June 2, 2009

कामरेडको मनोवाद

अनहोनी भयो, नचिताएको भयो । जे गरे पनि कसले हटाउने तागत ? भनेर सोच्दा सोच्दै आफ्नै सगोत्री बामहरूले घात गर्दिए, सरकार ढल्यो । फेरि कम्युनिष्टहरूले कम्युनिष्ट सरकारको पतन गराउन भूमिका खेले , इतिहासको पुनरावृत्ति भयो । झलनाथ पनि पीँध नभाको लोटा परेछन्, आफ्नै कुरामा फिटिक्क अडिन नसक्ने । सेना चिफलाई स्पष्टीकरण सोध्ने कुरामा सहमति दिने अनि पछि हट्ने । एउटा बामदेव मच्चिएर के हुन्थ्यो उसलाई त पार्टी मै माओवादीको प्रतिनिधि भनेर चिन्न थालिसके । उसले प्रस्ताव ल्यायो भने नै शंका गर्ने भएपछि, एमाले मै राखेर उसको उपयोगको संभावना पनि सकियो जस्तो छ । यता भित्राऊँ भने, एउटा नारायणकाजीको समूहले त यत्रो बबाल भैसक्यो, अब बामेलाई ल्याएर कामरेड लालध्वजले बगावत नगर्लान भन्नै सकिन्न, उता बादल पनि गर्जिएर बर्सलान जस्तो भैसकेका छन् । सुजाताको साथ लिएर चल्न खोजेको पनि हो तर कुजाता परिछ । त्यो बूढो बाउलाई सहमत गराउन पनि सकिन । आखिर कांग्रेस भनेको उसको बाउ अनि बाउको एकलौटी प्यारी छोरीको जोरबलले केही टेको लाग्छ कि भनेर पनि चाल चलियो, अहँ टिकेन । हुन त के भन्ने, सबै एउटै सूदले ध्वस्त पार्दियो, अरूको के लागोस् । त्यो भारतीय जासूस अमरेशलाई फकाउन पनि मे दिवस मनाउन छाडेर कहाँ कहाँ लगेँ के के गरेँ तर कस्तो दूर्दिन आएछ केही लागेन ।

जाबो सेनापतिको कुरालाई अरूको साथ नपाइने भएपछि अब अगाडि नबढाऊँ भनेको पनि हो तर पार्टीका साथीले बस्न खान दिएनन् । स्पष्टीकरण मागेपछि, अहिलेलाई छोडौँ भनेँ तर कसैले सुनेनन् मेरो कुरा । सरकारबाटै हट्ने रिस्क लिन हुन्न यहीँ बसेर छापामार र कार्यकर्तालाई पारिश्रमिक र जागिर दिलाउन सजिलो पर्छ अनि सत्ता कब्जाको योजना र बाहिरी राष्ट्रसंग सम्बन्ध बनाउन सजिलो हुन्छ भनेर भनेको पनि हो , वैद्य गुरू र चन्द कामरेडले पटक्क मानेनन् । हुँदाहुँदा, बादललाई साथ दिँदै बाबुराम ( लालध्वज) पनि के को मेख मार्न उतै लागे कुन्नि ? कटुवाल रहूञ्जेल सेना समायोजन हुन दिन्न, जे पर्ला पर्ला गर्नै पर्छ भनेर उत्ताउलिए सबै, अनि भँड्खालोमा जाके । बाबुरामले सूदलाई मनाउन सक्लान नि आफ्ना दिल्लीवाला कामरेडको प्रयोग गरेर भन्ने सोचेको पनि बेकारै भयो । यिनलाई पनि उताकाले पताउन छाडेका हुन भन्ठानौँ भने, बाबुरामलाई प्रधानमन्त्री बनाउने भए, समर्थन जुटाइदिन्छौँ भनेर पो समाचार पठाए ! के मेरो उपयोग गरेर चुसेको ऊखू झैँ फाल्न खोजेका ? बरू प्रतिपक्षमा बसिन्छ वा अर्को रणसंग्राम गरिन्छ तर म हुँदा हुँदै बाबुराम वा कुनै रामलाई अगाडि बढ्न दिएर आफ्नो भविष्यलाई बिर्को लगाउन त ज्यान गए दिन्न म ।

जसरी सुलह गरेर चलौँ भने पनि सबै मिलेर पार्टीमा एक्लयाएर सत्तामा टाँसिइरहने चाल नगरौँ भनेर आरोप लगाए । यी अहिले सत्ता छाडेर भूत्रो हासिल भयो ? परिवारका सबैले मन्त्री सरहको जागिर खाएका थिए, बाबुरामका बुढाबुढी र अरू नेताहरूका जोडाजोडीलाई पनि सबै कुरा मिलाइयाथ्यो । तर खै के पाइयो हुँदा खाँदाको सरकार त्यसरी ल्वात्त छोडेर ? नया बजारमा डेरा सरे पछि , एकजना गतिलो मान्छे भेट्न आ’छैन । सब अन्तै लागि सके । सबै बलेको आगो ताप्ने त हुन नि !

रिस उठिरा,छ, रिसको झोँकमा खाँबो कोपरेर पनि भएन । गालीले मन भरिएको छ । विषवृक्ष त भन्दिइहालेँ , यो सरकार भारतको कठपुतली हो भनेर पनि भनियो र यतिसम्म भनियो कि यो सरकारलाई मान्यता नै दिइँदैन । अज बेबी किङ ब्यूताउन लागेको आरोप पनि गढियो तर के गर्ने कसैले सुनेर पत्याए पो ! भाषण गरेर मेरा सबै कुराको धज्जी उडाइदियो । बोल्न पनि कति जानेको ? भाषण पनि कति मिलाएर लेख्दिएका होलान नि , हामीले कतिञ्जेल लगाएर गाली र आरोप गर्‍यौं, एउटै भाषणले ती सबैको परखच्चा उडाइदियो । अस्ति गणतन्त्रको वार्षिकी मनाउन बोलाथे, बहिष्कार गरियो भूत्राको गइन्छ ! आँफूलाई सरकारबाट हुत्याउने अनि रवाफ देखाउन लौ हेर्न आइज मनाउन भनेर हुन्छ ? अनि त्यही रामवरण र कटुवालले गिज्याउनलाई बोलाको हाम्लाई ? मनाउने भए हाम्लाई अग्राधिकार दिएर मनाउन पर्छ । गणतन्त्र तिन्का बाउले ल्या’हुन र ? हाम्रा छापामारले लडेर ल्या’का हुन ? जस्ले ल्या’को हो उसको राज चल्ने पो लोकतन्त्र ! हाम्लाई रिसको झोँकतन्त्रमा धकेलेर आँफू लोकतन्त्र र गणतन्त्र मनाउने ? गनतन्त्र ( बन्दूक) ले गणतन्त्र ल्याएको हो नि । यो सहन सकिन्न ।

खैर केही छैन । जे भयो भैसक्यो । हामीले जानेको एउटै बाटो छ । कि हामी हुनुपर्छ, हैनभने कोही पनि हुन्न । हाम्रो गणतन्त्र को मोडेल नै यही हो । अब कार्यकर्ता, वाइसिएल र छापामार सबलाई जनताको रूपमा सडकमा उतारेर रडाकोको ताण्डव मच्चाइन्छ, कसैलाई चैनले बस्न खान दिइन्न । हामीले खान नपाएपछि अरूलाई पो सजिलै किन किन छोड्ने नि ? सत्ताको चास्नीमा यति गूलियो घोलिएको हुँदो रैछ र पो, कसैले छोड्नै नचाहने ! अहँ अब कुनै हालतमा छोडिन्न । चाहे देशै दन्दनी बलोस्, छोडिन्न । अब शहरी बिद्रोह गरिन्छ, सडकदेखि सदनसम्म तहल्का मच्चाइन्छ र कब्जा गरिन्छ भन्दै सारा हाम्रा मान्छे जनताका नाममा सडक र शहरमा उतारेर मुखमा हालेको गास ओकल्न वाध्य पारिन्छ । तर यसो गर्दा भोलि फेरि हुनसक्ने सत्तारोहणमा असर पर्छ कि ! हो पनि यो फुटेको घैँटोलाई जबर्जस्ति जोडेर बना'को सरकार कति दिन टिक्ला र ? फेरि हाम्रै दिन फिर्ने निश्चितै छ । त्यसैले फेरि काम लाग्ने र आशिर्वाद माग्न पर्ने प्रभूहरूलाई साह्रै चिढाउन पनि हुन्न । तर कार्यकर्तालाई उत्तेजित पनि बनाइराख्न पर्छ, यसो गर्दा प्रभू झनै बिच्किने पो हुन कि ! भोलिका लागि अरूको विश्वास पनि सुरक्षित राख्ने कोशिस गर्ने पो हो कि खै के गर्ने होला ? जंगल ? हुन्न अब त्यो हण्डर खान सकिन्न । हैन कस्तो बिलखबन्दमा परियो ? एकछिन आराम गर्न पनि सकिएन । यस्तो छटपटी त युद्दकालमा पनि परेको थिएन। हैन यो सरकार छोड्न पनि नसकिने, छोडेपनि यसैको यादमा मरिने त्यहाँ बसेर गर्न पनि केही नसकिने कस्तो बाँदरको शिकार रै'छ गाँठे ? हे भगवान ( कम्युनिष्टले भन्न नहुने हो, तर आफ्नो कोठामा एक्लै त कसैले थाहा पाउन्न, वहाँ माधव नेपालले श्राद्द गरे रे ! अनि बाबुरामले पनि त मनकामना दर्शन गर्‍या हुन नि , केही हुन्न अरूले थाहा नपाएसि ) मेरो रक्षा गर ! ( खुइयSSSSSSSSSS ! )



8 Comments:

बिप्लब said...

एकलव्य जी खुब मनबोद पढ्न पाइयो राम्रो। राम्रो लाग्यो। मनोबाद र मनोलाप मा के फर्क छ? थाहा पाउन।

एकलव्य ( Eklavya) said...

विप्लवजी,

मनको आफ्नै मनसंग हुने संवाद मनोवाद हो भने मनको अलाप वा आलाप ( रोदन , भावुकता) मनलाप वा मनोलाप भन्न खोजिएको हो । आलापले भावनाको प्रगाढता दर्शाऊला भन्ने सोच हो । तर गहिरिएर नसोच्दा उस्तै ठानेर पढ्नु भएनि हुन्छ ।

ठरकि दादा said...

बास्तविकता संग धेरै नजिक भएझै लाग्यो यो मनोवाद !

नेपालियन said...

प्रचण्डले त्यस्तै सोचेका होलान र? त्यस्तै सोचेको भए नि कसरी थाहा पाउनु?
रमाइलो छ एकलव्य जी ले बुनेको मनोबाद।
ठरकी सर कता गायब नी? यांहा इनटरनेट एकस्प्रोलर ले दौतरीमा इरर देखायो भन्ने गनासो छ। म पनि यस्तो समस्या बाट पिडित छु। के भाको होला?

ठरकि दादा said...

नेपालियन सर, दौंतरी मै डुल्दै छु । यो ईन्टरनेट एक्सप्लोररको समस्या दौंतरीको मात्रै हैन, अधिकांश ब्लगमा देखिएको छ। हाललाई क्रोम वा ओपेरा चलाउने भन्दा अर्को उपाए छैन जस्तो लाग्छ । तैपनि फुर्सदमा एकचोटी हेरौंला केहि उपाए लाग्छ कि !


(साँच्चै यो Adsense को कोड हाल्नु भएको हो? कमेण्ट लेख्‍न खोज्दा एउटा पप-अप पेज खुल्न थालेको छ )

नेपालियन said...

म पनि छक्क छु यो पप अप कसरी आयो भनेर। त्यस्तो कुनै कोड राखेको छैन मैले त। पुरानो ट्याम्पेलेट ब्याक अप छ भने चेन्ज गर्नु पर्ला जस्तो छ। कता बाट यो पप अपले बासे गर्यो अचम्म छ।

ठरकि दादा said...

नेपालियन सर, मसंग २६-०४-२००९ को टेम्प्लेट व्याकअप छ । त्यसपछिको राख्‍न भ्याएको रहेनछु । (कृपया सहयात्री ब्लगर र त्यो बिचमा अरु कुनै कुरा तपाईले हाल्नु भएको छ भने त्यसको व्याकअप राख्‍नुहोला )

यो समस्या त भर्खरै आएको हो। त्यसैले मेरो भन्दा पछाडिको डेटको व्याकअप तपाईसंग छ भने त्यो हाल्नुहोला नत्र म २६-०४-२००९ को व्याकअप रिस्टोर गर्छु है!।

नेपालियन said...

ठरकी जी एक छिन है। मैले १-२ घन्टामा ब्याक अप राख्छू अनि चेन्च गर्नुहोला। खास त अली अलि कोडिग हो, त्यो बचाइहालुम न भनेर नि।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !