यस्तै हो। आफु रहेको मुलुकको एन आर एन हेर्दा गिद्द्ले सिनो लुछ्न गरेको जात्रा झै लाग्छ र यसै त्यसै मन अमिलो हुन्छ। हुनलाई यही वास्तबिकताको रामलीला देखेर आफ्नो तर्फ देखी एन आर एनलाई भनेर एक सुको खसालेको छैन र नखसालेकोमा मलाई पिरलो पनि छैन। दोहोरो नागरिकताको नाममा के के भित्रिने हो देशमा त्यो हेर्न अझै बांकी नै छ। देशलाई अर्थको खोलो बगाएर स्विजरल्याण्ड बनाउछु भन्ने एन आर एनको हालत नागरिक न्युजले गजबले नाङ्गेझार बनाएको छ।

ऋषब said...

ब्यक्तिगत लाभको लागि नेताहरूलाई पचासौलाख चंदा दिनेहरू गरिब नेपालीहरुले तिरेको करमानै आंखां लगएचन!?

पीजी said...

मैले पनि कति देशहरुमा त एन आर एन"हरुले दुतावास भित्रै निशुल्क आफ्नो कार्यालय राख्न पाउनुपर्छ भन्ने माग राखेको कुरा पनि पढेको थिएं । सपना संसारजीले भने जस्तै धेरै मान्छेहरु देशको लागि केहि गरुं भनेर एन आर एन मा लागेका पनि होलान । तर मैले पनि देखेको र बुझेको के हो भने ठुलो हिस्सा नेपालमा "प्रचारित हुन" र "निशुल्क इज्जत" पाउन पदका पछाडि हान थाप गरेर शुरुमै संस्थालाई बदनाम गराइसकेका छन । लण्डनको लडाई देखि बेल्जियमको "फाइट" गर्नेहरु पनि एन आर एन हरु नै हुन ।

धेरैले नबुझेको अर्को पाटो पनि रहेछ "एन आर एन" को । एन आर एन भए पछि नेपालबाट सम्पति बाहिर लिएर जान पाइने । केहि महिना अगाडि स्विजरल्याण्डका एकजना भुतपुर्व नेपाली अथवा एनआरएनले करिब एक करोड रुपिया जति रकम स्विजरल्याण्ड लैजान एन आर एन कार्ड कुरिरहेको कुरो बताएका थिए । त्यस्तै चौधरी ग्रुपले समेत अरबौं सम्पति नेपाल बाहिर लैजान ६ महिना बिदेश बसेर एन आर एन कार्ड लिएको कुरो विनोद चौधरीले नेपाल हो या हिमालको एउटा अंकमा खुलाएका थिए ।

सपना संसारजीले भने जस्तै खुला दिलले नेपाललाई सहयोग गर्न एन आर एनमा लागेकाहरुले सोच्नै पर्ने कुरा हो के एउटा गरिब देशको सरकारसंग "पांच तारे होटलमा" सम्मेलन गर्न र बास बस्न पैसा माग्नु पर्छ ? के त्यति दरिद्र छन एन आर एनका सहभागिहरु?

पुष्पजी कै शब्द सापटि लिंदा:
चाहिन्न हो हामीलाई तिमीहरूको लगानी-सगानी ! उतै गुलामी गरेर बस !

किनकि माथि नेपालीजिले भने जस्तै :
देशमा शान्ति र स्थायित्व हुन्छ भने “कोडाक” मात्रै हैन „बिलगेट्स“ पनि लगानी गर्न नेपाल आउन सक्छन ।

किनकि नेहरुले भने जस्तै:
व्यापारिहरुको कुनै देश, जात र धर्म हुदैन; जहां पैसा फल्छ उनिहरु त्यहि पुग्छन ।

नेपाल राम्रो छ । शान्त्, व्यवस्थित र आधारभुत संरचना केहि हदसम्म भयो भने नेपालमा एन आर एनको कार्ड लिन हैन नेपालि आवासिय भिसा लिन युरोप अमेरिका देखि विदेशीहरुको ओइरो लाग्नेछ ।

HAWA said...

घिच... घिच..जो जो ले जती जती सक्छौ घिच

चम्पक said...

सहभागीहरुलाई लुगाफाटाको व्यवस्था पनि सरकारले नै गरिदिनु पर्छ । कमसे कम लाज छोप्न त काम लाग्छ ।

बिदेश गएर पनि नेपाल डुबाउन नछाड्नेहरु ।

Biplab said...

I really like this one - सहभागीहरुलाई लुगाफाटाको व्यवस्था पनि सरकारले नै गरिदिनु पर्छ । कमसे कम लाज छोप्न त काम लाग्छ । Wouldn't it be better if government would so?

Nepal! said...

नागरिक न्युजले आज विहानै देखि नै त्यो समाचारलाई मुख्य पेजबाट हटाइसकेको रहेछ , पावरफुल न छन एन आर एन हरु !

कोहि छ यहां एन आर एनले अहिलेको संवेदनशिल घडिमा समेत देश र देशवासीलाई एकजुट गराउन कम्मर कसेर लागेको देख्ने ?

विदेशमा नै नेपालीहरु झन फुटेका छन, छ कहिं जुट्ने काम गरेको ?

बरु विदेशदेखि नै नेपालीलाई विभिन्न वहानामा फुटाउने काममा एन आर एन हरु लागेको बेला बेलामा छर्लङ देख्न सकिन्छ ।

अरु त अरु नेपालीमुलकाहरुको घरमा जानुस, नया पुस्ताकाहरु (प्रवासीका छोरा छोरीहरु) को केरकार र बेइज्जति सुन्न पाउनु हुन्छ । नेपाल त एकदम गरिब छ रे, नेपालमा त यस्तो छ रे, नेपाल त यस्तो घटिया छ रे । यस्ता हुन्छन कति प्रवासीहरुले छोरा छोरीलाई दिएको नेपालको परिचय । त्यस्ता कुराले मलाई आंफै नांगिएको महसुस हुन्छ, भारतिय पुलिसले बोर्डरमा नेपाली लाई नंग्याएको पीडा भन्दा नेपाली मूलका नै नंग्याएको सुन्दा आंफैलाई बढी ग्लानी हुन्छ । यी आफ्नै अनुभव हुन, त्यसैले एन आर एनका बन्धुहरुले आंफुहरु बसेको देशबाट नै नेपालीहरुलाई सामान्य शिष्टाचार र देशका लागि गर्न सकिने कामहरुका बारेमा र "नैतिकताको" बारेमा सिकाए पनि पुग्छ । गर्नेले सक्ने बेलामा दायित्व सम्झेर गर्छन ।

कुरा आयो एन आर एनका राम्रा कामको बारेमा । त्यसका लागि झ्याली पिटाउनु पर्दैन । कसैले झ्याली पिटाएर काम गर्छ भने उसको नियतमा सिधै प्रश्न गर्नुस ।

नेपाली मनले देशको लागि जहांबाट जति सक्यो गर्न पाउंछ । तर "ए नेपाल र नेपालीहरु तिम्रा लागि हामी केहि गर्दैछौं, पैसा निकाल" भनेर विना मौसमको बाजा बजाउने र ए तिम्रालागि मैले यति गरे नि भनेर झ्याली पिटाउनकोलागि गरिने कामहरु व्यर्थ छन । एन आर एनका व्यक्ति विशेषका कुकर्मका कुरा गर्ने हो भने फेहरिस्त हजारौं छन तर यहां त संस्थागत रुपमा पनि यो स्तरमा झरेर काम हुदोरैछ र वर्षौं देखि यस्ता कामहरु भैराखेका रैछन तर हामीलाई थाहा रैनछ भन्ने कुराले मात्र अचम्म पारेको हो ।

नेपालियन said...

एन.आर एन किन पावरफुल हुदैनथ्यो र? अस्ती महतोको वाउको काण्डबाट
पत्तो लागी हाल्यो नी।

ए भने पछि अब सबै राजुताबासमा अफिस पनि खोल्ने कुरो रैछ? राम्रो काम गरे त ठिकै हो। तर मलाइ त राम्रो काम भन्दा पनि कमजोर नियम कानुनको फाइदा उठाउने काम बढी हुन्छ जस्तो लाग्यो।

पुष्प said...

कतिसम्म !!! नागरिकन्यूज डक कममा प्रकाशित भएको उक्त समाचार हटाएर केही घण्टामै १५ लाख सहयोग गरेको समाचार प्रकाशित 'गराइयो' । क्या पावरफूल एनआरएन !!! छोरीचेली खेलाउनु त ठूलो कुरा भो र नेपालियनजी यिनीहरूलाई !

पुष्प said...

माफ गर्नुहोला । दैनिकी डक कम पछिल्लो समाचार छापिएको थियो ।

नेपालियन said...

दैनिकी र नागरिक न्युज त अहिले एउटै मिडिया हाउसमा पर्छन हैन र?

Anonymous said...

हैन दैनिकी र नागरिक अहिले एउटै मिडिया हाउसमा छैनन् । हरि श्रेष्ठको धुम्बाराही मिडिया कम्पनी , पूर्व कान्तिपुरका ज्ञवालीहरूको माइरिपब्लिका र नागरिकसंग केही महिना यतादेखि छुट्टिइसकेको छ । पहिला, संगै जाने सहमति भएपनि , नागरिक दैनिकको प्रकाशनपूर्व नै यो अलगाव भैसकेको थियो। तर मैले देके अनुसार , यो एनआरएन सम्बन्धी समाचार नागरिकले नै पहिला छापेको थियो क्यारे ।

हुन त तर एनआरएन नामका महत्वाकांक्षी हरूको जमात नै हो ,तर पनि आप्रवासी नेपाली हरूको भेलालाई सरकारले २५ लाख अनुदान दिने कुरा त्यति ठूलो र हुनै नहुने कुरा भने हैन । प्रतेक वर्ष करोडौँ रुपैयाँ यहि प्रयोजनका लागि छुट्याइएको पनि हुन्छ र यसमा आँखा गाड्ने सबै हुन्छन् , देशदेखि परदेश सम्मका । अनुदान नमागेको भए नि हुन्थ्यो , तर मागेर नै आकाश खसेको पनि छैन । आयोजकले उपलव्ध गराउने आतिथ्यता कै योगदानका रूपमा यसलाई मान्ने हो भने त्यति ठूलो 'ह्यू एण्ड क्राइ' नहनु पर्ने हो । हुनत म एनआरएन भन्ने क्लबको कहिलै पनि फ्यान वा प्रशंसक भने हुन सकेको छैन ।

-एकलव्य

Nepal! said...

एकलव्यजी तपाइले भनेको कुरो आफ्नो ठाउंमा बिल्कुल सहि हो, तर यहां किन र के का लागि भन्ने कुरा मुख्य हो ।

२५ लाख ठुलो कुरो होइन तर यहां केहि व्यक्तिहरुको महत्वाकांक्षाका लागि सरकारी रकम २५ सय रुपिया दिइनु पनि ठुलो कुरो हो । नेपाली मुलका व्यक्तिहरुले नेपालको लागि माया छ भने आफ्नो सम्मेलन पनि आफ्नै खर्चमा गर्नु राम्रो हो नि, २५ लाख उठाउनु ६०० जनाको लागि के ठुलो कुरो हो र । ऋषि धमलाले पनि राम्रै काम गरेको छु भनेर त लिन्छ नि सरकारसंग यस्तै सभा गर्ने पैसो !

के भोलि बेलायतमा यतिले पनि कार्यक्रम गर्छु भनेर माग गर्यो भने दिने कि नदिने ? बायस नहुने हो भने त दिनु पर्यो नि ।

उद्योग कारखानाका मालिकहरु पनि छन यो संस्थासंग नजिक रहेर काम गर्नेहरु । किन नेपालका उद्यमीहरु र विदेशका नेपालीमूलका उद्यमीहरु मिलेर प्रायोजन गर्न सक्दैनन यस्ता कार्यक्रम ! ६०० जनालाई भात खुवाउनु कति ठुलो कुरो हो र, नेपालमा एउटा बिहे भोज पनि हुन्छ त्यो भन्दा ठुलो त !

यत्रो ठुलो संस्थाले सरकारको मुख ताक्नु पर्छ ? अनि अर्को कुरो विदेशी नागरिकता बोकेकालाई (सबैले नबोकेका होलान) सरकारी रकम दिनु कति जायज हो !

मेरो बिचारमा एन आर एनको नेपालमा हुने सम्मेलन भनेको पशुपतिको जात्रा सिद्राको व्यापार हो । गर्नेहरु छन नि के के हेल्पिङ ह्याण्ड अनि के के नामले काम गर्नेहरुले गरिराखेकै छन, झ्याली पिटाउंदैनन । एन आर एनका मान्छेहरुले नेपालमा पैसाको लेनदेन पट्टि जाने भन्दा पनि एउटा स्पिरिट, नैतिकता र सभ्यताको बारेमा सहयोग गर्नु जरुरी छ । नेपालमा अहिले चाहिने भनेको एन आर एनको सम्मेलन वा पैसा नभएर यस्तै कुरा हुन जुन सिकेका र देखेकाले नजानेका र नदेखेलाई दिन सकिन्छ । लगानीका नाममा काले नभए सेतेले आएर गर्ने ठाउंको लागि तंछाड मछाड गरेर हाम्ले गरेम भन्ने कुरो देखाउंदैमा त के ठुलो उपलब्धी होला र !

अनि अर्को कुरो , एन आर एनले (संस्थागत हैन है) देश बनाको राम्रो उदाहरण काडमाडौको नया बस पार्क हो । जापानिजले बनाइदिएको ठाउंलाई लिजमा लिएर ५ वर्ष र १० वर्ष भित्र के के बनाइदिने भनेर कान्तिपुरमा समेत फुल पेजको विज्ञापन (पुरा नक्शा सहितको) दिएर अहिले के बनाइदिए भन्ने कुरा हेर्यो भने छर्लङै देखिन्छ नियत के रैछ भनेर ।

कुरो जे भए पनि पहिलेको नराम्रा काम पखालेर नयां तरिकाले आए र ठिकै हुन्थ्यो नत्र यो विदेशमा समेत नेपाली नेता उमार्ने फ्याक्ट्री बाहेक अरु केहि बन्ने लक्षण छैन ।

अनि मलाई त एन आर एन भन्दा पनि नेपाली भन्नु मै गर्व लाग्छ, अहिलेसम्म गाछैन सभाहरुमा किनकि धेरै देशहरुका यो संस्थामा भोट हाल्ने बेलामा बाहेक अरु बेला क्लियर कट क्याटेगोराइजेशन देख्न सकिन्छ

Sano jange said...

साथी हरु लाई धन्यवाद दिनु मन लाग्यो,एन आर एन का साथी हरु अझै बिजोक अवस्थामा छन ।बिदेशी नागरिकता लिने बेला भने सकी नसकी तिनबित्ता उफ्रिन्छन अनी निधार ले छाप लगायर बिदेशी बन्छन भोलिपल्ट देखी फुर्ती नै अर्को हुन्छ ,अनी बल्ल देश को बनावटी माया पलाउन सुरु हुन्छ । बिचरा हरु को समस्या भनेको उही सम्पत्ति कहाँ राख्ने बिदेश मा कालो मा कमाएको सम्पत्ति सेतो बनाउने अर्को उपाय नभए पछी अनी मात्र एन आर एन लगायतका सस्था मार्फत दोहोरो नागरिकता को लागि तछाड मछाड गर्छन डाँका हरु । नागरिक न्युजलाई मेरो पनि सादुवाद ।।।।

कुम्भकर्ण said...

घिच घिच तिम्रो बाउ को सम्पत्ति हो ।।। राडी को राज्य चली रा'छ । मन परी गर्न लाई छुट छ । जती देश लाई बलत्कार गर्नु छ गरे हुन्छ । बिर्ताको सम्पत्ति सम्झेर ।।।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !