June 29, 2009

अल्बर्ट आइनस्टाइन, नयाँ नेपालका जयस्थिति मल्ल र अनन्त मुर्ख्याईको सिद्धान्त

"Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe."- Albert Einstein

मलाई राम्ररी थाहा छ, अल्बर्ट आइनस्टाइन र नेपालको बिचमा गोरु बेचेको साईनो पनि छैन र आइनस्टाइन एक महान वैज्ञानिक भए पनि भविश्यवक्ता भने थिएनन् । तर जहिले जहिले माथिको उनको भनाईमा मेरो ध्यान जान्छ मलाई हाम्रा नेताहरुको याद आउँछ।

जनयुद्धको नाममा जनताकै घरजग्गा कब्जा गर्ने देखि लिएर जाती-पातीको भेद हुनु हुँदैन भन्दै आखिरमा जातियताकै आधारमा राज्यको पूनसंरचना गर्ने दिग्गजहरु, अनि देशको शासनमा जहानिया प्रथा रहनुहुन्न भन्दै लोकप्रिय वा योग्य नभए पनि आफ्नै सन्तान लाई मात्रै काखी च्यापेर हिंडने नेतालाई अरु कुन श्रेणीमा राख्‍ने हो, सोच्न सकिन्न।

एउटा भनाई छ, “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”। कुरा सोह्रै आना साँचो हो । त्यसको ज्वलन्त उदाहरण हेर्न हामीले धेरै टाढा वा धेरै पछाडि पनि जानु पर्दैन । केहि बर्ष अगाडि सम्म ‘प्रजावत्सल’, ‘जन नायक’ अनी ‘प्रतापी’ आदि अलंकारले पुराकीने नेपालको राजतन्त्र अहिले एउटै ‘निरंकुश’ विशेषणले मात्रै परिभाषीत हुन्छ, भने तात्कालीन समयमा ‘आतंककारी’ को बिल्ला पाएको गुट अहिले ‘क्रान्तिकारि दल’ भैसकेको छ ।

अलिक पछाडिको ईतिहासमा जाने हो भने तेह्रौं शताब्दीको अन्त्य तिर महान सुधारक र ‘धर्म रक्षक’ राजाका रुपमा ख्याती कमाएका जयस्थिति मल्ल हाल जातीप्रथाको जटिल व्यबस्थाका लागी सबैभन्दा बढी निन्दीत छन्।

तात्कालिन समाजको स्थिति, सोच र संरचनाको ख्याल गरेर बिचार्ने हो भने जयस्थिति मल्ल सायद सहि पनि थिए होलान। तर जयस्थीति मल्लको अवसानको सात सय बर्ष पछि फेरी जातियताकै आधारमा राज्य खडा गर्न खोज्नेलाई के भन्ने? । आइनस्टाइनकै सहारा लिनु बाहेक अर्को केहि देख्दिन म ।

यो अनन्त मुर्ख्याईको लहर अहिले गज्जब संग चलेको छ र हरेक दल र दलका नेताहरु आफूलाई नव नेपालका जयस्थिति मल्ल बनाउन लालायीत छन ।

ईतिहास मानिसले नै रच्छन, तर त्यो संगै अर्को कुरा के पनि साँचो छ भने, जसले ईतिहास रच्छ, त्यो पनि एक दिन ईतिहास बन्छ नै । माथि भनि सकिएको छ “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”, तर जित्ने मानिस सधैं टिक्छन भन्ने केहि जरुरी छैन । समयको कालखण्डमा उसलाई पनि जित्ने कोहि आएपछि त्यो ‘विजयी’ ले पनि पराजय भोग्नु पर्छ । अनी उसका ईतिहासको पून समिक्षा र पूनर्लेखन शुरु हुन्छ । त्यतिबेला फेरी आजको ‘हिरो’ भयानक ‘भिलेन’ को रुपमा परिभाषीत हुन्छ ।

यो एउटा चक्र हो, बुद्दिमान मानिसहरु यो चक्र वा दुष्ट चक्रलाई चिन्छन र ईतिहासका गल्ती दोहर्‍याउँदैनन् । जस्तैसुकै बेबकूफले पनि समयको प्रबाहलाई उल्टाउन मिल्छ भनेर चाहि मान्दैन।

पश्चिममा छुट्टा छुट्टै देश, आ-आफ्नै भौगोलीक सिमारेखा अनी भाषा-पद्दती भएकाहरु समेत एकल मुद्रा चलाउने र एउटै सामुहिक आर्थीक छातामा बस्ने प्रयोग सफलताका साथ चलाईरहेका बेलामा हामीहरुकहाँ क्रान्तिकारीहरु देशलाई जात र धर्मको नाममा भाग लगाउने खेलमा व्यस्त छन । यो भन्दा बिडम्बना अर्को के होला?, त्यसमा पनि देशलाई यसरी धर्म र जातको नाममा टुक्रा पार्न खोज्नेले आफूलाई आफुलाई ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ को संज्ञा दिंदा, मलाई अल्बर्ट आइनस्टाइनको यो अनन्त मुर्खताको सुत्र झन झन हाम्रै नेताहरुलाई देखेर बोलिएको जस्तो लाग्छ ।

अंग्रेजीमा एउटा भनाई छ: “ईतिहास दोहोरिन्छ किनकि मानिसले ईतिहासबाट केहि सिक्दैन” । के हामी यो तेह्रौं शताब्दीको गलत ईतिहासलाई सात सय बर्षको अन्ताराल पछि पनि फेरि दोह्र्याएर त्यसलाई सहि साबित गर्नै लागेका हौं त? के त हाम्रो मुर्ख्याईको कुनै सिमा नै छैन त?



2 Comments:

पीजी said...

ठरकिजी मुर्खहरुको हालीमुहाली चल्ने हाम्रो जस्तो देशमा आइन्स्टाइनको भनाई लागु हुने रहेछ । अनि इतिहास त अझ झन यति छिटो दोहोरिन खोज्दै छ कि हिजोका प्रधानमन्त्री प्रचण्ड तुरुन्तै फेरि प्रधानमन्त्री हुन बिलौना गर्दैछन ।

सर्वहाराका नेतालाई १० महिनाको सत्ता भोगले १० वर्षको क्रान्ति र दुख विर्साइदिदोरहेछ भने भोका र लिप्तहरुले भरिएको देशमा आफ्नो दुनो सोझ्याउन जयस्थिती र पृथ्विनारायण शाह मात्रै हैनन सत्ता पाइन्छ भने बुद्दलाई भिलेन बनाउन पछि पर्दैनन यि मुर्कट्टाहरु।

Basanta said...

साह्रै सामयिक र चित्तबुझ्दो विश्लेषण!
जातीय राज्यको नारा माओवादीले आफ्नो लाल-सेना बढाउन दिएको हो। यसले गतिलो भोट बैंकको रुपमा पनि काम ग-यो संविधानसभामा उसको लागि। अहिले उसैलाई पनि यो घाँडो भएको छ, तर अब ऊ यसबाट फुत्कन सक्दैन, फुत्कियो भने माओवादी टुक्रिन्छ। उसको राजनीति समाप्त हुन्छ।

यो नारा शुरु गर्ने अर्को पक्ष भनेको डलर-खेतीको बाली खाने एनजीओहरु हुन्।

अहिले जातीय राज्यको नारा जसले पनि उचालेको छ र यसले अराजक रुप लिँदैछ। भोलि जातीय आधारमा राज्य कायम भयो भने एउटा 'जातीय'राज्यभित्रका अरु जातिहरुले विद्रोह गर्ने निश्चित छ। र हाम्रो जस्तो अराजकतालाईनै राजनीति मानिने देशमा यस्तो अन्तहीन दुष्चक्रले देशलाई कुन खाडलमा लाने हो!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !