August 4, 2009

दौंतरी भेला, भर्चुयल वर्ल्ड र पाइरेट पार्टी

करीब २ वर्ष पहिले दौंतरीको ढोका खोल्दा शायदै सोचिएको थियो कि यो सामुहिक ब्लगिंगको चस्कासंगै यहांसम्म पुगिन्छ । खासै क्रियाशिल नभए पनि बेला बेलामा २-४ लाइन लेखेर होस या यताउताका रमाइला कुरा टिपेर होस दौंतरीमा बांड्ने जमर्को गर्दा गर्दै वर्ष दिन नाघिसकेको पत्तै भएन । दौंतरीको लागि खटिरहेका साथिहरुले एउटा अनौठो भेलाको लागि कम्मर कसिसकेका थिए तर म भने अन्तिम समय सम्म पनि भेलामा “उपस्थित” हुन्छु भन्ने सोचेको थिइन । धेरै जसो नेपाली भेला आ-आफ्नै नीहित स्वार्थका लागि हुने, “मपाई पार्टी गठन” गर्ने थलो हुने र अझ “लण्डन भेला” जस्तो भेला सकेर एउटा सौहाद्रपुर्ण वातावरणमा बिदा-बादि हुने basic courtesy लाई भुलेर औंला तेर्स्याउने र पाखुरा बजार्ने स्थल हुने भएकाले भेलाहरुमा मेरो उपस्थितिको रजिष्टरलाई भुतकाल तिरै छोडेर आफ्नै दिन चर्या र कर्ममा रमाउने बानी परिसकेको थियो । तर दौतरीको नया प्रयोग र त्यसमा पनि नया सोच भएका र केहि गर्नु पर्छ भन्ने बिचार भएका कर्मयोगी ब्लगरहरुको बिचको यो नया प्रयोग भएका कारण १ दिन अगाडिसम्म आइपुग्दा यसलाई “मिस” गर्नु हुन्न भन्ने स्थितिमा पुगेको थिएं ।

अन लाइन कन्फ्रेन्स र सेमिनारहरुमा धेरै पटक भाग लिएको भए पनि नेपाली ब्लगरहरुको भर्चुयल भेला मलाई नयां लागिरहेको थियो । छोटो समय, सिमित प्रचारका बाबजुद तीन दर्जन भन्दा धेरैको उपस्थितिले देखाइरहेको थियो कि जमाना “वास्तविक” भन्दा “भर्चुयल” संसारतर्फ फड्को मारिसकेको छ । भेलाको उत्साहजनक सफलताले देखाइरहेको थियो कि हो हामी “भर्चुयल वर्ल्डका” लागि लायक भइसकेका रहेछौं । यसै सन्दर्भमा भर्चुयल वर्ल्ड कति शक्तिशाली भइसकेको रहेछ भन्ने एउटा चर्चित उदाहरण यहां उल्लेख गर्न मन लाग्यो, यो हो पाइरेट पार्टी ।

पाइरेट पार्टीको स्थापना स्विडेनमा २००६ को जनवरी महिनामा भएको थियो र यसको स्थापनाको मूल मर्म थियो इन्टरनेट पाइरेसी” गर्न पाउनु पर्छ अर्थात इन्टरनेटबाट व्यक्तिगत प्रयोजनको लागि गीत, डाटा, फिल्म वा इन्टरनेटमा उपलब्ध जुन सुकै सामाग्री निशुल्क डाउनलोड गर्न पाउनु पर्छ (कपि राइट नतिरी सामाग्री भोग गर्नु पाइरेसी हो भन्ने शब्दार्थ यहां भनिरहनु नपर्ला)। मार्क्सको सिद्दान्त र लेनीनका भाषणले कुनै बेला भुइंचालो ल्याएको युरोपमा मार्क्सबाद र लेनिनबादी “सर्वहारा” वर्गको क्रान्ति इतिहास भैसकेपनि उपयोगिताबादी र चरम भौतिकताबादी समाज भित्रका “नयां सर्वहारा”हरुको अनलाईन संगठन गठन होला र यसले तहल्का ल्याउला भन्ने कसैले सोचेको थिएन होला। रिकार्ड फाल्कविन्गेको लहड”मा जन्मेको यो पार्टी अहिले स्विडेनको तेस्रो ठुलो पार्टी बनिसकेको र भविष्यको विश्वव्यापी “भर्चुयल” पार्टी बन्न सक्ने भय विकसित देशका मूलधारका राजनीतिक दलहरुमा पक्कै पनि छाइसकेको हुनु पर्छ । झट्ट सुन्दा जंकी र आवारा” हरुको भिड जस्तो लाग्ने यो पार्टीले अहिले युरोपियन पार्लियामेन्टमा पनि एकजना सदस्य पठाउन सफल भइसकेको छ भने स्वीडेनमै ७० प्रतिशत भन्दा बढि ३० वर्ष भन्दा कम उमेरका युवाहरु यसका सपोर्टरहरु छन । हाल स्विडेनमा यस पार्टीका ४९,००० जना संगठित सदस्य छन र सदस्यताको आधारमा यो स्विडेनको तेस्रो ठुलो पार्टी बनेको छ । यसको भातृ संस्था युथ पाइरेट्स स्विडेनको सबै भन्दा ठुलो युवा संगठन भएको छ ।

यस पार्टीका ३ वटा उद्देश्य रहेछन :

१. कपी राइट प्रणाली हटाउने (व्यक्तिगत प्रयोजनको लागि कपी राइट नियम लागु हुन नहुने)

२. प्याटेन्ट प्रणाली खारेज गरिनु पर्ने (एउटा प्रमुख तर्क: प्याटेन्टका कारण गरीब देशहरुले औषधीहरु उत्पादन गर्न सकेका छैनन र ती देशहरुमा अकालमा लाखौं मान्छेहरुले ज्यान गुमाइरहेका छन ।)

३. व्यक्तिगत गोपनियता (privacy) व्यक्तिको अधिकार

स्विडेनको अप्टिकल फाइबर भएर जाने आउने सम्पुर्ण डाटाहरु निगरानीमा हुदारहेछन । यस देशले २,५०,००० शब्दहरुलाई सर्च क्याटेगोरी भित्र राखेको छ र यि मध्येका कुनै पनि शब्दहरु भएका इमेल वा कुनै पनि अनलाईन सुचनाहरु जांच भित्र पर्दछन । यसले व्यक्तिगत गोपनियता भंग भयो र यो हटाइनु पर्छ भन्ने यस पार्टीको माग छ ।

डब्लु टी ओ, संगठित र मल्टिन्यासनल "ब्रान्डेड" व्यापारको माध्यमले दुनियामा आफ्नो वर्चस्व कायम गर्न खोज्ने विकसित देशहरुलाई अहिले नेपाल वा भारत देखि पेरुसम्म पड्कने "साम्यवादी" बन्दुकले भन्दा आफ्नै देश भित्रका यी वर्ग ठुलो टाउको दुखाइ बन्ने निश्चित छ ।

हामी जाजरकोटको झाडापखालाको महामारीबाट मुक्ति पाउन नसकेको अवस्थामा र धेरै तेस्रो विश्वका देशहरुमा अनिकाल, महामारी, भोकमरी र सुशान पार्टीहरुका प्रमुख एजेण्डा बनिरहेको अवस्थामा माथिका तीनवटा प्रमुख उद्देश्य बोकेर पनि पार्टी खुल्न सक्छन भन्ने कुरा हाम्रा लागि अर्कै ग्रहको कहानी हुन सक्ला तर भर्चुयल वर्ल्डको यो शक्ति कुनै बेलाको औद्योगिक क्रान्तिसंगैको साम्यबादको लहर जस्तै आफ्नो बर्चस्व स्विडेनबाट अन्य विकसित र अग्रगतिमा विकास तर्फ लम्कदै गरेका विकासोन्मुख देशहरुमा समेत फैलाउंदैछ । गएको युरोपियन संसदको चुनावमा जर्मनीको पाइरेट पार्टीले समेत २,३०,००० भोट ल्याउन सफल भएको थियो । अर्थात संदेश यहि हो मान्छेको मन मष्तिस्कले “भर्चुयल” संस्कार अवलम्बन गरिसकेछ ।

स्रोत: http://www.piratpartiet.se/, बिबिसी र अन्य



6 Comments:

Nepal! said...

शायद हाम्रो देशतिर भने १०० वर्ष पछि मात्र नया प्रचण्डहरु निस्कने होला "पाइरेट पार्टी ...फलानाबादी" भनेर !

ठरकि दादा said...

यो पाईरेट पार्टीको बारेमा सामान्य जानाकारी रहे पनि भविश्यमा हुनसक्ने यस्को बृहतताको बारमे भने सोचेको थीईन । अहिले सोच्दा यसको आकार क्रमश: बढ्नेतर्फ मात्रै जानेछ भन्दा फरक नपर्ला जस्तो लाग्दै छ ।

दौँतरी भेला पछी, नेपालका सबै क्षेत्र वा सबै आयाममा नभए पनि ब्लगीङमा भने भर्च्युअल ईन्स्टिच्युट बन्न कुनै समस्या रहेको जस्तो लाग्दैछ मलाई पनि । करिव करिव यस्तै "भर्च्युलाईजेसन" को बारेमा एउटा पोष्ट तयार गर्दै थिएँ म पनि, अब ४-५ दिन धकेलेर निकाल्नु पर्ला :)

एकलव्य ( Eklavya) said...

जे होस् प्रविधिको यो क्रान्तियुगमा नया नायक र खलनायकको उद्भव र पराभव अवश्य भैरहने छ । सबै कुरा अस्थिर छन् परिवर्तन बाहेक सबै कुरा परिवर्तनशिल पनि छन् । हेरौँ पाइरेट पार्टी कति सफल हुने हो तर यो आन्दोलन पनि धेरै कन्भेन्सनहरू बिरुद्ध खडा रहेछ , यसको गति र गन्तव्यको के दशा होला त्यो त समयले बताउला नै !

मलाई थाहा नभएको रोचक कुरा सुनाउनुभो , पढेर मजा लिइयो। धन्यवाद ।

नेपालियन said...

सुन्दा ठट्टयौली लाग्ने पाइरेट पार्टीको कथा सु्न्दा म भने निकै भाबुक र इमोसनल भएं। कतै म नै गएर नेपालमा पाइरेट पार्टी खोलुं कि जस्तो लाग्यो।

किन लाग्यो त ? त्यता तिर जाउं। २ बर्ष पहिले म मेरो स्नात्तकोउत्तरको अध्ययनको खोज गर्ने क्रममा इन्टेरनेटम निकै समय बिताउंथे। प्राय भेटिएका सामाग्री बिना पैसा पाइनद्थ्यो। संयुक्त राज्य अमेरिकमा पढ्ने मौका मिलेको ले प्राया सामाग्री मलाइ मेरी बिध्धालयले किनीदिन्थ्यो। मैले तिरेको फिस भन्दा बढी त सामाग्री मगाए होला। सामाग्री थुप्रिनुको कारण मेरो खोजको दिशा परिबर्तन हुनु पनि एक थियो। त्यो बेलामा म सोच्थे यसरी अध्ययन सामाग्रीमा शुल्क लगाए गरिब देशका बिध्धार्थी ले के गर्छन? गरिब देशमा पनि त मेधावी बिध्धार्थी हुन्छन। मलाइ त्यही बेला लागेको थियो यसरी अध्ध्यनको ढोकामा ताल्चा लगाउनु भनेको मानब सभ्यताको बिकासलाइ पर धकेल्नुहो। सायद भोली एउटै दबाइको गोलीले पखला,जोरि निको हुन्थ्यो होला। तर यांहा त अध्धयन गर्न पनि बार बारिन्छ अब त्यो गोलि १० बर्ष सम्म पनि ननिस्कन सक्छ। त्यती बेला लागेको थियो सायद म नै उल्लु हुंला, कतै अध्धयन सामाग्री पनि सित्तीमै पाइन्छ?

आज पाइरेटको कथा सुन्दा मैले सोचेको ठिकै हो जस्तो लाग्छ। पाइरेटका माग खै के के छन तर इन्टरनेटमा पाइने अध्धयन सामाग्री भने बिध्धार्थीका लागी खुला गरिनुपर्छ।

Prajwol said...

मलाई पनि रिसर्च लिटरेटरहरु हरु सबै सित्तैं हुनु पर्छ जस्तो लाग्थ्यो, तर Peer reviewed scientific पेपर पबलिस गर्न पनि लेखकले Journal लाई पैसा दिनु पर्छ भन्ने थाह पाउंदा तीन छक्क भएं । त्य्सो नगरे journal को adminstrative र publishing cost उठ्दैन रे । लेखकलाई त पैसा पर्छ भन्ने पढ्नेलाई त पर्ने नै भयो । तर धन्न धेरै University ले त्यस्ता journal हरु को license खरिद गर्दिएकोले विद्यार्थीले निशुल्क हेर्न पाउंछन । तर सबै देशका University हरु ले त्यस्तो खरिद गर्न नसक्ने हुनाले ज्ञान पनि exclusive हुने भयो :(

Zero Hour (शुन्य समय) said...

मैले पनि शुरुमा यो कुनै माइकल ज्याक्सनका फ्यान वा टोकियो होटलका फ्यानहरुको झुण्ड होला भन्ने सोचेको थिएं । हुन पनि तिनका भेलाहरुमा "खतरा"को निशाना पाखुरामा खोपेका युवाहरुको हुल देखाइएको थियो । तर जब स्विडेनले युरोपियन युनियनमा पाउने १८ सिटमा १ सिट त्यहि पार्टीले हात पार्यो, पार्टी सदस्य संख्या उल्लेख्य बढायो र अहिले अन्तराष्ट्रिय चर्चा पाउन थाल्यो तब यो पार्टीले एउटा लहर नै ल्याउन लागेको रहेछ भन्ने भान भयो ।


हुन त यसका शुरुका अधिकांश "फ्यानहरु" फ्री मा गीत कपि वा डाउनलोड गर्न पाउनुपर्छ, नया फिल्म पनि तुरुन्तै पैसा नतिरी इन्टरनेटबाट बाड्न वा डाउनलोड गर्न पाउनुपर्छ भन्ने लहरका पछाडि लाग्दा लाग्दै यो लहर यो गतिमा पुगेको होला। तर अहिले यसका पछाडि "खोपडि"हरु पनि सामेल हुन लागे पछि बढि सान्दर्भिक उद्देश्यहरु थपिएका हुन ।

नेपालमा रिसर्च गर्दाको कुरा सम्झदा एक त लिटरेचरहरु भनेर २० वर्ष पुराना कन्फेरेन्सहरुका मुफ्तका पुराना ठेलीहरु धुलो झारेर "एब्सट्राक्ट" सार्दै लिटरेचर रिभ्यु गर्नु पर्थ्यो । दोस्रो लेक्चरविज्ञ तर रिसर्च शुन्य प्रोफेसरहरुलाई लिटरेचर के हो भन्ने डिटेल थाहा नभाकोले पनि होला कहाबाट के सार्ने हो वा पढ्ने हो ढंग नपुगेको हुन्थ्यो ।

जर्नलहरुले पनि आफ्नो गुडविल maintain गर्न राम्रा रिभ्युअरहरुलाई पैसा तिरेर काम लगाउने हुंदा कति जर्नलले त कलर तस्विरको समेत प्रति पेज हजारौं डलर चार्ज गर्छन । त्यसैले पेपर पब्लिस गर्दा हजार पन्ध्र शय डलर चुना लाग्नु सामान्य हो अहिले । तर एउटा कुरा अहिले धेरै जर्नलहरुले तेस्रो विश्वका धेरै देशहरुलाई निशुल्क access दिएका छन । त्यो सुविधा पनि हाम्रा देशका कति संस्थाहरुलाई थाहा छैन र त्यसबाट फाइदा लिन सकिरहेका छैनन ।

तर महंगा औषधीहरुको मोनोपोली वा यस्तै प्रविधीको मोनोपोली धनी देश वा कम्पनीहरुसंग रहेकोले गरिब देशले त्यस्ता सामाग्री उत्पादन गर्न नपाउंने भेदभावपुर्ण अवस्था आयो भन्ने यो पार्टीको मागमा चाहीं दम छ । उनिहरुको माग औषधी र रिसर्चमा प्याटेन्ट लागु हुन हुदैन तर अन्य व्यवसायिक सामानमा लिमिटेड समय अर्थात ५ वर्षको लागि मात्र प्याटेन्ट भ्यालिड हुनु पर्छ त्यस पछि त्यो खारेज हुनु पर्छ भन्ने छ ।

सांच्चै नै यहां एकलव्यजीले भने जस्तै "परिवर्तन" भन्ने शब्द बाहेक अरु सवै परिवर्तनशील छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !